डोल्पाको दुई गाउँपालिकामा एमालेबाट एउटैमात्र उम्मेदवार निर्विरोध निर्वाचित

डोल्पा, वैशाख २० । जिल्लाका दुई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

शे फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकामा एउटैमात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएका हुन् ।

शे फोक्सुण्डो गाउँपालिका प्रमुखमा एमालेका तसी तुण्डुक गुरुङ निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत रामवहादुर बुढाले बताए । उपप्रमुख बाहेक अरु सबै पदमा एमालेका उम्मेदवार निर्विरोध भएका छन् ।

डोल्पो बुद्ध गाउँपालिकाको प्रमुखमा एमालेका लंकवहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । डोल्पोमा उपप्रमुख सहित अन्य पदमा पनि एमालेको मात्र उम्मेदवारी परेको छ ।

एमालेका सदस्य दलित महिलाले किन गरिन् अात्महत्या ?

काठमाडौँ, वैशाख २० । धादिङकाे धुनीबेँसी नगरपालिका वडा नम्बर ३ का एमालेतर्फबाट दलित महिला सदस्यले अात्महत्या गरेकी छिन् । मङ्गलबार गएराति ३५ वर्षीया बिना मिजार्नीले गएराति झुण्डेर अात्महत्या गरेकी छिन् । साे घटनाको बारेमा बुझ्न प्रहरी टोली घटनास्थलमा पुगिसकेका छन् ।

अमेरिकी डाइभर्सिटी भिषा सन् २०१८ को (इडिभी) को नतिजा सार्वजनिक

काठमाडौं, वैशाख २० । अमेरिकी डाइभर्सिटी भिषा सन् २०१८ को नतिजा सार्वजनिक गरिएको छ । ईडिभीको नतिजा यस लिंकमा क्लिक गरी हेर्न सकिन्छ । गत असोज १८ देखि कार्तिक २२ गतेसम्म भरिएको इडिभीको नतिजा प्रकाशित गरिएको हो । नेपाल सहित घाना, नाईजेरिया, ईरान, ईजिप्ट , उज्वेकिस्तान, केन्याका नागरिकले डिभी भर्न पाउने प्रावधान छ । भारत, बंगलादेश, ब्राजिल, क्यानडा र चीनका नागरिकले डिभी भर्न पाउँदैनन् । डिभी कार्यक्रम रद्ध गर्न अमेरिकी संसदमा परेको प्रस्तावका कारण अबको वर्ष खुल्ने डिभी चिठ्ठाबारे भने अन्यौलता छ । राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि आप्रवासी सम्बन्धि नियममा आएको परिवर्तनले पनि अमेरिकामा डिभी कार्यक्रमबारे अनिश्चितता देखिएको हो ।

निर्वाचनमा बालबालिका प्रयोग नगरिने

रोल्पा,  वैशाख २० । रोल्पामा क्रियाशील राजनीतिक दलले आगामी जेठ ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बालकल्याण समिति रोल्पा, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्थानीय तहको निर्वाचनमा बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि राजनीतिक दलसँगको अन्तरसंवाद कार्यक्रममा स्थानीय राजनीतिक दलले लिखित प्रतिबद्धता जाहेर गरेका छन् । कार्यक्रममा निर्वाचनपूर्व, निर्वाचन हुँदा र निर्वाचनपश्चात् तीन चरणमा बालबालिका प्रयोग हुनसक्ने भएकाले सबै चरणमा चनाखो भएर बालअधिकारको संरक्षणमा लाग्ने प्रतिबद्धतासमेत जाहेर गरेका थिए । प्रतिबद्धतालाई गम्भीरताका साथ कार्यान्वयन गर्ने भन्दै दलका स्थानीय कमिटीले वडा कमिटीसम्म सो प्रतिबद्धता कार्यान्वयनका लागि जानकारी गराउने बताएका थिए । प्रतिबद्धता जिल्लाका माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका विभिन्न वडामा क्रियाशील राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको बताइएको छ । जिल्लाका सबै गाउँपालिका र वडामा दलको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी कडाइका साथ कार्यान्वयन गरिने जिल्ला बालकल्याण समिति रोल्पाले बताएको छ । निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गर्ने भन्दै जिल्लामा सात सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ । जिल्ला बालकल्याण समिति रोल्पाको संयोजकत्वमा गठित समितिमा नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, रोल्पा उद्योग वाणिज्य सङ्घ, जिल्ला बाल क्लब सञ्जाल र प्रधानाध्यापक समाज सदस्य रहेका छन् । समितिले जिल्लामा निर्वाचन गतिविधिमा बालबालिका प्रयोग भए/नभएको अनुगमन गरी साप्ताहिकरुपमा केन्द्रीय बालकल्याण समितिमा प्रतिवेदनसमेत बुझाउने अनुगमन समितिका संयोजक इन्द्रा शाहीले बताउनुभयो ।

