बर्खास्तीमा परेका क्याटलोनियाका नेतालाई नयाँ चुनावमा भाग लिन निर्देशन

काठमाडौं, कात्तिक १२ । स्पेनले बर्खास्त गरिएका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनले नयाँ चुनावमा भाग लिए स्वागत गर्ने जनाएको छ । मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलोनियाको क्षेत्रिय संसद्का लागि आगामी डिसेम्बरमा ताजा चुनावका लागि निर्देशन दिएको छ ।

क्याटलन संसद्ले स्वतन्त्रताको पक्षमा मतदान गरेपछि मड्रिडले क्याटलोनियाको स्वायत्तता अन्त्य गर्दै त्यहाँको संसद् भंग गरेको थियो ।

स्पेनी प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता पुज्डमोन र उनको मन्त्रिपरिषद् बर्खास्त गरेका छन् ।

पुज्डमोनले केन्द्रीय सरकारविरुद्ध प्रजातान्त्रिक प्रतिपक्षको भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

उनले क्याटलोनियाको स्वायत्तताको अन्त्य गर्ने निर्णयको भत्र्सना गर्दै स्वतन्त्र देश बनाउने काम निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यता मड्रिडमा राष्ट्रिय एकताको पक्ष र क्याटलोनियाको स्वतन्त्रताको विपक्षमा व्यापक प्रदर्शन भएको छ । क्याटलोनियामा प्रत्यक्ष शासन लागु गर्ने निर्णय पछि प्रदर्शन भएको हो ।

स्पेनका उपप्रधानमन्त्री सोराया साइन्ज डे सान्तामारियालाई क्याटोलोनिया हेर्ने जिम्मेवारी दिइएको छ । यसअघि स्पेनका आन्तरिक मन्त्रीलाई क्याटलोनियाको प्रहरी संगठन हेर्ने जिम्मेवारी सुम्पिएको थियो ।

क्याटलोनियामा आगामी डिसेम्बर २१ मा चुनाव हुने छ । ।

यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो । संसद्मा भएको गोप्य मतदानलाई एकताका पक्षधरले बहिष्कार गरेका थिए ।

१३५ सदस्यीय संसद्मा प्रस्तावको पक्षमा ७० र विपक्षमा १० मत परेको थियो ।

स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो ।

तनावकाबीच केन्यामा निर्वाचन सम्पन्न

काठमाडौं, कात्तिक ९ । केन्यामा राष्ट्रपतिको दोहोर्‍याएर भएको निर्वाचनको मतदानका क्रममा बिहीबार प्रहरी र विपक्षीबीच झडपहरु हुँदा कम्तीमा एकजना प्रदर्शनकारीको गोली लागी मृत्यु भएको छ । देशको पश्चिममा रहेको किशुमु नगरमा भएको विरोधप्रदर्शनलाई रोक्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा ती प्रदर्शनकारीको मृत्यु भएको जनाइएको छ। दोहोर्‍याएर भएको निर्वाचनमा अघिल्लो पटकको तुलनामा कम मतदाताहरुले मत खसालेको देखिएको छ। बहिष्कार आठ जना उम्मेद्वारहरु मात्र रहेको निर्वाचनबाट वर्तमान राष्ट्रपति उहुरु केन्याटा दोस्रो पटक चुनिने पक्का देखिएको छ। बिहीबार बिहान स्थानीय समयअनुसार ६ बजे मतदान शुरु भएको थियो र मतदाता र मतदानकेन्द्रहरुको सुरक्षा गर्न हजारौँ संख्यामा प्रहरी र सुरक्षा निकायका अन्य कर्मचारीहरु खटिएका छन्। विपक्षी प्रदर्शनकारीहरुले दोहोर्‍याएर हुन लागेको विवादास्पद निर्वाचन विथोल्न खोजिरहेका थिए।   निर्वाचन बहिष्कार गरेका प्रमुख विपक्षी नेता राइला ओडिंगाको गृहनगर किशुमुमा खटाइएका ४ सय मतदान अधिकारीहरुमध्ये चुनावी प्रक्रियामा सहभागी हुँदा डरधम्कीको सामना गर्नुपर्ने हुनसक्ने त्रासका कारण मात्र दुई जना उपस्थित भएको बताइएको छ। ओडिंगाले कुनै सुधार नभएकाले चुनाव बहिष्कार गर्नुपर्ने बताएका छन्। ओडिंगाले निर्वाचनलाई धोकापूर्ण हुने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर निर्वाचन बहिष्कार गर्न आह्वान गरेका थिए। झडप किशुमुमा विपक्षी प्रदर्शनकारीहरुमध्ये केहीले मतदानकेन्द्र जाने बाटो रोकेपछि झडपहरु भएका थिए। राजधानी नाईरोबीमा पनि झडपहरु भएको तर देशका अधिकांश भाग भने शान्त नै रहेको बताइएको छ। केन्याको सर्वोच्च अदालतले गत अगस्टमा भएको राष्ट्रपतीय निर्वाचनमा अनियमितताहरु भएको बताउँदै मतपरिणाम रद्द गरेको थियो। वर्तमान राष्ट्रपति केन्याटाले गाटुन्डु नगरमा मतदान गरेपछि नागरिकहरुलाई देशलाई अघि बढाउन लागि मतदानमा सहभागी हुन आह्वान गरेका थिए। अघिल्लो पटकको निर्वाचनको तुलनामा मतदाताको संख्यामा कम रहेको देखिन्छ। साथै चुनावको विश्वसनीयताबारे पनि आशंकाहरु उत्तिकै रहेका छन्।अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले सुरक्षाको कारण देखाउँदै आफ्नो चुनावी पर्यवेक्षण कार्यलाई सीमित पारेका छन्।बिबिसी

