चन्द नेतृत्वको पार्टीका १५० कार्यकर्ता  पक्राउ

काठमाडौं, वैशाख २५ । काठमाडौं  स्थानीय निर्वाचनलाई प्रभावित गर्न हिंसात्मक गतिविधि सुरु गरेपछि प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कारबाही सुरु गरेको छ । आइतबारसम्म एक सय ५० भन्दा धेरै सो पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका नयाँ पत्रिका मा  खबर छ ।

मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला

चितवन, वैशाख २५  । मुग्लिन–नारायणगढ सडक अाजदेखि जेठ तीन गतेसम्म चौबिसै घण्टा खुल्ला हुने भएको छ । स्थानीय तहको चुनावलाई ध्यान दिँदै यस्तो निर्णय गरिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । सबै मजदुर  चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाता आउजाउको क्रम चल्ने र चुनावी कार्यक्रम पनि भइरहने भएकाले १० दिन बाटो खुल्ला गर्ने निर्णय गरिएको हो । आइतबारसम्म यो सडक बिहान १० बजेदेखि ४ बजेसम्म ६ घन्टा बन्द हुँदै आएको छ । अहिलेसम्म यस सडक खण्डको ४७  प्रतिशत काम पूरा भएको छ । निर्माण सम्झौता भएको यही वैशाखमा दुई वर्षको म्याद पूरा भएपछि निर्माण आधा पनि काम नहुँदा फेरि म्याद थप गरेर निर्णाण कार्य अघि बढाइएको छ । आउँदो पुसको पहिलो हप्तासम्मका लागि समय थप गरिएको आयोजनाले जनाएको छ । सडक खण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा अहिले काम भइरहेको छ । विभिन्न ६ वटा निर्माण कम्पनीले तीन खण्ड छुट्याएर काम गरिरहेका छन् । काम ढिलाइ हुँदा यहाँ आवतजावत गर्ने यात्रु प्रभावित हुँदै आएका छन् ।  

उपेन्द्र यादवको कडा विज्ञप्ती, ‘गठबन्धनको संयोजक म नै हुँ’

काठमाडौं, वैशाख २४ । संघीय गठबन्धनले संयोजकबाट उपेन्द्र यादवलाई निष्कासन गर्दै सो स्थानमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरलाई राखेकोप्रति कडा आपत्ती जनाएका छन् । शनिबार यादवलाई गठबन्धनको संयोजकबाट बर्खास्त गर्दै ठाकुर नयाँ संयोजक भएको निर्णय राजपा बैठकले गरेको गरेको भएपनि यादव यो आफूलाई अमान्य हुने बताए । आइतबार एक वित्तप्ति जारी गर्दै यादवले गठबन्धनको संयोजक आफै भएको भन्दै आफ्नो उपस्थितीमा कुनै बैठक नबसेको बताएका छन् । शनिवार बसेको गठबन्धनको बैठक लगत्तै ठाकुरले विज्ञप्तिमार्फत यादवलाई कारबाही गरेको र आफू गठबन्धनको नयाँ संयोजक भएको जानकारी गराएका थिए । आइतबार यादवले विज्ञप्तिमार्फत भनेका छन्, ‘म नै हुँ गठबन्धनको संयोजक, मेरो अनुपस्थितिमा कुनै वैठक भएको अमान्य हुनेछ ।’ यस्तो छ विज्ञप्ति

के कुरा भयो राष्ट्रपति र प्रधानन्यायाधीशबीचको वार्तामा ?

