यी हुन गाउँपालिका खटाइएका ४ सय ८१ अधिकृत (नामावलीसहित)

काठमाडौं, चैत ४ । चुनावको तयारीसँगै हरेक गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको छ ।

स्थानीय विकास मन्त्रालयले देशैभरी गाउँपालिकामा कार्यकारी अधिकृत खताउँदै चुनावको तयारी तीब्र पार्न निर्देशन दिएको छ ।

नवगठित अधिकृतहरुले गाउँपालिकाको सम्पूर्ण कार्यक्रहरुलाई अघि बढाउन र चुनावका लागि आवश्यक तयारी गर्ने छन् ।

को को छन् त खटिएका अधिकृतहरु

यो लिंकमा क्लिक गरेर हेर्नुस् ।
Local level.pdf

के के निर्णय गरिए आजको मन्त्रिपरिषद बैठकबाट ?

काठमाडौं, चैत्र ३ । सरकारले गाउँपालिका र नगरपालिकाका वडाहरुमा नासु सरहका कर्मचारी खटाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । मन्त्री परिषदको आज बसेको बैठकले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त जिम्मेवारी दिएको हो । ‘प्रशासन, सामान्य प्रशासन, ईन्जिनीयर, लेखा लगायत राजपत्र अनंकित कर्मचारी खटाउने जिम्मेवारी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ’ सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री सुरेन्द्र कुमार कार्कीले भने । मन्त्री परिषदले विश्व बैंक अन्तरगत रहेको अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त १० अर्ब ७० करोड बराबरको सफ्ट लोन स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले विदेशी लगानी सम्बन्धी योजनाहरुको अनुगमनका लागि उद्योगमन्त्रीको नेतृत्वमा सम्बिन्धित मन्त्रालयका सचिव सदस्य रहने गरी समिति बनाउने निर्णय गरेको छ । त्यस्तै नेपालमा अन्तराष्ट्रिय स्तरको ब्यापार मेला तथा प्रदर्शनीका लागि आवश्यक प्रदर्शनी स्थल निर्माण प्रक्रिया अघि बढाउन बाणिज्य मन्त्रीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै एनसेनको कर छुट दिने बारे बाहिर प्रचार गरिए जस्तो कुनै निर्णय नभएको प्रवक्ता कार्कीले बताए ।

प्रधानमन्त्री प्रचण्ड भन्छन्–‘चुनावलाई दुनियाँको कुनै तागतले रोक्न सक्दैन’

भक्तपुर चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको माध्यमवाट जनताले गणतन्त्रको उज्यालो भेट्ने वताएका छन्।उनले शुरुआतमा आफुहरुले संघीयताको मुद्दा उठाउँदा अनेक आरोप लगाइएको स्मरण गर्दै वल्ल जनताले संघीयता वुझ्न थालेकोमा सन्तोष ब्यक्त गरे । आज भक्तपुर स्थित सानोठिमी क्याम्पसमा आयोजित अखिल (क्रान्तिकारी)को केन्द्रीय पदाधिकारी वैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘अब वैशाख ३१ को स्थानीय तहको निर्वाचन दुनियाँको कुनै तागतले रोक्न सक्दैन, ‘संविधान कार्यान्वयन र संघीयतालाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचन हरहालतमा गर्नैपर्छ ।’ हालै भएको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी)ले निकै उत्साहजनक परिणाम हासिल गरेकोमा प्रधानमन्त्री दाहालले विशेष वधाई समेत दिए। ‘स्ववियु मार्फत तँपाईहरुले निकै राम्रो सन्देश दिनुभएको छ। म विशेष वधाई दिनका निम्ति पनि तँपाईहरुको वैठकमा आएको हुँ,’ प्रधानमन्त्रीले भने । वैठकमा अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले पाँच पृष्ठको समीक्षा तथा आगामी कार्ययोजना सम्वन्धि प्रस्ताव पेश गरेका थिए। त्यसअघि सातवटै प्रदेशका संयोजकहरुले रिपोर्टिङ राखेका थिए। क्रान्तिकारीको जारी पदाधिकारी वैठक स्ववियुको निर्वाचनको वस्तुनिष्ठ समीक्षा गरी विद्यार्थीको सम्पूर्ण तागतलाई स्थानीय निर्वाचनमा लगाउने विषयमा केन्द्रित रहेको क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले वताए ।