सुहागरातमा दुलहीले गरिन् यस्तो हर्कत

कार्तिक ९ । भारतको उत्तर प्रदेशस्थित गाजियावादमा एक नववधूले अनौठो हर्कत गरेकी छिन् । सुहागरातमा दुलाहाले पिउने दूधमा निद्रा लाग्ने औषधी हालिदिएर बेहोश बनाई उनी घरमा रहेका सबै नगद र सुनचाँदी लिएर भागिन् । घटनापछि विवाहको बन्धनमा बाँधिएको युवक आफ्नो तोडिएको सपना लिएर प्रहरी चौकी पुगे । प्रहरीले जाहेरी दर्ता गरेर घटनामाथि अनुसन्धान चलाएको छ । पंकज नाम गरेका युवकले अलीगढस्थित जावा गाउँमा विवाह गरेका थिए । मंसिर ११ गते भएको यो विवाहपछि सुहागरातमा दुलाहालाई दूधको गिलास दिएपछि उनी गहिरो निद्रामा पुगे । भोलिपल्ट बिहान दुलाहाको परिवारले बल्लबल्ल उनलाई जगाउन सफल भए । घरबाट दुलही चाहिँ गायब थिइन् । जम्मैतिर खोज्दा केही नलागेपनि पो उनीहरूले थाहा पाए दुलहीले ७७ हजार रुपैयाँ नगद र १५ तोला सुनचाँदी लिएर गायब भइन् । दुलाहाको परिवारले दुलहीको परिवारलाई यसका बारेमा जानकारी दिएपनि उनीहरूले कुनै जवाफ फर्काएनन् । दुलहीको खोज जारी छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन बुधबार सुरु

बेइजिङ, कात्तिक १ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ । बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको ग्रेट हल अफ दि पिपुलमा बुधबार बिहान सो महाधिवेशन सुरु गर्नुअगावै देखि नै चीनभर सुरक्षा व्यवस्था कडा पारिएको थियो । उक्त महाधिवेशनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गरेका थिए । प्रत्येक पाँच वर्षमा हुने यस महाधिवेशनको चिनियाँ राष्ट्रपति सि चिनफिङले उद्घाटन गर्नुभयो । उहाँले सो उद्घाटन सत्रको नेतृत्वगर्दै आफ्नो कार्यकालको उपलब्धि पनि सुनाउनुभएको थियो । राष्ट्रपतिले उक्त महाधिवेशनको उद्घाटन लगत्तै सम्बोधन पनि गर्नुभएको थियो । उक्त काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि सहभागी भएका छन् । उनीहरुमध्ये अधिकांश हिजो नै बेइजिङ आइपुगेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच बर्षमा बस्नेगर्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ । यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ । चीनका वरिष्ठ नीति निर्माता रहने पार्टीको पोलिटब्यूरो स्थायी समितिमा पनि नेताहरु चयन गर्ने काम सो महाधिवेशनले गर्नेछ । उक्त पोलिटब्युरोमा को को रहने छन् भन्ने बारेमा पनि आउँदो साता यसै महाधिवेशनले अन्त्यतिर चयन गर्नेछ । यो चयनको कार्य महाधिवेशनको अन्त्यमा हुने बताइएको बेइजिङ्बाट प्राप्त समाचारमा जनाइएको छ । उक्त महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले पनि सहभागी प्रतिनिधिहरुलाई सम्बोधन गर्नेछन् । सो महाधिवेशन बन्द कोठामा हुदैछ । यस महाधिवेशनले आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका नेताहरु छान्नुका साथै थप नीतिहरु पनि निर्माण गर्नेछ । यस पार्टीका आगामी कार्यक्रम र नीतिहरुका बारेमा पनि महाधिवेशनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ । भ्रष्टाचार विरोधी लडाईं जित्नुपर्छ यसबैची चिनियाँ राष्ट्रपति चिनफिङले चीनले यतिखेर देशभित्रै भ्रष्टाचारका विरुद्धमा लडाईं जारी रहेको र यो लडाईं जसरी पनि जित्नुपर्नेमा आफू लागि परेको बताउनुभएको छ । सो महाधिवेशनको उद्घाटन पछि गर्नुभएको सम्बोधनमा उनले सो धारणा राखेको हो । उनले भ्रष्टाचार अहिलेको चीनका लागि प्रमुख चुनौती भएको पनि स्पष्ट गरेको थियो । उनले भने– म राष्ट्रपति भएदेखि नै भ्रष्टाचारविरोधी अभियान सुरु गरेको हुँ र अहिलेसम्म लाखौँ व्यक्तिलाई भ्रष्टाचारका विरुद्धमा कारबाही गरेको जानकारी पनि सो अवसरमा दिएको थियो । त्यस अवसरमा राष्ट्रपति चिनफिङले भने– ‘हामी भ्रष्टाचारका विषयमा शुन्य सहनशीलतामा काम गर्नेछौँ, यो हाम्रो देशको लागि ठूलो चुनौती हो भनेर सबैले बुझ्नु जरुरी छ ।’ उनले घुस लिने मात्र होइन कि घुस दिने मानिसलाई पनि कडाभन्दा कडा कारबाही गरिने आफ्नो सम्बोधनका क्रममा दोहोर्याएको थियो । यो कुरामा उनले पहिले देखि नै जोड दिँदै आएको थियो । उहाँले सो अवसरमा भ्रष्टाचार नियन्त्रणका लागि जारी अभियानअन्तर्गत १० लाखभन्दा बढी अधिकारीहरुलाई कारबाही गरेको र सो कार्य आफ्नो कार्यकालको सफलता हो भनेर पनि सुनाए । सन् २०१२ मा राष्ट्रपति हुनुभएका सिले चीनमा भ्रष्टाचार विरोधी नेताका रुपमा आफूलाई शक्तिशाली बनाउदै आउनुभएको छ । यो महाधिवेशन पछि पनि उहाँ पार्टीको प्रमुखकै रुपमा रहने अपेक्षा गरिएको छ । राष्ट्रपति सिले आफ्नो शासनकालमा चीनले हासिल गरेका उपलब्धिबाट बुधबारको भाषण शुरु गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले समाजवादसहित चीन अब नयाँ युगमा प्रवेश गरेको पनि दाबी गरे ।