काठमाडौं, बैशाख २४ । संसद्‍मा दर्ता भएको महाभियोग प्रस्तावले निलम्बनमा परेकी परेकी प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्चको आदेशबाट निलम्बन फिर्ता भई आजबाट काममा फर्किएपछि आजै साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगिन् । कार्यालय समय सकिएपछि साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुुगिन् । राष्ट्रपतिसँगको भेटमा प्रधानन्यायाधीस कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र त्यसमाथि अदालतले दिएको आदेशपछि विकसित घटनाक्रममाथि राष्ट्रपतिसँग छलफल हुने अड्कन गरिएको थियो । सर्वोच्चले महाअभियोग प्रस्ताव अगाडि नबढाउन आदेशदिएपछि आइतबारबाट आफ्नो काममा फर्केकी कार्की अब विदामा बस्ने चर्चा पनि चलिरहँदा साँझ एक्कासी शितल निवास पुग्नुले विभिन्न अड्कल गरिएको थियो । शीतलनिवासमा प्रधानन्यायाधीश कार्की र राष्ट्रपति भण्डारीबीचको वान टु वान भेटवार्ता भएपछि उनीहरुबीचको कुराकानी गोप्य नै रह्यो । करिव एक घण्टा जतिको भेटवार्तामा उनीहरुबीच भएको कुराकानी सार्वजनिक भएन । वैशाख २६ गते कानून दिवसको कार्यक्रमका लागि निमन्त्रणा दिएर फर्किएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकारले छोटकरीमा जानकारी दिए । तर वास्तविक उनीहरुबीचको एक घण्टे लामो वार्तामा यही निमन्त्रणाले मात्रै समय त लिएन होला भन्ने अड्कल गरिएको छ । अदातल फर्किएर अन्य न्यायाधीशको पेशी तोके पनि आफूले कुनै मुद्दा हेरेकी छैनन् । संविधानअनुसार राष्ट्रपतिबाटै सपथ लिएर प्रधानन्यायाशीध नियुक्त भएकी कार्की संसदमा महाभियोग दर्ता पेश भएपछि निलम्बनमा परेकी थिइन् । प्रधानन्यायाधीश कार्की शुक्रबार न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासको अन्तरिम आदेशबाट सर्वोच्चको काममा फर्किएकी हुन्।

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी कंग्रेसका सदस्यहरुबीच भेटवार्ता

काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी कंग्रेसका सात सदस्यसहितको प्रतिनिधि मण्डलले भेट गरेको छ । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा दुई पक्षीय हित, समसामयिक राजनीति र विकास आयोजनाका सम्बन्धमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र अमेरिका बीचको सम्बन्ध र भ्रमणहरु निकै फलदायी हुने गरेको बताएका थिए । नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकी सहयोग महत्वपूर्ण रहेको भन्दै प्रधनमन्त्रीले अमेरिकाको सहयोगप्रति प्रशंसा गरेका थिए । २ वर्षअघि नेपालमा गएको भूकम्पको बेला अमेरिकाले उद्दार, राहत र पूनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल राजनीतिक स्थिरता, विकास र आर्थिक समृद्धिको यात्रामा लम्किरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अमेरिकी लगानी र अनुदानमा नेपालमा सञ्चालित आयोजनाहरुले आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए । प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको सिद्धान्तलाई ध्यान दिँदै नेपालले आफ्नै मौलिकतामा शान्ति प्रक्रियालाई सफलतामा पुर्याएको जानकारी दिएका थिए । अमेरिकी कंग्रेसका सदस्यहरुले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौता लगायतका विषयमा प्रधानमन्त्रीसँग चासो व्यक्त गरेका थिए । प्रतिनिधि मण्डलले राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयले अमेरिकी कुटनीति र परराष्ट्र सम्बन्धमा कुनै फरक नपर्ने जानकारी दिँदै नेपालका विकास आयोजनाहरुमा अमेरिकी सहयोग र लगानी गर्न आफूहरु तयार रहेको बताए ।

