इन्सपेक्टर पदमा उत्तीर्ण हुनेको नतीजा प्रकाशित

काठमाडौं, जेठ १– प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर पदमा खुल्ला प्रतियोगिताद्वारा छनोट भएको उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको छ ।

प्रहरी प्रधान कार्यालयबाट २०७३ जेठ ५ गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई संचालन भएको अन्तरर्वार्ता परीक्षामा सहभागी भएका मुख्य तथा बैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुको योग्यताक्रम अनुसारको अन्तिम नतिजा सोमबार प्रकाशित गरेको हो ।

अन्तिम नतिजामा उर्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक सम्पूर्ण कागजपत्र सहित जेठ ८ गते सोमबार ११ः०० बजे प्रहरी प्रधान कार्यालय, मानवस्रोत बिकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न प्रहरी हेड्क्वार्टरले आग्रह गरेको छ ।

विकास निर्माणका कार्यहरुको अनुगमन

पर्सा, जेठ १ । पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बहादर अमात्यले वीरगंजमा संचालित निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यहरुको आज निरिक्षण तथा अवलोकन गरिएको छ । संसदीय विकास कोषको रकमबाट वीरगंजका विभिन्न स्थानमा भइरहेका विकास निर्माणका कार्यहरुको अवलोकन गर्नुभएको उनका स्वकीय सचिव अवधेश साहले जानकारी दिए । सांसद अमात्यले वीरगञ्ज उपहानगरपालिका २६ सुगौली विर्तामा निर्माण भइरहेको सडक ढलान, मस्जिदको अवलोकन तथा निरिक्षण गरेको हो । यस्तै, संसदीय विकास कोषको रकमबाट अलौमा भइरहेको सडक ढलान, यज्ञशाला, मन्दिरको स्थलगत अनुगमन गरेको हो । विकास निर्माणका कार्यहरुको अनुगमन गर्दै सांसद अमात्यले विकास निर्माणका लागी छ्ट्याइएको रकमको सही सदुपयोग गर्न उपभोक्ता समितीहरुलाई निर्देशन दिदै विकास कार्यहरुको अनगुमन तथा मुल्यांकन गर्न स्थानियहरुलाई समेत आग्रह गरे । अनुगमनका क्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य दिना गुप्ता, विजय उपाध्याय, नेपाली कांगे्रस पर्सा क्षेत्र नम्बर १ तरुण दलको क्षेत्रीय सभापति दशरथ पटेल, शम्भु मिश्रा, प्रेमचन्द्र दुवे, प्रभु पटेल, शैलेन्द्र उपाध्यायलगायत स्थायिनको सहभागिता रहेको थियो ।

माग सम्बोधन भएको निर्वाचनमा भाग लिने राजपाको प्रतिबद्धता

भद्रपुर, जेठ १ । मधेस केन्द्रित छ राजनीतिक दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए यही जेठ ३१ को स्थानीय तहको चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा आज भएको छलफलमा जिल्ला तहका नेताहरुले आफ्नो पार्टीले उठाउँदै आएको माग सम्बोधन भए स्थानीय चुनावमा जाने बताउनुभयो । उहाँहरुले चुनाव मुलुकका लागि अपरिहार्य छ भन्दै वर्तमान सरकारले मधेस केन्द्रित भावना सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । राजपा झापाका संयोजक सूर्यनारायण गणेशले दलबीच सहमतिको विकल्प नरहेको बताउँदै वर्तमानमा देखिएका समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिनुभयो ।

लतिलपुरमा नयाँ शक्तिले खाता खोल्यो, दलित वडा सदस्य विजयी

ललितपुर, जेठ १ । नयाँ शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा पहिलो जीत हासिल पारेको छ । निर्वाचन आयोगको आधिकारिक घोषणा अनुसार, ललितपुर महानगरपालिकाको वडा नं. १ मा नयाँ शक्तिबाट उम्मेदवार बनेका बीना कुमारी पोडेले दलित सदस्यका रुपमा विजय हासिल गरेकी हुन । उक्त वडाको अध्यक्षमा भने नेपाली कांग्रेका तण्डुकार विजयी भएका छन् ।

