मलेशियामा कमाएको पैसा बोकेर श्रीमती भाग्दा भोजराजको विजोग

कञ्चनपुर, फागुन १५ । चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ ।

मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् ।

दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन् ।

माइतीमा रहेकी बज्यैलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका–७ भकुण्डाका खुसिराम डगौरासँग भागेर गएको भोजराजले बताउनुभयो ।

विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको रहेछ उहाँले भन्नुभयो – “उनले श्रीमतीसँगै कमाएको पैसासमेत लगेका छन् ।”

उहाँले भन्नुभयो – “भगाएर लगेकी श्रीमतीलाई उनले नै लुकाएर राखेका छन् ।” खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गर्नुभएको छ ।

भोजराजले बूढीआमाको ज्येष्ठ नागरिक भत्ताबापतको रु १० हजार, छोरीको कानमा लगाएको आधा तोला सुन, घरमा रहेको अरु अढाइ तोला सुन र वृद्ध आमाको सुनको फुलीसमेत निकालेर लगेको बताउनु भयो ।
विदेशबाट प्रतिमहिना आइएमई गरेर पैसा पठाउँथेँ उनले बैंकमा पैसा राख्दै आएको जवाफ दिन्थिन् उहाँले भन्नुभयो – “विदेशबाट फर्केर बैंक खातामा हेर्दा रु एक लाख ८८ हजार नगद रकम मात्रै फेला परेको छ ।” रासस

पत्रकार महासङ्घ खोटाङको अध्यक्षमा पुनः राई

खोटाङ, फागुन ९ । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको अध्यक्षमा दमन राई पुनः चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट राई पुनः अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा रामधन राई र सुनिता मगर, सचिवमा उत्तत चौलागार्इं, सहसचिवमा रमिला राई र चिसाङ शेर्पा तथा कोषाध्यक्षमा शर्मिला विश्वकर्मा चयन हुनुभएको छ । सोमबार बिहान सम्पन्न अधिवेशनबाट केदार मगर, उजुर राई, अमृत गिरी र उजिर कार्की प्रदेश प्रतिनिधिमा छनोट हुनुभएको छ । अधिवेशनले डम्बरसिं राई, सङ्गीता राई, सइन्द्र राई र दिलीप खत्रीलाई केन्द्रीय पार्षदमा छनोट गरेको छ ।

गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने

जाजरकोट, फागुन ९ । जाजरकोटको एक दुर्गममा रहेको सामुदायिक विद्यालयका अध्यक्ष प्रत्येक दिन विद्यार्थीसँग विद्यालय पुग्छन् । विद्यार्थीको प्रार्थनाको समयमा आफैँ उपस्थित हुने गर्दछन् । विद्यार्थीको हाजिरीसमेत प्रार्थनाको समयमा लाइनमा हुने गर्दछ । यो विद्यालय हो, मालिका प्रावि थालारैकर–८ सुगरखाल । यो विद्यालय कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको छ । यहाँका प्रधानाध्यापक र अन्य शिक्षक ठीक १० वजे विद्यालय नआएमा विव्यस अध्यक्ष भक्तबहादुर थापाले निःशुल्क पढाउन लगाउने गर्दछन् । विद्यालय उपस्थित नहुने विद्यार्थीका अभिवावकले विद्यालयमा एक दिन काम गरी सजाय भोग्नुपर्दछ । अहिले यो विद्यालयमा निजी विद्यालयवाट कक्षा छोडेर विद्यार्थी पढ्न आउने गर्दछन् । यो विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा रहेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । स्रोत व्यक्ति एक हप्तामा विद्यालय नपुगेमा अध्यक्षले फोन गरी विद्यालयमा आउन हैरान बनाउने गरेको स्रोतव्यक्ति मनिराम पोखरेलले बताए । गयल हुने शिक्षकको तलब काटेर विद्यालयमा चाहिने आवश्यक शैक्षिक सामग्री खरिद गरी विद्यालयमा व्यवस्थापन गर्दै आएको प्रधानाध्यापक शान्तबहादुर रोकायले बताए । विद्यालयमा खानेपानी, शौचालय, वाथरुम लगायतका भौतिक निर्माण गरी पूरै सुविधासमेत पुर्याएको जिल्ला शिक्षा अधिकारी सिंहले बताए । विद्यालयमा उपस्थित नहुने विद्यार्थीको घरमा पुगेर विद्यालयमा अभिभावकले काम गर्न बाध्य पारेदेखि सबैले आफ्ना छोराछोरी नियमित विद्यालयमा पठाउन लागेको प्रअ रोकायले बताए । योभन्दा अघिका अध्यक्ष हुदा विद्यालयमा लापरबाहीका कारण लथालिङ्ग थियो , अहिले निकै परिवर्तन आएको प्रअ रोकायले बताए ।

