अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

काठमाडौं, मंसिर ५ । अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका हुन् ।

यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई सोही सूचीमा राखेकोमा ९ वर्षअघि यो सूचीबाट हटाएको थियो ।

इरान, सुडान र सिरिया पनि यो सूचीमा सामेल छन् । सन् २००८ मा जर्ज डब्ल्यु बुस प्रशासनले उत्तर कोरियालाई भने यो सूचीबाट हटाएका थियो ।

मन्त्रिपरिषद्को बैठकमा राष्ट्रपति ट्रम्पले यो सूचीबाट उत्तर कोरियालाई हटाउनु गलत भएको भन्दै आज बस्ने बैठकले यसको निर्णय गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चरमपन्थीहरुलाई समर्थन गरेको सूचीमा राखेपछि उत्तर कोरियामाथि थप दबाब पर्ने बताइएको छ ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई यो सूचीमा सामेल गराएपछि उसको परमाणु कार्यक्रम र अन्तर्राष्ट्रिय स्तरमा चरमपन्थी कारबाहीको समर्थनको जिम्मेवार हुने बताएका छन् ।

उनले उत्तर कोरियाली सरकारको विधिसम्मत तरीकाले काम गर्नुपर्ने र परमाणु कार्यक्रमलाई रोक लगाउनुपर्ने बताए ।

उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले लगाएको प्रतिबन्धका बाबजुद परमाणु कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

क्यालिफोर्नियाको एक विद्यालयमा गोली चल्यो, चार जनाको मृत्यु

काठमाडौं, कात्तिक २९ । अमेरिकाको क्यालिफोर्नियास्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । उत्तरी क्यालिफोर्नियाको तहेमा काउन्टीस्थित स्कुलमा चलेको गोली लागेर केही बालबालिका घाइतेसमेत भएका छन् । ्गोली चलाउने बन्दुकधारीको पनि प्रहरी कारबाहीमा मारिएका छन् । घरायसी झगडाका कारण घटना भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन् । अमेरिकाकै टेक्सासस्थित एक चर्चमा केही दिनअघि बन्दुकधारीले गोली चलाउँदा २५ जनाको मृत्यु भएको थियो ।

अस्ट्रेलियामा समलिंगी विवाहको पक्षमा मतदान

काठमाडौं, कात्तिक २९ । अस्ट्रेलियाको एक ऐतिहासिक सर्वेक्षणमा समलिंगी विवाहको पक्षमा मतदान भएको छ । यो सर्वेक्षणमा ६१ दशमलव ६ प्रतिशत मानिसले समलैंगिक विवाहको पक्षमा मतदान गरेका छन् । सर्वेक्षणमा ७९ दशमलव ५ प्रतिशत मानिस सहभागी भएका थिए । समलिंगी विवाहका बारेमा सरकारले आठ हप्तासम्म चलाएको पोस्टल सर्वेक्षणमा अधिकांश मानिसले यसको पक्षमा मतदान गरेका हुन् । यो सर्वेक्षणमा १ करोड २७ लाख मानिस सहभागी भएका थिए । जसमध्ये ६१ दशमलव ६ प्रतिशतले समलिंगी विवाहको समर्थन गरेका थिए । सरकारले यो सर्वेक्षणमा सहभागी हुन र आफ्नो राय दिन कसैलाई बाध्य पारेको थिएन । यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुले समलिंगी विवाहको पक्षमा नागरिकको मत आए त्यसलाई यस वर्षको अन्त्यसम्ममा कानुनी मान्यता दिने बताएका थिए । यस विषयमा संसद्मा भने राय बाझिएको थियो । प्रधानमन्त्री टर्नबुल समलिंगी विवाहको समर्थनमा छन् । तर सरकारमा सहभागी अरु सबै सदस्यको एकमत थिएन । सर्वेक्षणको नतिजा आएपछि प्रधानमन्त्री टर्नबुलले समलिंगीहरुले न्यायको अनुमति पाएको बताएका छन् । अस्ट्रेलियालाई उदारवादी देश मानिन्छ । तर, सन् २००४ मा अस्ट्रेलियाले कानुन संशोधन गर्दै समलिंगी विवाहमाथि प्रतिबन्ध लगाएको थियो ।

