ट्रम्प र पुटिनकाे भेट: यि हुन् अमेरिका र रुसको चिसोपना

काठमाडौं, असार २४  ।  जर्मनीमा आयोजित जी ट्वेन्टी शिखर बैठकको छेउछाउ पारेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका रुसी समकक्षी भ्लादिमिर पुटिनसंग पहिलोपल्ट भेटवार्ता गरेका छन्।

पत्रकारहरुसमक्ष छोटो प्रतिक्रिया जनाउंदै राष्ट्रपति ट्रम्पले राष्ट्रपति पुटिनलाई भेट्न पाउंदा आफूलाई सम्मानित अनुभव भएको बताए।

उनले आफूहरुबीच राम्रो कुराकानी भएको र त्यो जारी रहने पनि बताए।

यी वार्ताहरुबाट अमेरिकी-रुसी सम्बन्धमा सकारात्मक परिणाम देखिने उनले विश्वास व्यक्त गरे।

रुसी राष्ट्रपतिले पनि त्यसमा सहमति जनाए।

उनले जटिल अन्तर्राष्ट्रिय समस्याहरुका बारे छलफल गर्न व्यक्तिगत भेटघाट आवश्यक रहेकोमा जोड दिए।

चिसोपना

दुई देशबीचको सम्बन्धमा रुसले क्राइमियालाई आफूमा गाभेको, सिरियाली राष्ट्रपतिलाई प्राप्त रुसी समर्थन र अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपका आरोपका माझ चिसोपना रहंदै आएको थियो।

जी ट्वेन्टी शिखर बैठकका क्रममा भएको दुई विश्व नेताहरुबीचको महत्वपूर्ण बैठकमा दुवै देशका विदेशमन्त्रीहरुको पनि उपस्थिति थियो।

यो वर्षको जी ट्वेन्टी शिखर बैठकको आयोजक जर्मनीकी चान्सलर एंगेला मर्केलले महत्वपूर्ण विश्वव्यापी चुनौतिहरुका हकमा सम्झौता गर्न विश्व नेताहरुलाई आह्वान गरेकी छन्।

उनले जर्मन शहर ह्यामबर्गमा भेला भएका समकक्षी विश्व नेताहरुलाई सम्बोधन गर्दै आफ्ना सिद्धान्तहरुलाई कायमै राख्दै र मतभिन्नताहरु व्यक्त गरेरै भएपनि त्यस्ता सम्झौताहरु गर्न सकिने बताइन्।

उनले भनिन्,”हामीले ठूला बलिदानहरु गर्न पर्दैन, केही मुद्दाहरुमा विमति हुंदा हुंदै पनि हामी कुनै सहमतिमा पुग्न सक्छौं”

प्राथमिकता

तस्वीर कपीराइटAFP

चान्सलर मर्केलले उक्त सम्मेलनको प्राथमिकताहरु प्रस्तुत गरिन् जसमा व्यापार, जलवायु परिवर्तन, उर्जा, महिला अधिकार र अफ्रीका पनि परेका छन्।

जर्मनीको ह्यामबर्ग शहरमा आयोजित उक्त शिखर सम्मेलन अघि बोल्दै युरोपेली आयोगका अध्यक्ष डोनल्ड टुस्कले युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरुको ठूलो संख्यालाई रोक्न अन्तर्राष्ट्रिय ऐक्यवद्धता हुनु पर्ने बताएका थिए।

एउटा पत्रकार सम्मेलनमा बोल्दै मानव तस्करहरु विरुद्ध क्रुर संघर्ष गर्नु पर्ने भन्दै उनले जी ट्वेन्टी राष्ट्रहरुले तिनीहरु विरुद्ध प्रयोग गर्ने उपायहरुको समर्थन गर्नु पर्ने बताएका थिए।

