साझामा ‘स्मार्ट ट्राभल कार्ड’को प्रयोग, अब मेसिनले नै भाडा उठाउने

काठमाडौ, चैत २ । लामो समयको परीक्षणपछि साझा यातायात आफ्नो बसमा ‘स्मार्ट ट्राभल कार्ड’ व्यवस्था गरेको छ । लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट उक्त ‘स्मार्ट ट्राभल कार्ड’को प्रयोग सुरु गरेको हो ।

बसको ढोकामा स्मार्ट कार्डबाट भुक्तानी लिने मेसिन जडान गरिएको र अब यात्रुहरुसँग उक्त मेसिनले नै भाडा उठाउने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिएका छन् ।

बसका ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको र अब सो रुटमा नियमित यात्रा गर्ने सर्वसधारणले पनि स्मार्टकार्ड किन्न पाउने छन् । सर्वसाधारणका लागि अब स्मार्ट कार्डबाटै भाडा तिर्न सक्ने पाण्डेयले बताए ।

सुरुवातमा एउटा रुटबाट सुरु गरिएपनि विस्तारै सबै रुटमा चल्ने बसमा यो सेवा सुरुवात गरिने उनले बताए ।

बस चढ्दा यो कार्ड पछिल्लो ढोकामा जोडिएको डिभाइसमा देखाउनुपर्नेछ भने ओर्लिँदा पनि यसलाई देखाउनुपर्नेछ ।

यसले आफैं यात्रा गरेको दूरीअनुसार भाडा काट्नेछ । यदि झर्दा कार्ड डिभाइसमा नदेखाए स्वतः २५ रूपैयाँ काटिनेछ ।

स्ववियु निर्वाचनले माओवादी आन्दोलनलाई नयाँ उचाईमा पुर्याएको छ: अखिल क्रान्तिकारी

ललितपुर, २ चैत्र । त्रिभुवन विश्वविद्यालयमा हालै भएको स्ववियु निर्वाचनको परिणामले माओवादी आन्दोलनलाई नयाँ उचाईमा पुर्याएको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेताहरुले बताएका छन् । आज लुभुस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा आयोजित स्वागत कार्यक्रममा वोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने– ‘यसपटकको स्ववियु निर्वाचनले माओवादी पुनर्जागरणको नयाँ अध्यायको थालनी गरेको छ।’   कार्यक्रममा अखिल क्रान्तिकारीका सचिव एवं ३ नं.प्रदेशका संयोजक विजय गौतमले क्रान्तिकारी विद्यार्थी आन्दोलन नयाँ र उज्यालो नेपालको अभियन्ता भएको चर्चा गरे । बस्नेतले देशका हजारौं विद्यार्थीवाट छानिएका अब्वल विद्यार्थी पढ्ने इन्जिनियरिङ अध्ययन संस्थानको केन्द्रीय क्याम्पस पुल्चोक, थापाथली, सानोठिमी लगायतका प्रमुख क्याम्पसमा जित्न सफल भएको चर्चा गर्दै क्रान्तिकारीको जीत माउ पार्टीका लागि प्रेरणादायी रहेको दावी गरे। कार्यक्रममा अखिल क्रान्तिकारीका सचिव एवं ३ नं.प्रदेशका संयोजक विजय गौतमले क्रान्तिकारी विद्यार्थी आन्दोलन नयाँ र उज्यालो नेपालको अभियन्ता भएको चर्चा गरे । त्यस्तै पुवाञ्चल विश्वविद्यालयका संयोजक गोपाल कार्कीले समग्र पुर्वाञ्चल विश्वविद्यालयमा अखिल क्रान्तिकारी पहिलो संगठन रहेको दावी गरे। सोही कार्यक्रमबाट आगामी कार्याकालका लागि सजु शिवाकोटीको नेतृत्वमा ४५ सदस्यीय नयाँ इकाई समिति निर्वाचित भएको कलेज इन्चार्ज उज्वल अधिकारीले बताए ।

