अमेरिकी ईमेल ह्याक प्रकरणमा ‘पुटिनको संलग्नता’: प्रतिवेदन

वासिङटन (अमेरिका),  । अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्धता भएका संस्थाका ईमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने कार्यमा रसिया र यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता रहेको हुनसक्ने प्रशस्त आधार भेटिएका अमेरिकी गुप्तचर रिपोर्टमा पाइएको गुप्तचर अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युज टेलिभिजनले बुधबार जनाएको छ ।

कसरी डेमोक्र्याट्स पक्षका ईमेल सामग्री ह्याक गर्ने र यिनलाई सार्वजनिक गरी उनीहरुविरुद्ध प्रयोग गर्ने भन्ने योजनाका लागि रसियाली राष्ट्रपति पुटिनले निर्देशन दिनुभएको गुप्तचर रिपोर्टमा भएको उक्त अमेरिकी टेलिभिजनले जनाएको छ ।

टेलिभिजनले अमेरिकी गुप्तचर संस्था (सीआईए) का वरिष्ठ अधिकारीले ह्याककाण्डमा पुटिनको समेत संलग्नता रहेको सूचना सीआईएसँग सुरक्षित रहेको बताएका जनाएको थियो । अधिकारीले पछिल्लो विश्लेषणको आधारका लागि आफूहरुसँग विश्वासिला प्रमाण रहेका पाइएको एनबीसीले जनाएको छ ।

यसै सन्दर्भमा रसियाली राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीसँग सङ्क्षिप्त जवाफ दिँदै ‘रिपोर्ट बेतुकका सन्दर्भको आधारहीन व्याख्या’ मात्र भएको बताउनुभयो ।

गतहप्ता वासिङ्टन पोस्टले अमेरिकी ईमेललाई रसियाद्वारा ह्याक गरी सार्वजनिक गरिदिएको भन्ने सीआईएको विश्लेषणसहितको रिपार्ट छापेपछि यस विषयले विश्वभर चर्चा पाएको थियो । सीआईए रिपोर्टमा ईमेल ह्याक गरी रसियाले रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई जिताउन प्रयोग गरिएको प्रशस्त आधार भेटिएको बताइएको पोस्टले जनाएको थियो ।  सन् २०११ मा रसियाली संसदीय निर्वाचनमा पुटिनको इमान्दारितामाथि प्रश्न गर्दै तत्कालीन अमेरिकी विदेशमन्त्री क्लिन्टनले धारणा व्यक्त गर्नुभएको थियो । पुटिनले क्लिन्टनविरुद्ध विवादास्पद ईमेल सार्वजनिक गरी बदला लिन खोजेको विश्लेषकहरुको बुभाइ छ । रासस

न्यूजिल्याण्डमा नयाँ प्रधानमन्त्रीले शपथ लिए

मंसिर २७ । न्यूजिल्याण्डमा नयाँ प्रधानमन्त्रीको रुपमा विल इङ्लिसले शपथ लिएका छन् । गत हप्ता जोन किले पारिवारिक कारण देखाउँदै अप्रत्यासित रुपमा राजिनामा दिएपछि इङ्लिस नयाँ प्रधानमन्त्रीको रुपमा उदाएका हुन् । जोन नेतृत्वको सरकारमा इङ्लिस उपप्रधान तथा अर्थमन्त्री थिए । इङ्लिसले प्रधानमन्त्रीको जिम्मेवारी निभाउन उत्साहित रहेको भन्दै नेसनल पार्टीको नयाँ नेतृत्व सम्हाल्न पाएकोमा आभार व्यक्त गरेका थिए । इङ्लिसले सन् १९९० देखि संसद् सदस्य हुँदै विभिन्न मन्त्रालय सम्हालि सकेका छन् ।

ट्याङकर र सवारी साधन ठोक्किँदा विस्फोट, ३० भन्दा बढीको मृत्यु

नैरोबी, मङ्सिर २७ । केन्याको नैभाशा सहरको बाहिरी इलाकामा एउटा पेट्रोल ट्याङकर अर्को सवारी साधनसँग ठोक्किँदा भएको विस्फोटमा ३० भन्दा बढीको मृत्यु भएको छ । ‘नैरोबी—नैभाशा सडक खण्डमा भएको दुर्घटनामा करिव ३० भन्दा बढीको मृत्यु भएको छ, अरु कैयौ घाइते भएका छन्, ट्याङकरले ठक्कर दिँदा ११ वटा सवारी साधनमा क्षति पुगेको छ,’ केन्याको राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइले आईतबार जारी गरेको वक्तव्यमा लेखिएको छ । ट्याङकरका चालकले नियन्त्रण गुमाएपछि ट्याङकरले अन्य सवारी साधनलाई ठक्कर दिएपछि विस्फोट भएर ज्वाला निस्किएको केन्याको रेडक्रसले जनाएको छ । केन्याको राजधानी नैरोबीबाट युगान्डातर्फ जाने अति व्यस्त नैरोबी—नकुरु राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण झण्डै ११ वटा सवारी साधनलाई असर परेको छ ।

