अब कसरी अघि बढ्ला देश ? सुन्नुस् माओवादी नेता दीनानाथ शर्माको ताजा अन्तर्वार्ता

काठमाडौं, देशमा चुनावको माहौल तात्न थालेको छ । अर्कोतर्फ मधेसी मोर्चा संविधान संशोधन नभई चुनाव गर्न नहुने र एमाले भने संविधान संशोधन गर्नै नहुने भनेर अड्डी थापेर बसेको छ । यो अवस्थामा प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि मोर्चासँग पटकपटक पहल गरेपनि त्यो सफल हुन सकेको छैन ।
मधेसी मोर्चाले समर्थन फिर्ता लिएको अवस्थामा कसरी बढला त अबको राजनीति, कसरी आँकलन गर्छन माअ‍ोवादी नेता दीनानाथ शर्मा ।

कान्तिपुर रेडियाेले लिएको यो अन्तवार्ता

बागमति सफाई अभियान नयाँ राष्ट्रिय एकताको अभियान बनेको छः प्रधानमन्त्री

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमति सफाई अभियान नयाँ राष्ट्रिय एकताको अभियान बनेको बताएका छन् । शनिबार बिहान शंखमूलमा बागमति सफाई महाअभियानको २०० औं हप्तामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने– ‘नेपाल प्राकृतिक रुपमै सुन्दर देश हो । यो देश मौलिक पहिचान, सँस्कृति र परम्पराको धनी छ । बागमति सफाई महाअभियान आफैमा मौलिक अभियानका रुपमा स्थापित हुन पुगेको छ । बागमति सभ्यताको संरक्षण अभियानमार्फत् देशैभरको फोहोर सफा गर्ने गरी आजैदेखि राष्ट्रिय सरसफाई अभियानको समेत घोषणा गरिएको छ । यो अभियानमा नेपाल सरकारको पूर्ण सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’ प्रधानमन्त्रीले बागमति सफाई अभियानले देशको राजनीतिलाई सफाई गर्न ठूलो प्रेरणा मिलेको भन्दै नेपालीहरुको राष्ट्रिय पहिचानको अभियानका रुपमा यसको विकास हुँदै गरेकोमा अभियानमा सहभागी सबैमा आभार प्रकट गरे ।

विवाहबिना शारीरिक सम्बन्ध राखेको आरोपमा युएईमा विदेशी जोडी जेलमा

अबुधाबी, फागुन २६ । विवाहबिना नै शारीरिक सम्बन्ध राखेको आरोपमा संयुक्त अरब इमिरेट्स (युएई)मा विदेशी एक जोडीलाई हिरासतमा राखिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युएईमा काम गर्दै आएको सो जोडीलाई गत जनवरीदेखि नै हिरासतमा राखिएको भए पनि हालै यो मामला प्रकाशमा आएको हो । २९ वर्षीय दक्षिण अफ्रिकी नागरिक एमलिन कल्वरवेल र २७ वर्षीय युक्रेनी नागरिक इरिना नोहाइलाई विवाहबिना नै शारीरिक सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको हो । यी दुबै आपसमा प्रेम सम्बन्धमा रहेको बताइएको छ । युएईमा विवाहपूर्व शारीरिक सम्बन्ध राख्नु अपराध मानिन्छ । पेटमा समस्या भएका कारण स्वास्थ्य परीक्षण गराउन गएकी इरिना गर्भवती भएको रहस्य खुलेपछि उनी कानूनी कारवाहीको दायरामा तानिएकी हुन् । विवाहबिना नै गर्भवती भएका कारण उनी छानविनको दायरामा तानिएपछि एमलिन र उनीबीचको सम्बन्ध प्रकाशमा आएको हो । दुबैले आफूहरु प्रेमी–प्रेमिका रहेको बताए पनि विवाहपूर्व शारीरिक सम्बन्ध राख्न नपाउने कानूनी प्रावधान तोडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको युएईका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । एमलिनकी आमाले दुबैको रिहाई माग गरेकी छिन् । उनले भनिन्, ‘उनीहरु दुबैको कसुर भनेको नै प्रेममात्र हो ।’ दक्षिण अफ्रिकी विदेशमन्त्रालयले यसबारे आफूले केही गर्न नसक्ने बताइसकेको छ । युएईको कानून उल्लंघन गरेको आरोपमा उनीहरुमाथि युएई मै कारवाही भइरहेको भन्दै विदेशमन्त्रालयले आफ्नो भूमिका प्रभावकारी हुन नसक्ने जनाएको हो । उसले यसबारेमा कानूनी सहायत लिन दुबैलाई सल्लाह दिएको छ । एमलिन पाँच वर्षदेखि युएईमा काम गर्दै आएका थिए । उनकी आमा लिन्डाले दुबैलाई विचलित नहुन आग्रहसमेत गरेकी छन् । विवाहबिना नै शारीरिक सम्बन्ध राखेको आरोपमा युएईको कानूनअनुसार दुबैलाई लामो जेल सजाय हुन सक्छ । इमेजखबरबाट

