अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशमन्त्री बर्खास्त

काठमाडौं, फागुन २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्री रेक्स टेलर्सनलाई बर्खास्‍त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सी (सीआइए) का प्रमुख माइक पेम्पोलाई मंगलबार विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।

वर्तमान कार्यकाल देशको आर्थिक विकासका लागि उपलब्धी मूलक : राष्ट्रपति पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास भएको दाबी गरेका ५न्हो । उनले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर नै भएको दाबी पनि गरेको बताइएको छ । राष्ट्रपति पुटिनले अमेरिकी ब्रोडकास्टर एनबिसीलाई हालै दिएको एक अन्तरवार्तामा सो दाबी गरेको समाचारमा जनाइएको छ । उनले सो अन्तरवार्तामा भनेका छन्, ‘हाम्रो ठूलो उपलब्धि भनेको यही हो कि हामीले यस अवधिमा देशको आर्थिक विकासमा ठूलो बृद्धि गरेका छौँ र यसलाई रुसी जनताले पनि प्रत्यक्ष रुपमा अनूभूति गर्न पाएका छन् ।’ उनले रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको र यो गएका केही वर्षयता निकै उपलब्धिमूलक रहेको पनि बताए । देशमा भएको आर्थिक बृद्धिका कारण रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्या पनि घटेको दाबी उनले गरे। उनले भने– देशमा उल्लखनीय रुपमा आर्थिक विकास जारी छ र यसले गर्दा यहाँको गरिबी पनि आधाले घटेको छ । राष्ट्रपति पुटिनले देशको गरिबीलाई कमगर्न, गरिब र धनीबीचको अन्तरलाई पनि कम गर्ने कार्यक्रमहरु सुरु गरेको अन्तर्वार्तामा बताएका छन् । सिन्ह्वा

शक्तिशाली बन्दै सी, आजीवन पदमा बस्न सक्ने

काठमाडौं, फागुन २८ । चिनियाँ राष्ट्रपति सी जिनपिङ थप शक्तिशाली बन्ने भएका छन् । संविधानमा राष्ट्रपति पदमा बहाल रहने समयसीमासम्बन्धी व्यवस्था हटाइएसँगै उनी शक्तिशाली बन्ने भएका हुन् । दुइ कार्यकालमात्रै राष्ट्रपति पदमा बस्न पाउने देशको संवैधानिक व्यवस्थाको अन्त्य गर्ने संविधान संशोधनलाई आईतबार चिनियाँ संसद् नेसनल कांग्रेसले पारित गरेको छ । अव राष्ट्रपति सी अनिश्चित हालसम्म सत्तामा रहिरहन सक्ने सम्भावन बढेको छ ।

किम जोङ उन र डोनाल्ड ट्रम्पबीचको भेटवार्ता ‘चुनौतिपूर्ण’: माइक पोम्प

काठमाडौं, फागुन २८ । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ताका चुनौतीबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा भएको बताएका छन् । उनले चुनौतीको सामना गर्दै समस्या समाधानमा राष्ट्रपति ट्रम्प लागेको बताए । यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग हुने वार्ताले सबैभन्दा ठूलो सम्झौता दिने बताएका थिए । वार्ता असफल भएमा त्यसले दुई मुलुकबीच ठूलो संकट निम्त्याउने उनको भनाइ थियो । सिआईएका निर्देशक पोम्मले उत्तर कोरियाको चुनौती सामना गर्न दूरदृष्टि आवश्यक रहेको पनि बताए । उनले उत्तर कोरियालाई वार्तामा ल्याउन अमेरिकी नेतृत्वको नाकाबन्दीले बाध्य बनाएको दाबी गरे । नाकाबन्दीकै कारण उत्तर कोरियाको आर्थिक अवस्था कमजोर हुँदै गएपछि उसलाई दबाब बढेको उनको भनाइ थियो ।

