ठूलो सैन्य परेडको आयोजना गरौँः ट्रम्प

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राजधानी वाशिङ्टन डीसीमा एउटा ठूलो सैनिक परेडको आयोजना गर्न रक्षा मन्त्रालय पेन्टागनलाई अह्राएका छन्।

गत वर्षको फ्रान्सको राष्ट्रिय दिवस ‘बास्टिल डे’को परेडबाट प्रभावित बनेका ट्रम्पले उच्च सैनिक अधिकारीलाई अमेरिकामा पनि त्यस्तै गर्न आग्रह गरेको बताइएको छ।

वाशिङ्टन डीसीमा सामान्यतया युद्धको अन्त्यतिर विजयको खुसियाली मनाउन मात्र सैनिक परेड आयोजना गरिन्छ।

डेमोक्र्याट्सहरूले सैन्य शक्ति प्रदर्शनको योजनालाई निरंकुश देशहरूले गर्ने प्रदर्शनसँग तुलना गरेका छन्।

खुलासा
यसअघि वाशिङ्टन पोस्टले उक्त योजनाबारे पहिलो पटक खुलासा गरेको थियो।

ह्वाइट हाउसकी सञ्चार हेर्ने अधिकारी सारा साण्डर्सले त्यसको पुष्टि गरेकी छन्।

फ्रान्स
उनले भनिन्, ‘हाम्रो देशलाई सुरक्षित राख्न जीवन जोखिममा पार्ने महान् सुरक्षाकर्मीका लागि राष्ट्रपति ट्रम्प निकै सहयोगी छन्।’

‘उनले रक्षा मन्त्रालयलाई एउटा समारोहको आयोजना गर्न सकिएला कि भनेका छन् जहाँ अमेरिकीहरूले कृतज्ञता जाहेर गर्न सकून्।’

अध्ययन
पेन्टागनले कार्यक्रमबारे अहिले विस्तृत अध्ययन गरिरहेको बताइएको छ।

यद्यपि ह्वाइट हाउसका एक अधिकारीले अझै उक्त योजना ‘सोचविचारकै चरणमा’ रहेको वाशिङ्टन पोस्टलाई बताएका छन्।

गत वर्षको जुलाईमा ट्रम्पले प्यारिसमा फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको सैनिक परेडको अवलोकन गरेका थिए।

त्यसपछि ट्रम्पले भनेका थिए, ‘त्यो परेड मैले अहिलेसम्म हेरेकामध्ये सबैभन्दा ठूलो थियो। हामीले त्यसभन्दा ठूलो आयोजना गर्ने प्रयास गर्नेछौँ र त्यसलाई जित्नेछौँ। बीबीसी

अमेरिकामा आप्रवासीका लागि ढोका बन्द गर्दा धेरै खुशी हुन्छु: डोनाल्ड ट्रम्प

काठमाडौं, माघ २४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीसम्बन्धि आफ्नो नीतिमा संसदले सहमति नजनाउने हो भने पूर्ण रुपमा बन्द गर्न पाउँदा आफू खुशी हुने बताएका छन् । आप्रवासी नीति सुधार्न नमान्ने हो भने यो बन्द गरिनेछ र यो मुलुकका हितमा हुनेछ, ट्रम्पले भने । ह्वाइटहाउसमा बोल्दै ट्रम्पले हत्याराहरुलाई मुलुक प्रवेशको छिद्र रोक्ने कानूनमा सुधार गर्न तयार नहुने हो भने आप्रवासीलाई अमेरिका प्रवेशमा सधैका लागि बन्द गरिने चेतावनी दिए । आप्रवासीका लागि सधैका लागि ढोका बन्द गर्न पाउँदा सबैभन्दा बढी खुशी आफू नै हुने पनि उनको भनाइ थियो । डेमोक्रेट सीनेटर चक सुमरले भने बन्द गर्ने कुरा ट्रम्पको मात्र चाहना भएको अरु कसैले यसमा साथ नदिने प्रष्ट गरे । अर्कातिर ह्वाइटहाउसका प्रवक्ता सराह स्यान्डर्सले भने राष्ट्रपति ट्रम्पले बन्द नै गर्ने विषयमा वकालत नगरेको प्रष्टीकरण दिनुभएको छ । राष्ट्रपतिले दीर्घकालीन समाधान खोज्न मात्र चाहेको उनको भनाइ थियो ।

