नवाज शरीफलाई निशाना बनाएर लाहौरमा ठूलो विष्फोट, ४६ घाइते
लाहौर । पनामा पेपर्स मामिलामा अदालतले अयोग्य ठहर गरेपछि राजिनामा गरेका पाकिस्तानी प्रधानमन्त्रीलाई निशाना बनाएर ठूलो विष्फोट भएको छ ।
पाकिस्तानको ऐतिहासिक शहर तथा शरीफको गृहनगर लाहौरको एउटा पार्किङमा राखिएको ट्रकमा सोमबार राती विष्फोट भएको पाकिस्तानी दैनिक पत्रिका डनले जनाएको छ ।
उक्त विष्फोटमा ४६ जना घाइते छन। चारजनाको अवस्था सिकिस्त बताइएको छ ।
अधिकारीहरुले उक्त ब्लाष्टको निशाना नवाज शरीफ रहेको बताएका छन् । नवाज शरीफ यही बाटोबाट सोमबार राती लाहौर जाने कार्यक्रम रहेको थियो ।
विष्फोट निकै ठूलो भएको र पार्किङमा राखिएका कारहरु दश पन्ध्र फीट माथि हावामा उछालिएको समेत समाचारमा उल्लेख छ । विष्फोटका कारण १५ फीट गहिरो खाडल नै परेको छ । विष्फोटबाट एक सय बढी गाडीहरु क्षतिग्रस्त भएका छन् । कतिपय नजिकका घरहरुका शीसा र छत समेत विष्फोटबाट क्षतिग्रस्त भएका छन् । विष्फोटको आवाज ४, ५ किलोमिटर टाढासम्म सुनिएको बताइन्छ ।
अमेरिका पेरिस जलवायु सम्झौताबाट बाहिरियाे
साउन २१ । अमेरिकाले संयुक्त राष्ट्रसंघलाई सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट आफू बाहिरिएको औपचारिक जानकारी गराएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प ले गएको महिना भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा आफ्नो देश पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरेको थियो । तर संयुक्त राष्ट्रसंघलाई औपचारिक जानकारी भने अहिले आएर मात्रै दिइएको हो । अमेरिकी विदेश मन्त्रालयले राष्ट्रसंघलाई लेखेको पत्रमा पेरिस सम्झौताबाट बाहिरिए पनि वासिङ्टन वार्ता तथा छलफलको पक्रियामा भने खुला रहेको उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौता अमेरिकाको हितमा नरहेको र लाखौं रोजगारी खोसिने भन्दै आफ्नो देश सम्झौतामा नरहने बताउनुभएको हो । ट्रम्पको यस्तो निर्णयको अमेरिकाका वातावरण संरक्षण विद तथा अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै आएका छन् । अब अमेरिकाले नयाँ राष्ट्रपति नपाएसम्म सम्झौतामा फर्किने सम्भावना छैन । यसको अर्थ सन् २०२० मा हुने राष्ट्रपतीय चुनावबाट चुनिएर आउनेले सम्झौतामा फर्किने निर्णय गर्न सक्ने छन् ।
कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने
कतार, साउन २० । कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ । विदेशी कामदारमाथि भारी मात्रामा निर्भर रहेका कुनै पनि खाडी मुलुकमा यस किसिमको योजना ल्याइएको पहिलो हो । कतारको मन्त्रिपरिषदले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने योजनाको मस्यौदालाई पारित गरेको छ । यद्यपि स्थायी बसोबासका लागि केही सर्त भने राखिएका छन् । मस्यौदाअनुसार कतारी महिलासँग विवाह गर्ने विदेशी नागरिकको बच्चा तथा राम्रो काम गर्ने प्रवासीले स्थायी रुपमा बसोबास पाउने छन् । यो नयाँ कानुनअनुसार योग्य ठहरिएका प्रवासीलाई कतारको आन्तरिक मामिला मन्त्रीले स्थायी निवासका लागि अनुमति प्रदान गर्ने छन् । हाल कतारमा करिब २७ लाख मानिस भए पनि ३ लाख मात्र कतारी नागरिक छन् ।
