ट्रम्पको पहिलो विदेश भ्रमण साउदी

जेठ ६ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो विदेश भ्रमण साउदी अरव भएको छ । पहिलो विदेश भ्रमणका रुपमा ट्रम्प शनिबार आठ दिने भ्रमणका लागि साउदी अरव पुगेका छन् ।

साउदीमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई भव्य स्वागत गरिएको छ भने उनले साउदी अरवका राजा सल्मान र राजपरिवारका अन्य सदस्यलगायतलाई भेट गर्ने अपेक्षा गरिएको छ ।

गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको भन्ने आरोपका बारेमा छानविन गर्न विशेष अनुसन्धानकर्ता नियुक्त गरिए लगत्तै उनी साउदी अरब भ्रमणमा लागेका हुन् ।

रुसको हस्तक्षेप भएको भनिएको विषयमा छानविन गर्न सङ्घीय जाँच विभागका पूर्वप्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्ताको रुपमा नियुक्त गरिएको छ । मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख थिए ।

राष्ट्रपति ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई अघिल्लो हप्ता बर्खास्त गरेपछि उमलरलाई नियुक्त गरिएको हो ।

साउदी अरवको रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार विहान ९।५० मा रातो कर्पेटसहित स्वागत गरिएको थियो ।

ट्रम्पले आफ्नी श्रीमतीसहित राजा सल्मानलाई भेट गर्ने छन् । शनिबार बेलुका नै उनले दुई जना शक्तिशाली युवराजलाई पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

रियादको यो भ्रमणलाई इश्लामिक देशहरुसँगको अमेरिकाको सम्वन्ध सुधार्ने अवसरका रुपमा पनि लिइएको छ ।

नेपाल भारत सीमाबाट कश्मिरी हिजबुल आतंकवादी गिरफ्तार

काठमाडौं, नेपालबाट भारत गइरहेको अवस्थामा हिजबुल मुजाहिदिनको एकजना आतंकवादी पक्राऊ परेका छन् । भारतीय मिडियाहरुमा प्रकाशित समाचार अनुसार, भारतीय सशस्त्र सीमा बलले जम्मु कश्मिरको डोलगाम निवासी नसीर अहमदलाई पक्राउ गरेको हो । सशस्त्र सीमा बलका प्रवक्ता दीपक सिंहका अनुसार, अहमद आफ्नो साथी मोहम्मद सफीसँग १० मेका दिन शारजहाँको बाटो हुँदै फैसलाबाद भएर काठमाडौं पुगेका थिए । काठमाडौं केही दिन बसेर अहमद भारत जाने क्रममा सीमा पार गर्दा सीमा सुरक्षा बलले गिरफ्तार गरेका हुन । अहमदबाट एउटा पाकिस्तानी पासपोर्ट र पाकिस्तानको पञ्जाबको एक गाउँको ठेगाना भएको पहिचान पत्र फेला परेको छ । पक्राउ परेका व्यक्ति आतंकवादी हुन या होइनन भन्ने कुराको स्वतन्त्र पुष्टि नभएपनि सीमा सुरक्षा बलले भने अहमद एकजना सक्रिय आतंकवादी रहेको बताएका छन् । एउटा विशेष मिशन अन्तर्गत उसलाई नेपालको बाटो भएर भारत पठाइएको बताएका छन् ।

