एमालेको मेची-महाकाली अभियान देश बिखण्डन र राष्ट्रिय एकता तोड्न: उपेन्द्र यादव

राजविराज, फागुन २९ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको मेची–महाकाली राष्ट्रिय अभियान राष्ट्रिय एकता तोड्ने र देश विखण्डनको विजारोपण गर्न गरिएको आरोप लगाएका छन् ।

सप्तरी घटनामा मारिएका पाँचजनाको शव यात्रामा सहभागी हुन शनिबार राजविराज आएका यादवले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा संघीय गठबन्धन र मधेसी मोर्चाले अब राष्ट्रिय चरित्रको आन्दोलन गर्ने चेतावनी दिए ।

सप्तरी घटनामा नेपालीलाई ताकेर गोली हान्न लगाउने एमालेको शासकवादी तथा नश्लीय चरित्रलाई उदांगो पारेको आरोप लगाए ।

‘मधेसीलाई हेर्नेवित्तिकै अनुहारकै कारण प्रहरी प्रशासनलाई एर्लजी हुने गरेको छ’ यादवले भने ‘जुन नश्लवादी चिन्तनको उपज हो’ उनले भने ।

यादवले भेदभाव र असमानता रहुञ्जेल संघर्ष जारी रहने बताए । उनले भने– ‘काले भारतीय, विदेशी र माखे लगायतका अपमानित गर्ने शब्द प्रयोग गरी एमालेले विगतमा मधेशी जनतालाई आक्रोशित बनाए जसको परिणामस्वरुप एमालेको विरुद्धमा मधेसमा जनमत बनेको हो ।’

एमाले नेताहरुको सामूहिक हत्या गर्ने आरोपको यादवले खण्डन गरे । ‘एमालेसित मुठभेड भएको होइन्, एमालेको उक्साहटमा सरकारले गोली चलाएर पाँचजनाको नरसंहार गरेको हो ।’

सप्तरीको मलेठमा मधेसी जनतामाथि गोली प्रहार गरेर सरकारले मधेसी जनताविरुद्ध युद्धको घोषणा गरेको यादवले बताए । उनले मधेसी जनताविरुद्ध सरकारले गरेको युद्धको घोषणा मधेसी जनता दिन तयार रहेको बताए ।

उनले भने, ‘राजनैतिक शिष्टाचार अनुरुप एक हप्ताको समय दिएका हौं, त्यो अवधीमा माग पूरा नभए राष्ट्रिय रुपमै आन्दोलनको घोषणा हुन्छ, जसको संकेत २७ फागुनको बन्दले देखाइसकेको छ ।’

कञ्चनपुरमा एसएसबीको गोली लागि नेपालीको मृत्यु भएको सन्दर्भमा यादवले स्पष्टिकरण दिए । कञ्चनपुर घटनाका बारेमा सरकारले छानबिन गरी जवाफ दिनुपर्छ, भारत सरकारले आफ्नो तर्फवाट गोली नचलाइएको बताइरहेकाले स्पष्ट के हो सरकारले जवाफ दिनुपर्छ ।’ उनले एकातिर नेपाली जनतालाई गोली ठाकेर मार्ने अर्कोतिर कञ्चनपुरमा नेपाली जनतालाई सुरक्षा गर्न नसक्ने सरकार असक्षम भएको आरोप लगाए ।

आफूहरु निर्वाचनविरोधी नभएको बताउँदै यादवले भने, ‘संविधान संशोधन, प्रादेशिक संरचना र स्थानीय तह पुनर्संरचनाको विवाद नमिलेसम्म निर्वाचन हुन सक्दैन, हुन दिँदैनौ ।’

गच्छदार पनि ‘सरकारमा’