प्रधानमन्त्रीले भने, ‘जित्नु र हार्नु ठूलो कुरा होइन, निर्वाचन हुनुपर्छ’

भक्तपुर, चैत्र ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन सफल पार्न एकतावद्ध भएर अघि बढ्न युवा बिद्यार्थीहरुलाई आग्रह गरेका छन् । बिहिबार भक्तपुरमा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनमा जित्नु र हार्नु ठूलो कुरा नभएको भन्दै नजिकिँदै गरेको निर्वाचनलाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हामी जित्छौ वा हार्छौ त्यो मुख्य होइन, मुख्यतः निर्वाचन हुनुपर्छ र लोकतान्त्रिक प्रक्रियाले जित्नु पर्छ यो नै प्रमुख हो ।’ प्रधानमन्त्रीले स्वतन्त्र बिद्यार्थी यूनियनमा क्रान्तिकारी बिद्यार्थीहरुको बिजयले माओवादी पार्टी कमजोर होइन, झनै बलियो भएको छ भन्ने पुष्टि भएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रसहितका जे जति उपलब्धीहरु हासिल भएका छन्, तिनको रक्षाका लागि फेरि माओवादी केन्द्रले जित्नु जरुरी भएको स्पष्ट पारेका छन् ।

मोर्चाले समर्थन फिर्ता लियो

काठमाडौँ, चैत ३ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले वर्तमान सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएका छन् । सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदरबारमा मोर्चामा आवद्ध तराई– मधेस लोकतान्त्रिक पार्टी(तमलोपा), सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र राष्ट्रिय मधेस समाजवादी पार्टीले दलका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिखितपत्र आज बुझाउँदै समर्थन फिर्ता लिएका हुन् । सङ्घीय समाजवादी फोरम नेपालले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र बुधबार नै सभामुखको सचिवालयमा बुझाएको थियो । सरकारलाई मोर्चाका तर्फबाट स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता, संविधान संशोधन सम्बन्धी दिइएको सातदिने समयसीमा (अल्टिमेटम) पूरा नभएपछि समर्थन फिर्ता लिएको मोर्चाले जनाएको छ । सदनमा सङ्घीय समाजवादी फोरम १५, तमलोपाका ११ , सद्भावना पार्टीका ५, फोरम गणतन्त्रिक १, राष्ट्रिय मधेस समाजवादी पार्टी ३ सदस्य सङ्ख्या रहेको छ । मोर्चाका तर्फबाट सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले सभामुखको सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउँदै मोर्चा प्रतिपक्षमा बस्ने निर्णय गरेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सुध्रिन्छ, आफ्नो कार्यशैली परिवर्तन गर्छ भने सहकार्य हुनसक्छ भन्नुभयो ।

सिंहदरबारबाट निस्कने दिसापिसाब सिंहदरबारमै व्यवस्थापन हुँदै

काठमाडौँ, चैत ३ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ (दिसापिसाब) र हात धुँदा प्रयोग भएका पानीको पुनः प्रयोग गर्न ओम्नी प्रोसेसर उपकरण जडान गर्ने अति महत्वकाङ्क्षी प्रस्ताव अगाडि सारेको छ । हाल सिंहदरभित्रबाट दैनिक कति खेराजाने झोलजन्य फोहर निस्कन्छन् भन्ने कुनै अध्ययन हुनसकेको छ्रैन । हाल झोलजन्य पदार्थ ढलमार्फत व्यवस्थापन हुँदै आएको छ । मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले सिंहदरबारलाई शून्य फोहररहित बनाउन र पानीको उचित सदुपयोग गर्न मन्त्रालयले ओम्नी प्रोसेसर उपकरण सिंहदरबारभित्र जडान गर्न प्रस्ताव गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयको सो प्रस्तावलाई बिल गेट्स फाउन्डेसनले प्राविधिक सहयोग गर्ने चासो समेत व्यक्त गरेको छ । विल गेट्सले आफ्नो आम्दानीको ठूलो हिंसा फोहरजन्य पदार्थको पुनः प्रयोगमा विश्वभर लगानी गर्ने घोषणा गरेका थिए । सचिव उपाध्यायले सो उपकरणको रु २८ करोड पर्ने र एकपटक जडान गरेपछि लामोसमयसम्म पुनः प्रशोधनमा काम दिने जानकारी दिनुभयो । सो उपकरणले प्रशोधन गरेका पानी पिउनयोग्य हुने र यस्तो उपकरण विकसित देशले सरकारी तथा औद्योगिक क्षेत्रमा जडान गर्ने गरेका छन् ।

