नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण रेलसेवा अवरुद्ध

नयाँदिल्ली, पुस १२ । नयाँ दिल्लीमा बाक्लो हुस्सु लागेका कारण बुधबार यहाँको रेलसेवा अवरुद्ध भएको समाचार छ ।

भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा बुधबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतीय अधिकारीहरुका अनुसार बुधबार बिहान कम्तीमा पनि ३० वटा रेलको सेवा अवरुद्ध भएको छ । बिहान सवेरैदेखि सेवा दिनुपर्ने ती रेलमध्ये कमैले मात्र बुधबार मध्यान्हमामात्र सेवा सुरु गरेका छन् ।

त्यसैगरी हुस्सुका कारण बुधबार बिहानका १८ वटा रेलको सेवा नै रद्द हुन पुगेको बताइएको छ । बाक्लो हुस्ससका कारण बाटो नदेखिएकोले रेल सेवा अवरुद्ध हुन पुगेको जानकारी अधिकारीहरुले दिएका छन् ।

नयाँ दिल्लीका कैयौँ स्थानमा वायु प्रदुषणको मात्रा बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । बुधबार दिनभर पनि यहाँको तापक्रम र हुस्सुको मात्रा दुवै घट्ने मौसम विज्ञान विभागले जनाएको छ ।

साथै उक्त विभागले बुधबार दिउसोको तापक्रम बढीमा २८ डिग्री र न्युनतम सात डिग्री सेल्सियस रहने अनुमान गरेको पनि नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

चीनको रासायनिक कारखानामा आगलागी, ७ जनाको मृत्यु ४ घाइते

बेइजिङ, पुस ४ । चीनको पूर्वी प्रान्त शानडोङमा रहेको एक रासायिनक कारखानामा भएको आगलागीमा परि सात जना मजदुरको मृत्यु भएको छ । साथै अन्य चार जना व्यक्ति घाइते भएको बताइएको छ । वेइफाङ सहरमा रहेको रासायनिक कारखानाको कार्यशालामा स्थानीय समय अनुसार मङ्गलबार विहान ९ बजे आगलागी शुरु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । कारखानामा लागेको आगो अहिलेसम्म नियन्त्रणमा बाहिर रहेको बताइएको छ ।

हेलिकप्टर दुर्घटनामा परी राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

होन्डुरस, पुस २ । । होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । होन्डुरसको राजधानी नजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त बनेको रोयटर्सले जनाएको छ । हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरेका थिए । उडान भरे लगत्तै सेनाले विमान हराएको जानकारी दिएको थियो । पछि हेलिकप्टर पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ । राष्ट्रपतिको नेसनल पार्टीका प्रमुख रेयनाल्डो सान्चेजले हिल्डालाई ‘पार्टीको अथक योद्धा’ को संज्ञा दिँदै उनको चिर आत्माको शान्तिका लागि प्राथना गरेका छन् । यता, गत नोभेम्बर २६ मा भएको राष्ट्रिपति निर्वाचनपछि विवादमा रहेका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजले आफ्नो ट्वीटरको अकाउन्टमा कालो रिबन राखेका छन् । निर्वाचन आयोगले हर्नान्डेजले ४३ प्रतिशत मन ल्याएको र उनका प्रतिद्वन्द्वी साल्भाडोर नार्सालाले ४१।४ प्रतिशत ल्याएको घोषणा गरे पनि नार्सालाले धाँधली भएको भन्दै नतिजा नमान्ने बताएका छन् । हालसम्म विजेताको घोषणा हुन सकेको छैन । एजेन्सी