प्रधानमन्त्री दाहालले सीमांकन बाहेकका संविधान संशोधन गरी चुनावमा जान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह

काठमाडौं, चैत्र २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमांकन बाहेकका संविधान संशोधन गरी चुनावमा जान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरेको छ । बुधबार बिहान मोर्चा र प्रधानमन्त्रीबीच भएको बैठकमा प्रधानमन्त्रीले सीमांकनबाहेकका बुँदा पारित गर्ने र त्यसलाई मानेर निर्वाचनमा जान मोर्चालाई आग्रह गरेका हुन् । बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकनबाहेकका विषयमा संशोधन गर्ने भन्दै प्रधानमन्त्रीले निर्वाचनमा सहभागी हुन मार्चालाई आग्रह गरेको जानकारी दिए । उनले मोर्चाको तर्फबाट बैठक बसेर मात्रै औपचारिक जवाफ दिने प्रधानमन्त्री दाहाल बताएका थिए । सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । प्रधानमन्त्री दाहालले मोर्चाका नेताहरुलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिनसमेत आग्रह गरेका थिए । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने–नगर्ने, आगामी आन्दोलनका कार्यक्रम कसरी अगाडि बढाउने र प्रधानमन्त्री दाहालसँग आज बिहान शीर्षनेताहरुले गरेको छलफलका विषयमा मोर्चाको बैठक बस्दैछ । मोर्चाको बैठक अहिले १ बजेका लागि तमलोपाको कार्यालय बिजुलीबजारमा बोलाइएको छ । सप्तरीमा एमालेको मेची महाकाली अभियानमा अवरोध पुर्‍याउन खोज्ने मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ५ जना प्रदर्शनकारीको ज्यान गएको थियो । सरकारले दमनकारी नीति लिएको र आफ्ना माग पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको सात दिनको अल्टिमेटम थियो । संविधान संशोधन प्रस्ताव पारित लगायतका आफ्ना माग पूरा नभए समर्थन फिर्ता लिने बताउँदै मोर्चा दिएको अल्टिमेटम मंगलबार सकिएको छ ।

स्थानीय तह कार्यान्वयनमा आएसँग सर्वसाधारणमा उत्साह

काठमाडौं, चैत २ । स्थानीय तह कार्यान्वयनमा आएसँगै सर्वसाधारणमा उत्साह छ । तह कार्यान्वयनसँगै स्थानीय तहको निर्वाचन तोकिएको मितिमै हुनेमा आशावादी देखिए । जिल्ला समन्वय समितिले २ नगर र १० गाउँपालिकाका लागि सोमबार कार्यकारी अधिकृत नियुक्ति गरेसँगै मंगलबारदेखि सबै कार्यालय सञ्चालनमा आएका छन् । सबै गाउँ र नगरपालिकाको बोर्ड फेरिएको छ । सबै नगर र गाउँपालिकामा कर्मचारी पुगेका छन् । ‘आज कार्यालय उद्घाटन गरियो,’ सबैभन्दा दुर्गम मानिएको कालीगण्डकी गाउँपालिका प्रमुख शिवहरि मरासिनीले भने, ‘अब कार्यालयको थप व्यवस्थापनका काम क्रमशः गर्छौं ।’ भुर्तुङ, खड्गकोट, फोक्सिङ, पूर्तिघाट, जयखानी, अर्बेनी र हर्मिचौरका सर्वसाधारणले सेवा लिने गाउँपालिकाको केन्द्र रहने पूर्तिघाट पूर्वाधारमा भने कमजोर छ । २ नगर र १० गाउँपालिकामध्ये मुसिकोट नगरपालिका सबैभन्दा ठूलो बनेको छ । ९ वडा रहेको मुसिकोटमा ३२ हजार ८ सय २ जनसंख्या छ । त्यस्तै रेसुंगा नगरपालिकाको वार्ड नं.१३ सबै भन्दा कम ९ सय १६ जनाको वडा बनेको छ । रेसुङगाकै वडा नं.५ मा पनि १ हजार ६ सय ६० मात्र जनसंख्या छ । जिल्लामा केन्द्र माग गर्दै झन्डै एक साता आन्दोलन गरेका तुराङ, आँपचौर र रूपाकोटका सर्वसाधारणलाई आयोगले तुराङ र रूपाकोटलाई चन्द्रकोट गाउँपालिका र आँपचौरलाई मुसिकोट नगरपालिकामा गाभेको छ । भौगोलिक बनावट मिलेको भए पनि पूर्वाधार र विकासमा अगाडि रहेको तुराङको मजुवामा केन्द्र हुनुपर्ने स्थानीयको माग थियो । जिल्ला समन्वय समिति प्रमुख तथा स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले जिल्लाका सबै नगर र गाउँपालिकामा मंगलबारदेखि नै कार्यालय स्थापना भइसकेको बताइन् ।

