पाकिस्तानमा सडक दुर्घटना, बीसको मृत्यु

श्रीलङ्काले घोषणा गर्यो बाल संरक्षणसम्बन्धी राष्ट्रिय कार्यक्रम

कोलम्बो, पुस २१। श्रीलङ्का सरकारले विभिन्न सम्भावित जोखिमबाट बालबालिकालाई संरक्षण गर्नेसम्बन्धी एक राष्ट्रिय कार्यक्रमको घोषणा गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी कार्यक्रमको घोषणा गरिएको जानकारी श्रीलङ्काली मन्त्रिपरिषद्का प्रवक्ताले दिएका छन् । प्रवक्ता रजिता सेनारत्नेले बुधबार राजधानी कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा श्रीलङ्काली सरकारले आगामी तीन वर्षसम्मका लागि घोषणा गरेको सो आयोजनाका बारेमा जानकारी दिएका हुन् । सो कार्यक्रमको नाम बालबालिकाको संरक्षण गरौँ भन्ने रहेको छ । सन् २०१९ सम्म सञ्चालन गरिने सो कार्यक्रममा बालबालिकको संरक्षण एवम् सम्बद्र्धनका लागि विभिन्न कार्यक्रमहरूको घोषणा गरिएको छ । खासगरी श्रीलङ्काका बालबालिकालाई विभिन्न खाले शोषण र अपहरणबाट बचाउने बारेमा कार्यक्रमहरू लक्ष्य गरिएका छन् । श्रीलङ्कामा बालबालिकाको शोषण र उनीहरूमाथि हुने गरेका दुव्र्यवहारका घटनामा पछिल्ला वर्ष वृद्धि हुने गरेको छ । त्यस्तै बालबालिकको अपहरणका घटना पनि हुने गरेका छन् । जसका कारण उनीहरूको संरक्षणका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको भनी व्यापक मात्रामा जन गुनासो आएपछि सरकारले यो कार्यक्रम ल्याएको प्रवक्ता रजिताले जानकारी दिए । रासस

सन् २०१६ मा इराकमा छ हजार ८७८ सर्वसाधारण मारिए

बग्दाद, पुस २० । सन् २०१६ मा इराकमा भएका हिंसाहरुमा परी कम्ती छ हजार ८७८ सर्वसधारणको ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घले हालै जानकारी दिएको छ । इराकको लागि संयुक्त राष्ट्र सङ्घको सहयोग मिसन (युएनएएमआइ)ले जारी गरेको एक विज्ञप्तिका अनुसार सन् २०१६ मा भएका यस हिंसाहरुमा परी १२ हजार ३८८ सर्वसाधारण घाइते भएका थिए । तर गत मे, जुलाई, अगस्त र डिसेम्बरमा इराकको पश्चिमी प्रान्त अन्बार भएका मानवीय हताहतसम्बन्धि घटना भने यस तथ्याङ्कमा समावेश नगरिएको युएनएएमआइले थप जानकारी दिएको छ । युएनएएमआइका अनुसार सन् २०१५ मा इराकभरी भएका घटनाहरुका सात हजार ५१५ व्यक्तिको मृत्यु भएको थियो । सन् २०१७ को सुरुवातसँगै इराकमा पुनःहिंसा सुरु भइसकेको छ । इराकको राजधानी बग्दादको छिमेकमा पर्ने अत्याधिक जनघनत्व भएको एक इलाकामा गत सोमबार भएको एक कार बम विस्फोटमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६९ व्यक्ति घाइते भएका छन् । सो आक्रमणमा मारिए प्रायःव्यक्ति सदर सरहको विभाजन रेखामा कामको लागि फर्खिरहेका श्रमिक परेका जानकारी दिइएको थियो । त्यसैगरी सन् २०१७ सुरु हुनुभन्दा अगाडिको् पूर्वसन्ध्यामा नै भएका दुई विस्फोटनमा परी पनि २७ व्यक्तिको मृत्यु भएको थियो । यस आक्रमणहरुको आइएसले नै दाबी गरेका थिए । रासस

