नाइजेरियामा भएको हिंसात्मक घटनामा परी कम्तिमा २४ जनाको मृत्यु
काठमाडौं, फागुन २४ । नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनामा परी कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको अधिकारीहरुले जनाएका छन् ।
हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्यका गभर्नर साम ओर्टोमले जानकारी दिएका छन् ।
उनले त्यस घटनालाई अमानवीय घटनाको रूपमा व्याख्या गरेका छन् ।
घटनालाई नियन्त्रणमा लिई दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको उनले बताए ।
दुई दिनसम्म भएको हिंसाका घटनामा मृत्यु हुनेमध्ये धेरै जसो विद्यालयका बालबालिका रहेको बताइएको छ ।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हिंसात्मक घटनालाई चाँडै नियन्त्रणमा लिने प्रतिबद्धता व्यक्त गरेका छन् । (एजेन्सी)
राष्ट्रपति ट्रम्पसँग मतभेद बढेपछि आर्थिक सल्लाहकारद्वारा राजीनामाको घोषणा
ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग मतभेद बढेपछि आर्थिक सल्लाहकारले राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले मंगलबार राजीनामा दिने घोषणा गरेको समाचारमा जनाइएको छ । पछिल्ला केही दिनमा ह्वाइट हाउसभित्र स्टील र अलुमिनियम आयातमा विद्यमान नीतिमा परिवर्तन गरी केही कडाई गर्नुपर्ने विषयमा मतभेदहरू उत्पन्न भएको बताइएको छ । राजीनामालाई अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति ट्रम्पका सहयोगीको राजीनामाको शृंखला भनेर प्रचार गरिरहेका बताइएको छ । ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोन श्रृंखलाबद्ध रूपमा ह्वाइट हाउसबाट राजीनामा दिई निस्कने राष्ट्रपति ट्रम्पको सहयोगी टोलीका पछिल्लो व्यक्ति हुन् । विशेषगरी उनीसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा ट्रम्प प्रशासनसँग विवाद उत्पन्न भएको बताइएको थियो । सोही मतभेदका कारण उनले राजीनामाको घोषणा गरेका छन् । त्यही कर विवादका कारण पछिल्लो समयमा राष्ट्रपति र कोनबीच राम्रो सम्बन्ध नरहेको बताउने गरिएको थियो । यसअघि सल्लाहकार कोन राष्ट्रपति ट्रम्पको प्रशासनले जारी राखेका अमेरिकामा कर कटौती सम्बन्धी विविध आयोजनाका मुख्य योजनाकारका रुपमा काम गरेको बताइएको थियो । राष्ट्रपति ट्रम्पले कोनलाई विशेष धन्यवाद दिएका छन् । उनले आर्थिक क्षेत्रमा विशेष दखल राख्ने व्यक्ति भन्दै अहिलेसम्म सेवा दिएकोमा कोनलाई धन्यवाद ज्ञापन गरेको प्राप्त समाचारमा जनाइएको छ । उनले काम गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । यसैबीच राष्ट्रपति ट्रम्पले आयातमा करहरू बढाउने नयाँ कार्यक्रमको घोषणा गरेको अर्को एक समाचारमा जनाइएको छ ।
डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामा, ट्रम्पको नीतिप्रति असन्तुष्ट