सबैभन्दा बढी ८३ प्रतिशत मतदान भक्तपुरमा मतगणना आजदेखि

भक्तपुर, जेठ १ । पहिलो चरणको स्थानीय तहको निर्वाचन ३४ जिल्लाको २८१ मतदान केन्द्रमा भएको मतदानमा भक्तपुरमा देशभरबाटै बढी ८३ प्रतिशत मत खसेको छ । भक्तपुरको चार वटा नगरपालिकामा भएको मतदानमा ८३ प्रतिशत मत खसेको र यो देशभरकै बढी रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो । भक्तपुरमा कुल एक लाख ६१ हजार ५२९ मतदाता रहेकामा कुल एक लाख ३१ हजार ९५८ मत खसेको छ । जिल्लाको भक्तपुर, मध्यपुर, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका मतगणना भने आजदेखि मात्रै हुने भएको छ ।

एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते

धादिङ, जेठ १ । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ । पिलभन्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरिएको र त्रिपालसँगै जस्तापाताले समेत छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लतपतिएको अवस्थामा भेटिएको छ । सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको सोही गाउँका प्रदीप श्रेष्ठले जानकारी दिनुभयो । राति घटना भएपछि छिमेकीले प्रहरीलाई खबर गरेको तर प्रहरी घटनास्थलपुग्न ढिलाइ हुँदा गाउँवासीेले घटनास्थलको सुरक्षा गरेर राखेकोे र प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यायलले जानकारी दिएको छ । केही दिनदेखि लक्ष्मण चेपाङ र उनका भाइलाई भोट नहालेमा मार्ने धम्की आइरहेकाले सोही आधारमा हत्या भएको मृतकका भाइ लालबहादुर चेपाङले बताउनुभयो । यसैगरी मतदान सकिएपछि नीलकण्ठ नगरपालिका–५ देयरालीमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा एमालेका ४२ वर्षीय राजेन्द्र थापामगर, २५ वर्षीय ललितबहादुर थापामगर र १९ वर्षीय गणेशबहादुर थापामगर र नेपाली काँग्रेसका २४ वर्षीय रामबहादुर थापामगर रहेका छन् । आइतबार मतदान सकिएपछि साँझ घर फर्किने क्रममा झडप भएको थियो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जाजरकोटको शिवालयमा माओवादीको प्यानल विजयी

जाजरकोट, जेठ १ । वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना भइसकेको छ । जाजरकोटको शिवालय गाउँपालिकाको वडा नं.१ मा भएको चुनावको मतगणना गर्दा माओवादी केन्द्रको उम्मेदवार मानबहादुर पुनको प्यानल विजयी भएको हो । निर्वाचन कार्यालयका अनुसार वडा अध्यक्षका उम्मेदवार पुनले २६९ मत प्राप्त गरेका छन् । महिला सदस्य रामसरी रानाले २४७ मत ल्याएकी छिन् । त्यस्तै भद्री दमाईंले २६०, चन्द्रबहादुर पुनले २७० र कृष्ण रानाले २६१ मत ल्याएर विजयी भएका छन् ।

एमाले शिर्षस्थानको अग्रतामा, माओवादी तेस्रो स्थानमा

काठमाडौं, जेठ १ । हिजो वैशाख ३१ सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना भएको छ । मतगणना गर्ने क्रममा अहिलेसम्मको गणनामा पहिलो स्थानमा नेकपा एमाले, दोस्रो स्थानमा नेपाली काँग्रेस र तेस्रो स्थानमा नेकपा माओवादीले अग्रता लिन सफल भएको छ । काठमाडौंमा चाहिँ अहिले ११ बजेदेखि मतगणना सुरु गर्ने भएको छ ।

‘रेल लिंकमा काठमाडौं जोडौं’ : चीनसँग नेपालको प्रस्ताव  

काठमाडौं,जेठ १ । चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्ग लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको छ । आजको छ । बेइजिङमा आइतबार सुरु भएको वान बेल्ट वान रोड (ओबर) को अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन आएक उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ समकक्षी वाङ याङलाई यस्तो आग्रह गरेका कान्तिपुरमा खबर छ । स्याप्रुवेशी–रसुवागढी सडक विस्तारमा चीनको सहयोगसम्बन्धी सम्झौताका क्रममा महराले उपप्रधानमन्त्री वाङसँग छुट्टै कुराकानी गर्दै भने, ‘राजधानीलाई चिनियाँ रेलमार्गले जोड्न अत्यावश्यक छ। इसका लागि चीनले सहयोग गर्नुपर्यो।  