यस्ताे थियाे बलात्कारी बाबा राम रहीमले दीपावली मनाउने तरिका

काठमाडौं, कात्तिक १ । डेरा सच्चा सौदाका प्रमुख बाबा राम रहीम कारगार गएपछि उनका काला कर्तूतहरूको दिनदिनै पर्दाफास भइरहेको छ । हालै एक साधुले उनका बारेमा आश्चर्यजनक खुलासा गरेका छन् । उनका अनुसार, यी बलात्कारी बाबाले आफ्नै तरिकाले दीपावली मनाउँथे । बाबाकी कथित छोरी हनीप्रीतले उनका लागि दीपावलीमा युवतीहरूको व्यवस्था गर्थिन् । दीपावलीमा राम रहीम गुफाबाट बाहिर निस्केपछि उनको स्वागतका लागि युवतीहरू हातमा घिउको दियो लिएर उभिन्थे । दीपावलीमा पटका पड्काएपछि पटकाको खोलमा पड्काउने मानिसको नाम लेखेर निशानी छोड्न लगाइन्थ्यो । साधुका अनुसार, दीपावलीमा आयोजित सत्संगमा बाबाले डेराका विद्यालय क्याम्पसमा पढ्ने युवतीहरूलाई अश्लील सन्देश पढ्न लगाउँथे अनि किस यू र आई लभ यू भन्दै आशीर्वाद दिन्थे । दीपावलीमा राम रहीम अनेक पाखण्ड गर्थे । आफ्नो तस्वीर छापिएको क्यालेन्डर जारी गरेर उनी किन्ने मानिसहरूसँग पैसा असुल्थे । त्यसबाहेक राति साधु र केटाहरूलाई अन्तै पठाएर राम रहीम साध्वी र युवतीहरूसँग रातभरि रमाइलो गर्थे ।

भारतमा ग्यास सिलिण्डर विस्फोटन, ४ वटा घर भत्किदाँ ७ जनाको मृत्यु

काठमाडौं, असोज ३१ । भारतको बैग्लोरमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । भने चार वटा घर भत्किएका छन । सोमबार एउटा घरको दोस्रो तलामा भएको एलपीजी ग्यास सिलिण्डर विस्फोटनमा परि सात जनाको मृत्यु हुँदा दुई जना नावालक अनाथ भएका छन । उनीहरुलाई सरकारले पालन पोषण गर्ने बताएको छ । बीचको घरमा सिलिण्डर पड्किदा सँगै रहेका वरिपरिका अन्य तीनवटा घर पनि भत्किएको प्रहरीले जनाएको छ । खाना पकाउने क्रममा उक्त विस्फोटन भएको हुन सक्ने भारतीय अधिकारीहरुले जनाएका छन ।

पोर्चुगल र स्पेनका जंगलमा आगलागी, ३१ जनाको मृत्यु

काठमाडौं, असोज ३१ । पोर्चुगलका दुई वटा जंगलमा भएको आगलागीमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको छ । पोर्चुगलको उत्तरी सीमामा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगलबाट आगलागी भएको हो । यस्तै पोर्चुगलको मध्य क्षेत्रमा रहेको जंगलमा पनि आगलागी भएको छ । दुवै जंगलमा लागेको आगोमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको र धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् । गर्मी मौसम र हावाहुरीका कारण आगो तिव्ररुपमा फैलिएको बताइएको छ । आगलागी नियन्त्रणमा लिन हजारौं अग्नि नियन्त्रक खटिएका छन् । आगलागी फैलिएको उत्तरी पोर्चुगलको तागुस नदी क्षेत्रमा आपतकालिन अवस्था घोषणा गरिएको छ । यो क्षेत्रमा आगो निभाउनका लागि ६ हजार भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । पोर्चुगलका कोइम्ब्रा, गुएर्डा, कास्तेलो ब्रान्का र विसेउ क्षेत्रमा बढी प्रभाव परेको छ । यस्तै पोर्चुगलसँग सीमा जोडिएको स्पनेको क्षेत्रमा आगलागी भएको छ । आगलागीका कारण बाटो बन्द भएको छ । आगलागी फैलिएको क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेको अधिकारीहरुले जनाएका छन् ।

के अष्ट्रियाले विश्वकै कान्छो नेता पाउला ?