ऊर्जामन्त्री शर्मा सम्मानित

काठमाडौँ, चैत २ । मुलुकमा चर्को रुपमा रहेको विद्युत्भार कटौतीलाई अन्त्य गरेर २४ सै घन्टा विद्युत् उपलब्ध गराउन नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्गठनले ऊर्जामन्त्री जनार्दन शर्मालाई सम्मान गरेको छ । ऊर्जा मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा उहाँलाई आगामी दिनमासमेत देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न र मुलुकको ऊर्जा क्षेत्रमा विशेष योगदान दिन आग्रह गर्दै तामपत्रबाट सम्मान गरेको हो । सङ्गठनका काठमाडौँ अध्यक्ष दीपेन्द्र लम्सालले मुलुकमा केही पनि हुँदैन भन्ने चरम निराशाका बीच गरे केही त हुँदोरहेछ भन्ने सन्देश दिन सफल भएको र त्यसले समाजमा सकारात्मक प्रभाव पारेकाले सङ्गठनले ऊर्जा मन्त्रीलाई सम्मान गरेको बताउनुभयो । सो अवसरमा ऊर्जामन्त्री शर्माले विद्युत्भार कटौतीको विषय सामान्य विषय भएको बताउँदै इमान्दार प्रयास गर्ने हो भने मुलुकलाई केही दिन सकिन्छ र केही हुन्छ भन्ने सन्देश त्यसले दिएको छ भन्नुभयो । जलविद्युत् क्षेत्रको विकासका लागि सबैको सार्थक र सकारात्मक प्रयासको जरुरी छ, उहाँले भन्नुभयो – “सरकार केही ठूला र मझौला आयोजना अगाडि बढाउने गृहकार्यमा जुटेको र त्यसको सकारात्मक परिणाम केही दिनभित्रै देखिने छ ।” मन्त्री शर्माले मुलुक र जनताको साथ र सहयोग पाएको खण्डमा केही वर्षभित्रै विद्युत् उत्पादनमा चामत्कारिक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । यस्तै सङ्गठनले आजै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि सम्मान गरेको छ । विद्युत्भार कटौती कम गर्न उल्लेख्य योगदान र सार्थक पहल गरेको भन्दै उहाँलाई प्राधिकरणकै कार्यकक्षमा सम्मान गरिएको सङ्गठनले जनाएको छ । रासस

प्रधानमन्त्री प्रचण्ड चीन जाँदै

काठमाडौं, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी चैत १० गते चीन भ्रमणका लागि जाने भएका छन् । भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेट गरी नेपालको रेलमार्ग तथा पारवहनलगायतका महत्वपूर्ण विषयमा सम्झौता हुने बताइएको छ । त्यस्तै भ्रमणकै क्रममा देशको दीर्घकालिन हितका लागि पनि कुरा हुने बताइएको छ । नेपालस्थित चिनियाँ दूताबासले प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति टुगो लगाएको हाे । भ्रमणको मिति मार्च २३ र २४ का लागि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।

प्रधानमन्त्रीले भने : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्धा अगाडि बढाउने हाे