अमेरिकाद्धारा उत्तर कोरियाको खतराविरुद्ध रक्षा गर्न मिसाइल दक्षिण कोरिया पठाउन सुरु

वासिङ्टन, फागुन २५ ।  अमेरिकाले एक विवादास्पद मिसाइल प्रतिरक्षा प्रणालीको पहिलो भाग दक्षिण कोरिया पठाउन सुरु गरेको जनाएको छ । उत्तर कोरियाको खतराविरुद्ध रक्षा गर्न डिजाइन गरिएको दि टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स सिस्टम (थाड) को पहिलो भाग दक्षिण कोरियामा पठाइएको हो । उत्तर कोरियाले एकै दिन चार ब्यालिस्टिक मिसाइल परीक्षण गरेको भोलिपल्टैबाट उक्त प्रणाली लगाउन सुरु गरेको हो । यो प्रणालीले आफ्नो उडानमै छोटो र मध्यम दूरीको मिसाईललाई नष्ट गर्ने क्षमता राख्छ । यो खबर आजको कान्तिपुरमा छ ।

सुन तस्करी गरेर भरियाबाट करोडपति

काठमाडौं, फागुन  २३ । काभ्रे चलाल गणस्थान घर भएका हरिशरण खड्का चार वर्षअघिसम्म दुबईस्थित एक कम्पनीमा मजदुरी गर्दथे । त्यहीक्रममा दुबईमा सुन तस्करी गर्दै आएका रामकिसन अग्रवाल र चूणामणि उप्रेतीको समूहसँग उनको चिनजान भयो । उनीहरुसँग मिलेर खड्काले भरियाका रुपमा सुन ओसारपसार सुरु गरे । जब सुन तस्करीको सेटिङ बुझे र यसमा करोडौं कमाइ हुने देखे, त्यसपछि उनी आफै तस्करीमा लागेको प्रहरीको भनाइ छ । एयरपोर्ट भन्सारका कर्मचारीसँग अग्रवाल समूहको पहिलेदेखि नै सेटिङ थियो, त्यही सेटिङलाई प्रयोग गरी खड्काले तस्करी सुरु गरेका हुन् । तीन वर्षमै उनले करोडौंको सम्पत्ति जोडिसकेका छन् । उनी दुबईमा याक एन्ड यती नेपाली रेस्टुरेन्ट, याक एन्ड यती सुन पसल तथा बागमती ट्रेडिङलगायत कम्पनीका मालिक हुन् । उनले लाजिम्पाटमा पनि घर किनेका छन् । खड्काका पार्टनर रोशन भुसालको पनि करोडौंको सम्पत्ति भेटिएको प्रहरीले जनाएको छ । कुनै समय काठमाडौंमा ट्याक्सी चलाउने भुसालको नाममा एक दर्जन कम्पनी छन् । उनीसँग करोडौंको सम्पत्ति भेटिएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