काठमाडौं । युरोपेली मुलुक अष्ट्रियाका मतदाताले आज आमनिर्वाचन अन्तर्गत मतदान गर्दैछन्। मत सर्वेक्षणहरुले कन्जरभेटिभ पिपल्स पार्टीका नेता एवं वर्तमान विदेशमन्त्री जेबास्टियन कुर्ट्सलाई अग्रस्थानमा देखाएका छन् भने चरम दक्षिणपन्थी फ्रीडम पार्टी र सोसल डेमोक्रेट्सबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुने देखिन्छ। भावी गठबन्धन सरकारमा चरम दक्षिणपन्थी दल सरकारमा सामेल हुने उत्कृष्ठ अवसर भएको बताइएको छ। बीबीसीका अनुसार मत सर्वेक्षणहरु सही साबित भए अष्ट्रियामा ठूलो राजनीतिक परिवर्तन देखिनेछ। एक दशकभन्दा लामो समयदेखि त्यहाँ सोसल डेमोक्रेट्सले पिपल्स पार्टीसँगको गठबन्धनको नेतृत्व गर्दै आएको छ। तर अब मतदाताहरुको झुकाव दक्षिणपन्थीहरुतर्फ सरेको देखिन्छ। आप्रवासनप्रति कडा नीति लिने बताएका कारण ३१ वर्षीय कुर्ट्सले बढी समर्थन पाइरहेका छन्। मत सर्वेक्षणहरुका अनुसार चुनावमा उनको पार्टीले पहिलो स्थान हासिल गर्नेछ। कीर्तिमान दोस्रो स्थानका लागि सोसल डेमोक्रेट्ससँग प्रतिस्पर्धा गर्ने चरम दक्षिणपन्थी फ्रीडम पार्टीले कन्जरभेटिभहरुसँग गठबन्धन गर्नसक्छ। गत वर्षको राष्ट्रपतीय चुनावमा फ्रीडम पार्टीका उम्मेदवार झिनो मत अन्तरले पराजित भएका थिए। गत मे महिनामा पिपल्स पार्टीका नेता चयन भएका कुर्ट्सले शरणार्थीहरु युरोप पुग्ने बाटोहरु बन्द गर्ने र शरणार्थीलाई दिइने सुविधाहरुमा कटौती गर्ने बताउँदै आएका छन्। मत सर्वेक्षणहरुले देखाएअनुसार आमचुनावमा कुर्ट्सको पार्टी विजयी भए उनी विश्वकै कान्छो सरकार प्रमुख हुनेछन्। बीबीसी

इरानीका लागि नेपाल ‘सेफ ट्रान्जिट’