‘वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड’लाई मेगा वैङ्कले प्रायोजन गर्ने

काठमाडौं, चैत ३ । “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” विधाको प्रायोजकका लागि मेगा बैङ्क नेपाल लिमिटेडले प्रायोजन गर्ने भएको छ । ५० हजार राशीको ‘डिवि थापा फोटो पत्रकारिता लाईफ टाइम एचिभमेन्ट अवार्ड’ कार्यक्रमको मुख्य प्रायोजक फोटो कन्सर्न रहेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आफ्नो स्थापनाको अवसर पारेर विभिन्न विधामा उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । २५ हजार रुपैयाँ पुरस्कार राशीको “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” लाई मेगा बैङ्कले प्रायोजन गर्ने भएको हो । मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल शाह र एनएफपीजेका तर्फबाट अध्यक्ष ध्रुुब आलेले बुधबार संझौंतापत्रमा हस्ताक्षर गरेका छन् । हरेक वर्षको बैशाख १३ मा मनाईने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको सो अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ । विभिन्न सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकाहरुलाई फरक फरक १३ विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । उक्त अवार्ड कार्यक्रमका अन्य विधाहरुमा स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, डेली लाईफ फोटो पत्रकारिता अवार्ड, राजनीतिक फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, अनलाईन फोटो पत्रकारिता अवार्ड, मोफसल फोटो पत्रकारिता अवार्ड , विजनेस फोटो पत्रकारिता अवार्ड , पर्यटन तथा सस्कृति अवार्ड र एनएफपीजे एक्टिभ मेम्बर अवार्ड हुनेछन् । एनएफपीजे एक्टिभ मेम्बर अवार्ड बाहेक बांकी उत्कृष्ट दस विधाका विजेताहरुबाट छानिएका एक जना सर्वोकृष्ट फोटोपत्रकारलाई “वर्ष उत्कृष्ट फोटो पत्रकार अवार्ड” बाट सम्मानित गरिने एनएफपीजेले जनाएकोछ । पुरस्कार प्राप्त गर्नका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाईन लगायतका सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरुले खुल्ला रुपमा एनएफपीजेको कार्यालयमा आवेदन दिनसक्ने बताइएको छ । २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा उक्त पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ ।

यथास्थितिमा निर्वाचनमा जान सकिँदैन: नेता महतो

चितवन, चैत ३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताउनुभयो । आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उहाँले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने बताउनुभयो । सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै उहाँले मधेसी मोर्चा आन्दोलनतर्फ जाने बताउनुभयो । उहाँले आन्दोलन, बन्द–हडतालको विकल्पको खोजी भइरहेको पनि बताउनुभयो । नेता महतोले जनताको बीचमा रहेको आन्दोलनलाई अघि बढाउने बताउनुभयो । नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उहाँले तराईमा निषेधको राजनीति मधेसी मोर्चाले नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले कुनै पनि दललाई निषेध गर्न सक्छन् ।” एमालेले तराईका जनताका विरुद्धमा काम गरेको आरोप लगाउँदै उहाँले त्यसको प्रतिवादमा जनता आएको बताउनुभयो । एमालेको जिद्दीपनका कारण समस्या आएको पनि उहाँले आरोप लगाउनुभयो ।

‘संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने’ !