डोजर लगाएर घर टहरा भत्काइयो

वीरगन्ज, फागुन ८ । लामो समयदेखि वीरगन्जको घन्टाघर नजिक वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा घर टहरा बनाई तरकारी व्यवसाय गरी रहेका व्यापारीहरुको घर टहरा डोजर लगाइ उपमहानगरपालिकाले आज बिहान भत्काएको छ । सुरुमा ती व्यापारीहरुले मिनाबजारमा तरकारी व्यापार गर्दै आएका थिए पछि उपमहानगरपालिकाले सो ठाउँमा कम्प्लेस्स बनाउन थालेपछि उनीहरुलाई घन्टाघर नजिक रहेको जग्गामा सारिएको थियो । कम्प्लेक्स निर्माण भएपछि ती तरकारी व्यापारीलाई कम्प्लेस्समा आउन भन्दा चर्को भाडादर भएको भन्दै व्यापारीले आनाकानी गर्दै आएका थिए । घन्टाघर नजिकको सो ठाउँमा सार्वजनिक पार्क बनाउने भनेर बारम्बार सूचना दिएपनि व्यापारीले सो सूचनाको अटेर गरेका कारण बाध्य भएर डोजर लगाउनुपरेको वीरगन्ज उपमहानगरपालिकाका प्रमुख पीताम्बर अधिकारीले बताउनुभयो । तरकारी व्यवसायी सङ्घका अध्यक्ष विदुर साह कलवारले पूर्व सूचना बिना व्यापारीको घर भत्काउनुले गरिब व्यापारीलाई ठुलो अन्याय भएको बताउनुभयो । व्यापारीले आफूहरुले प्रयोग गर्दै आएका सो जग्गा खाली नगर्न भनी अदातलमा मुद्दा दिएकोमा जिल्ला अदातल पर्साले उपमहानगरपालिकाको पक्षमा फैसला सुनाएपछि उपमहानगरपालिकालाई जग्गा खाली गराउने बाटो खुलेको हो । नेपाल रेल्बेको स्वामित्वमा रहेको जग्गामध्ये १० बिगाहा जग्गा २०६० सालमा उपमहानगरपालिकाले तत्कालिन प्रमुख गोपाल गिरीको पालामा रु १० करोडमा खरिद गरेको थियोे । सो जग्गामा वीरगन्ज उपमहानगरपालिकाले रु एक करोडको लागतमा सार्वजनिक पार्क निर्माण गर्ने भनेर प्रहरी तथा डोजर लगाएर सो जग्गा खाली गराएको हो । केहीबेर ब्यापारीहरुले अवरोध सिर्जना गरेपछि सुरक्षाकर्मीले लाँठीचार्ज गरेका थिए । रासस

नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मी

काठमाडौं,  फागुन ६ ।  राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा भएको अध्ययनले नेपालमा २० हजारभन्दा बढी पुरुष यौनकर्मीहरू रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रको अगुवाइमा ४४ जिल्लामा गरिएको अध्ययनअनुसार २० हजार ६ सय २५ पुरुष यौनकर्मी (जिगेलो) छन् । यौनकर्मीहरूको तथ्यांक संकलनका लागि केन्द्रको अगुवाइमा विकाससँग साझेदार अन्तर्राष्ट्रिय निकायको सहयोगमा इन्टरपिड नेपालले चार महिना लगाएर गरेको अध्ययनले नेपालमा पुरुष यौनकर्मीको संख्या बढ्दो मात्रामा रहेको समेत दाबी गरेको छ । पहिलोपटक सन् २०१० मा मुलुकमा महिला यौनकर्मीहरूको तथ्यांक संकलन गरिएको थियो । सो अध्ययनले २८ हजारको हाराहारीमा महिला यौनकर्मी रहेको देखाएको थियो । त्यसको ६ वर्षपछि गरिएको अध्ययनले सो संख्या बढेर झन्डै ५३ हजार पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ । अध्ययनले काठमाडौं उपत्यकामा मात्र महिला यौनकर्मीहरूको संख्या ११ हजार ६ सय ७० रहेको अनुमान गरेको छ । २०७३ भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले नेपालमा १ लाख ११ हजार ८ सय ५२ पुरुषमध्ये करिब २४ हजारको हाराहारीमा तेस्रोलिंगी, २० हजार ६ सय २५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिंगी पुरुष रहेको अनुमान छ । त्यसैगरी, अध्ययनबाट आएको नतिजाले नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेको संख्या करिब ३४ हजार रहेको अनुमान गरेको छ । जसमध्ये पुरुषको संख्या ३० हजारको हाराहारीमा र महिलाहरूको संख्या ३ हजारको हाराहारीमा छन् । ६ वर्षको अवधिमा महिला यौनकर्मीको संख्या दोब्बरले वृद्धि हुनु आश्चर्यजनक भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए । उनले अध्ययनका क्रममा आएको नतिजाबीच धेरै भिन्नता देखिए पनि यसलाई अन्यथा लिन नहुने बताए । ‘यो हुँदै नभएको तथ्यांक पक्कै होइन, केही फरक देखिएको होला,’ उनले भने । अध्ययन सार्वजनिक गर्न केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक राजेन्द्र पन्तले आगामी वर्षको बजेटमै यस तथ्यांकबाट आएको नतिजाको आधारमा नयाँ कार्यक्रम तर्जुमा गर्ने बताए । यो खबर आजको राजधानी दैनिकमा  छ ।

हराएकी युवती मृत फेला

धनगढी, ४ फागुन । धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट छ दिनअघि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई मङ्गलबार मृत फेला पारिएको छ । हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मङ्गलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो । यही माघ २७ गतेदेखि छोरी बेपत्ता रहेकाले खोजी गरिदिन युवती पक्षबाट मङ्गलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो । लगत्तै थालिएको अनुसन्धानको क्रममा युवतीको शव युवक हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टो पारिएको अवस्थामा फेला पारिएको चन्दले बताउनुभयो । दुवैबीच केही समयदेखि प्रेम सम्बन्ध रहेकाले अञ्जली हिक्मतको घरमा बस्दै आएकीमा माघ २७ गतेदेखि बेपत्ता रहेकी थिइन् । प्रहरीले हिक्मत सिंहलाई पक्राउ गरी घटनाको थप अनुसन्धान थालेको छ । रासस

कसले जलाए त्रिवि शिक्षाध्यक्ष त्रिपाठीको गाडी !