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी, एयरलाइन्स र अध्यागमनमा सजिलै सेटिङ मिलाउन सकिन्छ र सुरक्षासमेत अन्य विमानस्थलको तुलनामा कमजोर छ’, स्पेनको नक्कली राहदानीमा नेपाल प्रवेश गर्न खोज्ने इरानी नागरिक इपेम सेफले विमानस्थलमा भने, ‘टर्कीमा रहेका दलाल (ब्रोकर)को सल्लाहमा हामी नेपाल हुँदै युरोप छिर्न आएका हौं ।’ अध्यागमनले पक्रेपछि विमानस्थलमा खटिएका एक प्रहरीको जिज्ञासामा इरानी नागरिक सेफले थपे, ‘इरानीहरूले नेपालमा अनअराइभल भिसा पाउने भएकाले पनि हाम्रा लागि नेपाल सेफ जोन हो ।’ टर्कीका मानव तस्करहरूले अधिकांश इरानीलाई युरोप जान नेपालको बाटो रोज्न सुझाव दिने गरेको समेत उनले ती प्रहरीलाई सुनाए । नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान, सिरियालगायत १२ देशका नागरिकलाई अनअराइभल भिसा प्रतिबन्धित छ । ट्राभल डकुमेन्ट लिएर आएका शरणार्थीले समेत नेपालमा अनअराइभल भिसा पाउँदैनन् । पछिल्लो समय युरोपेली देशका नक्कली राहदानीमा नेपाल प्रवेश गर्ने इरानीको संख्या बढेको छ । मानव तस्करले टर्की, थाइल्यान्ड र मलेसियामा बसेर युरोपेली देशका नक्कली राहदानी बेच्ने र उनीहरूकै सुझावमा इरानीहरू विभिन्न देशका विमानस्थल हुँदै युरोप छिर्ने प्रयास गर्दै आएका छन् । विगतमा सिरियालीले समेत युरोप प्रवेश गर्न नेपाललाई ट्रान्जिट बनाउन थालेपछि गृह मन्त्रालयले सिरियालीलाई दिँदै आएको अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेको थियो । युरोप, क्यानडा र अमेरिका प्रवेश गर्न प्रतिबन्धित इरानीले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन् । खासगरी तीन वटा कमजोरीको फाइदा उठाउँदै इरानीले अवैध तरिकाले नेपाल प्रवेशको प्रयास गर्दै आएका छन् । पहिलो विमानस्थल र अध्यागमनको कमजोर सुरक्षा संयन्त्र, दोस्रो इरानीहरूलाई अनअराइभल भिसाको सुविधा र तेस्रो अध्यागमनको प्राविधिक कमजोरी । इरानीहरूको अवैध नेपाल प्रवेश नियन्त्रण गर्न उनीहरूले पाउँदै आएको अनअराइभल भिसाको सुविधा बन्द गर्नुपर्ने अध्यागमनका अधिकारी बताउँछन् । तर, गृह र परराष्ट्र मन्त्रालयले त्यसबारे कुनै कदम चालेको छैन । पक्राउ परेका अधिकांश इरानीले आफू दलालको माध्यमबाट नेपाल आइपुगेको बयान दिन्छन् । तर, ती दलालको नेपाल कनेक्सनबारे अनुसन्धान हुने गरेको छन । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले अनअराइभल भिसा पाउने भएकाले इरानीहरूको पहिलो रोजाइमा नेपाल परेको हुनसक्ने बताए । ‘हामीले नक्कली राहदानीमा आएका धेरै इरानी पक्रेर फिर्ता पठाएका छौं’, विमानस्थल अध्यागमन प्रमुख थपलियाले भने, ‘सकेसम्म नक्कली राहदानीमा आउने इरानीलाई विमानस्थलबाटै फिर्ता पठाउँछौं । शरणार्थीका रूपमा युरोप प्रवेश गर्न चाहनेहरू नेपाल आएका हुन् ।’ अहिलेसम्म अध्यागमन नाकामा बायोमेट्रिक्स सहितको सफ्टवेयर नहुनु र सरकारले अध्यागमनको प्राविधिक र व्यावसायिक स्तरोन्नति गर्न नसक्नुले पनि इरानीको आवागमन बढेको हो । विमानस्थलमा कार्यरत प्रहरी, एयरलाइन्स र अध्यागमनका केही कर्मचारी व्यक्तिगत रुपमा मानव तस्करको अन्तर्राष्ट्रिय गिरोहसँग सम्पर्कमा हुनुले पनि विदेशीहरूको अवैध नेपाल आवागमन तुलनात्मक सहज हुने गरेको स्रोतले दाबी गरेको छ । जाली राहदानीमा इरानी नेपाल आउनुको अर्को कारण कमजोर अनुसन्धान पद्धति पनि हो । नक्कली राहदानीसहित पक्राउ परेका इरानीले जाली राहदानी र भिसाको मुद्दा मात्र खेपेर उन्मुक्ति पाउने गरेका छन् । नक्कली राहदानीमा पक्राउ इरानीलाई जाली राहदानी र भिसाअन्तर्गत मुद्दा चलाए पनि उनीहरूको आपराधिक पाटो र मानव तस्करको कनेक्सनबारे अध्यागमन मौन बस्ने गरेको छ । पक्राउ परेका अधिकांश इरानी आफू दलालको माध्यमबाट नेपाल आइपुगेको बयान दिन्छन् । तर, ती दलालको नेपाल कनेक्सनबारे अनुसन्धान हुने गरेको छैन । भदौ ५ गते ग्रिसको नक्कली राहदानीमा लाजिम्पाटबाट एउटी छोरीसहित इरानी दम्पती पक्राउ परेका थिए । विमानस्थलका अध्यागमन कर्मचारीले उनीहरूको नक्कली राहदानीमा आगमन छाप लगाइदिएका थिए । पछि मात्र नक्कली राहदानीमा छाप हानेको थाहा पाएपछि उनीहरूले लाजिम्पाटस्थित एउटा होटलबाट इरानीलाई पक्राउ गरे । बायोमेट्रिक्स प्रणालीसहितको सफ्टवेयर भए विदेशीहरू अवैध तरिकाले नेपाल प्रवेश गर्न पाउने थिएनन् । जाली राहदानीअन्तर्गत चलाएको मुद्दाको सजाय काटिकसेपछि गृह मन्त्रालयले उनीहरूलाई केही दिनअघि निष्कासन गरिसकेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयको प्राविधिक समस्याले नक्कली राहदानीवाहक विदेशीहरू नेपाल प्रवेश गरेका प्रसस्त उदाहरण छन् । अध्यागमन विभागले दिएको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा कम्तीमा २५ जना इरानीलाई निष्कासन र इन्ट्री रिफ्युज गरिएको छ