“तिनीहरुको सम्पति रोक्का गर्ने र तिनीहरुका यात्रामा प्रतिबन्ध लगाइनु पर्ने जस्ता विषय ती प्रस्तावमा छन्। विश्वव्यापी स्तरमा कम्तीमा पनि यतिसम्म गर्न सकिन्छ,” टुस्कले भने।

घाइते

ह्यामबर्गको प्रहरीका अनुसार जी ट्वेन्टी शिखर बैठकका बेला विरोध प्रदर्शन गर्नेहरुको भिडसंगको झडपमा कम्तीमा एकसय साठीजना प्रहरीहरु घाइते भएका छन्।

त्यस क्रममा ६० जना भन्दा बढीलाई गिरफ्तार गरिएको छ।

छिटपुट हिंसाका माझ भैरहेको विरोध प्रदर्शनका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले अष्ट्रियासम्म सहयोगका लागि आह्वान गरेको छ।

अहिले नै त्यहाँ बीस हजार प्रहरीहरु परिचालन गरिएको छ।

– याे समाचार बिबिसिबाट  लिर्इएकाे हाे । 

नकारात्मक गतिविधिले चीन–अमेरिकी सम्बन्ध प्रभावित

वेइजिङ् (चीन), असार २० । चीनका राष्ट्रपति सी जिनपिङ्ले आफ्नो अमेरिकी समकक्षीसँग सोमबारगरेको टेलिफोन वार्तामा बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या आएको बताएका छन् । अमेकिरी नौसैनिक जहाज चिनियाँ इलाकामा प्रवेश गरेपछि चीनले हालै उक्त जहाजलाई नियन्त्रणमा लिएको थियो । सम्भवतः यसै विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले गरिएको फोन वार्तामा चिनियाँ राष्ट्रपति सीले सम्बन्ध सुमधुर राख्न केही अमेरिकी गतिविधि समस्या बन्ने गरेको बताएको चिनियाँ स्रोतले जनाएको छ। दुई शक्तिशाली विश्व नेताबीच भएको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले ट्रम्पसँग फ्लोरिडामा गत अप्रिलमा भएको भेटले महत्वपूर्ण सफलता हासिल गरेको बताएका थिए । सोही समय राष्ट्रपति सीले केही नकारात्मक गतिविधिका कारण सम्वन्धलाई बेलाबेला प्रभावित तुल्याउने गरको भन्दै चीनले अमेरिकालाई हेर्ने दृष्टिकोण यसअघि नै राखिसकेको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ । उक्त कुराकानीका अवसरमा चिनियाँ राष्ट्रपति सीले अमेरिकाले एक चीन नीतिको सम्मान गर्ने विश्वास व्यक्त गरेको बताइएको छ । दुई नेताबीच कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वका विषयमा पनि कुराकानी भएको बताइएको छ । त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त कोरियाद्वारा निरन्तर आणविक हतियार र क्षेप्यास्त्र बनाउने कार्यक्रमलाई अघि बढाएको बताउँदै दुबै देशको सहकार्यलाई प्योङयाङ बढाएको बताउँदै दुबै देशको सहकार्यलाई आणविक हतियार मुक्त गराउनु पर्ने विज्ञप्तिमा जनाइएको छ । चीनले अमेरिकी व्यवसायिक साझेदारसँग ट्रम्पले सन्तुलित व्यवापारिक सम्बन्धलाई अघि बढाउनुु आग्रह गरेको पनि विज्ञप्तिमा जनाइएको छ । यद्यपि विज्ञप्तिमा ताइवान बारे केही जनाइएको छैन ।

राष्ट्रपति ट्रम्प र सीएनएन न्यूज च्यानलबिच ‘हंगामा’