विश्वका दर्जनौं देशमा एकसाथ साइबर क्राइम

वैशाख ३० । युरोपसहित विश्वका ९९ मुलुकमा एकसाथ साइबर आक्रमण गरिएको छ । आक्रमणकारीले ब्रिटेन, अमेरिका, चीन, रुससहितका देशमा आक्रमण गरेका हुन् । आक्रमणकारीको निशानामा इटली, भियतनामसहितका थुप्रैै मुलुक परेको खबर छ । साइबर आक्रमण भएलगत्तै ती देशका कम्प्युटरले काम गर्न छाडेका छन् । प्रभावित भएका संस्थाहरुले कम्प्युटर बन्द भएको र बिटकन माग गर्ने स्क्रिनसट्स राखेका छन् । कम्प्युटर खोल्नेबित्तिकै फाइल रिकभर गर्न चाहने हो भने पैसा तिर्नुपर्ने मेसेज देखिने गरेको प्रभावितहरुले बताएका छन् । कतिपयमा सबै फाइल ध्वस्त पार्ने धम्की आएको छ । त्यसबाट जोगिने हो भने पैसा तिर्नुपर्ने शर्त राखिएको छ । फिरौती तिरेमा भाइरस निष्प्रभावी बनाइने शर्त ह्याकरको छ । ब्रिटेनको नेसनल हेल्थ सर्भिस नराम्ररी प्रभावित हुँदा बिरामीको अनलाइन रेकर्ड पहुँचभन्दा बाहिर भएको छ । हजारौं हजार स्थानका कम्प्युटरले काम गर्न छाडेको छ ।

पाकिस्तानमा आत्मघाती बिस्फोट २५ जनाको मृत्यु

पाकिस्तान,बैशाख ३०। एक आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ। ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताएका एपीले उल्लेख गरेकाे छ।  घटनाको इस्लामिक स्टेट समूहले आफ्नो एक समाचार संस्थामार्फत जिम्मेवारी लिएको छ ।

टर्कीका सय बढी न्यायाधिश र सरकारी वकिल निलम्बित

अङ्कारा, वैशाख २३ । टर्कीका न्यायाधिश र सरकारी वकिल गरी १०७ जनालाई शुक्रबार निलम्बन गरिएको छ । गुलेन आन्दोलनमा सहभागी भएको र उनीहरुलाई समर्थन गरेको आरोपमा तीनलाई निलम्बन गरिएको सरकारी अधिकारीले जनाएका छन् । टर्कीको न्यायाधिश र सरकारी वकिलको उच्च परिषद्ले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको सरकारी समाचार संस्था अनादुलले जनाएको छ । सन् २०१६ को जुलाई १५ मा राष्ट्रपति एर्डोेगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उहाँ विदामा रहेको बेला कूको प्रयास भएको थियो । जुन प्रयास असफल भएको थियो । कूुको प्रयास घन्टौँ लामो लडाइपछि एर्डोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल सावित गरिदिएको थियो । एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल कूको प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट यसअघि नै बर्खास्त गरेका थियो । पत्रकार, उच्चस्तरीय व्यापारीलयागत हजाराँैलाई पक्राउ गरिएको थियो । टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)को संलग्नता रहेका आरोप लागेको थियो । अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो । सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उहाँ सम्बद्ध धार्मिक सङ्गठनले उक्त असफल कूुको प्रयासमा आपूmहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका थिए । गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् । रासस/सिन्ह्वा

सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसी

वैशाख २२ । भारतको सर्वोच्च अदालतले पाँच वर्ष अगाडि एक विद्यार्थीलाई सामूहिक बलात्कार गर्ने चार अभियुक्तलाई फाँसीको सजाय सुनाएको छ । सन् २०१२ मा भारतको दिल्लीमा भएको उक्त घटनाका दोषीहरु अक्षय कुमार, विनय शर्मा, पवन गुप्ता र मुकेश शर्मालाई फाँसी दिने यसअघि अरु अदालतले गरेको फैसला यथावत राखेको हो । यसअघि तल्लो अदालत र दिल्ली उच्च अदालतले उनीहरुलाई फाँसी दिने फैसला गरेको थियो । न्यायाधीश भानुमती नेतृत्वको तीन सदस्यीय टोलीले बलात्कार जस्तो जघन्य अपराधका लागि माफी दिन नसकिने तथा मृत्युदण्ड दिन मिल्ने कुनै एक मात्र मुद्दा भए त्यो बलात्कार भएको उल्लेख गर्दै यस्तो फैसला सुनाएको हो । सन् २०१२ को डिसेम्बर १६ मा दिल्लीको मुनिरकामा ६ जना व्यक्तिले प्यारामेडिककी विद्यार्थी निर्भयालाई सामुहिक बलात्कार गरेका थिए । घटनाका एक अभियुक्तले सन् २०१३ मा तिहाड जेलमा आत्महत्या गरे भने एकजनालाई नाबालिग भएको भन्दै सुधारगृहमा राखिएको छ ।