आइएस लडाकुकाे सामूहिक बलात्कार जस्ताे इराकी महिलाले भोगेको दर्दनाक पीडा‍‍…

इराकको किरकुक सहरमा इस्लामिक स्टेट (आइएस) को कब्जा भएपछि हिंसा सुरु भयो र त्यहाँ बलात्कारका घटना बढे । एक इराकी महिलाले बिबिसीसँग आफूले भोगेको दर्दनाक पीडा यसरी बताएकी छिन्ः म टर्कीको सिया हुँ र मेरा पति अरब सुन्नी हुन् । इस्लामिक स्टेट (आइएस) आउनुअघि हामी तिकरितमा रहेका थियौँ । मेरा श्रीमान् घरनजिकै रहेको एक मस्जिदमा नमाज पढ्ने गर्दथे । हामीले तरकारीको पसल चलाएका थियौँ । हामीसँग एउटा ठूलो घर थियो र धेरै शिक्षकलाई भाडामा कोठा दिएका थियौँ । मेरा छोरा र छोरी सँगै स्कुल जान्थे । जब आइएसका चरमपन्थी लडाकुहरू तिकरितमा घुसे, सबैभन्दा पहिले उनीहरूले १५ सय सैनिक मारे, यो नै उनीहरूको पहिलो ठूलो हमला थियो । मारिएका सैनिकको लास नदीमा फालिएको थियो । केही सैनिक भागेर नदी पार गर्दै हामी बसेको स्थानमा आए । आइएसका लडाकु उनीहरूलाई पिछा गर्दै आइपुगे । भागेर आउने सैनिकमध्ये एकजना टर्कीका थिए र उनलाई म पनि टर्कीको हो भन्ने थाहा थियो । ती सैनिकलाई मैले आफ्नै कोठामा लुकाएँ । मेरा पतिले मस्जिदमा तीन सियालाई लुकाएर राखेका थिए । आइएसका लडाकुलाई हामीले केही सैनिकलाई लुकाएर राखेको थाहा भयो । त्यसपछि राति करिब तीन बजे उनीहरू हाम्रो घरमा आइपुगे । उनीहरूले सैनिकलाई खोजेर निकाले र त्यहीँ हत्या गरे । मेरा पतिलाई पनि साथमा लिएर गए, अहिलेसम्म पतिको खबर आएको छैन । केही समयपछि आइएस लडाकु फेरि मेरो घरमा आए र खाली गर्न लगाए । त्यसपछि घर उडाइदिए । मैले घर छाडेपछि मेरा दुई बच्चा, केही महिला र शिक्षकहरू पनि साथमै आए । पैदल हिँडेर केही पर मात्रै पुगेका थियौँ, आइएस लडाकु आए र हामीलाई कार मर्मत गर्ने ग्यारेजमा लगे, जहाँ हाम्रो क्षेत्रका महिलालाई कैदी बनाएर राखिएको थियो । हामी त्यहाँ २२ महिला थियौँ । किशोरीलाई लडाकुले महिलाबाट अलग गरे । मेरो आँखाअगाडि पाँच किशोरीको बलात्कार गरियो । किशोरीहरू सहयोगका लागि गुहार मागिरहे । मैले उनीहरूलाई सहयोग गर्ने कोसिस गरेँ । आधुनिक हतियार बोकेका लडाकुलाई किशोरीलाई छाडिदिन आग्रह गरे । कुरान र खुदाको कसम खुवाएँ । तर, एक लडाकुले मलाई जोडले थप्पड हाने । मेरी १८ वर्षकी सौतेनी छोरीलाई पनि बलात्कार गरे । त्यसपछि छोरीको मृत्यु भयो । अन्य महिलाको उमेर २० देखि ३० वर्षको थियो, उनीहरूलाई पनि पिट्दै बलात्कार गरे । समूहमा एकजना किशोरी धेरै राम्री थिइन्, उनलाई लडाकुले बारम्बार बलात्कार गरिरहे । उनको शरीरबाट रगत बगिरहेको थियो । एक किशोरी ढुंगामा बजारिन पुगिन्, उनको हड्डी भाँच्चियो र मृत्यु भयो । यो हिंसाबाट एकपछि अर्को किशोरी र महिलाको स्थिति नाजुक बन्दै गयो । लडाकुले हामीलाई खानपिन गर्न नदिई ग्यारेजमा बन्द गरेर छाडे । जसकारण मेरो तौल धेरै कम भएको थियो । दिनहरू बित्दै गर्दा हाम्रो हालत झन्–झन् खराब हुँदै गयो । हामी आपसमा कुरा गर्दै जो बाँच्छ, उसले अन्यको बच्चा हेरचाह गर्ने कुरा ग¥यौँ । ग्यारेजमा हामीले २१ दिन बितायौँ । त्यसपछि एकजना लडाकु आए, उनले चाहिँ खानपिन गर्न दिए । ती लडाकुले एक दिन बाख्रा ल्याए र हाम्रा बच्चालाई दूध खान दिए । लडाकुको एक समूह फेरि आयो र हामीलाई दुई समूह बनाइयो । एक समूहलाई लडाकुले आफैँसँग लगे । अर्को समूहमा म र एक शिक्षिका आफ्नो बच्चासँग थियौँ । हामीसँग रहेका लडाकुले त्यहाँबाट भाग्न सल्लाह दिए । उनले एउटा सडकमा लगेर छाडिदिए । भाग्ने क्रममा हामी रेगिस्तानमा हिँड्यौँ । त्यहाँ भोक लाग्दा खानेकुरा केही थिएन, त्यसैले घाँस खायौँ । बाटोमा हिँड्दै गर्दा सँगै रहेकी शिक्षिकाको बच्चा बित्यो । त्यसपछि पाँच दिनपछि किरकुक पुग्यौँ । त्यहाँ एकजना मेरा नातेदार थिए । –बिबिसी हिन्दी डटकमबाट