असार १९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीएनएन न्यूज च्यानलको लोगोसहितको मास्क लगाएको जस्तो देखिने व्यक्तिसंग रेस्लिङ खेलेको भिडियो ट्वीटरमार्फत सार्वजनिक गरेपछि हंगामा मच्चिएको छ । सन् २००७ मा ट्रम्प ‘डब्लुडब्लुई रेस्लिङ’को एउटा फाइटमा सहभागी भएको र यो नयाँ भिडियो क्लिप सोही प्रतियोगिताको भिडियो सम्पादनगरी बनाइएको हो । वास्तविक भिडियोमा भने ट्रम्पले पूर्व निर्धारित योजनाअनुसार ‘डब्लुडब्लुई’का मालिक विन्स म्याकमोहनलाई पिटेको देखिन्छ । भिडियोको नयाँ एनिमेटेडस्वरुप केहीदिन अघि ट्रम्पका कुनै समर्थकले इन्टरनेटमा पोष्ट गरेका थिए । जसलाई ह्वाइट हाउसबाट सञ्चालित राष्ट्रपतिको ट्वीटर अकाउन्ट पोष्टबाट रिट्विट गरिएको हो । ट्रम्पले भिडियो क्लिप ट्वीटरमा पोष्ट गरेपछि सीएनएनले उनीमाथि हिंसा भड्काएको आरोप लगाएको छ । सञ्चारमाध्यमको चर्को आलोचना गर्दै आएका राष्ट्रपति ट्रम्पले धेरैपटक सीएनएनले झूठो खबर दिएको आरोप लगाउदै आएका छन् ।

बेलायती महारानीको तलबमा ७८ प्रतिशत बृद्धि

लण्डन, असार १४ । बेलायती महारनी एलिजाबेथ द्वितीयको तलबमा नाटकीय ढंगले वृद्धि भएको छ । समाचार अनुसार, कमनवेल्थ प्रमुख महारनीको तलबमा बकिंगघम प्यालेसको मर्मत खर्च समेत जोडिएको हो । यो वर्ष उनले ९७ मिलियन डलर पाउने छिन् । यसअघि उनले ५४.६ मिलियन डलर पाएकी थिइन । बेलायतमा राजनीतिक अधिकार नदिइएपनि महारानीको सम्मान निकै गरिन्छ । बकिंगघम राजदरबार पुरानो भएकोले यसको मर्मतका लागि महारानीलाई दिइने तलबमा मर्मत खर्च समेत जोडिएकोले यो रकम धेरै बढेको मिडिया रिपोर्टमा उल्लेख छ । त्यसो त ब्रिटेनकी महारानी आफ्ै उच्चस्तरीय व्यवसायमा संलग्न रहँदै आएकी छिन् । उनले घरजग्गा, खेत, बिन्डसर ग्रेट पार्क, एस्कोर्ट रेसकोर्सलगायत तीन हजार बढी बिभिन्न कारोबारमा हात हालेकी छिन् ।

भेनेजुयलामा सर्वोच्च अदालतमामाथि हवाई आक्रमण

कराकस । भेनेजुएलामा सरकारविरोधी एक सैन्य अधिकारीले त्यहाँको सर्वोच्च अदालतमा हवाइ आक्रमण गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार ओस्कार पेरेज नाम गरेका सैन्य अधिकारीले सो हेलिकोप्टर नियन्त्रणमा लिएर हमला गरेका हुन् । उनी स्वयं उक्त हेलिकोप्टरमा सवार थिए । अनलाइनमा पोस्ट गरिएको एक भिडियोमा राजधानी कराकसको आकाशमा उक्त हेलिकोप्टर उडेको देखिन्छ । सोही क्रममा विस्फोटको आवाज पनि सुनिन्छ । सरकारी अधिकारीहरुका अनुसार हमलाअघि ओस्कारले हेलिकोप्टर नियन्त्रणमा लिएका थिए ।

पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी हुँदा १२० को मृत्यु, १०० घाइते