काठमाडौं, फागुन २ । त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष (रेक्टर) सुधा त्रिपाठीको कारमा अपरिचित समुहले आगजनी गरेको छ । ललितपुरको युएन पार्क नजिक २ जनाले बा २ च ५६३० नम्बरको त्रिपाठी सवार सुजुकी जिपमा आगजनी गरेको हो । आगजनीबाट जीप पुर्ण रुपमा क्षति पुगेको ललितपुर प्रहरीले जनाएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक समेत रहेकी त्रिपाठीको जिपमा स्ववियू निर्वाचन प्रति असन्तुष्ट विद्यार्थी संगठनका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीको आशंका छ आगजनीलगत्तै पुगेको प्रहरीले आगो निभाएको छ ।  अनेरास्ववियु अध्यक्ष नविना लामाले स्ववियु चुनाव भाँड्न शिक्षाध्यक्षको गाडीमा आगजनी गरिएको भन्दै भर्त्सना गरेकी छन् । ‘यसको जिम्मा कि चुनाव भाँड्ने संगठनले लिनुपर्छ,’ उनले भनिन्, ‘नभए राज्यले जिम्मेवारी लिनुपर्छ ।’

५८ प्रतिशत गर्भपतन गैरकानुनी र असुरक्षित

काठामाडौं , माघ २९ । नेपालमा पहिलोपटक गरिएको अनिच्छित गर्भ र गर्भपतनसम्बन्धी राष्ट्रियस्तरको अध्ययनले ५० प्रतिशत गर्भ अनिश्चित भएको निष्कर्ष निकालेको छ । नेपालमा कुल गर्भमध्ये ३१ प्रतिशत र अनिच्छित गर्भमध्ये ६२ प्रतिशत गर्भपतन हुने गरेको छ । नेपालमा बार्षिक ३ लाख २३ हजार गर्भपतन हुने तथ्यांकले देखाएको छ । जसमध्ये ५८ प्रतिशत गर्भपतन गैरकानुनी र असुरक्षित रुपमा हुने गरेको छ । वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले गरेको अध्ययनले नेपालमा अनिच्छित गर्भधारण र गर्भपतनको यस्तो स्थिति देखाएको हो । अध्ययनले नेपालमा वार्षिक ४८ हजार गर्भ रहने देखाएको छ । अध्ययनले ५० प्रतिशत अनिच्छित गर्भमध्ये सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रमा ५९ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिमाञ्चलमा ३४ प्रतिशत रहेको देखाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

एकल महिलालाई नागरिकता दिन घुम्ती शिविर हुने

रामकोट (काठमाडौँ), माघ २७ । नागरिकता र राज्यको सुविधाविहीन एकल महिलालाई एकीकृत सेवा दिन घुम्ती शिविर सञ्चालन गरिने भएको छ । नागार्जुन नगरपालिका र मानवअधिकारका लागि एकल महिला समूहले आज रामकोटमा आयोजना गरेको नागरिकता, व्यक्तिगत घटना दर्ता र महिला हिंसाविरुद्ध सूचना प्रदर्शनी कार्यक्रममा पीडित महिलाले गुनासो गरेपछि काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले ५० भन्दा बढी त्यस्ता मुद्दा भएको र अन्य सम्बन्धित कार्यालय तथा स्थानीयको मागका आधारमा घुम्ती शिविर सञ्चालनको नीति रहेको स्पष्ट गर्दै उचित जनचेतनाको अभावमा काठमाडौँमा पनि अझै महिला तथा वृद्धा नागरिकताविहीन रहेको जनाउनुभयो । प्रदर्शनीमा कुल ११४ विभिन्न मुद्दाबारे सूचीत गरिएकामा ३० वटा नागरिकताविहीनसहित मुख्य घटना दर्ता भएका थिए । कार्यक्रममा नागरिकताबिना वृद्धभत्ता, पानी, बिजुली मात्र होइन मोबाइलको सिमकार्ड पनि पाउन नसकिने मार्मिक संवादसहितको ‘अनागरिक’ नाटक देखाइएको थियो । समूहका संस्थापक अध्यक्ष लिली थापाले महिलाले व्यक्तिगत घटना दर्ता र महिला हिंसाविरुद्ध आगामी दिनमा समयमै सरकारी नियकामा सूचना दिनेबारेमा चेतना नहुँदा उनीहरुले न्याय पाउन नसकेको बताउनुभयो । संस्थाका अध्यक्ष निर्मला ढुङ्गानाले देशभर एकल महिलाको हकअधिकार तथा सशसक्तीकरणका लागि आफूहरुले दुई दशकदेखि वकालत गर्दा पनि अझै सबै एकल महिलाले नागरिकता पाउन नसक्नु विडम्बना भएको बताउनुभयो । रासस

सात बिद्यार्थी संगठनद्धारा स्ववियु निर्वाचन हुने सबै क्याम्पसमा तालाबन्दी

काठमाडौं, माघ  २६  । विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी) लगायत सात विद्यार्थी संगठनहरुले उपत्यका लगायत देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी गरेको छ । संगठनले  तालाबन्दी गर्दै चार बुँद्दे माग सहित प्रतिरोधका कार्यक्रम  सार्वजनिक गरेको छ । विरोधका कार्यक्रममा माघ २६ गते देशका सबै क्याम्पसमा तालाबन्दी, २७ गते निर्वाचनका सबै कामहरू रोक्ने र २८ गतेदेखि प्रतिरोध गर्ने उल्लेख छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनहरुलाइ हेर्ने दृष्टीकोण र गर्ने व्यवहारमा विभेद गरेको , फर्जी विद्यार्थी भर्नालार्इ मान्यता दिएको ,स्वबियु निर्वाचनको लागि उपयुक्त वातावरण निर्माण नगरेको भन्दै त्रि वि केन्द्रिय क्याम्पस लगायत देशै भरीका क्याम्पसहरुमा तालाबन्दी गरेको क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीका उपत्यका संयोजक लोकेश बिश्वकर्माले त्रि विको प्रवृत्ति र केहि संगठनको उक्साहटमा गरिएको हर्कतको कारणले स्ववियु निर्वाचनको वातावरणमा धमिलिदै गएको आरोप लगाएको छन् । उनले  यस बारेमा सम्बधितस‌ंग कुरा गर्दा कुनै गम्भीरता नदेखाएको बताउँदै स‌ंगठनले तालाबन्दी गर्न बाध्य भएको बताए । आफ्नो माग पुरा नभएसम्म यो बन्द जारी रहने उनले चेतावनी दिए ।