इस्तानबुल रात्रिक्लब आक्रमणका आठ जना आरोपित पक्राउ

इस्तानबुल (टर्की),पुस १९। इस्तानबुल आतङ्वादविरोधी प्रहरी बलले विदेशीसहित ३९ जनाको ज्यान जाने गरी एउटा रात्रिक्लबमा आक्रमण गर्ने आठ जना आरोपित व्यक्तिलाई सोमबार पक्राउ गरेको जनाएको छ । इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको उक्त घटनामा ३९ जनाको मृत्यु भएको थियो भने ६५ जना घाइते भएका थिए । इस्तानबुल प्रहरीले रात्रिकालीन रैना क्लब आक्रमणमा संलग्न रहेको आशङ्कामा आठ जनालाई पहिलो पटक सुरक्षा नियन्त्रणमा लिएपछि थप कारबाही अघि बढाएको बताएको टर्कीको डोगान नयुज एजेन्सीले जनाएको छ । यसैबीच इस्तानबुल आक्रमणमा परी मृत्यु हुने अधिकांश विदेशी नागरिक भएको बताइएको छ । मृतकमध्ये २७ जना विदेशी घटनामा मृत्यु भएकामध्ये ११ जना टर्कीका नागरिक रहेको पुष्टि भएको छ भने बाँकी २७ जना विभिन्न देशबाट टर्की पुगेका विदेशी पर्यटक रहेको थाहा भएको छ । एक जनाको अझै परिचय खुल्न नसकेको बताइएको छ । पछिल्लो जानकारीअनुसार घटनामा दुई महिलासहित पाँच जना साउदी नागरिकको मृत्यु भएको र ११ जना घाइते भएको इस्तानुबलस्थित साउदी अरबका वाणिज्यदूतलाई उद्धृत गर्दै एक साउदी पत्रिका असरत अल असलले जनाएको छ । घटनामा जोर्डनका दुई, इराकका तीन, लेबनानका तीन, ट्युनिसियाका दुई, भारतका दुई, मोरक्कोका दुई र एक जर्मन नागरिकको मृत्यु भएको बताइएको छ । उक्त घटनामा क्यानाडा, रसिया, कुवेत, बेल्जियम र लिबियाका पनि एक÷एक जनाको मृत्यु भएको सूचना सम्बन्धित देशका कूटनीतिक अधिकारीले जनाएका छन् । रासस÷एएफपी

थाइल्यान्डमा सडक दुर्घटना, पच्चीसको मृत्यु

बैंकक (थाइल्यान्ड), पुस  १९। पूर्वी थाइल्यान्डको चोनबुरी प्रान्तमा सोमबार एक यात्रु वाहक भ्यान र मिनी ट्रक एक आपसमा ठक्कर खाँदा २५ जनाको मृत्यु भएको छ । घटनामा भ्यानमा सवार १४ जना र ट्रकमा सवार ११ यात्रुको मृत्यु भएको थाई सुरक्षा अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार दिउँसो २ बजे वानबुङ जिल्लाको ३४४ रोडमा भएको उक्त घटनामा दुई जना यात्रु बाँच्न सफल भएको बताइएको छ । यात्राकै क्रममा भ्यान चालक निदाएका कारण दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानपछि थाई प्रहरीले बताएको छ । रासस

दिल्लीका मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार

१८ पुस । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको छ। आइतबार हरियाणाको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनीमाथि जुत्ता प्रहार भएको भारतीय संचार माध्यमले जनाएको छ । विमुद्रीकरणको विरोधमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो । उनीमाथि जुत्ता प्रहार गर्नेलाई स्थानीयले कुटपीट गरी प्रहरीलाई बुझाएका छन् । मुख्य मन्त्री केजरीवालले भने जुत्ता प्रहारका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकले यस्तो हर्कत गरेको बताएका छन । मन्त्री केजरीवालले आफ्नो ट्वीटरमार्फत लेखेका छन्, ‘मैले प्रधानमन्त्री मोदीलाई नोटबन्दीका विषयमा काँतर हुन् भनेको थिए, आज मोदीले आफ्ना चम्चाको प्रयोग गरी जुत्ता प्रहार गर्न लगाए । हामी पनि त्यति कमजोर छैनौ जति तिमी सोचिरहेका छौ । तर हामी त्यति घटिया काम गर्दैनौ । तिमी चाहे जुत्ता हान्न लगाऊ, चाही सीबीआईबाट रेड हान्न लगाऊ । तर म नोटबन्दीको मामिलामा तथ्यकुरा भनेरै छाड्छु ।’