पाकिस्तान, असार ११ । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ । पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा सो दुखद घटना भएको त्यहाँको अस्पतालले जानकारी दिएको छ । पाकिस्तानी पञ्जाव प्रान्तको बहालपुरमा रहेको भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा.अरुन्जेबले सो जानकारी दिनुभएको छ । उहाँले उक्त आगलागीका कारण ज्यान जानेको सङ्ख्या १२० पुगेको पुष्टि गर्नुभएको छ । साथै उक्त बहालपुर जिल्लाका विभिन्न अस्पतालमा गरी १०० जनाभन्दा बढी व्यक्ति घाइते रहेका पनि उहाँले पुष्टि गर्नुभएको छ । बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा सो दुर्घटना भएको हो । उक्त मार्गमा गुडिरहेको पेट्रोलियम पदार्थ बोकेको एक ट्याङ्कर अकस्मात सडकमा पल्टिएको थियो । सडकमा ट्याङ्कर पल्टिएपछि त्यसमा रहेको प्रज्ज्वलनशील पदार्थ पोखिएको र पोखिएको सो तेल बटुल्नका लागि जम्मा भएका नागरिकलाई आगालागीले शिकार बनाएको थियो। सयौँको सङ्ख्यामा जम्मा भएर नागरिकले तेल उठाउदै गर्दा अकस्मात उक्त तेलमा नै आगो लागेको थियो । आगो लागेपछि नागरिकमा भागाभाग मच्चिए पनि उनीहरु सबैजना एकैपटक भाग्न सकेका थिएनन् । सोही आगलागीमा परी कम्तीमा पनि १२० जनाको ज्यान गएको र अरु १०० भन्दा बढी जलेर घाइते भएका प्रत्यक्षदर्शीलाई उद्धृतगर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सडकमा ट्याङ्कर दुर्घटना नै भएर हो या किन पल्टियो भन्ने बारेमा भने केही बताइएको छैन । त्यसैगरी तेल पोखिएपछि आगो कसरी लाग्यो भन्ने बारेमा पनि केही पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ । तर कतिपय स्थानीय सञ्चारमाध्यमहरुले पोखिएको तेल उठाउन आएकामध्येकै कसैले चुरोटको ठुटो त्यहाँ फालिदिएका कारण सो आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर यसको पुष्टि भने भएको छैन । स्थानीय दमकल विभागका एकजना कर्मचारीले सो दुर्घटनास्थलमा कम्तीमा पनि तीन वटा दमकल पठाइएको जनाएका छन् । उनका अनुसार सो सडक बस्तीभन्दा केही पर रहेकोले बस्तीमा भने आगोको असर केही परेको छैन । तर त्यहाँ रहेका करिब ७५ वटा मोटरसाइकल र ६ वटा गाडी भने आगोमा जलेर ध्वस्त भएका छन् । अधिकांश ती सवारी साधन पनि पोखिएको तेल जम्मा गर्न आएका मानिसको भएको अनुमान गरिएको छ ।

सिरियाको राकामा तीन सय लडाकू मारिए

दमासकस, असार ८ । सिरियाको राका प्रान्तमा गत दुई हप्ताभित्र तीन सयभन्दा बढी इस्लामिक स्टेट्स (आईएस) लडाकू मारिएका छन् । अमेरिकी सहयोगमा सिरियन डेमोक्र्याटिक फोर्सेस् (एसडीएफ) ले गरेको सुरक्षा कारबाहीमा उनीहरू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । जारी विज्ञप्तिमा ३१२ जना आईएस लडाक्ू मारिएका र १५ जना तिनीहरूका कमाण्डर हराइरहेका उल्लेख गरिएको छ । अमेरिकी सहयोगको सो समूहले आईएसको नियन्त्रणमा रहेको राकालाई नियन्त्रण मुक्त बनाउने उद्देश्य राखेको छ । सो ठाँउलाई आईएस लडाकूहरूले सन् २०१४ मा नियन्त्रणमा लिई आफ्नो राजधानी भएको घोषणा गरेका थिए । एसडीएफलाई सिरियाको सेनाले सहयोग गरिरहेको अमेरिकाको भनाई छ ।

