काश्मिरमा गोली हानाहान, दुईको मृत्यु

श्रीनगर, भदौ ३१ । भारत नियन्त्रित काश्मिरमा शनिबार भएको गोली हानाहानमा कम्तीमा दुई जना लडाकूको मृत्यु भएको छ ।

श्रीनगरदेखि एक सय ६५ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने कुप्वारा जिल्लामा भएको गोली हानाहानमा परी उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

लडाकूहरु भारत नियन्त्रित कश्मिरको भित्री भागमा घुसपैठ गर्ने प्रयास गरेकाले उनीहरु माथी कारबाही गरिएको भारतीय सेनाका प्रवक्ताले जानकारी दिएका छन् ।

‘हाम्रो सुरक्षा फौज माचिल क्षेत्रमा गएको थियो, घुसपैठ गर्न खोज्ने लडाकूहरुलाई सुरक्षा फौजले कारबाही भारतीय सेनाले जनाएको छ ।

घटनास्थल क्षेत्रमा अहिले सुरक्षा कारबाही जारी छ । हिमाली क्षेत्र काश्मिर भारत र पाकिस्तानमा विभाजित छ । दुवै पक्षले उक्त ठाँउ आफ्नो भएको दावी गर्दै आएका छन् ।

जापानको सहयोगले भारतमा ‘बुलेट ट्रेन’ चल्ने

भारत, भदौ २९ । पश्चिमी भारतीय राज्य गुजरातमा जापानको सहयोगमा दु्रत गतिको रेल सेवा सन्चालन हुने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ । ‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य गुजरातको अहमदाबादबाट भारतको आर्थिक राजधानी मानिने मुम्बइसम्म चल्ने बताइएको छ । पाँच सय किलोमिटर लामो दुरीमा सन्चालन हुने यो रेल सेवा जापानको १७ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोगमा निर्माण हुनलागेको हो । यो रेलसेवासम्बन्धी आयोजनाको निर्माण सन् २०२२ सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको थियो । जापानी प्रधानमन्त्री आबे हाल भारतको औपचारिक भ्रमणमा छन् । उनीहरुबीच भारतीय राजधानी नयाँ दिल्लीमा बुधबार बिहान भेटवार्ता भएको थियो । भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो । एक अध्ययनका अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि दुई करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ । रासस

विश्वकै सबैभन्दा बुढो पाण्डाको मृत्यु

भदौ २९ । विश्वको सबैभन्दा पाको उमेरको घरपालुवा पाण्डाको मृत्यु घएको छ । ३७ वर्षको उमेरमा दक्षिण–पूर्वी चीनको फुजियानमा मृत्यु भएको उनका संरक्षकले बताएका छन् । ‘बसी’ नाम दिइएको उक्त पोथी पान्डालाई आफ्नो प्रजातीमा विश्वकै सबैभन्दा लामो उमेरसम्म बाँच्ने जीव भनिएको बीबीसीले उल्लेख गरेको छ । मानवको उमेरसँग तुलना गर्ने हो भने त्यो जीव १०० वर्ष भन्दा बढी बाँच्न सफल भएको छ । चिनियाँ सरकारले यस प्रजातीको पान्डालाई निकै प्राथमिकताका साथ संरक्षण गरिरहेको छ । वषौंदेखिको संरक्षण प्रयासका कारण चीनमा पान्डा संकटाको अवस्थाबाट मुक्त भइसकेको छ । बसी नाम गरेको उपत्यकाको हिमनदीबाट उद्धार गरिएकाले उनको नामको नाम बसी राखिएको थियो । खेलकुदको प्रशिक्षणसमेत लिएकी बसीले सन् १९९० को पहिलो एसियाली खेलकुदको प्रतीक ‘मस्कट’लाई समेत प्रेरित गरेको थिइन् । त्यसपछि उनी विश्वभर प्रसिद्ध ‘सेलिब्रेटी’ खेलाडीको रुपमा चिनिएकी थिइन् । उनले विशेषगरी भारात्तोलन खेलमा सबैभन्दा बढी रुची राखेकी थिइन् । चार वा पाँच वर्षको उमेरदेखि उनलाई फुचियानको आश्रयस्थलमा राखिएको थियो । चीनमा अहिले पान्डाको संख्यामा उल्लेख्य वृद्धि भइसकेको छ ।