काठमाडौ, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्धा अगाडि बढाउने बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ शक्ति पार्टीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले विगत लामो समयदेखि आफूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशिताको पक्षमा अडान राख्दै आएपनि संविधानसभामा दुई तिहाई पुग्न नसकेका कारण फरक मत दर्ज गरेर यसलाई जनताका बीचमा राखेको प्रष्ट पार्दै आगामी दिनमा पनि यो मुद्धालाई अगाडि बढाउने बताएका छन् । प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका पक्षमा रहेका सबैलाई सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै आगामी निर्वाचनमा यो मुद्धालाई जनताबीच लानुपर्ने कुरामा जोड दिए । प्रधानमन्त्रीले अहिले सरकार मधेश, आदिवासी जनजाति, थारु लगायतका मुद्धा सम्बोधन हुने गरी संबिधान संशोधन गरेर चुनाव सम्पन्न गराउन लागिपरेको बताउँदै सबैलाई चुनावमा सहभागी हुन आग्रह गरेका छन् । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, समानुपातिक तथा समावेशी आधारमा निर्वाचन गर्नुपर्नेलगायत विषयमा माग नेपालको १० लाख जनताको हस्ताक्षरसहितको उक्त ज्ञापनपत्र बुझाएको थियो ।

कुनै हालतमा स्थानीय तहको निर्वाचन हुन्छः उपप्रधानमन्त्री थापा

काठमाडौँ, फागुन ३० । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले कुनै हालतमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा निर्वाचनको काम युद्धस्तरमा भइरहेको बताउँदै निर्वाचन हुने–नहुने भन्नेबारे शङ्का उपशङ्का नगर्न आग्रह गरे । उनले भने– “सरकार निर्वाचनका लागि जुटिरहेको छ निर्वाचन निश्चित रुपमा हुन्छ, सबै दलका नेता तथा कार्यकर्ताहरु निर्वाचनका लागि जुट्नुहोस् ।” उनले निर्धारित समयमा स्थानीय तहको निर्वाचन गर्नका लागि आफू सरकारमा सहभागी भएको बताउँदै सरकारले संसदमा ल्याएको संविधान संशोधन विधेयकलाई यथास्थितिमा सहयोग नगर्ने स्पष्ट पारे । उपप्रधानमन्त्री थापाले संविधान जारी भएपछि पहिलोपटक २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै यो निर्वाचनमा कुनै पनि दल वञ्चित हुन नहुने बताए । उनले भने– “मधेस केन्द्रित आन्दोलनरत दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्छ ।” राप्रपाका अध्यक्षसमेत रहनुभएका थापाले लामो समयदेखि काम गरेको राप्रपालाई छाड्नु डा प्रकाशचन्द्र लोहनीको कदम आत्मघाती भएको बताए । उनले भने– “पार्टीभित्र चित्त नबुझेका कुरा छलफल गरेर अगाडि जान सकिन्थ्यो तर पार्टी छोड्नु राम्रो काम होइन ।” डा.लोहनीले पार्टी छाड्दैमा राप्रपालाई कुनै फरक नपर्ने उनको भनाइ छ । निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको होः डा यादव प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले निर्वाचनको वातावरण बनाउने जिम्मा राजनीतिक दलको रहेको बताएको छ । आज यहाँ आयोजना गरेको साक्षात्कारमा राजनीतिक सहमतिमा निर्वाचनको वातावरण बनाउने जिम्मा दलको रहेको बताएको हो । निर्वाचनको वातावरण बने तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै डा यादवले भने, “तोकिएकै मितिमा स्थानीय तहको निर्वाचनका लागि चाहिने सबै ऐन कानुन आयोगलाई प्राप्त भएकाले आयोगले तीव्र गतिमा काम गरिरहेको छ ।” उनले भने, “मतदाता नामावलीलाई अन्तिम चरण पुगेको छ, मतदाता केन्द्र कति ठाउँमा राख्ने, कुन जिल्लामा कति दल छन् त्यो आधारमा मतपत्र छाप्ने काम, कर्मचारी व्यवस्थापनको काम अगाडि बढाएका छौँ ।” प्रमुख आयुक्त डा यादवले स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि मुख्यसचिव, सामान्य प्रशासन मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवलाई बोलाएर चैत पहिलो हप्तासम्म कर्मचारी खटाउन निर्देशन दिइसकेको जानकारी दिए । उनले निर्वाचनको सुनिश्चितताका लागि राजनीतिक दलभित्र सहमतिको खाँचो रहेको बताउँदै निर्वाचनमा सबै दलको प्रतिनिधित्व होस् भन्ने आयोगले चाहेको बताए । दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले यसलाई सबैले उत्सवका रुपमा लिनुपर्ने यादवको भनाइ थियो । उनले स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाखभन्दा बढी मतदाता रहेको उल्लेख गरे ।