कास्कीको पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बुद्धको योजना,

काठमाडौं ,  बैशाख २० । बुद्ध एयरले कास्कीको पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने योजना तयार गरेको छ । तर पोखरा विमानस्थलको निर्माण अझै सुरु भएको छैन । अहिलेसम्म आन्तरिक उडानमा केन्द्रित रहेको बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारी गरेको हो । बुद्धले पोखराबाट सुरुवातमै ३ वटा बोइङमार्फत उडान गर्ने योजना बनाएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदासम्म बुद्धका ३ वटा बोइङ पनि आइसक्ने अनलाइनखबरलाई बताए । उनले यसका लागि हवाइजहाज निर्माता कम्पनी बोइङसँग छलफल अघि बढेको बताए ।

ललितपुरको इमाडोलमा आगलागी हुँदा तीन घाइते

काठमाडौं, वैशाख २०। ललितपुरको इमाडोलमा बुधबार बिहान लागेको आगलागीमा परि एकै परिवारका तीनजना घाइते भएका छन् । इमाडोलको कृष्ण मन्दिर नजिक पर्ने ढुंगेसाँघु भन्ने ठाउँमा रहेको झोला बनाउने कारखानामा बिहान चार बजेतिर आगलागी हुँदा  स्थानीय सुशीला सापकोटा, उहाँकी छोरी १४ वर्षिया शुभेच्छा र १२ वर्षिय छोरा सुलभ घाइते भएका हुन । उनीहरुको इमाडोलमा रहेको किस्ट अस्पतालमा उपचार भइरहेको छ । अगालागीका कारण एक करोड ६५ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

स्थानीय निर्वाचनका लागि थप पाँच हजार थप प्रहरी परिचालन

काठमाडौँ, वैशाख २० । यहि वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणमा निर्वाचनको सुरक्षाका लागि थप पाँच हजार प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मी अपुग हुने ठाउँमा मातहतका विभिन्न निकायबाट परिचालन गरेकाे छ । थप प्रहरीले स्थानीय स्तरमा दरबन्दीमा रहेका प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीसँग निर्वाचनमा सुरक्षा प्रदान गर्नेछन् । परिचालन गरिएका थप प्रहरी विभिन्न क्षेत्रका गुल्म, गण, तालिम केन्द्र र प्रहरी प्रधान कार्यालयबाट पठाइएको हो । प्रहरी प्रधान कार्यालयबाटै तीन हजारभन्दा बढी प्रहरी विभिन्न निर्वाचन क्षेत्रमा पठाइएको छ । पहिलो चरणमा तीनवटा प्रदेशमा मात्र स्थानीय निर्वाचन हुने भएपछि प्रहरी प्रधान कार्यालयलाई सुरक्षा व्यवस्था मिलाउन सजिलो भएको छ ।  

विश्व प्रेस स्वतन्त्रता दिवस : प्रेस स्वतन्त्रताका घटनामा तुलनात्मक सुधार

काठमाडौँ, बैशाख २० ।  आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यत्रलम गरि मनाईँदै छ । नेपाल पत्रकार महासंघले राजधानीमा बिहान र्याली निकालेको छ । नयाँ वानेश्वरबाट निस्किएको र्याली माईतीघरमण्डलामा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष महेन्द्र बिष्टले श्रमजिवि पत्रकारको हक हितका लागि सधैँ प्रतिवद्ध रहन सबैलाई आग्रह गरे । महासंघलाई निर्वाचन लागेको उल्लेख गर्दै उनले नयाँ नेतृत्वले अहिलेको चुनौतीलाई सामना गर्न सक्ने क्षेमता राख्नुपर्ने बताए  । हरेक वर्षको मे ३ तारीखमा विश्वभर सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिदै समाचार संकलनका क्रममा जोखिममा परेका पत्रकारहरुको योगदानलाई संझना र सम्मान गर्दै मनाउने गरिन्छ । सन् १९९३ को संयूक्त राष्ट्रसघींय महासभाले अनुमोदन गरेपछी यस दिन संसार भरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । प्रेस स्वतन्त्रत सन २०१६ मे देखि २०१७ अप्रिलसम्मको एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रताका घटनामा भने तुलनात्मक सुधार देखिएको छ । फ्रिडम फोरमले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सार्वजनिक गरेको प्रतिवेदनमा देशभर गरेको अनुगमनका क्रममा २९ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको उल्लेछ । ८० जना सञ्चारकर्मी प्रभावित भएका छन् । गएको वर्ष ५९ वटा घटनामा एक सय जनाभन्दा बढी सञ्चारकर्मी प्रभावित भएका थिए ।