भारतलाई पनि अमेरिकी राष्ट्रपति ट्रम्पले दिए यस्तो धम्की

काठमाडौं, फागुन २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख साझेदारमध्ये एक भारतलाई करको विषयमा धम्की दिएका छन् । जापान र बेलायतपछि प्रमुख ब्यापारिक साझेदार मानिएको भारतलाई ट्रम्पले दिएको यो धम्कीले दुई देशबीचको सम्बन्धमा पनि तनाव बढ्न सक्ने अनुमान गरिएको छ। अमेरिकालाई आफ्नो प्रमुख प्रतिस्पर्धी चीनसँगै जोडेर भारतलाई पनि अमेरिकी कम्पनीहरु माथिको कर नघटाए आफ्नो देशमा रहेका कम्पनीमाथि पनि दोब्बर कर थोपरिदिने धम्की दिएका हुन् । ट्रम्पले यी दुई देशमा रहेका अमेरिकी कम्पनीमाथि लगाइएको कर घटाउनै पर्ने यदि नघटाइए त्यसविरुद्ध आफूले कडा कदम चाल्न बाध्य हुने उल्लेख गरेका छन् । व्हाइट हाउसको कार्यक्रममा बोल्दै उनले भने, ‘हामी बराबरीको करण प्रणाली लागू गर्न सक्छौँ । यदि उनीहरु २५,५० या ७५ प्रतिशत कर थोपर्छन् भने हामी पनि उनीहरुकै बराबरको कर उनीहरुबाट असुल्न जान्दछौँ । यदि उनीहरु हामीसँग ५० लिन्छन् भने हामी पनि उनीहरुबाट ५० प्रतिशत असुल्छौँ ।’ पछिल्लो केही समयदेखि ट्रम्पले अमेरिकाबाट आयात गरिने महँगो मोटरसाइकल हार्ले डेभिडसनमाथि ५० प्रतिशत कर लगाएकोबारेमा भारतमाथि प्रश्न उठाइरहेका छन् । ट्रम्पले आफूहरुले भारतबाट आयात गर्ने मोटरसाइकलमा पनि त्यसरी कर नलागएको जिकिर गरेका छन् । उनले अगाडि भने, ‘चीन र भारत इस्पातमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत आयात शुल्क लगाइरहेका छन् ।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

रोहिंज्यालाई सहयोग गर्न एक अर्ब डलर आवश्यक

काठमाडौं । म्यानमारमा भएको सैन्य कारबाहीबाट बच्न भागेर बांग्लादेश पुगेका लाखौँ रोहिंज्या शरणार्थीहरूका लागि मानवीय सहायता पुर्याउन झण्डै एक अर्ब डलर आवश्यक भएको संयुक्त राष्ट्रसंघले बताएको छ। स्वीट्जरल्याण्डको जेनेभामा आगामी हप्ता हुने बैठकमा ‌सहयोगका लागि ‌औपचारिक आह्वान गरिने संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक मिया सेप्पोले बीबीसीलाई बताइन्। उनले भनिन्, ‘खानेकुरा, आश्रय, सरसफाइ तथा स्वास्थ्य सेवा रोहिंज्या शरणार्थीहरूलाई प्रदान गर्नका लागि राष्ट्रसंघले ताजा आह्वान गर्दैछ। शरणार्थीहरूलाई घरफिर्ती गराउनका लागि अझ कति समय लाग्छ भन्ने स्पष्ट छैन।’ सात लाखभन्दा बढी शरणार्थीहरूले म्यानमारसँगको बांग्लादेशी सीमा नजिकका क्षेत्रका शिविरहरूमा आश्रय लिइरहेका छन्। म्यानमारको रखाइन राज्यमा सैन्य कारबाही चर्किएपछि धेरैजसो शरणार्थीहरूले थोरै सरसामान बोकेर बांग्लादेश प्रवेश गरेका थिए र बाँच्नका लागि पूर्णतः उनीहरू सहायता निकायहरूमाथि नै निर्भर छन्। ठूलो संख्यामा प्रवेश गरेका शरणार्थीका कारण स्थानीय मानिसहरु तथा वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई सीमित पार्न चाहेको पनि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सेप्पोले उल्लेख गरिन्। विशेषगरी वर्षायाममा बाढी र पहिरोको जोखिममा रहेका करिब एक लाख शरणार्थीलाई स्थानान्तरण गर्न आफूहरूले चाहेको पनि अधिकारीहरूले बताएका छन्। गत वर्षको अन्त्यमा रोहिंज्या शरणार्थीहरूको घरफिर्तीका लागि बांग्लादेश र म्यानमारबीच एउटा सम्झौता भएको थियो तर घरफिर्ती प्रकिया रोकिए जस्तो देखिन्छ। बीबीसी