बैतडीमा एक लाख २९ हजार मतदाता

बैतडी, फागुन २१ । बैतडीमा एक लाख २९ हजार ६ सय २८ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गराएका छन् । तीमध्ये ६६ हजार दुई सय ४५ महिला, ६३ हजार तीन सय ८२ पुरुष र एकजना तेस्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । जिल्ला निर्वाचन र जिल्ला प्रशासन कार्यालयले संयुक्त रुपमा जिल्लाका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गरेर तस्बिर सहितको मतदाता नामावली सङ्कलन गरिएको गरिएको थियो । आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा सहभागी हुन योग्य मतदाता विवरणलाई अन्तिम रुप दिने तयारी भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले बताए । आगामी स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउनेछन् । फागुन ९ गतेदेखि नामावली दर्ता स्थगित भएको छ । यसैबीच, राज्य पुनः संरचना आयोगको प्रतिवेदन सार्वजनिक नहँुदा मतदान केन्द्र र स्थानीय तह अनुसारको मतदाता नामावली विवरण तयार गर्न निर्वाचन आयोगलाई अप्ठ्यारो परेको छ । आयोगले फागुन मसान्तसम्म जिल्लामा रहने मतदान केन्द्रको टुङ्गो लगाएर पठाउन निर्देशन दिए पनि राज्य पुनः संरचना प्रतिवेदन सार्वजनिक नहुँदा काम अघि बढाउन नसकिएको हो ।

नेपाली चलचित्रमा अहिलेसम्मका प्रतिस्पर्धी नायक को-को हुन्?