काठमाडौं, फागुन २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार गैरी क्युनले पदबाट राजीनामा दिएका छन् । उनले देशको सम्मानका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । गैरी क्युन राष्ट्रपति ट्रम्पका निकै विश्वासपात्र मानिन्छन् । उनले ट्रम्पको नीतिप्रति असन्तुष्ट रहेकै कारण राजीनाम दिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । पछिल्लो समय खुला ब्यापार र आल्मुनियम तथा स्टील आयातमा लाग्ने कर बढाउने ट्रम्पको नीतिप्रति उनी असन्तुष्ट रहँदै आएका थिए । राजीनामा दिएपछि क्युनले रष्ट्रपति ट्रम्पले आफूलाई आर्थिक सल्लाहकारमा नियुक्त गरी देशको सेवा गर्ने मौका दिएकोमा धन्यवाद दिएका छन् । यसअघी ट्रम्प प्रशासनका तीन उच्च अधिकृतले राजीनामा दिइसकेका छन् ।(एजेन्सी)
म्यानमारमा रोहिंज्याको ‘जातीय सफाया जारी
काठमाडौं, फागुन २२ । म्यानमारले रखाइन राज्यमा रोहिंज्या मुसलमानहरूको जातीय सफाया गर्ने क्रम नरोकेको संयुक्त राष्ट्रसंघका एक अधिकारीले मंगलवार बताएका छन्। सैनिक दमन हुँदा रोहिंज्या मुसलमानहरूको सामूहिक बहिर्गमन भएको छ महिनापछि राष्ट्रसंघका ती दूतले निरन्तर चलेको ुआतंक र भोकै पार्ने अभियानु को समीक्षा गरेका हुन्। गत अगस्ट महिनायता झन्डै सात लाख रोहिंज्या मुसलमानहरू म्यानमारबाट भागेर छिमेकी देश बांग्लादेशमा पुगेका छन्। उनीहरूका अनुसार सैनिक र भिजिलान्तेहरूले रोहिंज्या मुसलमानहरूको हत्या र बलात्कार एवम् उनीहरूविरुद्ध आगजनी गर्ने गरेका थिए। म्यानमारको सेनाले रखाइन राज्यमा रोहिंज्या लडाकुहरूसँग लडिरहेको तर गैरसैनिकहरूलाई निशाना नबनाएको दाबी गर्ने गरेको छ। ‘म्यानमारका रोहिंज्याको जातीय सफाया चलिराखेको छ,’ राष्ट्रसंघीय मानवअधिकार आयोगका सहायक महासचिव एन्ड्रु गिल्मोरले बताए। ‘दक्षिण बांग्लादेशको कक्स् बजारमा मैले जे देखेको र सुनेको छु, त्यसबाट हामी अन्य निष्कर्ष पुग्न सक्छौँ जस्तो मलाई लाग्दैन।’ कक्स् बजारमा पाँच लाख शरणार्थीहरू रहेका छन्। ‘गत वर्षका भयानक रक्तपात र सामूहिक बलात्कारपछि हिंसाको रूप परिवर्तित भएर आतंक र भोकै राख्ने अभियानमा आइपुगेको छ,’ समाचार संस्था एएफपीका अनुसार गिल्मोरले शरणार्थी शिविरमा भर्खर आइपुगेका रोहिंज्याहरूसँग कुराकानी गरेपछि भने। बांग्लादेश र म्यानमारका अधिकारीहरूले शरणार्थी फर्काउनेबारे वार्ता गर्दै आएका थिए। तर गत हप्ता सीमामा म्यानमारको सेनाको तैनाथीपछि केही आशंका बढेको छ। ‘कुनै पनि रोहिंज्यालाई रखाइन राज्यमा निकट भविष्यमा सुरक्षित, सम्मानजनक र दीर्घकालीन तरिकाले फिर्ता हुने कुरा अकल्पनीय छ,’ उनले भने। ‘म्यानमारको सरकार विश्वलाई फिर्ता आएका रोहिंज्या स्वीकार गर्न तयार रहेको बताउन व्यस्त छ, अनि उही बेला उसको सेना रोहिंज्याहरूलाई निरन्तर बांग्लादेशतिर लखेट्दैछ।’बीबीसी
त्रिपुरामा भाजपाले जितेपछि बुलडोजर लगाएर ढालियो लेनिनको सालिक