अाज राष्ट्रयसभा गृहमा उम्मेदवारी दर्तालार्इ नजिकबाट हेर्दा

काठमाडौँ, वैशाख १९ । वैशाख ३१ मा हुने पहिलो चरणको स्थानीय निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । आज बिहान १० बजेबाट सुरु भई साँझ ५ बजे उम्मेदवारी दर्ता कार्यक्रम रहेकोमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभामा प्रमुख राजनीति दलसहितका अन्य दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । दिउँसो साना दल र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा भने नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका गराए । उम्मेदवारहरु बाजागाजासहित आफ्नो पार्टीको झन्डा बोकी उम्मेदवारी दर्ता गराउन आएका थिए । सबभन्दा पहिला साझा पार्टीका किशोर थापाले उम्मेदवारी दर्ता गराएका  थिए । उम्मेदवार मनोनयनका लागि निर्वाचन कार्यालयले प्रमुख र उपप्रमुख पदका उम्मेदवारका लागि छुट्टाछुट्टै ठाउँमा मनोनयन दर्ताको व्यवस्था गरेको थियो भने वडाका लागि पनि छुट्टै ठाउँमा दर्ता गर्ने व्यवस्था गरिएको थियो । महानगरको उम्मेदवारी स्थलमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले पनि निरीक्षण गरेका थिए । सोही क्रममा डा.यादवले देशभरि नै उत्साहपूर्वक उम्मेदवारी दर्ता गरेको बताएका थिए । मनोनयन दर्ताका लागि ३ बजेपछि उम्मेदवारको भीड लागेको थियो । सबभन्दा ठूलो महानगरपालिका भएकाले पनि धेरै उम्मेदवारले मनोनयन दर्ता गराउन आएका थिए । उम्मेदवारको मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयलाई हम्मेहम्मे परेको थियो । साँझ ६ बजेसम्म वडा अध्यक्ष र सदस्यको उम्मेदवार मनोनयन गर्न उम्मेदवारहरु लाइनमा बसेका थिए । उम्मेदवार मनोनयन गराउनका लागि सम्पत्ति विवरण पनि भर्नु पर्ने अनिवार्य व्यवस्था भएका कारण कतिपयलाई सम्पत्ति विवरण भर्न समस्या परेको थियो । उम्मेदवारीको फारम लिएर उम्मेदवारले बाहिर चौरमा बसेर फाराम भरेको देखिन्थ्यो । उम्मेदवार दर्ता गराउन सङ्घीय समाजवादी फोरमबाट तालमेल गरेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई प्रमुख र उपप्रमुखको उम्मेदवारी दर्ता गराउन आएका थिए । डा. भट्टराईले मुलुक निर्वाचनमा गएको भन्दै एउटै विचार मिल्ने भएकाले सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको बताए । संविधान संशोधन बिना देशको निकास निकाल्न नसकिने भन्दै सङ्घ, प्रदेश र स्थानिय तहको क्रमशः निर्वाचन हुनुपर्नेमा उल्टो गरि निर्वाचन गर्न थालेको बताए । संयोजक भट्टराईसंगै आएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जनताको प्रत्यक्ष विकाससँग जोडिएकाले स्थानीय तहको निर्वाचनमा भाग लिन आएको प्रतिक्रिया दिए । नेपाली काँग्रेसतर्फबाट आफ्नो दाजु राजुराज जोशी प्रमुख पदका उम्मेदवार बनेकोमा उद्योगमन्त्री नवीन्द्रराज जोशी पनि सँगै आइपुगेका थिए । आफ्नो पार्टीकातर्फबाट उम्मेदवार दर्ता गराउन आएका एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्नो मुख्य प्रतिस्पर्धी काँग्रेस भएको बताए । राप्रपासँग राष्ट्रियताका सवालमा मुद्दा मिल्ने भएकाले तालमेल गरेको बताउँदै काठमाडौंसँगै अन्य ठाउँ पनि राप्रपासँग तालमेल गरिने उनले जानकारी दिए । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रमुख र उपप्रमुखमा तालमेल भए पनि छुट्टाछुट्टै रुपमा उम्मेदवारी दर्ता गराउन आएका थिए । एमालेका तर्फबाट प्रमुखमा विद्यासुन्दर शाक्य र उपप्रमुखमा राप्रपाबाट राजाराम श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए । नेकपा (माओवादी केन्द्र)बाट प्रमुखको उम्मेदवार बनेका सर्वोेत्तम डङ्गोल आफ्ना कार्यकर्तासँग उम्मेदवारी दर्ता गराउन आएका थिए । ३२ वडा रहेको महानगरमा प्रमुख, उपप्रमुख वडा अध्यक्ष र चार सदस्यसहित १६२ जना निर्वाचित हुने छन् ।