बाग्लुङका एक्ला शैलुन व्यवसायी, कमाई मासिक दुई लाख बढी

काठमाडौं, माघ २५ । पर्वत: सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक दुई लाख भन्दा बढी आम्दानी गर्न थालेका छन् । खाडी मुलुक यूएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका बानपा–२ का २७ वर्षीय राजन पौडेलले अहिले घरमै बसेर मनग्य आम्दानी गर्न थालेका छन् । विदेशवाट फर्किएपछि उनले राजधानीमा बसेर ६ महिना हेयर डिजाइनर तालिम लिए र घर फर्केर सैलुन व्यवसाय सुरु गरे । अहिले उनी बागलुङ बजारको पुरानो बसपार्क नजिकै रहेको आफ्नै घरमा मार्क रविन्स सैलुन एयर एन्ड ब्युटी फर लेडिज एण्ड जेन्ट्स पसल खोलेर व्यवसाय गर्दै आएका छन् । “परिवारको कान्छा छोरा, बाबु नेपाल बैंकको पूर्व म्यानेजर । पैसाको त खासै कमी थिएन, विदेश जानुपर्ने बाध्यता पनि थिएन तर बालहठका कारण विदेश गएँ । यूएईमा पनि यस्तै पार्लरमा काम गर्ने अवसर पाएँ र त्यसैको  प्रेरणाबाट नेपाल फर्किर सैलुन व्यवसाय सुरु गरेँ,” पौडेल भन्छन् । सुरुमा त घरपरिवार र समाजले समेत यस्तो व्यवसाय नगर्न सुझाव मात्र हैन, दबाब पनि दिए । “काम भनेको सानो–ठूलो हुँदैन भनेर आफैंले ६ लाख रुपैयाँ लगानी गरेर व्यावसाय थालेको हुँ,” उनले भने । हाम्रो समाजमा अझै पनि सैलुन व्यवसाय भनेको भारतीय मूलका नागरिकले नै गर्ने हो भन्ने प्रचलन छ । ठूला सहरबजारदेखि साना व्यापारिक केन्द्रसम्म उनीहरुकै वर्चश्व पनि छ । त्यसैले समाजको बुझाइसमेत नेपालीले यो काम गर्नु हुँदैन भन्ने हुँदाहुँदै पनि उनले धौलागिरि अञ्चलमै पहिलोपटक सैलुन व्यवसाय सुरु गरेका हुन् । व्यवसाय सुरुवातका केही समय त आफ्नो सैलुनमा कोही पनि नआउने उनले सुनाए । तर, विस्तारै मेहनत र कलाकौशलका कारण अहिले उनको पसल धौलागिरि अञ्चलकै नमुना बनेको छ । अहिले उनी धौलागिरिका एक्ला नेपाली सैलुन व्यवसायी बन्न सफल भएका छन् । उनको पसलमा पुरुषमात्र हैन, महिलाको पनि उत्तिकै आकर्षण छ । “बढीजसो अफिसियल र टिनेजर्स मेरोमा आउने गर्छन्,” उनले भने । दैनिक ४० देखि ५० जनासम्म पुरुष र महिला विभिन्न सेवा लिनका लागि आउने गरेको राजनले जानकारी दिए । “मबाट सेवा लिएकाहरू अर्को पटक अर्को स्थानमा जान मान्दैनन्,” उनले भने, “पोखरा, काठमाडौँ जहाँ पुगे पनि फर्की फर्की सेवा लिन आउने गरेका छन् ।” तालिम नै लिएर व्यवसाय सुरु गरेकाले ग्राहकको जस्तोसुकै रोजाइको सेवा दिन सक्ने उनको क्षमता छ । दैनिक ५ हजार रुपैयाँदेखि ७ हजारसम्म कमाइ हुने गरेको उनको भनाइ छ । उनको सैलुनबाट कपाल काट्ने, हेयर स्टेट, फेसियल, डेडलक, हेड ट्रिटमेन्ट, हेयर मसाज, सेभिङ, हेडवास र महिलाका लागि हेयर स्टेट, फेसियल, मेकअप, हेयरवेभलगायत दुलही श्रृंगार, दुलाहा श्रृंगारलगायत सेवा उपलब्ध हुन्छ । व्यवसायमा गरेको लगानी पहिल्यै वर्षमा उठाएका राजनले अहिले भएको कमाइले छोराछोरी पढाउने र पैसा बैंकमा बचत गर्न थालेका छन् । उनी भन्छन्, “यसबाट भएको कमाइको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्ने योजना छ ।” उनले दुई पुरुष र एक महिलालाई रोजगारी पनि दिएका छन् । सुरुका केही महिना किन यस्तो व्यवासयमा हात हालेँछु जस्तो लागेको भए पनि विस्तारै अञ्चलकै नमुना बन्न सफल भएकोमा आफैँलाई आश्चर्य लाग्ने गरेको उनको अनुभव छ । बागलुङ बजारमै यस्तो व्यवसाय गर्नेको संख्या डेढ दर्जन भए पनि आफूकहाँ कुनै समय खाली नहुने राजनले बताए । उनले यो व्यवसायलाई अझै फराकिलो बनाउने सोच राखेका छन् । एकै पटकमा १० जनासम्मलाई सेवा दिन मिल्ने गरी व्यवसायको आकार बढाउने र जनशक्ति पनि थप गर्ने योजनामा उनी छन् । भन्छन्, “विदेशमा गएर अरुको नोकरी गर्नुभन्दा आफ्नै घरगाउँमा बसेर यस्तै व्यवसाय गर्नु उचित ।” लाज नमानी यही व्यवसाय गरे प्रशस्त आम्दानी गर्न सकिने र भारतीय मूलका नागरिकलाई विस्थापित गर्न सकिने उनको विश्वास छ । कारोबार दैनिकबाट लक्ष्मीप्रसाद सापकोटाको रिपोर्ट साभार

व्हाइट हाउस छिरेपछि के होला ट्रम्पको यौनजीवन ?