उत्तर प्रदेशमा सडक दुर्घटना, १४ को मृत्यु

नयाँदिल्ली, बैशाख २२ । भारतको उत्तर प्रदेश राज्य अन्तगर्त एटाको टाना जलेसरस्थित सायनीम भन्ने ठाउँमा सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । घटनामा २८ जना घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको राजधानी लखनउदेखि २६५ किलोमिटर पश्चिमतर्फ पर्ने इताह जिल्लाको सराय निम क्षेत्रनजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेकाहरु सवै जना विवाह भोजमा सहभागी भएर फर्किरहेका प्रहरीले बताएको छ । आइतबार बिहानै यहाँ भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अरु २८ जना घाइते भएका एक जना उच्च प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । उहाँले थप्नु भयो, “अत्याधिक धेरै यात्रु भएको मिनी ट्रक मोडमा घुमाउन खोज्दा मानवीय गल्तीको कारण दुर्घटनामा परी बाटोदेखि तल खसेको छ ।” स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खवर गरेपछि सुरक्षाकर्मीहरु सहितको उद्धारकर्ताहरुले उनीहरुलाई उद्धार गरेर अस्पताल लगेको सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते मध्ये २० जनालाई आगराको एस एन अस्पतालमा भर्ना गरिएको छ । मृतकहरुको शव पोर्टमार्टम गरिएको अधिकारीहरुले बताएका छन् । दुर्घटना हुनुको कारण अहिले सम्म स्पष्ट भईनसकेपनि चालकको लापर्बाहीका कारण दुर्घटना भएको प्रहरीको प्ररम्भिक निष्कर्ष छ ।

पाकिस्तानमा चार आतंककारीलाई फाँसी

वैशाख २० । पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ । सैनिकद्वारा प्रकाशित विज्ञप्तिकाअनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबलमाथि आक्रमणजस्ता आतंककारी आक्रमणमा संलग्नता रहँदै आएको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको छ । फाँसीका सजाय पाएका ती आतंककारी प्रतिबन्धित समूह तेहरिक ए तालिबान पाकिस्तानसँग आवद्ध रहेको जानकारी दिइएको छ । सन् २०१४ को डिसेम्बरमा पेसावरको एक सैनिक विद्यालयमा भएको भीषण आक्रमणपछि पाकिस्तानमा सैनिक अदालतको स्थापना भएको थियो । सैनिक विद्यालयमा भएको त्यस आक्रमणमा परी १३५ जना बालबालिकासहित १५० व्यक्तिको मृत्यु भएको थियो । त्यस भयानक आक्रमणपछि स्थापना भएको सैनिक अदालतले आतंककारीको पहिचान गरी फाँसीको सजाय दिने गरेको छ । गत मार्चमा पाकिस्तानी संसदले थप दुई वर्षको लागि सो सैनिक अदालतलाई अनुमोदन गरेको थियो । गत जनवरीमा नै त्यस अदालतको दुई वर्षको अवधि समाप्त भएको थियो । राससरसिन्ह्वा