माओवादी केन्द्रले खोल्यो खाता, मुगुमा निर्विरोध निर्वाचित

मुगु, वैशाख १९ । मुगुको छायाँनाथ नगरपालिकाको ९ नम्बर वडामा माओवादी केन्द्रका नेतृत्व निर्विरोध निर्वाचित भएका छन् । प्रमुख तीन पार्टी माओवादी, कांग्रेस र एमालेले पदको भागवण्डा गरी निर्विरोध निर्वाचित हुने व्यवस्था मिलाएका हुन् । वडा अध्यक्षमा माओवादी केन्द्रका मणिचन्द्र रोकाय निर्विरोध भएका छन् । तीनवटै दलले मिलेर उम्मेदवारी दिएका कारण सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रका जिल्ला नेता देवी रोकायले जनाएका हुन् । नेपाली कांग्रेसले दुई सदस्यमा अदवीर रोकाय र दलित महिला सदस्य पाएको छ भने एमालेको भागमा एक खुल्ला सदस्य र एक महिला सदस्य परेको थियो ।

३१ गते स्थानीय चुनाव : मनाङको नारफू गाउँपालिकामा आजै नेपाली कांग्रेसका तर्फबाट निर्वाचित

काठमाडौँ, बैशाख १९ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताकै दिन मनाङको नारफू गाउँपालिकामा नेपाली कांग्रेसका मिङ्मार छिरिङ लामा भने निर्विरोध निर्वाचित भएका छन् । ३ वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध भएका हुन् । वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रमअन्तर्गत मिङमार मुलुककै गाउँपालिकामध्येमा पहिलो निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित मिङ्मारलाई निर्वाचन अधिकृतले निर्विरोध निर्वाचित घोषणा गरेका छन्।

बाईबाई केशव स्थापित, एमालेका तर्फबाट काठमाडौं मेयरमा विद्यासुन्दर शाक्य

काटमाडौं, वैशाख १९ । चर्को विवादका बीच नेकपा एमालेका तर्फबाट विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकामा मेयर पदका उम्मेदवार बनेका छन् । काठमाडौं महानगरपालिकाका लागि यसअघिका महानगर प्रमुख तथा चर्चित व्यक्तित्व केशव स्थापितले दावी गर्दै आएका थिए । स्थापितलाई पार्टी नेता वामदेव गौतमले समर्थन गरेका थिए । तर स्थापितको नाममा सहमति हुन सकेन । निकै लामो रस्साकस्सीपछि शाक्यको नाममा पार्टीले निर्णय गर्यो । माधव नेपाल पक्षका जीवनराम श्रेष्ठको नाम समेत चर्चामा थियो । पार्टीभित्रको विवादले एमालेको चुनावमा जित्ने सम्भावना कम भएको भन्दै स्थापित समर्थकहरुले बिरोध गरेका छन् ।

उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ : प्रमुख आयुक्त यादव

काठमाडौँ, १९ वैशाख । वैशाख ३१ गते हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मुलुकभरबाट उत्साहपूर्ण दलदर्ता भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताए । काठमाडौँ विभिन्न जिल्लामा दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएको उनले बताए । ‘देशैभर उत्साहपूर्वक मनोनयन दर्ता भएको छ’, काठमाडौं महानगरपालिकाको निर्वाचन कार्यालयमा पुगेका यादवले भने, पहिलो चरणको चुनावका लागि ५० लाख जति जनता निर्वाचनमा सहभागी हुँदैछन्।’ डा.यादवले निर्वाचनको आजको प्रकृयामा अवरोध नहोस् भने हिमाली भेगमा हेलिकप्टरबाट निर्वाचन अधिकृतहरु पुर्‍याएको जानकारी पनि दिएका छन् । पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता तालिका सार्वजनिक गरेको छ । झन्डै दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अख्तियारको प्रमुख आयुक्तमा दीप बस्नेत