ट्रम्पले गरे रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर
काठमाडौं, साउन १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । अमेरिकी संसद सिनेटले विधेयक पास गरेपछि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन । विधेयकमा इरान र उत्तर कोरियामाथि पनि प्रतिबन्ध लगाइने उल्लेख छ । नयाँ कानुनले राष्ट्रपति ट्रम्पको असिमित अधिकारलाई पनि केही कटौती गरिदिएको छ । गतवर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको हस्तक्षेप र सिरिया तथा युक्रेनमा भएको आक्रमणका लागि रुसलाई दण्डित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो । यसैबीच अमेरिकाले प्रतिबन्धलगाएको विषयमा रुसले कड आपत्ति जनाएको छ । रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले अमेरिकाले रुसका विरुद्ध व्यापारिक युद्ध घोषणा गरेको बताए । इरानले पनि नयाँ प्रतिबन्धले परमाणु सम्झौताको उल्लंघन भएको भन्दै यसको उचित तरीकाले जवाफ दिने प्रतिक्रिया दिएको छ ।
भुटानलाई निहूँ बनाएर विवाद नगर्न र सेना फिर्ता गर्न भारतलाई चीनको कडा चेतावनी
काठमाडौं, साउन १८ । भुटानलाई निहूँ बनाएर चिनियाँ भूमीमाथि दावी गर्न खोजेको आरोप लगाउदैं चीनले भारतलाई आफ्ना सेना तत्काल फिर्ता गर्न कडा चेतावनी दिएको छ । छिमेकी भुटानसँग आफ्नो कुनै समस्या नरहेको र सीमाको विषयमा संवादमा रहेको बताउदै चीनले यो भारतको चासोको विषय नभएको पनि प्रष्ट पारेको छ । चीन, भारत र भुटानबीचको सीमा क्षेत्रमा निर्माणाधिन सडकका विषयलाई लिएर पछिल्लो समय भारत र चीनबीच तनाब बढेको छ ।
अफगानिस्तानको मस्जिदमा आत्मघाती बम बिस्फोट, २९ जनाको मृत्यु
साउन १८ । अफगानिस्तानको एक मस्जिदमा आत्मघाती बम बिस्फोट भएको छ । उक्त बम विष्फोटमा कम्तिमा २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानको हेरातस्थित मस्जिदमा प्रार्थना चलिरहेका बेला प्रवेश द्वारमा दुई जनाले सो आत्मघाती बम विष्फोट गराएका अधिकारीहरुले जनाएका छन् । एक जनाले अन्धाधुन्ध गोली प्रहार गरेको र अर्का एक जनाले आत्मघाती बिस्फोट गराएको अफगानी अधिकारीहरुले बताएका छन् । शिया समुदायको बाहुल्यता रहेको हेरातमा उनीहरुलाई नै लक्षित गरिएको बताइएको छ । घटनामा ६४ जना घाइते भएका छन् । मृतककाे संख्या अझै बढ्न सक्ने अनुमान गरिएकाे छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।
उत्तर कोरियाप्रति अमेरिका नरम ! हाम्रो दुस्मन होइन: विदेश मन्त्री