माल्दिभ्समा राजनीतिक संकटः हस्तक्षेपका लागि भारत र अमेरिकालाई आह्वान

काठमाडौं, माघ २४ । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नाशीदले राष्ट्रपति अब्दुल्ला यामीनले संकटकालको घोषणा गरेपछि उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आह्वान गरेका छन् । निर्वासनमा रहेकाा नाशीदले सेना सहितको दूत पठाएर माल्दिभ्समा भौतिक उपस्थिति जनाउन भारतलाई अनुरोध गरेका हुन् । ट्वीटरमार्फत् नाशीदले माल्दिभ्सका जनताको तर्फबाट भन्दै पक्राउ गरिएका न्यायाधीश र राजनीतिक बन्दीको रिहाइका लागि सत्तारूढ नेताहरूका सबै आर्थिक कारोबार रोकिदिन भारत र अमेरिकालाई गुहारेका छन् । माल्दिभ्समा सुरक्षा सैन्यले सर्वोच्च अदालतमा हस्तक्षेप गरी दुई जना वरिष्ठ न्यायाधीश र अर्का पूर्वराष्ट्रपति मौमून अब्दुल गयूमलाई पक्रेपछि नाशीदले यो आह्वान गरेका हुन् । यसअघि अमेरिकी विदेश मन्त्रालयले राजनीतिक बन्दीलाई रिहा गर्न सर्वोच्च अदालतले दिएको आदेश मान्न राष्ट्रपति यामीनले अस्वीकार गरेकामा चिन्ता व्यक्त गरेको थियो । विपक्षीहरूले राष्ट्रपति अधिनायकवादी दिशमा अगाडी बढेको आरोप लगाएका छन् । विपक्षी राजनीतिज्ञहरुलाई रिहा गर्न आदेश दिएपछि रुष्ट बनेको सरकारले संकटकाल घोषणा गरेर प्रधानन्यायाधीश अब्दुल्लाह साइद र अर्का न्यायाधीश अली हमिदलाई पक्रेको थियो । सर्वोच्च अदालतले सन् २०१५ मा निर्वासनमा बसेका पूर्व राष्ट्रपति मोहम्मद नाशिदमाथिको सुनुवाइ पनि असंवैधानिक भएको निर्णय गरेको थियो ।

ताइवानमा भूकम्पमा परी दुई जनाको मृत्यु, दर्जनौ भवन भत्किए

काठमाडौं, माघ २४ । ताइवानमा ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । भूकम्पका कारण दर्जनौ भवन भत्केका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेटमा भूकम्प जाँदा अधिकांश मानिस निन्द्रामा थिए । भूकम्पलगत्तै भागदौड मच्चिदा सयौं घाइते भएका हुन् । मूख्य शहरमा रहेको एक होटेल भासिएकाले होटेलका थुप्रै कर्मचारी फसेको बताइएको छ । १० तलाको होटेल भासिँदा तल्लो तलामा रहेका कर्मचारी फसेका हुन् । होटेलका २८ कर्मचारीलाई भने उद्धार गरिएको छ । उद्धारमा सेना, प्रहरी स्थानीय खटेका छन् ।