ईयूबाट बेलायत औपचारिक रुपमा बाहिरिने बारे दोस्रो चरणको बार्ता गरिने

काठमाडौं, पुस १ । बेलायत युरोपियन युनियनबाट आगामी सन् २०१९ को मार्चमा अलग हुँदैछ । यूरोपेली आयोगका प्रमुख जाँ क्लड यंकरले आगामी हप्ता सुरु हुने ती वार्तामा बेलायत औपचारिक रुपमा ईयुबाट बाहिरिएपछिको संक्रमणका सर्तहरुबारे छलफल गरिने बताए । व्यापार र सुरक्षासहित बेलायत र युरोपियन युनियनबीच दीर्घकालीन सम्बन्ध अघि बढ्न सक्ने संकेत यसबाट मिलेको छ । यूरोपेली आयोगका अध्यक्ष जाँ क्लड यंकरले अबको प्रकृया झनै कठिने हुने भन्दै सावधान गराए । ब्रसल्समा ईयूका अन्य २७ सदस्य देशका नेताहरुसँगको बैठकपछि यूरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले ब्रेक्जिटका विषयमा पर्याप्त प्रगति भएको बताएका छन् । उनले बेलायती प्रधानमन्त्री टेरिजा मे लाई बधाईसमेत दिएका छन् । बेलायती प्रधानमन्त्री मेले ईयूसँगको बेलायतको सम्बन्धको दीर्घकालीन आकारहरु तय गर्ने आगामी चरणका छलफलका लागि सृजनात्मक र लक्ष्यका साथ दुवै पक्षले सम्बोधन गरुन् भन्ने आफूले चाहेको बताएका छन् । दोस्रो चरणको वार्ताका लागि युरोपेली युनियनले उसको निर्देशिकाहरु सार्वजनिक गरेको छ र भावी आर्थिक सहकार्यसम्बन्धी छलफलहरु आगामी मार्च अघि सुरु नहुने देखिएको छ । निर्देशिकामा यूरोपेली न्यायालयको अधिकारक्षेत्रभित्र बेलायत रहनेछ र संक्रमणकालीन समयमा कुनै पनि स्वतन्त्र आवागमनका लागि उसले स्वीकृति प्रदान गर्नुपर्ने उल्लेख छ ।

जापानद्वारा उत्तर काेरियाली अबाै‌ं सम्पति ‘फ्रिज’, युद्धका खतरा

जापान, मंसिर २९ । जापान सरकारले शुक्रबार उत्तर कोरियाका १९ संस्था र केही प्रतिष्ठित व्यक्तिको सम्पति ‘फ्रीज’ गर्ने निर्णय गरेको छ । उत्तर कोरियाको परमाणु कार्यक्रमदेखि रुष्ट बनेको जापानले उत्तर कोरियामाथि थप कडा रुपमा प्रस्तुत भएको हो । उत्तर कोरियाको लगातारको मिसाइल परीक्षणका कारण जापानले आफूलाई असुरक्षीत महशुस गर्दै आयोका उसका पछिल्ला अभिव्यक्तिले प्रष्टै देखिन्छ । त्यसैको बदला स्वरुप जापानले उत्तर कोरियामाथि यसअघि नै प्रतिबन्ध लगाइ सकेको छ । यसअघि नै संयुक्त राष्ट्रसंघ, दक्षिण कोरिया, अमेरिका र जापानले उत्तर कोरियामाथि एकतर्फी रुपमा प्रतिबन्ध लगाइसकेका छन । जापानको पछिल्लो कदमबारे राष्ट्रसंघीय सुरक्षा परिषद्मा शनिबारको बैठकमा छलफल हुने बताइएको छ । तर उत्तर कोरियाले भने जापानको पछिल्लो कदमबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । एजेन्सी