नयाँ दिल्ली । भारतको त्रिपुरास्थित विधानसभा चुनावमा भारतीय जनता पार्टीले जितेपछि तोडफोड र हिंसक प्रदर्शन भइरहेको छ । सरकार गठन भन्दा पहिले त्रिपुरामा वामपन्थी स्मारक पनि भत्काइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार त्रिपुराको बेलोनिया सब डिभिजन रूसी क्रान्तिका नायक भ्लादिमिर लेनिनको मूर्ति ढालिएको छ। यसको भिडियो पनि सार्वजनिक भएको छ । लेनिनको मूर्ति बुलडोजरको सहयोगमा ढालिएको हो । मूर्ति ढालिएका बेला ‘भारत माताकी जय’को नारा लगाइएको थियो । प्रहरीका अनुसार भाजपा कार्यकर्ताले बुलडोजर ड्राइभरलाई मदिरा पिलाएर मूर्तिलाई ढालेका हुन् । ड्राइभरलाई प्रहरीले गिरफ्तार गरेको छ । मूर्ति ढालिएको बुलडोजर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिपुरामा लेनिनको मूर्ति ढालिएको स्थानमा धारा १४४ लगाएर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। यस घटनाबारेमा दलहरुबीच चर्को आरोप प्रत्यारोप पनि सुरु भएको छ । भाजपा नेता र राज्यसभा सांसद सुब्रमण्यम स्वामीले पनि यसबारे टिप्पणी गरेका छन् । उनले लेनिनलाई विदेशी मात्रै संज्ञा दिएनन्, आतंकवादी भएको पनि आरोप लगाए । ‘यस्तो व्यक्तिको मूर्ति हाम्रो देशमा किन ?’, उनले प्रश्न गरेका छन्, ‘यो मूर्ति कम्युनिस्ट पार्टीको हेडक्वार्टरभित्र राखेर पूजा गरे हामीलाई आपत्ति छैन ।’ त्रिपुरामा २५ वर्षको वामपन्थी शासनपछि भाजपाले जित दर्ता गराएको छ । सीपीआई (एम) ले भाजपा र आईपीएफटीका कार्यकर्ता हिंसामा उत्रेर आक्रमण थालेको आरोप लगाएको छ । वामपन्थी पार्टीको कार्यालयमा तोडफोड गरिएको छ भने कार्यकर्तालाई घेरा हालेर आक्रमण भइरहेको छ । लेनिनको मूर्ति तोडिएपछि भारतका वामपन्थी दल र उनीहरुका कार्यकर्ता रुस्ट भएका छन् ।अन्नपूर्णबाट
श्रीलंकामा संकटकाल घोषणा
काठमाडौं, फागुन २२ । श्रीलंकामा मस्जिद र मुसलमानहरूको स्वामित्वमा रहेका व्यापारव्यवसाय विरुद्ध आक्रमणहरू भएपछि संकटकाल घोषणा गरिएको छ। बौद्धमार्गी सिंहला समुदायको बाहु्ल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूका पसलमा तोडफोड र आगजनी गरिएपछि कर्फ्यु आदेश जारी गरिएको हो। एउटा जलेको भवनबाहिर एक जना मुसलमान युवाको शव फेला परेपछि श्रीलंकाका अधिकारीहरूले प्रत्याक्रमण हुन सक्ने आशंका व्यक्त गरेका छन्। गत हप्ता सडकमा भएको एउटा विवादमा केही मुसलमानहरूले एक जना बौद्धमार्गी पुरुषलाई पिटेका थिए। पछि उनको मृत्यु भएको थियो। तत्पश्चात् दुई सम्प्रदायबीच तनाब बढेको थियो। गत हप्ता पूर्वी नगर अम्परामा पनि मुसलमानविरोधी हिंसाहरू भएका थिए। सन् २०१२ देखि श्रीलंकामा तनाव बढेको छ। चरमपन्थी बौद्धमार्गीहरूको एउटा समूह बीबीएसलाई तनाव बढाएको आरोप लाग्ने गरेको छ। बीबीसी
‘दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य’
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिकमैत्री अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँले शान्तिपूर्ण वातावरणमा नै दक्षिण एशियाको प्रगति सुनिश्चित हुने बताउँदै सार्कमार्फत यस क्षेत्रको शान्ति र आर्थिक प्रगतिका निम्ति आफ्नो मुलुकले हरसम्भव सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो । सार्कका उद्देश्य, आदर्श र सिद्धान्तप्रति पाकिस्तानको अटुट आस्था रहेको बताउँदै उहाँले भन्नुभयो, “सार्कको