सन् २०१७ लाई ‘शान्ति वर्ष बनाइने’

राष्ट्रसङ्घ (अमेरिका), पुस १८ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार राष्ट्रसङ्घ प्रमुखका रुपमा जिम्मेवारी सम्हालेपछि नयाँ वर्षको विशेष अवसरमा दिएको शुभकामना सन्देशमा सन् २०१७ लाई सर्व प्रथम शान्ति स्थापनाको बनाउनु आफ्नो प्राथमिकता रहने बताएका छन् । पोर्चुगलका पूर्व प्रधानमन्त्रीको रुपमा अनुभव लिएका गुटेर्रेसले सिरियाको राजनीतिक सङ्कट समाधान गर्ने, दक्षिण सुडान, यमन, बुरुन्डी, उत्तर कोरिया र विश्वका अन्य समस्या समाधान गर्ने जिम्मेवारीसहित निवर्तमान राष्ट्रसङ्घ प्रमुख बान कि मुनबाट आइतबारदेखि नै राष्ट्रसङ्घ प्रमुखको जिम्मेवारी लिएका हुन् । सन्देशमा राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले द्वन्द्वमा फसेका करोडौँ जनतालाई कसरी शान्ति प्रक्रियामा ल्याउने भन्ने नै आफ्नो पहिलो काम हुने बताएका छन् । गुटेर्रेसले भनेका छन्, “कतिपय मुलुकमा द्वन्द्वका कारण सर्वसाधारण तड्पिरहेका छन् । महिला, बालबालिकालगायत अन्य नागरिक मारिएका छन् । घाइते भएका छन् । आफ्नो घरबाट विस्थापित भएका छन् । उनीहरुका सम्पत्तिहरण भएका छन् । युद्ध कसैले जितेका छ्रैनन्, सबै हारेका छन् । त्यसैले शान्ति अपरिहार्य छ ।” सन् २०१७ लाई स्वागत गर्दै राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले ‘‘नयाँ वर्षमा सबैले शान्ति स्थापनाका लागि प्रण गरौ’’ भनेका छन् । विश्वभरका नागरिक, सरकार तथा नेताले हाम्रा मतभेदलाई अन्त्य गर्ने र शान्ति स्थापना गर्ने वर्षका रुपमा सन् २०१७ लाई स्वागत गरौँ, गुटेर्रेसले भने । एक दशकसम्म राष्ट्रसङ्घको उच्चआयुक्तका रुपमा आप्रवासी शरणार्थीको अधिकारका लागि सङ्घर्ष गरेका गुटेर्रेस राष्ट्रसङ्घको नवौँ महासचिवमा गत अक्टुबरमा सर्वसम्मत छानिनु भएका थिए । राष्ट्रसङ्घको कूटनीतिज्ञका रुपमा समेत लामो अनुभव भएका महासचिव गुटेर्रेसलाई एक दक्ष राजनीतिक नेताका रुपमा समेत हेरिन्छ । उनको कार्यकालमा पछिल्लो समय विभिन्न विवादमा फसेका अन्तर्राष्ट्रिय यस संस्थाले आफ्ना तथा विश्व समुदायका समस्यालाई निदान गरी बढ्नेमा विश्वास गरिएको छ । शान्ति हाम्रो लक्ष्य र दिशा निर्देश बन्नुपर्छ, उनले भने, “हामीले मानव जगतको गरिमा, आशा, प्रगति र समृद्धिका लागि गर्ने सम्पूर्ण कार्य विश्व शान्तिमा निर्भर छ । साथै शान्ति हामीमा निर्भर छ ।” रासस