बम बिस्फोटनमा १६ जनाको मृत्यु

मोगादिशु, २७ मङ्सिर । सोमालियाको राजधानी मोगादिशुको समुन्द्र बन्दरगाहमा आईतबार भएको आत्मघाती ट्रक बम हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । ‘हामीले घाइते ४८ जनालाई उद्धार गरेका छौं, अन्य १६ जनाको विस्फोटमा मृत्यु भइसकेको छ,’ मोगादिशुको एम्बुलेन्स सेवाका निर्देशक अब्दीकादीर अब्दीराहमान अदेमले भने । मोगादिशुका स्थानीय बासिन्दाले बम विस्फोट भएपछि धुवाँको मुस्लो माथी आकाशमा देखिएको बताएका छन् । स्थानीय प्रशासनका एक जना प्रवक्ताले बिस्फोट भएको पुष्टी गर्दै झण्डै १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले घटनाका बारेमा थप अनुसन्धान भईरहेको पनि बताएको छ । अल कायदासँग आवद्ध साबाब आतङ्ककारी समूहले यस आक्रमणको जिम्मा लिएको छ । साबाब नाम विद्रोही संगठनले केही समयदेखि सोमालिया सरकार, सुरक्षा फौज र आम नागरिकलाई लक्षित गरेर हिंसात्मक गतिविधिहरु गर्दै आइरहेका छन् ।

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग आइतबारदेखि सर्वसाधारणका लागि खुला

जेनेभा (स्वीट्जरल्यान्ड),मङ्सिर २७। विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ । स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए । उक्त रेलमार्ग सर्वसाधारणका लागि भने खुला गरिएको थिएन । करिब १७ वर्ष लगाएर निर्माण गरिएको उक्त ५७ किलोमिटर लामो रेलमार्ग ११ अर्ब ८० करोड अमेरिकी डलरको लगानीमा यसै वर्ष मात्र सम्पन्न भएको थियो । स्वीस न्युज एजेन्सी एटीएसका अनुसार गटहार्ड बेस टनेल (जीबीटी) नाम दिइएको सुरुङ रेलमार्गमा स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेर ९ मिनेटमा जुरिचबाट छुटेको थियो भने दुई घण्टा आठ मिनेटपछि ८ बजेर १७ मिनेटमा लुगानोमा पुगेको थियो । यससँगै यसअघि विश्वको सबैभन्दा लामो सुरुङको रेलमार्ग भनी चिनिएको जापानको ५३.९ किलोमिटर लामो सेइकन टनेल (सुरुङ मार्ग) विश्वको दोस्रो लामो सुरुङमार्ग बन्न गएको छ भने बेलायतको ५०.५ किलोमिटर लामो च्यानल टनेल विश्वको तेस्रो लामो सुरुङ मार्ग हुन पुगेकोे छ । रासस  

चीनमा सी जिनपिङको नयाँ नियम ‘विश्वविद्यालयहरू पार्टीको वैचारिक केन्द्र बनून्’

बीबीसी, बेइजिङ, मंसिर २६ । चिनियाँ राष्ट्रपति सी जिन पिङले कम्युनिस्ट पार्टीको वैचारिक केन्द्र बन्न देशका विश्वविद्यालयहरूलाई आह्वान गरेका छन् । राष्ट्रपतिको यो आह्वानलाई प्राज्ञिक स्वतन्त्रता ‘दमन’ को पछिल्लो कदमका रूपमा लिइएको छ । ‘विश्वविद्यालयहरूले चिनियाँ कम्युनिस्ट पार्टीको नियम पालना र समाजवाद प्रवद्र्धन गर्नुपर्छ,’ सीले भनेका छन् । चीनमा मानवअधिकारकर्मी, वकिल तथा पत्रकारहरूलाई पक्राउ गरेको र जेलमा राखेको आरोप चिनियाँ अधिकारीहरूमाथि लाग्दै आएको छ । सीले ‘शिक्षामा वैचारिकता’ विषयको पार्टी बैठकमा ‘विश्वविद्यालयहरू कम्युनिस्ट पार्टीको नेतृत्वअन्तर्गत र समाजवादी कलेजहरू चिनियाँ विशेषताको हुनुपर्ने उल्लेख गर्दै उच्च शिक्षा माक्र्सवादी धारणाबाट निर्देशित हुनुपर्ने’ बताएका थिए । ‘देशमा उच्च शिक्षाको विकासका लागि पार्टी नेतृत्वको पालना अनिवार्य छ,’ उनले भनेका छन् ।

