अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बम विष्फाेट, ३० जनाकाे मृत्यु

फागुन २५ । इस्लामिक स्टेट आइएसका लडाकुले अफगानिस्तानको राजधानी काबुलमा रहेको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बम विष्फाेट भएकाे गराएका छन्छर ।

बम विष्फाेटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन् ।

काबुलमै रहेको अस्पतालमा बुधबार भएको घटनामा परी आक्रमणकारीतर्फका पनि दुईजना मारिएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । घटनाबारे थप विवरण आउन बाँकी नै रहेको ‘सिन्ह्वा’ले जनाएको छ ।

यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको अमेरिकी ड्रोन आक्रमणमा परी कम्तीमा पाँचजना तालिबानी लडाकुहरुको मृत्यु भएको छ ।

‘डफटनीमा रहेका लडाकुहरुलाई लक्षित गरी मध्यरातमा ड्रोन आक्रमण गरिएको थियो, आक्रमणमा परी पाँचजना तालिबानी लडाकुको मृत्यु भएको छ । उनीहरुसँगै रहेको दुईओटा सवारी–साधन, इन्धन भन्डारण गर्ने भाँडोलगायतमा क्षति पुगेको छ’–जिल्ला सरकारका गभर्नर नास्रुद्धिन नजारीले बुधबार सिन्ह्वासँग भने ।

ताजकिस्तानको सिमानामा पर्ने ठाउँमा भएको सो आक्रमणमा परी कुनै आमनागरिकको भने मृत्यु नभएको उनले बताए ।

मध्यएसियाको हिमाली देशका दुर्गम ठाउँहरुमा नेटोको नेतृत्व र आरएसको सहयोगमा लडाकुमाथि आक्रमण भइरहेको छ ।

गत शनिबार राति पनि अफगानिस्तानी सेनाको हवाई आक्रमणमा परी १८ जनाको मृत्यु भएको थियो ।

ट्रम्पको आरोप झुटोः ओबामाका प्रवक्ता

अमेरिका, फागुन २२ । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको प्रशासनले राष्ट्रपतीय चुनावको अभियानअघि न्यूयोर्कस्थित ट्रम्प टावरको फोन ट्याप गरेका थिए भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको आरोपको ओबामाका प्रवक्ताले खण्डन गरेका छन् । प्रवक्ता केविन लुईसले ओबामा र ह्वाइट हाउसका त्यतिबेलाका कर्मचारी कसैले पनि कुनै पनि अमेरिकि नागरिकको त्यसरी निगरानी गर्न आदेश नदिएको बताए । ट्रम्पले श्रृंखलाबद्ध रुपमा ट्विट गर्दै फोन ट्याप गर्नु नराम्रो काम भएको र आफ्ना पूर्ववर्ती एकदमै खराब व्यक्ति भएको भनि व्याख्या गरेका छन्। खराब व्यक्ति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामालाई आरोप लगाउँदै ट्विटमा लेखेका छन्– ‘भर्खरै थाहा भयो ओबामाले म चुनावमा विजयी हुनुअघि ट्रम्प टावरका मेरा फोन ट्याप गरेका रहेछन्। तर केही भेटेनन् । कस्तो खराब ।’ ट्रम्पले ट्वीटमा लेखेका आफ्नो दाबी पुष्टि गर्ने कुनै विवरण भने दिएका छैनन् । ओबामाका प्रवक्ता केविन लुईसले ओबामा र उनको प्रशासनका अधिकारीले कुनै पनि अमेरिकी नागरिकको जासुसी गर्न आदेश नदिएको बताएका छन् । आफ्नो विज्ञप्तिमा लुईसले भनेका छन्, ‘न्याय मन्त्रालयले स्वतन्त्रढंगबाट गरेको अनुसन्धानमाथि हस्तक्षेप नगर्ने नियम ओबामा प्रशासनको थियो।’ सम्भावना उक्त विज्ञप्तिले न्यायिक छानबिन भने चलिरहेको थियो भन्ने सम्भावनालाई खुल्ला छोडेको छ। वासिङ्टनस्थित बीबीसी संवाददाता लउरा बिकरले भनिन्– ‘राष्ट्रपतीय चुनाव जित्नका लागि रुसले सहयोग गर्न चाहेको थियो र कतै उनको चुनावी अभियान क्रेमलिनका अधिकारीहरुसँग बनाइएको त थिएन भन्ने दाबीले राष्ट्रपति ट्रम्पको पिछा छोडेको छैन ।’ यसअघि ओबामाका विदेश नीति सल्लाहकार बेन रोड्सले ट्रम्पको दाबीबारे बोल्दै ट्वीटमा लेखेका थिए, ‘कुनै पनि राष्ट्रपतिले फोन ट्याप गर्न निर्देशन दिन सक्दैनन । त्यस्तो प्रतिबन्ध तपाईँ जस्तै व्यक्तिबाट नागरिकलाई जोगाउनका लागि राखिएको हो ।’ फ्लोरिडास्थित आफ्नो रिसोर्टमा रहेका ट्रम्पले स्थानीय समयअनुसार शनिबार श्रृंखलाबद्ध ट्वीट गरेका थिए।

