युगान्डामा डुङ्गा दुर्घटना, तीसको मृत्यु

  कम्पाला (युगान्डा),  पुस १२ । क्रिसमसका अवसरमा रमाइलो गर्न निस्केका युगान्डाको एक ग्रामीण बस्तीको फुटबल समूह र उनीहरुका प्रशंसक (फ्यान) चढेको डुङ्गा स्थानीय अल्वर्ट लेकमा डुब्दा यसमा यात्रारत कम्तिमा तीस जनाको मृत्यु भएको युडान्डा प्रहरीले जनाएको छ ।

प्रहरी कमान्डर जोन रुटागिराले एएफपीसँग बताए, “तालमा पानी शान्त थियो । स्थानीय युवाहरु डुङ्गामा यात्रा गर्दै थिए तर उत्साहित युवाहरुले रमाइलो मनाउने क्रममा डुङ्गा एकतर्फ ढल्किएर पानीमा डुब्दा तीस जनाको दुःखद निधन हुन पुग्यो ।”

डुङ्गा दुर्घटनापछि तालमा पुगेको उद्धार टोलीले १५ जनालाई भने जीवितै उद्धार गर्न सफल भएको बताइएको छ ।

प्रहरीले स्थानीय माझीको सहयोगमा गरेको उद्धारबाट १५ जनालाई जीवितै उद्धार गर्न सकिएको रुटागिराले बताए । रासस

फाइल तस्वीर

युरोप प्रवेश गर्न खोज्ने पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु

पुस ९ । संयुक्त राष्ट्रसंघले युरोपमा गैरकानूनी रुपमा प्रवेश गर्ने क्रममा यस वर्ष पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु भएको जनाएको छ । अहिलेसम्मको तथ्यांक अनुसार यस वर्ष युरोप प्रवेश गर्ने क्रममा भूमध्य सागरमा डुबेर मृत्यु हुनको संख्या पाँच हजार पुगेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको हो । गएको बिहीबार इटालीको तटीय क्षेत्रमा दुईवटा डुंगा डुब्दा मृत्यु भएका एक सय जनासहित यो वर्ष गैरकानूनी रुपमा समुद्रको बाटो हुँदै युरोप प्रवेश गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । राष्ट्रसंघले आप्रवासीको सुरक्षाका लागि ध्यान युरोपसहितको विश्व समुदायलाई आग्रह पनि गरेको छ । खराब मौसम तथा असुरक्षित डुंगाका कारण डुबेर ज्यान गुमाउनेको संख्या बढिरहेको राष्ट्रसंघका प्रवक्ता विलियम स्पिन्डेल्एरले बताए । अहिलेको अवस्था निकै चुनौतीपूर्ण रहेको भन्दै उनले मानव तस्करलाई निरुत्साहित गर्दै आप्रवासीको सुरक्षाका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।

इजरायली अवैध वस्ती हटाइने

विविसी, पुस ९ । संयुक्त राष्ट्र संघले इजरायल र प्यालेष्टाइन सीमा क्षेत्रमा अवैध रुपमा निर्माण गरिएका इजरायली वस्ती हटाउने प्रस्ताव पारित गरेको छ । राष्ट्रसंघ अन्र्तगतको सुरक्षा परिषदको बैठकले अवैध रुपमा बनाइएका इजरायली वस्ती हटाउने प्रस्ताव पारित गदै बस्ती भत्काउन आदेश दिएको हो । इजरायलको समर्थन गर्दै अमेरिका भने मतदानमा सहभागि भएन । इजरायलले सन् १९६७ मा पश्चिमी किनारा र पूर्वी जेरुशेलम कब्जा गरेको थियो त्यसयता करीब पाँच लाख यहूदी अवैध रुपमा वस्ती निर्माण गरी बस्दै आएका छन् । १ सय ४० बस्तीहरु अवैघ रुपमा रहेको सुरक्षा परिषदले जनाएको छ । प्रस्तावको पक्षमा १४ मत परेको छ । सुरुवातमा इजरायलले प्रस्ताव फिर्ता लिन दबाब दिएपनि मलेसिया, न्यूजिल्याण्ड, सेनेगल र भेनेजुयलाको आग्रहमा प्रस्ताव अगाडी बढाइएको थियो । सो बस्तीको कारण अशान्ति फैलिएको भन्दै त्यसलाई हटाउन लामो समयदेखि पहल गरिएको थियो ।