सोमालियामा ट्रक बम विस्फोट, कम्तीमा २० जनाको मृत्यु

मोगादिसु, असोज २९ । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटेलमा ठूलो विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । शनिबारको दिन ब्यस्त समयमा ट्रकमा भरिएको विस्फोटक पदार्थ होटलको गेटमा ठोक्याउँदा भएको विस्फोटनमा परी कम्तिमा २० जनाको मृत्यु हुनुका साथै अन्य १५ जना गम्भीर घाइते भएको होटलका सुरक्षा प्रमुख मोहम्मद एडनले बताएका छन् । घटनापछि पुगेको प्रहरी तथा प्रत्यक्षदर्शीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । तर, घटना कसले के कारणले गराएको हो भन्नेवारेमा खुल्न नसकेको क्याप्टेन हुसैनले बताएका छन् । उनले उक्त विस्फोट ट्रक बम रहेको पुष्टि गरेका छन् । घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले भनेका छन्, ‘विस्फोटका कारण होटेलका भौतिक संरचना नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका स्थानीय वासिन्दा मुहदिन अलिले विस्फोटको आवाज निकै ठूलो र टाढासम्म सुनिएको बताए । उनका अनुसार विस्फोटको आवाजले भवनहरूमा भु–कम्पको महशुस गरिएको थियो ।

ट्रम्पले आफ्नै देशका खेलाडीहरुलाई ‘कुकुरको छाउरो’ भने !

असोज २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै देशका खेलाडीमाथि खनिएका छन् । यसै सप्ताहन्तमा ट्रम्प भाषण र ट्विटमार्फत् खेलाडीहरुमाथि खनिएका हुन् । शुक्रबार अलाबामा पुगेका ट्रम्पले अचानक एनएफएल र खेलाडीहरुको आलोचना सुरु गरे । ‘एनएफएल टोलीमध्ये एकको मालिकले हाम्रो झण्डाको अपमान गर्ने खेलाडीलाई ‘त्यो कुकुरको छाउरोलाई मैदानबाट तुरुन्त निकालिहाल !’ भनेर निकाले कस्तो हुन्थ्यो होला !’ ट्रम्पले भने । शनिबार पनि उनले ट्विटमार्फत खेलाडीहरुको आलोचना गरे । ‘यदि कुनै खेलाडी एनएफएल वा अन्य लिगमा मा दशौँ लाख डलर कमाउने सुविधा चाहन्छ भने राष्ट्रिय गानको बेला उभिनुपर्छ । उसलाई हाम्रो महान अमेरिकी झण्डाको अपमान गर्न दिइनु हुदैन । यदि त्यसो नगरे उनीहरुलाई बर्खास्त गरिनुपर्छ । कुनै अरु काम खोज !’ ट्रम्पको यस्तो आलोचनालाई खेलाडीहरुले रुचाएनन् । नेसनल फुटबल लिग (एनएफएल) का खेलाडीले ट्रम्पको अभिव्यक्तिको अझ बढी विरोध गरे । आइतबारको खेलमा विभिन्न टोलीका दर्जनौँ खेलाडीले एकअर्काको हात बाँधेर र घुँडा टेकेर ट्रम्पको प्रतिरोध गरे। यसअघि कहिल्यै प्रदर्शनमा नउत्रिएका खेलाडी पनि यस पटक सामेल भए । ट्रम्पले फेरि ट्विटमार्फत हातबाँध्नु राम्रो तर घुँडा टेक्नु नराम्रो भन्दै आलोचना गरे । त्यसयता पनि उनले बारम्बार ट्विट गरेर एनएफएलको टिभी रेटिङ, दर्शकहरुको कम उपस्थिति, आदिको आलोचना गरे । त्यस्तै उनले झण्डाको अपमान गर्ने खेलाडीलाई खेल समर्थकले कहिल्यै माफ गर्न नहुने पनि बताएका छन् । तर ट्रम्पको भद्धा अभिव्यक्तिका कारण खेलाडीहरुमा अझ बढी आक्रोश देखिएको छ ।

भारतको एक अस्पतालमा एकै दिन ८ बालबालिकाको मृत्यु

भारत, असोज २० । भारतमा एकै दिन ८ बालबालिकाको ज्यान गएको छ । भारतको आसाम राज्यको एक अस्पतालमा एकै दिन आठ बालबालिकाको ज्यान गएको बिबिसीले जनाएको छ । आसामको बारपेटामा रहेको फखरुद्दिन अली अहमद मेडिकल कलेजमा २४ घण्टामा आठ बालबालिकाको ज्यान गएको हो । त्यहाँका बासिन्दाले डाक्टरको लापरबाही र अस्पतालको कमजोर संरचनाका कारण बालबालिकाको ज्यान गएको आरोप लगाएका छन् । तर अस्पतालले भने यो एउटा संयोग मात्र भएको प्रतिक्रिया दिएको छ । ज्यान गुमाउने बालबालिका लामो समयदेखि अस्पतालमा भर्ना भएका पनि अस्पतालले दाबी गरेको छ । ज्यान गुमाउनेमा भर्खर जन्मेका शिुशुदेखि २ महिनासम्मका रहेका खबरमा उल्लेख गरिएको छ । गर्भावस्थामा आमाले राम्रो स्वास्थ्य जाँच नगराएकाले कमजोर शिशु जन्मिँदा ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । भारतको आसाम मातृमृत्युदर हुने राज्यमा दोस्रो स्थानमा छ ।