ट्रम्प र किम जोङ उनबीचको भेटवार्ता अघि अमेरिकाले राख्यो केही सर्त

काठमाडौं, फागुन २६ । अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको बहुचर्चित भेटवार्ताका बारेमा केही सर्त अघि सारेको छ । अमेरिकाले भेटवार्ता गर्नुअघि केही ठोस कदम उत्तर कोरियाले चाल्नुपर्ने सर्त अघि सारेको हो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गरेपछि मात्र राष्ट्रपति ट्रम्पले भेटवार्ता गर्ने बताएका छन् । यसअघि उत्तर कोरियाली नेता किमले पठाएको निमन्त्रणापत्र स्वीकार गर्दा ट्रम्पले कुनै सर्त राखेका थिएनन् । ह्वाइट हाउसका प्रवक्ता सेरा सेन्डर्सले पत्रकार सम्मेलन गर्दै उत्तर कोरियाले यसअघि गरेका प्रतिबद्धता पूरा नगरेसम्म राष्ट्रपति ट्रम्पसँग भेटवार्ता नहुने बताए । तर उनले उत्तर कोरियाले कस्ता प्रतिबद्धता पूरा गर्नुपर्ने र के कदम चाल्नुपर्ने भन्ने स्पष्ट पारेनन् । उनले उत्तर कोरियाको बोली र व्यवहारबीचको अन्तर भने हुन नहुने बताए । सेन्डर्सले उत्तर कोरियाले परमाणु हतियार त्याग्ने र मिसाइल परीक्षण गर्न बन्द गर्ने प्रतिबद्धता यसअघि जनाएको बताए । उनले अमेरिकाको सैन्य अभ्यास भने जारी रहने बताए ।