कालिकोटमा विप्लव माओवादीको उदण्डता, सुरक्षाकर्मीसमेत ६ घाइते

काठमाडौ, वैशाख ३१ । कालिकोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले निर्वाचन टोलीमाथि ढुंगामुडा गरी मतपेटिका खोस्दा प्रहरीसँग झडप भएको छ । कार्यकर्ताले मतपेटिका खोसेर जलाइदिएका छन् । प्रहरीले रोक्न खोस्दा हवाई फायर गर्दा चार स्थानीय र दुई प्रहरीसमेत घाइते भएका छन् । नरहरिनाथ गाउँपालिका अन्तर्गत पर्ने माल्कोटको नन्दादेवी मावि मतदान केन्द्रमा आइतबार साँझ कार्यकर्ताले मतपेटिका जलाइदिएका हुन् । ८ सय ७९ मतदाता रहेको माल्कोटमा दिउँसो १२ बजेसम्म ५ सय ५० मत खसे पनि त्यसपछि मतदान गर्न कोही नआएको र बेलुकी ५ बजे मतदान केन्द्र बन्द गरेर गाउँपालिकाको केन्द्र कुमालगाउँ तर्फ आउने बेला विप्लव कार्यकताले ढुंगामुढा गरी मतदान अधिकृतसहित मतदान कार्यका लागि खटीएको टोलीलाई विद्यालयमा घेराबन्दी मतपेटिका खोसेर जलाएका हुन् ।

स्थानीय तहको निर्वाचन २०७४ : मतदान समय सकियो

काठमाडौं, वैशाख ३१ । स्थानीय तहको निर्वाचन २०७४ आज बिहान ७ बजेदेखि सुरु भएको मतदानको समय साँझ ५ बजेदेखि सकिएको छ । ३, ४ र ६ मा सुरु भएको मतदान केही जिल्लाहरुमा सामान्य छिटफुटका घटनाहरु भएपनि समग्रमा शान्तिमय र सौहाद्रपूर्ण रुपमा सम्पन्न भएको छ । अधिकांश जिल्लाहरुमा मतदान पनि सकिसकेको छ । शिलबन्द मतपेटिकाहरुलाई अत्यन्त सुरक्षा घेराबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिने व्यवस्था गरिँदै छ भने कुनै केन्द्रहरुमा भने भोट हाल्नका लागि मतदाताहरु लाइन रहेका छन् । ५ बजेभित्रमा मतदान केन्द्रको घेराभित्र लाइन बसेका मतदाताहरुले भोट हाल्न पाउने व्यवस्था रहेको छ । तस्वीर ः इभा राजवाहक

विप्लव समूहद्वारा माओवादी केन्द्रका उम्मेदवारको अपहरण

चितवन, ३१ वैशाख । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको पुष्टि भएको बताए । ७० वर्षीय रिमाललाई उम्मेदवारी नदिन भन्दाभन्दै उम्मेदवारी दिएको भन्दै सो पार्टीले अपहरण गरेको परिवारलाई उद्धृत गर्दै भट्टराईले बताए । यता प्रहरीले भने सो पार्टीले अपहरण गरे÷नगरेको पुष्टि भइनसकेको जनाएको छ । प्रहरी उपरीक्षक दिपक थापाले खोजी र अनुसन्धान भइरहेकाले सोही पार्टीले अपहरण गरेको वा नगरेको यकिन हुन नसकेको बताए । यता गएराति माओवादी केन्द्रका विरुद्धमा पर्चा छरेको भन्दै भरतपुर महानगरपालिकाको नेकपा ९एमाले०का वडा नं ६ का वडाध्यक्षका उम्मेदवार खिलाप्रसाद न्यौपानेसहित ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक थापाका अनुसार जनताको २४ यक्ष प्रश्न माओवादी केन्द्रलाई भन्ने पर्चा छर्दै गरेको अवस्थामा उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । अनुसन्धानपछि उनीहरुलाई निर्वाचनका लागि आज छाडिने बताए। जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ । रासस