क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न अदालतको आदेश

स्पेन, असोज २० । स्पेनको संवैधानिक अदालतले क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न आदेश दिएको छ ।                                              क्याटालोनियालाई स्वतन्त्र घोषणा गरिए संविधानको उल्लंघन ठहर्ने पनि अदालतले भनेको छ । अदालतले आगामी साता बस्न लागेको क्याटालान संसदको बैठक पनि स्थगित गर्न आदेश दिएको छ । क्याटालान नेता कार्लोस पुईग्देमोन्टले सोमबार बस्ने संसद बैठकले क्याटालोनियालाई स्वतन्त्र घोषणा गर्ने बताउँदै आएका थिए । अदालतले यो आदेश स्पेनिस सरकारको नभई क्याटालानकै समाजवादी दलले स्वतन्त्रताको घोषणा रोक्न माग गर्दै हालेको मुद्दामा दिएको हो ।

छोरालाई खोप नलगाएको आरोपमा आमा जेल

एजेन्सी, असोज १९ । अमेरिकाको मिसिगन राज्यमा एक महिलालाई आफ्नो छोरालाई खोप नगाएको अभियोगमा सात दिनको जेल सजाय दिइएको छ । अदालतको आदेश नमानेपछि रिवेक्का ब्रिउडो नाम गरेकी एक महिलालाई छोरालाई खोप नदिएको अभियोगमा उक्त सजाय सुनाइएको हो । ब्रिउडोले आफ्ना नौ वर्षीया छोरालाई खोप दिएकी थिइनन् । ब्रिउडोको पूर्व पतिलाई अस्थायी हिरासतमा राखिएको छ । यी दम्पत्तिलाई बच्चालाई खोप नलगाएको वा ढिलो गरेको भन्दै कानुनी कारवाही गरिएको बताइएको छ । अमेरिकाको मिसिगन राज्य बालबालिकालाई खोप नदिने राज्यमा पहिलो नम्बरमा पर्छ ।

लास भेगस: ५८ को मृत्यु ५ सय बदी घाइते,ट्रम्पद्वारा निन्दा

काठमाडौं, असोज १७ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लास भेगस शहरमा भएको गोलीकाण्डको निन्दा गर्दै त्यसलाई ुदुष्टताले भरीपूर्ण क्रियाकलापु भनेका छन्। आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनामा मारिनेको संख्या ५९ पुगेको प्रहरीले जनाएको छ। अन्य पाँच सय जनाभन्दा बढी घाइते भएका छन्। ह्वाइट हाउसबाट बोल्दै राष्ट्रपति ट्रम्पले सो घटनापछि अमेरिकीहरु दुस्ख, स्तब्धता र पीडामा एकताबद्ध भएको पनि बताए। उक्त घटनामा स्थानीय प्रहरीले देखाएको प्रतिक्रियालाई चमत्कारीक भन्दै त्यसका कारण धेरैको ज्यान जोगिएको पनि बताएका छन्। राष्ट्रपति ट्रम्पले राष्ट्रिय शोकको संकेत स्वरुप राष्ट्रिय झण्डा आधा झुकाउन पनि निर्देशन दिएका छन्।त्यसअघि अमेरिकी प्रहरीले उक्त गोलीकाण्ड नेभाडा राज्यका बासिन्दा ६४ वर्षीय स्टिभन प्याडकले गरेका बताएको थियो।   उनले लास भेगास शहरस्थित एउटा अग्लो होटेलको ३२ औं तलामा रहेको कोठाबाट त्यहां नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली चलाएका थिए। प्रहरीले उक्त कोठामा आफूहरु प्रवेश गर्दा हमलाकारी प्याडक मृत अवस्थामा भेटिएको बताएको छ। त्यहांबाट दशवटा बन्दुक फेला पारिएको पनि प्रहरीले जनाएको छ। लास भेगस शहर अवस्थित नेभाडा राज्यका स्थानीय सिनेटर डीन हेलरले उक्त गोलीकाण्डलाई ‘हिंसाको भयानक कार्य’ भनेका छन्। लास भेगास प्रहरीका शेरिफ जो लोम्बार्डाले उक्त गोलीकाण्डलाई एक्लो व्यक्तिले गरेको हमला भन्दै हमलाकारी प्याडकको उद्देश्यका बारे कुनै जानकारी नरहेको जनाएका छन्। प्रहरीले जारी गरेको विज्ञप्तीमा स्थानीय समय अनुसार आइतबार रातीको दश बजेर आठ मिनेट जांदा गोलीकाण्ड शुरु भएको थियो। र हमलाकारी स्टिभन प्याडक गत सेप्टेम्बर २८ तारिख देखि नै उक्त होटेलमा बसेका थिए। लास भेगसस्थित बीबीसी सम्बाददाता जेम्स कुक भन्छन्, ठूलो संख्यामा मानिसहरुलाई गोली प्रहार गरी मारिएको यो घटनाले लास भेगस शहर र समग्र अमेरिकालाई नै स्तब्ध तुल्याइदिएको छ। बिबिसी