सिरियामा आत्मघाती हमला, ४२ को ज्यान गयो
एफपी, फागुन १४ । सिरियाको होम्सस्थित दुई सुरक्षा बेस क्याम्पमा शनिबार भएको आत्मघाती आक्रमणमा ४२ जनाको ज्यान गएको छ ।
सिरियाका मानवअधिकारकर्मी रामीअब्देल रहमानलाई उद्धृत गर्दै एफपीले लेखेको छ–कम्तीमा ६ आक्रमणकारीले सरकारी गुप्तचर संयन्त्रको कार्यालयनजिकै आत्मघाती विस्फोट गराएका थिए । सिरियाको सरकारी टेलिभिजनकाअनुसार उक्त राज्यका सैनिक प्रमुख हसन दबुलसमेत आक्रमणमा मारिएका छन् । उनी राष्ट्रपति बसार अलअसदका विश्वासपात्रमध्ये एक हुन् । आक्रमणलगत्तै सुरक्षाकर्मीहरुले सहरलाई नियन्त्रणमा लिएका छन् ।
सन् २०१४ को मेमा सरकारी सुरक्षाकर्मीले होम्सलाई विद्रोहीको नियन्त्रणबाट मुक्त गरेका थिए तर यहाँ लगातार विष्फोटहरु भइरहेका छन् । गत वर्ष एकैचोटि गराइएको दुई विस्फोटमा परी यहाँ ६४ मानिसको मृत्यु भएको थियो ।
अहिलेसम्म विस्फोटको आधिकारिक जिम्मा कसैले लिएको छैन । आक्रमणकारीहरुले इस्लामिक स्टेटको समर्थनमा नारा लगाएका थिए ।
तस्वीर : एफपी
व्यस्त बजारमा भएको कार बम विस्फोट ३९ जनाको मृत्यु
फागुन ९ । सोमालियाको राजधानी मोगादिशुमा आत्मघाती कार बम विस्फोट हुँदा ३९ जनाको ज्यान गएको छ । मोगादिशुको दक्षिणी क्षेत्रको एक व्यस्त बजारमा भएको सो कार बम विष्फोटमा अन्य ५० जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । खाद्यान्न तथा तरकारीको उक्त बजारमा भएको विष्फोटको कारण बजार ध्वस्त भएको छ । फेब्रुअरीको सुरुमा भएको राष्ट्रपतीय चुनावमा मोहम्मद हब्दुल्लाही मोहम्मद विजयी भएपछि राजधानी मोगादिशुमा भएको यो ठूलो आक्रमण हो । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।
अमेरिकामा भीषणा आँधी, चारको मृत्यु, सयौं घाइते
वासिंटन, फागुन ८ । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीमा परेर चार जनाको मृत्यु भएको छ भने सयौं मानिसहरु घाइते भएका छन् । केही वर्षयताकै ठूलो मानिएको उक्त आँधीका कारण लाखौ मानिसहरु प्रभावित बनेका छन् । बोम्बोजेनेसिस नाम दिइएको सो आँधीसँगै आएको ठूलो पानी र बाढीका कारण क्यालिफोर्नियाका डेढ लाखभन्दा धेरै घरमा बिजुलीको आपूर्ति बन्द भएको छ । लस एन्जलस नजिक पहिरोको जोखिम बढेपछि सयौं घर खाली गरिएको छ । अझै तीब्र गतिमा हावा चल्ने, ठूलो वर्षा हुने र बाढीको खतरा रहेको मौसमविदहरुले बताएका छन् । लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तीन सयभन्दा बढी उडान रद्द गरिएका छन् । यस्तै मूख्य सडकमार्ग पनि बन्द भएको छ । बाटोमा पानी जमेको छ भने गाडीहरु पानीमा डुबेका छन् । वैज्ञानिकहरुले यस आँधीलाई ‘वेदर बम’को संज्ञा दिएका छन् । पाँच वर्ष लामो खडेरीपछि यो अतिवृष्टि भएको मौसमविदहरुले बताएका छन् । एजेन्सी
अर्जेन्टिनामा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी
७ फागुन । अर्जेन्टिनामा शनिवार साँझ शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार साँझ ५ बजेर ५५ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको उक्त भूकम्प गएको हो । चिलीको सीमा क्षेत्र केन्द्रबिन्दु भएर सो भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पका कारण के कति क्षति भएका छन् भन्ने बारे भने हालसम्म विवरण सार्वजनिक भएको छैन ।