मलेसियाको विद्यालयमा आगलागी हुँदा २५ को मृत्यु

भदौ २९ । मलेशियाको राजधानी क्वालालाम्पुरस्थित एक धार्मिक विद्यालयमा आगलागी हुँदा २५ जनाको ज्यान गएको छ । तहफिज दारुल कुरान इत्तिफाकियाको उक्त भवनमा  बच्चाहरु सुतिरहेको समयमा आगलागी भएकाले ठूलो हताहती भएको प्रहरीले जनाएको छ । घटनामा २३ बालबालिका र २ जना वार्डेनसहित २५ को ज्यान गएको प्रहरीले जनाएको छ । उक्त आगलागी २० वर्ष यता यो सबैभन्दा डरलाग्दो आगलागीको घटना भएको अधिकारीहरुले जनाएका छन् । इस्लामिक तहफिज विद्यालयहरु आवासीय हुन्छन् जहाँ विद्यार्थीहरुले कुरानको अध्ययन गर्दछन्। मलेशियामा सन् २०१५ यता मात्र दुई सय वटा यस्ता आगलागीको घटना भएको जनाइएको छ ।

इर्मा आँधीका कारण विद्युत आपूर्ति नहुँदा फ्लोरिडामा ८ जनाको मृत्यु

काठमाडौं, भदौ २९ । अमेरिकाको फ्लोरिडामा इर्मा आँधीका कारण हप्ता दिनसम्म विद्युत आपूर्ति नहुँदा नर्सिङ होममा रहेका ८ जनाको मृत्यु भएको छ । तीन जना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्थामा भेटिएको र अरु पाँच जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । अरु एक सय १५ जनालाई हलिवुड हिल्स फ्यासिलिटीको नर्सिङ होमबाट उद्धार गरिएको छ । इर्मा आँधीका कारण फ्लोरिडामा विद्युत आपूर्ति प्रभावित भएको छ । अहिले पनि एक करोडभन्दा भन्दा बढी मानिस विद्युत बिना बसेका छन् । इर्मा आँधीका कारण अमेरिकामा मात्रै २४ जनाभन्दा बढीको मृत्यु गइसकेको छ । आँधीकै कारण क्यारेबियन क्षेत्रमा ४० जनाको मृत्यु भएको छ ।

आणविक परीक्षण अझै बढाउने उत्तर कोरियाको चेतावनी

भदौ २८ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको समाचार छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको सो नाकाबन्दीको विरोधमा उसले यस्तो प्रतिक्रिया दिएको हो । अमेरिकाको प्रस्तावमा उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले दुष्ट कामको संज्ञा दिएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सोमबार सर्वसम्मत निर्णय भएपछि उसले भनेको थियो– यसका विरुद्धमा अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्नेछ । सोमबार चीन र रुसको पनि सहमति र उक्त परिषद् वैठकको सर्वसम्मतिमा सो कानुन पारित गरिएको हो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षणगर्दै आएकाले उसका विरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ । उत्तर कोरियाले गत हप्तामात्र एक शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेको थियो । त्यसका विरुद्धमा यो पछिल्लो नाकाबन्दी आएको हो । यस कार्यलाई उत्तर कोरियाले निन्दा गर्दै आणविक परीक्षणको कार्य नरोकिने बरु थप बढाउदै लाने जनाएको हो । विश्व समुदाय एवम् संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दागर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्र हान्ने गरेको छ । उसले सन् २००६ देखि नै निरन्तररुपमा यस्तो परीक्षण गर्दै आएको छ ।