बडापत्रप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ ।” प्रधानमन्त्री अब्बासीले सार्कको १९औँ शिखर सम्मेलन शीघ्रातिशीघ्र हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । पाकिस्तानी प्रधानमन्त्रीले सचिवालय परिसरमा धुपीको बिरुवा रोपेर जलसिञ्चनसमेत गर्नुभएको थियो । कार्यक्रममा सार्कका महासचिव अमजद बी सियालले १८औँ शिखर सम्मेलनमा सार्क नेतृत्वले हरेक दुई वर्षमा शिखर बैठक गर्ने निर्णय गरेबमोजिम संगठनलाई गतिशील तुल्याउन १९औँ सम्मेलनको अपरिहार्यतामा जोड दिनुभयो । सार्क सचिवालयलाई निरन्तर सहयोग र अमूल्य सुझाव प्रदान गरेकामा सार्कको वर्तमान अध्यक्ष तथा सचिवालय आतिथेय मुलुक नेपालसहित सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गर्दै उहाँले यसअघि पाकिस्तानले सार्कका दुई शिखर सम्मेलन आयोजना गरिसकेको र सार्कका लक्ष्य एवं सिद्धान्त प्राप्तिमा प्रशंसनीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । नौ वर्ष अगाडि फागुन महिनामा सार्कको संस्थापक सदस्य मुलुक श्रीलंकाका तत्कालीन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सार्क सचिवालयको भ्रमण गरी सचिवालय परिसरमा बिरुवा रोपेको जानकारी दिँदै उहाँले सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकारले सचिवालय भ्रमण गर्ने प्रचलन रहेको बताउनुभयो । रासस
कम्यूनिष्टलाई हराउने बिप्लब त्रिपुराको मुख्यमन्त्री बन्ने
अगरतला, फागुन २२ । भारतको त्रिपुरा राज्यमा सम्पन्न विधानसभा चुनावमा भारतीय कम्यूनिस्ट पार्टी माक्र्सवादीलाई पराजित गर्न सफल बीजेपीका प्रदेश अध्यक्ष बिप्लब कुमार देव प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । अगरतलामा भएको सहयोगी पार्टीसहित बीजेपीका विधायकको बैठकले बिप्लबलाई नेता चुनेको हो । आदिवासी समुदायका जिष्णु देव बर्मन उपमुख्यमन्त्री हुने भएका छन् । ८ मार्चमा मुख्यमन्त्रीको सपथ हुने बीजेपीका केन्द्रीय पर्यवेक्षक तथा केन्द्रीय मन्त्री नितिन गडकरीले बताए । सपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित शाहको समेत उपस्थिति रहने समाचार भारतीय पत्रिका दैनिक भाष्करले प्रकाशित गरेको छ । त्रिपुराको उदयपुरमा जन्मिएका बिप्लबले पश्चिम त्रिपुराको बनमालीपुर सिटबाट चुनाव जितेका थिए । त्रिपुरा विश्वविद्यालयबाट स्नातक बिप्लब समाजसेवामा सक्रिय अनुहार हुन् । स्वच्छ छविका बिप्लबमाथि कुनै आपराधिक आरोप नलागेको समाचारमा जनाइएको छ । उनी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट मानिन्छन् । बिप्लबले त्रिपुराका ग्रामीण क्षेत्रमा सक्रिय भएर काम गरेका कारण युवाहरू उनीप्रति आकर्षित हुन्छन् । विगत २५ वर्षदेखि सत्तामा रहेको कम्यूनिस्ट सरकारलाई पराजित गर्दै बिप्लब त्रिपुरामा उदाएका हुन् । बीजेपी सत्तामा आए प्राकृतिक स्रोतको उपयोग गर्दै त्रिपुरालाई नमूना प्रदेश बनाउने प्रतिवद्धता बिप्लबले गरेका थिए । बिप्लबको पहलमा चुनावअघि धेरै कम्यूनिस्ट समर्थक कार्यकर्ता बीजेपीमा प्रवेश गरेका थिए ।