चीनमा सडक दुर्घटनामा ५८ हजारको मृत्यु

सिन्हवा, बेइजिङ । चीनमा २०१५ मा मात्रै सवारी दुर्घटनाका कारण ५८ हजार जनाको सडकमै मृत्यु भएको अधिकारीले जनाएका छन् । चीनको संसद्को वेबसाइटमार्फत् बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यसअघि सन् २०१४ मा १ लाख ७ हजारको सडक दुर्घटनामा मृत्यु भएको थियो । ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिका कारण चीनमा ठूला दुर्घटना गम्भीर समस्याका रूपमा छन् । बसको लामो दूरीको यात्राका कारण हुने दुर्घटनाले चीनमा बेलाबेलामा तनाव दिने गरेको छ । आकस्मिक रूपमा हुने व्यक्तिगत दुर्घटनाका कारण पनि नियमित रूपमा धेरैको मृत्यु भइरहेको हुन्छ । सवारी दुर्घटनामध्ये झन्डै ९० प्रतिशत दुर्घटनाको कारण ट्राफिक नियमको उल्लंघन हुने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, अत्यधिक भार भएका ट्रक, कमजोर सडक संरचना र ग्रामीण क्षेत्रमा हुने असुरक्षित यात्रा पनि सवारी दुर्घटनाका अन्य प्रमुख कारण रहेको प्रतिवेदनमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले भने चीनको यो रिपोर्ट वास्तविकताभन्दा थोरै भएको दावी गरेको छ ।

सुरक्षा कारबाहीमा अफगानमा चौवालिस आतङ्ककारी मारिए

काबुल, पुस ७। अफगान सेना, प्रहरी र गुप्तचर निकायको अधिकारीको सहभागीतामा तालिवानी आतङ्ककारीविरुद्ध गरेको कारबाहीका क्रममा करिब ४४ आतङ्ककारी मारिएका छन् । गत २४ घण्टाभित्र तालिवान आतङ्ककारी लुकेर बसेका इलाका लक्षित यस कारबाहीमा ४४ आतङ्ककारी मारिएको अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । अफगानिस्तनको ३४ वटा प्रान्तमध्ये नौ वटा प्रान्तमा गरिएको यस कारबाहीको क्रममा अन्य ४३ जनाभन्दा बढी आतङ्ककारी घाइते भएका छन् । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लसकार घामा गरिएको संयुक्त कारबाहीका १९ तालिवान आतङ्ककारी मारिनुका साथै अन्य १५ घाइते भएका थिए । त्यसैगरी उरुज्गान प्रान्तमा भएको सैनिक कारबाहीको क्रममा १० आतङ्ककारी मारिनुका साथै अन्य १२ जना घाइते भएका थिए । अफगान सरकारसँग लडाई गरिरेहका तालिवान आतङ्ककारी समूहले यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् । रासस÷सिन्ह्वा

पटाका बजार विस्फोटमा २६ को मृत्यु

पुस ६ । मेक्सिकोको लोकप्रिय तथा व्यस्त पटाका बजारमा विस्फोट हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । राजधानी मेक्सिको सिटीको बाहिरी क्षेत्रमा रहेको सान पाब्लिटो पटाका बजारमा विस्फोट भएको हो । विस्फोटमा परि ६० जना भन्दा धेरै घाइते भएका छन् । खुला आकाशमुनि रहेको बजारमा सुरुको पसलबाट विस्फोट तथा आगलागी सुरु भएको र त्यसले सम्पूर्ण बजार घेरेको तस्बिरमा देखिएको छ । प्रहरी तथा उद्धारकर्मीले उद्धार तथा राहतको काम गरिहेका छन् । यो बजारमा यसअघि सन् २००५ र २००६ मा पनि आगलागी भएको थियो ।

