विश्वकै सबैभन्दा खुसी मुलुक नर्वे
काठमाडौं, चैत ७ । विश्वकै सबैभन्दा खुसी मुलुकमा नर्वे बनेकाे छ ।
संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको हो ।
यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुसी मुलुकको सूचीमा परेका छन् ।
यो सूचीमा अमेरिका १४औं र ब्रिटेन १९औं स्थानमा छन् । मध्यअफ्रिकी मुलकहरु भने सूचीको सबैभन्दा पुछारमा परेका छन् ।
पश्चिमी युरोप र उत्तर अमेरिकी मुलुकले सूचीको अगाडिका स्थानहरु ओगटेका छन् ।
मुलुकको प्रतिव्यक्ति आय, सामाजिक सहयोग, आयु, स्वतन्त्रता, सदासयता, भ्रष्टाचारको अवस्थाजस्ता सूचकलाई खुसी मापकको मानक मानिएको थियो ।
विगत पाँच वर्षयता विश्व खुसी दिवस मार्च २० को अवसर पारेर राष्ट्रसंघले खुसी मुलुकहरुको सूची सार्वजनिक गर्ने गरेको छ ।
एजेन्सी
उत्तर कोरियाद्वारा उच्च क्षमताको रकेट परीक्षण
चैत ६ । उत्तर कोरियाले नयाँ तथा बिस्तारित क्षमताको रकेट इन्जिनको परीक्षण गरेको छ । उत्तर कोरियाली सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परीक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ । यो परीक्षणले उत्तर कोरियाको रकेट क्षमता नयाँ स्तरमा पुगेको नेता किम जोङ्ग उनले घोषणा गरेकाे समाचार संस्था केसिएनएले जनाएको छ । नयाँ सकेटले विश्व स्तरको स्याटेलाइट प्रक्षपणका लागि उत्तर कोरियालाई सहयोग गर्ने नेता किमको भनाई छ । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले चीनको भ्रमण गरे लगतै उत्तर कोरियाले रकेट परीक्षण गरेको हो । चीन पुग्नुअघि दक्षिण कोरियामा रहनु भएका टिल्लर्सनले शुक्रबार उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाका सैनिकलाई चुनौती दिएमा त्यसको प्रतिबाद गर्ने बताएका थिए । उत्तर कोरियाले पछिल्लो समय लगातार आणविक परीक्षण तथा मिसाइल प्रक्षपण गर्दै आएको छ ।
आतंकवादी ‘आइएस’ को निशानामा ताजमहल !
चैत ५ । भारतको आगरास्थित मुगलकालिन स्मारक ‘ताजमहल’ आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा बढाइएको छ । हालै केही संचारमाध्यमले अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले ताजमहलमा आक्रमण गर्ने योजना बनाएको समाचार प्रकाशमा ल्याएका थिए । भारतीय सुरक्षा स्रोतका अनुसार इन्टरनेटमा एउटा लिंक व्यापक शेयर भइरहेको थियो जसमा आइएसले ताजमहलमा हमलाको योजना बनाएको उल्लेख थियो । सुरक्षा निकायले उक्त समाचारको सत्यता बारेमा अनुसन्धान सुरु गरेको र ताजमहल आसपास सुरक्षा कडा तुल्याइएको जनाएको छ । उल्लेखनीय छ, एउटा वेबसाइटमा प्रकाशित ग्राफिक्समा ताजमहल नजिकै उभिएको सशस्त्र लडाकुलाई देखाइएको थियो । आइएसको समर्थन गर्दै आएको एक मिडिया ग्रुपले ताजमहललाई आइएसको सम्भावित हमलाको निशानाका रुपमा देखाइएको बताइन्छ । केही दिनअघि भारतको उत्तर प्रदेशमा सुरक्षाकर्मीले गरेको कारवाहीमा आइएससँग आवद्ध संदिग्ध मारिएको घटनाले पनि भारतमा आइएसको गतिविधि विस्तार हुँदै गएको अनुमान गर्न सकिन्छ । सो कारवाहीमा भारतीय सुरक्षाकर्मीले ६ संदिग्धलाई नियन्त्रणमा समेत लिएका छन् । एजेन्सी
ह्वाइटहाउसले किन माग्यो माफि?