काठमाडौ‌ं, फागुन २१ । २००७ सालमा प्रवासमा पहिलो नेपाली चलचित्र सत्य हरिशचन्द्र बन्यो। नेपालमा निर्माण भएको पहिलो चलचित्रको श्रेय आमाले लियो। २०२२ सालमा प्रदर्शन भएको चलचित्र आमापछि मात्रै नेपाली चलचित्रमा नायकनायिका भनेर पात्र चयन हुन थालेको हो। आमापछि धेरै चलचित्र बने तर व्यावसायिक रूपमा कुनै पनि कलाकार स्थापित हुन सकेनन्। बदलिँदो समय र प्रविधिसँगै निजी क्षेत्रबाट चलचित्र बन्न थालेपछि यस क्षेत्रले उचाइ लिन थाल्यो। त्यो उचाइसँगै झुल्किएका केही नायकले नेपाली चलचित्रमा लोभलाग्दो छाप छाड्न सफल भए। नेपाली चलचित्रमा प्रथक नायक मानिएका शिवशंकर मानन्धर चलचित्र आमापछि अरूमा देखिएनन्। शिवशंकरपछि मनको बाँध, कुमारीजस्ता चलचित्रबाट सल्यान केसी, सिन्दूरबाट विश्व वस्नेत, माइतीघरबाट सीपी लोहनीलगायत केही नायक चर्चामा रहे। जब शिव श्रेष्ठ र भुवन केसी नायकका रूपमा उदाए, त्यसपछि नेपाली चलचित्रले नयाँ मोड लियो। कतिपय नायकबीच आआफ्नो समयमा कडा प्रतिस्पर्धा पनि भयो। चर्चामा रहेका केही प्रतिस्पर्धी हिरोका बारेमा यहाँ चर्चा गरिएको छ  शिव श्रेष्ठ र भुवन केसी नेपाली चलचित्र क्षेत्रमा व्यावसायिक रूपमा सफलता हासिल गरेका पहिलो छिमलका हिरो मान्न सकिन्छ, भुवन र शिवलाई। उनीहरूको आगमनअघि नेपाली चलचित्रमा नायकका रूपमा धेरैजनाको नाम आए पनि व्यावसायिक हुन सकेनन्। २०३७ सालमा बनेको चलचित्र जीवनरेखाबाट उदाएका शिव आफ्नो समयमा सर्वाधिक रुचाइएका नायक हुन्। करिअरको प्रारम्भतिरै जीवनरेखा, बदलिँदो आकाशजस्ता चलचित्रमा अभिनय गरेका शिवलाई चलचित्र जुनीबाट डेब्यु गरेका भुवन केसीले टक्टर दिन थाले। नेपाली चलचित्रमा प्रतिस्पर्धी हिरोको कुरा गर्दा शिव र भुवन अग्रपंक्तिमा आउँछन्। नेपाली चलचित्रमा दर्जनौं सुपरहिट चलचित्र दिएका उनीहरूको प्रतिस्पर्धा लामो समयसम्म चल्यो। कतिसम्म भने पछिल्लो पुस्ताका धेरै हिरोसँग पनि उनीहरूले प्रतिस्पर्धा गरे। धीरेन शाक्य र राजेश हमाल चलचित्र ‘युगदेखि युगसम्म’बाट नेपाली रजतपट प्रवेश गरेका राजेश हमालले नेपाली चलचित्र क्षेत्रमा जुन उचाइ पाएका छन्, सायदै यसअघि अरू कसैले पाए। त्यत्तिको सफलता र प्रतिष्ठा पाउनसक्ने पात्र अहिलेसम्म खासै देखिएका छैनन्। महानायकका रूपमा परिचित हमाल चर्चा र सफलताको शिखरमा रहेका बेला धीरेन शाक्यलाई उनको प्रतिस्पर्धी मानिन्थ्यो। चलचित्र कर्जाबाट चर्चाको शिखर चुमेका धीरेन चलचित्र प्रेमबाट यस क्षेत्रमा प्रवेश गरेका हुन्। उस्तै जीउडाल अनि ह्यान्डसम राजेश र धीरेनको प्रतिस्पर्धा चलेका बेला त्यो क्रेजलाई क्यास गर्न चलचित्र सिमाना, भीष्मप्रतिज्ञाजस्ता चलचित्रमा निर्माता निर्देशकले उनीहरूलाई एकसाथ अभिनय गराए। ती चलचित्र सफल पनि रहे। समयको क्रमसँगै राजेशले धीरेनलाई छाड्दै गए।   श्रीकृष्ण श्रेष्ठ र रमेश उप्रेती रूपरंग र जीउडालमात्रै होइन, नृत्य कलाबाट पनि दर्शकको प्रिय हुन सकिन्छ भन्ने उदाहरण बनेका थिए श्रीकृष्ण श्रेष्ठ। चलचित्र भुमरी नाताबाट रजतपटमा डेब्यु गरेका उनी नेपाली चलचित्रमा डान्सिङ हिरोका रूपमा चिनिन्थे। उनको यही कला र निपूणताले लामो समय दर्शकमाझ छाए। अर्का नायक रमेश उप्रेतीको आगमन हुनुअगाडि श्रीकृष्णलाई टक्टर दिने सायदै थिए। रमेशले पनि डान्सिङ हिरोको छवि बनाएपछि चलचित्रमा उनीहरू एकअर्काका विकल्प हुन थाले। त्यसपछि उनीहरूबीच पनि प्रतिस्पर्धा चल्यो। श्रीकृष्णको क्रेज मरणोपरान्त कायम रह्यो भने रमेश अमेरिका पलायन भएपछि दर्शकले उनलाई पनि बिर्से। पछिल्लो समय रमेश नेपाली चलचित्रमा फर्केका छन्। उनी अभिनीत चलचित्र ब्रासलेट अहिले प्रदर्शनको तयारीमा छ। निखिल उप्रेती र विराज भट्ट चलचित्र पिँजडा छायांकनका क्रममा नौ तला माथिबाट हामफालेर चलचित्र प्रदर्शन हुनुअगावै चर्चाको पात्र बनेका निखिल उप्रेती नेपाली चलचित्रका सफल नायक हुन्। एक्सन हिरोका रूपमा चिनिएका उनले एकपछि अर्को गर्दै धेरै सफल चलचित्र पनि दिए। एक्सनमा उनका प्रतिपस्र्धी थिएनन् तर खेलाडी पृष्ठभूमिका विराज भट्टको उदयले उनलाई चुनौती दियो। कतिसम्म भने केही वर्ष त विराज निर्विकल्प नम्बर वान एक्सन हिरोका रूपमा छाए। यी दुई हिरोको प्रतिस्पर्धा पनि निकै रोचक छ। दुवैजना सफलताको शिखरमा रहेका बेला लगभग एकैसाथ पलायन भए। केही वर्षको वि श्रामपछि निखिल आफ्नै निर्देशनमा चलचित्र भैरव लिएर आए भने विराज रोज राणा निर्देशित बलरामबाट कमब्याक गर्दैछन। फेरि पनि यी दुईबीच प्रतिस्पर्धा हुने प्रस्ट छ। आर्यन सिग्देल र जीवन लुइँटेल पर्दामा सर्वाधिक रुचाइएका लभर ब्वाइमा नायक आर्यन सिग्देलको पनि नाम आउँछ। सायद भुवन केसीपछि उनी नै हुन्, जसलाई पर्दामा प्रेमीका रूपमा दर्शकले रुचाए। मेरो एउटा साथी छ, किस्मत, कसले चोर्‍यो मेरो मन आदि चलचित्रपछि उनको यो छवि स्थापित भएको हो। पर्दामा लभर ब्वाइका रूपमा स्थापित नभए पनि आर्यनलाई टक्कर दिने सामर्थ्यका साथ उदाए जीवन लुइँटेल। पहिलो मिस्टर नेपालको उपाधि चुमेका जीवनको क्रेजले आर्यनलाई टक्कर दिनु स्वाभाविकै थियो। कान्छो पुस्ताका नायक अनमोल केसी, संयम पुरी, सुशील श्रेष्ठ, सलोन बस्नेत, पल शाह, आर्यन अधिकारी आदिको आगमन हुनुभन्दा अगाडि उनीहरू जति चर्चित रहे, त्यत्तिकै प्रतिस्पर्धा पनि भयो। अहिले पर्दामा आर्यन र जीवनबीच प्रतिस्पर्धा त छँदैछ, उनीहरूले कान्छो पुस्ताका नायकको क्रेजलाई पनि थेग्नुपर्ने अवस्था सिर्जना भएको छ। अन्नपुर्णपोस्ट बाट साभार