यस्ता छन्, नवलपरासी नगर हाँक्ने कांग्रेसी रथीहरु

ललितपुर, बैशाख २४ । नेपाली कांग्रेसले नवलपरासी जिल्लाको प्रदेश नं। ४ मा पर्ने नगरपालिकाका प्रमुख र उपप्रमुख पदमा पार्टीका उम्मेद्वारहरुको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । कावासोती नगरपालिका नेपाली कांग्रेसले नवलपरासी जिल्लाको कावासोती नगरपालिका प्रमुखमा ४७ बर्षीय युवा नेता महेन्द्र प्रसाद पोख्रेललाई उम्मेदवार बनाइएको छ । माध्यमिक विद्यालयमा अध्ययनरत रहँदै राजनीतिमा संलग्न भएका पोख्रेल २०४६ सालको जनआन्दोलनसंगै राजनीतिमा लागेका हुन् । ऐतिहासिक जनआन्दोलनमा सक्रिय रुपमा सहभागी भएका पोख्रेल २०४७ सालमा ने वि संघ क्षेत्र नम्वर २ नवलपरासीका क्षेत्रीय सभापति थिए । २०४९ सालमा बालकुमारी क्याम्पस चितवनको स्वतन्त्र विद्यार्थी यूनियनका सदस्य रहेका पोख्रेलले २०६२ देखी १३ औं महाधिवेसनसम्म पार्टीको जिल्ला कार्य समिति सदस्य रहदा जिल्ला कार्य कार्य सम्पादन समिति र तरुण विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए । मध्यविन्दु सामुदायिक स्मुती अस्पताल कावासोतीको अध्यक्ष र कुमावर्ती बहुमुखी क्याम्पस कावासोतीको संचालक समिति सदस्य पोख्रेल २०६८ देखी २०७२ सम्म लुिम्बनी आदर्श डिग्री कलेज र २०६० देखि २०६८सम्म स्थानीय ज्ञानोदय माध्यमिक विद्यालयको सञ्चालक समितिको सदस्य रहेका थिए । उपप्रमुख उम्मेदवार खगिसरा गुरुङ्ग झण्डै तीन दशकदेखि राजनीतिमा सक्रिय रहँदै आएकी खगिसरा गुरुङ्गलाई नेपाली कांग्रेसले कावासोती नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएको छ । कावासोती २ स्थायी बसोवास भएकी खगिसरा २०४६ सालको आन्दोलनदेखि सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन् । २०५२ सालमा किसान संघ अन्तर्गतको महिला विभागका क्षेत्रीय सदस्य हुँदै २०५९ सालमा जिल्लाको क्षेत्रीय सभापतिसमेत भएकी खगिसरा पार्टीको महासमितिमा पटक पटक निर्वाचित भएकी थिइन् । शिवमन्दीर महिला बहुद्देश्यीय सहकारी संस्था र शिव सामुदायिक अध्ययन केन्द्र कावासोतीको अध्यक्ष रहेकी खगिसरा लुम्बिनी डिग्री कलेजको सञ्चालक समितिको सदस्य समेत हुन् । देवचुली नगरपालिका नेपाली कांग्रेसका तर्फबाट देवचुली नगरपालिका प्रमुखका उम्मेद्वार बनेका मेयरका पूर्णप्रसाद श्रेष्ठ पार्टीको राजनीतिमा झण्डै साढे चार दशक योगदान गरिसकेका जिल्लाका अग्रज राजनीतिज्ञमा हुन् । तनहुँको साबुङ्गमा जन्मेका श्रेष्ठ २०२१ सालदेखि नै नवलपरासीको राजनीतिमा प्रवेश गरेका थिए । भूमिगत रहँदा २०२८ सालमा नेपाली कांग्रेसको क्षेत्र नम्वर १ को क्षेत्रीय सदस्य रहेका श्रेष्ठ २०४६ सालमा पार्टीको प्रगतिनगर गाविस उपसभापति भएका थिए । २०५२ सालदेखि गाउँ सभापति हुनुभएका श्रेष्ठ तीन कार्यकाल सभापति र सल्लाहकार रहेका श्रेष्ठ २०७३ मा देवचुली नगरपालीकाका पार्टी सभापति भए । २०४३ सालदेखि उनी स्थानीय पृथ्वी माध्यमिक विद्यालयको सञ्चालक समितिका सदस्य रहदै आएका छन् । उपप्रमुख लक्ष्मी बस्ताकोटी नेपाली कांग्रेसले देवचुली नगरपालिकामा उपप्रमुखमा उम्मेदवार बनाएको लक्ष्मी बस्ताकोटी पनि साढे तीन दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय छिन् । देवचुली माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा नै २०३६ सालमा नेविसंघको साधारण सदस्यता लिएकी बस्ताकोटी २०३८ सालमा नवलपरासी जिल्लाको नेविसंघ क्षेत्रीय सदस्य भएकी थिइन् । २०४२ सालमा महिला संघको साधरण सदस्य बनी २०४८ मा जिल्ला सहसचिव बनेकी लक्ष्मी २०६४ सालमा जिल्ला सदस्य हुँदै १२ औं महाधिवेशनमा महासमिति सदस्य भएकी थिइन् । साना किसान सहकारी संस्थाकोे अध्यक्ष रहनुभएकी बस्ताकोटी नेपाल रेडक्रस र मानवअधिकार तथा शान्ति समाजको आजीवन सदस्य रहनुका साथै प्राकृतिक अस्पताल रजहरको सञ्चालक समितिमा सदस्य पनि छिन् । मध्यविन्दु नगरपालिका १७ बर्षको उमेरदेखि नै नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिमा संलग्न चन्द्र बहादुर रानालाई नेपाली कांग्रेसले मध्यविन्दु नगरपालिका नवलपरासीको प्रमुख पदमा उम्मेदवार बनाएको छ । २०३५ सालमा सानो ठिमी क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई सचिव रहेका चन्द्रबहादुर २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा सक्रिय रुपमा लागेका थिए । २०४२ सालमा नेपाली कांग्रेसले आरम्भ गरेको सत्याग्रहमा सक्रिय सहभागी भएका राना २०४८ सालमा जिल्ला कार्य समितिको सदस्य हुन् । सो जिल्ला कार्यसमितिमा रहेर प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका राना २०५० सालमा जिल्ला कार्य समितिको सहसचिव थिए । हल पार्टीको महासमिति सदस्य रहेका चन्द्रबहादुर पटक पटक महाधिवेशन सदस्यमा पनि निर्वाचित भएका थिए । स्नातकोत्तर तह उत्तीर्ण गरेर माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाली सकेका चन्द्रबहादुर मगर संघ नेपालको सल्लाहकार पनि हुन् । गैँडाकोट नगरपालिका नेपाली कांग्रेसले पार्टीप्रति समर्पित, विकासप्रेमी, शिक्षानुरागी तथा समाजसेवी गजेन्द्र आलेलाई गैडाकोट नगरपालिकाको प्रमुखमा मतदाताको सामु प्रस्तुत गरेको छ भने बिष्णु सापकोटा (कंडेल)लाई उपप्रमुख पदमा अगाडि सारेको छ ।

राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा प्रधानन्यायाधीश कार्की

काठमाडौ, बैशाख २४ । प्रधानन्यायाधीस सुशीला कार्की राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुगेकी छिन् । आज साँझ ५ बजे शीतलनिवास पुगेकी प्रधानन्यायाधीस कार्की अाफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र त्यसमाथि अदालतले दिएको आदेशपछि विकसित घटनाक्रममाथि छलफल हुने बताइएको छ । सामान्यत आफ्नो निवृत भन्दा एक महिना अगाडिबाट प्रधानन्यायाधीस विदामा बस्ने चलन छ । त्यसैले प्रधानन्यायाधीस कार्कीले विदाबस्नुअघिँ याे विदाइभेट हुनसक्ने अनुमान पनि लगाइएकाे छ । ६५ बर्षे उमेरहदका कारण प्रधानन्यायाधीस कार्की जेठ २५ गतेबाट निवृत हुँदैछिन् । गत आइतवार संसदमा महाअभियोग प्रस्ताव दर्तापछि कार्की स्वत निलम्वनमा परेकी थिइन् ।  यदि यस्तो परम्परा अनुसार अगाडि बढे प्रधानन्यायाशीस कार्की भोलि अर्थात बैशाख २५ बाट विदामा बस्न सक्छिन् । उसोतः यसबारे आाधिकारिक सूचना भने सार्वजनिक भएको छैन । सर्वोच्चको आदेशपछि प्रधानन्यायाधीस कार्कीले आजैदेखि अदालत पुगेर काम सुरु गरेकी छिन् । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले गत आइतबार प्रधानन्यायाधीश कार्की संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । अधिवक्ताद्वय कञ्चनकृष्ण न्यौपाने र सुनीलरञ्जन सिंहले महाभियोग प्रस्ताव खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

वैशाख २८, २९ र ३० गते मतदाता परिचय वितरण गर्ने

काठमाडौं, वैशाख २४ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि मतदाताहरुको परिचयपत्र वैशाख २८, २९ र ३० वितरण गरिने भएको छ ।