वासिङटन, चैत ५ । ह्वाइटहाउसले बेलायती गुप्तचर निकायले अमेरिकी राष्ट्रपति निर्वाचनका समयमा डोनाल्ड ट्रम्पमाथि जासुसी गरेको आरोप लगाएकोमा माफी मागेको छ । निर्वाचनको समयमा बेलायती गुप्तचर निकायलाई ओबामालाई सघाउन ट्रम्पको पनि रेकर्ड गरेको आरोप लागेको थियो । अमेरिकी टेलिभिजन च्यानल फक्स न्यूजले आफ्नो रिपोर्टमा ह्वाइट हाउसका प्रेस सचिव स्पाइसरले बेलायती गुप्तचर निकायमाथि लगाएको आरोप प्रशारण गरेको थियो । ह्वाइटहाउसका अधिकारीले स्पाइसरको उक्त अभिव्यक्ति व्यक्तिगत भएको स्पष्ट पारेका छन् । यो खबर आजको कान्तिपुरमा छ ।
३१ आप्रबासीलाई हेलिकोप्टरबाट गोली हानी हत्या
चैत ४ । यमनमा आप्रबासीहरु चढेको पानीजहाजमा अज्ञात समूहले हेलिकोप्टरबाट गोली हानी ३१ जनाको हत्या गरेको छ । यमनबाट सुडानतर्फ जाँदै गरेको सो पानीजहाजमा अधिकांश सोमालियाका आप्रबासीहरु रहेको जनाइएको छ । यमनको बाब अल मानदेब क्षेत्रमा पुगेको पानीजहाजमा हेलिकोप्टरबाट गोली प्रहार भएको थियो । घटनाको जिम्मेवारी अझैसम्म कसैले लिएको छैन ।
ओबामाको एक महिना फ्रान्समा
चैत ३ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा एक महिनाका लागि बुधबार फ्रान्स पुगेको स्थानीय टेलिभिजनहरुले जनाएका छन् । स्थानीय तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उनले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने तयारी गरेका छन् । उनी आफ्नो परिवारबिना नै पर्यटकिय टापु तहीतीमा उत्रिएका थिए । ओबामा वातावरणमैत्री ब्राण्डो रिसोर्टमा बसेका छन् । सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार ३ सय युरो रहेको छ । यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट नगर्ने बताएका छन् । उनले किन यस्तो एक महिने योजना बनाए भन्ने अझै स्पष्ट हुनसकेको छैन । साथै उनको परिवारका सदस्यहरु पछि उनीसँगै आउने छन् की छैनन् भन्ने पनि यकिन हुन सकेको छैन् । फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने १ सय भन्दा बढी टापु भएको क्षेत्र हो । जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परिक्षण गरेको थियो ।
कम्बोडियाका उपप्रधानमन्त्रीको निधन
न्होम पेन, चैत ३ । कम्बोडियाका उपप्रधानमन्त्री सोक एनको ६६ बर्षको उमेरमा बुधबार निधन भएको छ । संसदका सदस्य, उपप्रधानमन्त्री सममेच भिवोल पान्हा सोक एनको सन् २०१७ को मार्च १५ का दिन १८.३२ बजे वेईजिङ अस्पतालमा ६६ बर्षको उमेरमा निधन भएको छ,” सरकारद्वारा जारी शोक वक्तव्यमा लेखिएको छ । सोक कम्बोडियोको अत्यन्त चर्चित राजनीतिक नेता हुनुहुन्थ्यो । अहिलेको सत्तारुढ दल पिपुल्स पार्टीमा उहाँ केन्द्रीय कार्यसमिति सदस्य हुनुहुन्थ्यो । सन् १९९८ देखि उहाँ कम्बोडियोको मन्त्री हुनु भएको थियो भने सन् २००४ मा पदोन्नति भई उहाँ उपप्रधानमन्त्री बन्नु भएको थियो । रासस
अस्पतालमै बिरामीद्वारा जलाएर नर्सको हत्या
