ललितपुरमा माओवादी केन्द्रसहित साना दलको उम्मेदवारी

काठमाडौँ,  वैशाख १९ । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ ।

बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रियाअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म पाँच जनाले प्रमुख र चार जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

ललितपुरका मुख्य निर्वाचित अधिकृत बालमुकुन्द दवाडीले महानगरमा उम्मेदवारी दर्ता भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार नेकपा (माओवादी केन्द्र)बाट प्रमुखमा दिनेश महर्जन र उपप्रमुखमा हसिना शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

यसैगरी नेकपा (माले)बाट प्रमुखमा मोहनराज शाक्य र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, नेकपा(क्रान्तिकारी माओवादी)बाट प्रमुखमा विजय खड्गी र उपप्रमुखमा इन्द्रिरा अधिकारी तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुखमा रोशन महर्जन र स्वतन्त्रबाट रमेश महर्जनले प्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत दवाडीले जानकारी गराउनुभयो ।

यसैगरी उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाबुकाजी महर्जन र स्वतन्त्रबाट शोभा शाक्यले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराइने भने तापनि ठूला दल नेपाली काँग्रेस र नेकपा(एमाले) अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् ।

विसं २०५४ पछि पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले उत्साही भएर उम्मेदवार दर्ता गराइरहनुभएको छ ।

ललितपुर महानगरमा एक लाख १२ हजार नौ सय २५ जनसङ्ख्या छ ।

पार्टीबीच चुनावमा काठमाडौँ र ललितपुर जिल्लामा तालमेलको विषयमा छलफल

काठमाडौँ, वैशाख १९ । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय तहको निर्वाचनमा काठमाडौँ र ललितपुर जिल्लामा तालमेल गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष कमल थापाबीच सो विषयमा छलफल भएको हो । दुवै दलले आन्तरिक छलफल गरी उम्मेदवारीको टुङ्गो लगाउने तयारी गरेका छन् । एमालेले काठमाडौँ र ललितपुर महानगरपालिकामा हालसम्म आफ्नो उम्मेदवार तय गरेको छैन । सो पार्टीका सचिव योगेश भट्टराईले सोमबारको स्थायी कमिटीको बैठकले अध्यक्ष ओली र नेता माधवकुमार नेपाललाई सोबारेमा निर्णयमा पुग्न जिम्मेवारी दिएको बताउनुभयो । अध्यक्ष ओलीले अहिले काठमाडौँ र ललितपुर जिल्लाका नेता कार्यकर्तासँग तालमेलका विषयमा छलफल गरिरहनुभएको छ ।

हेटौँडामा उम्मेदवारी दर्ता

हेटौँडा, १९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा हेटौँडा उपमहानगरपालिकामा विभिन्न राजनीतिक दलले प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको मनोनयनपत्र आज दर्ता गरेका छन् । सोअनुसार नेपाली काँग्रेसबाट हेटौँडा उपमहानगरपालिका प्रमुखमा आनन्दप्रसाद पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, थाहा नगरपालिका प्रमुखमा पवित्रा महत विष्ट र उपप्रमुखमा खड्गबहादुर गोपालीले दर्ता गराउनुभएको मुख्य निर्वाचनको कार्यालय मकवानपुरले जनाएको छ । नेकपा (एमाले)बाट प्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा मीना लामा तथा थाहा नगरपालिका प्रमुखमा विष्णु ढकाल र उपप्रमुखमा कल्पना बलामीको मनोनयन दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र)बाट हेटौँडा उपमहानगरपालिका प्रमुखमा बलराम बल र उपप्रमुखमा कल्पना पौडेल, थाहा नगरपालिका प्रमुखमा लवशेर विष्ट र उपप्रमुखमा शकुन्तला गोपाली, राप्रपाबाट सोही उपमहानगर प्रमुखमा मधुकर अधिकारी र उपप्रमुखमा इन्दिरा न्यौपाने तथा थाहा नगरपालिका प्रमुखमा हरेराम कार्की र उपप्रमुखमा राममाया लामाले मनोनयन दर्ता गर्नुभएको छ । अन्य राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारको मनोनयनपत्र दर्ताको विवरण आउन बाँकी छ ।