अमेरिका र उत्तरकोरियाबीच तनाब

काठमाडौं, कात्तिक २६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताले प्योङयाङको परमाणु अस्त्र कार्यक्रमलाई लिएर फेरि वाक्युद्ध शुरु गरेका छन्। उत्तर कोरियाली विदेशमन्त्रीले फेरि पनि ट्रम्पलाई ‘युद्ध रुचाउने’ र ‘वृद्ध व्यक्ति’ भनेका छन्। उत्तर कोरियाले परमाणु अस्त्रको विकास नरोक्नेमा उनले जोड समेत दिए। एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले आफूलाई किन बूढो भनेर अपमान गरिएको होला भन्दै ट्वीट गरेका छन्। उनले आफूले किम जङ–अनलाई कहिल्यै पनि ‘पुड्के’ र ‘मोटे’ नभन्ने बताए। आफूले उत्तर कोरियाली नेताको साथी बन्न भरमग्दुर प्रयास गरेको भन्दै उनले कुनै दिन त्यो सम्भव हुनसक्ला भनेका छन्। यसअघि किम जङ–अनको खिल्ली उडाउँदै ट्रम्पले उनलाई ‘पागल’ र ‘सानो रकेट मान्छे’ भनेका थिए। केही महिनाअघि ट्रम्पले उत्तर कोरियालाई सिध्याइदिने चेतावनी पनि दिएका थिए। त्यसप्रति प्रतिक्रिया जनाउँदै किम जङ–अनले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुण्ड’ भनेका थिए। दुई नेताबीच वाक्युद्ध चलिरहँदा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले ट्रम्प र किम जङ–अनबीचको वाक्युद्ध साना ‘बच्चाहरुको झगडा जस्तै’ भएको बताएका थिए।

इराकमा ४ सय जनाको सामुहिक चिहान भेटियो

काठमाडौं, कात्तिक २६ । इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा उक्त चिहान फेला पारेको हो । गत महिना अघिसम्म उक्त क्षेत्र इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा थियो । चिहानमा आईएसले हत्या गर्नुअघि लगाइदिने गरेका पोशाक लगाएका शव समेत फेला परेका छन् । किरकुक प्रान्तका गभर्नर रकानले उक्त क्षेत्रलाई आईएसले हत्या गर्ने मैदानको रुपमा परिणत गराएको बताए । इराकी सेनाले आईएसको नियन्त्रणमा रहिसकेका विभिन्न ७२ वटा सामुहिक चिहानबाट करिब १५ हजार शव फेला पारिसकेको छ ।

