मस्जिदमा बम विष्फोट, २२ को मृत्यु, ७० घाइते
चैत् १८ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्र पाराचिनारको एक मस्जिदमा आज भएको बम विष्फोटमा २२ जनाको ज्यान गएको छ भने अन्य ७० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीकाे अवस्था गम्भिर रहेकाे बताइएकाे छ ।
सिया मस्जिदको पार्किङ स्थलमा रहेको कारमा राखिएको बम विस्फोट भएको पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै सिन्हवाले जनाएको छ ।
विस्फोटमा ज्यान गुमाउनेमा बालबालिका र महिला धेरै रहेको त्यस क्षेत्रका अधिकारीलाई उद्धृत गर्दे बिबिसीले जनाएको छ ।
विस्फोटबाट १५ वटा पसलमा क्षति पुगेको छ । विस्फोटका बेला मानिसहरु नमाज पढ्न मस्जिदमा गएका थिए ।
जापानमा हिमपहिरोमा पुरिएर आठ विद्यार्थीको मृत्यु
चैत १४ । जापानको टोेकियोस्थित स्कुले विद्यार्थी बसेको रिसोर्टलाई हिमपहिरोले पुर्दा आठ विद्यार्थीको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन् भने अझै केही वेपत्ता भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । टोकियोको उत्तरी क्षेत्रमा रहेको रिसोर्टमा विभिन्न विद्यालयका ७० जना विद्यार्थी र शिक्षक बसिरहेका बेला हिम पहिरो गएर पुरिएको जापानी समाचार संस्था क्यूटोले जनाएको छ । रिसोर्टमा पुरिएकाहरुको खोजी कार्य तीब्र पारिएको छ । छुट्टी मनाउन पुगेका विद्यार्थी हिम पहिरोमा पुरिएका हुन् । एजेन्सी
होटलमा बसेको एकवर्षभित्रमा सम्बन्ध बिच्छेद भए पुरै खर्च फिर्ता दिने
चैत १२ । व्यवसाय संचालनका लागि नयाँ नयाँ आकर्षक उपहारको व्यवस्था गर्ने प्रतिष्पर्धा नै चलिरहेका बेला स्विडेनको एक होटलले पनि यस्तो उपहार योजना अघि सारेको छ । यदि विवाहित जोडी त्यस होटलमा बसेको समयदेखि एक वर्षभित्र सम्बन्ध बिच्छेद भएमा सो होटलले सम्पूर्ण खर्च फिर्ता हुने ‘अफर’ ल्याएको हो । स्वीडिस होटल चेनले आफ्नो होटलमा आउने पाहुनाहरु खुसीसाथ त्यहाँ रहने र उनीको जीवनमा कुनै पनि दरार नओस भन्नका लागि ‘सम्बन्ध ग्यारेण्टि सुविधा’ अफर अघि सारेको होटलले जनाएको छ । स्वीडिस एलडब्लुटी संचारमाध्यमका अनुसार होटलमा बसेको एक वर्षसम्म सम्बन्धमा ग्यारेण्टिसहितको सेवा सुविधा दिइने छ । यदि होटलमा बसेको विवाहित जोडीको एक वर्षभित्र सम्बन्ध बिच्छेद भए होटलले माफीसहित उक्त होटलमा बसेको शुल्क फिर्ता गर्नेछ । तर, त्यसका लागि होटल चेनले कम्तिमा दुई रात तीन दिन बस्ने जोडीलाई मात्र भएको उल्लेख गरेको छ । अन्यको तुलनामा यो होटल केही महंगो भएपनि सम्बन्धमा आउने खट्पट् सुधार्न समय महत्वपूर्ण हुने र त्यो समय होटलको रमाइलो वातावरणमा रमाउँदा सम्बन्धमा अवश्य केही नयाँपन आउनसक्ने होटलमा बस्न आएका पेत्रा फगरेल जान्सनको भनाई छ । चेन होटेलले आफ्नो होटलमा बसेको मितिले एक वर्षभित्र सम्बन्ध बिच्छेद भए अदालतको प्रमाणपत्रसहित ‘सम्बन्ध ग्यारेण्टि सुविधा’ अनुसार होटलमा भएको सम्पूर्ण खर्च फिर्ता दिइने उल्लेख गरेको छ । एजेन्सी
चीनको सुन खानीमा पुरिएर १० मजदुरको मृत्यु