इजरायल, चैत २ । इजरायलको तेल अभिभको दक्षिण होलोनस्थित अस्पतालकी एक नर्सलाई जिउँदै जलाएर हत्या गरिएको छ । ५६ वर्षे तोवा करारो नाम गरेकी नर्सको हत्या गर्ने त्यही अस्पतालका बिरामी रहेको बताइएको छ । ७० वर्षीय ती बिरामीले नर्सको शरीरमा ज्वलनशील पदार्थ फ्याकेर आगो लगाएका थिए । त्यसअघि ती दुईबीच विवाद भएको बताइएको छ । घटनापछि कार चढेर भागेका हत्यारालाई प्रहरीले गिरफ्तार गरेको छ । घटनाको विरोधमा इजरायली स्वास्थ्यकर्मीले बुधबारबाट दुई दिने हड्ताल गर्ने जनाएका छन् ।
अमेरिकी राष्ट्रपतिले तिरेको कर विवरण सार्वजनिक
वासिंटन, चैत २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक भएको छ । विवरण चुहाएको भन्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस भने रुष्ट बनेको छ । कर सम्बन्धी विवरण प्रकाशित गर्नु गैर कानुनी भएको भन्दै ह्वाइट हाउसले आलोचना गरेको छ । अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबीसीले ट्रम्पले सन् २००५ मा बुझाएको कर सम्बन्धी विवरण सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले सन् २००५ मा १५ करोड डलर आम्दानी गरेकोमा तीन करोड ८० लाख डलरमात्रै कर बुझाएको खुलेको छ । कर विवरण सार्वजनिक गर्न दबाब पर्दै आए पनि राष्ट्रपति ट्रम्पले विवरण सार्वजनिक गरेका थिएनन् । तर एमएसएनबीसीले ट्रम्पले सन् २००५ मा बुझाएको करको विवरण सार्वजनिक गरेको हो । दुई पेज लामो कर सम्बन्धी विवरण प्रकाशित गरे पनि यो पूर्ण भने नभएको बताइएको छ । राष्ट्रपति कार्यालयले घटनाको विरोध गर्दै सार्वजनिक भएकोभन्दा अरु शीर्षकमा पनि कर बुझाएको दाबी गरेको छ ।
भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना
लखनउ, चैत २ । भारतको उत्तर प्रदेशस्थित इलाहावादमा भारतीय वायुसेनाको एक हेलिकोप्टर दुर्घटना भएको छ । बुधबार भएको दुर्घटनामा हेलिकोप्टरका पाइलट भने सुरक्षित रहेको जनाइएको छ । अवतरणको क्रममा रहेको हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनाको कारणका बारे खुलाइएको छैन । उक्त हेलिकोप्टर नियमित ट्रेनिङका क्रममा उडान भरिरहेको अवस्थामा दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । केही अघि राजस्थानको बाडमेरमा पनि भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको थियो । त्यस्तै उत्तराखण्डको चमोलीमा भारतीय वायुसेनाकै एक हेलिकोप्टर दुर्घटना भएको थियो । वायुसेनाको हेलिकोप्टर तथा विमान लगातारजसो दुर्घटना हुन थालेपछि भारतीय रक्षा अधिकारीहरुका लागि चिन्ताको विषय बढेको विज्ञहरुको भनाइ छ ।
उपप्रधानमन्त्री निधि र भारतीय पूर्व प्रधानमन्त्री भेटघाट