सोमालियाका करीब ३० लाख मानिस भोकमरीबाट गुज्रिरहेको तथ्याङ्क सार्वजनिक

अफ्रिका, फाल्गुन २२ । अफ्रिकी मुलुक सोमालियामा चरम भोकमरीका कारण प्रत्येक दुई दिनको अन्तरालमा १ सय १० जनाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । सोमालियाका प्रधानमन्त्री हशन अलि ह्यारीले दक्षिण पश्चिमी सुख्खा क्षेत्रमा खडेरीले खाद्यन्न उत्पादनमा भारी गिरावट आएपछि चुलिएको भोकमरी तथा पिउने पानीको समेत संकट बढेको कारण प्रत्येक ४८ घण्टामा १ सय १० सर्वसाधारणको मृत्यु हुने गरेको तथ्य सार्वजनिक गरेका हुन् । पछिल्लो समय सोमालियाका करीब ३० लाख मानिस भोकमरीबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघको तथ्याङ्क छ । राष्ट्रसंघका अनुसार सोमालियामा सन् १९९२ मा फैलिएको भोकमरीका कारण दुई लाख २० हजार र सन् २०१० देखि २०१२ सम्म भोकमरीका कारण दुई लाख ६० हजार भन्दा बढीको मृत्यु भएको थियो । सोमालियासहित दक्षिण सुडान, नाइजेरिया केन्या र यमन पनि भोकमरीको चपेटामा परेको राष्ट्रसंघले जनाएको छ । यसैबीच राष्ट्रसंघले भोकमरीबाट गज्रिरहेका अफ्रिकन नागरिकको जीवनरक्षाका लागि पहल गर्न विश्व समुदायलाई अपिल गरेको छ ।

मलेशियाले देशनिकाला गर्यो उत्तर कोरियाली राजदूतलाई

मलेसिया, फागुन २२ । उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको मलेसियामा हत्या भएपछि दुबै देशबीचको तनाव चरम सीमामा पुगेको छ । मृतक नामको शव उत्तर कोरियालाई दिनुपर्ने र आफ्नो अनुमति बिना मलेसियाले पोष्टमार्टम गरेको भन्दै कडा प्रतिक्रिया जनाएको उत्तर कोरियालाई मलेशियाले समेत कडा जवाफ दिएको छ । तनावकै बीच मलेशियाले उत्तर कोरियाली राजदूतलाई देश निकाला गरेको छ । “उत्तरकोरियाली राजदूतलाई मलेसियामा राख्न सम्भव नभएको सरकारले घोषणा गरेको छ”– मलेसियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी बताएको छ । मन्त्रालयले किमको हत्या प्रकरणपछि शव परीक्षणबारे आएका अभिव्यक्तिलाई लिएर उत्तर कोरियासँग क्षमा याचना गर्न भनेको तर प्यायोङयाङले यसमा सकारात्मक नबेपछि राजदूतलाई देश निकाला गर्ने निर्णय गरिएको बताएको छ । मलेसियाका लागि उत्तर कोरियाली राजदूतले राष्ट्रपति किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको मलेसियाद्वारा दिएको शव परीक्षणलाई चुनौती दिँदै नामको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताएका थिए । मलेसियाले प्योङयाङको आग्रहलाई बेवास्ता गर्दै शव परीक्षण गरेको थियो । क्लालम्पुरले आफ्नो देशको कानुनको पालना गर्दै शवको परीक्षण गरिएको र शव परीक्षण नतिजामा नामको विषाक्त ग्यासको प्रयोगबाट मृत्यु भएको पाइएको बताएको छ । बिहीबार मलेसियाले उत्तर कोरिया विनाभिसा नै प्रवेश गर्न पाउने प्रावधानलाई रद्द गर्न लागिएको बताएको थियो ।