काठमाडौं, फागुन २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुर्‍याउन मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० लाई सरकारमा ल्याउने तयारी गरेका छन्। मधेसी मोर्चाको सातदिने अल्टिमेटम गुज्रिँदै गर्दा सत्ता गठबन्धन जोगाउन राप्रपा नेतृत्वलाई मन्त्रिपरिषद्मा सामेल गराएका प्रमुख सत्तारूढ पार्टी कांग्रेस र माओवादी केन्द्रले फोरम  (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई समेत सरकारमा ल्याउने तयारी गरेका हुन्। स्रोतका अनुसार मन्त्रालय र मर्यादाक्रमका विषयमा कुरा मिल्नासाथ गच्छदार सरकारमा आउनेछन्। गच्छदारले मन्त्रिपरिषद्मा आफू दोस्रो मर्यादाक्रममा हुनुपर्ने र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउनुपर्ने माग गर्दै आएका छन्। अहिले कांग्रेसबाट सरकारमा नेतृत्व गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीपछिको मर्यादाक्रममा छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि कांग्रेसकै भागमा छ । मर्यादाक्रम छाड्न गृहमन्त्री निधि र भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयबाट अन्य मन्त्रालयमा सर्न लेखक नमानेकाले गच्छदारको सिंहदरबार प्रवेशमा ढिलाइ भएको स्रोतको दाबी छ। प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच संशोधन प्रस्तावको पक्षमा संसद्मा दुई तिहाइ मत पुर्‍याउन गच्छदारसहित अन्य साना दललाई सरकारमा ल्याउने विषयमा निरन्तर छलफल चलिरहेको छ । संविधान संशोधन नगरिकन मधेसमा निर्वाचन सम्भव नदेखेपछि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा दुई तिहाई पुर्‍याउन खेलमा केन्द्रित हुन थालेको कांग्रेसका एक नेताले बताए। सत्तारूढ राप्रपा र प्रधानमन्त्री निर्वाचनमा मत हालेको फोरम लोकतान्त्रिकले यथास्थितिमा संविधान संशोधनको पक्षमा मत हाल्न नसक्ने अडान राख्दै आएका थिए। दाहाल र देउवाले संशोधनको पक्षमा दुई तिहाइ पुर्‍याउन संसदको चौथो ठूलो दलका अध्यक्ष कमल थापालाई उपप्रधान र स्थानीय विकासमन्त्री दिएर मन्त्रिपरिषद्मा सामेल गरिसकेका छन्। पाँचौं ठूलो दल फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको प्रवेशसँगै अन्य केही साना दललाई पनि सरकारमा ल्याउने र प्रमुख प्रतिपक्ष एमालेबाहेक पनि संविधान संशोधनको पक्षमा दुई तिहाई पुर्‍याउने योजना सत्तारूढ दलको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री लेखकले गच्छदारलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको स्विकारे। कहिले ल्याउने र कुन मन्त्रालय दिनेबारे आफूलाई जानकारी नभएको उल्लेख गर्दै लेखकले भने, ‘मन्त्रिपरिषद् विस्तार सरकार टिकाउनका लागि मात्रै नभएर सरकारले प्रस्तुत गरेको संविधान संशोधन पारित गर्न हो।’ आजको कान्तिपुरबाट

निर्वाचनपछि मुलुकको राजनीति सफा हुन्छः प्रधानमन्त्री

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा निर्वाचनपश्चात राजनीतिक सफा हुने बताएका छन् । सिंगै मुलुक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जुटेको दावी गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमार्फत् मुलुकको राजनीति सफा हुने विश्वास पनि व्यक्त गरेका छन् । बागमति सफाई महाअभियानको २०० औं हप्तामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रचण्डले निर्वाचनलाई सम्पन्न गर्न स्थानीय तहले स्वयम्सेवी भावनाका साथ काम गर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाल विभिन्न संस्कृतिले धनी मुलुक रहेको उल्लेख गर्दै यसको संरक्षण र संवद्र्धन गर्न नेपालीहरु आफै सक्षम रहेको पनि उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले नेपालीहरुले कहिल्यै पनि कसैसँग नझुकेको ऐतिहासिक तथ्य उल्लेख गर्दै आत्मा सम्मानका साथ बाँच्न नेपालीहरु सधैं प्रतिवद्ध रहेको पनि स्मरण गराए ।