चितवन, चैत ३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा चुनाव सहभागी नहुने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष महतोले सरकार र मधेसी मोर्चाबीचमा भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन मोर्चाले फिर्ता लिएको बताए । आफ्ना माग पूरा नगरी सरकारले जबर्जस्ती निर्वाचनको मिति घोषणा गरेको भन्दै उनले माग पूरा नभए निर्वाचनमा समेत असहयोग गर्ने चेतावनी दिए । सरकारले गरेको त्रुटि सच्याउनुपर्ने भन्दै महतोले सरकारले पेल्ने रणनीति लिए मधेसी मोर्चाले आन्दोलन चर्काउने बताए । तर, मोर्चाले अब गर्नेआन्दोलनमा, बन्द–हडताल नगर्ने बताए नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियानप्रति लक्षित गर्दै उमहतोले भने ‘तराई मधेसमा कुनै पार्टीलाई निषेध गरिएको छैन एमालेलाई पनि गरिदैन ।’ तर जनताले कुनै पनि दललाई निषेध गर्न सक्ने सम्भावन रहेको उनले बताए । एमालेले तराईका जनताका विरुद्धमा काम गरेको अध्यक्ष महतोले आरोप लगाए । एमालेको जिद्दीपनका कारण तराई मधेसमा स्थानीय जनाता प्रतिवादमा उत्रिएको उनले बताए । रासस

उपप्रधानमन्त्री थापाले भने- संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिन जुटौं

काठमाडौँ, चैत ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनकाबारेमा पार्टीको पूर्ववर्ती अडान यथावत् रहेको बताएका छन् । पार्टीले स्थानीय तहको निर्वाचनका लागि दृष्टिगत गरेर केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘अनुशिक्षण कार्यक्रम’ मा उनले भने- “सीमाङ्कनको विषय स्थानीय चुनावसँग सरोकार नराख्ने भएकाले यसलाई थाँती राखेर अगाडी बढ्नुपर्दछ ।” उपप्रधान एव्म सङघीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका अध्यक्ष थापाले भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयलाई सामान्य परिमार्जनसहित अगाडि बढाउन सकिने बताए । “संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनु अहिलेको राष्ट्रिय आवश्यकता हो” उनले प्रजातान्त्रिक अभ्यास गर्ने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन भएकाले यसवाट कोहि पनि टाढा रहनु हुन्न, यसका लागि सरकार हदैसम्म लचकदार बन्न तयार छ, उनले भने । मन्त्री थापाले त्यसैले मुलुकलाई बचाउन र बनाउन सबै तिक्ततालाई चटक्कै बिर्सी निर्वाचनमा होमिन सबैसंग आग्रह गरे । अध्यक्ष थापाले स्थानीय चुनावका लागि स्थानीय तहमा आवश्यक वातावरण तयारी गर्न पार्टीका नेताहरुलाई काठमाडौँ छाडेर सम्बन्धित जिल्लामा चाँडो जान निर्देशन दिए । उनले प्रधानमन्त्रीसँग भएको भेट र छलफलबारे ७५ वटै जिल्लाका केन्द्रीय नेतालाई जानकारी गराउनुभएको पार्टीका सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

अंग्रेजी परीक्षामा नौ बोरा चिट बरामद

गौशाला, चैत ३ । देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा चिट बरामद भएको छ । परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । रासस