भारत प्रशासित काश्मीरमा पुनः तनाव
श्रीनगर, फागुन २२ । भारत प्रशासित काश्मीरको सोपियामा आइतबार राति चार जनाको मृत्यु भएपछि पुनः तनाव उत्पन्न भएको छ । काश्मीरको राजधानी श्रीनगरदेखि करिब ६० किलोमिटर टाढा दक्षिण काश्मीरको सोपियाको पहनु गाउँमा भएको विद्रोहीले आक्रमण गरेपछि जवाफी कारबाही गरेको र सो क्रममा एक जना आक्रमणकारी र अन्य तीन जना मारिएको सेनाले दाबी गरेको छ । सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले संयुक्त मोबाइल सवारी चेकपोस्टस्थित पहनु गाउँको इलाकामा केही चरमपन्थीले हमला गरेको र आक्रमणकारी गाडीमा आएको दाबी गरेका छन् । सेनाले आक्रमण भए पनि जवाफी कारबाही गरेको र त्यसमा एक चरमपन्थी मारिएको दाबीसमेत गरेको छ । आक्रमणकारीबाट सेनाले हतियारसमेत बरामद गरेको जनाएको छ । काश्मीरका पृथकतावादी नेताले भने हमलामा मारिएका तीन जना आमनागरिक भएको बताएका छन् । हुर्रियत कन्फ्रेन्सका अध्यक्ष मिरवाइज मुलबी उम्र फारुखले आफ्नो ट्वीटरमा सेनाले सोपियामा सवारीसाधनमा चढेर हिँडिरहेका तीन जना आमसर्वसाधारणको हत्या गरेको बताएका छन् । मारिएका तीन युवामा सुहैल खलिल, मोहम्मद शहिद खान र शाहनवाज अहमद रहेको बताइएको छ । उनले काश्मीरी जनताले भारतीय सुरक्षाफौजको यो बर्बरताको निन्दा गर्दै काश्मीर बन्दको घोषणा गरेका छन् । सो क्षेत्रमा युवाहरूको मृत्युपछि झडप र विरोध प्रदर्शन सुरु भएको छ । झडप र विरोध प्रदर्शनका कारण तनावको अवस्था सिर्जना भएको छ । काश्मीर विश्वविद्यालयका विद्यार्थीहरूले समेत सो घटनाको विरोधमा प्रदर्शन गरेका छन् । जम्मु काश्मीर पब्लिक सर्भिस कमिसनले सोमबार हुने केएएसको परीक्षा स्थगित गरेको छ । यसका साथै प्रशासनले श्रीनगरका केही इलाकामा आमजनतालाई बाहिर निस्कनसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सोमबार रेल सेवासमेत स्थगित गरिएको छ भने इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै
काठमाडौँ । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र द्विपक्षीय चासोका विषयमा विचारविमर्श गर्नुहुनेछ । साथै उहाँले प्रधानमन्त्री अब्बासीको सम्मानमा आज रात्रिभोजको आयोजना गर्नुहुनेछ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोलि मंगलबार शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नुहुनेछ । रासस
भारतमा दाईजो नपाएको झोकमा पत्नीको मिर्गौला गायब
काठमाडौं, फागुन २१ । भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् । मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान र देवर पक्राउ परेका छन् । दुई बर्षअघि पेट दुखेर अस्पताल भर्ना गरिएकी ती महिलाको ऐपेन्डिक्सको शल्यक्रियाका क्रममा पति र देवरले चिकित्सकको मिलेमतोमा मिर्गौला झिकेर बेचेका थिए । केही साताअघि उनको स्वास्थ्यबारे गरिएको दुई परीक्षणमा एउटा मिर्गौला झिकेको खुलासा भएको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
किम जोङ उनको नक्कली पासपोर्ट ?