साउदी अरबले लेवनानविरुद्ध युद्ध छेडेको हिज्बुल्लाह नेताको आरोप

काठमाडौं, कात्तिक २५ । लेबनानका हिज्बुल्लाह नेता हसन नसरल्लाहले साउदी अरबले लेवनानविरुद्ध युद्ध छेडेको आरोप लगाए । लेवनानका प्रधानमन्त्री साउद अल हरिरीले राजीनामा दिएपछि हिज्बुल्लाह नेताले यो आरोप लगाएका हुन् । लेवनानी प्रधानमन्त्री हरिरीले साउदी अरबको राजधानी रियादबाटै आफ्नो राजीनामा दिएका थिए । प्रधानमन्त्री हरिरीले एक टेलिभिजन सम्बोधनमार्फत् पदत्याग गरेको घोषणा गरेका थिए । उनले आफ्नो ज्यानको खतरा भएकाले राजीनामा दिएको उल्लेख गरेका थिए । आफ्नो सम्बोधनका क्रममा उनले इरान र हिज्बुल्लाहलाई निशाना बताएका छन् । हिज्बुल्लाह नेता नसरल्लाहले भने साउदी अरबले हरिरीलाई जबरजस्ती रोकेर राखेको आरोप लगाएका छन् । उनले साउदी अरबले लेवनानविरुद्ध इजरायललाई पनि भड्काइरहेको आरोप लगाए । हिज्बुल्लाह शिया आन्दोलनलाई इरानले साथ दिंदै आएको छ । लेवनानसहित त्यस क्षेत्रमा तनाव बढाउन साउदी अरब जिम्मेवार रहेको निष्कर्ष हिज्बुल्लाहको छ । लेबनानी राष्ट्रपति मिसेल आउनसहित अन्य वरिष्ठ राजनीतिज्ञहरुले उनलाई फिर्ता आउन अपील गरेका छन् । लेवनानले हरिरीलाई साउदी अरबको एक घरमा नजरबन्द गरिएको र उनमाथि दबाब दिइएको जनाएको छ । लेवनानका राष्ट्रपतिले हरिरीको राजीनामा स्वीकृतसमेत गर्नुभएको छैन । जबकी हरिरीले टेलिभिजन सम्बोधनबाट राजीनामा घोषणा गरेपछि सार्वजनिकरुपमा केही पनि प्रतिक्रिया दिएका छैनन् शुक्रबारको टेलिभिजन सम्बोधनमा हिज्बुल्ला नेता नसरल्लाहले साउदी अरबले लेवनानविरुद्ध भित्रभित्रै संघर्षका लागि उक्साइरहेको आरोप लगाएका छन् । उनले साउदी अरबका अधिकारीहरुले लेवनानका हिज्बुल्लाहविरुद्ध युद्ध गरिरहेको र यसलाई आफूले लेवनानविरुद्धकै युद्धको रुपमा लिएको बताए । साउदी अरबले लेवनानमा हमला गर्न इजरायललाई अर्बौ डलर दिने तयारी गरेको आरोप पनि उनले लगाए

साउदीका एक दर्जन राजकुमार पक्राउपछि अन्य दुईसय नियन्त्रणमा !

काठमाडौं, कात्तिक २४ । करिब एक दर्जन राजकुमारसमेतलाई पक्रेर भ्रष्टाचारविरुद्धको अभियान तीब्र पारेको साउदी अरबले यही अभियोगमा दुई सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती सबैसँग सोधपुछ र अनुसन्धान भइरहेको साउदी अरबले जनाएको छ । पछिल्ला केही दशकमा संगठित भ्रष्टाचार र अनियमितताको माधयमबाट एक सय अर्ब डलरको अपचलन गरिएको त्यहाँका महान्यायाधिवक्ताले जानकारी दिएका छन् । तीन वर्षसम्म चलेको अनुसन्धानपछि गएको शनिवार रातदेखि दुई सय एक जनालाई पक्राउ गरिएको महान्यायाधिवक्ता शेख सउद अल मोजेबले जानकारी दिएका हुन् । जसमा राजकुमार, केही मन्त्री, ठूला व्यापारीसमेत रहेको बताइएको छन् । पक्राउ गरिएकाविरुद्ध यथेष्ठ प्रमाण जुटाइएको दावी मोजेबको छ । यस अभियानबाट मुलुकको आर्थिक गतिविधिमा कुनै फरक नपर्ने अभियुक्तका खाता भने बन्द गरिएको उनले बताए । ३२ वर्षीय युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठित भ्रष्टाचार नियन्त्रण कमिटीले निकै तीब्र रुपमा अनुसन्धान गरिरहेको उनको भनाइ छ । हिरासतमा लिइएकामा अरबपति व्यापारी राजकुमार अलवलीद बिन तलाल, राजकुमार मितेब बिन अब्दुल्लाह, उनका भाई तुर्की बिन अब्दुल्लाहलगायत रहेको बताइएको छ ।