लाइभः मेहबुबको उत्कृष्ट बलिङ, सात ओभरमा दुई विकेट ११ रन दिए, पाँच मेडन ओभर

काठमाडौं, फागुन ३० । आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत केन्यासँग भइरहेको खेलमा नेपालका बलर मेहबुब आलमले उत्कृष्ट बलिङ गरेका छन् । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर बलिङ रोजेको नेपालका लागि मेहबुबले ७ ओभर बलिङ गरेर केन्याको दुई विकेट लिएका छन् । उनले पाँच ओभरमा कुनै पनि रन दिएनन् । जम्मा सात ओभरमा उनले जम्मा ११ रन मात्रै दिए । उनको उत्कृष्ट बलिङ मद्यतले केन्या १५ ओभरमा ४० रन बनाएर खेलिरहेको छ ।

एसएसबीको गोली लागेर घाइते भएका चार नेपालीले एक वर्ष बित्दा पनि पाएनन क्षतिपूर्ति

इनरुवा, फागुन ३० । सुनसरीमा एक वर्ष अगाडि भारतको सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी घाइते भएका सुनसरीका चार युवाले अझैसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन् । गत वर्षको भारतको अघोषित नाकाबन्दीको समयमा तस्करलाई लखेट्दै आउने क्रममा नेपाली भूमिमा हरिपुर गाविस–९ का चार युवालाई एसएसबीले गोली हानेर घाइते बनाएको थियो । घटनाको वर्ष बित्दा समेत क्षतिपूर्ति र उपचार खर्च पाउन नसकेको गुनासो पीडितले गरेका हुन् । एसएसबीको गोली लागी घाइते भएका हरिपुर गाविस–९ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादवलगायतकाले आफ्नो उपचारको खर्च रकम र क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका हुन् । गोली लागि घाइते भएका अशोकको त्यसबेला उपचारका लागि रु तीन लाख ६५ हजार, सरोजको रु दुई लाख ५० हजार, नरेशको रु दुई लाख र मनोजको रु ५० हजार खर्च भएको उनीहरुले बताएका छन् । उता सुनसरी क्षेत्रको नेपाल भारत सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइ गरेको छ । सुनसरीको भाण्टाबारीबाहेकका नाकामा नेपालीलाई भारत प्रवेशमा रोक लगाएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली युवक गोविन्द गौतमको हत्याको सर्वत्र विरोध हुन थालेपछि एसएसबी सुनसरीबाट नेपालीलाई भारत प्रवेशमा रोक लगाएको हो । एसएसबीले ‘माथिको आदेश’ भन्दै दशगजा क्षेत्रमा नेपालीलाई भारत प्रवेशमा रोकेको हो । (रासस)