अमेरिकी ईमेल ह्याक प्रकरणमा ‘पुटिनको संलग्नता’: प्रतिवेदन

वासिङटन (अमेरिका),  । अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्धता भएका संस्थाका ईमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने कार्यमा रसिया र यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता रहेको हुनसक्ने प्रशस्त आधार भेटिएका अमेरिकी गुप्तचर रिपोर्टमा पाइएको गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युज टेलिभिजनले बुधबार जनाएको छ । कसरी डेमोक्र्याट्स पक्षका ईमेल सामग्री ह्याक गर्ने र यिनलाई सार्वजनिक गरी उनीहरुविरुद्ध प्रयोग गर्ने भन्ने योजनाका लागि रसियाली राष्ट्रपति पुटिनले निर्देशन दिनुभएको गुप्तचर रिपोर्टमा भएको उक्त अमेरिकी टेलिभिजनले जनाएको छ । टेलिभिजनले अमेरिकी गुप्तचर संस्था (सीआईए) का वरिष्ठ अधिकारीले ह्याककाण्डमा पुटिनको समेत संलग्नता रहेको सूचना सीआईएसँग सुरक्षित रहेको बताएका जनाएको थियो । अधिकारीले पछिल्लो विश्लेषणको आधारका लागि आफूहरुसँग विश्वासिला प्रमाण रहेका पाइएको एनबीसीले जनाएको छ । यसै सन्दर्भमा रसियाली राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीसँग सङ्क्षिप्त जवाफ दिँदै ‘रिपोर्ट बेतुकका सन्दर्भको आधारहीन व्याख्या’ मात्र भएको बताउनुभयो । गतहप्ता वासिङ्टन पोस्टले अमेरिकी ईमेललाई रसियाद्वारा ह्याक गरी सार्वजनिक गरिदिएको भन्ने सीआईएको विश्लेषणसहितको रिपार्ट छापेपछि यस विषयले विश्वभर चर्चा पाएको थियो । सीआईए रिपोर्टमा ईमेल ह्याक गरी रसियाले रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई जिताउन प्रयोग गरिएको प्रशस्त आधार भेटिएको बताइएको पोस्टले जनाएको थियो ।  सन् २०११ मा रसियाली संसदीय निर्वाचनमा पुटिनको इमान्दारितामाथि प्रश्न गर्दै तत्कालीन अमेरिकी विदेशमन्त्री क्लिन्टनले धारणा व्यक्त गर्नुभएको थियो । पुटिनले क्लिन्टनविरुद्ध विवादास्पद ईमेल सार्वजनिक गरी बदला लिन खोजेको विश्लेषकहरुको बुभाइ छ । रासस

अफगानिस्तानमा हवाई आक्रमण, एकाइस जनाको मृत्यु

काबुल, मङ्सिर ३० । अफगानिस्तानको उत्तरी क्षेत्रमा पर्ने बाल्खमा बुधबार भएको हवाई आक्रमणमा परी २१ जनाभन्दा बढीको मृत्यु भएको छ । लुकेर बसेका तालिबानी लडाकुहरूलाई लक्षित गरी सरकारी सेनाले आक्रममण गर्दा उनीहरूको मृत्यु भएको गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । सुरक्षाकर्मीहरूले सुरक्षा कारबाहीका क्रममा तालिवानी लडाकूहरूले लुकाइराखेका हातहतियार पनि नष्ट गरेको मन्त्रालयले जनाएको छ । आतङ्कारीहरूलाई लक्षित गरी देशका अन्य ठाउँमा पनि सुरक्षा कारबाहीलाई निरन्तरता दिने गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । रासस  