सेन्झाउ, चैत १२ । चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ । हेनन प्रान्तमा सँगसगै रहेका दुई ओटा खानीमा दुर्घटना भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । स्थानीय समयअनुसार शुक्रबार विहान १०.३६ बजे १२ जना मजदुर र छ जना व्यवस्थापनतर्फका कर्मचारी क्विनलिङ नामक सुनको खानीमा पुरिएको उनीहरुले बताएका छन् । पुरिएको ठाउबाट उद्धारकर्ताले शुक्रबार राती अबेर सात जनाको शव निकालेका छन् । पुरिएका मध्ये अरु १० जनालाई भने उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । अर्का एक जना बेपत्ता भएका छन् । त्यस्तैखालको अर्को दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका ३ः०० बजेसंगैको सुनखानीमा छ जना मजदुर पुरिएका थिए । उनीहरुमध्ये चार जनालाई बेलुका ५ः३० बजे उद्धार गरिएको थियो भने अरु दुई जना अबेर राति मृत अवस्थामा भेटिएका थिए । स्थानीय प्रशासनले दुबै घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ । रासस
सिरियाको कारागारमा रातभरी हमला, १६ जनाको मृत्यु
बेरुत, चैत १२। सिरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने इडलिबमा रहेको एउटा कारागारमा भएको हवाई हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । विद्रोहीले नियन्त्रणमा लिएको सो कारागारमा रातभरी हमला भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले शनिबार जनाएको छ । मृत्यु हुनेमा जेलर, जेलका सुरक्षा गार्ड पनि रहेका छन् । राष्ट्रपति बसर अल असदको सरकारलाई सहयोगका लागि रसियाले पठाएको यद्धक विमानले आक्रमण गरेको विश्वास गरिएको छ । इडलिब शहरमा यसअघि पनि यस्तै प्रकारका आक्रमणहरु हुँदा अरु धेरै जनाको मृत्यु भएको छ । सिरियामा छ वर्ष अगाडिदेखि सुरु भएको सरकार विरोधी हिंसात्मक द्वन्द्वका कारण अहिलेसम्म झन्डै तीन लाख २० हजार जना मारिएका छन् । रासस
व्यापक बिरोधपछि ट्रम्पले फिर्ता लिए स्वास्थ्यसम्बन्धी विधेयक
स्वास्थ्य बिमा सम्बन्धमा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याउनुभएको ऐनको विपक्षमा रहनु भएका उनले त्यसको खारेजीका लागि नयाँ ऐन ल्याउन लागेका थिए । तर ट्रम्पको उक्त विधेयकमा उनकै पार्टी रिपब्लिकनका सांसदले असहयोग गर्ने देखिएपछि मतदानका लागि तयारी अवस्था रहेको विधेयक फिर्ता लिनुपरेको हो । ४ सय ३५ सदस्यीय तल्लो सदनमा रिपब्लिकनको स्पष्ट बहुमत अर्थात् २ सय ३७ सीट रहेपनि आफ्नै सांसदले नसघाउने भएपछि विधेयक फिर्ता लिनु परेको हो । विधेयक पारित गर्न २ सय १८ मत भए पुग्नेमा त्यति पनि पुर्याउन नसकेर विधेयक फिर्ता लिनुपर्दा राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का लागेको छ ।
युवती जिस्क्याउनेहरुविरुद्ध मुख्यमन्त्रीको ‘एन्टी रोमियो’ अप्रेसन
नयाँ दिल्ली, सार्वजनिकस्थलमा महिलामाथि हुने दुव्र्यवहार रोक्न नवनिर्वाचित मुख्यमन्त्री आदित्यनाथले एन्टी रोमियो अप्रेसन शुरु गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्रीको निर्देशनसँगै उत्तर प्रदेशका बिभिन्न स्थानमा प्रहरीले अप्रेसन शुरु गर्दै दुव्र्यवहार गर्ने युवाहरुलाई पक्राउ अभियान शुरु गरेको छ । उक्त अभियान अन्तर्गत प्रहरी दस्ताहरुले बजार, ‘शपिंग मल’, विद्यालय, क्याम्पस, पार्क र भिड हुने स्थानहरु निरीक्षण गर्ने र महिलालाई जिस्क्याएको र दुव्र्यवहार गरेकोमा देखेमा पक्राउ गर्न आदेश दिएएको छ । हालसम्म यसरी दुव्र्यवहार गर्ने ६ जना पक्राउ परेका छन् । स्थानीय केही युवाले महिला विद्यार्थीहरु परीक्षा दिएर घर फर्किरहेको अवस्थामा जिस्क्याएका कारण उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। हरेक प्रहरी चौकीमा यस्तो अपराध रोक्न सेल नै गठन गरिएको छ । नव निर्वाचित मुख्यमन्त्री आदित्यनाथ कट्टर हिन्दुवादी नेताका रुपमा परिचित छन् ।