इराकमा १० नेपाली युवती एकमहिनादेखि अलपत्र, उद्धारको पर्खाइमा

काठमाडौं, फागुन  २१ । मानव तस्कार समुहबाट इराक पुयाइएका १० नेपाली युवती एकमहिनादेखि अलपत्र पारेका छन् । एक महिना अघि उनीहरुले उद्धारका लागि आग्रह गरे पनि अहिलेसम्ममा उद्धार हुन सकेको छैन । पछिल्लो समय बैदेशिक रोजगारीको प्रलोभनमा नेपाली युवती इराकमा पुरयाएर बिक्री हुने क्रम बढेको छ । अलपत्र युवतीहरुको उद्धार हुन नसकेपनि यसबीच प्रहरीले उनीहरुलाई इराक पठाउने एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । रसुवा स्याफ्रुबेसीका साम्देन लामालाई महानगरीय अपराध महाशाखाले गत साता पक्राउ गरेको हो । अलपत्र पारेका सबैलाई उनले नै इराक पठाएका हुन् । अलपत्र पारेकाहरुले खाना खानसमेत नपाएको तथा केटाकेटी घरमा बन्धक बनाएर शोषण गारिएको बताएका छन् । उनीहरुको उद्धारका लागि शक्ति समुहले पहल गरिरहेको छ । तर, इराक द्वन्द्वग्रस्त मुलुक भएको र त्यहाँ दुताबाससमेत नभएकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ । पीडितहरुमा धेरै रसुवा र सिन्धुपाल्चोकका युवतीहरु छन्। यो खबर अाजको नयाँ पत्रिकामा  छ ।

फोनमा घण्टौं बोल्नु हुन्छ, साबधान !

काठमाडौं, फागुन २०। तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुहोस्, श्रवणशक्ति गुम्न सक्छ। यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायतका समस्या पाइएको छ। उपचार गर्न अस्पातल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज इएनटी विभागका कानरोग विशेषज्ञ डा. रवीन्द्रनाथ प्राधांगका अनुसार कानको समस्या आउने धेरैमा सुन्ने क्षमता कम भएको पाइएको छ। ‘सुरूमा कान बज्यो भनेर आएका हुन्छन्, परीक्षण गर्दा कम सुन्ने समस्या देखिन्छ,’ उनले भने। यो  खबर आजको नागरिक दैनिकमा छ ।