राष्ट्रपतिको बाटो छेकेर एम्बुलेन्सका लागि बाटो खुलाउने ट्राफिक पुरस्कृत

असार ७ । भारतको बेंग्लोर सहरमा एक ट्राफिक प्रहरीले भारतका राष्ट्रपति प्रणव मुखर्जीको सवारी रोकेर एम्बुलेन्सलाई बाटो खुला गरेका कारण उनी पुरस्कृत हुने भएका छन् । राष्ट्रपतिको सवारी आइपुग्दा पनि सडकको अर्कोतर्फ जाममा फसेको एम्बुलेन्सलाई बाटो खुला गर्नका लागि सवारी खुला गरिदिएका ट्राफिक सब इन्सपेक्टर एमएल निजलिंगप्पालाई बेंग्लोर प्रहरीले पुरस्कार दिने भएको हो । उनलाई दिइने पुरस्कारको बारेमा भने खुलाइएको छैन । उक्त सहरको पूर्वी विभागका डेपुटी कमिश्नर अफ पुलिस ट्राफिक अभय गोयलले ट्वीटरमा ती ट्राफिक प्रहरीको प्रशंसा गरेका छन् । त्यस्तै उनको त्यो कामलाई स्थानीय मिडियाहरुले समेत निकै प्राथमिकताका साथ प्रकाशत प्रशारण गरेका छन् ।

किँन बनायो भाजपाले दलितलाई राष्ट्रपतिको उम्मेदवार

नयाँदिल्ली, असार ६ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले सवै भन्दा तल्लो जातको मानिने दलित समुदायको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदबार बनाएको छ । पिछडिएको समुदायलाई अगाडी बढाउन भन्दै दलित समुदायका एक व्यक्तिलाई भाजपाले सोमबार राष्ट्रपति पदका लागि उम्मेदबारी दर्ता गर्न लगाएको जनाएको छ । मुलुकको सवैभन्दा माथिल्लो औपचारिक पदका लागि ७१ बर्षीय रामनाथ कोभिन्डले उम्मेदबारी दर्ता गराए । राज्यको सवैभन्दा उच्च पदमा यसअघि एक जना मात्रै दलित पुगेका थिए । बर्तमान राष्ट्रपति प्रणव मुखर्जीको अर्को महिना कार्यकाल सकिने भएकाले भारतमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रीय र प्रदेश संसदका सांसदहरुले मतदान गर्ने व्यवस्था छ । सत्तारुढ दल भाजपाले आफ्ना उम्मेदवारलाई विजयी बनाउन सवैबाट आवश्यक सहयोग पाउने विश्वास लिएको छ । “रामनाथ केभिन्ड पहिले देखि नै संधै पिछडिएको समुदाय र दलित समुदायको उत्थानका लागि लडिरहनु भएको व्यक्ति हुनुहुन्छ,” भाजपाका प्रमुख अमित शाहले पार्टीको तर्फबाट उम्मेदबारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा भने । “तल्लो जात मानिने दलित र अति गरिब समुदायमा जन्मिएको व्यक्ति उहाँ राष्ट्रपति पदका लागि सर्वसम्मत उम्मेदवार हुन सक्नुहुन्छ भन्ने भाजपालाई विश्वास छ,” उनले थपे। सामान्यतया मथिल्लो समुदायका हिन्दुहरुको समर्थन गर्ने मानिने भाजपाले तल्लो जातका भनिने मतदाताहरुलाई पनि समर्थनका लागि देशव्यापी आह्वान गरेको छ ।

लण्डनको २४ तले भवनमा भएको आगलागीको छानबिन गरिने

बेलायत, असार २ । बेलायतकी प्रधानमन्त्री टेरेजा मे ले पश्चिम लण्डनको एक भवनमा भएको आगलागीबारे छानबिन गर्न आदेश दिएका छन् । आगलागीलाई दुःखान्त भन्दै प्रधानमन्त्री मे ले घटनाबारे अनुसन्धान हुनुपर्ने बताए । प्रधानमन्त्री मेले दुर्घटनास्थलको छोटो भ्रमण गर्दै यसबारे बृहत र सार्वजनिक रुपमा अनुसन्धान गर्न आदेश दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले टावरमा आगलागी हुँदा अहिलेसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको छ । अग्नि नियन्त्रकले ६५ जनाको उद्धार गरेका बिबिसीले जनाएको छ ।  आगलागीको कारण अझै थाहा भएको छैन ।