११ महिनादेखि साउदीको जेलमा नेपाली युवा, जीवन रक्षाको लागि सरकारसंग अपिल

इलाम, चैत ३ । यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन् । दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई साउदीस्थित नदिम रियादको कारागारमा रहेको उनका दाजु चक्रबहादुर राईले जानकारी दिनुभयो । कम्पनीले आफूमाथि गलत आरोप लगाएर बिनाकारण यातना दिएको प्रेमको भनाइ उद्धृत गर्दै चक्रबहादुरले बताउनुभयो । सन् २०१२ मा साउदी गएका राई सन् २०१६ जनवरीमा दोस्रो पटक सोही कम्पनीमा गई गाडी चलाउन थालेका थिए । अल सहलावी कम्पनीमा काम गर्दै आएका राईले लहरी (गाडी)मा केवल तार लिएर जाँदा कम्पनीबाट १० किलोमिटर टाढा साथीको कोठामा निस्किएका बेला गाडीसहित सामान चोरी भएको थियो । उनले चोरी लगत्तै कम्पनी र प्रहरीलाई जानकारीसमेत दिएका थिए । चोरी भएको दुई दिनपछि १० किमी टाढा रोमा भन्ने स्थानमा लहरी भेटिए पनि केवलको तार नभेटिएको चक्रबहादुरले जानकारी गराउनुभयो । सोही आरोपमा प्रहरीले दुई महिना कैद र ५० कोर्रा सजाय सुनाएको थियो । सो भुक्तान भएपछि पुनः चोरी गरेको आरोपमा कम्पनीले विमानस्थलबाटै पक्राउ गरी तीन लाख दस हजार रियाल जरिवाना सुनाई हालसम्म कारागारमा राखिएकाले दैनिक शारीरिक र मानसिक पीडा सहेर बस्नुपरेको प्रेमका दाजु चक्रले दुखेसो पोख्नुभयो । राजदूतावासका इन्चार्ज आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा पनि भाइलाई छुटाउन नसकेको चक्रको भनाइ छ । क्राउन इम्प्लोयमेन्ट प्रालि काठमाडौँको सम्पर्क कार्यालय शनिश्चरे रोड, बिर्तामोडबाट प्रेम लहरी ड्राइभिङमा साउदी गएका थिए । उनलाई राजकुमार नामका एजेन्टले विदेश पठाएको हुँदा उनीमार्फत कम्पनीमा निर्दोष रहेको प्रमाणित गराउन सहयोगको अपेक्षा गर्दासमेत सहयोग नपाएको चक्रबहादुर गुनासो गर्छन् । रासस –––––––

सप्तरीका एलडिओसँग स्पष्टीकरण माग

काठमाडौँ, चैत २ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह कार्यान्वयनमा असहयोग गरी कार्यालयमा अनुपस्थित भएको जनाउँदै आज सप्तरीका स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलसँग स्पष्टीकरण सोधेको छ । मन्त्रालयले स्थानीय तह शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ अनुसार स्थानीय तहबाट तत्काल सेवा प्रवाहलाई निरन्तरता दिन आवश्यक तयारी गर्नुपर्ने भएकाले सबै स्थानीय विकास अधिकारीलाई जिल्ला÷कार्यालय नछोड्न दिएको निर्देशन पालना नगरेको भन्दै (सचिवस्तरीय निर्णयबाट) पोखरेलसँग स्पष्टीकरण सोधिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले बताउनुभयो । मन्त्रालयले गत फागुन २४ गते सबै स्थानीय विकास अधिकारीलाई स्थानीय तहको कार्यान्वयनमा सहजीकरण गर्न आफू कार्यरत जिल्ला÷कार्यालय नछाड्न तथा बिदा÷काजमा भएको भए यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन दिँदै स्थानीय तह कार्यान्वयन नहुँदासम्म बिदा÷काज स्वीकृत नहुने जनाएको थियो । “मन्त्रालयले दिएको निर्देशन पालना नगरी लामो समयदेखि हालसम्म के कति कारणले आफू कार्यरत कार्यालय छाडी गैरहाजिर हुनुभएको हो, तपाईंलाई निजामती सेवा ऐन, २०४९ (संशोधनसहित)को दफा ६० को (क) र (घ) मा उल्लेखित अभियोगमा ऐनको दफा ५९ को (क) २ बमोजिम विभागीय सजाय किन नगर्ने, सोको चित्तबुझ्दो कारणसहित सात दिनभित्र स्पष्टीकरण पेस गर्न सूचित गरिन्छ”, जारी सूचनामा भनिएको छ । रासस