कञ्चनपुर घटनाबारे जनताले आन्दोलन गरिराख्नु आवश्यक छैन : गृहमन्त्री

काठमाडौं, फागुन २८ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कन्चनपुर घटनाबारे सरकारले भारतसँग कुरा गरिरहेकाले अहिले जनस्तरबाट आन्दोलन गरिरहनुपर्ने अवस्था नभएको बताएका छन् । आवश्यक परे सरकारले नै जनतालाई आन्दोलनका लागि आह्वान गर्ने स्पष्ट पार्दै गृहमन्त्री निधिले सीमावर्ती क्षेत्र कैलाली र कन्चनपुरमा भइरहेका आन्दोलन रोकेर संयमता अपनाउन आग्रह गरेका छन् । शनिवार मन्त्री निधिले मिडियासँग कुरा गर्दै भारतसँगको सहमतिमै कल्भर्ट बनाइएकाले भारतले सहमतिविपरीतको काम गर्नु निन्दनीय भएको बताएका छन् । उपप्रधानमन्त्री निधिले राष्ट्रिय एकता, अखन्डता र सीमारक्षाका विषयमा सरकारले कसैसँग सम्झौता नगर्ने स्पस्ट पारे । उनले भारतीय उच्चतहमै सीमाकाबारेमा कुरा भइरहेको बताए । सीमा विवादलाई दीर्घकालीनरुपमै समाधानको पहल गरिनुपर्ने उनको भनाइ थियो ।

एसएसबीद्वारा हत्या गरिएका गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

कञ्चनपुर, फागुन २८ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । गत बिहीबार कञ्चनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो । गौतमलाई शुक्रबार शहिद घोषणा गर्दै सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । सरकारबाट शहिद घोषित गौतमलाई ११ तोपको सलामी दिएर अन्त्यष्टि गरिने भएको हो । गौतमको शव हाल सेती अञ्चल अस्पतालमा राखिएको छ । उनको शनिबार पोष्टमार्टम भएको छ । अस्पताल परिसरबाट आइतबार बिहान साढे ८ बजे उनको शवयात्रा निकालिनेछ । शवयात्रा शहरका बिभिन्न स्थान परिक्रमा गर्दै दोधा नदीमा पुग्नेछ र सोही नदी किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । नेपाल-भारत सीमाको कल्भर्ट जहाँ एसएसबीले गोविन्द गौतमलाई गोली हानेको थियो उता कञ्चनपुरको आनन्दबजार आज पनि दिनभर तनावग्रस्त रहृयो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आनन्दबजार क्षेत्रलाई विहान ९ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेपनि स्थानियहरु प्रदर्शनमा उत्रिएका थिए । सीमा क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद भएपछि सीमा क्षेत्रका भारतीय र नेपालीबीच झडप भएको थियो ।