आफ्नै सन्तानलाई कुरियर गरिन्

भदौ २८ । चीनमा एक आमाले केही दिनअघि जन्मिएकी छोरीमाथि यस्तो व्यवहार गरेकी छिन्, सायद जो-कोहीलाई पनि विश्वास गर्न गाह्रै हुन्छ । चीनको सिचुआन प्रान्तमा एक महिलाले आफ्नी नवजात शिशुलाई प्लास्टिक ब्यागमा प्याक गरेर अनाथालयमा कुरियर गरिदिएकी छिन् । उनले प्लास्टिकको झोलामा पठाउने व्यक्तिको फर्जी नाम लेखेर प्याक गरेकी थिइन् । कुरियर ब्वाइका अनुसार ती महिलाको सामान लिनुपूर्व उनले एकपटक त्यसको परीक्षण गर्न चाहेका थिए । तर, महिलाले परीक्षण गर्न नपर्ने भन्दै हतारमा उम्कने प्रयास गरेकी थिइन् । महिलाले परीक्षण गर्न नमानेपछि ती व्यक्ति प्याकेज बोकेर अनाथालय हिँडेका थिए । बीच बाटोमा पुग्दा कुरियरका लागि ब्यागभित्रको सामान चलमलाउन थालेपछि उनलाई थप कौतुहल लाग्यो र तत्काल प्रहरीलाई खबर गरे । उनले बच्चा रोएको आवाज पनि सुने । प्याकेज खोलेर हेर्दा उनले त्यसमा नवजात बालिका भेटे । पेइचिङ न्युजका अनुसार, कुरियरबारे उनले तत्काल प्रहरीलाई सूचना दिए । पुलिसले महिलालाई तत्काल नियन्त्रणमा लिएर बालिकालाई उपचारका लागि अस्पताल पु¥याएको थियो । बालिका निदाएको समयमा उनले प्याकेटमा राखेर कुरियर गरेकी थिइन् । एजेन्सी

एक्कासी दुई सय जना चालकले बिदा लिँदा एक सय उडान प्रभावित

जर्मनी, भदौ २८ । जर्मनीको टाँट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकैपटक बिरामी परेको भनी हिजो मङ्गलबार एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान प्रभावित बनेका छन् । चालकहरूले छोटो समयमा सूचना दिई विदा बसेकाले एटलान्टिक समुद्रपार गरेर जानेसमेत गरी १०० उडान रद्द भएका कारण जर्मनीका कैयौँ विमानस्थलमा यात्रुसमेत अलपत्र परेका थिए । विमान कम्पनीका कार्यकारी प्रमुख थोमस विन्कलम्यानले कमजोर अवस्थामा चलिरहेको विमान कम्पनीका उडान नै रद्द गर्नुपर्ने गरी एकै पटक चालक विदा बस्नुलाई ‘आगोसँग खेलेको सज्ञा दिँदै भने, ‘चालकले कम्पनीलाई असहयोग गर्दा कैयौँ लाख अमेरिकी डलर बराबर आर्थिक घाटा व्यहोर्नुपरेको बताए ।” यस घटनाले विमान कम्पनीको ख्यातिमाथि समेत प्रभाव परेको उनले बताए । उनले थपे– “यसरी हामीले केही मात्र कर्मचारी तथा चालक दलका सदस्यलाई रोजगारीको सुरक्षा गर्न सकिने हुन्छ ।” चालक दलले आफ्ना माग पूरा गर्न वार्ताको विकल्प नभएको र सफल वार्ताका लागि उडानलाई नियमित गर्नुपर्ने पूर्वशर्त कम्पनीको रहने बताए । जर्मन सञ्चारमाध्यमले विमान कम्पनीलाई नयाँ व्यक्तिले लिएको र विमान कम्पनीमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारी तथा चालकहरूले दवाव दिएपछि केही समयदेखि कम्पनीमा समस्या उत्पन्न भएको उल्लेख गरेका छन् । एअर बर्लिनले कम्पनी बर्षौदेखि घाटामा गएको र गत महिनादेखि कम्पनीको सबैभन्दा ठूलो हिस्सेदार विमान कम्पनी इतिहादले कम्पनीबाट खर्च दिन रोकेपछि कर्मचारीको तलबसमेत दिइएको छैन । एअर बर्लिनको स्वामित्व हस्तान्तरणका लागि यही शुक्रबारसम्मका लागि आवेदन गरिएको छ । एजेन्सी