नयाँ वर्षको पार्टीमा आक्रमण, ३५ को मृत्यु, दर्जनौ घाइते

इस्तानबुल, पुष १७ । नयाँ वर्ष मनाइरहेको बेला भएको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । टर्कीको इस्तानबुलमा एउटा रात्री क्लबमा आक्रमण भएको हो । घटनामा ४० बढी घाइते भएको बताइएको छ । टर्कीको अर्टाकोएमा रहेको रेयना रात्री क्लवमा स्थानीय समय अनुसार राति साढे १ बजे आक्रमण भएको एजेन्सीहरुले जनाएका छन्। नयाँ बर्ष मनाइरहेको समय सान्टा क्लसको पोशाकमा आएका २ जना आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेको टर्की प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । स्थानीय प्रशासनले उच्च सर्तकता अपनाउदै १७ सय प्रहरी खटाएको छ । आक्रमण भएको स्थान आसपासका सर्वसाधरणलाई पनि सावधान रहन प्रशासनले आग्रह गरेको छ ।

बग्दादमा एकसाथ दुईवटा बम विस्फोटहुँदा २८ को मृत्यु, ५० घाइते

पुुस १६ – इराकको राजधानी बग्दादमा एकै समय दुई वटा बम विष्फोट हुँदा २८ जनाको ज्यान गएको छ भने अन्य ५० भन्दा बढी घाइते भएका छन् । व्यस्त बजारमा लगातार भएको सो बम विस्फोट भएको हो । एउटा बम कार स्पेयर पार्टसको पसल नजिकै भएको र केही बेरमा मानिसहरु जम्मा भएपछि आत्मघाती बम विस्फोट भएको बिबिसीले जनाएको छ । विष्फोट कसले र किन गरायो भन्ने बारे हालसम्म केही खुलेको छैन । पछिल्लो समय इराकका कुनै पनि भिडभाड भएको स्थानमा उग्रवादी हमला भइरहेको छ ।

प्रेमीसँग मिलेर श्रीमतीले गरिन राजदूत श्रीमानको हत्या

ब्राजिल । बाजिलका लागि ग्रीसका राजदूतको हत्या भएको छ । हत्याको आशंकामा प्रहरीले राजदूत किरिआकोस अमरीदिसकी श्रमिती र तीन अन्यलाई हिरासतमा लिएको छ । ग्रिसका राजदूत सोमबारदेखि बेपत्ता थिए । शुक्रबार रियो द जेनेरियोको बाहिर क्षेत्रमा एउटा जलेको कारभित्र उनको लास फेला परेको थियो । प्रहरीले राजदूतकी श्रीमती र एकजना स्थानीय प्रहरीबीच प्रेम प्रसंग चलिरहेको र दुवै मिलेर राजदूतको हत्या गरेको आशंका गरेको छ । १५ वर्षदेखि सँगै रहेका राजदूत र उनीकी श्रीमतीको १० वर्षको छोरी छिन् । राजदूत बस्ने घरको सोफामा रगतका छिटा देखिएकोले घरमा नै हत्या गरेर कारमा राखेर आगो लगाइएको अनुमान गरिएको छ ।

भारतमा कोइला खानी भत्किदाँ दश जनाको मृत्यु, भारतीय प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

झारखण्ड (भारत), पुष १६ । पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानी बिहीबार राती भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको यहाको प्रहरीले शुक्रबार जनाएको छ । घटनामा १३ जना अन्य खानीभित्र फसेका र उनीहरूको अवस्थाबारे कुनै जानकारी पाउन नसकिएको प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् । झारखण्ड राज्यको गोद्डा जिल्लामा भएको उक्त घटनाको उद्धार कार्य जारी रहेको बताइएको छ । घटनापछि केहीलाई घाइते अवस्थामा उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कोइला मन्त्री पियुस गोयल, र झारखण्डका मुख्यमन्त्रीले घटनामा निधन भएका मजदूरप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गरे । प्रधानमन्त्री मोदीले शुक्रबार दिउसो टवीट् गर्दै भनेका छन् “झारखण्डमा कोइलाखानीमा भएको दुर्घटनाले मलाई स्तब्ध तुल्याएको छ । यस घडीमा खानीमा फसेका मजदुरको जीवनका लागि म भगवानसँग प्रार्थना गर्दछु ।” भारत कोइला उत्पादनको लागि विश्वमा नै तेसं्रो स्थानमा पर्ने राष्ट्रको रुपमा रहेको छ । आफ्नो देशमा आवश्यक रहेको कोइलाको ६० प्रतिशत भारतको उत्पादनले पुग्ने बताइन्छ । रासस