सिरियामा तैनाथ रुसी सेना फिर्ता

काठमाडौं, मंसिर २६ । रुसले सिरियामा तैनाथ आफना सेना फिर्ता बोलाएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले सिरियामा तैनाथ गरिएका सेना फिर्ता गर्ने निर्णय गरेलगत्तै रुसी सेना धमाधम फिर्ता हुन थालेका छन् । अचानक सिरिया पुगेका रुसी राष्ट्रपति पुटिनले सिरियाको अवस्थामा केही सुधार आएका भन्दै सेना फिर्ता बोलाउने निर्णय गरिएको रुसी रक्षामन्त्री सरगोई सोइगुले जानकारी दिए । सिरिया भ्रमणकै क्रममा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र सिरियाली राष्ट्रपति बसर अल असदबीच सिरियाको लाताकियामा रहेको हवाई अड्डामा भेटवार्ता भएको थियो । सिरियामा जारी द्वन्द्वपछि रुसले सिरियामा ३ हजारको संख्यामा आफना सेना तैनाथ गरिएको थियो ।

पाकिस्तानमा विस्फोटमा परी कम्तिमा ६ जनाको मृत्यु, ८ घाइते

पाकिस्तान, मंसिर १९ । पाकिस्तानको उत्तरी वाजिरिस्तानमा मंगलबार विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्थानीय सन्चारमाध्यमले जनाएअनुसार विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन् । सडक किनारामा मोटरसाइकल पार्क गरी राखेको स्थानमा विछ्याइएको विस्फोटक पदार्थ तीनजना सामान्य नागरिकसहित आएको एउटा सैनिक गाडीलाई लक्षित गरी पड्काइएको एक प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे थप विवरण आउन केही समय लाग्ने स्थानीय प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी समाचार तयार पार्दासम्म कुनै समूहले लिएको छैन । (रासस/सिन्ह्वा)

मण्डेलाको अन्तिम संस्कारमा कराेडाैं घाेटला

काठमाडौं, मंसिर १९ । दक्षिण अफ्रिकाको भ्रष्टाचार नियन्त्रण निकायले चार वर्षअघि भएको नेता नेल्सन मण्डेलाको अन्तिम संस्कारमा दशौँ लाख डलरको घोटाला भएको फेला पारेको छ। विवरणहरुका अनुसार एउटा विकास कोषबाट झण्डै २ करोड २० लाख डलर अन्तिम संस्कारका लागि खर्च गरिएको थियो।उक्त रकम सरसफाइ, माटोले बनेका विद्यालयको प्रतिस्थापन र अस्पतालहरुको मर्मत सम्भारका लागि छुट्याइएको थियो। तर अधिकारीहरुले त्यो रकम टि–सर्ट जस्ता सामानको खरिदमा खर्च गरेको पाइएको छ। सन् २०१३ को डिसेम्बरमा मण्डेलाको अन्तिम संस्कार इष्टर्न केपको कुनुमा आयोजना गरिएको थियो जसमा विश्वभरका नेताहरुले भाग लिएका थिए। त्यसको एक महिनापछि अनियमितताका विवरणहरु बाहिर आएका थिए। ९५ वर्षको उमेरमा मण्डेलाको निधन भएको थियो। त्यसको चार वर्षपछि दक्षिण अफ्रिकाका सरकारी अभियोजनकर्ताले राष्ट्रपति जेकब जुमालाई विशेष अनुसन्धान संयन्त्र प्रयोग गरी थप छानबिन गर्न सुझाव दिएका हुन्। ३०० पृष्ठ लामो प्रतिवेदनमा इस्टर्न केपका अधिकारीहरुले नियमहरु मिचेर कसरी अनैतिक रुपमा खर्च बढाए भनेर व्याख्या गरिएको छ। दक्षिण अफ्रिकाकी सरकारी अभियोजनकर्ताले एकदमै डरलाग्दो र चिन्ताजनक ढंगले नियम मिचेर अन्तिम संस्कारमा रकम खर्च गरिएको बताएकी छन्। उनका अनुसार खरिद नै नगरिएका चिजहरुको बिल बनाइएको छ र सत्तारुढ अफ्रिकी नेश्नल कांग्रेस स्वयंले नै खर्च कसरी गर्ने भन्नेबारे अधिकारीहरुलाई निर्देशन दिएको थियो। एउटा पत्रकार सम्मेलनमा बुसी मुखाभानेले भनेकी छन्, ‘अन्तिम संस्कार जस्तो समारोहमा यस्ता गलत काम हुनु दुःखको कुरा हो, एनसी दलको लेटरप्याड प्रयोग गरिएका बिलहरु समेत हामीले फेला परेका छौँ, हामी अपेक्षा गर्छौँ कि गलत काम गर्नेहरु कारबाहीको दायरामा ल्याइनेछन्। रंगभेद विरोधी आन्दोलनका नायक रहेका मण्डेलाको सम्मानमा आयोजना गरिएका कार्यक्रममा अनियमितता भएको यो पहिलो घटना भने होइन्। अन्तिम संस्कार समारोहमा साङकेतिक भाषामा कुराकानी गर्न प्रयोग गरिएका भाषा अनुवादकलाई गलत संकेतहरु प्रयोग गरेको आरोप लागेको थियो। आफ्ना अन्तिम महिनाहरुमा मण्डेलाले आफ्नो विरासतमाथि नियन्त्रण जमाउने प्रयासमा परिवारभित्र भएका कलहहरु पनि भोग्नुपरेको थियो। बिबिसी

यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिए

काठमाडौं, मंसिर १९ । यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिए छन् । सालेहका समर्थक र हुथी विद्रोहीबीचको संघर्षका क्रममा उनी मारिएका हुन् । सालेहको जनरल पिपुल्स कंग्रेस पार्टीले राजधानी सनाको दक्षिणी क्षेत्रमा गरिएको आक्रमणमा उनी मारिएका जनाएको छ । तर हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले भने देशद्रोहीले निम्त्याएको संकटको अन्त्य भएको भन्दै सालेहको मृत्युलाई ठूलो र महत्वपूर्ण उत्सव भनी खुशी व्यक्त गरेका छन् । आफुहरुले साउदी नेतृत्वको गठबन्धनको षड्यन्त्रलाई परास्त गरेको उनको भनाई छ । गत हप्तासम्म पनि सालेहका समर्थकले हुथी विद्रोहीसँग मिलेर वर्तमान राष्ट्रपति अब्द्रुर मनशुर हादीविरुद्ध संघर्ष गरिरहेका थिए । तर हुथी नियन्त्रित सनाको एक मस्जिदमाथिको नियन्त्रणका विषयमा उनीहरुबीच विवाद उत्पन्न भएको थियो । शुक्रवार यताको संघर्षमा मात्रै १ सय २५ जना मारिएका छन् । गत शनिवार मात्र सालेहले हादीले समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धनसँग यमनविरुद्धको नाकाबन्दी अन्त्य गर्न आग्रह गरेका थिए । साउदी नेतृत्वले उनको प्रस्तावको स्वागत गरेको थियो । तर हुथीहरु यसको विरोधमा थिए । ७७ वर्षिय सालेहले ३२ वर्षसम्म यमनमा शासन गरेका थिए । सन् २०११ को आन्दोलनका कारण उनी तात्कालीन उपराष्ट्रपति हादीलाई सत्ता छाड्न बाध्य भएका थिए । यसैबीच संयुक्त राष्ट्रसंघका अनुसार सनामा हवाई आक्रमण तीब्र पारिएको छ । यमनमा सन् २०१५ यताको संघर्षका कारण करिब ९ हजार मानिस मारिएका छन् भने ५० हजारभन्दा बढी घाईते भएका छन् ।

भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्विरोध

काठमाडौं, मंसिर १९ । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निर्विरोध निर्वाचित हुने भएका छन् । उम्मेदवारी दर्ता गराउने समयमा उनको मात्रै मनोनयन परेकाले निर्विरोध हुने भएका हुन । हाल राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसकी वर्तमान अध्यक्ष छिन् । उनले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ । आगामी पार्टी महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन हिजोसम्म थियो । राहुल गान्धी अहिले पार्टी उपाध्यक्ष हुन् । पाँच वर्षयता उपाध्यक्ष रहेका राहुलको काँधमा अब भारतकै सबैभन्दा पुरानो पार्टीको नेतृत्व पुग्न लागेको हो । सोनिया गान्धीले भने सन् १९९८ देखि पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी थिइन् । भारतीय जनता पार्टीको झण्डै झण्डै एकलौटी रहेको र कांग्रेस आईको अवस्था निकै दयनीय भएका बेला राहुलको काँधमा पार्टीको जिम्मेवारी पुग्न लागेको हो ।

८१ वर्षे हवाइ सुन्दरी : जो ६० वर्षदेखि सेवामा कार्यरत छिन्

मंसिर १६ । उनले हवाइ परिचारिकाको काम राष्ट्रपति ड्वाइट आइजनहावर हुँदा सुरु गरेकी थिइन् । अहिले यो पेसा अपनाएको ६० वर्ष पूरा भएको छ र उनी ८१ वर्ष पुगेकी छन् । अझै सेवा निवृत्त हुने उनको कुनै योजना छैन । उनी हुन् अमेरिकन एयरलाइन्सकी विमान परिचारिका बेट्टी नास । सन् १९५७ मा यो पेसामा प्रवेश गरेकी उनी अझै पनि ३० हजार फिटमाथि आफ्नो खतरनाक मुस्कान छरिरहेकी छन्। तीन दिदीबहिनीमध्ये सबैभन्दा जेठी नास न्यु जर्सीको एटलान्टिक सिटीमा हुर्केकी थिइन् । यसबीचमा उनले इस्टर्न एयरलाइन्स, युएस एयरवेज र ट्रम्प सटलमा पनि काम गरिन् । १० वर्षअघि उनको सेवाले ५० वर्ष पूरा गरेको अवसरमा जल सलामी दिइएको थियो। त्यसबेला अर्को १० वर्ष सेवामा रहन्छुहोला भन्ने उनलाई लागेको थिएन। पाइलटका लागि अनिवार्य अवकाशको समय ६५ तोकिएको छ। तर विमान परिचारिकाहरुका लागि त्यस्तो कुनै नियम छैन । त्यसैले नास अझै उडिरहेकी छन् । उनले विभिन्न रुटमा काम गरिन्, तर डिसीबाट बोस्टनसम्मको यात्रा उनलाई सबैभन्दा मनपर्ने रुट हो। सन् १९५७ मा बेट्टी नास ‘ग्राहक सेवा भनेको उनीहरुलाई सहज महसुस गराउनु हो,’ उनी भन्छिन्, ‘सबैजना अलिकति माया र अलिकति ख्याल चाहन्छन् ।’ उनी आफ्ना सहकर्मी र यात्रुहरुका कारण अझै पनि सक्रिय रहन सफल भएको बताउँछिन् । आफूले सेवा सुरु गर्दा र अहिलेको उडानमा आकाशपातालको फरक रहेको उनी सम्झिन्छिन्। ‘त्यसबेला प्लेन चढ्नु आफैँमा विलाशिता थियो, र खटाइ पनि चर्को थियो। विमानमा म एक्लै हुन्थेँ र सबैको ख्याल राख्नुपथ्र्यो,’ उनी भन्छिन्। त्यसबेला विमान परिचारिकाका लागि निश्चित उचाइ र तौल आवश्यक पथ्र्यो, अहिले त्यो छैन। तर पहिरन चाहिँ एयरलाइन्सकै निर्देशनमा लगाउनुपर्छ।’ उनका एक छोरासँग बस्छिन्, जसलाई डाउन सिन्ड्रोम भएको छ। यो उद्योगमा उनी ‘सेलिब्रेटी’ हुन् । उडान सेवामा रहेकाले मात्र होइन, अनगिन्ती यात्रुले पनि उनलाई चिनेका छन् । आफ्नो शरीर र स्वास्थ्यले साथ दिए उनी अझै लामो समय सेवामा रहने बताउँछिन् । एजेन्सी

भारतदेखि टाढिँदै, चीनसँग नजिकिँदै !