सिरियामा जारी द्वन्द्वमा तीन लाख बाह्र हजारको मृत्यु

बेरुत (लेबनान), मङ्सिर २९ । सिरियामा जारी गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको र यसमध्ये ९० हजार सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । सन् २०११ मा यहाँको सरकारविरोधी आन्दोलन सुरु भएपछि करिब १६ हजार बालबालिकासहित ५३ हजार विद्रोहीको मृत्यु भएको छ भने एक लाख १० हजार सरकार पक्षघर लडाकूले पनि ज्यान गुमाएका छन् । मृत्यु भएका सरकार पक्षधर लडाकूमध्ये ६० हजार सिरियाली सेना भएको उक्त संस्थाले जनाएको छ । त्यसैगरी द्वन्द्वमा दशौँ हजार सिरियाली मिलिसिया र कैयौँ लेबनानी हेजबुल्लाह आन्दोलनका सदस्य तथा विदेशी लडाकूको पनि सिरियाको द्वन्द्वमा परी विगत पाँच वर्षको अन्तरालमा मृत्यु भएको छ । संस्थाले करिब ५५ हजार जिहादी समुदायका लडाकूको मृत्यु भएकोमा अधिकांश इस्लामिक स्टेट (आईएस) समूह वा पूर्व अल कायदा समूहमा आवद्ध फतेह अलसाम फ्रन्टका लडाकू रहेका छन् भने केही अन्य साना अतिवादी समूहका सदस्यहरु रहेका जनाएको छ । संस्थाले करिब तीन हजार ६८३ जना मृतकको परिचय खुल्न नसकेको बताएको छ । अलेप्पोमा असद सेना सफलता नजीक मङ्गलबार सिरियाली राष्ट्रपति बसर अल असदको सरकार पक्षधर सेनाले विद्रोहीको आश्रयस्थल रहँदै आएको प्राचीन सहर अलेप्पोको करिब सम्पूर्ण भाग आफ्नो नियन्त्रणमा लिन सफल भएको छ । यो राष्ट्रपति असदको युद्धका क्रममा भएको सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ । रासस÷एएफपी  

पुटिन र ट्रम्पबिच छिट्टै भेटवार्ता हुने

मस्को (रसिया),  मङ्सिर २९। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग कुनै समयमा भेट्ने तयारीमा रहेको बताएका छन् । सञ्चारकर्मीद्वारा रसियाली राष्ट्रपति पुटिनलाई ट्रम्पसँग भेट्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा पुटिनले हामी कुनै समयमा भेट्न तयार छौँ । हाम्रोतर्फंबाट कुनै समस्या छैन, भनेको कुरा क्रेमलिनद्वारा मङ्गलबार सार्वजनिक गरिएको अन्तरवार्ताको प्रतिलिपिमा जनाइएको छ । अन्तरवार्तामा पुटिनले भनेका छन्, “यो सबैमा जगजाहेर छ कि अमेरिकी राष्ट्रपतिमा निर्वाचित नेता ट्रम्पले सार्वजनिक रुपमा रसिया र अमेरिकाबीचको सम्बन्ध समान्यीकरण गर्ने कुरा बोलेका छन् । हामी यो गर्न त सक्दैनौँ तर यसको समर्थन गर्छौँ ।” “हामीलाई थाहा छ अमेरिका र रसियाको सम्बन्ध कुन हदसम्म बिग्रीएको छ र यसलाई सामान्यीकरण गर्ने कुरा सामान्य काम हुने छैन । तर हामी हाम्रो तर्फबाट केही गर्न तयार छौँ, पुटिनले भने । उनले २०१७ को जनवरी अर्थात् ट्रम्पको सत्तारोहणपछि दुई नेताबीच भेट हुने सम्भावना व्यक्त गरे। रासस  