नशामा उडान गर्ने विमान चालक निष्कासित

जकार्ता (इन्डोनेसिया), पुष १६। इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्कासन गरेको छ । विमान चालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एयरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत एयरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रुको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो । बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शङ्का व्यक्त गर्दै विमानबाट झरेपछि अर्को चालकमार्फत उडान गर्न उनले अनुरोध गरेका थिए । विमान चालकले विमान उडाउने तयारी गरिरहेको बेला उनको बोली प्रष्ट नभएपछि यात्रुले चालकमाथि शङ्का व्यक्त गरेका हुन् । यसैबीच सीटी लिङ्क कम्पनीका निर्देशक तथा अध्यक्ष अल्बर्ट बुरहान र उत्पादन निर्देशकले पनि उक्त विषयमा आफू दोषी रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् । रासस

अोबामाको निर्णयलाई पछ्याउँदै रसिया, पैतीस अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने तयारीमा

मस्को (रसिया),पुस १६ । अमेरिकी प्रशासनले आफ्ना अमेरिकास्थित ३५ जना कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णयलाई पछ्याउँदै रसियास्थित ३५ जना अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने प्रस्ताव गरेको रसियाली विदेश मन्त्रालयले शुक्रबार जानकारी गराएको छ । रसियाली विदेश मन्त्री सर्गेइ लाभरोभले अमेरिकी प्रशासनबाट आफ्ना वासिङटनस्थित दूतलाई फिर्ता पठाउने निर्णयको प्रतिक्रियास्वरुप मस्कोले पनि मस्कोस्थित अमेरिकी कुटनीतिक अधिकारी लाई फिर्ता गर्न राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिफारिस गरेको बताए । यसै साता अमेरिकी ओबामा प्रशासनले रसियाले अमेरिकी निर्वाचनमा गोप्य इमेल सार्वजनिक गरी डेमोक्रेटिक पार्टीका नेता हिलारी क्लिन्टनको निर्वाचन अभियानमा बदनाम गर्न रिपब्लिकन पार्टीलाई सघाएको लगायतका अन्य हस्तक्षेपकारी भूमिका खेलेको भन्दै ३५ जना रसियाली कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय लिएको थियो । मस्कोले फिर्ता पठाउन सिफारिस गरेका अमेरिकीमध्ये ३१ जना रसियास्थित अमेरिकी राजदूतावासमा कार्यरत कर्मचारी रहेका छन् भने चार जना सेन्टपिटर्सबर्गस्थित अमेरिकी महावाणिज्य दूतावासका कर्मचारी रहेका छन् । ट्रम्पको नीति हेरेर निर्णय लिइनेः पुटिन यसैबीच विदेश मन्त्रालयबाट आएको सिफारिसलाई रसियाली राष्ट्रपति पुटिनले तत्काल कार्यान्वयनमा नलग्ने प्रतिक्रिया दिएका छन्। पुटिनले अमेरिकाद्वारा लगाएको आरोपको पहिले नै खण्डन गरिसकेका थिए। विदेश मन्त्रालयबाट आएको सिफारिसलाई रसियाली राष्ट्रपति पुटिनले केही दिनमा अमेरिकी प्रशासनमा परिवर्तन हुने अवस्थालाई मध्यनजर राख्दै विदेश मन्त्रालयको प्रस्तावलाई तत्काल कार्यान्वयनमा नलग्न निर्देशन दिएको बताइएको छ । पुटिनलाई बर्तमान ओवामा प्रशासनले ट्रम्पको सहयोगी भएको आरोप लगाउदै आएको छ भने ट्रम्प तथा रसियाले यसको खण्डन गर्दै आएका छन् । रासस