काठमाडौं, वैशाख १९ । अख्तियारको प्रमुख आयुक्तमा दीप बस्नेत सिफारिस भएका छन् । संसदमा महाअभियोग दर्ता भएपछि प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बनमा परेपछि कार्यबाहक प्रमुख आयुक्तका रुपमा कार्यरत बस्नेतलाई अख्तियार प्रमुख आयुक्तमा सिफारिस गरिएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अाज बसेको संबैधानिक परिषदको बैठकले बस्नेतलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो । आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य भन्दै पदबाट हटाउने सर्वोच्चकाे आदेशपछि रिक्त रहेको उक्त पदमा प्रमुख आयुक्तमा बस्नेतलार्इ सिफारिस गरिएको हो । आयुक्तहरुमध्ये वरिष्ठतम्बाट बस्नेत प्रमुखका रुपमा रहँदै आएका थिए।

निर्वाचन विथोल्ने गतिविधिमा लागेका विप्लवका सेक्रेटरीसहित २५ नेता कार्यकर्ता पक्राउ

रुकुम, वैशाख १९। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी चन्द्रबहादुर बुढासहित २५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा सक्रिय भएको भन्दै पार्टीका जिल्ला सेक्रेटरी चन्द्रवहादुर बढा, सह सेक्रेटरी गम्भिर, जिल्ला सदस्य हिरामणि रावल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपक बिष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस खलंगाका प्राध्यापक हरिबिष्णु ओली सहित जिल्ला तहका नेता कार्यकर्ता गरी २५ जनालाई प्रहरीले पक्राउ गरेको हो । २४ जनालाई जिल्लाको आठविसकोट नगरपालिकाको राडिबाट र १ जनालाई सदरमुकाम मुसिकोटबाटै नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । विभिन्न पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारी नदिन तथा मतदाताहरुलाई भोट नहाल्न धम्कि दिने, चन्दा असुल्ने, धम्किपुर्ण भाषामा पर्चा पम्प्लेटहरु निकाल्ने जस्ता गतिविधिहरु गरिरहेकाले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रमुख तीन ठूला दलले गराए उम्मेदवारी दर्ता

ललितपुर, वैशाख १९। स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तीन दलले आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । गोदावरी नगरपालिमा नेपाली काँग्रेसले गजेन्द्र महर्जन, नेकपा (एमाले)ले श्याम सिलवाल र नेकपा (माओवादी केन्द्र)ले गोविन्द महर्जनलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । त्यसैगरी नगर उपप्रमुखमा काँग्रेसले मुना अधिकारी कुँवर, एमालेले तारा सञ्जेल र (माओवादी केन्द्र)ले सीता घिमिरेलाई उम्मेदवार बनाएको छ । यस्तै महालक्ष्मी नगरपालिमा काँग्रेसले महेश खड्का, एमालेले रामेश्वर श्रेष्ठ र (माओवादी केन्द)ले शिव कट्टेललाई नगर प्रमुखकको उम्मेदवार बनाएको छ । उपप्रमुखमा काँग्रेसले लक्ष्मी श्रेष्ठ, एमालेले निर्मला थापा र ९माओवादी केन्द्र०ले लक्ष्मी सिंह महर्जनलाई उम्मेदवार बनाएको छ । यसैगरी वाग्मती गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेसले वीरबहादुर लोप्चन, एमालेले दुर्गा घिमिरे र (माओवादी केन्द्र)ले राजु आलेमगरलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले रञ्जना तिमिल्सिना, एमालेले डोलकुमार सिँतान र (माओवादी केन्द्र)ले कमला थापामगरलाई उम्मेदवार बनाएको छ । कोञ्ज्यो गाउँपालिकाको अध्यक्षमा काँग्रेसले राजन घिमिरे, एमालेले कृष्णमान लामा र (माओवादी केन्द्र)ले गोपी सिँतानलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले लक्ष्मीमाया लोप्चन, एमालेले सुष्मिता दुलाल घिमिरे र (माओवादी केन्द्र)ले मिग्मा लामालाई उम्मेदवार बनाएको छ । यस्तै महाङ्काल गाउँपालिकाको अध्यक्षमा काँग्रेसले भीमसेन घिमिरे, एमालेले रामचन्द्र दाहाल र (माओवादी केन्द्र)ले बुद्ध नेगीलाई उम्मेदवार बनाएको छ । उपाध्यक्षमा काँग्रेसले सुशीला अधिकारी, एमालेले कमला तामाङ र ९माओवादी केन्द्र०ले बिमला आचार्यलाई उम्मेदवार बनाएको छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीकाअनुसार जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भइरहेको छ ।