जेलमा ठूलो हमला, ११ को मृत्यु, भागे ९ सय बढी कैदी

जेठ २९ । डिआर कंगोको अशान्त पूर्वी प्रान्तको एक कारागारमा अज्ञात व्यक्तिहरुले हमला गरेका छन् । हमलामा ११ जनाको मृत्यु भएको छ भने नौ सय बढी कैदाीहरु भागेका छन् । आइतबार भएको हमला उत्तरी किबु प्रान्तमा भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।

लन्डनमा आतंकवादी आक्रमणमा ६ जनाको मृत्यु, ३० जना भन्दा बढी घाइते

जेठ २१ । बेलायतको लण्डनमा आतंककारी हमलामा ६ जनाले ज्यान गुमाएका छन् भने ३० भन्दा बढी घाइते भएका छन् । लण्डन ब्रिज र बोरोउघ बजारमा स्थानीय समयअनुसार राती १० बजे मध्य लण्डनमा तीब्र गतिमा रहेको एउटा भ्यानले पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएलगत्तै प्रहरी अधिकारी तथा सर्वसाधारणमाथि अन्धाधुन्ध चक्कु आक्रमण शुरु भएको बीबीसीले उल्लेख गरेको छ । प्रहरीको कारवाहीमा आरोपित तीनजनाको ज्यान गएको छ । घटनापछि लण्डन ब्रिजमा रहेको रेलवे स्टेसन बन्द गरिएको छ भने लण्डनभर सुरक्षा व्यवस्था कडा पारिएको छ । आक्रमणपछि बेलायती प्रधानमन्त्री टेरिजा मेले निन्दनीय घटना भएको भन्दै कोब्रा आपतकालिन कमिटिको आकस्मिक बैठक बोलाएकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै बेलायत सरकारलाई आतंकवादविरुद्धको लडाईमा हरसम्भव सहयोग गर्न आफू तयार रहेको जनाएका छन् । केही दिन अघि बेलायतको म्यानचेष्टर एरिनामा आरियाना ग्रान्डेको कन्सर्टका क्रममा भएको विष्फोटमा परि २२ जनाको मृत्यु भएको थियो ।

पेरिस सम्झौताभन्दा एक कदम अघि जलवायु नियन्त्रणका लागि प्रतिबद्ध छौँ : भारत

पेरिस (फ्रान्स), जेठ २१ । भारतले पेरिस सम्झौताभन्दा एक कदम अघि बढेर जलवायु नियन्त्रण प्रयासका लागि काम गर्ने जनाएको छ । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँलाई भेटेपछि जलवायु परिवर्तनका विषयमा सोधिएको प्रश्नमा आफू र आफ्नो मुलुक पेरिस सम्झौताप्रति बतिबद्ध रहेको बताउँदै भने “हामी पेरिस सम्झौताभन्दा माथि उठेर जलवायु परिवर्तन नियन्त्रण प्रयासमा काम गर्नेछौँ ।” अमेरिकाले पेरिस सम्झौताबाट बाहिरिने भनी दिएको निर्णय आएको दुईदिनपछि भारतीय प्रधानमन्त्रीले सम्झौता ‘विश्वको साझा सम्पत्ति’ भएको बताएका हुन्।