तमिलनाडुको विधानसभामा झडप, सभामुखको सर्ट च्यातियो
काठमाडौं, फागुन ७ । भारतको तमिलनाडु राज्यको विधानसभामा झडप भएको छ । झडपमा मुख्यमन्त्री पलनीसामीले विश्वासको मत जितेका छन् । तमिलनाडुका नयाँ मुख्यमन्त्री एकदापदी पल्नीसामीले विधानसभामा विश्वासको मत प्राप्त जितेका हुन् । विपक्षी दलको विरोध र तोडफोडकाबिच भएको मतदानमा पल्नीसामीले विश्वासको मत प्राप्त गरेका हुन् । विपक्षी कंग्रेस, डीएमके र पनीरसेल्बमको खेमाले विश्वासको मत गोप्य मतदानबाट हुनुपर्ने माग गरेका थिए । तर, सभामुखले यो माग अस्वीकार गरेपछि तोडफोड सुरु भएको थियो । त्यसैक्रममा सभामुखको सर्ट समेत च्यातिएको भारतीय संचार माध्यमले जनाएका छन् । अराजक स्थितिकाबीच आफू अपमानित हुनुपरेको सभामुखको भनाई छ भने डीएमकेका सांसदहरुले भने सभामुख आफैंले सर्ट च्यातेको दाबी गरेका छन् । सभामुखको टेबलमा राखिएको माइकसमेत भाँचिएको बताइएको छ । विधानसभाको कारबाही स्थगित हुनुभन्दापहिले सभामुखले डीएमकेका सदस्यहरुलाई सदनबाट बाहिर निकाल्न आदेश दिएपछि झडप सुरु भएको थियो ।
पाकिस्तानमा भएको आत्मघाती बम विस्फोट ७२ जनाको मृत्यु, दुई सयभन्दा बढी घाइते
फागुन ६ । पाकिस्तानको प्रान्तमा आज भएको आत्मघाती बम विष्फोटमा ७२ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुइसय भन्दा बढी घाइते भएको संचारमाध्यमले जनाएको छ । इस्लामिक स्टेट आइएसले गराएको उक्त आक्रमणमा परी गम्भिर घाइते भएकाहरुलाई सेनाको हेलिकोप्टरले उद्दार गरी अस्पताल पुर्याएको विविसीले जनाएको छ । प्रधानमन्त्री नवाज शरिफले यो घटनाले आफू विक्षिप्त भएको भन्दै हिंसा मार्फत विभाजित गर्ने वा डराउने मौका नदिने बताएका छन् । उनले पाकिस्तानको पहिचान र सार्वभौम मानवताका लागि एक साथ खडा हुने बताए । आइएस विरुद्ध कडा रुपमा उत्रने पनि बताएका छन् ।
सामसुङ कम्पनीका अध्यक्षको छोरा पक्राउ
जेन्सी, फागुन ६ । सामसुङ कम्पनीका कार्यबाहक प्रमुख ली जेइ यङ पक्राउ परेका छन्। घुसखोरी लगायतका आरोपमा उनी आज दक्षिण कोरियाबाट पक्राउ परेका हुन्। ली उनका सामसुङका अध्यक्ष ली कुन हीका एकमात्र छोरा हुन्। लीका बारेमा थप अनुसन्धानका आधारमा कारवाही गरिने बताइएको छ। लीसँग पहिले जनवरीमा पनि बयान लिइएको थियो तर पक्राउ गरिएको थिएन। तर, यसै साता लिइएको उनको अर्को बयानपछि भने शुक्रबार उनलाई पक्राउ गरिएको हो। अदालतले नयाँ प्रमाण र आरोपहरु भएकाले पक्राउ गर्न जरुरी भएको बताएको छ। लीले सामसुङको आमूल परिवर्तनमा सरकारी सहयोग र समर्थन जित्न ४१ अर्ब वन राष्ट्रपति पार्कको निकट मित्र चोइसँग जोडिएको संगठनलाई चन्दा दिएको आरोप छ।
इजरायल विश्व सुरक्षाका लागि ठूलो चुनौतीः इरान