हवाई आक्रमणमा ‘दर्जनौँ’ इराकीको मृत्यु, सभामुखद्वारा सरकारको ध्यानाकर्षण

बग्दाद (इराक), मङ्सिर २४ । इराकी संसदका सभामुखले सिरियाको सीमा क्षेत्रमा अवस्थित इराकी सहर काइममा सरकारी सुरक्षाकर्मीद्वारा गरिएको हवाई आक्रमणमा ‘दर्जनौँ’ सर्वसाधारणको मृत्यु तथा केही घाइते भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख सलिम अल जाबुरीले एक विज्ञप्ति जारी गर्दै निःशस्त्र नागरिकमाथि सरकारी सुरक्षाकर्मीले हवाई आक्रमण गर्दा निर्दोष नागरिकको मृत्यु भएको भन्दै घटनाको अनुसन्धान गरी दोषी उपर कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । यसैबीच सरकारले लडाकू विमानले इस्लामिक स्टेट (आईएस) लडाकूलाई लक्षित गरी काइममा रहेका दुई घरमा आक्रमण गरेको स्वीकार्दै उक्त घटनामा सर्वसाधारण नभएको दाबी गरेको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता कर्नेल जोन डोरियनले भने उक्त समयमा आफ्नो गठबन्धनले सभामुखले बताएको क्षेत्रमा हवाई आक्रमण नगरेको बताउनुभएको छ । रासस÷

इन्जिनमा समस्या आएपछि पाकिस्तानमा विमान दुर्घटना, ४२ को मृत्यु

मंसिर २३ । पाकिस्तानमा भएको विमान दुर्घटनामा त्यसमा रहेका सबै जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ‍‍‍‍‍‍(PIA) PK 661 को विमान इस्लामावादतिर जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो । विमान उत्तरी पहाडमा ठोक्किएर आगो लागेको थियो । विमान दुर्घटना हुनु केही समयअघि मात्रै विमानका पाइलटले कन्ट्रोल रुममा फोन गरेर इन्जिनमा केही समस्या आएकोबारे बताएको अन्तर्राष्ट्रिय एयरलाइन्स पिआइएले जनाएको छ । दुर्घटनामा विमानमा रहेको ४२ यात्रु र चालक दलका ६ सदस्य गरी ४८ जनाको ज्यान गएको ज्यान गएको छ । दुर्घटनाको थप कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।

इराक हवाई हमलामा ६३ काे मृत्यु

मंसिर २३ । इराकमा इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम क्षेत्रमा हवाई हमला गर्दा ६३ भन्दा बढी सर्वसाधारणकाे ज्यान गएको छ । मृत्यु हुनेमा धेरै बालबालिका र महिला रहेको बुझिएकाे छ । अमेरिकी नेतृत्ववाला गठबन्धन तथा इराकी एयर फोर्स दवै लगातार यर क्षेत्रमा बम खसालिरहेका छन् । तर, अलिसेसम्म यो हमला कसले गरेको भन्नेबारे पुष्टि हुन सकेको छैन । मेडिकल सूत्रहरुका अनुसार हमलामा कम्तिमा ६३ मानिसको मृत्यु भएको हाे । सिरिया लगत्तै इराकको उक्त सहरमा उज्ञात जेट विमानबाट मिसाइल हमला गरिएको थियो । र, हमलाको निशाना चुक्दा रिहाईशी क्षेत्रमा खसेको थियो । प्रत्यक्षदर्शीका अनुसार मिसाइलको निशाना इस्लामिक स्टेटको हेर्डक्वाटरको क्षेत्रमा खसाल्न लागिएको थियो । तर, मिसाइल एक व्यस्त बजारवाला क्षेत्रमा खसेको थियो । स्लामिक स्टेटसँग सम्बन्धित अमाका न्यूज एजेन्सीले हमलामा १२० मानिस मारिएका छन् ।