विश्वकै सबैभन्दा वृद्ध १ सय ४६ वर्षीय व्यक्तिको निधन

वैशाख १९ । विश्वकै सबैभन्दा बढी उमेरका व्यक्तिको रुपमा दाबी गरिँदै आएका इन्डोनेसियाका सोडिमेड्जोको निधन भएको छ । एमबाह घोटोका नामले पनि चिनेने सोडिमेड्जोको उमेर एक सय ४६ वर्ष रहेको दाबी गरिएको छ । उनको जाभाको मध्य क्षेत्रमा रहेको घरमै निधन भएको हो । सरकारी कागजात अनुसार सोडिमेड्जोको जन्म सन् १८७० को डिसेम्बरमा भएको हो । तर इन्डोनेसियामा सन् १९०० देखि मात्रै जन्मदर्ता गर्न थालिएको थियो । त्यसअघिका कागजात तथा दर्तामा त्रुटी हुने गरेको छ । तथापी सरकारी अधिकारीले भने सोडिमेड्जोका कागजात साँचो रहेको बताएका छन् । गएको अप्रिल १२ गते उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । ६ दिनको अस्पताल बसाईपछि उहाँलाई घर लगिएको थियो । उहाँको आइतबार निधन भएको हो । एजेन्सी 

तीन सय नौ जना इराकी सर्वसाधारणको द्वन्द्वका कारण मृत्यु

इराक, वैशाख १९ । इराकमा जारी सशस्त्र द्वन्द्व, आतङ्ककारी आक्रमण तथा विभिन्न हिंसात्मक घटनामा अप्रिल महिनाभरी ३०९ जना सर्वसाधारणको मृत्यु भएको छ भने ३८७ जना घाइते भएको संयुक्त राष्ट्रसङ्घ इराक मामिला सहायता कार्यक्रम (यूएनएएमआई) ले जनाएको छ । यूएनएएमआईद्वारा जारी विज्ञप्तिमा मृतक तथा घाइते सङ्ख्यामा सुरक्षाकर्मीतर्फको विवरण प्रस्तुत छैन । साथै इराकी विद्रोहीले आफ्नोतर्फको क्षतिको विवरण दिन अस्वीकार गरेको छ । यसअघि सुरक्षाकर्मीतर्फ क्षतिको सङ्ख्याका विषयमा सेनाले आधिकारिकता माथि प्रश्न उठाएको थियो भने सेनाद्वारा दिइएको विवरणप्रति यूएनएएमआईले अविश्वास प्रकट गरेको थियो । मृतक सर्वसाधारणमध्ये इराकको उत्तरी प्रान्त नाइनमेहमा सबैभन्दा धेरै १५३ जनाको मृत्यु भएको थियो भने १२३ जनाको पश्चिमी मोसुलमा भएका युद्धमा मारिएको विज्ञप्तिमा जनाइएको छ ।

माओवादी कमाण्डरको सूचना दिनलाई ६४ लाख पुरस्कार घोषणा

छत्तीसगढ, भारत सरकारलाई नै ठूलो धक्का दिने गरे गरिएको आक्रमणमा संलग्न माओवादी कमाण्डरको सूचना दिन भारतीय सुरक्षा निकायले सार्वजनिक अनुरोध गरेको छ । छत्तीसगढको सुकमा जिल्लामा २५ जना सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको आक्रमणपछि जाँच गरिरहेका सुरक्षा एजेन्सीहरुले पाँच जना कमाण्डरको पहिचान गर्दै सार्वजनिक अपील गरेको हो । विविसीका अनुसार, उक्त घटनामा माओवादीका चार सैन्य कम्पनी संलग्न थिए । यिनीहरुको नेतृत्व ५ जना कमाण्डरले गरेका थिए । हमलामा दर्जनौं महिलाहरु समेत सहभागी रहेको समाचार सार्वजनिक भएको थियो । छत्तीसगढ प्रहरी हेडक्वार्टरले चारजना कमाण्डरको तस्वीर सार्वजनिक गर्दै ५ लाख देखि ४० लाख भारतीय रुपैयाँसम्म पुरस्कारको घोषणा गरेको हो । प्रहरीले दावी गरे अनुसार, सबैभन्दा उच्चस्तरका कमाण्डरको नाम हिडमा रहेको छ । हिडमाले यसअघि २०१० मा सुकमा नै भएको ठूलो हमलामा पनि सहभागिता जनाएको बताइन्छ । उक्त घटनामा ७४ जना प्रहरी मारिएका थिए । यसबाहेक अर्जुन, सितु र सोनी नाम गरेका कमाण्डरको समेत खोजी भइरहेको छ ।