ट्रम्पको आरोप झूठो र भ्रामक– ओबामा

वाशिङ्गटन, फागुन २२ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले झूठ र भ्रम छरिरहेको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले गतवर्ष भएको राष्ट्रपति चुनावका क्रममा ओबामा प्रशासनले ट्रम्प टावरको टेलिफोन कल ट्रयाप गरेको आरोप लगाएपछि त्यसको बिरोधमा ओबामाले उक्त प्रतिक्रिया दिएका हुन । पूर्वराष्ट्रपति ओबामाले भने, “ट्रम्पको आरोपमा कुनै सत्यता छैन ।” ओबामाका प्रवक्ता केविन लुइसले ओबामा या ह्वाइट हाउसका कोही पनि अधिकारीले कुनै पनि अमेरिकी नागरिकको जासुसीको आदेश नदिएको बताए। उनले ओबामा प्रशासनमाथि लगाइएको आरोप झुठो भएको बताए । राष्ट्रपति ट्रम्पले आरोपको ठोस प्रमाण भने ल्याउन सकेका छैनन् ।

सैन्य क्षेत्रमा चीनले बढायो बजेट

बेइजिङ, एजेन्सी, फागुन २१ । चीनले आफ्नो सैन्य बजेटमा ७ प्रतिशतले बृद्धि गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा खर्चमा १० प्रतिशतको बढोत्तरी गरेको केही दिन पछि चीनले सो निर्णय गरेको हो । चीनले नेशनल पिपुल्स कंग्रेसको बेइजिङमा हुने सम्मेलनको पूर्वसन्ध्यामा सैन्य बजेट बृद्धिको घोषणा सार्वजनिक गरेको हो । तीव्र रुपमा आफ्नो सैन्य प्रविधि विकास गरिरहेको चीनले खर्च बढाएपनि अमेरिकाको तुलनामा सैन्य बजेट खर्च कम रहेको बीबीसीले उल्लेख गरेको छ । आर्थिक बृद्धिदर १० प्रतिशत भन्दा बढिले वृद्धि भएपनि रक्षा बजेट दोहोरो अंकमा भने बृद्धि नगरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सैन्य खर्चमा कुल गार्हस्थ उत्पादनको १ दशमलब ३ प्रतिशत खर्च गरिएको चिनियाँ सरकारी प्रवक्ता फु ईङ्गलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । सन २०१५ मा चीनले २ सय विलियन अमेरिकन डलर सैन्य खर्च गरेको एक अध्ययनले देखाएको छ । सो अध्ययनका अनुसार अमेरिकाले सैन्य क्षेत्रका लागि सबै भन्दा बढी ६ सय विलियन डलर खर्च गरेको थियो ।

इटालीमा आप्रवासी मजदुरको जलेर मृत्यु

इटाली, फागुन २१ । इटालीको दक्षिण क्षेत्रमा अवस्थित एउटा ‘अनाधिकारिक’ आप्रवासी शिविरमा शुक्रबार दुई आप्रवासी कृषि मजदुरको आगोमा जलेर मृत्यु भएको इटालीको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । स्थानीय प्रशासनले शिविर खाली गर्न भनेको दुई दिनपछि मालीबाट इटाली पुगेका दुई ३० वर्षीय शरणार्थीकोे राति १ बजे शिविरको एउटा भागबाट निस्केको आगलागीमा परी ज्यान गुमाएका बताइएको छ । इटालीको दक्षिणमा अवस्थित फोजिया सहर नजिकै रहेको शिविरमा ३५० आप्रवासी बसोबास गर्दै आएका थिए भने केही प्रशासनको निर्देशनपछि शिविर छाडेर अन्यत्र गएको थिए । शिविरमा अझै करिब एक सय जना मानिस बसोबास गरिरहेका र उनीहरुले आफ्नो कामको सुरक्षाका लागि अन्यत्र जान नसक्ने बताइरहेका छन् । स्थानीय भाषामा ‘ग्रान घेटो’ नामले चिनिएको उक्त शिविरमा स्थानीय दलालले सस्तो कामदारका लागि बस्न दिएको र यसले सुरक्षा चुनौती बढेको भन्दै गत बुधबार शिविर छाड्न भनिएको थियो ।