काठमाडौँमा उम्मेदवारी दर्ता जारी

काठमाडौँ, वैशाख १९ । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आज काठमाडौँ जिल्लाका महानगरपालिका र नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । बिहान १० बजेदेखि काठमाडाँै महानगरपालिकासहित १० वटै नगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको हो । सबैभन्दा ठूलो काठमाडाँै महानगरमा अहिले उम्मेदवारी दर्ता गराउनेको भिड रहेको छ । महानगरको राष्ट्रिय सभागृहमा पार्टीका नेता तथा कार्यकर्ता मनोनयन दर्ता गर्ने क्रममा आइरहनुभएको छ । काठमाडाँै महानगरका मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद दाहालका अनुसार अहिलेसम्म छ जनाले प्रमुख र तीन जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँका अनुसार प्रमुख पदमा राष्ट्रिय जनमोर्चाबाट डा निर्मलकुमार थापा, विवेकशील नेपाली दलबाट रञ्जु न्यौपाने, साझा पार्टीबाट किशोर थापा, देशभक्त पर्यावरणीय सामाजिक मोर्चाबाट सुरेन्द्रप्रसाद ढकाल तथा स्वतन्त्रबाट अमोत महर्जन र विनोदकुमार क्षेत्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी उप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट ऋतु सापकोटा, स्वतन्त्रबाट जनिशा भट्टराई र निरुपमा यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराइने भने तापनि ठूला दल नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् । मुख्य निर्वाचन अधिकृत दाहालका अनुसार अहिलेसम्म करिब दुई सय जनाले वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराइसक्नु भएको छ । काठमाडाँै महानगरमा ३२ वडा छन् । विसं २०५४ पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले उत्साही भएर उम्मेदवारी दर्ता गराइरहनुभएको छ । यसैगरी कीर्तिपुर, टोखा, शङ्खरापुर, नागार्जुन, दक्षिणकाली, चन्द्रागिरि, बुढानीलकण्ठ, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र तारकेश्वर नगरपालिकामा पनि उम्मेदवारले उम्मेदवार दर्ता गराइरहनुभएको छ ।

सामाजिक सञ्जालमा चुनावको बारेमा अनावश्यक सामग्रीहरु पोष्ट नगर्न कडार्इ

काठमाडौंँ, वैशाख १९ । यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको सम्पन्न गर्नका लागि देशभर व्यापकरुपमा तयारीका लागि जुटिरहेका छन् । चुनावमा केन्द्रित रहेर फेसबुक, ट्विटर, भाइबर, युट्यूबजस्ता सामाजिक सञ्जालहरूमा व्यापक बहस पनि चलिरहेको छ । सामाजिक सन्जालहरुमा व्यापकरुपमा चुनावको प्रचारप्रसार भइरहेको छ । यसै सन्दर्भमा उम्मेदवार एवं राजनैतिक दलको गुणगान गाउने, भोट माग्ने, गालीगलौज गर्ने किसिमका स्टाटस तथा तस्वीरहरु व्यापकरुपमा पोस्ट हुन थालेका छन् । निर्वाचन आयोगले आचारसंहिता नै बनाएर यसरी पोष्ट हुने सामग्रीहरुमा कडाइ गर्न थालेको छ । निर्वाचन आचारसंहिताको दफा १४ को (ञ) मा उल्लेख भएअनुसार ‘उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एसएमएस, फेसबुक, ट्विटर, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्ने,’ भनिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार निर्वाचन आयोग ऐन–२०७३ को दफा २३ अनुसार आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई प्रथमतस् रोक्न आदेश दिनेछ । आदेश उल्लंघन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । आचारसंहिता सरकार, राजनैतिक दल, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी एवं गैरसरकारी संस्थालाई मात्र नभै सामाजिक सञ्जाल चलाउने व्यक्तिहरूमा पनि लागू हुने बताइएको छ । मोबाइलबाट एसएसमएस पठाउँदा पनि आचारसंहिताविपरीत हुने भएकाले आयोगले यसतर्फ पनि सजग गराएको छ।

लेखनाथ महानगरपालिकाको मेयरमा विश्वप्रकाश र उपमेयरमा गोमा उम्मेदवार

पोखरा, वैशाख १९ । नेकपा माओवादी केन्द्रले देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेद्वार बनाएको छ । उपमेयरको उम्मेद्वार गोमा ढकाललाई बनाइएको छ । सोमबार दिनभरि छलफल गर्दा पनि उम्मेदवार टुंगो लगाउन नसकेको माओवादी केन्द्रले मंगलबार उम्मेदवार टुंगो लगाएको हो । लामिछाने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष समेत हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी नगर विकास समितिका अध्यक्ष बनेका थिए । नगरविकास समितिमा हुँदा उनले फेवातालमा ‘फुट ट्रयाक’ निर्माण गरेर वाहीवाही कमाएका थिए । लामिछाने फेवाताल संरक्षण उच्चस्तरीय आयोग (अतिक्रमण जग्गा छानविन आयोग) को संयोजक पनि हुन् । उनकै संयोजकत्वमा फेवातालको अतिक्रमित जग्गाको पहिचान गरी संरक्षणका लागि सरकारलाई सिफारिस गरिएको थियो । यद्यपी यो कार्यान्वयन भने भएको छैन । उपमेयरको उम्मेदवारमा गोमा ढकाल माओवादी केन्द्रले पोखराको उपमेयरमा गोमा ढकाललाई उम्मेद्वार बनाएको छ । ढकाल माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पर्यटन ब्यवसायी हुन् भने सामुदायिक सेवा केन्द्र बैदामका पूर्वअध्यक्ष पनि हुन् । उनी सामाजिक अभियन्ता पनि हुन् । कांग्रेसले भने पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदको उम्मेदवार रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ । यसैगरी नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकामा मानबहादुर जीसीलाई मेयर र मन्जु गुरुङलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