टर्कीले रुससँग विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने सम्झौतामा हस्ताक्षर गर्याे

काठमाडौं, भदौ २८ । टर्कीले रुससँग विमानहरुमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र किन्ने विवादास्पद सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौताका लागि अंकाराले करिब साढे दुई अर्ब डलर रकम जम्मा गराइसकेको टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दाेगानले बताए । रुसी एस–४०० नामक क्षेप्यास्त्र प्रणालीले ४०० किलोमिटर परसम्म उडिरहेका विमानमा निशाना लगाउन सक्ने र एकैसाथ दुई वटा क्षेप्यास्त्र प्रहार गर्दै ८० वटा निशानामा एकैपटक हान्न सक्ने छ । नेटोका सदस्य राष्ट्रमध्ये टर्कीसँग दोस्रो ठूलो सैन्य क्षमता रहेको छ । यता,अमेरिकाले टर्की र रुसबीचको सम्झौताको विरोध गरेको छ । अमेरिका र यूरोपसंग सम्बन्ध चिसिए पछि टर्कीले रुससंग नजिकिने प्रयास गरेको छ । अमेरिकाले कुर्द विद्रोहीलाई सैन्य सहयोग गरेको भन्दै एर्दोगान सरकारले आपत्ति जनाउंदै आएको छ ।

उत्तर कोरियाविरुद्ध थप कडा प्रतिबन्ध, अमेरिकाले ‘ठूलो पीडा र दुःख’ पाउने चेतावनी

काठमाडौं, भदौ २७ । अमेरिकी प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप कडा प्रतिबन्धहरु लगाउने प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रसंघीय सुरक्षा परिषद्ले रुस तथा चीनलगायत १५ सदस्य राष्ट्रको सर्वसम्मतीमा उत्तर कोरियाका सबैभन्दा मुख्य आम्दानीको स्रोत मानिएको लत्ताकपडा र कच्चा तेलको निर्यातमाथि कडा प्रतिबन्ध लगाएकोे हो । उत्तर कोरियाले लगातार गरेको क्षेप्यास्त्र परीक्षणले विश्वलाई चुनौति दिएको भन्दै अमेरिकाले थप कडा प्रतिबन्धको प्रस्ताव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा लगेपछि उक्त प्रस्तावलाई १५ सदस्य राष्ट्रले सर्वसम्मतिले पारित गरेका हुन् । नयाँ प्रतिबन्धमा उत्तर कोरियाले आफ्नो पारमाणविक कार्यक्रमका लागि जुटाउने रकम तथा इन्धनप्रति लक्षित रहेको बीबीसीुले उल्लेख गरेको छ । सोमवार ९हिजो० नै उत्तर कोरियाले संयुक्त राष्ट्रसंघमार्फत आफूविरुद्ध कडा प्रतिबन्ध लगाए अमेरिकाले ‘ठूलो पीडा र दुःख’ पाउने चेतावनी दिएको थियो । साथै, सरकारी सन्चारमाध्यम ‘रोडोङ सिन्मुन’मार्फत उत्तर कोरियाले अमेरिका आफ्नो परमाणु विकासलाई उल्ट्याउन चाहने ‘रक्तपिपाशु जनावर’ भएको आरोपसमेत लगाएको थिया । उत्तर कोरियाले केही दिनअघि मात्रै हाडड्रोजन बमको सफलपरीक्षण गरेको बताएपछि उसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकाले सुरक्षा परिषद्मा प्रस्ताव गरेको थियो । सुरक्षा परिषद्मार्फत चीनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायको अपेक्षालाई गम्भीर रुपमा लिन र आफ्नो पारमाणविक कार्यक्रम रोक्न आग्रह गरेको छ ।