इन्डोनेसियामा ६ दशमलव ४ रेक्टर स्केलको भुकम्प, २० जनाको मृत्यु

काठमाडौं, मंसिर २२ । इन्डोनेसियाको आचे प्रान्तमा ६ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको छ। स्थानिय समय ५ बजेर ३ मिनेटमा गएको भुकम्पमा परि कम्तिमा २० जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भुकम्पमा कयौं घर भत्किएका र धेरै संख्यामा घाइते भएको जनाइएको छ । घाइतेहरुको अस्पतालमा उपचार गरिदैछ भने उद्धार कार्य जारी रहेको बताइएको छ । भुकम्पपछि स्थानियहरु घरबाट बाहिर निस्किएर बाटो र खाली ठाउँमा बसेका छन् । सन् २००४ मा आचेमै गएको ९ दशमलव २ रेस्टर स्केलको भूकम्पपछि सुनामी गएको थियो । तर, अहिले भने सुुनामीको कुनै सम्भावना नभएको इन्डोनेसियाको मौसम विभागले जनाएको छ । तस्वीरः एपी  

फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त

पेरिस,  मङ्सिर २२ । फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले मङ्गलबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । यस अघिका प्रधानमन्त्रीले म्यानुएल भल्जले आगामी बर्ष हुन गइरहेको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निश्चयकासाथ प्रधानमन्त्रीबाट राजिनामा दिएका हुन् । राष्ट्रपतिले वर्तमान गृहमन्त्री बर्नार्ड काजेनुभलाई निवर्तमान प्रधानमन्त्री म्यानुएल भल्जको ठाउँमा प्रतिस्थापन गरेका छन् । यससँगै नयाँ प्रधानमन्त्री काजेनुभलाई आगामी जुनमा हुने संसदीय निर्वाचन गराउने मुख्य जिम्मेबारी आएको छ । रासस  

जासुसी गरेको अभियोगमा पन्ध्र जनालाई मृत्युदण्डको सजाय

रियाद (साउदी अरब), मङ्सिर २२। साउदी अरबको एक अदालतले इरानका लागि जासुसी गरेको आरोपमा विभिन्न १५ जना साउदी नागरिकलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०१३ मा इरानका लागि साउदी अरबमा रही गोप्य जानकारी दिएको आरोपमा पक्राउ परेका ३२ जना अभियुक्तमाथिको मुद्दामा सुनुवाई गर्दै १५ जनामाथि मृत्युदण्डको सजाय सुनाएको हो । त्यसैगरी अदालतले पक्राउ ३२ जनामध्ये १५ जनालाई छ महिना देखि २५ वर्षसम्मको फरकफरक जेल सजाय तोकेको छ भने दुई जनालाई निर्दोष भएको फैसला दिएको छ । पक्राउ परेका ३२ जनामध्ये अधिकांश अर्थात् ३० जना साउदी नागरिक रहेका थिए भने एक इरानी र एक अफगानी नागरिक थिए । अदालतले उक्त समूहलाई राज्यको सैन्य गतिविधिसम्बन्धी जानकारी इरानी गुप्तचर संस्थालाई गोप्य रुपमा प्रवाह गर्ने गरेको अभियोग लगाउँदै सजाय सुनाएको हो । अदालतद्वारा दोषी ठम्याइएका केही अभियुक्तले साउदी अरबको आर्थिक, वित्तीय तथा शैक्षिक क्षेत्रमा उच्चस्तरमा रहेर काम गर्दै आएका अल अरेविया न्युजले जनाएको छ । साउदी प्रशासनले इरानलाई क्षेत्रीय शान्तिमा समस्या ल्याउने गतिविधि सञ्चालन गर्न बहराइन र यमनलगायतका खाडी मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै आएको छ । साउदी अरबले इरानसँगको कूतनीतिक सम्बन्धलाई सन् २०१६ को सुुरुदेखि नै तोड्दै आफ्नो इरानस्थित राजदूतलाई फिर्ता बोलाएको थियो । रासस÷सिन्ह्वा ––––––  

दुई लाख सहयोग पत्रकारको परिवारलाई

अमेरिका, मंसिर २१ । अमेरिका तथा क्यानडामा बस्दै आएका नेपालीले दिवङ्गत पत्रकार कर्ण बोेहराको परिवारको सहयोगार्थ सङ्कलित रु एक लाख ६० हजार नेपाल पत्रकार महासङ्घलाई पठाएका छन् । आर्थिक सहयोग संयोजक पत्रकार भानुभक्त आचार्यले महासङ्घ मार्फत उपलब्ध गराउन कोषाध्यक्ष सूर्यमणि गौतमलाई आज रकम पठाएका छन् । नेपाल, अस्ट्रेलिया, क्यानडा र अमेरिकामा रहेका सञ्चारकर्मी र शुभेच्छुकले सो रकम प्रदान गरेका छन् ।