सोमालियामा भोकमरीले दुई लाख बालबालिका मृत्युको मुखमा
चैत ११ । लगातारको खडेरीका कारण सोमालियामा लाखौं मानिस भोकमरीको चपेटामा परेको परेका छन् । संयुक्त राष्ट्रसंघले जनाए अनुसार विगत दुई वर्षदेखिकाे खडेरीका कारण मुख्य खाद्य बालीको उत्पादन नभएकाले त्यहाँ खाद्य गम्भीर संकट बनेको हाे । हाल देशको आधा भन्दा बढी जनसंख्या भोकमरीको चपेटामा रहेका छन् भने झण्दै दुइलाख भन्दा बढी बालबालिका मृत्युकाे मुखमा रहेका राष्ट्रसंघको भनाई छ । सोमालियाका ६२ लाख मानिसलाई बाच्नका लागि मानवीय सहायताको खाँचो छ । यस्तै खडेरीका कारण स्वच्छ खाने पानीको अभाव भएको छ । दुषित पानीको प्रयोगका कारण हैजा जस्ता महामारिजन्य रोग फैलिने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । २९ लाख भन्दा बढी मानिसलाई तत्काल खाद्य सहायताको खाँचो रहेको राष्ट्रसंघले जारी गरेको नयाँ प्रतिवेदनमा उल्लेख छ । भोकमरी तथा पानीको अभावका कारण सबै भन्दा धेरै बालबालिका प्रभावित भएका छन् । १० लाख भन्दा धेरै बालबालिका कुपोषित रहेको र त्यसमध्ये एक लाख ८५ हजार तत्काल उपचार नपाएमा ज्यान गुमाउने अवस्थामा रहेको राष्ट्रसंघको भनाई छ । खडेरीका कारण धेरै मानिस विस्थापित पनि भएका छन् । यसले गर्दा महिला तथा किशोरीमा यौनजन्य हिंसाको जोखिम बढेको भन्दै राष्ट्रसंघले तत्काल सहयोगका लागि एकीकृत प्रयास गर्न विश्वसमुदायसँग आग्रह गरेको छ । सोमालियामा सन् २०११ मा भोकमरीका कारण दुई लाख ५० हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । चाँडै नै अहिलेको भोकमरीको अवस्थासँग जुध्नका लागि काम नगर्ने हो भने धेरैको ज्यान जाने जोखिम रहेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । सन् २०११ को अवस्था आउन नदिनका लागि अहिले ८२ करोड ५० लाख अमेरिकी डलरको खाँचो रहेको राष्ट्रसंघले जनाएको छ । एजेन्सी
लन्डन आक्रमणमा पाँचको मृत्यु ४० घाइते भएका प्रहरीद्वारा पुष्टि
लन्डन, चैत्र १० । गतः बुधबार राति एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी एक जना सुरक्षाकर्मी सहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ । गतः बुधवार अपरान्ह (नेपाली समय अनुसार बुधवार राति) केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उपरोक्त आक्रमण र हताहतीका घटना भएको लन्डनका महानगरीय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन् । कत्र्तब्य पालनको क्रममा ४८ बर्षीय प्रहरी अधिकृत किथ पामरको सो आक्रमणको घटनामा परी मृत्यु भएको सहायक आयुक्त रोलेले समाचारदाताहरुलाई बताए । किथ पामरले बेलायती प्रहरीमा पन्ध्र बर्षसम्म सेवा पु¥याएका थिए । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतङ्कबादविरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन् । आक्रमणकारी को थियो त भन्ने कुरा प्रहरीले सार्वजनिक रुपमा खुलासा गरिसकेको छैन । तर बेलायती प्रहरीलाई आक्रमणकारीको पहिचान भएको जनाइएको छ । प्रहरी अधिकृत पामरको हत्याको तत्कालै अन्य प्रहरीले सो आक्रमणकारीलाई गोली हानी घटनास्थलमै ढालिदिएका थिए । यस अघि, प्रत्यक्षदर्शीका अनुसार एकजना ब्यक्ति एउटा अति तीब्र गतिको कारमा एक्लै आई संसद् भवन परिसर बाहिरको वेस्टमिन्स्टर ब्रिजको फुटपाथमा गाडीलाई जबर्जस्ती चढाएर संसद् भवन भित्र घुस्न खोजेको र सो कारले ठक्कर दिई तीनजना प्रहरीहरुलाई ठहरै पार्नुका साथै सडकमा हिँडिरहेका कम्तीमा बीस जना पदयात्रीहरुलाई घाइते बनाएको थियो । फुटपाथमा उक्लिएपछि सो तीब्र गतिको कारको सन्तुलन बिग्रन गएर संसद् भवन – हाउस अफ कमन्स परिसर बाहिरको बार र पर्खालमा ठोक्किन पुगी उक्त कार दुर्घटनाग्रस्त भएको तर भित्र बस्ने चालकलाई केही पनि भएको थिएन । अकस्मात् उक्त चालक गाडीबाट बाहिर निस्केर लामो र धारिलो छुरा निकाली वरिपरि रहेका मानिसहरु उपर जथाभावी आक्रमण गर्न थाल्यो । आक्रमणकारीको पहिलो निसानामा प्रहरी अधिकृत किथ पामर पर्न पुगे, छुराको प्रहारबाट तत्कालै ढली उनले ज्यान गुमाउन पुगेका थिए । उक्त आक्रमणको घटनामा अरु कसैको संलग्नता छ छैन, यसबारे पत्तो लगाउन बेलायती प्रहरी सूक्ष्मरुपले अनुसन्धानरत रहेको जनाइएको छ ।
यमनमा जारी युद्धमा सात हजार सातको मृत्यु
साना, चैत १० । संयुक्त राष्ट्र संघले हालै जारी गरेको एक प्रतिवेदनअनुसार यमनमा जारी युद्धमा परी ७ हजार ७ सय व्यक्तिको ज्यान गएको छ । दुई बर्ष पहिला यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाआवद्ध संयुक्त सेनाले यमनमा हस्तक्षेप गरेयता ७ हजार ७ सय व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४२ हजार ५ सय व्यक्ति घाइते भएका छन् । सन् २०१५ यमनका हुथी विद्रोहीहरुले राजधानी सानालागाय कैयौ प्रान्त कब्जामा लिएपछि रियादको शरणमा पुग्नु भएका राष्ट्रपति आबेदरब्बो मन्सुउर हादीको समर्थन गर्र्दै सन् २०१५ को मार्च २६ मा साउदी अरेबिया आवद्ध संयुक्त सेनाद्धारा यमनमा हवाई आक्रमण सुरु गरेका थिए । चार महिनासम्म जारी यस हवाई आक्रमणलगायतका युद्धपछि यमन सरकारले यमनको दक्षिण प्रान्त एडेन स्वतन्त्र भएको घोषणा गरेको थियो । अल कायदा र इस्लामिक स्टेटका सुनी जिहादीहरुको बढ्दो दबाबको सामाना गर्दै सन् २०१५ को मध्य अगस्तमा सरकारसमर्थक बलले यमनको दक्षिण भाग पुनः कब्जामा लिएको थियो । रियादले सन् २०१६ को फेबु्रअरीमा साउदी अरेबिया समर्थक बलले यमनको तीन भाग भन्दा बढी नियन्त्रणका लिएको बताएको थियो ।
सिरियाको विद्यालयमा हवाई आक्रमण, ३३ जनाको मृत्यु
दमास्कस,चैत १० । सिरियाको उत्तरी क्षेत्रमा रहेको एउटा विद्यालयमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अमेरिकाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले मन्सुराको रक्वा सिटीमा रहेको विद्यालयमा हवाई आक्रमण गरेको अनुगमनकर्ताहरूले जनाएका छन् । हवाई आक्रमण भएको ठाउँ इस्लामिक स्टेट (आईएस) लडाकुहरूको वास्तविक राजधानी मानिन्छ । बेलायती सहयोग रहेको अनुगमनकर्ताहरूको समूह वाचडग ग्रुपले ३३ जनाको शव भेटिएको बुधबार जानकारी दिएको छ । रक्वा क्षेत्रमा संयुक्त सुरक्षा फौजले पछिल्लो केही समयदेखि आईएस लडाकु विरुद्धको हवाई आक्रमणलाई तिव्रता दिएको पनि वाचडगले जनाएको छ । रासस