माल्दिभ्सको संसद्ले बुधवार चीनसँग खुला व्यापार सम्झौता विना बहस पारित गर्‍यो। पछिल्लो कदमलाई माल्दिभ्स र भारतबीच दूरी उत्पन्न भएको रुपमा हेरिँदैछ। माल्दिभ्सका आर्थिक विकासमन्त्री मोहम्मद सईदले चीनसँगको सम्झौताबाट विश्वकै सबभन्दा ठूलो बजारमा मत्स्य उत्पादनलाई विना कर निर्यात गर्न सघाउ पुग्ने बताएका छन्। भारत पछिल्लो एक दशकयता माल्दिभ्सको आन्तरिक मामिलामा हस्तक्षेप गर्नबाट आफूलाई टाढा राख्दै आएको छ। त्यसको प्रत्यक्ष लाभ चीनले लिइरहेको देखिन्छ।पछिल्लो पटक चिनियाँ राष्ट्रपति सि जिन पिङ माल्दिभ्स र श्रीलंकाको भ्रमण गरी भारत पुगेका थिए। उनको भ्रमणका क्रममा प्राचीन रेशम मार्ग ब्युँताउने चिनियाँ महत्त्वाकांक्षी परियोजनाबारे दुई देशसँग समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सि भारत भ्रमणमा हुँदा त्यसबारे चीन मौन बस्यो। सन् २०१४ को फेब्रुअरीमा विशेष प्रतिनिधिहरुको एउटा बैठकमा त्यसबारे अनौपचारिक कुराकानी भएको बताइन्छ। चीनसहित श्रीलंका र माल्दिभ्सलाई यो कुरा थाहा थियो कि त्यस विषयमा भारतीय रवैया ठीक छैन भनेर। त्यसका बावजुद माल्दिभ्सले सन् २०१४ को सेप्टेम्बरमा त्यससम्बन्धी सन्धिमा हस्ताक्षर गर्‍यो। बिबिसी

कलेजमा बन्दुकधारीको आक्रमण ९ नौ जनाको मृत्यु ३६ घाइते

काठमाडौं, मंसिर १५ । पाकिस्तानी शहर पेशावरस्थित एक कलेजमा प्रवेश गरी बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको मृत्यु भएको छ । अन्य ३६ जना घाइते छन्। मारिनेमध्ये ८ जना विद्यार्थी र एक जना कर्मचारी रहेको प्रहरीले बताएको छ। बुर्का लगाएका कम्तीमा तीन पुरुष रिक्सामा पेशावरस्थित कृषि तालिम केन्द्र पुगेको र त्यहाँभित्र प्रवेश गरेको बताइएको छ।विस्फोट सेनाका अनुसार सबै आक्रमणकारी मारिएका छन्। पाकिस्तानी तालिवानले आक्रमण आफूहरुले गराएको बताएको छ। इद ए मिलादको छुट्टीमा कलेज बन्द रहेको ठानिएको छ। कलेजभित्रबाट कम्तीमा एउटा विस्फोटको आवाज सुनिएको सेनालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी र सेनाले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन्। एक जना घाइते विद्यार्थीले रोयटर्सलाई बताएअनुसार, कलेजभित्रै बस्ने चार सय विद्यार्थीमध्ये करिब १२० जना आक्रमणको समयमा उपस्थित रहेको बताइएको छ। बिबिसी

पोप फ्रान्सिसले भने: ‘सबै जातीय समूहलाई सम्मान गरौं’

