क्यान इन्फोटेक माघ १३ देखि

काठमाडौँ, पुस २८ । सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ ।

क्यान महासङ्घले बुधबार  आयोजना गरेको पत्रकारसम्मेलनमा सूचना प्रविधिसम्बन्धी दुईसय २२ स्टल मेलामा रहने जानकारी दिइयो । मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य स्टल रहनेछन् ।

मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको महासङ्घका महासचिव विश्वराम बलामीले जानकारी दिनुभयो । अवलोकनकर्ताले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने आयोजकले बताएका छन् ।

कम्प्युटर, इन्टरनेट, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, टेलिफोन तथा मोबाइल फोन कम्पनीले पनि मेलामा आकर्षक छुट लिएर आउने आयोजकले बताएका छन् । अनलाइन टिकट खरिदको अग्रिम रुपमा व्यवस्था मिलाइनेछ तथा अनलाइन टिकट खरिदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने पत्रकारसम्मेलनमा जानकारी दिइयो । रासस

चुट्किलाः शेरेले हाकिमसंग चाउमिन अर्डर गरेपछि

शेरको एउटा अफिसमा जागिर लाग्यो  । पहिलो दिन अफिस गएछ। दिनभरी काम गरेपछी खाजा खाने समय भएछ । शेरेले फोन गरेर खाजा अडर गर्दै भनेछ:- ए भाई यहाँ एक प्लेट चाउमिन र दुधको चिया ल्याउ त छिट्टै । तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेनसानमा पुगेछ। उताबाट:- ओई त को सगँ कुरा गर्दैछस् तलाई थाहा छ? शेरेः थाहा छैन उताबाट:- म यो अफिसको M.D. हुँ? शेरे:- तलाई थाहा छ, को सगँ कुरा गर्दैछस्? उताबाट:- थाहा छैन । शेरे:-त्यसो भने ठिकै छ। (त्यती भनेर शेरेले फोन ढ्याक्क राखेछ।)

सभापति देउवाको जन्म गाउँले पायो पूर्ण साक्षरताको प्रमाणपत्र

डडेल्धुरा, १७ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जन्मथलो रहेको अशिग्राम गाविस पूर्ण साक्षर घोषणा गरिएको छ । जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षरता गाविस घोषणा गरिएको १५ दिन नबित्दै सभापति देउवा जन्मेको गाविसलाई शनिबार पूर्ण साक्षरताको प्रमाणपत्र दिइएको छ । पन्ध्रदेखि ६० उमेर समूहका मानिस राष्ट्रिय र स्थानीय भाषाका वर्ण लेख्न पढ्न सक्ने, सामान्य गणितीय हिसाब राख्न सक्ने, ट्राफिक चिह्न बुझ्ने, रुपैयाँका हिसाब गर्न सक्ने लगायत १२ सूचकमध्ये सात सूचक पूरा गरेका गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गर्न सक्ने प्रावधान रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सोही सूचकका आधारमा अशिग्रामलाई साक्षर गाविसका रुपमा घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले जानकारी गराउनुभयो । रासस

कमल थापा र गच्छदार सरकारमा जाने

काठमाडौं, पौष १७ । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्रीले मंत्रीपरिसदमा राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई ल्याउने तयारी गर्नुभएको खबर आजको नेपाल समाचार पत्रमा छ । थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गर्नुभएको छ भने गच्छदार पनि सरकारमा जान तयार हुनुहुन्छ । थापासँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो ‘म अहिले धनगढीमा छु अनौपचारिक रुपमा यसअघि कुरा भएपनि औपचारिक रुपमा कुरा भएको छैन । पार्टीमा यसबारे कुरा गर्न बाँकी छ ।’ गच्छदारले सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइरहेको स्रोतको भनाइ छ ।

बरीष्ठ साहित्यकार आत्मा राम ओझाको निधन

काठमाडौं, पुष १५ । बरीष्ठ साहित्यकार एवं इतिहासकार आत्मा राम ओझाको ८८ बर्षको उमेरमा आज निधन भएको छ । आज बिहान  ४ बजे उनको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा उदाएका थिए। उनको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको भीमदत्तनगरमा साहित्यकार हेमबाबु लेखकले बताए । जीवनको अन्तिम दिनसम्म पनि अोझाको कलमले निरन्तरता पाएको थियो । सुदुरपिश्चममा बसेर अोझाले देश,समाज,कला,संस्कृति आदिको बारेमा लेख्दै आएका थिए । ‘सुदूरपश्चिम इतिहास परिचय’ ‘तिला’ र ‘राजा नागी मल्ल’ उहाँका प्रसिद्ध कृति हुन् ।