अमेरिकाद्वारा क्यूवामा नयाँ प्रतिबन्ध, ब्यापार गर्न बन्देज

काठमाडौं, कात्तिक २३ । अमेरिकाले आफ्ना नागरिकलाई क्यूवाका विषयमा नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी सरकारले क्युवाका सरकारी कार्यालय वा संस्थानसँग कुनै पनि किसिमका व्यापार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । यसमा सरकारबाट सञ्चालित होटल र पसल पनि समेटिएका छन् । अमेरिकी सरकारको नयाँ नियमपछि अमेरिकी नागरिकले क्यूवाका १ सय ८० सरकारी र सैन्य स्वामित्व भएका कम्पनीसँग व्यापार गर्न पाउने छैनन् । यो प्रतिबन्धपछि अब अमेरिकी नागरिक पर्यटकको रुपमा मात्र क्युवामा जान सक्ने छन् । अमेरिकी सरकारले लिएको नयाँ कमदलाई पूर्वराष्ट्रपति बाराक ओवामाले क्यूवासँगको सम्बन्ध विस्तार गर्ने नीति फिर्ता गर्ने उद्देश्यले भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीनमा

काठमाडौं, कात्तिक २२ । एसियाको पाँच देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीनको बेइजिङ पुगेका छन्। त्यहाँ उनको मुख्य ध्यान चीनसंगको व्यापार तथा उत्तर कोरियासंगको तनाव जस्ता मुद्दाले खिच्नेछ। परमाणु अस्त्रसम्बन्धी कार्यक्रमका कारण प्योङयाङमाथि संयुक्त राष्ट्रसंघले लगाएका सबै प्रतिबन्धहरु कडा रुपमा लागू गराउन बेइजिङले सुनिश्चित गरोस् भन्ने अमेरिकाको चाहना रहेको छ। उत्तर कोरियाका विरुद्ध चीनले अन्य कदमहरु पनि लेओस् भन्ने ट्रम्प चाहन्छन्। उत्तर कोरियामाथि थप दबाब दिन चिनियाँ राष्ट्रपति सि जिनपिङलाई मनाउन ट्रम्पले प्रयास गर्ने बताइएको छ। यसअघि दक्षिण कोरियाली संसद्‍मा बोल्दै ट्रम्पले उत्तर कोरियासँग सबै देशहरुले कुटनीतिक सम्बन्ध कम गर्नुपर्ने र सबै व्यापार तथा प्रविधि सम्पर्क विच्छेद गर्नुपर्ने बताएका छन्। चीनलाई पनि उनले उत्तर कोरियासंगको सम्बन्ध तोड्न भने। राजधानी बेइजीङमा उनका चिनियाँ समकक्षी सि जिनपिङले ट्रम्पको सम्मानमा भव्य स्वागतको आयोजना गर्दैछन्। चीन आगमन अघि ट्रम्पले चिनियाँ राष्ट्रपति सि को एकदम प्रशंसा गरेका थिए र उनको ठूलो राजनीतिक जितपछि उनलाई भेट्न चाहेको बताएका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न महाधिवेशनबाट सि ले उनको शक्तिलाई सुदृढ पारेका थिए। त्यसो हुँदा ट्रम्पसँग कुनै पनि सम्झौतामा पुग्ने सम्भावना अब कम हुन सक्ने विश्लेषकहरु बताउँछन्। सि को प्रशंसा गरेपनि ट्रम्पको उनीसंगको सम्बन्धमा तनाव पनि छन्। चीनको व्यापार अभ्यासहरु असमान भएको भन्दै ट्रम्पले चीनको आलोचना गरेका छन्। बिबिसी