ताइवानमा शक्तिशाली भूकम्प, दुईको गयो ज्यान, सय बढी घाइते

काठमाडौं- ताइवानमा शक्तिशाली भूकम्प गए पछि कम्तिमा पनि दुई जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन् । बीबीसीले जनाए अनुसार ताइवानको हुआलिन भन्ने सहरमा आएको ६ दशमलव ४ तीव्रताको भूकंपका कारण केही अग्ला भवनहरू क्षतिग्रस्त भएका छन् । ताइवानी मिडियाहरूमा भूकंप स्थानीय समयानुसार राति ११ बज्र ५० मिनेटमा गएको जनाइएको छ । सामाजिक सञ्जालहरूमा सडकहरू र अगला भवनहरू क्षतिग्रस्त भएको देखाइएको छ । प्राप्त समचारहरूमा एउटा होटल भत्किएको र त्यसभित्र केही मानिस फसेको जनाइएको छ ।तिनीहरूको उद्वार कार्य जारी रहेको जनाइएको छ । स्थानीयहरू भयभीत छन् र उनीहरू सडकमै रात बिताउन चाहिरहेका छन् । स्थानीय मिडियाहरूमा समाचार छ । रोयटर्स समाचार एजेंसीले अधिकारीहरूलाई उद्धृत गर्दै भानेको छ देशको उत्तरी तटीय क्षेत्रमा केही पुलहरू तत्काललाई प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भयाएका छन् । सडकहरूमा चिरा परेका छन्, चट्टानहरू खसिरहेका छन् र ग्यास पाइपहरूमा चुहावटका खबर आइरहेका छन्- समचारहरूमा उल्लेख छ । राष्ट्रपति साइ इंग वेनले तत्काल विपद व्यावस्थापनका उपाय अपनाउन सम्बन्धित मंत्रालयहरूलाई आदेश दिइसकेका छन् । प्रभावित क्षेत्र राजधानी ताइपेईबाट करिब एक सय ६० किलोमिटरको दूरीमा रहेको छ । भूकम्पको लागि संवेदनशील मानिने ताइवानमा साना-तिना कंपनहरू गइराख्छन् । अर्थक्वेकट्ऱ्याक डट कमले पछिल्लो २४ घण्टामा सो क्षेत्र आसपास छ वटा साना कम्पन महसुस गरिएको जनाएको छ ।

मालदिभ्समा लाग्यो संकटकाल

काठमाडौं- मालदिभ्समा राष्ट्रपति अब्दुल्ला यामीनले १५ दिनका लागि संकटकालको घोषणा गरेका छन् । देशमा राजनीतिक संकट गहिरिन थालेपछि सोमवार राष्ट्रपतिले सो कदम चालेका हुन् । राष्ट्रपति यामीनका सहायक अजीमा सुकुरले यसको घोषणा गरेका हुन् । यस कदमले त्यहाँको सुरक्षा बललाई शंकास्पद व्यक्तिहरूलाई गिरफ्तार गर्ने ऱ् हिरसतमा राख्ने असीमित शक्ति प्रदान गर्नेछ । त्यहाँको उच्चतम न्यायालय र सरकारबीच गतिरोध बढ्दै गरेपछि यस्तो घोषणा गरिएको हो । अत्यधिक अंतरराष्ट्रीय दबाब र चासोका बावजुद राष्ट्रपतिले राजनैतिक बन्दीहरूलाई रिहा गर्न दिएको उच्चतम न्यायालयको आदेश नमान्ने बताएका छन् । राष्ट्रपति यामीनले न्यायाधीशहरूलाई आफ्नो फैसला बदल्न तीनवटा पत्र लेख्नासाथ सुकुरले सरकारी टेलिभिजनमा संकटकाल लगाइएको घोषणा गरेका थिए । यामीनले यो दोस्रो पल्ट संकटकालको घोषणा गरेका हुन् । यसअघि नोभेम्बर २०१५ मा कथित रूपले उनको हत्याको प्रयास भएको भनेर संकटकाल घोषणा भएको थियो । अधिकारीहरूका अनुसार राष्ट्रपतिले दुइ दिनभित्र यस घोषणाका बारेमा संसदलाई सूचित गर्नुपर्ने छ । तर अधिकारिहरूले देशको संसदलाई अनिश्चितकालको लागि निलंबित गरिएको जनाएका छन् । उच्चतम न्यायालयले गत बिहीबार १२ जना निलंबित संसदलाई बहाल गरिदिएको थियो । यामीन पक्षका ती सांसद विपक्षसँग मिल्न गएपछि ८५ सदस्यीय संसदमा राष्ट्रपतिको पार्टी अल्पमतमा परेको थियो । जसले उनीमाथि महाअभियोगको खतरा रहेको थियो ।