कोइलाखानीमा विस्फोट, एघारको मृत्यु

किभ (युक्रेन), फागुन २० । युक्रेनमा बिहीबार भएको कोइलाखानी विस्फोटमा परी ११ जना कामदारको मृत्यु भएको युक्रेनले जनाएको छ । विस्फोटपछि करिब २० जना कामदार खानीभित्र फसेका छन् । घटनास्थलबाट छ जनालाई घाइते अवस्थामा उद्धार गरिएको युक्रेनी अधिकारीले बिहीबार बताएका छन् । युक्रेनको लभिव क्षेत्रमा रहेको खानीमा स्थानीय सयमअनुसार मध्याह्नमा करिब ३५ जना कामदार कार्यरत रहेका बेला उक्त विस्फोट भएको थियो । खानीमा फसेका मजदुरको उद्धारका लागि स्थानीयसहित युक्रेनी सुरक्षाकर्मी घटनास्थलमा पुगी उद्धार कार्य जारी राखिरहेका बताइएको छ । रासस

टर्कीमा ५.५ म्याग्निच्युडको भूकम्प

अङ्कारा (टर्की),फागुन २० । टर्कीको दक्षिणपूर्वी प्रान्त आदियमानमा बिहीबार ५.५ म्याग्निच्युडको भूकम्प गएको टर्कीको प्राकृतिक प्रकोप तथा सङ्कटकाल व्यवस्थापन अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार बिहीबार २ बजेर ७ मिनेटमा गएको भूकम्पपछि ४.२ र ४.४ म्याग्निच्युडको दुई वटा पराकम्पनसमेत गएको उक्त विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । आदियमानको सामसाट क्षेत्रमा रहेको जमिन सतहदेखि एघार दशमलव तीन किलोमिटर गहिराईमा केन्द्रविन्दू रहेको उक्त कार्यालयले जनाएको छ । भूकम्पका कारण भएको क्षतिका बारेमा समाचार सङ्कलन गर्ने समयसम्म क्षतिको कुनै सूचना आइनसकेको टर्की प्रशासनले जनाएको छ । रासस

मन्जिभ सिंह पुरी नेपालका लागि नयाँ भारतीय राजदूत

काठमाडौं, फागुन १८ । भारतले नेपालका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ । पुरी हाल युरोपियन यूनियन, बेल्जियम र लक्जेम्बरका लाग भारतीय राजदूत रहेका छन् । यद्यपी यससम्बन्धी औपचारिक घोषणा भने भएको छैन । पुरीको नाम भारतले नेपाल सरकारलाई जानकारी गराएको कान्तिपुर अनलाईनले उल्लेख गरेको छ । कूटनीतिक मामिलाका विज्ञ पुरी सन् १९८२ का व्याचका भारतीय परराष्ट्र सेवाका अफिसर हुन् । उनले सन् २००९ देखि २०१३ सम्म न्युर्योक उपप्रमुख भएर काम गरिसकेका छन् । सन् २०११ देखि २०१२ सेक्युरिटी काउन्सिलको टिममा वरिष्ठ सदस्यको हैसियतमा काम गरेका थिए । विभिन्न देशमा रहेका भारतीय नियोग र दिल्लीस्थित मन्त्रालयमा रहेर काम गरेका पुरी १९५९ मा जन्मेका हुन् । उनी सेन्ट स्टेफेन्स कलेज दिल्लीका टपर हुन् । नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रायको कार्यकाल मंगलबार सकिएको हो । उनी बुधबार स्वदेश फर्कंदैछन् ।

ट्रम्पको पहिलो सम्बोधन केही लचक

अमेरिका, फागुन १८ । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक संसदलाई सम्बोधन गर्दै पुन महान देशका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पहिलो महिनामा भएका विवादास्पद निर्णयपछि ट्रम्पले संंसदमा गरेको भाषण केही लचिलो रहेको विश्लेषण गरिएको छ । ट्रम्पले गत साता अमेरिकाको क्यान्ससमा एक भारतीय मुलका व्यक्तिमाथि गरिएको गोली प्रहारको घटनाको निन्दा समेत गरे । ट्रान्स प्यासिफिक पार्टनरसिप अन्तर प्रशान्त व्यापार सम्झौताबाट पछि हट्ने निर्णयबारे उल्लेख नगरेका ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने निर्णयको बचाउ गरेको भन्दै जनाएका छन् ।