न्यूयोर्क, एजेन्सी । तेश्रो पत्नीसँग ह्वाइट हाउस छिरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यौनजीवन रित्तिएको कतिपयले टिप्पणी गरेका छन् । युवती र यौनका मामिलामा निकै उदार मानिने डोनाल्ड ट्रम्पकी तेश्रो पत्नी हुन मेलानिया ट्रम्प । कुनै बेला यौनका बारेमा खुलस्त कुरा गर्ने मेलानिया र ट्रम्प ह्वाइट हाउसको व्यस्त जीवनमा आफ्नो यौन जीवनलाई कसरी जोगाउलान् भन्ने बारेमा न्यूयोर्क टाइम्सदेखि अन्य पत्रिकामा समेत आलेखहरु प्रकाशित भएका छन् । न्यूयोर्क टाइम्सका अनुसार, सन् १९९९ मा डोनाल्ड ट्रम्पले एउटा रेडियामा हवाडए स्टर्नलाई दिएको अन्तर्वार्तामा मेलानिया र आफूबीच एकदमै सक्रिय र सदाबहार यौनसम्बन्ध कायम हुने खुलासा गरेका थिए । मेलानियाले फोनमा कुरा गर्दै दिनमा एकपटक र कहिलेकाहिँ त त्यो भन्दा पनि बढी यौनसम्पर्क गर्ने गरेको बताएकी थिइन । ट्रम्पले स्टर्नसँग यौनजीवनका बारेमा खुलेर कुराकानी गरेका छन् । उनले मेलानियाले परिवार नियोजनको पिल्स लिने नगरेको र आफूलाई भियाग्रा नचाहिने समेत बताएका थिए । शारीरिकरुपमा असक्षमहरुलाई मात्रै भियाग्रा चाहिने र आफू यौनकार्यका लागि भाग्यमानी भएको ट्रम्पले जनाएका थिए । ट्रम्पको यौनजीवन अराजक रहेको भन्दै राष्ट्रपति चुनावमा समेत निकै ठूलो चर्चा र विवाद उठ्यो । कतिपय मोडल र सेलिब्रेटीहरुले ट्रम्पले यौन हिंसा गरेको आरोप समेत लगाए । यौनबिना बाँच्न नसक्ने ट्रम्पले आफ्ना अन्तर्वार्तामा यौनका बारेमा खुलस्त कुरा गर्नु, उनीमाथि यौनहिंसाका आरोप लगाइन, तीनवटा बिहा हुन र अहिले व्हाइट हाउसको व्यस्त जीवनबीच देखिएको बिरोधाभाषमाथि अहिले टिप्पणी हुन शुरु भएको छ । पेशाले मोडलिङको संसारमा रमाएकी मेलानियाको ट्रम्पसँग एउटा फेसन पार्टीमा भेट भएको थियो । तपाई यो खबर एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । पहिलो भेटमा नै ट्रम्पले उनीसँग फोन नम्बर मागेको मेलानिया बताउँछिन् । तर उनले सुरुमा फोन नम्बर दिइनन् बरु ट्रम्पको नम्बर मागिन । ट्रम्पले त्यसबेला दुईजना श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका थिए । सेक्सी मोडेल भनेर चिनिने मेलानिया र ट्रम्पबीच त्यसपछि प्रेम र यौन सम्बन्ध शुरु भयो । र, उनीहरुले बिहा गरे । अहिले मेलानियाबाट एकजना छोरा रहेका छन् । ट्रम्प आफ्नो पहिलो पत्नि इभानसंग तर व्हाइट हाउसमा ट्रम्प अब अरबपति ट्रम्पको भुमिकामा मात्रै देखिन सम्भव छैन । उनका अगाडि अमेरिकी राजनीतिको पेचिलो समय रहेको छ । त्यसैले ट्रम्प र मेलानियाको सम्बन्ध कस्तो हुने हो भन्ने आँकलन धेरैले गरिरहेका छन । व्हाइट हाउस यौनकाण्डका लागि प्रख्यात ठाउँ हो । रोनाल्ड रेगनदेखि बिल क्लिन्टनसम्मका स्क्याण्डलको साक्षी रहेको यो व्हाइट हाउसमा ट्रम्पको यौनजीवनसँग जोडिएको कुनै स्क्याण्डलले चर्चा पाउने सक्ने अनुमान समेत कतिपयले गरेको पाइन्छ । मेलानियाले त्यसैपनि राजनीति रुचाउँदिन । बिल क्लिन्टन र हिलारी क्लिन्टन दुबै राजनीतिमा सक्रिय रहेको प्रसंगमा चुनावी अभियानमा समेत सहभागी नभएकी मेलानियाले राजनीतिक जटिलताले भरिएको ह्वाइट हाउसको जीवन कसरी बाँच्न सक्लिन् । मोडलिङको स्वतन्त्र संसार, धनकुबेरहरुको संसारपछि राजनीतिक शक्ति केन्द्रभित्र औपचारिकतामा बाँधिनुपर्दा यसको असर ट्रम्पसँगको सम्बन्धमा पर्न सक्ने आधारहरु पनि केहीले औंल्याएका छन् ।