अमेरिकी राष्ट्रपतिको उत्तर कोरियालाई चेतावनी

काठमाडौं, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दक्षिण कोरियाको संसदमा बोल्दै उत्तर कोरियाका नेता किम जङ अन विरुद्ध चर्को चेतावनी दिएका छन्। ट्रम्पले भने, ‘हामीलाई कम नआँक्नु। हामीमाथि प्रयोग नगर्नु,’उनले भाषणमा किमलाई सम्बोधन गर्दै भने, ‘तपाईँसँग भएका हतियारले तपाईँलाई सुरक्षित बनाउँदैनन्। त्यसले तपाईँको सत्तालाई ठूलो खतरा पुर्याएको छ।’ अमेरिकी नेता एशिया भ्रमणक्रममा दक्षिण कोरियाको दुई दिने भ्रमणमा छन्। ट्रम्पले सोलमा सांसदहरुलाई सम्बोधन गर्दै कोरियाली युद्ध यता उत्तर कोरियाको तुलनामा दक्षिण कोरियाको प्रगतिको प्रशंसा गरे। उनले उत्तर कोरियालाई ‘इतिहासको प्रयोगशालाको दुःखदायी प्रयोग’ भने। ट्रम्पले प्योङयाङलाई चेतावनी दिँदै भने, ‘यस अघिको अमेरिकाको व्यवहारलाई उसले कमजोरी भन्ठानेको होला अब अमेरिकामा फरक प्रशासन छ।’ उनले आणविक कार्यक्रम त्याग्न उत्तर कोरियालाई आग्रह गरे। ‘उत्तर कोरिया तपाईँको हजुरबाले सोचेको जस्तो स्वर्ग छैन। यो कुनै पनि व्यक्तिले भोग्नु नपर्ने नर्क छ,’ ट्रम्पले उत्तर कोरिया स्थापना गरेका किम इल सङ जो किम जङ अनका हजुरबा हुन्, लाई उल्लेख गर्दै भने। ट्म्पले बाँकी विश्व खासगरी चीन र रुसलाई प्योङयाङमाथि उसका आणविक हतियार त्याग्न दबाब बढाउन आग्रह गरे। ट्रम्प एशियाका पाँच मुलुकको भ्रमण क्रममा छन्। जापानबाट भ्रमण शुरु गरेका ट्रम्प दक्षिण कोरिया पुगेका छन् त्यहाँबाट उनी बुधबार चीन पुग्दैछन्। बिबिसी

अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा

बेइजिङ, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेको छ । उनी बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुगेको जनाएको छ । चीनको राजकीय भ्रमणका क्रममा उनी आज बुधबार दक्षिण कोरियाबाट चीन पुगेको हो । एसिया भ्रमणका क्रममा उनी गत आइतबार जापान पुगेको थियो । गत जनवरीमा उनी अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक चीन भ्रमणमा आएको हो । दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति भएको हो । उनको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा रहेको छ ।

इरानको रवैयाका कारण युद्ध निम्तने साउदी अरबको चेतावनी

कात्तिक २२ । साउदी अरबले यमनका बिद्रोहीलाई इरानले भड्काएको आरोप लगाएको छ । साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानले यमनका हुथी बिद्रोहीलाई मिसाइल उपलब्ध गराई सैन्य कारबाहीका लागि उक्साएको आरोप लगाएका हुन् । उनले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राखे । इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनीसमेत साउदीका राजकुमारले दिएका छन् । यद्यपी इरानले भने साउदीको आरोपलाई अस्वीकार गरेको छ । इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले साउदी अरबले अनाहकमा आफूहरुलाई कारबाही गर्ने धम्की दिएको भन्दै आपत्ति जनाए । हुथी बिद्रोहीले गत शनिबार साउदी अरबमा बुरकान एचटु मिसाइल प्रहार गरेका थिए । पछिल्लो समय यमनको मामिलालाई लिएर इरान र साउदीबीचको सम्बन्धमा दरार आएको छ ।

दुर्व्यवहारको आरोप लगाइएका बेलायती नेता सर्जन्ट मृत फेला

लन्डन, कात्तिक २१ । वेल्स सरकारमा रहेकै समय दुर्व्यवहार आरोप लागि केही दिन पहिले पदबाट राजिनामा दिएका बेलायती नेता काल्र्स सर्जन्ट मृत अवस्थामा भेटिएका छन् । दुर्व्यवहारको आरोप लगाइएका बेलायती नेता सर्जन्ट मृत अवस्थामा भेटिएको उनको पारिवारिक स्रोतले मंगलबार जनाएको हो । महिलामाथि दुर्व्यवहार आरोप लागेपछि केहीदिन पहिले उनले वेल्स सरकारको मन्त्रीबाट राजीनामा दिएका थिए । सर्जन्टले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । सर्जन्टले यही नोभेम्बर ३ मा मन्त्रीबाट राजिनामा दिएका थिए । सरकारबाट राजिनामा गरेपछि उनको दल लेबर पार्टीले पार्टीबाट पनि निलम्बन गरेको थियो ।

सासु र परिवारसँग हमलाकारीको झगडापछि टेक्सास गोलीकाण्ड !