क्रिकेटर गौतम गम्भीरद्वारा माओवादीबाट मारिएका २५ प्रहरी परिवारको खर्च ब्यहोर्ने घोषणा

नयाँ दिल्ली, वैशाख १५ । छत्तीसगढको सुकमामा भएको माओवादी आक्रमणमा परी मृत्यु भएका प्रहरीका परिवारलाई क्रिकेटर गौतम गम्भीरले सहयोग गर्ने घोषणा गरेका छन् । आइपिएल को दशौं संस्करणमा उत्कृष्ट टीमको नेतृत्व गर्दै आएका भारतीय क्रिकेटर गौतम गम्भीरले सुकमामा मारिएका प्रहरीका बालबालिकाको शिक्षादीक्षाको सम्पूर्ण खर्च ब्यहोर्ने बताएका हुन । हिन्दूस्तान टाइम्सको स्तम्भमा आफ्ना विचार लेख्दै गम्भीरले केन्द्रीय रिजर्भ प्रहरी बलका २५ जना प्रहरी मारिएको घटनाले आफू दुखी भएको बताए काछन् । “बुधबार बिहान अखबार पढिरहेका बेला त्यहाँ छापिएका दुईवटा तस्वीरले मेरो मन छोयो ।” गम्भीरले लेखेका छन्, “एउटा तस्वीरमा एक बालिका आफ्ना शहीद बुवालाई सलामी दिइरहेकी थिइन भने अर्कोमा शहीद पत्नीलाई नातेदारहरुले सान्त्वना दिइरहेका थिए । यी तस्वीर देखेर मलाई निकै दुख लाग्यो ।” गौतम गम्भीरले आफ्नै नाममा खोलिएको फाउण्डेशनका तर्फबाट प्रहरीका परिवारलाई सहयोग गर्ने काम शुरु गरिसकिएको बताएका छन् । गौतमले घटनाको बिरोधमा बुधबार राती राइजिङ पुने सुपरजाइन्ट्ससँगको खेलमा कालो पट्टी लगाएर खेलेका थिए । यसअघि वलिउड कलाकार अक्षय कुमारले समेत मृतक प्रहरीका परिवारलाई सहयोग गर्न अनुरोध गरेका थिए । मंगलबारका दिन छत्तीसगढको सुकमामा भएको आक्रमणमा २५ प्रहरीको मृत्यु भएको थियो । प्रहरीले घटनापछि निकै ठूलो अप्रेसन चलाइरहेको छ ।

डोनाल्ड ट्रम्पद्वारा अमेरिकी इतिहासमैं ठूलो कर छूटको घोषणा

बाशिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको इतिहासमा आजसम्मको सबैभन्दा ठूलो कर छूटको घोषणा गरेका छन् । यो छूटमा कारोबार तथा व्यक्तिगत दुबै कर समावेश छन् । आफ्नो मुख्य चुनावी प्रतिबद्धता पुरा गर्दै ट्रम्पले ठूलो कर छूटको घोषणा गरेका हुन । नयाँ घोषणा अनुसार, कर्पोरेट कर ३५ प्रतिशतबाट घटाएर १५ प्रतिशत गरिएको छ । यसका साथै मृत्यु करलगायत कैयन् कर समाप्त गर्ने प्रस्ताव गरिएको छ । व्यक्तिगत करमा समेत महत्वपूर्ण परिवर्तन गरिएको छ । अमेरिकाले यसबाट अर्थतन्त्रमा नयाँ अवसर उत्पन्न हुने र रोजगारीमा वृद्दि हुने दावी गरेको छ ।