मतदाताहरुलाई धम्की दिएको भन्दै विप्लवका २५ नेता कार्यकर्ता पक्राउ

रुकुम, वैशाख १९ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी चन्द्रबहादुर बुढासहित २५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा सक्रिय भएको भन्दै पार्टीका जिल्ला सेक्रेटरी चन्द्रवहादुर बढा, सह–सेक्रेटरी गम्भिर, जिल्ला सदस्य हिरामणि रावल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपक बिष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस खलंगाका प्राध्यापक हरिविष्णु ओलीसहित जिल्ला तहका नेता कार्यकर्ता गरी २५ जनालाई प्रहरीले पक्राउ गरेको हो । २४ जनालाई जिल्लाको आठविसकोट नगरपालिकाको राडिबाट र १ जनालाई सदरमुकाम मुसिकोटबाटै नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । विभिन्न पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारी नदिन तथा मतदाताहरुलाई भोट नहाल्न धम्की दिने, चन्दा असुल्ने, धम्कीपूर्ण भाषामा पर्चा पम्प्लेटहरु निकाल्ने जस्ता गतिविधिहरु गरिरहेकाले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चुनावमा मुखमा माओवादी केन्द्र र वैद्य माओवादीका नेताहरुद्वारा पार्टी परित्याग

काठमाडौँ, बैशाख १९ । नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रले पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको, इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै पार्टी परित्याग गर्नु परेको बताए । मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिट्ब्युरो सदस्य अटलले माओवादी केन्द्रका नेताहरु पार्टी र सरकारको माथिल्लो निकाय पुग्न जाल, झेल र तिकडम गरिरहेको बताए । उनले भने, ‘पार्टीको उपल्लो निकायमा पुग्न सफल चंखे–चतुरे, व्यक्तिवादी,महत्वकांक्षी (तथाकथित प्रभावशाली) नेताहरुको लुट र घुसबाट आर्जित अकूत सम्पति आर्जन गर्न प्रतिस्पर्धा गरिरहेका छन् । त्यसको सोधीखोजी गर्नुपर्छ, माओवादी केन्द्रको आन्तरिक जीवनलाई हेर्दा अब उ कम्युनिस्ट पार्टी रहेन ।’ उनले आफूजस्ता इमान्दार नेता–कार्यकर्ताको माओवादी केन्द्रमा भविश्य नभएका कारण पार्टीबाट विद्रोह गर्न बाध्य भएको बताए । “नेकपा (माओवादी केन्द्र)का कुटिलहरुले अझैसम्मपनि क्रान्तिकारी कार्यकर्ता र जनतालाई झुक्याउनका लागि सर्वहारा वर्गको मुक्ति र समाजवादको फलाको हाल्न छोडेका भने छैनन् । मालेमाको मर्म र जनयुद्धको भावना विपरित जो आफै व्यक्तिवादी, स्वार्थी, परिवारवादी, नातावादी, पक्षपाति (अझ जातिवादी पनि), भ्रष्ट, अकुत सम्पत्तिका मालिक बन्नु उनीहरुको कर्म बनेको छ” पोलिट्ब्युरो सदस्य अटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जनयुद्ध लडेका इमान्दार कार्यकर्ताको बेहाल भएको बताउँदै अटलले प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र एमालेको बाटोमा लागेको आरोप समेत लगाए । त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) दाङ सेक्रेटरी खम्बु चन्द ‘समीर यात्री’को नेतृत्वमा आधा दर्जन नेता–कार्यकर्ताले पनि विद्रोह गरेका छन् । विचारको संरक्षण गर्ने नाममा मोहनविक्रम सिंहको बाटोमा लागेको बताए । ‘क्रान्तिकारी माओवादीको नेतृत्वमा अब कुनै पनि क्रान्ति हुँदैन, त्यहाँ बसिरहनु समय बर्बाद पार्नु मात्र हो’ समिरले भने । ‘क.किरणबाट पार्टीलाई ठोस दिशा निर्देश गर्ने, ठोस परिस्थितिको ठोस विश्लेषण गरी ठोस निर्णय लिदै पहलकदमी लिने र राजनीतिक हस्तक्षेप बढाउने जस्ता महत्वपूर्ण विषयमा कमजोर भूमिका देखिदै आयो । अन्तरसंघर्षलाई उचित ढंगले व्यवस्थापन गर्दै तत्काल सही निर्णय लिनुको सट्टा लामो समयसम्म अनिर्णयको बन्दी बन्ने, अकर्मण्यतामा फस्ने जस्ता समस्याले पार्टीलाई गम्भीर क्षती पु¥याउदै आएको छ । यही समस्याले पार्टीलाई गतिहिन र दिशाविहिन बनाउदै आएको छ’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा बोल्दै समिरले क्रान्तिकारी माओवालदीले चुनाव उपयोग गर्नेको नीति अक्रमर्णयताको उपचार भएको बताए । क्रान्तिकारी माओवादीमा बसेर समय बर्बात पार्नु भन्दा विद्रोह गर्न सबै नेता–कार्यकर्तालाई आग्रह समेत गरे ।