काठमाडौं, फागुन २१ । उत्तर कोरियाली शासक किम जोङ उन र उनका पिता किम जोङ इलले १९९० मा ब्राजिलको नक्कली पासपोर्ट हासिल गरेका थिए भन्ने प्रमाण भेटिएको छ । समाचार एजेन्सी रोयटर्सलाई ती दस्ताबेजको फोटोकपी प्राप्त भएको छ, जसमा जोङ उनलाई जोसेफ पाग देखाइएको छ ।, यो खबर आजकोनयाँ पत्रिकामा छापिएको छ । जब कि पिताको नाम रिकार्डो र आमाको नाम मार्सेला लेखिएको छ । किम जोकिम जोङ उनका पिता किम जोङ इलको पासपोर्टमा उनको नाम आइजोङ तकोई बताइएको छ । ब्राजिलको एक सुरक्षा एजेन्सीले रोयटर्सलाई बताएको छ— चेक रिपब्लिकको राजधानी प्रागस्थित ब्राजिलको दूतावासबाट जारी गरिएका यी दस्ताबेज हेर्दा बिल्कुलै सक्कली देखिन्छन् । सुरक्षा एजेन्सीको अर्को एउटा सूत्रले बताएअनुसार यी दस्ताबेज पश्चिमी देशको भिसा हासिल गर्न गरिएको थियो । तर, भिसा जारी गरियो अर्थात् यी दस्ताबेज उपयोग गरिएका थिए भन्नेचाहिँ पुष्टि गर्न सकिन्न । तर, उत्तर कोरियाली सत्तारुढ परिवारलाई नक्कली दस्ताबेजको आवश्यकता किन प-यो ? के साँच्चै यस्तै भएको थियो ? ब्राजिलको पासपोर्टसित किम जोङ उनको परिवारको नाम जोडिएको यो नै पहिलोपटक होइन । २०११ मा अधिकारीहरूलाई उद्धृत गर्दै जापानी मिडियाले किम जोङ उन आफ्ना भाइ जोङ चुलका साथ ब्राजिलको दस्ताबेजका आधारमा टेकियोस्थित डिज्नेल्यान्ड गएको उल्लेख गरेका थिए । जोङ उनका सौतेनी दाइ जोङ नम २००१ मा डोमिनिकनको नक्कली पासपोर्टमा जापान प्रवेश गर्दै गर्दा पक्राउ परेका थिए । किमका लागि यसरी नक्कली पासपोर्ट प्राप्त गर्नु खासै ठूलो विषय होइन, तर उनीहरूलाई यस्ता पासपोर्टको आवश्यकता किन प-यो होला ? ९० को दशकमा उत्तर कोरियालाई संरक्षण दिइरहेको सोभियत संघको विघटन भइसकेको थियो । देशमा आन्तरिक रूपमा अनिकाल र शासकीय कठोरताका कारण बेहाल थियो । अर्बौं डलरको विदेशी ऋणमा डुबेको यो देश त्यतिखेर अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको थियो । पूरै विश्वमा शीतयुद्धपछिको कूटनीतिमा उत्तर कोरियाका मित्रको संख्यामा लगातार कमी आइरहेको थियो । यसबाट पनि यहाँका पासपोर्टको सीमित उपयोग थियो । यी सबका बाबजुद बेलायती सुरक्षा टिंक ट्यांक च्याथम हाउसका उत्तर कोरिया विशेषज्ञ डा. जोन निल्सन राइटलाई आफ्नो शासनको दोस्रो वर्षमै किम जोङ इल नक्कली पासपोर्टमा विदेश गएको विषयमा अचम्म लाग्छ । किमका लागि नक्कली पासपोर्ट प्राप्त गर्नु खासै ठूलो विषय होइन, तर उनीहरूलाई यस्ता पासपोर्टको आवश्यकता किन प-यो होला ? डा. राइटले बिबिसीको एक कार्यक्रममा भने– उनले यस्तो किन गर्न चाहेका होलान् र ? किम जोङ इल जोखिम उठाउन पटक्कै चाहँदैनथे । हामी सबैलाई थाहै छ कि उनले कैयौँ अवसरमा मस्को र बेइजिङको भ्रमण गरेका थिए । तर, त्यसका लागि उनलाई पासपोर्ट आवश्यक नपरेको हुन सक्ने निकै सम्भावना छ । यसबाट त यही लाग्छ कि यो उनी र उनका छोराको उत्तर कोरियाबाट सम्भावित रूपमा जोगिएर निस्किने बाटो बनाउने प्रयास पनि हुन सक्छ । ब्राजिल नै किन ? ब्राजिलका एक अधिकारीले २०११ मा अल जजिराका एक पत्रकारलाई