भारतः अदालतद्वारा ‘इच्छामरण’ लाई सशर्त मान्यता प्रदान

काठमाडाैं । भारतको सर्वोच्च अदालतले मानिसहरूमा सम्मानका साथ मर्न पाउने अधिकार रहेको भन्दै अन्तिम अवस्थामा पुगेका बिरामीहरूले इच्छामरण रोज्न सक्ने फैसला गरेको छ। यसको अर्थ केही निश्चित शर्तहरूको पालना गरेको खण्डमा त्यस्ता व्यक्तिहरूलाई कृत्रिम ढंगले जीवित राखिरहने उपचार बन्द गरिदिन सकिनेछ। साथै अदालतले मानिसहरूले ‘लिभिङ विल’ भनिने इच्छापत्र लेख्न सक्ने फैसला गरेको छ। त्यस्तो इच्छापत्रमा उनीहरूले आफू कथंकदाचित ‘भेजेटेटिभ स्टेट’ अर्थात् पूर्णत: निष्क्रिय र अचेत अवस्थामा पुगेको खण्डमा कृत्रिम ढंगले मात्र जीवित राख्ने उपचारविधि नअपनाइयोस् भन्न सक्नेछन्। कसरी ‘प्यासिभ युथेनेजिया’मा उल्लिखित कडा निर्देशिकाहरू पालना गर्दै बिरामीलाई प्रदान गर्दै आएको उपचार रोकिन्छ र मृत्युवरण गर्न सहज पारिन्छ। अन्तिम अवस्थामा अनि अचेत अवस्थामा भएका बिरामीहरुले मात्र इच्छामरण वरण गर्न पाउने कानुनी व्यवस्था ल्याइएको हो। साथै गम्भीर रूपमा बिरामी भएमा आफ्नो उपचार कसरी गराउने भन्ने विषय पनि सो इच्छामरणको पत्रमा उल्लेख गर्न सकिनेछ। न्यायाधीशहरूले भनेका छन्, “सम्मानका साथ मर्न पाउनु पनि मौलिक अधिकार हो। साथै इच्छामरणसम्बन्धी इच्छापत्रमार्फत् कसैले पूर्व जानकारी गराएमा त्यो अदालतले अनुमोदन गर्न सक्नेछ।” स्वागत गम्भीर प्रकारको रोग लागेका बिरामीहरूले सम्मानपूर्वक मर्न पाउनुपर्छ भनेर अदालतमा पुगेका निवेदनकर्ताहरूले सर्वोच्चको फैसलाको स्वागत गरेका छन्। “आजको फैसला ‘ऐतिहासिक’ हो किनकि यो यस्तो समयमा आएको छ जतिबेला बिरामीलाई कृत्रिम माध्यममार्फत् चिकित्सा विज्ञानले जीवित राख्न सक्छ। अनि त्यसैको आडमा अस्पतालहरूले पैसा असुली रहन्छन्,” इच्छामरणका लागि वकालत गर्दै आएको ‘कमन कज’ नामक समूहका प्रमुख विपुल मुद्गलले बीबीसीलाई बताए। तर अदालतहरूले इच्छामरणसम्बन्धी पत्र दबाबमा लेखिएको होइन भनेर कसरी निधो गर्छन् भन्ने अझै अस्पष्ट छ। पृष्ठभूमि सन् २०११ मा भारतको सर्वोच्च अदालतले विशेष परिस्थितिमा गम्भीर रोगका बिरामीहरूको प्राण जोगाउनका लागि दिइने कृत्रिम चिकित्सा सहयोग बन्द गर्न सकिने फैसला गरेको थियो। सन् २०१५ मा ४० वर्षभन्दा बढी समयसम्म अचेत अवस्थामा रहेकी अरुणा शानबागको मृत्युपछि भारतमा इच्छामरणबारे बहस सुरु भएको हो। उनलाई मर्न दिन गरिएका निवेदन अदालतले अस्वीकार गरेको थियो। सन् १९७३ मा मुम्बईस्थित एक अस्पतालमा कर्मचारीबाट ‍बलात्कार भएपछि शानबागको मस्तिष्कमा गम्भीर क्षति पुगेको र उनलाई पक्षाघात भएको थियो। बीबीसी

भारतद्वारा दुई सय नेपाली विधार्थीलाई छात्रवृति प्रधान

काठमाडौं, फागुन २५ । भारत सरकारले दुई सय नेपाली विद्याथीलाई अध्ययनका लागि छात्रवृति प्रधान गरेको छ । ठमाडौंस्थित भारतीय दूतावासले नेपालमा अध्ययनरत दुई सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। गोल्डेन जुब्ली छात्रवृत्ति शीर्षकमा भारतीय दूतावासले दश जोड दुई र स्नातक तहमा अध्यनरत दुई सय विद्यार्थीलाई शुक्रबार यो छात्रवृत्ति प्रदान गरेको हो। भारतीय राजदूत मञ्जिबसिंह पुरीले छात्रवृत्ति पाएका विद्यार्थीले राम्रो अध्ययन गरेर नेपालका लागि गर्व गर्न लायक काम गर्ने विश्वास व्यक्त गरे। छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल–भारतबीच विशेष सम्बन्ध रहेको चर्चा गरे।