तस्करद्वारा विदेशबाटै प्रहरीलाई धम्की

काठमाडौं, फागुन २० । साढे ३३ किलो सुनको मुख्य मालिक गुप्तलाल (रोशन) भुसाल र हरि खड्का भएको सिआइबीले जनाएको छ । दुवैजना हाल दुबईमा छन् । सुन बरामद भएको भोलिपल्टै भुसाल दुबई गएका थिए । खड्का दुबईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुनपसलका मालिक हुन् । दुबईको सो सुनपसलका अन्य सञ्चालक पनि तस्करीमा संलग्न हरेको स्रोत बताउँछ । तस्करीमा लगानी गर्ने चूडामणि उप्रेती (गोरे), रामकिशन अग्रवाल (काले) र अर्जुन खरेलको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । लगानीकर्ताले सुन ओसारपसारमा आफन्तलाई नै प्रयोग गर्दै आएका थिए । हरि खड्काका भाइ राजकुमार खड्का र अर्जुन खरेलका भाइ प्रकाश खरेल फरार छन् । लाजिम्पाट उत्तरढोकास्थित दरबार रोधीघरमार्फत तस्करीको सुन विभिन्न पसलमा जाने गरेको प्रहरीले पत्ता लगाएको खबर आजको नयाँ पत्रिकामा छ । तस्करद्वारा विदेशबाटै प्रहरीलाई धम्की साढे ३३ किलो सुन तस्करीमा फरार रहेका व्यक्तिहरूले विदेशबाटै प्रहरीलाई धम्क्याएका छन् । अनुसन्धान नगर्न भन्दै उनीहरूले फोन गरेर सिआइबीका प्रहरीलाई धम्क्याएका हुन् । इन्टरनेट कलमार्फत फोन गर्दै उनीहरूले सिआइबीका डिएसपी प्रवीण पोखरेल, वीरेन्द्र जोहारीलगायतलाई धम्क्याएका हुन् । सिआइबीले धम्कीको अडियोसमेत अनुसन्धान प्रतिवेदनमा राखेर बुझाएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

३३ किलो सुन तस्करका मुख्य मालिक दुबईमा

काठमाडौं, फागुन १९ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पुस २१ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम सुनको मुख्य मालिक पहिचान गरेको छ। उच्च स्रोतका अनुसार दुबाईबाट सुन किनेर नेपाल पठाउने काममा संलग्न ८ जनाको पहिचान भइसकेको छ । जसमा दुबाई बसेर व्यापार गरिरहेका ६ नेपाली र नेपालमै बसेर व्यापार गरिरहेका दुई भारतीय नागरिक छन् । जसम्ध्ये गुल्मी स्थायी ठेगाना भएका रोशन भुसाल र काभ्रे स्थायी ठेगाना भएका हरिशरण खड्का रहेको स्रोतको दाबी छ । नेपालमा रहेका भारतीय व्यापारी भने तस्करीको सुन बुझ्ने र भारत पठाउने कामा सक्रिय थिए । यो खबर आजको कान्तिपुरमा खबर छ ।

आइजिपी नियुक्तिमा आज पनि भएन फैसला, सरकारसँग लिखित जवाफ माग

काठमाडौं, फागुन १८ । सर्वोच्च अदालतले बुधबारका दिन अन्तिम फैसला हुने आँकलन गरिएको प्रहरी महानिरिक्षक नियुक्तिबारे को मुद्दामा लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधिशद्वय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले यसअघि सर्वोच्चको अन्तरिम आदेशलाई निरन्तरता दिँदै सरकारलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न भनेको छ । यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले जय बहादुर चन्दको नियुक्तिबारे तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी थियो । आजको आदेश अनुसार, सरकारबाट लिखित जवाफ आएपछि पूर्ण सुनुवाईका लागि फाइल पेस गर्ने छ ।