बताएका थिए— ब्राजिलको असमान जनसंख्याका कारण आमधारणा यस्तो छ कि यस धर्तीमा कसैले पनि उचित रूपमा ब्राजिलियन भएको दाबी गर्न सक्छ र यही कारण हो, यहाँको पासपोर्टको माग अधिक छ । यो दाबी आज पनि सही नै छ । तर, यसको पुष्टिका लागि त्यति धेरै तथ्यांक उपलब्ध छैन । ब्राजिलको सरकार स्वयं यो स्विकार्छ कि २००६ मा व्यापक रूपमा सुरक्षा व्यवस्था अपनाउनुअघि ब्राजिलको नक्कली पासपोर्ट बनाउन निकै सजिलो थियो । किम सजिलै यसलाई प्राप्त गर्न सफल पनि भएका होलान् । किनकि, ब्राजिलमा ठूलो संख्यामा पूर्वी एसियाली मूलका मानिस बस्छन् । १९५०—५३ को विनाशकारी कोरियाली युद्धपछि उत्तर कोरियामा तीव्र विकास र पुनर्निर्माणको क्रममा कोरिया र चेकोस्लोभाकियाबीच आर्थिक र सहकारी सम्बन्ध विकसित भएको थियो ।
अफगानिस्तानमा सरकारी सेनाको कारवाहीमा ७० जनाको मृत्यु
काठमाडौं, फागुन २१ । अफगानिस्तानमा सरकारी सेनाले दुई दिनसम्म चलाएको सुरक्षा कारबाहीमा ७० जनाको मृत्यु भएको छ । सेनाले गरेको सुरक्षा कारबाहीमा परी ५० जना सरकारविरोधी लडाकू तथा २० जना इस्लामिक स्टेट आइएस समूह आवद्ध लडाकूको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता जनरल मोहम्मद रादमनिषले ५० जना सरकार विरोधी लडाकु र २० जना आइएस लडाकुको मृत्यु भएको जानकारी दिएका हुन् । कारबाहीमा २७ जना विद्रोही घाइते भएका छन् । सरकारी अधिकारीहरुले उत्तरी दारजव क्षेत्रमा भएको भिडन्तमा २० जना आइएस विद्रोहीको मृत्यु भएको जनाएका छन् । घटनामा कयौं घाइते भएका छन् । सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेर विद्रोहीलाई जाज्जन क्षेत्रबाट धपाएको दाबी गरेको छ । (एजेन्सी)
सिरियामा सहायता समाग्री पुर्याउने कठिनाई
काठमाडौं । राष्ट्रसंघका एक अधिकारीका अनुसार सिरियामा विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा सहायता सामाग्री पुर्याउन कठिनाई भएका बताएका छन् । करिब ४० वटा ट्रकहरू आज पूर्वी गुटाको एक प्रमुख नगर डोउमा पुर्याउने योजना थियो। दैनिक पाँच घण्टा युद्ध रोक्ने रुसी घोषणापछि त्यस क्षेत्रमा पुग्ने यो नै सहायता सामाग्रीको बोकेका सवारी साधनको पहिलो लस्कर हुने थियो। मानवीय सहायता पुर्याउनका लागि सिरियाभर युद्ध विराम गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले गरेको आह्वानलाई सम्मान गरिएको देखिंदैन। पूर्वी गुटाप्राप्त विवरणहरूमा जनाइएअनुसार सरकार पक्षीय लडाकुहरू अघि बढ्दै गर्दा स्थानीयवासीहरू सुरक्षित स्थान खोज्दै भागिरहेका छन्। शनिवार भएको भीषण लडाइँमा सरकार पक्षीय लडाकुहरूले थप उपलब्धि हासिल गरेको जनाइएको छ। दमास्कसदेखि पूर्वतिर पर्ने त्यो क्षेत्रमा अवस्था अत्यन्तै नाजुक रहेको बताइएको छ। सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स् का अनुसार सरकारी सैन्यले १० प्रतिशत भूभाग पुनः आफ्नो नियन्त्रणमा लिन सफल भएका छन्। राष्ट्रसंघका अनुसार सहायता सामाग्री बोकेका ट्रकहरूलाई पूर्वी गुटा क्षेत्र प्रवेश गर्ने अनुमति प्राप्त नभएपछि ती बाहिरै रोकिएका हुन्। पूर्वी गुटाको विद्रोही नियन्त्रित क्षेत्रमा करिब चार लाख मानिसहरू फसिरहेको बताइन्छ। एक साताअघि राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियामा युद्धविरामको लागि आह्वान गरेयता पूर्वी गुटा क्षेत्रमा एक सयजना भन्दा बढी गैरसैनिकहरूको ज्यान गइसकेको अनुगमन संस्थाहरूको भनाइ छ।बीबीसी