काठमाडौं, साउन १८ । मिसाइल कार्यक्रमका विषयलाई लिएर रस्साकस्सी चलिरहेका बेला अमेरिकाले उत्तर कोरियामा सत्ता परिवर्तन गराउने आफ्नो उद्देश्य नरहेको जनाएको छ । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाप्रति आफ्नो कुनै भेदभाव नरहेको स्पष्ट पारेका छन् । उनले उत्तर कोरिया आफ्नो दुस्मन नभएको भन्दै केही विषयमा भने कुराकानी गर्न चाहेको बताएका छन् । उत्तर कोरियासँग वार्ता गर्ने चाहना अमेरिकाको रहेको भन्दै विदेश मन्त्री टिलर्सनले उत्तर कोरियाबाट आफूहरुलाई कुनै खतरा नभएको बताए । उत्तर कोरियाले हालै अमेरिकासम्म मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण गरेकै बेला अमेरिकाको नरम धारणा सार्वजनिक भएको हो । उत्तर कोरियाले पछिल्लो महिनामै दुई वटा मिसाइल परीक्षण गरिसकेको छ ।
बाढीबाट भारतको गुजरातमा २१८ जनाको मृत्यु, लाखौं प्रभावित
एजेन्सी, साउन १७ । भारतको पश्चिमी राज्य गुजरातमा बाढीमा परी दुई सय १८ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन । गएको दुई दिनमा मात्रै बाढीबाट मृत्यु हुनेको संख्या एक सयभन्दा बढी रहेको छ । गुजरात राज्यमा मात्रै लगातारको वर्षासँगैको बाढीका कारण करिब पाँच लाख भन्दा बढी मानिस प्रभावित भएको सरकारी अधिकारीहरुले बताएका छन । बाढीबाट आसाम राज्य पनि प्रभावित भएको छ । त्यहाँ पनि केहीको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन् । केन्द्र सरकारले बाढी प्रभावित क्षेत्रका लागि राहत प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी बाढी प्रभावित क्षेत्रको भ्रमण जाने तयारीमा छन ।
ह्वाइट हाउसका मिडिया प्रमुख नियुक्त भएको १० दिनमै बर्खास्त
काठमाडौं, साउन १७ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका मिडिया प्रमुख एन्टोनी स्कारामुचीलाई नियुक्त गरेको १० दिन मै बर्खास्त गरिएको छ । एन्टोनीले आफ्ना सहयोगीको पक्षमा संवाददातालाई अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पलाई एन्टोनीले दिएको अन्तर्वातामा अभद्र टिप्पणी गरेको महशुस गरेको ह्वाइट हाउसले जनाएको छ । उनी वाल स्ट्रीटका पूर्व लगानीकर्ता पनि हुन् । एन्टोनी पछिल्लो १० दिनमा ह्वाइट हाउसको प्रमुख पदबाट हटाइएका चौथो अधिकारी बनेका छन् ।
भारतलाई ठूलो धक्का, ५५०० करोडमा निर्मित आकाश मिसाईल परीक्षणमा फेल
नयाँ दिल्ली , साउन १४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इण्डिया अभियानमा निकै ठूलो धक्का लागेको छ । भारतले आफ्नै देशमा बनाएको आकाश मिसाई परीक्षणका क्रममा फेल भएको छ । जमिनबाट हावामा मार हान्ने यो मिसाईल एक तिहाई परीक्षणमा फेल भएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतको नियन्त्रक एवं महालेखा परीक्षकले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार, मिसाईलहरुको कमीका कारण भारत युद्दको एउटा जोखिमपूर्ण अवस्थामा पुग्न सक्छ । रिपोर्ट संसदमा प्रस्तुत गरिएको छ । रिपोर्ट अनुसार, उक्त मिसाईल निर्धारित दूरी भन्दा निकै कम दूरीमा खसेको थियो । त्यतिमात्रै नभएर उक्त मिसाइलको गति समेत कम थियो । वायु सेनाका अधिकारीहरुले भने यो विषयमा कुनै टिप्पणी गरेका छैनन् । आकाश मिलाइलेका निर्माण बैंगलोरस्थित सरकारी एजेन्सी भारत इलेक्ट्रोनिक्सले गरेको थियो । यसमा करिब ३ हजार ६ सय करोड रुभारतीय रुपैयाँको लागत रहेको थियो । यति रकम खर्च हुँदा समेत यो मिसाईलालाई निर्धारित स्थानमा जडान गर्न सकिएन ।