बेनिन तटबाट चालक दलका २२ भारतीय नागरिक सहितको ट्यांकर बेपत्ता

काठमाडौं, माघ २२ । अफ्रिकाको पश्चिमी क्षेत्रमा पर्ने गिनीको खाडीबाट ठूलो मात्रामा इन्धन बोकेको एउटा ट्यांकर बेपत्ता भएको छ । बेनिन तटबाट चालक दलका २२ भारतीय नागरिकसहितको ट्यांकर बेपत्ता भएको हो । पनामा पंजीकृत मरिन एक्सप्रेस नामको सो ट्यांकर गत बिहीबारदेखि सम्पर्कविहीन बनेको हो । अनुकूल मौसमका बावजुद ट्यांकर बेपत्ता भएपछि त्यसलाई लुटेराले कब्जामा लिएको हो कि भन्ने आशंका गरिएको छ । यसअघि पनि सोही इलाकामा इन्धन बोकेका ट्यांकरलाई लुटेरा समूहले निशाना बनाउँदै आएका थिए । बेपत्ता ट्यांकरमा १३ हजार ५ सय टन पेट्रोलियम पदार्थ रहेको बताइएको छ । बेपत्ता ट्यांकरको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

उत्तर कोरियाले उच्च तहका नेतालाई दक्षिण कोरिया पठाउने

काठमाडौं, माघ २२ । परमाणु विवादका कारण दुई कोरियाबीच तनाव जारी रहेकै बेला उत्तर कोरियाले उच्च तहका नेतालाई दक्षिण कोरिया पठाउने निर्णय गरेको छ । उत्तर कोरियाका राष्ट्रपति किम जोन उनले आफ्ना देशका उच्च तहका नेता किम योङ नामलाई दक्षिण कोरिया पठाउने निर्णय गरेका हुन् । दक्षिण कोरियामा हुन लागेको शीतकालिन ओलम्पिकको पूर्वसन्ध्यामा किम योङ नामलाई दक्षिण कोरिया पठाई दुई देशबीचको सम्बन्ध सुधारको प्रयास गर्न लागिएको हो । किम योङ नामको भ्रमण दलमा अन्य २२ जना उत्तर कोरियाली प्रतिनिधी पनि रहने छन् । नाम चार वर्षअघि पनि दक्षिण कोरिया पुगेका थिए । भ्रमणका क्रममा दक्षिण कोरियाका प्रतिनिधीसँग भेट गरी दुई देशबीचको सम्बन्ध बिस्तारको पहल गर्ने अपेक्षा उत्तर कोरियाको छ । कुटनीतिक रुपमा निकै नै प्रभावशाली नेता मानिएका नेता नामले यसअघी पनि दुर्ई कोरियाबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । किम योङ नाम दक्षिण कोरियामा हुने शीतकालिन ओलम्पिकमा दुई कोरियाका एथलेट्सहरुले संयुक्त रुपमा झन्डोत्तोलन गर्नुहुने भएको छ । सोही ओलम्पिकका लागि उत्तर कोरियाका खेलाडीहरु दक्षिण कोरिया पुगिसकेका छन् ।