मोर्चासँग प्रधानमन्त्रीको यस्तो आग्रह

काठमाडौं, चैत २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी मोर्चाका नेताहरुलाई आपसी छलफल र सहमतिका साथ राजनीतिक मुद्धाहरुको सम्बोधनका लागि जुट्न आग्रह गरेका छन् । आन्दोलनरत मधेशी मोर्चासंग सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्रीले सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको संबिधान संशोधन प्रस्ताव तत्काल यथाअवस्थामा दुई तिहाईवाट पारित हुने स्थिति नरहेकाले हाललाई सिमाङ्कनको विषय प्रदेश र केन्द्रको चुनाव अगाडि नै आयोगमार्फत् टुंग्याउने गरी अन्य संशोधनका बुँदाहरु परिमार्जनसहित पारित गराउन सहमतिमा आउन आग्रह गरेका हुन् । प्रधानमन्त्रीले तत्कालका लागि सिमांकन बाहेकका विषयमा संविधान संसोधन गरी स्थानीय तहको निर्वाचनमा जुट्न मधेशी मोर्चालाई आग्रह गरेका थिए । मधेशी मोर्चाका नेताहरुले मोर्चाको बैठक बसेर प्रधानमन्त्रीको प्रस्तावका विषयमा छलफल गरी औपाचारिक जवाफ दिने बताएका छन् ।

आरआर क्याम्पसमा स्ववियु चुनाव गराउन सर्वोच्चको आदेश

काठमाडौं, चैत २ । सर्वोच्च अदालतले काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गराउन निर्देशन दिएको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आरआरका उम्मेदवार टपेन्द्रबहादुर शाहीले दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आरआरमा चुनाव गराउन त्रिभुवन विश्वविद्यालयलाई अन्तरिम आदेश दिएको हो । फागुन १८ गतेका लागि तोकिएको चुनाव हुन नसेपछि क्याम्पस प्रशासनले २३ गते चुनाव गर्ने तयारी गरे पनि सुरक्षाकर्मीको अवरोधका कारण चुनाव हुन नसकेपछि शाहीले मुद्दा दायर गरेका थिए । सर्वोच्चले फागुन २३ गते चुनाव हुन नसक्नुको कारण पेश गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आदेश दिएको छ ।

प्रधानमन्त्रीले भने, ‘लोडसेडिङ्ग अन्त्य, उज्यालो यूगको सुरुआत हो’

काठमाडौ, चैत २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ्ग अन्त्य अँध्यारो यूगको अन्त्य भई उज्यालो यूगको सुरुआतको प्रतिक भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘लोडसेडिङको अन्त्य नितान्त प्राविधिक कुरा मात्र नभएर समग्र विकासलाई नयाँ गतिदिने सुरुआत हो ।’ नेपाल औषधी विक्री प्रवन्धक संघको सम्मानपत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो प्रतिकात्मक रुपमा अँध्यारो यूगबाट उज्यालोमा लैजाने यूगको सुरुआत हो ।’ उनले थपे, ‘देशलाई पछौटे राख्नु हुँदैन, नयाँ गतिमा देशलाई अगाडि बढाउनुपर्छ भन्ने संकल्प हो ।’ प्रधानन्त्री प्रचण्डले देशमा चौविसै घण्टा विद्युत उपलब्ध गराउन कठोर निर्णय गरेको भन्दै नेपालमा औषधी विक्रेताहरुको संस्था नेपाल औषधी विक्री प्रवन्धक संघले उनलाई सम्मान गरेको हो । यो सम्मानबाट सरकारलाई अझ गम्भिर रुपले काम गर्न जिम्मेवारी दिएको चुनौतीका रुपमा आफूले लिएको प्रधानमन्त्री दाहालले बताए । ‘यो समग्र विकासलाई नयाँ गति दिने सुरुआत हो, अझ धेरै गर्न बाँकी छ’ ‘प्रचण्ड’ले भने । अन्धकारबाट मुक्त हुँदा नेपालमा विभिन्न खालका औषधीहरु सुरक्षित राख्न सकिएकाले व्यवसायी र बिरामीलाई ठूलो राहत पुगेको संगठनका अध्यक्ष सुजित दत्तले बताए ।