जर्मन चान्सलर मर्केलले चौंथो कार्यकालका लागि सरकार बनाउने
जर्मनी, फागुन २० । जर्मन चान्सलर एक्गेला मर्केल चौथों कार्यकालका लागि सरकार बनाउने भएकी छन् । जर्मनीमा विपक्षी सोसियल डेमोक्र्याट्स पार्टी क्रिश्चियन डेमोक्र्याट्स् पार्टीको गठबन्धनमा सहभागी हुने भएपछि चान्सलर एञ्गेला मर्केलले चौथो कार्यकालका लागि सरकार बनाउने भएकी छन् । योसँगै गत सेप्टेम्बरमा सम्पन्न चुनावपछिको पाँच महिना लामो राजनीतिक गतिरोध अन्त्य भएको छ । सोसियल डेमोक्र्याट्स्को नेतृत्व पंक्ति मर्केल सरकारको गठबन्धनमा सहभागी हुने र गठबन्धनको विपक्षमा रहेको चरमपन्थी युवा समूह गरि दुई धारमा विभाजित थियो । एसडीपीको समर्थनसँगै मर्केलको क्रिश्चियन डेमोक्र्याट्स पार्टीको गठबन्धनको पक्षमा ६६ प्रतिशत मत पुगेको छ भने विपक्षमा ३३ प्रतिशत रहेको छ । मर्केल १२ वर्ष देखि सत्तामा छिन् । उनले अब विभिन्न चुनौतिसँगै आप्रवासी विरोधी अल्टरनेटिभ फर जर्मनी पार्टीको चुनौतिसमेत सामना गर्नु पर्नेछ ।
त्रिपुरामा कम्युनिष्ट २५ वर्षपछि सरकार बाहिर, भाजपाकाे चमत्कारिक जित
नयाँदिल्ली । पूर्वोत्तर भारतीय राज्य त्रिपुरामा पछिल्लो २५ वर्षमा पहिलो पल्ट वामपन्थीहरु सत्ताबाट बाहिर भएका छन् । ६० सदस्यीय विधानसभाका ५९ सीटका लागि भएको चुनावको मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत प्राप्त गरेको छ । सन् १९९३ देखि निरन्तर शासन गर्दै आएको मार्क्सवादी कम्युनिस्ट पार्टी निकै कमजोर अवस्थामा देखा परेको छ । केन्द्रमा बहुमतको सरकार चलाइरहेको भाजपाको यो जित भने चमत्कारिक नै मानिएको छ । त्रिपुरामा सन् २०१३ मा भएको निर्वाचनमा ५० स्थानमा प्रतिस्पर्धा गरेका भाजपाका ४९ जना उम्मेदवारको जमानत जफत भएको थियो । भाजपा निल थियो । उक्त निर्वाचनमा माकपाले ४९, कांग्रेसले १० र अन्यले एक सिट हात पारेका थिए । त्रिपुरामा पछिल्लो २० वर्षदेखि माणिक सरकार मुख्यमन्त्रीको रुपमा सरकारको नेतृत्व गरिरहेका छन् । स्वच्छ छवि भएका नेताको रुपमा चिनिएका सरकारको लोकप्रियतामा खासै कमी आएको नदेखिए पनि चुनावी नातिजाहरूले उनलाई सत्ताबाट बाहिर राखिदिएको छ । सन् २०१३ मा १.३ प्रतिशत मत मात्र प्राप्त गर्न सफल भाजपाले यसपाली झण्डै ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने देखिएको छ । उसले यस निर्वाचनमा क्षेत्रीय दल इंडिजिनस पिपुल्स फ्रंट अफ त्रिपुरा (आईपिएफटी) सँग गठबन्धन गरेको छ । पछिल्लो मत परिणाम अनुसार त्रिपुरा राज्यमा भाजपा ३८ स्थानमा विजयी भइसकेको छ भने अ पाँच स्थानमा अगाडि छ । त्यसै गरी २५ वर्ष एकलौटी सरकार चलाएको कम्युनिष्ट पार्टी ११ स्थानमा विजयी भएको छ भने अन्य पाँच स्थानमा अगाडि रहेको छ । भने कांग्रैस नील छ ।