इजिप्टमा आतंकवादी संगठन आईएसद्वारा १८ प्रहरीको हत्या

इजिप्ट, भदौ २७ । इजिप्टको उत्तरी सिनाईस्थित अल आरिस शहरमा आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आईएस)ले १८ जना प्रहरीको हत्या गरेको छ । प्रहरीको टोलीमाथि आईएसका कार्यकर्ताले आक्रमण गरी हत्या गरेका हुन् । घटनामा आठ जना घाइते भएका छन् । गस्तीमा रहेको सुरक्षाकर्मीको गाडीलाई लक्षित गर्दै आईएसका कार्यकर्ताले बम विस्फोट गराएको र त्यसपछि प्रहरीको हत्या गरेको बताइएको छ ।

गोर्खाल्याण्ड आन्दोलनको निकास खोज्न आज वार्ता

काठमाडौं, भदौ २७ । गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ । मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडीको उत्तरकन्यामा वार्ता हुन लागेको हो । वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडी आइपुगेकी छन् । दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)बीच अन्तरकलह सुरु भएको थियो । बन्द जारी राख्ने वा खुलाउने भन्नेमा गोजमुमो अध्यक्ष विमल गुरुङ पक्ष र सहसचिव विनय तामाङबीच मतभेद भएको हो । सिलिगुडी वार्तामा यी दुबै गुटका नेताहरुसहित गोरखा राष्ट्रिय मुक्ति मोर्चा, जनआन्दोलन पार्टी र हिल तृणमुल सहभागी बन्ने पक्का भएको छ । –कान्तिपुर दैनिकबाट

रोहिंज्यामाथिको हमला जातीय सफाया : राष्ट्रसंघ

काठमाडौं, भदौ २६ । राष्ट्रसंघको मानव अधिकार परिषदसमक्ष बोल्दै राष्ट्रसंघका मानव अधिकार प्रमुख जेइद राद अल हुसेनले म्यानमारमा मुसलमान रोहिंज्यामाथि भएका हमला जातीय सफाया जस्तै भएको बताएका छन्। राष्ट्रसंघका अनुसन्धानकर्ताहरुलाई उक्त क्षेत्रमा जान रोकिएकोले त्यहाँको वास्तविक अवस्थाबारे यथार्थ तथ्य बताउन नसकिने उनले बताए। तर त्यहाँको स्थिति जातीय सफाया झैं देखिएको उनले उल्लेख गरेका छन्। यसअघि दलाई लामाले रोहिंज्या मुसलमानहरुको बहिर्गमनबारे बोल्दै तिनलाई बुद्धले मद्दत गर्ने थिए भन्ने टिप्पणी गरेका छन्। विगतमा उनले म्यानमारकी नेतृ आङ्ग सान सूचीलाई रोहिंज्याविरुद्धको निरन्तर हिंसा रोक्न कदम चाल्न आह्वान गरेका थिए। गत महिनाको अन्ततिर शुरु भएको हिंसाका घटना यता हालसम्म करिब ३ लाख रोहिंज्या शरणार्थी भागेर छिमेकी बांग्लादेश पुगेका छन्। बिबिसी

इर्मा आँधीले फ्लोरिडामा उत्पात मच्चाउँदै (१३ तस्वीर)

काठमाडौं, भदौ २५ । क्यारिबियन क्षेत्र हुँदै दक्षिण अमेरिकी राज्यहरुमा विध्वंस मच्चाउँदै अघि बढेको इर्मा आँधी अमेरिकी राज्य फ्लोरिडामा प्रवेश गरेको छ । फ्लोरिडा राज्यका गभर्नरले प्रभावित क्षेत्रका बासिन्दालाई आफ्नो निवास छाड्न आग्रह गर्दै नछाड्नेहरुलाई केही गर्न नसकिने चेतावनी दिएका छन् । आँधी प्रभावित सडकमा नरहन आग्रह गर्दै उनले शिविरहरुमा रहन भनेका छन् । गभर्नर रिक स्कटले खतरापूर्ण स्थानहरुबाट भाग्न अब धेरै ढिला भइसकेको भन्दै सचेत गराएका हुन् । क्यारिबियन टापु हुँदै क्यूबामा तहस–नहस पारेर इर्मा फ्लोरिडा पुगेको हो । ६३ लाखभन्दा बढी अमेरिकी नागरिक आँधीबाट प्रत्यक्ष प्रभावित बनेका छन् । प्रतिघन्टा १९३ किलोमिटरको गतिमा आएको आँधीले ठूलो क्षति पुर्‍याउने मौसमविद्हरुले जनाएका छन् । एक साता लामो इर्माको उत्पातमा परेर २४ जनाको मृत्यु भइसकेको छ । (एजेन्सी)  -इमेजखबरबाट