माअोवादी केन्द्र र नेपाली काँग्रेसद्वारा चार महानगरपालिकाका उम्मेदवार चयन

काठमाडौँ, वैशाख १९ । नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ । दुई दिनदेखि जारी काँग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले आज सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । पार्टीले काठमाडौँ महानगरपालिका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गी, पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाह तथा ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जन र गीता सत्यालको टुङ्गो लगाएको उहाँले बताउनुभयो । यही वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं. ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा हुदैछ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ । पहिलो चरणको निर्वाचन हुने तीन प्रदेशमा चाार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा एक सय ८६ गाउँपालिका छन् । माओवादी केन्द्रबाट उम्मेदवारी नेकपा (माओवादी केन्द्र)ले चार वटै महानगरपालिकाका उम्मेदवार चयन गरेको छ । जिल्ला समितिको सिफारिसमा आज बिहान सबै महानगरपालिकाका उम्मेदवार चयन गरिएको सो पार्टीले जनाएको छ । माओवादीले काठमाडौँका प्रमुखमा सर्वोत्तम डङ्गोल र उपप्रमुखमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ । डङ्गोल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा नगर समितिको इन्चार्जसमेत हुनुुहुन्छ । उपप्रमुखका प्रत्याशा पौडेल केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुनुहुन्छ । यस्तै ललितपुर महानगरपालिकामा दिनेश महर्जन प्रमुख र उपप्रमुखमा मञ्जरी शाक्यलाई उम्मेदवार बनाइएको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि दाहालका अनुसार जिल्लाका सबै स्थानीय तहको उम्मेदवार चयन गरिएको छ । ललितपुर महानगरका प्रमुखका उम्मेदवार महर्जन पार्टी ललितपुर नगर इन्चार्ज र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुनुहुन्छ । उपप्रमुखका उम्मेदवार शाक्य स्थानीय सामाजिक कार्यकर्ताका रुपमा क्रियाशील हुनुहुन्छ । यस्तै भरतपुर महानगरका प्रमुखमा रेणु दाहाललाई पतथा उपप्रमुखमा ईश्वर सापकोटालाई उठाइने भएको छ । प्रमुखका उम्मेदवार दाहाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सापकोटा स्थानीय नेता हुनुहुन्छ । यस्तै क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो मानिएको पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ । यस्तै उपप्रमुख उम्मेदवार गोमा ढकाललाई अगाडि सारिएको छ । पोखरा लेखनाथ महानगरका प्रमुखका प्रत्याशी लामिछाने पोखरा नगर विकास समितिका पूर्वअध्यक्ष हुनुहुन्छ । पोखराको परिचयका रुपमा रहेको फेवाताल संरक्षणको विशेष योजना तयार पार्नुभएका उहाँ माओवादी केन्द्रका नेता हुनुहुन्छ । यस्तै उपप्रमुखका उम्मेदवार ढकाल स्थानीय सामाजिक कार्यकर्ताका रुपमा क्रियाशील हुनुहुन्छ ।