दलहरु तालमेलमा ओर्लिए

पोखरा, वैशाख २४ । कास्की जिल्लामा वैशाख ३१ गते हुने स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरुको दौडधूप तीव्र बन्दै गएको छ । दलहरुले चुनाव चिन्ह लिएपछि मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु वडाका टोलटोलमा पुगिरहेका छन् । प्रचारप्रसारको समय निकै छोटो भएकाले एकै दिनमा चार- पाँच वटा वडामा पुग्नु पर्दा उनीहरुलाई भ्याइनभ्याई छ । प्रचारप्रसार गर्ने सवारीसाधनमा उम्मेदवारहरुका तस्वीर टाँसेर माइकबाट भोट मागिरहेको दृश्य यत्रतत्र देखिन्छ । अहिले पोखरानगर क्षेत्रभित्र जताततै गीत बजिरहेको छ । एकपछि अर्को दल माइकबाट गीत बजाउँदै हिँड्दा मतदातामा उत्साह थपिएको छ । उम्मेदवारले आफ्नो पार्टीले चुनाव जितेमा टोलमा यो यो काम गर्छौं भनेर प्रतिवद्धता व्यक्त गरेका छन् भने मतदाताले पनि उम्मेदवारहरुलाई आफ्नो टोलमा गर्नुपर्ने विकास निर्माणबारे ध्यानाकर्षण गराइरहेका छन् । निर्वाचन जित्न राजनीतिक दलहरुले तालमेल पनि गरेका छन् । पोखरा–लेखनाथ महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तालमेल भएको छ । माओवादी केन्द्रबाट महानगरको प्रमुख पदमा उम्मेदवारी दिनुभएका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएर काँग्रेसबाट उम्मेदवारी दिनुभएका रामजी कुँवरलाई समर्थन गर्नुभएको छ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पनि तालमेल भएको छ । महानगरको प्रमुखमा फोरमका हुमबहादुर गुरुङ र उपप्रमुखमा नयाँ शक्ति पार्टीका लक्ष्मी खाती परियार उम्मेदवार बनेर मतदाताको घरदैलोमा पुग्नुभएको छ । महानगरको वडा नं १३ मा नेकपा (माओवादी केन्द्र) र राप्रपाबीच एक अर्कालाई वडाध्यक्ष र सदस्यमा सघाउने गरी तालमेल भएको छ । जिल्लामा ३७० पदका लागि एक हजार ५२४ जना उम्मेदवार चुनावी मैदानमा उत्रेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । पोखरा–लेखनाथ महानगरपालिका र रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा गरी दुई लाख २४ हजार ८११ मतदाता रहेका छन् । जिल्लामा १५० मतदानस्थल र २८८ मतदान केन्द्र तोकिएको छ भने निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय झन्डै एक हजार ५०० कर्मचारी खटाउन तयारीमा छ ।

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ: मन्त्री कार्की

काठमाडौँ, वैशाख २४ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आज आयोजित प्रभातफेरि र रक्तदान कार्यक्रममा सहभागी हुँदै मन्त्री कार्कीले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता जगत् सबैले सम्मान गर्नलायक हुनुपर्ने र त्यसका लागि पत्रकारले व्यावसायिक धर्म निर्वाह गर्नु नै पहिलो कर्तव्य रहनेमा जोड दिनुभयो । ‘गोर्खापत्र’ प्रकाशनसँगै नेपाली पत्रकारिता जगत्ले क्रमिक रुपमा फड्को मारेको बताउँदै मन्त्री कार्कीले इमान्दार रुपमा गरिने पत्रकारिताले देश विकासका लागि ठूलो सहयोग पुग्ने हुँदा सोहीअनुरुप आफ्नो पेसा अघि बढाउन सम्पूर्ण प्रेस जगत्लाई आग्रह गर्नुभयो । सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अबका दिनमा विकास पत्रकारितामा जोड लिँदै समाजका सबै वर्ग र क्षेत्रका लागि पहरेदारका रुपमा काम गर्नका लागि पत्रकार योग्य हुनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले पत्रकार स्वयं््ले आफूलाई देश विकासको संवाहकका रुपमा स्थापित गर्न सक्नुपर्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासङ्का अध्यक्ष डा महेन्द्र विष्टले परिवर्तनको कार्यसूचीलाई संस्थागत गर्नका लागि पत्रकारिता जगत्ले ठूलो भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको उक्त प्रभातफेरि भृकुटीमण्डपबाट सुरु भई भूगोलपार्कसम्म पुगेको थियो । प्रभातफेरिमा अन्य सङ्घसंस्थाको पनि सहभागिता थियो । दिवसका अवसरमा करिब २० जनाले रक्तदान गरेका थिए । गत वर्षदेखि सुरु भएको राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा यस वर्ष ‘वरिष्ठ पत्रकारिता पुरस्कार’ कृष्णा ताम्राकार, विश्वबन्धुृ भण्डारी, नारायणप्रसाद शर्मा र मदनमणि दीक्षितलाई र ‘राष्ट्रिय पत्रकारिता सम्मान’ गणेशशेखर शर्मा, शिवबहादुर कार्की, सिराजुद्दिन खान र गजेन्द्रबहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।