सहाराले दियो रेडक्रसलाई १७ लाखको कम्पोनेन्ट मेशीन, ४३ औं अधिवेशन सम्पन्न

बिर्तामोड, फागुन २८ । नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका लागि सहारा नेपाल साकोसले १७ लाख मूल्य पर्ने कम्पोनेन्ट मेसिन हस्तान्तरण गरेको छ । रेडक्रस झापाको ४३औं जिल्ला अधिवेशन उद्घाटन समारोहको अवसरमा शनिबार सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेल र प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले रेडक्रस झापाका सभापति लोकराज ढकाललाई उक्त मेसिन हस्तान्तरण गरे । रगतमा रहेका तत्व वर्गीकरण गर्ने उक्त कम्पोनेन्ट मेसिनको समारोहका प्रमुख अतिथि झापा क्षेत्र नं.२ बाट निर्वाचित सांसद सुधीरकुमार शिवाकोटीले शनिबार नै उद्घाटन गरे । रेडक्रस अधिवेशनको समेत सांसद शिवाकोटीले उद्घाटन गरेका थिए । १६ लाख ८९ हजार ३ सय ५० रुपैयाँ मूल्यको उक्त मेसिन सहाराले रेडक्रसको बिर्तामोडस्थित रक्तसञ्चार सेवालाई प्रदान गरेको हो । सोही प्रकारको मेसिन स्वास्थ्य मन्त्रालयले समेत प्रदान गर्न लागेको उक्त अवसरमा जानकारी दिइयो । कम्पोनेन्ट मेसिनबाट रक्तदाताले उपलब्ध गराएको १ युनिट रगतबाट बिरामीलाई रगतको जुन तत्वको आवश्यकता भएको हो सोही तत्व उपलब्ध गराउन सकिने बताइएको छ । अब १ युनिट रगतको वर्गीकरणबाट बन्ने विभिन्न चार प्रकारका तत्वहरुबाट चार जना बिरामीलाई एकैसाथ सेवा पुर्याउन सकिने सभापति ढकालले बताए । कम्पोनेन्ट मेसिनले रगतमा रहेको तत्वहरु डब्लुबीसी, आरबीसी, प्लेटलेट र प्लाज्मालाई वर्गीकरण गर्नेछ । जसलाई जुन तत्व आवश्यक भएको हो त्यही मात्र उपलब्ध गराइने रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिए । रेडक्रस झापाले उक्त अवसरमा रेडक्रसको दमक उपशाखालाई उत्कृष्ट प्रथम र बुधबारेलाई द्वितीय घोषणा गरी क्रमशः नगद १५ हजार १० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ । वर्षभरिमा उत्कृष्ट रक्तदान गर्ने तीन संस्थालाई समेत रेडक्रसले सम्मान गरेको छ । यसवर्ष उत्कृष्ट रक्तदान गर्ने संस्थाको रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)लाई सम्मान गरियो । १ सय ४८ जनाले एनएमसी मार्फत रक्तदान गरेका थिए । संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सम्मान ग्रहण गरेका थिए । त्यस्तै नेपाली कांग्रेसले मेचीनगरमा आयोजना गरेको स्वास्थ्य महोत्सव समितिलाई दोस्रो उत्कृष्ट रक्तदाता र महेन्द्र बहुमुखी क्याम्पस इलामको युवा रेडक्रस समितिलाई तेस्रो उत्कृष्ट रक्तदाता संस्थाको सम्मान प्रदान गरियो । ती संस्थाबाट क्रमशः १०६ र ९६ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सांसद शिवाकोटीले प्राकृतिक विपद र द्वन्द्वका समयमा रेडक्रसले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले मानवीय सेवामा रेडक्रसले पु¥याएको योगदान अनुकरणीय रहेको बताउँदै रेडक्रस अभियानले मानिसलाई सेवामार्गमा लाग्न प्रेरित गरेको जनाए । समारोहका अध्यक्ष रेडक्रस झापाका सभापति लोकराज ढकालले नेपालमा रेडक्रस कानून नहुँदा धेरै समस्या भएको बताउँदै अरु देशमा झैं रेडक्रस कानून बनाएर लागू गर्नुपर्नेमा जोड दिए । रेडक्रस झापाका उपसभापति मित्रदेव काफ्ले स्वागत गरेको कार्यक्रममा मन्त्रि कृष्णकुमार मैनालीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष बद्रीबहादुर कार्कीले ८७ लाख रुपैयाँको बितेको वर्षको आय–व्यय विवरण प्रस्तुत गरे । उनले रेडक्रसका विभिन्न कोषमा ८६ लाख ५५ हजार ५ सय ६८ रुपैयाँ रहेको जनाउँदै आर्थिक वर्ष २०७३/०७४ का लागि १ करोड २४ लाख ६४ हजार रुपैयाँको बजेट समेत प्रस्तुत गरे । शनिबार नै सम्पन्न बन्दसत्रले मन्त्रि मैनाली र कोषाध्यक्ष कार्कीको प्रतिवेदन पारित गरेको छ । मन्त्रि मैनालीका अनुसार रेडक्रस झापाले लैंगिक तथा सामाजिक समावेशीकरण, विपद तथा संकट व्यवस्थापनका लागि राहत तथा उद्धार सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै एकीकृत विपद उत्थानशील कार्यक्रम, कनकाई नदी तटीय, बाढी उत्थानशील सवलीकरण कार्यक्रम, ट्रेसिङ सेवा, स्वास्थ्य सेवा, प्राथमिक उपचार सेवा, एम्बुलेन्स सेवा, रक्तसञ्चार सेवा, स्वास्थ्य शिविर, शव वाहन सेवा, सर्पदंश उपचार सेवा, दादुरा रुबेला खोप अभियान, सञ्चार तथा मानवीय मूल्य प्रबद्र्धन, जुनियर तथा युवा रेडक्रस विकास, प्राथमिक उपचार र सडक सुरक्षा सप्ताह रेडक्रस झापाले सञ्चालन गर्दै आएका कार्यक्रम हुन् । २०२५ साल चैत १६ गते स्थापित रेडक्रस झापा शाखा अन्तर्गत हाल १३ वटा समिति, उपसमिति २६ उपशाखा, ६५ यसस्कर सदस्य १२५ विशिष्ट सदस्य, ८१२० आजीवन सदस्य, १४ संस्थागत सदस्य, १४ युवा रेडक्रस सर्कल, ७१ जुनियर रेडक्रस सर्कल र परियोजनासहित ३९ जना कर्मचारी रहेका छन् ।