नयाँदिल्ली, चैत २ । प्रति आतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नयाँ दिल्ली आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच बुधबार बिहान भेटबार्ता भएको छ । सिंहको निवासमा भएको भेटमा पूर्ब प्रधानमन्त्री सिंहले दुई देशीचको सम्बन्ध, नेपालको शान्ति प्रकृया र विकासका बारेमा कुराकानी भएको थियो । भेटमा गृहमन्त्री निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएको थियो । त्यस अवसरमा पूर्वप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरतापछि विकास निर्माणको कामले गति लिने उल्लेख गर्दै एउटा असल छिमेकीका नाताले भारत सधैं नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको बताएको थियो । उहाँले दुई देशबीचको पुरानो सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै भोलिका दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताए । भेटमा उपप्रधानमन्त्री निधिका साथ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी रहेका छन् । आजै गृहमन्त्री निधिले भारतीय कम्यूनिष्ट पार्टीका नेता डीपी त्रिपाठीसंग पनि भेटघाट गरेको छ । भेटमा दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । लामो सयमदेखि अस्वस्थ रहनुभ एक निधिले त्रिपाठीको स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।
इथियोपियामा फोहोरको थुप्रोमा पहिरो जाँदा ४८ को मृत्यु, मृतककाे संख्या अझै बढ्नसक्ने अनुमान
काठमाडौं, फागुन ३० । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै फोहोरको थुप्रोमा पहिरो जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । सरकारले फोहोर फाल्ने ठाउँको रुपमा छुट्याएको अर्थात् ल्याण्डफिल्ड साइटमा सो पहिरो जाँदा उनीहरुको ज्यान गएको बिबिसीले जनाएको छ । पहिरो गएका बेला त्यहाँ एक सय ५० जनाभन्दा बढी मानिस रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । त्यहाँ ५० वर्षदेखि फोहोर थुपारिँदै आएको थियो । फोहोरको पहाडमा पहिरो जाँदा त्यहाँ अस्थायी घर बनाएर बसेका मजदुरहरु हराइरहेका हुन् । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । पहिलो गएको ल्याण्डफिल्ड साइट नजिकै सरकारले फोहोरबाट उर्जा निकाल्ने केन्द्र बनाइरहेको छ ।
बोकोहराम समूहले बन्धक बनाएका दुई सय एघार जनाको उद्धार
लागोस (नाइजेरिया), फागुन ३०। नाइजेरियाली सरकारी सुरक्षाकर्मीले मुलुकको उत्तरपूर्वी राज्य ब्रोनोमा नाइजेरियाली बोको हराम समूहद्वारा बन्धक बनाइ राखेका २११ जनालाई उद्धार गरेको सैनिक अधिकारीले आइतबार बताएका छन् । ‘अपरेसन लाफिमा डोल’ नाम दिइएको ‘२२ ब्रिगेड ग्यारिसन’द्वारा किङ्गाल मुर्रे र माजा गाउँमा सञ्चालित सुरक्षा कारबाहीपछि बोकोहराम समूहद्वारा विभिन्न समयमा बन्धक बनाएका उनीहरुलाई उद्धार गर्न सेना सफल भएको सेनाका प्रवक्ता सनी उस्मानद्वारा जारी सिन्ह्वालाई प्राप्त विज्ञप्तिमा जनाइएको छ । नाइजेरियामा सन् २००९ देखि बोकोहरामद्वारा सुरु गरेको द्वन्द्वमा परी कम्तिमा २० हजार नाइजेरियालीको मृत्यु भएको छ भने २३ लाख नाइजेरियाली आन्तरिक तथा बाह्य रुपमा विस्थापित बनेका छन् । नाइजेरियाली विद्रोही समूहको सुरक्षित आश्रयस्थल साम्बिसा जङ्गललाई सन् २०१६ को डिसेम्बरमा सेनाद्वारा चलाएको सुरक्षा कारबाहीमा नियन्त्रणमा लिन सफल भएपछि बोको हराम विरुद्धको कारबाहीले एकपछि अर्को गर्दै उल्लेख्य सफलता पाएको छ । पछिल्लो समय नाइजेरियाली सरकारी सुरक्षाफौजले नाइजर र चाड क्षेत्रको वन क्षेत्रमा आफ्नो कारबाहीलाई केन्द्रित गर्दै हवाई तथा स्थल कारबाहीमार्फत बोकोहराम समूहविरुद्ध कारबाही अघि बढाएको छ । रासस