चुनावलाई ध्यानमा राखी सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ, वैशाख २४ । महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । परिसरका प्रवक्ता प्रद्युम्नकुमार कार्कीले स्थानीय तहको निर्वाचनका समयमा कुनै पनि दुर्घटना नहोस् भन्ने उद्देश्यले महाशाखाले सुरक्षा व्यवस्थामा कडाइ गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत चैत १५ गतेदेखि हालसम्म पाँच हजार ६३३ व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेर छाडेका छौँ ।” निर्वाचनका समयमा अप्रिय घटना नहोस् भन्ने उद्देश्यका साथ गुन्डागर्दी गर्दै हिँडेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही पनि गरेको परिसरले जनाएको छ । यस्तै परिसरले भक्तपुर र ललितपुर परिसरसँग मिलेर अवैध हातहतियार, विस्फोटक पदार्थका कारोबार एवम् प्रयोगमा नियन्त्रण गर्न नाकामा २४ सै घन्टा ‘चेक प्वाइन्ट’ खडा गरी जाँच गर्ने व्यवस्था मिलाएको तथा लागुऔषध र अवैध सामान भित्रिनसक्ने कुरालाई ध्यानमा राखी नाकामा बसेर शङ्का लागेका व्यक्तिलाई जाँच गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । यसैगरी परिसरले लागुऔषध ओसारपसार, अपहरण, कर्तव्य ज्यान आदिमा फरार अभियुक्तलाई पक्राउ गरी थुनामा समेत पठाएको छ । वैशाख ३१ गते काठमाडौँ जिल्लाका एक महानगरपालिका र १० नगरपालिका गरी ११ स्थानीय तहको मतदान छ सय ८७ मतदान केन्द्रमा हुँदैछ ।

बिजुली बजारमा कार दुर्घटनाका घाइते निरौलाको मृत्यु

काठमाडौँ, वैशाख २४।  बिजुली बजारमा कार दुर्घटना हुँदा घाईते भएका धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ । दुईजना घाइते भक्त तामाङ र गणेश खत्रीको उपचार भइरहेको छ । गएराति तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा १६ च ८६०३ नंकोे कार पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।  

कास्कीमा निर्वाचन प्रचारमा प्रयोग भएको जिपमा आगजनी,

पोखरा, २४ वैशाख । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले कास्कीमा निर्वाचन प्रचारमा प्रयोग भएको जिपमा आगो लगाएका छन् । गएराती करिब साढे १२ बजे तिर निर्वाचन प्रचारमा प्रयोग भएको जिपमा आगलागी गरेको प्रहरीले जनाएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका सार्दीखोलामा नेपाली कांग्रेसका उम्मेद्वारले चुनावका लागि प्रयोग गर्दै आएको ग १ ज ६४४५ नम्बरको जिपमा आगलागी गरेको हो । आगलागीबाट जिपमा आंशिक क्षति भएको छ । प्रहरीले राति नै घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

वरिष्ठ साहित्यकार शर्माको निधन

काठमाडौँ, वैशाख २४ । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व थिए । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएक थिए । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ः०० बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने र ३ः०० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ ।

काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

चितवन,वैशाख २४। खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार खैरहनी नगरपालिका–९ बछौलीस्थित चौधरीको घरमा बा८च १५६२ नंको स्कारपियो गाडीमा बम प्रहार भएको हो । बम बिस्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो । गाडीको अगाडिको सिसा चर्किएको छ । रातको समयमा अपरिचित व्यक्तिबाट बम प्रहार भएको उनले बताए  । बम प्रहार गरी फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहाल हाल बसोबास रहेको घर नजिकै एउटा गाडीमा तोडफोड भएको थियो । चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरी कारबाही गरेको जनाएको छ ।