सप्तरीको मलेठमा मारिएका पाँच जनाको सामूहिक शवयात्रा, शनिबार नै अन्त्यष्टि

राजविराज, फागुन २८ । सप्तरीको मलेठमा प्रहरीको गाली लागी ज्यान गुमाएका पाँच जनाको शनिबार सामूहिक शवयात्रा निकालिएको छ । गत सोमबार एमालेको सप्तरीमा भएको मेची महाकाली अभियानको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको सभा बिथोल्नविथोल्न खोज्दा प्रहरीसँग झडप हुँदा उनीहरुको ज्यान गएको थियो । राजविराजस्थित गजेन्द्रनारायण चोकबाट निस्केको शवयात्रा पूर्व–पश्चिम राजमार्गअन्तर्गत भारदह कञ्चनपुर रुपनी हुँदै सिराहको लाहानसम्म जाने र त्यसपछि सप्तरी ल्याएर शनिबार नै अन्त्यष्टि गरिने कार्यक्रम छ । राजविराज घटनामा मोर्चाका कार्यकर्ताहरु सन्जन मेहता, पीताम्बर मण्डल, आनन्द साह, इनरदेव यादव र वीरेन्द्रकुमार महतोको मृत्यु भएको थियो । शवयात्रामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा लगायत मोर्चाका शीर्ष नेताहरु सहभागी छन् । प्रहरीले गोली चलाउँदा सोमबार तीनजना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो भने २४ जना कार्यकर्ता घाइते भएका थिए । त्यसपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा अन्य दुईको मृत्यु भएपछि सप्तरी घटनामा मृतकको संख्या ५ पुगेको छ ।

वर्षाले खेल रोकियो

काठमाडौँ, फागुन २८ । आइसीसी वल्र्ड क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत नेपाल र केन्याबीचको खेल वर्षाका कारण रोकिएको छ । शनिबार त्रिवि क्रिकेट मैदान किर्तीपुरमा नेपालले टस हारेर व्याटिङ गरिरहेको थियो । ३६ ओभरको खेल हुँदा वर्षाले खेल रोकिएको हो । पानी पर्न थालेपछि पिच कभर गरिएको छ। नेपाल ३६ ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै ११२ रन बनाउँदै खेलिरहेको छ।

कञ्चनपुरको पुनर्वासमा निषेधाज्ञा जारीपछि स्थानियद्धारा बिरोध, ठाउँठाउँमा झडप

कञ्चनपुर, फागुन २८ । कञ्चनपुरको पुर्नवास नगरपालिमामा प्रसाशनले  लगाएको कर्फ्युको बिरोधमा स्थानियहरुले प्रदर्शन गरेका छन । स्थानियहरुले निषेधाज्ञाको बिरोध गर्दै प्रदर्शन गर्नथालेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको छ । निषेधाज्ञाको बिरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच ठाँउ ठाउँमा झडप भएको खबर छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले स्थानीय गोविन्द गौतमको हत्या गरेको विरोधमा प्रर्दशन जारी भएपछि कञ्ननपुरको पुनर्वास नगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको थियो ।  