लेनिनको शालिक ढालिएपछि महात्मा गान्धीको शालिकमाथि आक्रमण

नयाँदिल्ली । भारतको त्रिपुरा प्रदेशमा कम्यूनिस्ट पार्टी पदच्यूत भएर भारतीय जनता पार्टी ९भाजपा० विजयी भएपछि लेनिनको शालिक ढालियो । जसबाट कम्यूनिस्ट समर्थक सर्वसाधारण आक्रोशित भए । त्यसपछि भारतमा ‘शालिक युद्ध’ नै चलेको छ । भारतीय राजनैतिक व्यक्तित्वका शालिकहरु आक्रमणको चपेटामा परेका छन् । पछिल्लो पटक भारतमा राष्ट्रपिता मानिने माहात्मा गान्धीको शालिकमाथि आक्रमण भएको छ । दक्षिणी राज्य केरलामा गान्धीको शालिक आक्रमणमा परेको हो । केही युवाले शालिकमाथि ढुंगा प्रहार गरेर शालिकको चस्मा फुटाइदिइएका छन् । आक्रमणको शुरुवात भारतको उत्तरपुर्वी राज्य त्रिपुराको प्रदेश चुनावमा भाजपाको विजयपछि लेनिनको शालिक ढालेर शालिकको टाउको फुटबल खेलेको खबर आएपछि भएको हो । सो चुनावी परिणामले २५ वर्षीय कम्युनिष्ट शासनको अन्त्य गरेको थियो । त्यसपछि भाजपाका प्रतिद्वन्द्वीले अरु शालिकमाथि आक्रमण गर्न थाले । यसमा हिन्दु राष्ट्रवादी श्यामा प्रसाद मुखर्जी, दलित नेता अम्बेडकरको शालिक आक्रमणको शिकार भए । यसपछि भारतभर थप शालिक हमला हुन थालेका छन् । गान्धीको शालिकमाथि आक्रमणमा भने राजनैतिक दलहरु एकअर्कोलाई आरोप लगाइरहेका छन् । विगतमा यस्ता विवादलाई वेवास्ता गर्ने गरेको आरोप लाग्ने गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शालिक माथिको हमला तत्काल रोक्न निर्देशन दिएका छन् । भारतीय पत्रिकाहरुले भाजपाका राष्ट्रिय अध्यक्ष तथा मोदीका दाहिने हात मानिने अमित शाहले आफ्नो पार्टीको स्थानीय नेतालाई पार्टीका उग्रकार्यकर्तामाथि निगरानी राख्न माग गरेको रिपोर्ट दिएका छन् । ‘पछिल्लो समय भइरहेको शालिकमाथिको हमला निक्कै दुभाग्यपूर्ण रहेको छ । हाम्रो पार्टी कसैको पनि शालिक ढाल्ने कुराको समर्थन गर्दैन,’ शाहले भने । शाहले यसो भने पनि विपक्षी पार्टीहरुले स्थानीय भाजपाका कार्यकर्ताहरुले ‘शालिक युद्ध’ सुरु गरेको आरोप लगाउँछन् । मोदीको अपार लोकप्रियता र भाजपाको सफल चुनाव रणनीतिले गर्दा भाजपाले हाल भारतका २९ राज्यमध्ये २१ राज्यमा सरकार बनाउन सफल भएको छ । सन् २०१४ मा केन्द्रिय सत्तामा आउनुअघि उसको ७ राज्यमा मात्र सरकार थियो । लेनिनको शालिक ढालिएको केही घण्टा दक्षिणपन्थीहरुले सो घटनालाई न्यायोचीत ठहर्याउने प्रयासमा लागे । भाजपा नेता शुब्रमन्नियम स्वामीले रुसी नेतालाई आतंकवादीको आरोप लगाए । ‘यस्तो मान्छेको शालिक हाम्रो देशमा हुनु सही हो रु’ उनले प्रश्न गरेका थिए । तर, केही समयमै तनाव त्रिपुराबाहिर विस्तार भयो । कलकत्तामा विपक्षी समर्थकहरुले श्याम प्रसाद मुर्खजीको अर्धशालिकको अनुहार बिगारिदिए । १९५१ मा तत्कालीन कङ्ग्रेस सरकार छाडेर नयाँ पार्टी खोलेका मुर्खजीको सोही पार्टी कालान्तरमा भाजपामा विकसित भएको थियो । उनी हिन्दू राष्ट्रवादीमाझ लोकप्रिय मानिन्छन् । त्यसको केही पछि उत्तर प्रदेशको मिरुतमा दलित नेता अम्बेडरको शालिक भत्काइयो । आफ्ना नायकको मुर्तिमाथि भएको हमलाको विरोधमा स्थानीय दलितले सडक बन्द गराए । प्रशासनले अम्बेडकरको शालिक पुनस्र्थापना गर्ने प्रण गरेपछि मात्र बन्द फिर्ता भएको थियो । उग्र हिन्दू राष्ट्रवाद ब्राण्ड बोकेको भाजपाको विजयको लहरले भारतमा धार्मिक र जातीय अल्पसङ्ख्यकमाथि घृणाको आक्रमण बढेको आलोचकको भनाई रहेको छ । आलोचकहरुले ‘शालिक युद्ध’लाई भारतमा बढेको असहिष्णुताको अर्को उदाहरण बताएका छन् । विपक्षी त्रिणमुल कङ्ग्रेसका नेता डेरेक ओब्रायनले भने, ‘यो अत्यन्त लज्जास्पद कुरा हो । हामी पनि लेनिनको दर्शनलाई समर्थन गर्दैनौँ तर, लडाईं राजनैतिक मैदानमा हुनुपर्छ ।’