वासिंटन, कात्तिक २१ । अमेरिकाको टेक्सासस्थित एक चर्चमा अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गर्ने डेविन प्याट्रिक केलीले गोली चलाउनुअघि सासुसँग झगडा परेको तथ्य प्रकाशमा आएको छ । प्याट्रिकले रंगभेदी मनसाय वा धार्मिक कारणले गोली नचलाएको स्थानीय अधिकारीको दावी छ । पारिवारिक कारणले चर्चमा गोली चलाएको खुलेको स्थानीय अधिकारी बताउँछन् । परिवार तथा उनको श्रीमतीको परिवारसँग विवाद भएकाले उनले गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्याट्रिककी सासु मिसेली स्चिएल्डस पनि गोलीकाण्डका समयमा सोही चर्चमा उपस्थित थिइन् । प्याट्रिककी आमा लुका ह्वाइट पनि गोली लागेर मारिएकी छिन् । आइतबार बिहान प्याट्रिकले अन्धाधुन्ध गोली हानेर २६ जनाको हत्या गरेका थिए । मारिनेमा आधाजसो बालबालिका भएको घटनामा अरु २४ जना घाइते भएका छन् । नियमित प्रार्थनाका लागि मानिस भेला भएका बेला उनले टेक्सासको विल्सन काउन्टीस्थित चर्चमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । प्याट्रिक पनि जवाफी कारवाहीमा मारिएका थिए । गाडीमा चढेर भाग्दै गर्दा उनी प्रहरी कारवाहीमा मारिएका हुन् । अमेरिकामा पछिल्लो समय यस्ता घटना बढ्दै गएका छन् ।

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

काठमाडौं, कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको हो । असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकोप्टर भ्रमणमा थिए । दुर्घटनाको कारण भने नखुलेको बताइएको छ । दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुन् । सन् २०१५ मा बिन अब्दुल अजिजका सौतेनी भाइ सलमानले राजाको जिम्मेवारी सम्हालेपछि उनलाई युवराजबाट हटाएर आफ्ना छोरालाई युवराज बनाएका थिए ।

टेक्ससमा गोलीकाण्ड: २६ को मृत्यु

काठमाडौं, कात्तिक २० । अमेरिकाको टेक्सस राज्यस्थित सदरल्याण्ड स्प्रिङ्ग्स नगरको एउटा बाप्टिस्ट गिर्जाघरमा गोली चल्दा २६ जना मारिएका छन्। अधिकारीहरुका अनुसार आइतवार बिहानको प्रार्थना चलिरहँदा एकजना बन्दुकधारीले गोली चलाएका थिए। घटनामा करिब २५ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।सदरल्याण्ड स्प्रिङ्ग्सका एकजना अधिकारीले बन्दुकधारी पनि मारिएको स्थानीय सञ्चारमाध्यमलाई बताए। यद्यपि उनी कसरी मारिए भन्ने कुरा स्पष्ट भइसकेको छैन। मृत्यु हुनेमा गिर्जाघरका ‘पास्टर’की छोरी पनि रहेको बताइएको छ। सान एन्टोनियो शहरदेखि करिब ५० किलोमिटर दक्षिण(पूर्वमा रहेको सानो नगर सदरल्याण्ड स्प्रिङ्ग्समा उक्त घटनापछि प्रहरीको बाक्लो उपस्थिति देखिएको थियो। सो नगरमा करिब चार सय मानिसहरु बस्दै आएका छन्। घटनास्थलमा थुप्रै एम्बुलेन्स र दमकलहरु देखिएका थिए। गत अक्टोबरमा लास भेगसमा ५८ जनाको ज्यान जाने गरी गराइएको गोलीकाण्डपछि पछिल्लो घटना भएको छ। बिबिसी