तेहरान (इरान), फागुन ६ । इजरायलको आणविक हतियार विश्व समुदायका लागि ‘ठूलो सुरक्षा चुनौती’ भएको इरानले बिहीबार जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ आणविक हतियार बनाउन नदिने भनी बुधबार दिएको प्रतिक्रियापछि इजरायली आणविक हतियार शान्ति र सुरक्षाका लागि मध्यपूर्व र समग्र विश्वकै लागि विशाल चुनौती भएको छ, इरानले विदेश मन्त्रालयका प्रवक्ता बहराम घासेमीले बताउनुभयो । अमेरिकी राष्ट्रपनि ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई वासिङटनमा भएको भेटमा इरानको आणविक हतियारप्रतिको मोह इजरायलको शान्ति र सुरक्षाका विषयमा देखिएको एउटा जबरजस्त चुनौती भएको बताउनुभएको थियो । इरानी विदेश मन्त्रालयले ट्रम्प र नेतन्याहुको टिप्पणीलाई ‘बकबास’ भनी खण्डन गर्नुभएको छ । घासेमीले इजरायली यहुदी प्रशासनले पटकपटक यस्ता अनुचित दाबी गर्दै आएको बताउनुभयो । रासस÷एए
रसियाली राष्ट्रपति पुटिनद्वारा अमेरिकी गुप्तचर निकायसँगको सहकार्यमा जोड
मस्को (रसिया), फागुन ६। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली गुप्तचर निकायलाई अमेरिकी समकक्षी निकायसँग सहकार्य गर्दै आतङ्कवादविरुद्धको अभियानलाई मजबुत पार्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । अमेरिकाको विशेष सेवा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सदस्य राष्ट्रसँगको कुराकानीलाइृ पुनःस्थापित गर्नु हामीहरुको पारस्परिक चासोको विषय भएको छ । रसियाली राष्ट्रपति पुटिनले रसियाली सङ्घीय सुरक्षा ब्युरो (एफएसबी) सँगको कुराकानीका क्रममा बताउनुभयो । सम्बन्धमा आएको गतिरोध वा सम्बन्ध विकासमा समस्या आउनुमा रसियाको गल्ती नभएको बताउँदै आतङ्कवादविरोधी कार्यमा सम्पूर्ण जिम्मेवार राष्ट्रबीच सहकार्य हुनु विल्कुल आवश्यक विषय भएको छ, पुटिनले एफएसबीसँगको कुराकानीमा बताउनुभयो । अमेरिकी प्रशासनको नेतृत्वमा राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि रसिया र अमेरिकाको सम्बन्ध सुधारको सङ्केत देखिएको बेला पुटिनको यो भनाई आएको छ । रसियाली राष्ट्रपतिले आतङ्कवादी च्यानल र स्रोतहरुका बारेमा आदानप्रदान हुने सामान्य सूचना आतङ्कवादीविरुद्धको अभियानमा एउटा कोसेढुृङ्गा हुनसक्छ भन्नुभयो । तर अमेरिकी राष्ट्रपति ट्रम्पको रसियासँगको सम्बन्ध र रसियाको अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको भन्ने विषय अमेरिकी राजनीतिक जगत्मा ठूलो चर्चांको विषय बनेको छ । रासस
ट्रम्पले भने, ‘संचारमाध्यम बेइमान बनिसकेका छन्’
फागुन ६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रेस जगत नियन्त्रणभन्दा बाहिर गएको भन्दै मीडियाको तीखो आलोचना गरेका छन् । उनले शुरुवाती दिनमा आफूले निकै राम्रो काम गरे पनि सञ्चारमाध्यमले त्यसको आलोचना गरेको भन्दै मीडियाप्रति रोष प्रकट गरेका हुन् । ह्वाइट हाउसमा बोलाइएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेलगत्तैदेखि देशभित्र र बाहिर आफूले अफ्ठ्यारा परिस्थितिमात्र ब्यहोर्नु परेको तर सञ्चारमाध्यमले भने त्यस स्थितिको ख्याल नगरी आलोचनामा समय खर्चेको टिप्पणी गरे । मीडिया अत्यन्तै बेइमान भइसकेको भन्दै ट्रम्पले अब यसबारे चर्चा नगर्ने हो भने अमेरिकी जनतामा ठूलो नोक्सान ब्यहोर्नुपर्ने बताए । शेयर बजारमा भएको सुधार र गैरकानूनी आप्रवासीमाथि गरिएको कारवाही यस अवधिको उपलब्धि भएको जिकीर पनि उनले गरे । यात्रा प्रतिबन्धसम्बन्धमा आउँदो हप्ता संशोधित कार्यकारी आदेश ल्याइने जानकारी पनि उनले दिए, जसमा अदालतको आदेशलाई ख्याल गरेर प्रबन्धहरु गरिने छ । रुससँग राम्रो सम्बन्ध विकास गर्न खोजिएकामा मीडियाले साथ नदिएको उनको आरोप छ । एजेन्सी