चर्चित शत्रु ट्रम्प र किमबीच मे महिनामा भेटवार्ता हुने

काठमाडौं । विश्वभरि चर्चामा रहेका दुई शत्रु ट्रम्प र किमबीच आगामी मे महिनामा भेटवार्ता हुने भएको छ । उत्तर कोरियाली नेता किम जोङले दक्षिण कोरियामार्फत् छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेपछि २ देशबीच संवादको ढोका खुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङले ह्वाईट हाउसमा भनेका छन्– ‘आउदो मे महिनामा ट्रम्पले किम जोङ उनसँग भेट्दैछन् ।’ चुँगको भनाइ अनुसार किमले भविष्यमा परमाणु बम एवं मिसाइल टेस्ट नगर्ने आश्वासन दिएका छन् । यो घोषणा दक्षिण कोरियाली प्रतिनिधिमण्डलको यसै हप्ता उत्तर कोरियाका नेतासँग संवाद भएपछि भएको हो । एक प्रेस वार्तामा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले भनेका छन्– ‘हामीले राष्ट्रपति ट्रम्पलाई भनेका छौं किम जोङ उन परमाणु निसस्त्रीकरणमा प्रतिबद्ध छन् ।’ सो जानकारीको जवाफमा राष्ट्रपति ट्रम्पले मेमा किम जोङ उनसँग भेटेर स्थायी परमाणु निसस्त्रीकरण हासिल गर्ने बताएका छन्। उत्तर र दक्षिण कोरियाबीच विन्टर ओलम्पिकपछि सम्बन्ध सुधारको सम्भावना देखिएको थियो ।

गुटामा अझै पुगेन सहायता सामग्री

दमासकस, फागुन २५ हिंसा जारी रहेको सिरियाको पूर्वी सहर गुटामा बिहीबार गर्ने भनिएको मानवीय सहायता कार्यक्रम हिंसाका कारण रोकिएको छ । गुटामा जारी द्वन्द्वका कराण त्यहाँ पुग्न सकिने अवस्था नरहेकाले कार्यक्रम नै स्थगित गरिएको रेडक्रसको इन्टरनेसनल कमिटी (आईसीआरसी) ले जानकारी दिएको छ । यस्तो अवस्थामा मानवीय सहयोगको यो कार्य अघि बढाउन नसकिने भएको हुनाले स्थगित गरिएको आईसीआरसीका प्रवक्ता इन्गी सेदकीले बताएका छन् । गत सोमबार पनि सिरियाको गुटा क्षेत्रनजिकै पुगेका संयुक्त राष्ट्रसंघीय सहायताकर्मीको एक समूहले सहायता वितरणको आÏनो कार्यक्रम छोट्याउनुपरेको थियो । सो क्षेत्रमा केही साता यतादेखि हिंसा जारी रहेका कारण मानवीय सहायताका लागि सोमबार गुटानजिकैको क्षेत्रमा पुगेर सहायताकर्मीले अत्यावश्यकीय सामान भने सानै मात्रामा मात्र वितरण गर्न पाएका थिए । हिंसाको त्रास नरोकिएको भन्दै उक्त संस्थाले आÏना कार्यक्रमलाई छोट्याउन लागेको बताइएको थियो । सिरियाको गुटामा अझै पनि सिरियाली सैनिकको हवाई हमला रोकिएको छैन । गएका दुई साता यतादेखि गुटा सहरमा जारी रहेको द्वन्द्वका कारण साहायताकर्मी पनि पुग्न सकेका छैनन् । युद्धको चेपुवामा करिब ४ लाख मानिस परेका छन् र ती पनि खानेकुरा नपाएर मरिरहेका बताइएको छ । रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री पनि उपलब्ध गराउन नसकिएको जानकारी यसअघि राष्ट्रसंघले दिँदै आएको थियो । गुटामा जारी रहेको हिंसाको पछिल्लो तथ्यांकअनुसार गएको दुई सातायता मात्र सो क्षेत्रमा ७६० जना सर्वसाधारण मारिएका बताइएको छ । सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वका क्रममा गुटामा भएको यो हिंसालाई एउटा ठूलो रक्तपातपूर्ण कारबाहीको रूपमा हेरिएको छ ।

उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न अमेरिकी राष्ट्रपति ट्रम्प तयार

वासिंटन, फागुन २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जोन उनसँग भेटवार्ता गर्न तयार भएका छन् । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यु–योङलाई ह्वाइट हाउसमा भेट्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न आफू तयार रहेको बताएका हुन् । उनले आगामी मेसम्म भेटवार्ता हुनसक्ने पनि बताए । उत्तर कोरियाली नेता किमले आफ्नो आणविक कार्यक्रम रोक्ने जनाएपछि ट्रम्पले भेटवार्ता गर्ने बताइएको हो । राष्ट्रपति ट्रम्पसँगको भेटपछि दक्षिण कोरियाली सुरक्षा सल्लाह योङले उत्तर कोरियाले यसै हप्ताभित्र आणविक कार्यक्रम स्थगित गर्ने घोषणा गर्नेसमेत बताए । उनले आफ्नो देशको प्रतिनिधिमण्डलले उत्तर कोरियाली नेतासँग कुरा गर्दा आणविक कार्यक्रम स्थगित गर्न तयार रहेको बताएको जानकारी दिए । (एजेन्सी)

साउदीमा महिलाले निकाले ऐतिहासिक पदयात्रा

साउदी, फागुन २५ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साउदी अरबका महिलाले ऐतिहासिक पदयात्रा निकालेका छन् । जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । साउदी अरबमा यति ठूलो संख्यामा महिलाको सहभागितामा पदयात्रा निकालिएको पहिलो पटक भएकाले यसलाई अधिकारवादीहरूले ऐतिहासिक भएको बताएका छन् । महिलाको स्वास्थ्य, जीवनशैली र वातावरणीय उत्थानका लागि भन्दै जेद्दाह सरकारले पदयात्राको आयोजना गरेको जनाएको छ । (एजेन्सी)

अमेरिकी एक स्कूलमा फेरि गोली प्रहार

काठमाडौं, फागुन २४ । अमेरिकाको अलाबामा राज्यको एक माध्यमिक विद्यालयमा दुईजना विद्यार्थीमाथि गोली हुँदा एक जनाको मृत्यु भएको छ । भने अर्का एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बर्मिंघम सिटी स्कूलले जारी गरेको वक्तव्यमा गोलीकाण्डमा दुई विद्यार्थी मात्र संलग्न थिए । घटनापछि विद्यालय केही समयका लागि बन्द गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । बर्मिंघम प्रहरी सर्जेन्ट ब्रायन शेल्टनले एक टेलिभिजनलाई बताएअनुसार, अनुसन्धानकर्ताहरूले दुर्घटनावश गोली चलेको हुनसक्ने बताएका छन् ।

भारतले ५० हजार भूकम्प पीडितका घर निर्माण गर्ने

काठमाडौं, फागुन २४ । भारत सरकारले भूकम्पमा क्षति भएका गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माणको लागि सहयोग गर्ने भएको छ। यूएनडीपी र यूएनओपीएसको साझेदारीमा गोरखाका २६ हजार ९१२, नुवाकोटका २३ हजार ८८ वटा घर पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने भएको हो। बिहीबार भारतीय राजदूतावासका डीपूटी मिसन चीफ डा अजयकुमार र यूएनडीपीका कन्ट्री डाईरेक्टर रेनोड मेयर, यूएनओपीएसको एसिया रीजनका डाईरेक्टर संजय माथुरले भूकम्पबाट भत्किएका घर निर्माणको साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्। नेपालको सरकार नियम अनुसार भूकम्प पीडितको घरको पुनर्निर्माण गरिनेछ। हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय तथा सहरी विकास मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।