३३ किलो सुन तस्करीमा संलग्न चार नाइके पक्राउ

काठमाडौं, फागुन १८  । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । सिआइबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए । पक्राउ परेकामध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपालकै सुन पसलमा बेच्दै आउका थिए । उनीहरुमाथिको अनुसन्धानबाट सुनपसलको पनि पहिचान हुने प्रहरीले जनाएको छ । अनुसन्धान अन्तिम चरणमा सिआइबी निर्देशक डिआइजी नवराज सिलवालले तस्करीमा संलग्न थप व्यक्तिलाई पक्राउ गरिएको बताए । ‘सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुृगेको छ ,’ उनले भने, ‘आइतबारसम्म अनुसन्धान पूरा गरी मुद्दा दायरको प्रक्रियामा जान्छौं ।’ मुख्य नाइके अझै फरार छन् । तस्करीमा संलग्न प्रमोद श्रेष्ठलगायत व्यपारी दुबईमा रहेको प्रहरी स्रोतले बतायो । एयरपोर्टका भन्सार कर्मचारी तथा प्रहरीको मिलेमतोमा लामो समयदेखि दुबईबाट नेपालमा सुन तस्करी हुँदै आएको थियो । सिआइबीले गत २१ पुसमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो सुन बरामद गरेको थियो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्छः परराष्ट्रमन्त्री

काठमाडौँ, फागुन १७। परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्ने नेपालको अडान दोहोर्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल जेनेभामा रहनुभएका मन्त्री डा महतले सोमबार शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटका क्रममा ती शरणार्थी आफ्नो देशमा नफर्कँदासम्म तथा कुनै तेस्रो मुलुकमा पुनःस्थापित नहुँदासम्म राष्ट्रसङ्घीय उक्त निकायलाई मानवीय सहायता उपलब्ध गराउने दायित्वबाट नहट्न आग्रह गर्नुभयो । नेपालमा हाल बाँकी रहेका दश हजारभन्दा केही बढीको सङ्ख्यामा रहेका ती शरणार्थीलाई नेपालमै पुनःस्थापित गर्न उक्त निकायले नेपाललाई आग्रह गर्दै आएको थियो भने नेपालले ती शरणार्थीलाई स्वदेशमै फर्किनका लागि सहयोग गर्नुपर्ने अडान लिँदै आएको थियो । सो विषयमा उच्चायुक्त सकारात्मक हुनुभएको थियो । शरणार्थीलाई गर्दै आएको सहयोगको जिम्मेवारीबाट आयोग पछि नहट्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको थियो । नेपालमा रहेका भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनरुस्थापित भएका छन् । हाल यहाँ दश हजारभन्दा केही बढीको सङ्ख्यामा भुटानी शरणार्थी छन् । रासस

अवैध डेन्टल क्लिनिक सञ्चालन गर्ने पक्राउ

दाङ,  फागुन १७ । दाङमा अवैधरुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ परेका छन् । लालमटिया–३, भालुवाङ बजारमा स्वर्गद्वारी डेन्टल क्लिनिक सञ्चालन गर्ने २६ वर्षीय समिर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका २३ वर्षीय गौतम गिरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ । भण्डारी र गिरीले प्याथोलोजी र डेन्टल क्लिनिक स्वीकृति नलिएरै सञ्चालन गर्दै आएका थिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्वीकृति नलिएर जनताको स्वास्थ्यमा खेलवाड गरेको तथा औषधि समेत अवैधरुपमा बिक्री वितरण गरिरहेको भन्ने जनगुनासोको आधारमा भण्डारी र गिरीलाई पक्राउ गरिएको एसपी सिंहले बताउनुभयो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु भएको उहाँले बताउनुभयो । रासस

बागेश्वरी क्याम्पसमा आगजनी

बाँके, फागुन १६ । बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा आगलागी भएको छ । क्याम्पस प्रमुखको कार्यकक्षमा आइतबार राति अपरिचित समूहले लगाएको उक्त आगलागीबाट कोठामा भएका फर्निचर तथा अन्य सामानहरु पनि जलेर नष्ट भएका क्याम्पस प्रमुख शिशिर शर्माले बताए । आगामी १८ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका विषयमा छलफल गर्नका लागि क्याम्पस संचालक समितिको बैठक बोलाएको क्याम्पस प्रमुखले बताए । क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेद्वारी दर्ता भएपनि अखिल बाहेकका संगठनमा भने आन्तरिक विवाद रहँदै आएको छ ।