किम जोङ्गनामको हत्यामा दुई महिलाको संलग्नता रहेको आरोप

फागुन १७ । उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाई किम् जोङ्ग नामको हत्याकाण्डमा दुईजना महिला आरोपित ठहर भएका छन् । मानिसलाई बेहोस पार्ने कडा खालको रसायनिक पदार्थको प्रयोगबाट किम जोङ्ग नामको मलेसिया विमानस्थलमा हत्या भएको थियो । हत्याको लगत्तै दुई हप्तासम्म गरिएको विस्तृत अनुसन्धानको नतिजापछि एकजना इन्डोनेसियाली र एकजना भियतनामीसमेत दुइजना महिलाहरु माथि आरोप लगाइएको मलेसियाली महान्यायाधिवक्ताले मङ्गलबार जानकारी दिएका छन् । अदालतले उनीहरुको आरोप प्रमाणित गरेको खण्डमा उनीहरुलाई मृत्युदण्ड दिइनेछ । एएफपी

म्यानमार–चीन सीमाक्षेत्रमा भएको झडपमा १६० को मृत्यु

१७ फागुन । म्यानमारको उत्तरी राज्य शानमा सरकारी सुरक्षा फौज र जातीय विवादलाई लिएर सशस्त्र विद्रोह गर्दै आएका समूहका बीचमा भएको झडपमा परी गत तीन महिनाको अवधिमा १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । चीनसँग सिमाना नजिकै सरकारी सैनिक र जातीय विवादलाई लिएर सशस्त्र विद्रोह गर्दै आएका कैयौँ समुहबीच गत नोभेम्बरको अन्त्यदेखि जारी रहेको यस द्वन्द्वको कारण झन्डै २० लाख स्थानीय बासिन्दा विस्थापित भएका छन् । हिंसाबाट मृत्यु हुनेमध्ये ७४ सैनिक, १५ प्रहरी, १३ सैनिक तालिम पाएका सरकार समर्थक लडाकू र १३ जना आमनाागरिक रहेका ती अधिकारीले जानकारी दिएका छन् । जनरल म्या तुन ओओ संवाददातालाई भन्नुभयो, “हामीसँग ४५ जना सत्रुको शव छ र अरु चार जनालाई नियन्त्रणमा लिइएको छ ।” उहाँले सामुहिक दाहासंस्कारको फोटो हेर्दा सयभन्दा बढी विद्रोहीहरु मारिएको हुन सक्ने बताए । दोस्रो चरणको शान्तिवार्ता भइरहेका बेला म्यानमार सरकारको तर्फबाट यस्तो तथ्याङ्क आएको हो । सिमा क्षेत्रमा भइरहेको दशक लामो द्वन्द्व अत्य गर्ने उद्देश्यले अहिले शान्ति बार्ता भइरहेको छ । एएफपी

आँधीवेहरीका कारण ४० लाख मानिसहरुमा खानेपानीको हाहाकार

फागुन १६ । आँधीबेहरी र पहिरोका कारण चिलीमा झण्डै ४० लाख मानिसहरुमा खानेपानीको हाहाकार मच्चिाएको छ । चिलीको राजधानी सान्टियागोको मुख्य नदीहरु दूषित बनाएपछि त्यहाँका अधिकारीहरुले प्रदान गर्दै आएको खानेपानी आपूर्ति बन्द गरेका हुन् । खानेपानी आपूर्ति बन्द भएपछि त्यहाँका ४० लाख मानिसहरु आकुलव्याकुल बन्दै आएका छन् । आँधीबेहरी र पहिरोको कारण चिलीमा चार व्यक्तिले ज्यानसमेत गुमाइसकेका छन् । शनिबारबाट सुरु भएको अविरल वर्षा र पहिरोका कारण माटो–ढुंगासहितको पहिरो गएपछि माइपो नदी दूषित भएको थियो । यस नदीबाट सान्टियागो सहरमा रहेको घेरै आवासीय भवनमा खानेपानी आपूर्ति गरिन्छ । सो नदी सफा नहुँदासम्म करिब ४० लाख व्यक्तिको खानेपानी आपूर्ति रोक्नुपरेको अधिकारीहरुले बताएका छन् । तर, सो नदी कहिलेसम्म सफा हुने सो भने तय नभएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । मानिस आपत्कालीन धाराबाट बोतल र जारमा खानेपानी जम्मा गर्न लागेका छन् । बिनापानी नचल्ने रेस्टुरेन्टजस्ता व्यापार बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन् भने सोमबारबाट सुरु हुने नयाँ शैक्षिकसत्र पनि अनिश्चित समयको लागि बन्द गरिएको छ । यसप्रकार खानेपानी आपूर्ति बन्द गरिनाले १४ लाख ५० हजार घर–परिवार प्रभावित भएका छन् । खानेपानी आपूर्तिको अभावका कारण सान्टियागो जिल्लाको ३० ओटा जिल्ला प्रभावित भएको सो क्षेत्रका गभर्नर क्लाउडिओ आर्रेगोले एक पत्रकार सम्मेलनमा बताएका छन् ।