टहरामा जन्मेको नाति हिँड्ने भइसक्यो तर घर बनाउने अनुमति पाइएन

पाल्पा, वैशाख १९ । भूकम्पपीडित सहलकोट सुकेकोटका ७६ वर्षीय गोबर्द्धन दर्जीले घर बनाउनका लागि अनुदान रकमको पर्खाइमा दुई वर्ष टहरामुनी बिताउनुभयो । भूकम्पपछि टहरामा जन्मेको नाति हिँड्डुल गर्नसक्ने भइसक्यो तर घर बनाउन पहिलो किस्ताको रकमसम्म नपाउदा नातिलाई टहरामा हुर्काउन उहाँलाई कठिन भएकोे छ । आफूलाई अब घर बनाउने अनुदान रकम पाउछु भन्ने आशा हटिसकेको गोबर्धन बताउनुहुन्छ । शारीरिक रुपमा अशक्त हुँदै गए पर्नि आफ्नो भन्दा १९ जना परिवारको टहरामा पालनपोषण र बास कसरी बिताउने भन्ने चिन्ताले उहाँलाई सताएको छ । लामो समय वितिसक्दा पनि घर बनाउने अनुदान र अनुमति नपाउदा अव अनुदान पाइन्छ र घर बनाउँला भन्ने आश नभएको गोवर्धनको गुनासो छ । उहाँ भन्नुहुन्छ,“चिसो बढ्यो कि दम बढेर आउछ, गएको जाडोमा दम बढेर झन्डै मरेको थिए”—“भूकम्पपछि जन्मेको नाति दौडिनसक्ने भयो, घर बनाउने अनुमति नपाउदा टहराको बासले छोड्ने भएन” उहाँ दुखेसो पोख्नुहुन्छ । भूकम्पले ठूलो भौतिक क्षति पुगेको सहलकोट सुकेकोटमा दुई वर्षको अवधिमा टहराको बासले चिसोका कारण दुई जनाले ज्यान गुमाउनुपरेको स्थानीय उमेशकुमार गाहा बताउनुहुन्छ । पालको बासले वृद्धवृद्धा, सुत्केरी महिला र बालबालिका बढी प्रभावित भएका छन् । भूकम्पपछि टहरामा बास बस्दै आएका यहाँका पाँच सुत्केरीले टहरामै बच्चा जन्माउन बाध्य भए । गएको हिउँदमा घर बनाएर सहजसँग बास बस्ने सपना बोकेका भूकम्पपीडितको सपना ओइलाएर गएको छ । यसवर्षको बर्खायाममा पनि उनीहरुले टहरामै जीवन गुजार्नुपर्ने निश्चित छ । पहिलो किस्ताको रकम पनि नपाउदा घर बनाउने सुरसारै गर्न नपाएको स्थानीय तिलवीर रानाको गुनासो छ । उहाँले पहिलो किस्ताबापतको रकम अनुदान पाएको खण्डमा वर्खा अगाडि नै घरको जग राख्ने र हिउँद अगाडि नै घर निर्माण गर्ने योजना बुन्नुभएको थियो । वडा नागरिक मञ्चका संयोजक भुमबहादुर राना भन्नुहुन्छ,“न अनुदान पाइयो न त घर बनाउने अनुमति नै पाइयो”—“सरकारले दिन्छु भनेर पीडित जनतालाई आशा देखायो तर दुई वर्षसम्म टहरा र त्रिपालमा रात कसरी बिताए पीडितले भन्ने कहिल्यै सोचेन” उहाँले दुखेसो पोख्नुहुन्छ । पुनःनिर्माण प्राधिकरणले सङ्कलन गरेको तथ्याङ्कअनुसार सहलकोट क्षेत्रमा मात्र ६१ घर पूर्णरुपमा क्षति भएकामा साविक– ९ सुकेकोट गाउँमा ४१ वटा घर पूर्ण क्षतिग्रस्त भएका थिए । अन्य बाँकीमा आंशिक क्षति पुगेको थिायो । पाल्पाको साविकको गल्धा, रामपुर, बाकामलाङ्, कोलडाँडालगायतका क्षेत्रमा भूकम्प प्रभावित बढिरहेका छन् । जिल्ला तथ्याङ्क कार्यालयकाअनुसार जिल्लाका १० हजार चार सय ९५ घर पूर्णरुपमा क्षति भएकामा तीन हजार चार सय ३१ घरको लागि पहिलो किस्ताको अनुदान सम्झौता भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

उम्मेदवारी मनोनयन दर्ता सुरु

काठमाडौँ, वैशाख १९ । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा आई उम्मेदवारले मनोनयन दर्ता सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शमाले जानकारी दिनुभयो । संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तह निर्वाचन हुन लागेको हो । पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा सञ्चालन हुने सो निर्वाचनमा तीन वटै प्रदेशमा गरी चार महानगरपालिका, एक उपमहानगर र ९२ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा एक सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि मनोनयन दर्ता हँुदैछ । यसैगरी महानगरका एक सय २३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार तीन सय ६५ गरी जम्मा दुई हजार पाँच सय ९८ वडाध्यक्षका लागि मनोनयन हुँदैछ । साथै दुई हजार पाँच सय ९८ वडाका लागि चार सदस्यका दरले १० हजार तीन सय ९२ वडा सदस्यका लागि मनोनयन हुने आयोगले जनाएको छ । २५९८ वडा सदस्यमा महिला र दलित महिला गरी पाँच हजार एक सय ९६ वडा सदस्यका लागि महिलाको उम्मेदवारी हुनेछ । प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका लागि हुने निर्वाचनमा४९ लाख ५६ हजार नौ सय २५ मतदाता छन् । निर्वाचन प्रयोजनका लागि छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ । राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाका प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान छ । वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय तय गरिएको छ ।