माल्दिभ्समा राजनीतिक संकटः अदालतको आदेश नमान्न निर्देशन

काठमाडौं, माघ २२ । माल्दिभ्स सरकारले राष्ट्रपति अब्दुल्लाह यामिनलाई गिरफ्तार गर्न वा महाभियोग लगाउन सर्वोच्च अदालतले आदेश दिए नमान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । माल्दिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नसिदमाथि लागेको आतंकवादको आरोप खारेज गर्दै पक्राउ परेका विपक्षी ९ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो । यो आदेशसँगै माल्दिभ्समा विपक्षी दलले संसद्मा बहुमत प्राप्त गरेको छ । तर माल्दिभ्स सरकारले अदालतको आदेश अस्वीकार गर्दै संसद् नै स्थगित गरिदिएको छ । अदालतको आदेशपछि महान्यायाधीवक्ता मोहम्मद अनिलले राष्ट्रपतिलाई गिरफ्तार गरिनु गैरकानुनी हुने बताए । उनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई पदच्युत गराउन खोजेको आरोप लगाए । उनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई गिरफ्तार गर्न आदेश दिए त्यो असंवैधानिक हुने बताए । उनले सेना र प्रहरीलाई असंवैधानिक आदेश पालना नगर्न निर्देशन दिए । यसैबीच पूर्वराष्ट्रपति मोहम्मद नासिदले राष्ट्रपति यामिनले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन् । उनले सुरक्षा फौजलाई देशको संविधानको रक्षा गर्न पनि आह्वान गरेका छन् । हाल श्रीलंकामा निर्वासनमा रहेका नासिद प्रजातान्त्रिक तरिकाबाट निर्वाचित हुने माल्दिभ्सका पहिलो नेता हुन् । उनीमाथि सन् २०१५ मा आतंकवादको आरोप लागेको थियो । तर सर्वोच्च अदालतले त्यो आदेश राजनीतिक रुपमा अभिप्रेरित भएको ठहर गरेको छ । यसैबीच विपक्षी दल माल्दिभ्स डेमोक्रेटिक पार्टीले अदालतको आदेशको पालना गर्न सरकारलाई आग्रह गरेको छ । विपक्षी दलका प्रवक्ता अब्दुल गफूरले सरकारले आदेशको पालना नगरेको भन्दै प्रधानन्यायाधीशसहित दुई जना वरिष्ठ न्यायाधीशलाई पक्राउ गर्न सरकारले प्रयास गरेको आरोप लगाएका छन् । उनले सरकारले न्यायपालिकाको शक्तिलाई कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाए ।

रेकर्ड तोड्यो मुम्बई एयरपोर्टले, एकै दिन ९८० फ्लाइट

काठमाडौं, संसारका सबैभन्दा व्यस्ता एयरपोर्टहरुमा गनिने मुम्बई एयरपोर्टले आफ्नै रेकर्ड तोडेको छ । मिडिया रिपोर्टका अनुसार गत २० जनवरीका दिन मुम्बई एयरपोर्टले २४ घण्टामा ९८० फ्लाइटको एराइभल ल्याण्डिङको रेकर्ड बनाएको हो । मुम्बई इन्टरनेशनल एयरपोर्टका प्रवक्ताका अनुसार, मुम्बई एयरपोर्टले यसअघि गत ६ डिसेम्बरका दिन ९७४ वटा फ्लाईट सञ्चालन गरेको रेकर्ड तोडेको हो । संसारमा सबैभन्दा व्यस्त दोश्रो नम्बरको एयरपोर्ट गैटविक एयरपोर्ट हो । यहाँ एकल रनवेका लागि २०१८ मा प्रतिदिन ८७० उडानको घोषणा गरिएको छ ।

उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दर्ता गरिएका समाचार नै ‘झुटा’ ठहर

बेइजिङ, चीन, २१ माघ (रासस/सिन्ह्वा) ः चिनियाँ पत्रकार संगठनले सन् २०१६ र २०१७ मा प्रकाशित गरिएका समाचारमध्ये राष्ट्रिय उत्कृष्ट पत्रकारिताका लागि दर्ता भएका ९२ समाचारलाई झुटा विवरण भनी आइतबार प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको छ । अयोग्य ठहर गरिएका समाचार विवरणमध्ये ७१ समाचार रेडियो तथा टेलिभिजनका लागि तयार गरिएका समाचार रहेका संगठनले उल्लेख गरेको छ । संगठनले केही समाचार बिषयको वास्तविक भाव परिवर्तन गरी प्रतिस्पर्धाका लागि दर्ता गरिएको तथा केही समाचार सामग्री झुटा रहेको बताएको छ । समाचारमा तथ्यगत सामग्रीको प्रयोग नगरिँदा यसले चिनियाँ पत्रकारिता पुरस्कारमाथिको विश्वसनीयता तथा विशेषतामा नै असर पर्ने चिनियाँ पत्रकार संगठनले जनाएको छ । संगठनले पुरस्कारका लागि तय गरिएको उक्त मापदण्डले झुटा समाचार निर्माण तथा प्रशारणमा योगदान गर्ने विश्वास लिएकोे बताएको छ । संगठनले सन् १९९० मा स्थापना गरेको चिनियाँ पत्रकारिता पुरस्कार र चाङजियाङ तथा ताओफेन पुरस्कारहरू चीनको पत्रकारिता क्षेत्रमा सबैभन्दा उत्कृष्ट (ठूला) पुरस्कारहरू हुन् ।

सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा रुसी सैन्य विमान खसालियो

काठमाडौं, माघ २१ । सिरियामा रुसी सैन्य विमान जमिनमा खसालिएको छ । विद्रोही नियन्त्रित पूर्वोत्तर इदलिब प्रान्तमा विमान खसालिएको हो । विमान खस्दा पनि सुरक्षित रहेका पाइलटलाई भने जमिनमा आक्रमण गरी मारिएको रुसले जनाएको छ । विमान अलकायदासँग सम्बन्ध रहेको हयात तह्रीर अलशाम नामक समूहले खसालेको बताइएको छ । रुसले यस क्षेत्रमा सहयोगी सिरियाको साथ विद्रोहीमाथि आक्रमण गरिरहेको छ । गत डिसेम्बरदेखि सिरियाले रुसी सहयोगमा हवाई आक्रमण गरिरहेको छ । यसै आक्रमणका कारण लाखौं मानिस विस्थापित भएका छन् । २४ घन्टाको बीचमा रुसले थुप्रैं पटक हवाई आक्रमण गरेको पनि बताइएको छ ।

थुनिने डरले बाबा रामदेव हाईकोर्टको शरणमा

जयपुर (भारत)– आफूविरुद्ध उजुरी दर्ता भएपछि थुनिने डरले बाबा रामदेव हाईकोर्टको शरणमा पुगेका छन् । पतंजलीले उत्पादन गरेको बिष्कुट पूर्णशुद्धता नभएको भन्दै बाबा रामदेवविरुद्ध प्रहरीमा उजुरी परेको थियो । भारतीय पत्रिका अमर उजालामा प्रकाशित समाचार अनुसार बाबा रामदेवको निवेदनमाथि सुनुवाई गर्दै राजस्थान हाईकोर्टले उजुरीकर्ता र प्रदेश सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । अजमेर निवासी एसके सिंहले जालुपुरा थानामा बाबा रामदेवसहित आचार्य बालकृष्ण र आस्था च्यानलविरुद्ध उजुरी दर्ता गराएका थिए । हाईकोर्टले उजुरीकर्ता र प्रदेश सरकारका नाममा उजुरी रद्द नगर्नुपर्ने कारण मागेको छ । अदालतले जवाफ दिने समय मार्चसम्म तोकेको छ । न्यायाधीश दीपक माहेश्वरीको एकल इजलासले रामकिशन यादव उर्फ बाबा रामदेव र आचार्य बालकृष्णसहित आस्था च्यानलले दर्ता गराएको आपराधिक निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै कारण देखाउ आदेश दिएको हो । पतंजलिको एउटा बिस्कुटमा शतप्रतिशत आटा भएको र मैदाको प्रयोग नभएको दावी गरिएपनि विष्कुटमा मैदा मेटिएको उजुरीकर्ताको दावी छ । विष्कुटको विज्ञापन आस्था च्यानलबाट गरिएकाले च्यानलविरुद्ध पनि उजुरीदर्ता गरिएको थियो । अदालतमा दर्ता गरिएको निवेदनमा बाबा रामदेव विरुद्धको उजुरीलाई चुनौति दिँदै विश्वस्तरमा प्रतिष्ठित बाबालाई बद्नाम गराउन प्रहरीमा उजुरी दिइएको दावी गरिएको छ । उजुरीकर्ताले विष्कुटमा मिलाइएको मैदाको मात्रा लगायतबारे पनि उजुरीमा उल्लेख नगरेको दावी गरिएको छ ।