म्यानमारमा एक महिनाको लागि युद्धविराम घोषणा

काठमाडौं, भदौ २५ । म्यानमारका रोहिंग्या मुस्लिम विद्रोहीले एक महिनाका लागि एकतर्फी युद्धविराम घोषणा गरेका छन् । सरकारी सेनाको कारबाहीबाट मानवीय संकट उत्पन्न भएको भन्दै यसबाट बाहिर निस्कन रोहिंग्या विद्रोहीको समूह अर्साले एक महिनाका लागि युद्धविरामको घोषणा गरेको हो । युद्धविराम आइतबार (आज)देखि लागू हुनेछ । अर्साले गत अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको रखाइन प्रान्तमा सेनाले कारबाही चलाएको थियो । जसका कारण लाखौं रोहिन्ग्या घर छाडेर पलायन भएका छन् । पछिल्लो दुई हप्तामामात्रै रखाइन प्रान्तबाट झन्डै तीन लाख रोहिंग्या मुसलमान शरणका लागि बंगलादेश पुगेको दाबी गरिएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघले द्वन्द्वका कारण म्यानमार छोडेका रोहिंग्या मुसलमानको मानवीय सहयोगका लागि तत्काल सात करोड ७० लाख अमेरिकी डलर खाँचो परेको जनाएको छ । बंगलादेशको कक्स बजारमा रहेका रोहिंग्या शरणार्थीका लागि खाद्यन्न, पानी तथा औषधि अत्यावश्यक रहेको र त्यसका लागि सहयोग गर्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ । बौद्ध सम्प्रदायको बाहुल्य रहेको म्यानमारमा सेनाले रखाइनमा रोहिंग्या मुसलमानको घर जलाएको आरोप पीडितले लगाएका छन् भने सरकारले उक्त आरोप झुटो भएको बरु विद्रोहीले नै अरुलाई देखाउन बस्तीमा आगो लगाएको दाबी गरेको छ ।

इर्मा आँधीले फ्लोरिडालाई तहसनहस बनाउने खतरा, अमेरिकातर्फ बढ्दै

वासिंटन, भदौ २४ । क्यारेवियन द्वीपमा विध्वंस मच्चाएको इर्मा नामक समुद्री आँधी अमेरिकाको फ्लोरिडातर्फ अघि बढ्दै छ । इर्माले फ्लोरिडालाई तहसनहस बनाउन सक्ने आशंकामा जनजीवन त्रसित भएको छ । अमेरिकाको संघीय आपतकालीन एजेन्सीका प्रमुख ब्राक लान्गले इर्माले फ्लोरिडासहित छिमेकी राज्यका लागि विनासकारी हुनसक्ने चेतावनी दिएका छन् । उनले फ्लोरिडाका केही स्थानमा कयौं दिनसम्म विद्युत् अवरुद्ध हुनसक्ने बताए । पाँच लाख मानिसलाई सुरक्षित स्थानमा जान उनले सुझाव दिएका छन् । अमेरिकाको मौसम विभागले २ सय ७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधी आउन सक्ने सम्भावना रहेको जनाएको छ । यसअघि इर्माले क्यारेविन द्वीपमा तहसनहस बनाएको थियो । त्यहाँका १ करोड २० लाख मानिस आँधीबाट प्रभावित भएका छन् । इर्मा आँधीका कारण फ्रान्सेली द्वीपमा मात्रै ९ जनाको मृत्यु भएको थियो भने सात जना बेपत्ता छन् ।)