बेलायतको संसद् भवनमा हमला प्रयास, कम्तीमा चारजनाको मृत्यु
काठमाडौं, फागुन १० । बेलायतको संसद् भवनमा बिहीबार हमला प्रयास भएको छ । संसद् भवनबाहिर भएको हमलामा कम्तीमा चारजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । मारिनेमा एक प्रहरी अधिकारी, दुई सर्वसाधारण र एक आतंककारी रहेको प्रहरीले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार दिउँसो २ः३० बजे हमला भएको हो । कालो कारमा रहेका आतंककारी संसद् भवनको ‘निषेधित क्षेत्र’ तोडेर जबर्जस्ती भित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले अवरोध पुर्याएपछि आतंककारीले प्रहरीमाथि गोली चलाएका थिए । त्यसक्रममा एक प्रहरी अधिकारीको मृत्यु भएको हो । लगत्तै प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारीको मृत्यु भएको बिबिसीले जनाएको छ । मारिएका दुई सर्वसाधारणमध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएकी महिला रहेको जनाइएको छ । अर्का एकजनाको गाडीको आक्रमणबाट मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । संसद् भवनको पर्खालमा ठोक्किनुअघि कारले थुप्रै सर्वसाधारणलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट वेस्टमिनिस्टर पुलमा हिँडिरहेका केही विद्यार्थीसमेत घाइते भएका छन् । घटनापछि संसद्को कारबाही स्थगित गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको भन्दै आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिएको छ । संसद् भवनबाहिर आतंककारी हमलाको प्रयास हुँदा बेलायती प्रधानमन्त्री थेरेसा मे भवनभित्रै थिइन् । आक्रमणलगत्तै प्रधानमन्त्री थेरेसालाई विशेष सुरक्षासहित संसद् भवनबाट निवास पुर्याइएको थियो । भवनभित्रै रहेका बेलायतका शीर्ष नेतालाई स्कटल्यान्ड यार्डबाट बाहिर निकालिएको थियो । बेलायती मिडियाहरूले आक्रमणकारीले सात इन्च लामो चक्कु बोकेको जनाएका छन् । उनले विवाह समारोहमा लगाउने दुलाहाको लुगा लगाएका थिए । आक्रमणपछि वेस्टमिनिस्टर दरबारस्थित संसद् भवनको वरिपरिको सुरक्षा व्यवस्था झन् कडा पारिएको छ । यो समाचार तयार पार्दासम्म संसद् भवनभित्र आतंककारी हुन सक्ने डरले स्थानीय प्रहरीले भवनका प्रत्येक कोठा तथा तला निरीक्षण गरिरहेका छन् भने संसद् भवनको सुरक्षार्थ दर्जनौँ अति आवश्यक सवारी परिचालन गरिएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।
उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण असफल
चैत्र ९ । उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण असफल भएको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाको पूर्वी सामुद्रिक तटवर्ती नगर उन्साङ्बाट परीक्षण प्रहार गरिएको उक्त क्षेप्यास्त्रले केहीबेरमै असफल नतिजा देखाएको जानकारी दिएको छ । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको विकास र प्रवर्द्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो । हाल दक्षिण कोरियामा अमेरिकी र दक्षिण कोरियाली सेनाहरु संयुक्त रुपमा वार्षिक सैनिक अभ्यास सञ्चालन गरिरहेका समय पारी उत्तर कोरियाले आधुनिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । दक्षिण कोरियामा भइरहेको वार्षिक सैनिक अभ्यासलाई आफ्नो देशउपर सामरिक आक्रमण गर्ने तयारीका लागि अभ्यास गरेको भन्ने आरोप उत्तर कोरियाले लगाउँदै आएको छ । यस मार्च महिनाको सुरुवात सँगसँगै उत्तर कोरियाले चारवटा शक्तिशाली ब्याल्लेस्टिक क्षेप्यास्त्रहरु जापानको सीमा नजिकैको समुद्रमा प्रहार गरी सफल परीक्षण गरेको थियो । यस परीक्षण पश्चात्, जापान, अमेरिका र दक्षिण कोरियाले सशक्त विरोध जनाएका थिए । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्न लागेकाले त्यसको जवाफ स्वरुप उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको तर असफल भएको दक्षिण कारियाका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिकी सेनाले पनि उत्तर कोरियाले असफल मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ । प्रक्षेपण गरेको केही सेकेण्ड भित्रै मिसाइल विस्फोट भएको दाबी गरिएको छ ।
सिक्का खाने कछुवाको मृत्यु
बैंकक – थाइल्यान्डमा सिक्का खाने कछुवाको मृत्यु भएको खबरले चर्चा पाएको छ । पेटको अप्रेसन गरी करिब १००० सिक्का निकालिएको कछुवाको मृत्यु ब्लड पोइजनिङका कारण मंगलबार भएको छ । उक्त कछुवाको दुई साताअघि सफलतापूर्वाक अप्रेसन गरिएको थियो । आजको कान्तिपुरले खबर छापेको छ । आइतबार स्वासप्रस्वासमा समस्या देखिएपछि उक्त कछुवाको दोस्रोपटक अप्रेसन गरिएको थियो । थाइल्यान्डको एक प्रान्तमा रहेको सार्वजनिक पोखरीमा घुम्न जानेहरुले आफ्नो ‘गुड लक’को रुपमा सिक्का फाल्ने गर्दथे । ‘पिग्गी ब्याङ’को नामले चिनिने उक्त कछुवाको पेटबाट निकालिएका सिक्काहरुको तौल पाँच किलोग्राम थियो ।
सेक्स ट्वाईले हजारौंको जासुसी गरेको आरोप, मुद्दा दर्ता
ओटावा, एजेन्सी । हजारौं जोडीहरुको यौन क्रियाकलापको जासुसी गरेको आरोपमा सेक्स ट्वाई कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ । क्यानाडाको ओटावामा रहेको स्टयाण्डर्ड इन्नोभेसन नाम गरेको यो कम्पनीमाथि मुद्दा चलेपछि उपभोक्ताहरुलाई क्षतिपूर्तिवापत ४० लाख क्यानेडियन डलर तिर्न कम्पनी सहमत भएको छ । तर अन्य सेक्स ट्वाई कम्पनीहरुले भने अहिले पनि जासुसी गरिरहेको हुनसक्ने भन्दै उपभोक्ताहरुले सबैलाई छानबीनभित्र ल्याउन माग गरेका छन् । कसरी गर्यो सेक्स ट्वाईले जासुसी ? स्ट्याण्डर्ड इन्नोभेसन कम्पनीले उत्पादन गरेको भी भाइब भाइभ्रेटरसँग जोडिएको एउटा एपका माध्यमबाट जासुसी गरिएको बताइन्छ । यो एपको माध्यमबाट कम्पनीले मानिसहरुको सेक्ससँग जोडिएका बानीहरुसँग सम्बन्धित डाटा प्राप्त गर्ने गर्दथ्यो । सेप्टेम्बर २०१६ मा ग्राहकहरुले व्यक्तिगत गोपनियता अधिकारको उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गरेका थिए । यसै हप्ता कम्पनीले गत वर्ष २६ सेप्टेम्बर अघि सेक्स ट्वाई किन्ने ग्राहकलाई क्षतिपूर्ति दिन सहमति जनाएको छ । भी कनेक्ट एपले उपभोक्ताहरुलाई मोबाईल फोनको माध्यमबाट भाइब्रेटरको तीब्रता नियन्त्रित गर्न सघाउँछ । ब्लूटुथबाट अर्को उपभोक्ताले पनि आफ्नो सेक्स ट्वाईलाई एक्टिभेट गर्न सक्छ ।
हैटी संसारकै दुखी राष्ट्र, कुन होला खुसी राष्ट्र?