मोदीले हाले लेखनमा हात

काठमाडौं । भारतीय प्रधानमंत्री नरेन्द्र मोदीका बारेमा थुप्रै किताबहरू लेखिएका छन् तर अब उनी आफैं लेखक बनेर सामुन्ने आएका छन् । उनले लेखेको एउटा पुस्तक ‘एक्जाम वारियर्स’ आज विमोचन हुँदैछ । विशेष गरी विद्यार्थीहरूलाई लक्षित गरी लेखिएको यस पुस्तकमा दस र बाह्र कक्षाका विद्यार्थीहरूलाई परीक्षाको समय हुने तनाव कसरी कम गर्ने भन्ने बारे टिप्स दिइएको छ । यस पुस्तकको विमोचन कार्यक्रममा विदेशमंत्री सुषमा स्वराज प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ । यस पुस्तकमा अन्तरक्रियात्मक शैलीमा विद्यार्थीहरूलाई विभिन्न सुझावहरू दिइएका छन् । यसको प्रकाशन पेंगुइन पब्लिशर्सले गरेको हो ।

घर बनाउन खाडल खन्दा ४५० किलो वजनको बम फेला

हङकङ, माघ २० । हङकङमा घर बनाउन खाडल खन्दा विशाल बम फेला परेको छ । दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले खसालेको दुईवटा बम हङकङमा फेला परेको हो । लामो प्रयासपछि सुरक्षाकर्मीहरुले सो बम निष्कृय तुल्याएका छन् । ४५० किलो वजनको सो बम वान चाई जिल्लाको एक व्यापारिक क्षेत्रमा फेला परेको हो । भवन निर्माण भइरहेको क्षेत्रमा खाडल खन्दा सो बम फेला परेको हो । बम फेला परलगत्तै आसपासका करिब चार हजारभन्दा बढी नागरिकलाई सो क्षेत्रबाट हटाइएको थियो । सडकलाई घेराबन्दी गरिएको थियो भने रातभर खटेर उक्त बमलाई हङकङ प्रहरीको बम निरोधक समूहले निष्कृय तुल्याएको थियो । एकसाता भित्रै हङकङमा दोस्रो विश्वयुद्धको समयको बम फेला परेको यो दोस्रो घटना हो । अमेरिकामा निर्माण भएको ‘एन–एम६५’ बम दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापान अधिनस्थ हङकङमा खसालेको हो । समाचार एजेन्सीहरुका अनुसा बम निरोधक समूहले बमको बाहिरी भागमा प्वाल बनाएर विस्फोटक पदार्थलाई नष्ट गरेको हो । जमिनमुनी गाडिएर रहेको अवस्थामा बम फेला परेपछि सर्वसाधारणमा आतंक बढ्न थालेको छ । यस्ता बम अझै कति होलान् र कहाँ कुन अवस्थामा होलान् भन्ने प्रष्ट नहुँदा सर्वसाधारणमा सन्त्रास बढाएको हो ।

अमेरिकामा पूर्व डाक्टर लरी नस्सारलाई १७५ वर्षको जेल सजाय

काठमाडौं, माघ ११ । अमेरिकाको एक अदालतले अमेरिकाका ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा १७५ वर्षको जेल सजाय सुनाएको छ । १ सय ६० जना पीडितको बयानपछि अदालतले उनलाई जेल सजाय सुनाएको हो । नस्सारले माफी माग्ने प्रयास गरे पनि न्यायाधीशले अस्वीकार गर्दै जेल सजाय तोकेका हुन् । नस्सारले कयौं युवतीलाई यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले जेल सजाय दिएको हो । उनले कतिपय ओलम्पिक खेलाडीलाईसमेत यौन दुव्र्यवहार गरेको पुष्टि भएको छ । ५४ वर्षीय नस्सारलाई यसअघि पनि बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा ६० वर्षको कैद सजाय सुनाइएको थियो । न्यायाधीश रोजमेरी अकिलिनाले सजायँ सुनाउँदै नस्सारको कडा आलोचनासमेत गरेका छन् । उनले पीडित महिलाको कुरा सुन्दा उनीहरुको सम्मानका लागि पनि नस्सारलाई ठूलो सजाय दिनुपरेको बताए । उनले नक्सार जेलभन्दा बाहिर राख्न लायक व्यक्ति नभएको समेत बताए । पीडित महिलाहरुसँग अदालतले एक हप्तादेखि बयान लिएको थियो । अन्तिममा नस्सारलाई पनि आफ्ना भनाई राख्ने मौका अदालतले दिएको थियो ।