अवैधस्वास्थ्य संस्थामाथि कडा निगरानी, फागुनभित्र दर्ता गर्न अन्तिम मौका

काठमाडौँ, १३ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रालयले अनुगमन गर्दा निजी अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका संशोधनसहित जारी गर्दै उनीहरुलाई कानुनी दायरामा ल्याएको हो । नयाँ निर्देशिका लागू भएपछि निजी स्वास्थ्य क्षेत्रको भद्रगोल अवस्था व्यवस्थित भई उनीहरुबाट भइरहेको लापरवाही नियन्त्रण हुनुका साथै स्वास्थ्य प्रणालीमा सुधार हुने स्वास्थ्यमन्त्री गगन थापाले विश्वास गर्नुभएको छ । निर्देशिका लागू भएपछि राज्यको ढुकुटीमा करोडौँ राजस्व पनि थपिने भएको छ । देशभरका निजी स्वास्थ्य संस्थाको यथार्थ तथ्याङ्क आउने र उनीहरुलाई सामाजिक तथा व्यावसायिक दायित्व लागू गराउन सकिने भएकाले पनि निर्देशिका अत्यावश्यक भएको मन्त्री थापाले स्पष्ट पार्नुभयो । निर्देशिका जारी भएपछि हरेक निजी स्वास्थ्य संस्थाका १० प्रतिशत शै्यया निःशुल्क गराउन पनि सजिलो हुने उहाँको भनाइ छ । कात्तिकको अन्तिम हप्तादेखि काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा भएका अनुगमनमा झन्डै आधाजसो स्वास्थ्य संस्थाले कानुनी प्रक्रिया पूरा नगरेको पाइएपछि तिनीहरुलाई कानुनी दायरामा ल्याउन तथा भविष्यमा खुल्ने स्वास्थ्य संस्थालाई नियमन गर्न निर्देशिका संशोधन गरिएको मन्त्री थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा कुनै पनि सरकारी निकायमा दर्ता नभएका, एउटा निकायमा दर्ता भए पनि स्वास्थ्य मन्त्रालय र मातहतमा दर्ता नभएका, नवीकरण नभएका र दर्ताका लागि निवेदन दिए पनि अनुमति नपाएका स्वास्थ्य संस्था पनि सञ्चालनमा रहेको पाइएको थियो । अनुमगनमा सञ्चालनमा रहेका अस्पताल क्लिनिकलगायत स्वास्थ्य संस्थामध्ये आधाजसोले कानुनी प्रक्रिया पूरा नगरेको पाइएको पौडेलले बताउनुभयो । दर्ता तथा नवीकरण नभएका निजी अस्पताल, शिक्षण अस्पताल, क्लिनिक, पोलीक्लिनिक, फार्मेसी, प्रयोगशाला, नर्सिङहोम, स्वास्थ्य अनुसन्धान केन्द्रलगायतका स्वास्थ्य संस्थाले आगामी फागुनभित्रमा दर्ता तथा नवीकरण नगरेमा खारेज हुने निर्देशिकामा व्यवस्था गरिएको छ । उनीहरुलाई स्वास्थ्य मन्त्रालयले अनुमति लिन वा नवीकरण गर्न एक पटकका लागि आउँदो फागुन मसान्तसम्मको अवधि दिएको छ । निर्देशिकामा अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा कानुनी कारबाहीका लागि गृह मन्त्रालयमार्फत वा सोझै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लेखी पठाउने व्यवस्था गरिएको छ । साथै त्यस्ता संस्थाका सञ्चालकलाई भविष्यमा स्वास्थ्य संस्था सञ्चालन अनुमति प्रदान नगर्ने गरी अभिलेख राख्ने कडा व्यवस्थासमेत निर्देशिकामा गरिएको छ । निर्देशिका प्रारम्भ हुने बेलामा संस्था दर्ता गर्ने निकायमा दर्ता भएको तर अनुमतिका लागि निवेदन नदिई सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाले नियमित दस्तुरको अतिरिक्त पाँच गुणा बढी दस्तुर बुझाएर एकपटकका लागि सञ्चालन अनुमति लिन पाउने भएका छन् । रासस