नेपाली कांग्रेसको घोषणापत्रमा पर्यटन विकास

ललितपुर, वैशाख १९ । नेपाली कांग्रेसले सबै नगर र गाँउपालिकाहरुमा पर्यटन सेवा विस्तारले ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, प्राकृतिक र मानव निर्मित सम्पदाहरुको संरक्षणका साथै पूर्वाधार र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । पार्टीले हालै सार्वजनिक गरेको स्थानीय तह निर्वाचन घोषणापत्र २०७४ मार्फत सो विश्वास व्यक्त गरेको हो । नेपाली कांग्रेसले आन्तरिक र बाह्य पर्यटनको केन्द्र रही आएका काठमाडौँलगायत ललितपुर, पोखरा र भरतपुर महानगरपालिका को सडक, सार्वजनिक यातायात व्यवस्था, संचार सुविधा, खानेपानी, ढल र फोहर व्यवस्थापन, बिजुली र आवास सुविधाजस्ता पूर्वाधारहरु आधुनिक र भरपर्दो बनाउनुका साथै तिनलाई वातावरणमैत्री र प्रदुषणमुक्त समेत बनाइने प्रतिवद्धता व्यक्त गरेको छ । अन्तराष्ट्रिय पर्यटकको नजरमा पुगी नसकेका तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण, ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्व बोकेका स्थानहरु समेटेका गाऊँ र नगरपालिकाका पर्यटकीय सम्पदाहरुको संरक्षण, संबर्धन, विकास र विस्तार गर्दै उपयुक्त पूर्वाधार निर्माण गरी पर्यटकहरु पु¥याउने र यस्ता सम्पदा नभएका स्थानमा नयाँ सम्पदा निर्माण आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने कार्यक्रम पनि घोषणापत्रले समेटेको छ । आफ्नो सांस्कृतिक वैभव र प्राकृतिक सौन्दर्य–सम्पदाका कारण अन्तर्राष्ट्रिय स्तरमा आकर्षणका केन्द्र बनेका काठमाडौ, ललितपुर, पोखरा, र भरतपुर महानगरपालिका सहित भक्तपुर, जनकपुर, भैरहवा जस्ता नगरहरुमा फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण एवं संभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा आवागमनलाई सहज बनाउने कुरा पनि कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । “महानगर, उपमहानगर ,नगरपालिका र गाँऊपालिका क्षेत्रका ऐतिहासिक, धार्मिक–सांस्कृतिक सम्पदा एवं प्राकृतिक सौन्दर्य र जैविक विविधताको उचित स्याहार–सम्भार र संरक्षणद्वारा पर्यटन विकास गर्नु संबन्धित स्थानीय सरकारको पहिलो प्राथमिकता हुनेछ” कांग्रेसको घोषणापत्रमा भनिएको छ । अन्तराष्ट्रिय पर्यटकलाई नेपाल ल्याउने नेपालका हवाई सेवाको स्तर नियमित, भरपर्दो, विश्वसनीय,समयबद्ध बनाउनुका साथै नेपालका अन्तर्राष्ट्रिय र अन्य विमानस्थलका सेवालाई अत्याधुनिक प्रविधिले सुविधासम्पन्न बनाउने कार्यलाई पनि कांग्रेसले उत्तिकै ध्यान दिएको छ । पर्यटन विकासका लागि पर्यटकहरुलाई सेवा प्रदान गर्ने अध्यागमन , यातायात र आवास सेवालाई आधुनिक, स्तरीय र मौलिक नेपाली सीप, शैली र संस्कृतिसंग परिचित गराउने ढंगको बनाइने प्रत्याभूति पनि कांग्रेसले गरेको छ । नेपाली जनताको अतिथिदेवो भव भन्ने संस्कार र प्रेरणाबाट उत्प्रेरित भई सबै उपमहानगरपालिका, नगरपालिका एवं गाउँपालिकाले आफ्ना ऐतिहासिक, धार्मिक–सांस्कृतिक र प्राकृतिक सम्पदालाई पर्यटन आकर्षणको प्रमुख आधार वनाउँदै भरपर्दो र वातावरणमैत्री पूर्वाधार विकासमा जोड दिने विश्वास कांग्रेसले लिएको छ । पर्यटन: आर्थिक आर्जनको आधार नेपाली कांग्रेसले सबै स्थानीय निकायले ऐतिहासिक, धार्मिक–सांस्कृतिक, प्राकृतिक आकर्षणका स्रोत र सम्पदालाई पर्यटकीय सम्पदाको रुपमा विकसित गरी त्यसलाई आर्थिक आर्जनको आधार बनाउने कार्यक्रम सञ्चालन गर्ने बताएको छ । “आफ्नो प्रतिस्पर्धी क्षमता बढाउन स्थानीय सरकारले विशिष्ट