भिडन्तमा परी करिब दुई हजार सर्वसाधारण फसे

फिलिपिन्स, जेठ १५ । फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहबीच भएको भीषण भिडन्तको कारण दुई हजार भन्दा बढी सर्वसाधारण फसेर रहेका जनाइएको छ । सो सहरमा करिब एक हप्तादेखि आइएस आतङ्ककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण महिला र बालबालिकासहित १९ व्यक्तिले ज्यान गुमाउनुको साथै दुई हजार भन्दा बढी सर्वासधारण त्यहाँबाट भाग्न नसकेर फसेर रहेका अधिकारीहरुले जानकारी दिएका छन् । गत मङ्गलबार राष्ट्रपति रोड्गिो डुटेर्टेले मिन्दानाओ क्षेत्र र मरावी नगरमा सङ्कटकालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गर्नुभए तापनि आइएस आतङ्ककारीले द्वन्द्व जारी नै राखेका हुनाले सरकारी सुरक्षाबलले गरेको कारबाहीको क्रममा नै भिडन्त भएको जनाइएको छ । प्रायः मुसलमान समुदायको बाहुल्यता रहेको करिब दुई लाख जनसङ्ख्या भएको यस मरावी सहरमा आइएस आतङ्ककारी सडक अवरुद्ध गरी सरकारी बलसँग गरेको भिडन्तको कारण महिला बालबालिकासहित करिब दुई हजार जनसङ्ख्या त्यहाँ फसेका र उनीहरुले आफ्नो सुरक्षित अवतरणको लागि सहयोगको आह्वान गरेका प्रान्तीय द्वन्द्व व्यवस्थापन कमिटीका प्रवक्ता जिया एलोन्टो एडिओङ्गले जानकारी दिएका छन् । हिजो मात्र पनि सो सहरमा आतङ्ककारी र सरकारी बलबीच भएको भिडन्तमा परी १९ सर्वसाधारणको मृत्यु भएको थियो । गत हप्तादेखि जारी यस भिन्डतमा १७ सुररक्षा अधिकारी, ६१ जना आतङ्ककारी र १९ जना सर्वसाधारणको मृत्यु भइरहेको छ । दक्षिणी फिलिपिन्सको लानाओ डेला सुर प्रान्तमापर्ने मिन्दानाओ क्षेत्र र मरावी नगरमा अतिवादी इस्लामी सशस्त्र समूहले गत हप्तादेखि सरकारविरुद्ध भीषण युद्ध सुरु गरेका थिए । राष्ट्रपति रोड्गिो डुटेर्टे, केही मन्त्रिगण तथा उच्च पदस्थ अधिकारी रुसको औपचारिक भ्रमणमा गएको मौका पारी अतिवादी इस्लामी सशस्त्र समूहले अकस्मात आक्रमण गरी मरावी नगरमा कब्जा जमाएका थिए । आफ्नो समूहलाई विश्वको कुख्यात आतङ्ककारी सङ्गठन इस्लामिक स्टेट्सको समर्थन र सहयोग रहेको भनी दाबी गर्ने फिलिपिन्सको सशस्त्र समूहः माउतेले देशमा राष्ट्रप्रमुख तथा अन्य विशिष्ट अधिकारी नभएको मौका छोपी इस्लामी बहुल क्षेत्र मरावी नगरमा गत मङ्गलबार एक्कासि आक्रमण गरी त्यहाँको नगर सभागृह (सिटी हिल), एक अस्पताल र स्थानीय कारागार कब्जामा लिएका थिए । आतङ्ककारी आक्रमण र सुरक्षाकर्मी एवम् अन्य धन, जनको व्यापक क्षति र देशवासीको अपहरणको खबर थाहा पाउनासाथ रुसको भ्रमण छोट्याई राष्ट्रपति डुटेर्टे तत्कालै स्वदेश फर्कनुभएको थियो । उहाँले स्वदेश फर्किरहेको विमानबाटै सङ्कट कालको घोषणा गर्दै त्यहाँ तुरुन्तै सैनिक कानुन लागू गरेको घोषणा गर्नुभएको थियो । राष्ट्रपति डुटेर्टेले हाल ६० दिनसम्म दक्षिणी मिन्दानाओको सबै क्षेत्र भरी सैनिक कानुन लागू गरिएको र स्थितिपूर्ण नियन्त्रणमा नआएमा वा आवश्यक परेमा संविधान प्रदत्त राष्ट्रपतीय अधिकार प्रयोग गरी एक वर्षसम्म पनि सैनिक कानुन लागू गर्न सकिने जनाउनुभएको थियो ।