लोकसेवामा सहभागी हुन दलितलाई निःशुल्क कक्षा

काठमाडौँ, म‌ंसिर २३ । उपेक्षित, उत्पीडित र दलित वर्ग विकास समितिले सातै प्रदेशमा लोकसेवा आयोगका विभिन्न तहमा खुल्ला प्रतिस्पर्धामा सहभागी हुने दलित विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गरेको छ । स्थानीय विकास मन्त्रालयअन्तर्गतको समितिले खरदार, नायब सुब्बा र शाखा अधिकृतका लागि सो कक्षा सुरु गरेको समितिका कार्यकारी निर्देशक बुद्धि नेपालीले जानकारी दिए । यसै क्रममा काठमाडौँको पुतलीसडकमा सञ्चालन गरिएको शाखा अधिकृतको निःशुल्क कक्षामा १२३ जना विद्यार्थी सहभागी भएका छन् ।स्नातक तह पूरा गरेका विद्यार्थीका लागि सो कक्षा सुरु गरिएको हो । कक्षा शुभारम्भ गर्दै शिक्षा राज्यमन्त्री धनमाया विकले निजामती सेवामा दलित समुदायको प्रतिनिधित्व कम रहेकाले उनीहरुको सहभागिता बढाउनुपर्नेमा जोड दिए । सांसद जीवन परियार र जीतु गौतमले दलित समुदाय मात्र नभई मुलुकमा पछाडि परेका सबै समुदायलाई राज्यको मूलधारमा ल्याउनुपर्नेमा जोड दिए । अधिकारकर्मी तिलक परियारले यस्ता समुदायलाई अगाडि बढाउन परम्परागत सोच तथा दृष्टिकोणमा परिवर्तन ल्याउन खाँचो रहेको बताउनुभयो ।

घरेलु मदिरा नष्ट

इटहरी, मंसिर २२ । इलाका प्रहरी कार्यालयले केही दिनदेखि राजमार्ग क्षेत्रमा सवारी जाँचका क्रममा बरामद गरेको पाँच हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीको सक्रियतामा मोरङ झापालगायतका जिल्ला र इटहरीकै आसपासका क्षेत्रमा उत्पादन गरी विराटनगर एवम् भारतको जोगबनीसम्म लैजाने उद्देश्यले ल्याइएका घरेलु मदिरा सवारी साधनको जाँचका क्रममा बरामद गरिएको थियो । स्थानीय समाजसेवी र प्रहरी समेतको टोलीले ती बरामद भएको मदिरालाई नष्ट गरी अब उप्रान्त अवैध रुपमा घरेलु मदिरा ओसारपसारलाई अझ कडा बनाउँदै जाने निर्णय भएको पनि उनले जानकारी दिए ।

मंसिर २८ मा राष्ट्रिय ज्यापू दिवस मनाइने

काठमाडौं, मंसिर १९। यही मंसिर २८ गते ज्यापू संस्कृति विकास कोषले तेह्रौँ राष्ट्रिय ज्यापू दिवस मनाउने भएको छ । कोषका कावा अध्यक्ष मोहनकृष्ण सिंहको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उहाँकै निवास लाजिम्पाटमा भेटी ज्यापू दिवसका दिन वसन्तपुरमा हुने कार्यक्रममा प्रमुख आतिथ्य ग्रहणका लागि निमन्त्रणा गरेको छ । अध्यक्ष सिंहले ज्यापू संस्कृति बचाइराख्नका लागि आर्थिक सहयोग गर्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेको छ । दाहाल निवास लाजिम्पाटमा आज बाजागाजा सहित पुगेको कोषको टोलीले प्रधानमन्त्रीलाई नेवारी परम्परानुसार किसली (माटाको पालामा चामल, सुपारी, र चाँदीको सिक्का) समेत राखी कार्यक्रममा प्रमुख अतिथि बन्न निमन्त्रणा दिएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले यहाँका कला–संस्कृति बचाइराख्न आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाएको छ । हरेक वर्ष योमरी पूर्णिमा (यस वर्ष मंसिर २८ गते) का दिन काठमाडौँका विभिन्न टोलबाट बाजागाजासहितका सांस्कृतिक पदयात्राका टोलीले नगर परिक्रमा गरी वसन्तपुरमा कार्यक्रम गर्दै आइरहेको कोषका सचिव सन्तकृष्ण महर्जनले जानकारी दिएको छ ।