एमालेले चितवन र नवलपरासीमा सभा गर्दै

चितवन, फागुन २८ । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज चितवन र नवलपरासीमा सभा गर्ने भएको छ । शुक्रबार मकवानपुरको हेटौडामा सभा गरेको एमालेले शनिबार दुई जिल्लामा गर्न लागेको हो । सप्तरीको मलेठ घटनापछि तीनदिलाई सभा स्थगित गरेको एमालेले तराई अन्य जिल्लामा भने सभा नगर्ने भएको छ । भरतपुर महानगरपालिकास्थित नारायणी नदी किनारको चौरमा मध्यान्न हुने सभालाई एमालेका शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् । सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायत नेता सहभागी हुने छन् । सो अघि एमालेले मकवानपुरसँगको सीमा क्षेत्र लोथरबाट शीर्ष नेता सहितको र्‍याली निकाल्ने तयारी गरेका छन् । एमालेले आजै प्रदेश नम्बर चार अन्तर्गत नवलपरासीको कावासोतीमा दिउँसो दुई बजेपछि सभा गर्ने कार्यक्रम राखेको छ । कावासोतीको खुल्लामञ्चमा हुने कार्यक्रमका लागि पूर्वपश्चिम राजमार्ग अन्तरगत गैंडाकोटस्थित नारायणी नदीको पुलबाट कार्यक्रमस्थल सम्म मोटरसाईकल र्‍याली गरिने र सभा गरिने तयारी भएको छ ।

पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी

कञ्चनपुर, फागुन २८ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले स्थानीय गोविन्द गौतमको हत्या गरेको विरोधमा प्रर्दशन जारी भएपछि कञ्ननपुरको पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानियले विरोधको प्रर्दशन जारी राखेकोले प्रदर्शन उग्र हुन नदिन निषेधाज्ञा जारी गरको जनाएको छ । आदेश नहुन्जेलसम्मका लागि पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिए । गत बिहीबार भारतीय एसएसबीले कल्र्भट निर्माण विषयमा भएको झगडगामा अन्धाधुन्दा गोली प्रहार गरि पुनर्वास नगरपालिका ८ का ३० वर्षीय गोविन्द गौतमको हत्या गरेको थिए । शनिबार सु्दूरपश्चिमका प्रमुख नाका गड्डाचौकी, गौरीफन्टासहित कञ्चनपुर, कैलालीका सीमा नाका बन्द गरिएको छ । सरकारले गौतमलाई शहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने, परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र बालबच्चालाई निःशुल्क उच्चशिक्षासम्म पढाउने निर्णय गरिसकेको छ । तर, पीडित परिवार र स्थानीयले शवको पोष्टमार्टम गर्न मानेका छैनन् ।

भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड र आगजनी

काठमाडौं, फागुन २८ । कञ्चनपुरमा भारतीय सीमा प्रहरीले नेपाली हत्या गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकासहित मुलुकभर केही मात्रामा देखिएको छ। आज बिहानै बन्दकर्ताले कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन्। यूपी ६५ एएम ०६५७ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन्। बन्दका कारण काठमाडौंका सडकमा सार्वजनिक सवारी साधन पर्याप्त गुडेका छैनन्। निजी सवारीसाधनको आवातजावत सामान्य रहेको प्रहरीले जनाएको छ। बन्दमा हुन सक्ने अप्रिय घटना हुन नदिन बिहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यस्तै फलफूल बोकेर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ४०–४४२४ नम्बरको मिनी ट्रकमा शुक्रबार राति तुलसीपुरको रानीघाट खोलामा आगजनी भएको छ । अज्ञात समूह आगजनी गरेर भागेको र उनीहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

विप्लव माओवादीद्वारा भारतीय नम्बर प्लेटको गाडी तोडफोड

काठमाडौं, २८ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिबार विहानै भारतीय गाडीमा तोडफोड गरेका छन् । पार्टीका कार्यकर्ताले काठमाडौंको गोंगबुमा एच पी ६४ ५०६६ नम्बरको भारतीय गाडी तोडफोड गरेका हुन् । कञ्चनपुरको पुर्नवासमा भारतीय भारतीय सुरक्षा बल नेपाली भूमिमा प्रवेश गरेर गोली हानी नेपाली नागरिक गोविन्द गौतमको निर्ममतापूर्वक हत्या गरिएको भन्दै त्यसको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता प्रकाण्डले भारतले नेपालमाथि गर्दै आएको हस्तक्षेप नरोकेमा लाजिम्पाटमा रहेको भारतीय दूताबासमा आक्रमण गर्ने चेतावनी दिएका थिए ।