५ सय बढी शव गाडिएका चिहान फेला
इराक, फागनु २९ । इराकको मोसुल सहरस्थित एक कारागार नजिक ५ सय भन्दा बढी शव गाडिएको सामुहिक चिहान फेला परेको छ । बिबिसीका अनुसार, ईस्लामिक अतिवादी समुह आइएसले सर्वसाधारणको सामूहिक हत्या गरि गाडेको सेनाले जनाएको छ । ६ सय भन्दा बढी शिया मुसलमान बन्दीको हत्या गरिएको शिया समर्थित समुहले दावी गरेको छन् । सन् २०१४ मा कारागार नियन्त्रणमा लिएको आईएसबाट सरकारी सेनाले गत साता पुन नियन्त्रण कायम गरेको थियो । सन् २०१४ मा भएको भनिएको सो घटनाको अनुसन्धान भैरहेको बीबीसीले जनाएको छ । शिया, सुन्नि र ईसाई धर्मावलम्वीलाई छुट्टाएर विभिन्न स्थानमा लगिएको घटनामा बाँचेकाहरुले बयान दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मोशुलमा पुनस् नियन्त्रण कायम गर्ने अभियानका क्रममा कारागार पनि नियन्त्रणमा लिइएको हो ।
विश्वमा सन् १९४५ यता कै सबैभन्दा ठूलो मानवीय संकट
फागुन २८ । विश्वले सन् १९४५ यता कै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघका मानवीय सहायता प्रमुख स्टेफेन ओब्रिनले मानवीय संकटको भयावह विनाश रोक्न अपील गरेका छन् । उनले राष्ट्रसंघको सुरक्षा परिषद्मा यमन, सोमालिया, दक्षिण सुडान र नाइजेरियाका दुई करोडभन्दा बढी मानिस अकाल र भोकमरीको मारमा परेको जानकारी दिए । यो विपत्तिबाट पार पाउन आगामी जुलाईसम्म ४४ करोड डलर आवश्यक पर्ने उनको भनाइ छ । युनिसेफले खाद्य संकटकै कारण यस वर्ष १२ लाख बालबालिकाको मृत्यु हने चेतावनी दिइसकेको छ । केही समयअघि सोमालियामा भोकमरीको घोषणा गरिएको थियो । छ वर्षअघि मात्र त्यहाँ भोकमरीका कारण करिब २ लाख ६० हजार मानिसको मृत्यु भएको थियो । लामो समयदेखिको युद्धका कारण मध्यपूर्व र अफ्रिकाका विभिन्न मुलुकले चरम खाद्य संकट व्यहोरिरहेका छन् ।
चिनियाँ नागरिकलाई भारतसँग सीमा जोडिएका क्षेत्रमा नजान चीनको आग्रह
काठमाडौं – नेपालमा बढ्दै गएको द्वन्द्वका कारण नेपाल भ्रमण गर्न चाहने चिनीया नागरिकलाई सतर्कता अपनाउन चीन सरकारले आग्रह गरेको खबर आजको नेपाल समाचारपत्रमा छ । नेपाल स्थित चिनीया दूतावासले जारी गरेको बक्तव्यमा नेपालको दक्षिणी क्षेत्रमा द्वन्द्व र हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएकाले सो क्षेत्रको भ्रमण नगर्न र जानै परेपनि सतर्कता अपनाउन आग्रह गरेको छ । चिनीया विदेश मन्त्रालयले नेपाल भारत सीमा क्षेत्रमा केही दिनदेखि तनाव बढ्दै गएकाले त्यस क्षेत्रमा भ्रमण गर्नुपरे उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