दोलखामा हवाई फायर, मतदाता घाइते

चरिकोट, बैशाख ३१ । दोलखामा निर्वाचनका क्रममा हवाई फायर भएको छ । जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता घाइते भएका छन् । बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्न हवाई फायर गरिएको प्रशासनले जनाएको छ । एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्न फायरिङ गरेको बताउँदै आफ्ना केही कार्यकर्ता घाइते भएका छन् । यसैगरी तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै झगडा भएको छ भने बिगुको आलम्बुमा गएरातिको झगडाले मतदान सुरु भएको छैन ।

गठ्ठाघरमा सकेट बम फेला

वैशाख ३१, २०७४- भक्तपुरको गठ्ठाघरमा अपरिचित समूहले सकेट बम राखेको छ । सुरक्षाकर्मीले आइतबार बिहान नै बम डिस्पोज गरेको छ । बमको नजिकै भने कांग्रेस निकट विद्यार्थी संगठनको लेटरप्याडमा पर्चा भेटिएको छ ।

निर्वाचनकै दिन चीनसँग थप दुई सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौँ, ३१ वैशाख वान बेल्ट वान रोड इनिसिएटिभ’ ओबर कार्यक्रममा हस्ताक्षर गरेको भोलिपल्टै उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले चीनसँग छिट्टै अन्य दुई सम्झौतामा पनि हस्ताक्षर हुने भएको बताएका छन्। यो खबर आजको कान्तिपुरमा छ । चीन भ्रमणमा रहेका महराले शनिबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत कार्यक्रममा भने, ‘चिनियाँ सहयोगमा स्याप्रुवेसी(रसुवागढी सडक स्तरोन्नती र भूकम्पले विगारेका संरचनाको पुननिर्माणमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दैछु।’ उनले नेपाल(चीन अन्तरसीमा आर्थिक विकास सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने जानकारी दिए। यी सम्झौताहरुमा आइतबार बेइजिङमा महराले हस्ताक्षर गर्दैछन्। महराले ओबर समझदारीबाट नेपाललाई पूर्वाधार विकास, उत्पादन र लगानी विस्तार, पर्यटन र सांस्कृतिक प्रवर्दधनका क्षेत्रमा पूँजी, प्रविधि र विज्ञता भित्र्याउन सहयोग पुग्ने उनले बताए । समझदारी पत्रमा हस्ताक्षर गरेर ओबरसम्बन्धी शिखरमञ्चपछि नेपालजस्ता पूर्वाधारको विकासका ठूलो खाडल भएका मुलुकलाई न्यून लागतमा श्रोतसाधन जुटाउन सहज हुने अपेक्षा नेपालले राखेका पनि उनले बताए । खास गरी चीनको रेल तथा सडक यातायातसँग नेपाललाई जोडेर पर्यटन प्रवद्र्धन, उत्पादन वृद्धि तथा बजार पहुँचमा हासिल गर्न नेपालले छिटोछिटो धेरै काम गर्नुपर्ने बताउँदै अहिलेको अन्तरनिर्भर विश्वमा एक अर्काका प्रयासलाई जोडेर मात्र पर्याप्त लाभ लिन सकिने विश्वास व्यक्त गरे ।

प्रहरीको गोली लागि माओवादी कार्यकर्ताको मृत्यु

काभ्रे, वैशाख ३१ । गोली लागेर एकजना माओवादी कार्यकर्ताको मृत्यु भएको छ । शनिबार राती नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको मृत्यु भएको हो । प्रहरीले भने गोली नचलाएको दावी गरेको छ । माओवादी समर्थकहरुले मृतक पाठक आफ्नो कार्यकर्ता भएको बताएका छन् । प्रशासनले भने अज्ञात व्यक्तिले गोली चलाएको बताएका छन् । घटनास्थल नजिकैको जनक बहुमुखी क्याम्पसमा सशस्त्र प्रहरी बल क्याम्प खडा गरेर बसेको छ । स्थानीयका अनुसार, दिउसो सशस्त्रसँग स्थानीयको विवाद भएको थियो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले भने मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली चलाएको सूचना आएको दाबी गर्दै प्रहरीलाई गोली चलाउन कुनै आदेश नदिएको बताए । उनले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।