श्रीलङ्कामा विस्थापितको उद्धार कार्यमा हजाराँं सैनिक तैनाथ बाढी पहिरोबाट १६९ को मृत्यु

कोलम्बो (श्रीलङ्का), जेठ १५ । श्रीलङ्कामा मनसुन पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका व्यक्तिको उद्धारकार्यको लागि हजारौँ सैनिक तैनाथ गरिएको छ । एक दशकयताको भीषण बाढीको रुपमा आएको यस प्रकोपपछि अन्यन्त प्रभावित द्विपबाट विस्थापित भएका करिब पाँच सर्वसाधारणको लागि उद्धार साम्रगी आपूर्तिको लागि ती हजारौँ सैनिक तैनाथ गरिएको हो । श्रीलङ्कामा आएको यस भीषण बाढीपहिरोमा परी हालसम्म १६९ व्यक्तिको मृत्यु भइसकेको छ । सो प्रकोपका कारण पाँच लाख व्यक्ति विस्थापित हुनुपरेको र अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइरहेका छन् । सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा गत शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढिपहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको थियो भने, ती व्यक्तिको उद्धार सामग्री आपूर्तिको लागि हजाराँै सैनिक तैनाथ गरिएको छ । उक्त बाढी र पहिरोमा परी हालसम्म १६९ जनाको मृत्यु हनुको साथै १०२ जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी)ले पनि पुष्टि गरेको छ । साथै यस प्रकोपमा परी घाइते भएका ८८ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्वीपका दक्षिणी पश्चिमी क्षेत्रका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढिपहिरो विगत १४ वर्षपछिको सबैभन्दा भयाङ्कर भएको बताइएको छ । समथर भू–भाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन् । यस प्रकोपमा मारिएका १६९ जनामध्ये पहिरोकै कारण अधिकांशको र डुबानमा परी केही सङ्ख्यामा मृत्यु भएको श्रीलङ्काका स्वास्थ्यमन्त्री तथा सरकारका प्रवक्ता राजिथा सेनारात्नेले बताउनुभएको छ । उहाँका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थातथलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरुको बासस्थानबाट अस्थायी शिविरमा लग्नुपरेको थियो । सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घ संस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाको खोजीलाई निरन्तरता दिएको छ । संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ सङ्गठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तानलगायत अन्य मुलुकले यस बाढिपहिरो पीडित जनतालाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य उद्धार सामग्रीको सहयोग पठाइरहेका छन् । श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो । त्यसवर्ष परेको भीषण वर्षातले दुई सय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घर धुरी नष्ट भएका थिए ।

मोदीद्वारा रुहानीलाई बधाई

भारत, ६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार इरानको राष्ट्रपतीमा पुनः निर्वाचित हसन रुहानीलाई बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको शुभकामना दिनुभएको सरकारका प्रवक्ताले बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले शनिबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “मेरो साथी रुहानीलाई हृदयदेखि बधाई छ ।” “नयाँ कार्यकालमा इरानले रुहानीको सक्रिय नेतृत्वले नयाँ सफलता चुम्नेछ ।” रुहानी शनिबार इरानी राष्ट्रपती निर्वाचित हुनुभएको हो । राष्ट्रपतिमा पुनः विजय हासिल गरेपछि रुहानीले निर्वाचन पूर्व र निर्वाचनका समय गरेका बाचा पूरा गर्न दृढसङ्कल्प रहने बताए । भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा भारत–इरानबीचको सम्बन्ध थप प्रगाढ पार्न भारतको तर्फबाट आफू प्रतिबद्ध रहेको जनाए ।