पाल्पामा जिप दुर्घटनाः चारको मृत्यु, ११ घाईते

पाल्पा,माघ २५ । पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताउनुभयो । दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दोभान २ नं वडाको देउरालीबाट दोभान– ४ श्रीडाँडामा बिहेमा बाजा बजाएर फर्किँदै गर्दा जिप दुर्घटनामा परेको हो । लु १ ज २६८९ नंको जिप दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । ओरालो कच्ची बाटामा दुर्घटना भएको जिप सडकबाट १२० मि भिरमा खसेको थियो । रासस

मुलुकभरका साठीवटा क्याम्पसमा एकैपटक सूचना माग

काठमाडौँ,  माघ २४ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ । सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा आइतबार काठमाडौँ उपत्यकालगायत मुलुकभरका ६० क्याम्पसबाट सूचना माग गरिएको हो । फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल र सूचनाको हकका अभियन्ता कुमार चौलागाईंले आफ्नो अध्ययन एवम् जानकारी प्रयोजनको निमित्त नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र दफा ७ (१) बमोजिम ती सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिनुहुन हुलाकमार्फत निवेदन दर्ता गरेको प्रमुख दाहालले जानकारी दिए । उनीहरूले निवेदनमा त्यस क्याम्पसको आन्तरिक लेखापरीक्षणका लागि त्रिवि केन्द्रीय कार्यालयको आन्तरिक लेखापरीक्षण महाशाखाबाट खटिई आउने टोलीको नामावली र केन्द्रबाट त्यस क्याम्पसलाई लेखेको पत्रको प्रमाणित प्रतिलिपि, त्यस क्याम्पसको आव २०७२/७३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि, त्यस क्याम्पसको आन्तरिक लेखापरीक्षण कार्य कुन मितिदेखि सुरु भई कति दिनमा सम्पन्न भयो ? सो आन्तरिक लेखापरीक्षण अवधिमा के के शीर्षकमा कति खर्च भएको छ ? सो वास्तविक खर्चको स्वीकृत विवरणको प्रमाणित प्रतिलिपि तथा त्यस क्याम्पसमा सूचनाको हकसम्बन्धी ऐनको दफा (६) बमोजिम कसलाई सूचना अधिकारी तोकिएको छ ? सूचना अधिकारीको नाम, पद, फाँट, सम्पर्क नम्बर र कोठा नं सहितको विवरणको प्रमाणित प्रतिलिपि माग गरेका छन् । प्रमुख दाहालले सूचनाको हक प्रत्याभूति भएको २५ वर्ष तथा सूचनाको हकसम्बन्धी ऐन आएको १० वर्ष हुँदासम्म पनि सूचनाको हकबारे जनता अझै अनभिज्ञ रहेकाले आफूले सूचना माग गरेको उल्लेख गरे । रासस

बाख्राको दुधले बढाउँछ यौनशक्ति, रोक्छ शीघ्रपतन

बाख्राको दूध सेवन गर्ने कुरा आमरुपमा प्रचलनमा छैन । हामीले प्रायजसो गाई र भैसीको दूधमात्रै सेवन गर्दछौं । बाख्राको दूधका कैयन फाइदाहरु रहेको बताइएपनि यसको सेवनले यौन क्षमता समेत बृद्धि हुने नयाँ कुरा थाहा भएको छ । बाख्राको दूधमा सेलेनियम मिनरल नामक खनिज पदार्थ रहेको हुन्छ । यो पदार्थले शरीरको प्रतिरोध क्षमता बृद्धि गर्ने गर्दछ । मुटुलाई स्वस्थ राख्न पनि बाख्राको दुध लाभदायक हुन्छ । यसले कोलेस्ट्रोललाई सन्तुलनमा राख्ने काम गर्दछ । बाख्राको दुधले हृदयघात, स्ट्रोक्स रोक्न पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । पोटासियमको स्तर यसमा बढी हुने भएकाले यसले ब्लड प्रेसरलाई पनि सन्तुलनमा राख्न सघाउछ । प्रोटिन शरीरको विकास र ग्रोथका लागि आवश्यक हुन्छ । त्यसैले प्रोटिनका लागि पनि बाख्राको दुध उपयुक्त मानिन्छ । यदि बच्चाको ग्रोथ सही चाहनु हुन्छ भने प्रोटिनको सही मात्र मिल्नु आवश्यक छ। त्यसैले यसका लागि सबैभन्दा उत्तम विकल्प बाख्राको दुध हो । यी फाइदाका अतिरिक्त बाख्राको दूधलाई नियमित तरिकाले सेवन गर्ने हो भने यसले यौन दुर्बलता कम गर्न निकै मद्दत पुर्याउँछ । यसका लागि ५ वा ७ खजुरलाई ताजा बाख्राको दुधमा मिलाएर रातभर छाड्ने र बिहान त्यसलाई बाख्रोको दुधसँग सेवन गर्दा यौन शक्ति बढ्ने गर्दछ । यसबाहेक बाख्राको दूधमा काजु पकाएर खाने या महसँग सेवन गर्दा समेत यसले यौनक्रियामा शीघ्र पतन हुनेहरुलाई लाभ पुर्याउँछ ।

कतै तपाईको बच्चामा कब्जियत त छैन ? (लक्षण, कारण र उपचारसहित)