दमाकस एयरपोर्ट नजिक भीषण हमला

सिरिया, वैशाख १४ । सिरियाको दमाकस अन्तर्राष्ट्रिय विमानस्थल नजिक भीषण हमला भएको छ । हमला कसले र किन गरेको भन्ने बारेमा भने अझै सम्म स्प्ष्ट भइसकेको छैन । बिबिसीले जनाए अनुसार, एयरपोर्ट नजिक ठूलो विष्फोटको आवाज सुनिएको थियो । विष्फोटले के कति क्षति भएको छ भन्ने कुरा समेत खुल्न सकेको छैन । उक्त एयरपोर्ट सिरियाको राजधानीबाट २५ किलोमिटर दक्षिण पूर्वमा रहेको छ । विष्फोटसँगै गोली चलेको आवाज समेत सुनिएको छ । सिरियामा सन् २०११ देखि गृहयुद्ध चलिरहेको छ । यो युद्दमा तीन लाख बीस हजार बढीले ज्यान गुमाइसकेका छन् ।

सेनाको क्याम्पमा आतंककारी हमला, तीन सैनिकको मृत्यु

नयाँ दिल्ली, वैशाख १४ । भारत प्रशासित कश्मिरको कुपवाडा जिल्लामा नियन्त्रण रेखा नजिक सेनाको एक क्याम्पमा आतंककारीहरुले हमला गरेका छन् । घटनामा एक सैनिक अधिकारीसहित तीनजनाको मृत्यु भएको छ । विविसीले जनाए अनुसार, जवाफी कारवाहीमा दुई आतंकवादीको समेत मृत्यु भएको छ । बिहीबार बिहान चौकीबल स्थित सेनाको क्याम्पमा आतंकवादीहरुले सरप्राइज अट्याक गरेको सेनाले जनाएको छ । ९ अप्रैलका दिन श्रीनगरमा भएको उपचुनावमा हिंसा बढेपछि त्यसको असर अहिलेसम्म जारी छ । सात प्रतिशतले भोट दिएको उक्त उपचुनावपछि कश्मिरमा हिंसा र भारतीय सेनाविरोधी प्रदर्शन उग्र भएको छ । स्कूल कलेजका छात्राहरुले समेत भारतीय सेनामाथि ढुंगामुढा प्रहार गरेका छन् । यो महिना मात्रै झडपमा १० बढी सर्वसाधारण मारिएका छन् ।

दक्षिण कोरियामा अमेरिकी क्रुज मिसाइलको चर्काे विरोध

काठमाडौं, बैशाख १३ । दक्षिण कोरियाली जनताले अमेरिकी क्रुज मिसाइलको चर्काे विरोध गरेका छन् । अमेरिकाले शक्ति प्रदर्शन गर्ने भन्दै मिसाइल बोकेको जहाज दक्षिण कोरिया पठाएको थियो । अमेरिकी क्रुज मिसाइल जहाजको आगमनले कोरियाली प्रायद्वीमा थप अशान्ति फैलाउने भन्दै विरोध प्रदर्शन भएको छ । अमेरिका र दक्षिण कोरियाले भने मिसाइल डिफेन्स सिष्टम जडान गरिसकेका छन् । यसैक्रममा कोरियाली जनताले उक्त थाडसिष्टम अर्थात मिसाइल प्रतिरक्षा प्रणालीको विरोध गरेका हुन् । यता उत्तर कोरियाले भने अमेरिकाको यो कदमले आफनो देशलाई केही फरक नपर्ने प्रतिक्रिया दिएको छ। दक्षिण कोरिया र अमेरिकाले भने उत्तर कोरियाको परमाणु कार्यक्रमको बिरोध गर्दै यसले उत्तर कोरियाले नराम्रो परिणाम भोग्नु पर्ने चेतावनी दिंदै आएको छ ।