अपर कर्णालीविरुद्ध सर्वोच्चमा अर्को मुद्दा

काठमाडौँ, फागुन २८ । गैरकानुनी, गैरसंवैधानिक ढंगले माथिल्लो कर्णाली जलविद्युत आयोजना पीडीएको म्याद थपिएको भन्दै खारेजीको माग गरी सर्वोच्चमा मुद्दा दायर भएको छ । कर्णाली जलधार क्षेत्रका जन्मदेवसहित पाँचको तर्फबाट डम्बरबहादुर रावलले आयोजना विकास सम्झौता (पीडीए( सम्बन्धी कार्यहरु राष्ट्रहित विपरित भएको भन्दै खारेजीको मागसहित रिट दायर गरेका हुन् । सरकार र जीएमआरबीच २०७१ असोज ३ गते दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरिसक्ने भन्दै पीडीए भएको थियो । दुई वर्षभित्र पनि जिएमआरले वित्तीय व्यवस्थापना गर्न नसकेको तर सरकारले थप एकवर्ष म्याद थपेर गैरकानुनी काम गरेको निवेदकको दाबी छ । ‘दुुई वर्षभित्र जीएमआर कम्पनीले वित्तीय व्यवस्थान गर्न नसकी पुनः एकवर्ष म्याद थपको माग लगानी बोर्डसमक्ष गरेको र लगानी बोर्डबाट एक वर्षे म्याद थप भएको कार्य हामी सरोकारवाला नागरिकहरुको सरोकार, चासो र चिन्ताको विषय भएको र उक्त कार्यले राष्ट्रिय महत्व राख्ने कर्णालीजस्तो व्यापक जनसरोकार र हक–हितमा आघात पारेकोले प्रत्यर्थीहरुबाट भए गरेका उक्त पीडीए सम्बन्धी कार्यहरु राष्ट्रहित विपरित गैरसंवैधानिक एवं गैरकानुनी भई बदरभागी छन् । बदर गरिपाउँ” निवेदनमा उल्लेख छ । शुक्रबार दर्ता भएको रिटमा माथिल्लो कर्णालीजस्तो महत्वपूर्ण आयोजना विद्यमान संविधान, कानुन, जनहित र राष्ट्रहितको भावनाअनुसार स्थानीय जनताको अधिकार संरक्षणको लागि आयोजनाको सर्वेक्षण, अनुमति, सम्झौता, निर्माण, म्याद थपलगायत आयोजनासँग सम्बन्धित सम्पूर्ण कार्य गर्न गराउन सरकारको नाममा परमादेशको माग निवेदकले गरेका छन् । सम्झौताअनुसार दुई वर्षमा लगानी जुटाउन नसकेपछि खारेज गर्नुको साटो म्याद थपेकाले रिट दायर गर्नु परेको निवेदक रावलले बताए । जीएमआरले २०७२ जेठ २२ गते म्याद थपको लागि निवदेन दिएको थियो । निवदेनको आधारमा लगानी बोर्डको २४ औं बैठकले २०७३ पुस २४ गते म्याद थप गरेको थियो । यसअघि पीडीए राष्ट्रहित विपरित भएको भन्दै कर्णाली जलाधार क्षेत्रका ३६ नाकरिकको तर्फबाट डम्बरबहादुर रावलले २०७१ असोज ८ गते दर्ता गरेको रिट निवेदन विचारधिन अवस्थामा छ । सर्वोच्चले रिट निवदेनको पेशी यही फागुन ३० गते विहान १० बजे तोकेको छ ।