के हो कब्जियत ? मानिसलाई दैनिक जीबनमा समयमै दिसा नभएर गाह्रो हुने  वा कडा प्रकारको दिसा आएर गार्हो हुने  अवस्थालाई कब्जियत वा दिसा गोटा पर्नु भन्न सकिन्छ । यसरी आउने कडा दिसामा साधारणतया भन्दा पानीको मात्रा धेरै कम हुन्छ । कब्जियतको कारणले दैनिक कार्य नै चौपट पार्दछ। कब्जियतले धेरै दुख दिएपछि वा उपचार समयमै नगरिएमा बच्चाले कट्टुमा दिसा चुहाउन थाल्दछ। प्रत्येक मानिसको बिन्नाभिन्नै पाचन शैली हुन्छ। दिनको २-३ पटक देखि केहि दिनमा बिराएर मानिसले दिसा गर्ने गर्दछन। यदि कुनै मानिसले सामान्यता भईराखेको भन्दा कम मात्रामा दिसा गर्न थाल्यो भने, कब्जियत भएको भन्ने बुझ्नु पर्दछ।  कब्जियत केहि दिन, हप्ता देखि केहि महिना सम्म रहन्छ। प्राय बच्चालाई कब्जियत दिसा गर्ने तालिम दिने बेला, बिद्यालय जान सुरु गर्दा, घुम्न निस्कदा, खाना परिबर्तन गर्दा वा परिवारमा नया सदस्यको जन्म भएको खण्डमा हुने गर्दछ। बच्चामा देखिने कब्जियतको लक्षण के के हुन् ? दिसा साह्रो र गोटा परेको हुन्छ ३ दिनदेखि बढी समय दिसा हुदैन दिसा गर्दा बच्चालाई पिडा हुन्छ बच्चाले लामो समय शौचालयमा बिताउछ कडा दिसाले गर्दा मलद्वारमा च्यातिएर रगत आउन सक्छ पेट नराम्ररी दुख्छ, दिसा गरेपछि पेटको दुखाई सन्चो हुन्छ बच्चाले कट्टुमा थाहा नपाई  दिसा चुहाउछ सामान्यता बच्चाले कति पटक दिसा गर्नु पर्दछ ? दिनको ३ पटक देखि २ दिनमा १ पटक सामान्य बच्चाले दिसा गर्नु पर्दछ। दुध बाहेक सामान्य खाना खान थालेपछि बयस्क जस्तै दिसाको तालिका हुन थाल्दछ प्रत्येक ४-५ दिनमा दिसा गर्ने बच्चालाई बढि पिडादायक हुन्छ सामान्यता दिसा गर्दा पिडा हुनु हुदैन बच्चाले पिडाको गुनासो गर्ने बित्तिकै उपचार शुरु गर्नु पर्दछ। १ महिना माथिको स्तनपान गर्ने बच्चाले ४-७ दिनमा दिसा गर्छ र दिसा गर्ने बेला कुनै दुखाइ बिना कमलो र धेरै मात्रामा दिसा निकाल्छ भने त्यो सामान्य मान्नु पर्दछ। सुतेर दिसा गर्दा बच्चाले कन्नु सामान्य हो।  बसेर गर्दा जति सजिलो हुन्छ सुतेर त्येतिनै गाह्रो हुन्छ। पिडा बिनाको कसिलो र सुक्खा दिसा पनि सामान्य मानिन्छ। कब्जियतको कारण के हो  ? प्रयाजसो बच्चालाई खाना नमिलेर र दैनिकी नमिलेर कब्जियत हुने गर्दछ। प्रमुख कारणहरु निम्न हुन: दुधको बढी प्रयोग  : दुध वा दुध बाट बनेको चीज बढी मात्रामा खानाले कब्जियत गर्दछ। दुधले दिसालाई कसिलो र कडा बनाउदछ। फाइबर युक्त खानाको कम प्रयोग : फाइबर तरकारी, फलफुल, अन्नमा पाईन्छ। फाइबरले दिसालाई कमलो, धेरै मात्राको र सजिलै बाहिर निस्कन सक्ने बनाउदछ। फाइबर कम भएको खण्डमा दिसा साह्रो र कम मात्राको बन्दछ। खानामा पौस्टिक मात्राको असन्तुलन : माछा मासु, अण्डा र चिनीजन्य पदार्थको बढी प्रयोग र प्राकृतिक खानाको कम प्रयोग भएमा कब्जियत हुन्छ। तयारी खानाको बढी प्रयोग : अभिभावकको वेस्तता वा बजारिया खानाको मिठासले आजकल बच्चाहरुमा बाहिरी तयारी खाना बढी प्रयोग गर्न थालेका छन। कहिलेकाही यस्तो खाना खादा त केहि नहोला तर प्राय सधै खानेलाई  भने पेटको दुखाई  साथै कब्जियतले दुख दिन थाल्दछ। तरल पदार्थको कम खुवाई : तरल पदार्थ कम खानाले दिसा सुक्खा र साह्रो बन्दछ। कम ब्यायाम : पहिलेको तुलनामा अचेलका बच्चाहरु बाहिर गएर खेल्न छाडेका छन्।  ब्यायाम कम गर्ने वा घर बाहिरको खेलकुद कम खेल्ने बच्चामा कब्जियत बढी पाईएको छ। दिसा नगर्ने बानी : यदि कुनै कारण (खेलकुद , पढाई , डर ) बच्चाको दिसा रोकेर राख्ने बानि परेको छ भने यसले कालान्तरमा कब्जियतको रुप लिन्छ। दिसा च्यापेर राख्ने अवस्था : बिद्यालय वा कुनै सार्बजनिक सौचालयमा बानि नपरेको वा फोहोर कारणले दिसा गर्न गारो भएको अवस्थामा बच्चाले दिसा च्यापेर राख्ने गर्दछ र दिसा साह्रो हुदै गोटा पर्दै जान्छ। १-२-३ दिन गर्दा गर्दै यो कब्जियतमा परिणत हुन्छ। आन्द्राको कम गतिसिलता : कुनै बच्चाको शरीरमा आन्द्राको गति ज्यादै कम हुन्छ।  