पर्यटन क्षेत्र र विषय पहिचान गर्नेछन् ”कांग्रेसले भनेको छ। आफनो क्षेत्रभित्रका पर्यटन स्थललाई आन्तरिक पर्यटक, छिमेकी राष्ट्रका पर्यटक तथा अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्यस्थल बनाउनका लागि आफ्नो विशिष्टता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव,धार्मिक, पौराणिक एवं ऐतिहासिक महत्व उजागर गर्ने स्थानीय धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय महोत्सव आयोजना गर्ने, साहसिक खेलकूद, राष्ट्रि एवम् अन्तराष्ट्रिय सम्मेलन एवं प्रदर्शनी आयोजना गरी पर्यटन प्रवद्र्धन गरिने कार्यक्रम कांग्रेसले सार्वजनिक गरेको छ । नेपाली कांग्रेसले स्थानीय सरकारलाई पूर्वाधार र सुविधा नपुगेको कम्तीमा एउटा सम्भाव्य पर्यटन स्थलको विकास गर्न राष्ट्रिय ख्यातिप्राप्त पर्यटक व्यवसायीको सेवा उपलब्ध गराउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय भ्रमण प्याकेजमा सामेल गरी प्रतिष्ठित लगानीकर्तालाई उचित शर्तसहित सम्बन्धित निकायसँग समन्वय गरी लगानी गर्न आमन्त्रण गर्ने बन्दोबस्त मिलाइने कुरा पनि सार्वजनिक गरेको छ । स्थानीय सरकार र समुदायले सम्भाव्य पर्यटन स्थलको संरक्षण एवं सडक, संचार, पानी, सरसफाइ, वत्ती जस्ता पूर्वाधार निर्माणको जिम्मा लिई आवास, खानपीन र मनोरंजन जस्ता गतिविधिमा निजी व्यवसायीसंग साझेदारीलाई पनि संस्थागत गर्नेछन् । कांग्रेसले स्थानीय लोक संस्कृतिको संरक्षण, संवद्र्धन, वातावरण संरक्षण आदिमा स्थानीय महिला समूह तथा स्वयंसेवी युवा क्लवहरुलाई परिचालन गर्ने र युवाहरुलाई नै लक्षित गरी दोभाषे र पर्यटक गाइडको तालिम दिने कार्यक्रम पनि घोषणापत्र मार्फत सार्वजनिक गरेको छ । सरकारी वा निजी स्वामित्वमा रहेका परम्परागत दरबार, महल, आदिलाई मर्मत,संभार वा पुनर्निर्माण गरी मौलिक एवं विशिष्ट आवासमा परिवर्तन गर्ने र अन्य त्यस्तै गढी,कोत,धार्मिक स्थल आदिको संरक्षण गरी पर्यटकीय प्रडक्टका रुपमा विकसित गर्न स्थानीय निकायलाई प्रोत्साहित गर्ने कुरालाई पनि कांग्रेसले समेटेको छ । कृषिलाई पर्यटनसंग आबद्ध गर्न, रोपाई जात्रा,मह काढ्ने उत्सव, सहित माछा पालन, अर्गानिक फार्मको विकास, कृषि फार्म र पशुपालन जस्ता आर्थिक गतिविधिलाई पर्यटकीय प्रडक्टका रुपमा विकास गर्ने र पर्यटकका लागि आवास, भोजन जस्ता सेवाको प्रबन्ध गर्दा स्थानीय निर्माण सामग्री, शिल्प र शैली तथा स्थानीय परिकार र रहनसहन झल्किने गरी गर्नुपर्ने विषय पनि कांग्रेसले उठाएको छ । कांग्रेसले घोषणापत्रमा भनेको छ, “स्थानीय तहमा रोजगारीको आधार बढाउने र पर्यटक तुरुन्तै आकर्षित गर्न आधुनिक होटल नभएका पर्यटन स्थलहरुमा होमस्टे, साना लज तथा सामुदायिक आवास व्यवस्थापनका लागि सहुलियतपूर्ण ऋण, प्राविधिक सहयोग र तालिम आदिको समन्वय गरी सेवाको गुणस्तर वृद्घि गरिनेछ ।” पर्यटन गतिविधिबाट स्थानीय स्तरमा अतिरिक्त आय आर्जन, वैकल्पिक रोजगारी, सम्पदाको जगेर्ना, सामुदायिक विकासका लागि आर्थिक स्रोत र स्थलगत विशिष्टताको प्रचारका लागि प्रत्येक स्थानीय सरकारले पर्यटन विकास तथा सम्पदा संरक्षणसम्वन्धी संस्थागत प्रबन्ध गर्ने विश्वास कांग्रेसले लिएको छ । “सबै स्थानीय तहमा कम्तिमा एउटा सामुदायिक पर्यटन सूचना र सेवा केन्द्र स्थापना गरिनेछ ”सबै स्थानीय तहमा पर्यटनको लक्ष्य हासिल गर्ने विश्वास गर्दै कांग्रेसले भनेको छ,“यस केन्द्रबाट पर्यटकीय सेवा र सूचनाका अतिरिक्त स्थानीय हस्तकलाको प्रर्दशन तथा बिक्री कार्य संचालन गरिनेछ ।”