समाचार संकलन गर्न गएकी महिला पत्रकारको मृत्यु

फागुन १५ । समाचार संकलनका क्रममा इराकमा एक कुर्दिश महिला पत्रकारको मृत्यु भएको छ । इराकी कुर्द टीबीमा कार्यरत ३० बर्षिया शिफा गर्दीको समाचार संकलन गर्ने क्रममा इराकको मोसुल शहरको सडक किनारामा भएको बम बिस्फोटमा परी मृत्यु भएको हो । उनीसँगै रहेका क्यामरा पर्सन भने घाइते भएका छन् । आईएस नियन्त्रणमा रहेको शहरको पश्चिमी इलाकामा सैन्य अभियानको समाचार संकलनमा महिला पत्रकार गर्दी पुरुष पत्रकार सरह सक्रिय रहँदै आएकी थिइन् ।

डोनाल्ड ट्रम्पद्वारा पत्रकारहरुको रात्री भोजमा नजाने घोषणा

काठमाडौं, फागुन १५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने घोषणा गरेका छन्। ह्वाइट हाउस र केही सञ्चारगृहबीच सम्बन्ध बिग्रिरहेको बेला उनको यस्तो भनाई आएको हो। ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले वार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा राजनीतिज्ञ, विभिन्न विधाका चर्चित व्यक्तिहरु र पत्रकारहरुको उपस्थिति रहने गर्छ। अवसर ह्वाइट हाउसमा हुने पत्रकारहरुको रात्रिभोज कार्यक्रम खासगरी राष्ट्रपति र पत्रकारहरुबीच भएको कुनै मतभेद भए त्यसलाई पन्छाउने एउटा अवसर हो। झन्डै १ सय वर्षदेखि हुँदै आएको यो उच्च तहको कार्यक्रममा अहिलेसम्म १५ जना राष्ट्रपतिले उपस्थिति जनाइसकेका छन्। तर राष्ट्रपति ट्रम्प र पत्रकारहरुबीच हालैका साताहरुमा सम्बन्ध बिग्रिएको छ। ट्रम्पले केही सञ्चारगृहहरुलाई गलत समाचार सम्प्रेषण गर्ने गरेको र उनीहरु अमेरिकी जनताको दुश्मन भएको बताएका छन्। बीबीसीकी लाउरा बिकरले यो दूरी घटाउने मनस्थितिमा राष्ट्रपति नदेखिएको बताउँदै भनिन्, “वार्षिक रुपमा आयोजना हुने यो चमकधमकपूर्ण रात्रिभोजमा थुप्रै गन्ने मान्ने व्यक्तिहरु र पत्रकारहरु भेला हुने गर्थे अनि त्यहाँ राष्ट्रपति र पत्रकारसँगै बसेर आफूबीचको वैरभाव हटाउँथे। र, राष्ट्रपतिले यसपालि आफूले त्यसो नगर्ने निर्णय गरेका छन्।” परम्परा शुक्रबार बीबीसी, सिएनएन, न्यूयोर्क टाइम्सलगायतका केही प्रभावशाली सञ्चारमाध्यमलाई राष्ट्रपतिका प्रवक्ता शन स्पाइसरले पत्रकारहरुलाई गरेको ब्रिफ्रिङमा भाग लिनबाट बञ्चित गरिएको थियो। सञ्चारमाध्यमप्रति ट्रम्पको व्यवहारका कारण भ्यानिटी फेयर, ब्लुमबर्गजस्ता सञ्चारमाध्यमले एप्रिलमा हुने त्यस्तो रात्रिभोज आयोजनामा आफू संलग्न नहुने बताएका थिए। ह्वाइट हाउस करेसपोन्डेन्टस एशोसियसनले झण्डै १ सय वर्षदेखि आयोजना गर्दै आएको उक्त वार्षिक कार्यक्रममा राष्ट्रपति उपस्थित भएर एउटा संक्षिप्त मन्तब्य दिने परम्परा छ। रात्रिभोज आयोजकले अमेरिकी संविधानको पहिलो शसोधनको र स्वस्थ शासन व्यवस्थाका लागि स्वतन्त्र सञ्चारमाध्यमले खेलेको भूमिकाको सम्मानमा आफ्नो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। बिबिसीबाट