५५ वर्षीय श्रीमानलाई पोर्नको लत लागेको भन्दै अदालतमा मुद्धा दायर
एजेन्सी । भारतको सर्वोच्च अदालतमा यौन सम्बन्धी नयाँ रिट दायर भएको छ । एउटी महिलाले पोर्न साइटलाई बन्द गर्नुपर्ने माग गर्दै रिट दायर गरेकी छिन् । उनका अनुसार पोर्न साइटको कारण उनको ५५ वर्षीय श्रीमानलाई पोर्नको लत लागेको छ । जसको कारणले उनको बैबाहिक जीवनमा समस्या आएको छ । उनले रिटमा ५५ वर्षीय मानिस त पोर्नको चपेटामा आउन सक्छ भने अहिलेका युवापुस्तालाई के असर पर्छ भन्दै प्रश्न गरेकी छिन् । उनले आफ्नो रिटमा भनेकि छिन–‘मेरो श्रीमानलाई पोर्नको लत धेरै समयदेखि लागेको हो । अहिले उनी आफ्नो अमुल्य समय पोर्न देख्नमै विताउँछन् जुन इन्टरनेटमा सजिलै उपलब्ध हुन्छ । पोर्नको कारण मेरो श्रीमानको दिमाग दुषित भएको छ । जसले हाम्रो बैवाहिक जीवन नै खराब भएको छ । ’ रिट दायर गर्ने महिला सामाजिक अभियान्ता हुन् । उनको दुइ बच्चा छन । उनले आफ्नो श्रीमानको यस्तो व्यवहारले बच्चा र आफुँले दुख भोग्नु परेको बताएकी छिन । यसको कारण इन्टरनेटमा सजिलै पाइने पोर्न साइटलाई जिम्वेवार ठान्छिन । भारतमा सर्वोच्च अदालतले बालबालिकामाथि हुने पोर्नोग्राफीमाथि रोक लगाउन केन्द्र सरकारलाइई आदेश दिइसकेको छ । अदालतले अभिव्यक्ति स्वतन्त्रताको नाममा बालबालिकामाथि पोर्नको कुनै प्रयोग गर्न नसकिने बताएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका दुई पत्रकारको गोली हानी हत्या
फागुन ४ । क्यारेबियनमुलुक डोमेनिकन रिपब्लिकको पूर्वी सहर सान पेद्रो डि माकोरिसमा रेडियो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका दुईजना पत्रकारको गोली हानी हत्या गरिएको छ । फेसबुक लाइभका लागि कार्यक्रमको भिडियो खिचिरहेका लुइस म्यान्युअल मेडिना र रेडियो निर्माता लियो मार्टिनेजको गोली हानी हत्या गरिएको हो । फेसबुक लाइभका लागि कार्यक्रमको भिडियो खिचिरहेका उनीहरुमाथि बन्दुकधारीले एक्कासी आक्रमण गरेका थिए । आक्रमणपछि कार्यक्रमको प्रसारण अवरुद्ध भएको थियो । मंगलबार भएको आक्रमणमा एकजना महिला घाइते भएकी छन् । घटनामा संलग्न तीन व्यक्तिलाई पक्राउ गरिएपनि आक्रमणको कारण भने अझैसम्म खुलेको छैन । यसअघि सन् २०१५ को अगष्टमा अमेरिकाको भर्जिनियामा टेलिभिजन रिपोर्टिङकाक्रममा अमेरिकी पत्रकारको गोली हानी हत्या गरिएको थियो ।
उत्तर कोरियाली नेता किमका दाजु मारिए