२५ वर्षपछि देशभरका गाविस र नगरपालिका विघटन

काठमाडौं, फागुन २७ । सरकारले गाउँ विकास समिति र नगरपालिकाको संरचना भंग घोषणा गरेको छ । नवनियुक्त संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मुलुकभरका बिगत २५ वर्षदेखि अस्तित्वमा रहेका गाविसका संरचनाहरु भंग भएको घोषणा गरेका हुन्। ‘आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन् । अब गाउँपालिकाहरु अस्थित्वमा आएका छन्,’ उपप्रधान एवम् स्थानीय विकास मन्त्री थापाले भने। मुलुकमा आजबाट औपचारिक रुपमा ७ सय ४४ वटा स्थानीय तह बनेका छन् । सरकारले स्थानिय तह पुनर्संरचना सम्बन्धि प्रतिवेदनलाई आज राजपत्रमा प्रकाशित गरेसँगै पुरानो स्थानीय निकायको अस्तित्व समाप्त भई नयाँ तह कार्यान्वयनमा आएको हो । नयाँ संरचना अनुसार ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका बनेका छन् । यस्तै वडाको संख्या ६ हजार ६ सय ८० पुगेको छ । काठमाडौंसंगै पोखरा, ललितपुर र भरतपुर पनि अब महानगर बनेका छन् । स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह निर्धारण गर्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर २ नम्बर प्रदेशमा कम भएको गुनासोपछि सरकारले तत्कालिन स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा कार्यदल बनाएर त्यसकै सिफारिसका आधारमा संख्या बढाएको हो । यसअघि मुलुकमा ३ हजार १ सय ५७ गाविस र २ सय १७ नगरपालिका थिए । अब सबै कामहरु गाउँपालिकामार्फत हुनेछन् । यसअघिका गाविसहरु वडामा सीमित भएका छन्। अब गाउँ विकास समितिहरु गाभिएर गाउँपालिका बनेका छन्। गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुनेछ । यसअघिनै तत्कालीन स्थानीय विकासमन्त्री हितराज पाण्डेले जाँदा जाँदै स्थानीय तहको संरचनामा हस्ताक्षर गरी राजपत्रमा प्रकाशित गराइसकेका थिए।

गृहमन्त्रीको स्पष्टिकरणः सप्तरीमा बाध्य भएर प्रहरीले गोली चलायो

काठमाडौं, फागुन २७ । गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको राजविराजमा प्रहरीले बाध्य भएर गोली चलाएको बताएका छन् । शुक्रबार व्यवस्थापिका संसदमा जवाफ दिँदै उनले सप्तरीमा विरोधका लागि उत्रिएको जुलुसले कार्यक्रमस्थलको २ सय मिटर नजिक आएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाएको बताए । सरकारले कार्यक्रमस्थल भन्दा टाढै रोक्न कोशिश गर्दा गर्दै विरोधमा उत्रेका आन्दोलनकारीले आक्रमक हुँदै घरेलु हतियार प्रयोग गरी ४८ जना सुरक्षाकर्मी घाइते बनाएको बताए । नेपाल प्रहरीका ३१ र सशस्त्र प्रहरीका १७ जना सुरक्षाकर्मी घाइते भएका छन्। तत्काल सुरक्षाकर्मीले सबै उपाय अबलम्बन गर्दा पनि सुरक्षा घेरा तोडी कार्यक्रमस्थलमा प्रवेश गर्नसक्ने र त्यसले थप स्थिति तनावपूर्ण हुने अवस्था भएको कारण सुरक्षाकर्मीले गोली चलाएको बताए। सुरक्षा अधिकारीले स्थानीय सुरक्षा ऐन बमोजिम घुँडामुनी गोली चलाउन दिएको आदेश अनुसार चलाएको गोली लागेर एकको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा निधन भएको गृहमन्त्री निधिले जानकारी दिए । फागुन २३ गते सोमबार नेकपा एमालेद्वारा आयोजित मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजको सभा विथोल्न संघीय गठबन्धन सहितको मधेसी मोर्चासँगको झडपमा प्रहरीले गोली चलाउँदा पाँच जनाको ज्यान गएको थियो । घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले १० लाख प्रति परिवार क्षतिपूर्ति दिने निर्णय गरेको उनले बताए ।