कङ्गोमा झडप हुँदा तेइसको मृत्यु

किन्सासा (कङ्गो),  मङ्सिर २१ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भएका पछिल्ला केही दिनका प्रहरी र स्थानीय मिलिसियाबीच भएका झडपमा २३ जनाको मृत्यु भएको कासाई प्रान्तका उप–गभर्नरले बताएका छन् । मध्य कङ्गोमा शुक्रबारदेखि सुरु भई आइतबारसम्म भएको झडपमा प्रहरीतर्फ १३ जनाको मृत्यु भएको र १४ जना घाइते भएको उप–गभर्नर हुवर्ट विङ्घो नोवलाले सोमबार सरकारी टेलिभिजनलाई बताएका छन् । त्यसैगरी झडपमा १० जना मिलिसिया (लडाकू) को मृत्यु भएको पनि उनले जानकारी गराए । रासस

तमिलताडूकी मुख्यमन्त्री जयाललिताको निधन, शोकमा समर्थक

नयाँदिल्ली,  मङ्सिर २१ । भारतको दक्षिणी भागमापर्ने तामिलनाडू राज्यका नेता तथा मुख्यमन्त्री जयाललितको गएराति निधन भएको छ । ६८ वर्षीया जयललितालाई आइतबार राति हृदयघात भएपछि अाईसियूमा राखेर उपचार गरिएको थियो । उनको मृत्युको अौपचारिक घोषणा एपोलो अस्पतालले सोमबार राति गरेको थियो । चलचित्रमा अभिनेत्रीपछि सन् १९८० को सुरुबाट राजनीतिमा प्रवेश गरेकी जयाललिता तलिलनाडुमा निकै प्रख्यात छिन्  । उनका समर्थकले उनलाई अम्माको उपनामले बोलाउँछन् । उनी आफ्नो सफल चलिचित्र नायिका भूमिका हुदाँहुदै पनि राजनीतिमा प्रवेश गरेकी थिइन् । उनले करिब १५० वटा चलचित्रमा अभिनय गरिन् । उनले तामिलनाडूको मुख्य मन्त्रीको पद तीन पटकसम्म सम्हाली सकेकी छिन् । पछिल्लो पटक सन् २०११ को मे महिनाबाट उनी तामिलनाडूको मुख्य मन्त्रीको पदमा छिन् । उनको मृत्युको खबरले तमिलनाडु शोकमा डुवेको छ । उनले गरीबलाई सित्तैमा सामान दिने र महिला अधिकारको लागि निकै राम्रा अभियान चलाएर लमिलनाडुमा ख्याति कमाएकी थिइन् ।

डम्पिङ साइट हो कि विमानस्थल ?

स्पेन, मंसिर २० । स्पेनमा आर्थिक मन्दीको चपेटामा परेपछि त्यहाँका विभिन्न विमानस्थलहरुकुनै डम्पिङ साइटभन्दा केही कम छैन, जताततै फोहोरै–फोहोर । केही समयअगाडि देखि नै नागरिक उड्डयनका कर्मचारीहरु हड्तालमा उत्रिन थालेपछि त्यहाँका विमानस्थलहरु यसरी दुर्गन्धित बन्दै गएको हो । वार्सिलोना सहित अन्य देशका विभिन्न विमानस्थलको हालत यस्तो हुन पुगेको छ । यात्रुहरु बस्ने कुर्सीमा समेत फोहोरै फोहोर थुपारिएको देखिन्छन् । बेलायतका पर्यटकहरु लकी फरमेनका अनुसार वार्सिलोनाका सडक त सफा त सफा देखिन्छन् तर विमानस्थल कुनै डम्पिङ साइटभन्दा केही कम छैन । अब त यस्ता किसिमको असभ्य मानवीय व्यवहारले गर्दा विमानस्थलमा केही समय बिताउन पनि निकै कठिन भएको उनले बताएको छ । वार्सिलोना विमानस्थलमा उनले खिचेका केही तस्वीर ट्वीटरमा भाइरल भएका छन् । विमानस्थल कार्यालयके केही दिनअघि बजेटमा कटौती गरेपछि कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । बजेट कटौती भएकै कारण कर्मचारीहरुको तलवमानमा असर पर्न सक्ने भन्दै सफाइ कर्मचारीहरु समेत हड्तालमा उत्रिएका कारण विमानस्थलमा फोहर थुप्रिन गएको छ ।