काठमाडौं, मंसिर १३ । पोप फ्रान्सिसले सबै जातीय समूहको सम्मान गर्नुपर्ने बताएका छन् । उनले धार्मिक मतभेदलाई विभाजन र अविश्वासको स्रोत नबाउन आग्रह गर्दै एकता, माफी, सहिष्णुता र राष्ट्रनिर्माणका लागि शक्तिका रुपमा लिनुपर्ने धारणा ब्यक्त गरेका छन् । रोहिंग्या मुस्लिम समुदायमाथि भएको दमनका कारण विवादमा रहेको म्यानमारको भ्रमणमा रहेका उनले सो समुदायको नाम उल्लेख नगरी सबैलाई सम्मान गर्नुपर्ने बताएका हुन् । गत अगष्टमा सेनाले रोहिंग्या मुस्लिम समुदायमाथि हिंसात्मक कारबाही सुरु गरेपछि हालसम्म ६ लाख २० हजारभन्दा बढी रोहिंग्या म्यान्मारको राखिन प्रान्तबाट बंगलादेशमा शरणार्थीका रुपमा बसेका छन् भने संयुक्त राष्ट्रसंघले रोहिंग्यामाथि भइरहेको कारबाही जातीय नरसंहार भनेको थियो । यद्यपी म्यानमार सरकारले भने रोहिंग्यामाथि जातीय नरसंहार नभएको जनाउँदै आएको छ ।

उत्तर कोरियाद्वारा पुनः अर्को मिसाइल प्रहार, अमेरिका र जापानले दिए कडा चेतावनी

काठमाडौं, मंसिर १३ । शक्तिशाली मानिएका मुलुकलाई चुनौती दिँदै उत्तर कोरियाले पुनः अर्को ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले दक्षिण कोरियालाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले प्रहार गरेको यो मिसाइल अन्तर महाद्विपीय ब्यालेष्टिक मिसाइल रहेको र बिश्वभरका लागि निकै नै खतरापूर्ण रहेको अमेरिकी रक्षा मन्त्रालयले पुष्टी गरेको छ । उत्तर कोरियाको प्योंगान प्रान्तबाट प्रहार गरिएको यो मिसाइल एक हजार किलोमिटर दुरी पार गरी जापानको सागरमा खसेको जनाइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको यो कदमप्रति आफूले जवाफ चेतावनी दिएका छन् । उता जापानका प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाले प्रहार गरेको मिसाइलको समीक्षा गर्न आपतकालीन बैठक बोलाएका छन् । बैठकले उत्तर कोरियाली रवैयाप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले यसअघि गत सेप्टेम्बरमा पनि ब्यालेष्टिक मिसाइल प्रहार गरेको थियो ।

नेतृ सू चीलाई दिइएको सम्मान फिर्ता

काठमाडौं, मंसिर १२ । म्यानमारकी नेतृ आङ सान सू चीलाई दिइएको ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिइएको छ। सन् १९६० को दशकमा उनले त्यहाँ विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन्।स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक रोहिंज्यामाथिको दमनबारे सू चीले कुनै कदम नचालेको आरोप लगाएका छन्। उनीहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन्। अक्सफर्डबाट हटाइयो नेतृ सू चीको तस्वीर यसअघि प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयको सेन्ट ह्युज कलेजले सू चीको तस्वीर कलेजबाट हटाइसकेको छ। संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले मुस्लिम रोहिंज्यामाथि गरेको व्यवहारलाई ‘पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार’ भन्दै आएको छ। तर सू चीले त्यो अस्वीकार गर्दै आएकी छन्। गत अगष्ट महिनायता ६ लाखभन्दा बढी रोहिंज्या मुस्लिमहरु म्यानमारबाट भागेर बंगलादेश पुगेका छन्। पछिल्लो समय कतिपयले सू चीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन्। गत सेप्टेम्बरमा एउटा सम्बोधनका क्रममा उनले मानवअधिकार उल्लंघनको निन्दा गरे पनि देशको सेनामाथि कुनै आरोप लगाइनन् र ‘जातीय सफाया’ भइरहेको आरोपबारे पनि केही बोलिनन्।