न्यूजिल्याण्डमा नयाँ प्रधानमन्त्रीले शपथ लिए

मंसिर २७ । न्यूजिल्याण्डमा नयाँ प्रधानमन्त्रीको रुपमा विल इङ्लिसले शपथ लिएका छन् । गत हप्ता जोन किले पारिवारिक कारण देखाउँदै अप्रत्यासित रुपमा राजिनामा दिएपछि इङ्लिस नयाँ प्रधानमन्त्रीको रुपमा उदाएका हुन् । जोन नेतृत्वको सरकारमा इङ्लिस उपप्रधान तथा अर्थमन्त्री थिए । इङ्लिसले प्रधानमन्त्रीको जिम्मेवारी निभाउन उत्साहित रहेको भन्दै नेसनल पार्टीको नयाँ नेतृत्व सम्हाल्न पाएकोमा आभार व्यक्त गरेका थिए । इङ्लिसले सन् १९९० देखि संसद् सदस्य हुँदै विभिन्न मन्त्रालय सम्हालि सकेका छन् ।

ट्याङकर र सवारी साधन ठोक्किँदा विस्फोट, ३० भन्दा बढीको मृत्यु

नैरोबी, मङ्सिर २७ । केन्याको नैभाशा सहरको बाहिरी इलाकामा एउटा पेट्रोल ट्याङकर अर्को सवारी साधनसँग ठोक्किँदा भएको विस्फोटमा ३० भन्दा बढीको मृत्यु भएको छ । ‘नैरोबी—नैभाशा सडक खण्डमा भएको दुर्घटनामा करिव ३० भन्दा बढीको मृत्यु भएको छ, अरु कैयौ घाइते भएका छन्, ट्याङकरले ठक्कर दिँदा ११ वटा सवारी साधनमा क्षति पुगेको छ,’ केन्याको राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइले आईतबार जारी गरेको वक्तव्यमा लेखिएको छ । ट्याङकरका चालकले नियन्त्रण गुमाएपछि ट्याङकरले अन्य सवारी साधनलाई ठक्कर दिएपछि विस्फोट भएर ज्वाला निस्किएको केन्याको रेडक्रसले जनाएको छ । केन्याको राजधानी नैरोबीबाट युगान्डातर्फ जाने अति व्यस्त नैरोबी—नकुरु राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण झण्डै ११ वटा सवारी साधनलाई असर परेको छ ।

बम बिस्फोटनमा १६ जनाको मृत्यु

मोगादिशु, २७ मङ्सिर । सोमालियाको राजधानी मोगादिशुको समुन्द्र बन्दरगाहमा आईतबार भएको आत्मघाती ट्रक बम हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । ‘हामीले घाइते ४८ जनालाई उद्धार गरेका छौं, अन्य १६ जनाको विस्फोटमा मृत्यु भइसकेको छ,’ मोगादिशुको एम्बुलेन्स सेवाका निर्देशक अब्दीकादीर अब्दीराहमान अदेमले भने । मोगादिशुका स्थानीय बासिन्दाले बम विस्फोट भएपछि धुवाँको मुस्लो माथी आकाशमा देखिएको बताएका छन् । स्थानीय प्रशासनका एक जना प्रवक्ताले बिस्फोट भएको पुष्टी गर्दै झण्डै १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले घटनाका बारेमा थप अनुसन्धान भईरहेको पनि बताएको छ । अल कायदासँग आवद्ध साबाब आतङ्ककारी समूहले यस आक्रमणको जिम्मा लिएको छ । साबाब नाम विद्रोही संगठनले केही समयदेखि सोमालिया सरकार, सुरक्षा फौज र आम नागरिकलाई लक्षित गरेर हिंसात्मक गतिविधिहरु गर्दै आइरहेका छन् ।

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग आइतबारदेखि सर्वसाधारणका लागि खुला