अमेरिकी प्रतिबंधको बदलामा ‘उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण’
काठमाडौं ,साउन १४ । अमेरिकी प्रतिबंध को बदलामा उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । जापान र दक्षिण कोरियाका सञ्चारमाध्यमहरुले क्षेप्यास्त्र जापानी समुद्री क्षेत्रमा खसेको ठानिएको जनाएका छन्। जापानी राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार, जुलाईको शुरुवातमा प्योङ्याङ्ले आफूले एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको थियो। पछिल्लो क्षेप्यास्त्रले कति परसम्म मार हान्न सक्छ भन्ने प्रष्ट भइसकेको छैन। उत्तर कोरियाको अन्तरमहादेशीय क्षेप्यास्त्रको क्षमताबारे फरक मत छन्। केही विज्ञले उक्त क्षेप्यास्त्र अमेरिकाको अलास्कासम्म पुग्नसक्ने बताएका छन्। पछिल्लो परीक्षण सन् २०१७ मा उत्तर कोरियाले गरेको १४ औं क्षेप्यास्त्र परीक्षण हो। दक्षिण कोरियाका राष्ट्रपतिले आपतकालीन सुरक्षा बैठक डाकेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।
हिंसा गर्नेलाई पक्राउ गर्न अदालतको आदेश
एजेन्सी, साउन १३ । दाइजोको निहुँमा हिंसा गर्नेलाई तत्काल पक्राउ गर्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ । पीडित महिलाको श्रीमान र सासु ससुरालाई दाइजो प्रथा विरुद्धको कानुन उलङ्घन गरेको भन्दै दुई जना न्यायाधीशको संयुक्त इजलाशले यस्तो आदेश दिएको बताइएको छ । अदालतले दोषीलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाउन पनि भनेको छ ।
सर्वाधिक धनीको सूचिमा बिल गेट्सलाई पछारे बेफोजले, एक तिहाई धनी अमेरिकी मात्रै
काठमाडौं, विश्वका खर्बपतिहरुको सूचिमा एक तिहाई धनाढ्यहरु अमेरिकाका मात्रै रहेका छन् । ब्लुमबर्गले सार्वजनिक गरेको ५ सय जना सर्वाधिक धनाढ्यहरुको सूचिमा अमेरिकाका मात्रै १ सय ६२ जना रहेका छन् । सर्वाधिक धनीको शीर्ष स्थानमा माइक्रोसफ्ट संस्थापक बिल गेट्स रहेपनि बुधबारको शेयर बजार अमेजनले उल्लेख्य कमाई गरेसँगै बिहिबारदेखि अमेजनका संस्थापक ५३ वर्षीय जेफ बेजोस पहिलो स्थानमा उक्लिएका छन् । यसअघि उनीहरुबीच सम्पत्तिको फरक भने थोरै (०.७ बिलियन डलर) मात्रै रहेको थियो । बिहिबार बेजोसको कूल सम्पत्ति ९३.३ बिलियन डलर पुगेको छ । यसअघि उनको सम्पत्ति ८९.३ बिलियन डलर थियो । धनाढ्यहरुको सूचिमा मुकेश अम्बानीसहित २२ जना भारतीयहरु समेत परेका छन् । नेपालबाट भने ५ सय जना धनाढ्यहरुको सूचिमा कोही पर्न सकेका छैनन् । यो सूचिमा ४० जना चीनका रहेका छन् । हेर्नुस् सूचि
बार्सिलोनामा रेल दुर्घटना, ४ दर्जन घाइते