काठमाडौं, चैत ८ । नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको छ । विश्वको खुसी राष्ट्रका सूचीमा नेपाल ९९औँ सूचीमा छ । गत वर्ष भने नेपाल विश्वको १०७औँ खुसी राष्ट्रमा थियो । यस वर्ष नेपालले आठ स्थान सुधार गरेको छ । नर्वे संसारकै खुसी राष्ट्र : वल्र्ड ह्याप्पिनेस संस्थाको प्रतिवेदनमा युरोपेली राष्ट्र नर्वे संसारको सबैभन्दा खुसी राष्ट्रको सूचीमा परेको छ । गत वर्ष डेनमार्क पहिलो स्थानमा रहँदा नर्वे चौथो स्थानमा थियो । डेनमार्क यस वर्ष दोस्रो स्थानमा झरेको छ । संसारको सबैभन्दा खुसी हुने राष्ट्रको पहिलो ६ स्थानसम्म युरोपेली देश नै छन् । तेस्रो स्थानमा आइसल्यान्ड, चौथोमा स्विट्जरल्यान्ड, पाँचौँमा फिनल्यान्ड तथा छैटौँमा नेदरल्यान्ड छन् । दक्षिण एसियामा पाकिस्तान पहिलो : आतंकवादको चपेटामा रहेको पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा खुसी राष्ट्रमा परेको छ । समग्र विश्वमा भने पाकिस्तान ८०औँ स्थानमा छ । पाकिस्तानले ५.२६ अंक पाएको छ । दक्षिण एसियाको दोस्रो खुसी राष्ट्रमा भुटान रहेको छ । भुटानले ५.०१ अंक पाएको छ । बंगलादेश ४.४६ अंकसहित चौथो र ४.४४ अंकसहित श्रीलंका पाँचौँ खुसी राष्ट्रमा परेका छन् । दक्षिण एसियाकै ठूलो तथा विकसित भारत भने छैटौँ खुसी राष्ट्रमा रहेको छ । भारतले ४.३१ अंक पाएको छ । अफगानिस्तान ३.७९ अंकसहित सातौँ खुसी राष्ट्रमा रहेको ग्लोबल साइन्टिफिक स्टडिज संस्थानको प्रतिवेदनमा उल्लेख छ । अमेरिका १४औँ राष्ट्र : विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका खुसी राष्ट्रको शीर्ष दश स्थानमा समावेश छैन । अमेरिका चौधौँ स्थानमा छ । अमेरिका गत वर्षभन्दा एक स्थान तल झरेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले यसपटक ६.९९ अंक पाएको छ । चीन भने ६.६५ सहित २०औँ खुसी राष्ट्रको सूचीमा छ । दुःखीमध्येको पहिलो खुसी राष्ट्रमा हैटी : ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले १४५औँदेखि १५४औँ स्थानसम्मकालाई विश्वकै दुःखी राष्ट्र मानेको छ । सबैभन्दा दुःखी राष्ट्रमध्येको पहिलो खुसी राष्ट्रमा ३.६३ अंकसहित हैटी छ । दुःखी राष्ट्रको पनि सबैभन्दा दुःखी राष्ट्रमा २.९० अंकसहित बुरुन्डी रहेको छ । यसरी हुन्छ अनुसन्धान : अमेरिकाको लस एन्जलसमा रहेको ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले ‘वल्र्ड ह्याप्पिनेस’ शीर्षकमा अनुसन्धान गरेको जनाएको छ । एक सय ५० भन्दा बढी देशमा अनुसन्धान गरिएको र प्रत्येक देशका कम्तीमा एक हजार नागरिकसँग सर्भे गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । व्यक्तिको औसत आय, औसत आयु, सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रता, देशको आर्थिक अवस्था, व्यक्तिगत दया तथा क्षमताशीलता एवं भ्रष्टाचारको अवस्थालगायत विषयमा अनुसन्धान गरेर खुसी र दुःखी देशको सूची तयार पारिएको सो संस्थाले जनाएको छ । अनुसन्धानका क्रममा प्रत्येक राष्ट्रलाई एक देखि १० अंक प्रदान गरिएको पनि प्रतिवेदनमा छ । आजको नयाँ पत्रिकामा खबर छ । सबैभन्दा खुसी राष्ट्र स्थान राष्ट्र अंक १. नर्वे ७.५३ २. डेनमार्क ७.५२ ३. आइसल्यान्ड ७.५० ४. स्विट्जरल्यान्ड ७.४९ ५. फिनल्यान्ड ७.४६ ६. नेदरल्यान्ड ७.३७ ७. क्यानडा ७.३१ ८. न्युजिल्यान्ड ७.३७ ९. अस्ट्रेलिया ७.३१ १०. स्विडेन ७.२८ दुःखी १० राष्ट्र स्थान विश्वमा स्थान राष्ट्र अंक १. १४५ हैटी ३.६३ २. १४६ यमन ३.५९ ३. १४७ दक्षिण सुडान ३.५९ ४ .१४८ लिबेरिया ३.५३ ५. १४९ गुएना ३.५० ६. १५० टोगो ३.४९ ७. १५१ रुवान्डा ३.४७ ८. १५२ सिरिया ३.४६ ९. १५३ तान्जानिया ३.३४ १०. १५४ बरुन्डी २.९०