साउदीले फेरी १५० जनालाई फाँसी दिन सक्ने खुलासा

एजेन्सी । साउदी अरबले लगातार दोस्रो वर्षपनि १५० जनालाई फाँसी दिने भएको छ । मानवअधिकार संगठन रिप्रिवले यस विषयमा एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । साउदी अरबको गुप्त अदालत मार्फत दोषीहरुलाई सजाय दिने गरेको प्रतिवदेनमा उल्लेख छ । ड्रग्स, मानव तस्कर र राजनीतिक हत्या गर्ने दोषीलाई प्रमुख गुप्त अदालतमार्फत फाँसी दिने गरेको पाइएको छ । र यस्ता सुचनाहरु सार्वजनिक हुँदैनन् । यो वर्ष १५० जनालाई साउदी अरब सरकारले फाँसीको सजाय सुनाई सकेको छ । यसमध्ये कुनैलाई सजाय दिइसकेको छ भने केहीलाई दिन बाँकी छ । सन् २०१४ मा ८७ जनालाई फाँसीको सजाय सुनाएको थियो । साउदी अरबले केही समय अगाडी आफ्नै देशको राजकुमारलाई पनि एकजनाको हत्याको आरोपमा मृत्युदण्डको सजाय सुनाइसकेको छ । खाडी देशहरुमा फाँसी सजाय धेरै दिने गरिन्छ भने अर्कोतर्फ विश्वभरमा दुइतिहाइ देश यो कानुन हटाउने प्रक्रियामा छन् । युएसको १८ राज्यमा यो कानुन खारेज भएको छ । एशियाको बिभिन्न देशमा पनि यो प्रक्रिया अन्त्य गनुपर्ने बहस सुरु भएको छ । साउदी अरबले यो वर्ष आफ्नै देशको शाही खानदानको एक राजकुमार प्रिंस तुर्की बिन सऊद अल कबीर लाई फाँसीको सजाय दिएको थियो । यो एकदम दुर्लभ घटना हो ।

झारखण्डमा कोइला खानीको ढिस्को खस्दा ७० जना पुरिए

राँची, एजेन्सी । झारखण्डको गोड्डामा कोइला खानी धसिन पुग्दा ७० जना भन्दा बढी पुरिएका छन् । बिहिबार साँझ ७ बजे घटना घटेको हो । राजमहल परियोजना अन्तर्गतको उक्त कोइला खानीमा काम गरिरहेको बेला कोइला खानीको ढिस्को ३ सय मिटरसम्म धँसिन पुगेको हो । कामदारका साथै २५ वटा भल्भो गाडी र ४ वटा पिसी पनि पुरिएका छन् । प्रहरी र एनडीआरएफको टीम अहिले घटनास्थलमा राहत र बचाउ कार्यमा जुटेको छ । सन् २००१ को सेप्टेम्बर २६ मा यसरी नै कोइला खानी धसिएपछि १२ जनाको मृत्यु भएको थियो ।

फिलिपिन्समा बक्सिङ खेल भइरहँदा बम विष्फोट, ३० घाइते

मनिला, एजेन्सी । पूर्वी एशियाको देश फिलिपिन्समा बक्सिङ खेल भइरहँदा विष्फोट भएको छ । विष्फोटमा कम्तीमा ३० जना घाइते भएका छन् । समाचार एजेन्सीहरुका अनुसार, लेटे राज्यको हिन्लोगोस शहरमा क्याथोलिक महोत्सवमा आयोजना गरिएको प्रतियोगताको बेला दुई वटा बम विष्फोट भएका थिए । क्षेत्रीय सैन्य प्रवक्ता प्रथम लेफ्टिनेन्ट चेरी जुनियाका अनुसार, घाइतेहरुलाई अस्पतालमा लगिएको छ । विष्फोटमा स्थानीय सेल फोनको प्रयोग गरिएको प्रारम्भिक अनुमान छ । फिलिपिन्सको दक्षिण क्षेत्रमा अबु सयाफ गुटका सशस्त्र लडाकु र इस्लामिक स्टेट आतंकी समूहको गतिविधि बढ्न सक्ने भन्दै सुरक्षाकर्मीलाई सतर्क पारिएको छ । बम विष्फोट भएको स्थान मनिलाबाट ६ सय १० किलोमिटर टाढा छ । यो राज्यमा कम्युनिष्ट गुरिल्लाहरुको समेत गहिरो प्रभाव रहेको छ ।