जेनेभा (स्वीट्जरल्यान्ड),मङ्सिर २७। विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए । उक्त रेलमार्ग सर्वसाधारणका लागि भने खुला गरिएको थिएन । करिब १७ वर्ष लगाएर निर्माण गरिएको उक्त ५७ किलोमिटर लामो रेलमार्ग ११ अर्ब ८० करोड अमेरिकी डलरको लगानीमा यसै वर्ष मात्र सम्पन्न भएको थियो । स्वीस न्युज एजेन्सी एटीएसका अनुसार गटहार्ड बेस टनेल (जीबीटी) नाम दिइएको सुरुङ रेलमार्गमा स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर ९ मिनेटमा जुरिचबाट छुटेको थियो भने दुई घण्टा आठ मिनेटपछि ८ बजेर १७ मिनेटमा लुगानोमा पुगेको थियो । यससँगै यसअघि विश्वको सबैभन्दा लामो सुरुङको रेलमार्ग भनी चिनिएको जापानको ५३.९ किलोमिटर लामो सेइकन टनेल (सुरुङ मार्ग) विश्वको दोस्रो लामो सुरुङमार्ग बन्न गएको छ भने बेलायतको ५०.५ किलोमिटर लामो च्यानल टनेल विश्वको तेस्रो लामो सुरुङ मार्ग हुन पुगेकोे छ । रासस  

चीनमा सी जिनपिङको नयाँ नियम ‘विश्वविद्यालयहरू पार्टीको वैचारिक केन्द्र बनून्’

बीबीसी, बेइजिङ, मंसिर २६ । चिनियाँ राष्ट्रपति सी जिन पिङले कम्युनिस्ट पार्टीको वैचारिक केन्द्र बन्न देशका विश्वविद्यालयहरूलाई आह्वान गरेका छन् । राष्ट्रपतिको यो आह्वानलाई प्राज्ञिक स्वतन्त्रता ‘दमन’ को पछिल्लो कदमका रूपमा लिइएको छ । ‘विश्वविद्यालयहरूले चिनियाँ कम्युनिस्ट पार्टीको नियम पालना र समाजवाद प्रवद्र्धन गर्नुपर्छ,’ सीले भनेका छन् । चीनमा मानवअधिकारकर्मी, वकिल तथा पत्रकारहरूलाई पक्राउ गरेको र जेलमा राखेको आरोप चिनियाँ अधिकारीहरूमाथि लाग्दै आएको छ । सीले ‘शिक्षामा वैचारिकता’ विषयको पार्टी बैठकमा ‘विश्वविद्यालयहरू कम्युनिस्ट पार्टीको नेतृत्वअन्तर्गत र समाजवादी कलेजहरू चिनियाँ विशेषताको हुनुपर्ने उल्लेख गर्दै उच्च शिक्षा माक्र्सवादी धारणाबाट निर्देशित हुनुपर्ने’ बताएका थिए । ‘देशमा उच्च शिक्षाको विकासका लागि पार्टी नेतृत्वको पालना अनिवार्य छ,’ उनले भनेका छन् ।

हवाई आक्रमणमा ‘दर्जनौँ’ इराकीको मृत्यु, सभामुखद्वारा सरकारको ध्यानाकर्षण

बग्दाद (इराक), मङ्सिर २४ । इराकी संसदका सभामुखले सिरियाको सीमा क्षेत्रमा अवस्थित इराकी सहर काइममा सरकारी सुरक्षाकर्मीद्वारा गरिएको हवाई आक्रमणमा ‘दर्जनौँ’ सर्वसाधारणको मृत्यु तथा केही घाइते भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख सलिम अल जाबुरीले एक विज्ञप्ति जारी गर्दै निःशस्त्र नागरिकमाथि सरकारी सुरक्षाकर्मीले हवाई आक्रमण गर्दा निर्दोष नागरिकको मृत्यु भएको भन्दै घटनाको अनुसन्धान गरी दोषी उपर कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । यसैबीच सरकारले लडाकू विमानले इस्लामिक स्टेट (आईएस) लडाकूलाई लक्षित गरी काइममा रहेका दुई घरमा आक्रमण गरेको स्वीकार्दै उक्त घटनामा सर्वसाधारण नभएको दाबी गरेको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता कर्नेल जोन डोरियनले भने उक्त समयमा आफ्नो गठबन्धनले सभामुखले बताएको क्षेत्रमा हवाई आक्रमण नगरेको बताउनुभएको छ । रासस÷