फागुन ४ । उत्तर कोरियाली नेता किम जोङ अनका दाइलाई मलेसियाका प्रहरीले मारेको पुष्टि भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा जोङका सौतेनी दाइलार्इ मारेको पुष्टि गरेको हो। प्रहरीका अनुसार क्वालालम्पुरको विमानस्थलमा ४५ वर्षीय किम जोङ नामलाई निशाना बनाइएको थियो । बिबिसीले मलेसियाको प्रधानमन्त्री कार्यालय निकट स्रोतलाई उद्धृत गर्दै उनी मारिएको पुष्टि भएको बताएको छ। अहिले उनको शवको जाँचबुझ भइरहेको मलेसियाली प्रहरीले जनाएको छ। मलेसियाका एक वरिष्ठ प्रहरी अधिकारीले सोमबार विमानस्थलबाट अस्पताल जाने क्रममा किम जोङ नाम गरेका व्यक्तिको मृत्यु भएको बताएको बिबिसीले जनाएको छ। मृत्यु भएका भनिएका किम उत्तर कोरियाका भूतपूर्व नेता किम जोङ इलका जेठा छोरा हुन् ।
रूससँगको सम्बन्धका कारण ट्रम्पका सुरक्षा सल्लाहकारले दिए राजीनामा
एजेन्सी, फागुन ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिएका छन् । रुससँगको सम्बन्धका कारण आलोचनामा आएका फ्लिनले मंगलबार राजीनामा दिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । फ्लिनले ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी समहाल्नुअघि रुसका राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धका बारेमा कुरा गरेको अमरिकी सञ्चारमाध्यमले जनाएका थिए । यही कारण उनीमाथि राजीनामाका लागि दबाब परेको परेको हो । अमेरिकाको विदेश नीति अनुसार कुनै पनि व्यक्तिले कुटनीतिक विषयमा छलफल गर्नु गैरकानुनी मानिन्छ । डेमोक्र्याटिक पार्टीका धेरै शीर्ष नेताले फ्लिनलाई बर्खास्त गर्न राष्ट्रपति ट्रम्पलाई दबाब दिएका थिए । राष्ट्रपतिको सुरक्षा सल्लाहकारको रुपमा नियुक्त व्यक्तिले राष्ट्रपतिलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा सुरक्षाका विषयमा सल्लाह दिन्छन् । फ्लिनको बचाउ गर्दै उपराष्ट्रपति माइक पेन्सले प्रतिबन्धका विषयमा कुराकानी नभएको बताउनुभएको थियो । तर गएको हप्ता अमेरिकी सञ्चारमाध्यमले गुप्तचर विभागलाई उद्धृत गर्दै फ्लिनले रुसी राजदूतसँग प्रतिबन्धका बारेमा पनि कुरा गरेको खबर छापेका थिए । त्यसपछि उनी राजीनामा दिन बाध्य भए । ट्रम्प प्रशासनका लागि यो दोस्रो ठूलो झड्का हो । यसअघि मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी राष्ट्रपतिको आदेशलाई अमेरिकी अदालतले निलम्बित गरेको थियो ।
डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारको राजीनामा माग
विविसी, हाइटहाउस, फागुन ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नु अघि अमेरिकाले रुसमाथि लगाउँदै आएको प्रतिबन्धबारे माइकल फ्लिनले रुसी राजदूतसँग कुराकानी गरेका थिए भन्ने खबरहरुमाझ उनी विवादमा तानिएका छन्। आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँगको विवादास्पद सम्बन्ध रहेको खबरहरुका माझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवस्थाको मूल्याङ्कन गरिरहेको ह्वाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबरहरु आएपछि उनलाई पदबाट हटाउनुपर्ने आवाज उठिरहेका छन्। राष्ट्रपतिका प्रवक्ता शन स्पाइसरले अहिलेको अवस्थाबारे राष्ट्रपतिले मूल्याङ्कन गरिरहेको बताएका हुन्। उनले भने, ‘राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति माइक पेन्ससँग उनको जेनरल फ्लिनसँग भएको संवादबारे कुराकानी गरिरहेका छन्। राष्ट्रिय सुरक्षा नै एउटा सबैभन्दा महत्वपूर्ण विषय रहेकोले ट्रम्पले पेन्सबाहेक अन्य थुप्रै मानिसहरुसँग पनि कुराकानी गरिरहेका छन्।’ उपराष्ट्रपति माइक पेन्सले भने अवकाशप्राप्त जेनरल फ्लिनमाथि लगाइएको आरोप सार्वजनिक रुपमै अस्वीकार गरेका छन्। फ्लिनले आफूबारे आएका खबरहरुका लागि उपराष्ट्रपतिसमक्ष माफी मागेका छन्। उनले प्रशासनका अधिकारीहरुले रुसी राजदूत सेरगेइ किसलियाकसँगको छलफलबारे भ्रामक खबरहरु दिएको बताएका छन्। डेमोक्रेटिक पार्टिकी वरिष्ठ नेतृ न्यान्सी पलोसीले फ्लिनले अमेरिकी जनतालाई ढाँटेको भन्दै उनलाई राष्ट्रपति ट्रम्पले पदबाट हटाउनुपर्ने माग गरेकी छन्। फ्लिनले रुसभन्दा माथि अमेरिकाको स्वार्थ राख्छन् भनेर विश्वास गर्न नसकिने उनले बताइन् । राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनको रुसी राजदूतसँगको सम्पर्कबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवस्थाको मूल्याङ्कन गरिरहेको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसकी परामर्शदाता केल्यान कोन्वेले फ्लिनप्रति राष्ट्रपतिको पूर्ण समर्थन रहेको बताएकी छन्। ह्वाइट हाउसकी परामर्शदाता केल्यान कोन्वेले फ्लिनप्रति राष्ट्रपतिको पूर्ण समर्थन छ भन्ने बताए लगत्तै राष्ट्रपतिका प्रवक्ता शन स्पाइसरको विज्ञप्ति आएको हो। यसैबीच क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीहरुसँग बोल्दै रुसविरुद्धको अमेरिकी प्रतिबन्ध हटाउनेबारे फ्लिन र किसलियाक बिच कुनै छलफल नभएको बताएका छन्।
लाहोरमा शक्तिशाली बम विष्फोट, प्रहरीका उच्च अधिकारीसहित १३ को मृत्युु
विविसी, लाहोर, फागुन ३ । पूर्वी पाकिस्तानी शहर लाहोरमा गरिएको एक बम हमलामा वरिष्ठ प्रहरी अधिकारीहरु सहित कम्तीमा १३ जनाको ज्यान गएको छ भने असीजना भन्दा बढी घाइते भएका छन्। स्थानीय अधिकारीहरुका अनुसार मोटरसाइकलमा चढेर आएको पुरुषले भीडभित्र पसी उक्त विष्फोट गराएको थियो । सोमबार पन्जाब प्रान्तीय विधानसभा बाहिर सैयौं मानिसहरुले विरोध जनाइरहेका बेला उक्त विष्फोट गराइएको थियो। उनीहरुले औषधि बिक्री सम्बन्धमा सरकारले ल्याएको नयाँ नियमको विरोध गरिरहेका थिए। पाकिस्तानी तालिबानबाट अलग भएको एउटा गुट, जमात अल अरा, ले सो हमलाको जिम्मा लिएको छ। उसले आफ्नो संगठन विरुद्ध पाकिस्तानी सेनाले गरिरहेको कारवाहीको जवाफमा त्यस्तो हमला गरिएको जनाएको छ। ‘विष्फोट निकै शक्तिशाली थियो। मैले विष्फोट भएको स्थल नजीकै आगोको लप्काहरु, घाइते र शवहरु देखें। मानिसहरु रोइरहेका थिए,’ एकजना प्रत्यक्षदर्शीले भने। हताहती हुनेहरुको संख्या अरु बढ्न सक्ने आशँका गरिएको छ। मारिनेहरुमा प्रहरीका पाँचजना वरिष्ठ अधिकारीहरु पनि भएको बताइएको छ। पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले सो हमलाको निन्दा गरेका छन् र हमलाकारीहरु विरुद्ध कडा कारवाही गरिने चेतावनी दिएका छन्। गत वर्ष मार्च महिनामा लाहोरको एक सार्वजनिक पार्कमा गराइएको बम हमलामा केटाकेटी सहित कम्तीमा ६९ जनाको ज्यान गएको थियो। तस्वीर एजेन्सी