स्पेन, साउन १३ । स्पेनको बार्सिलोनामा रेल दुर्घटना हुँदा ४८ जना घाइते भएका छन् । शुक्रबार बिहानको व्यस्त समयमा स्टेसन डे फ्रान्सियामा उक्त दुर्घटना भएको क्याटालान इमर्जेन्सी सर्भिसले जनाएको सिएनएनले उल्लेख गरेको छ । यो पश्चिमी स्पेनको सबैभन्दा मुख्य रेलवे स्टेशन मानिन्छ । घाइतेहरुमध्ये १८ जनालाई अस्पताल भर्ना गरिएको छ । यी मध्ये ५ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ । अहिलेसम्म मृत्यु भएको समाचार सार्वजनिक भएको छैन । दुर्घटना के कसरी भयो भन्ने विषयमा अहिले केही खुलेको छैन । अधिकारीहरु अहिले उद्दार कार्यमा व्यस्त रहेका छन् ।
तालिवानी आक्रमणमा १६ सुरक्षाकर्मीको मृत्यु
साउन ६ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित एक सुरक्षा जाँच चौकीमा आतंककारी हमला हुँदा १६ जना सुरक्षाकर्मीको ज्यान गएको छ । तालिवान समूहले गरेको सो आक्रमणमा १० जना सैनिक र ६ जना प्रहरीसहित अन्य सात जना सुरक्षाकर्मीसमेत घाइते भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । सुरक्षा अधिकारीहरुले यो आक्रमणमा दोहोरो गोली हानाहान भएको र कयौं तालिवान लडाकुसमेत मारिएको दाबी गरेका छन् । केही तालिवानीलाई पक्राउसमेत गरिएको अधिकारीहरुले जनाएका छन् । कान्दाहार प्रान्तका प्रहरी प्रवक्ता जिया दुरानीले घटनाको पुष्टि गरे पनि थप विवरण दिन अस्वीकार गरेको जनाइएको छ ।
पुटिन र ट्रम्पबीच टुहुरा बालबालिकाका बारेमा कुरा भएको प्रष्टोक्ति
मस्को, साउन ६ । रुसले राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका क्रममा बालबालिकाका विषयमा छलफल भएको जनाएको छ । क्रेमलिनले रसियाली टुहुरा बालबालिका अंगीकार विषयमा दुई नेताबीच छलफल भएको जनाएको हो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नियमित पत्रकार सम्मेलनका क्रममा दुई राष्ट्रपतिबीच भेटवार्ता भएको स्वीकार गर्दै बालबालिकाका विषयमा मात्र कुराकानी भएको बताएका हुन् । प्रवक्ता पेस्कोभले अमेरिकी नागरिकले रसियाली टुहुरा बालबालिकालाई अंगीकार गर्नमा प्रतिबन्ध लगाइएको कानुन रद्द गर्न लागिएको विषयलाई भने खण्डन गरे । सन् २०१२ को डिसेम्बरमा रसियाली राष्ट्रपति पुटिनले ल्याएको कानुनलाई अमेरिकाको म्याग्निट्स्की ऐनको बदलास्वरूप ल्याइएको बताइने गरेको छ । उक्त ऐन अमेरिकाले सन् २०१२ को अन्त्यतिर नै ल्याएको थियो । म्याग्निट्स्की ऐनले रसियाली वकिल सर्गेइ म्याग्निट्स्कीको हत्यामा संलग्न मानिएका रसियाली अधिकारीमाथि राजश्व छलीको आरोप लगाई अमेरिका भ्रमणमा रोक लगाउन भिसा नदिने र उनीहरूको सम्पत्ति जफत गर्ने विषयको व्यवस्था गरेको थियो । अमेरिकी सञ्चारमाध्यमले भने पुटिन र ट्रम्पबीच जी–ट्वान्टी शिखर सम्मेलनका अवसरमा दुई घण्टाको औपचारिक कुराकानीबाहेक गोप्य दिवा भोजमा सरिक भएको दाबी गर्दै आएका छन् । ह्वाइट हाउसले भने विज्ञप्ति जारी गर्दै दुई नेताबीच दिवा भोजमा छोटो कुराकानी बाहेक कुनै दोस्रो छलफल नभएको जनाएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै गोप्य भोजबारे आएका सबै समाचार बनावटी र आधारहीन भएको भन्दै खण्डन गरेका थिए ।