यो बंग्शानुगत हुन सक्दछ। अन्य : पास्नी पछि स्तनपानबाट अरु दुध वा ठोस पदार्थमा खान सुरु गराउदा केहि दिन कब्जियत देखिन्छ। बच्चा बिरामी भई बान्ता,ज्वरो ,पखाला लागी शरीर निर्जलिकरण भएमा कुनै औषधिको प्रयोग भएमा जस्तै : मर्फिन कुनै रोग लागेमा जस्तै : हाइपोथाइरोइडिजम , हर्सप्रंग १ बर्ष भन्दा मुनिको बच्चाले मह खाएमा उपचार बिधि : लक्ष :   थुप्रिएर बसेको दिसालाई पूर्ण रुपमा बाहिर निकाल्ने दिनहु पेट खलास पारेर दिसा बाहिर निकाल्ने दिनहु शौच बस्ने बानि लगाउने फाइबर युक्त आहारको र तरल पदार्थ सेवन गर्ने बानि बसाल्ने प्राय बच्चामा खाना र दैनिक जिबनशैली परिबर्तन गर्दैमा कब्जियत ठिक हुन्छ। एक पटक कब्जियत सुरु भएपछि यो निको हुन लामो समय लाग्ने भएकोले  यसको उपचार गर्न परिवार र बिद्यालयबाट धैर्यता, सहकार्य र प्रतिबद्धताको आवश्यकता पर्दछ। १ बर्ष भन्दा मुनिको बच्चालाई आहार : २ महिना भन्दा मुनिको बच्चामा कब्जियत हुदैन, यदि छ भने तुरुन्त चिकित्सकलाई देखाउनु पर्दछ। २-४ महिनाको बच्चामा कब्जियत छ भने ३० मिलि स्याउ, आल्चा वा नास्पातिको जुस दिनको १-२ पटक खुवाउन सकिन्छ।४ महिना पुगेको बच्चालाई लिटोमा फाइबरयुक्त खाना घोलेर खुवाउन सकिन्छ। १ बर्ष भन्दा माथिको बच्चालाई दिईने आहार  बच्चालाई प्रशस्त पानी पिउन दिनु पर्दछ। दिनहु तरकारी र फलफुल पर्याप्त मात्रामा दिईनु  पर्दछ। बच्चालाई अड्किने खालको फलफुल बाट बचाउनु पर्दछ।  फाइबर युक्त खाना जस्तै गहु/मकै को चोकर बढी मात्रामा खुवाउनु पर्छ। ४ बर्ष भन्दा माथिको बच्चामा पोलेको, भुटेको वा ऊसिनेको मकै दिनहु खुवाउन सकिन्छ। कब्जियत गराउने खानेकुराहरु जस्तै भात, पाउरोटी, बजारको तयारी खाना बच्चालाई कम खुवाउनु पर्दछ।  बच्चाको खाना परिबर्तन गर्दा परिवारमा सबैले खाने खाना नै परिवर्तन गर्नु जरुरि छ। शौचको तालिम : बच्चालाई हरेकपल्ट खाना खाए पछि दिनको २-३ पटक शौचालय जाने तालिम दिनु पर्दछ। दिसा गरे पनि नगरेपनि ५-७ मिनेट शौचालय वा दिसा गर्ने कोपारामा राख्नु पर्दछ जसले गर्दा दिसा गर्ने बानि बस्दछ। शौचालयमा प्रयोग हुने आधुनिक कमबोट भन्दा प्राचिन शैलीको थुचूक्क बस्न मिल्ने प्यानमा बसाल्दा दिसा खलास हुन्छ। शौचको लागि बस्दा जहिले पनि घुडालाई खुम्च्याइ छातीमा छुवाउनु पर्दछ र कम्मर भन्दा घुडा माथि हुन पर्दछ।  शौचको तालिम दिदा बच्चाले दिसा निकाल्न गाह्रो मान्छ वा दिसा अड्काएर राख्छ भने पहिले कब्जियतको उपचार गर्नु पर्दछ। एउटा भाडोमा मनतातो पानी  राखेर त्यस भित्र बच्चालाई बसाउन सकिन्छ। यसबाहेक तातोपानी कपासमा हालेर मलद्वारमा प्रयोग गर्न सकिन्छ। औषधिको प्रयोग : यदि खाना परिबर्तन गर्दा वा शौचको तालिम दिदा पनि कब्जियत सुधार भएन भने औषधिको प्रयोग गरिनु पर्दछ। कब्जियतको बिरामीलाई दिसा पातलो गर्ने औषधि लाभदायक हुन्छ। पहिलो पटक मुखबाट खान मिल्ने औषधि प्रयोग गर्दा राम्रो हुन्छ। मलद्वारबाट हाल्ने औषधि हाल्नु परेमा चिकित्सकको निगरानीमा हाल्नु पर्दछ। धेरै जसो बच्चामा उपचार लामो समय सम्म गर्नु पर्ने हुन्छ । यदि सबै प्रयोग गर्दा पनि सफल हुन सकेन भने अस्पतालमा भर्ना गरेर  मलद्वारको सफाई (rectal wash ) गर्नु पर्दछ। चिकित्सकको सल्लाह कहिले लिने ? यदि बच्चाको दिसा गर्ने समय बढ्दै गएको छ भने यदि दिसामा रगत देखिएको छ भने यदि ज्वरो आएको छ भने यदि छिन छिनमा पिसाब लाग्छ , पिसाब गर्दा दुख्छ भने लुगामा दिसा चुहाउन थालेको छ भने तुरुन्त अस्पताल कहिले दौडाउने ? यदि बच्चालाई बढीनै दुखाइ छ भने बच्चाले बान्ता गर्न थालेको छ, बान्ता हरियो छ भने बच्चाको पेट फुलेको छ भने बच्चा २ महिना भन्दा मुनिको छ भने १२ महिना भन्दा मुनिको बच्चाले चुस्न छोडेको छ भने