नेपाली काँग्रेसको तर्फबाट प्रमुख पदमा तय भएका उम्मेदवारहरुको नामावली

काठमाडौं, वैशाख १९ । नेपाली काँग्रेस धादिङको तर्फबाट स्थानीय तहको चुनावमा नगरपालिकाका तथा गाउँपालिका प्रमुख पदका उम्मेदवारहरु यसप्रकार तय भएका छन्– नीलकण्ठ नगरपालिकाः भीमप्रसाद ढुँगाना धुनिबेशी नगरपालिकाः माधवराज पाण्डे रुविभ्याली गाउँपालिकाः कुलबहादुर गुरुङ गंगाजमुना गाउँपालिकाः अक्कल बहादुर तामाङ त्रिपुरा सुन्दरी गाउँपालिकाः वासुदेव तिमल्सिना नेत्रावती गाउँपालिकाः टेकजंग लामा खनियाँबास गाउँपालिकाः रणबहादुर तामाङ जलमुखी गाउँपालिकाः विनोद तिमल्सिना सिद्धालेख गाउँपालिकाः बद्रि अर्याल बेनिघाट रोराङ गाउँपालिकाः देवी सिलवाल गल्छी गाउँपालिकाः विनोद कार्की गजुरी गाउँपालिकाः परशुराम सुवेदी थाक्रे गाउँपालिकाः श्याम रेग्मी

स्थानीय तहको चुनावमा भाग लिने मतदाताहरुलार्इ निर्धारित समयमै परिचयपत्र लिन आह्वान

रसुवा, वैशाख १९ । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ । जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार मतदान केन्द्रमा प्रवेशका लागि निर्वाचन आयोगले तयार गरेको तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्तिका लागि वैशाख २८ गते बिहान ७ बजेदेखि ३० गते साँझ ७ः३० बजेसम्म वितरण गरिने भएकाले आ–आफ्नो परिचयपत्र निर्धारित समयभित्र लिन सम्पूर्ण रसुवाली मतदातालाई आह्वान गरिएको हो । मतदाता परिचयपत्र आ-आफ्ना मतदान केन्द्रबाट निर्वाचनका लागि खटिएका कर्मचारीमार्फत प्राप्त गर्न सकिने निर्वाचन अधिकारी खालिङले बताउनुभयो । उहाँका अनुसार मतदान हुने दिन परिचयपत्र वितरण हुने छैन । मतदान वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

सर्वाेच्च अदालतमा महानिरिक्षक विवादसम्बन्धी रिटमा सुनुवाई हुँदै

काठमाडौं वैशाख १९ । प्रहरी महानिरिक्षक नियुक्तिविरुद्ध डिआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि मंगलबारपूर्ण इजलासमा सुनुवाई हुँदैछ । प्रहरी महानिरिक्षकमा प्रकाश अर्याल नियुक्त भएपछि सर्वोच्चको आदेशविपरित सरकारले निर्णय गरेको दाबी गर्दै सिलवालले गत चैत १९ गते रिट दायर गरेको थियो । कार्यसम्पादन मूल्यांकनमा अर्यालको भन्दा आफ्नो अंक बढी रहेपनि सरकारले बद्नियतपूर्वक अंक घटाएको दाबी सिलवालको छ । सरकारले भने सो रिटका साथ अदालतमा सिलवालले पेश गरेको कार्यसम्पादन मुल्यांकनको प्रतिलिपि फर्जी भएको दाबी गरेको छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट कार्यसम्पादन मुल्यांकन फाईलमा सिलवालले दस्तखत, अंक लगायतका विवरणमा किर्ते गरेको पुष्टी भएको भन्दै सरकारले प्रतिवेदन सर्वोच्चमा पेश गरिसकेको छ । मंगलबार इजलासमा सर्वोच्चले लोकसेवा आयोग, गृहमन्त्रालय र प्रहरी प्रधान कार्यलयबाट मगाएको आर्यालको फाइल पनि खोल्ने बताएको छ । यसअघि सरकारले प्रहरी महानिरिक्षकमा जयवहादुर चन्दलाई गरेको नियुक्ती बदर गर्दै सर्वोच्चले बरिष्ठता तथा कार्यसम्पादन मुल्यांकनको आधारमा नियुक्त गर्न आदेश दिएको थियो ।

अपहरणमा परेका नेपाली काँग्रेसका उम्मेदवार पुन सकुशल रिहा

म्याग्दी, वैशाख  १९ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उम्मेदवार राति सकुशल रिहाइ भएका छन् । भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापतिसमेत रहनुभएका जसबहादुर पुनलाई अज्ञात व्यक्तिले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए । चारवटै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खोजी सुरु गरेपछि अपहरणकारीले बरञ्जामा पुनलाई छोडेर भागेपछि राति १० बजे सकुशल बेनी ल्याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । “शङ्कास्पद ठाउँका चारवटै नाकामा सुरक्षाकर्मी परिचालन गरेपछि छोडेर गएका थिए”, प्रजिअ पौडेलले भन्नुभयो, “संलग्न व्यक्तिको खोजी जारी छ ।” नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव प्रभावित गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नबाट वञ्चित गराउने नियतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको जनाउनुभएको थियो । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पुनलाई वडाध्यक्षको उम्मेदवार चयन गरेको थियो । चढेर आएको गाडी बिग्रिएपछि हिँडेर बेनी आउँदै गर्दा पुन अपहरणमा पर्नुभएको थियो ।