बहुविवाहको आरोपमा बेहुला बेहुली मण्डपबाटै पक्राउ

फलेवास (पर्वत),  फागुन ३०। बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार इष्टमित्र र आफन्तजनको साथमा माझफाँट–६ स्थित बेहुलाको घरमा नै विवाह गर्ने तयारीसहित मण्डपमा बेहुला बेहुली बसिरहेका बेला डिलबहादुरकी जेठी पत्नी कुमारी परियारले जिल्ला प्रहरी कार्यालय पर्वतमा बहुविवाहको जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विवाह सम्पन्न नहुँदै चौकीबाट पुगेको प्रहरी टोलीले दुलाहा दुलहीसहित केही इष्टमित्रलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याएको थियो । कुमारीले आफू हुँदाहुँदै श्रीमान्ले दोस्रो विवाह गर्न लागेको भन्दै रोक्न प्रहरीमा जाहेरी दिनुभएको थियो । सोही आधारमा प्रहरीले नियन्त्रणमा लिई दुवै पक्षका आफन्तसहित छलफल गराउँदा डिलबहादुर परियारले आफू वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहँदा श्रीमतीले अन्य व्यक्तिसँग अनैतिक सम्बन्ध गाँसेर हिँडेको र आफूले कमाएको पैसासमेत रित्ताएको आरोप लगाएका छन् । डिलबहादुरले श्रीमती कुमारीलाई छिमेकी व्यक्तिसँग दोस्रो विवाह गरेर गएको आरोप समेत लगाएका छन् । यता जेठी श्रीमती कुमारीले भने आफू श्रीमान्को अनुमति बिना कुनै पनि ठाउँमा नगएको र कसैसँग पनि अनैतिक सम्बन्ध नभएको दाबी गरेकी छिन् । डिलबहादुरले आफू विदेशमा रहँदा घरमा वृद्ध आमालाई छाडेर गएको र श्रीमतीले औषधि उपचारमा ख्याल नगरिदिँदा आमाको ज्यान गएको भन्दै कुनै हालतमा कुमारीलाई नस्वीकार्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज न्यौपानेले दुवै पक्षको रोहबरमा छलफल जारी रहेको जानकारी दिनुभएको छ । रासस

राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि

कञ्चनपुर,  फागुन २९। भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिनुभयो । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए । यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । सरकारले सहिद घोषणा गरिसकेको गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । उहाँको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उहाँको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो । नेपाल–भारत सीमाभन्दा निकै वर आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए । रासस(तस्बिर संलग्न छ)

होलीमा उच्छृङ्खल गतिविधि गर्ने दुई सय पक्राउ

काठमाडौँ,  फागुन २९ । महानगरीय प्रहरी परिसरले होलीका अवसरमा उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने २१३ जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले आज उपत्यकाका विभिन्न स्थानमा उच्छृङ्खल गर्दै हिँडेका उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले घटनाका दोषीको छानविन भइरहेको र दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो । रासस

९ तस्वीरमा हेर्नुस् उपत्यका सहित पहाडी जिल्लामा होलीको रौनक !

काठमाडौं, फागुन २९ । उपत्यकासहित पहाडी जिल्लामा आइतबार उल्लासपूर्वक होली पर्व मनाइएको छ । सरकारले सार्वजनिक बिदासमेत दिएकाले काठमाडौंमा होलीको उल्लास हेर्नलायक थियो । एक अर्कामा अबीर दलेर सर्वसाधारणले होली मनाए । विभिन्न संघ संस्था तथा व्यवसायिक कम्पनीहरुलेसमेत सार्वजनिक ठाउँमा होली विशेष कार्यक्रम आयोजना गरे । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाइन्छ । होलीको अवसरमा काठमाडौंको वसन्तपुरमा भएको होली विशेष कार्यक्रममा हजारौंको उपस्थिति थियो । विदेशी पर्यटकसमेत होलीमा रमाइरहेका देखिन्थे । अक्षय कोषका लागि पनि होली खेलेका छन् । कञ्चनपुरको ७ नतसीकृष्ण बैजनाथ बहुमुखी क्याम्पसका विद्यार्थीले अक्षय कोष स्थापनाका लागि आइतबार होली खेले । सबै तस्वीर : रासस holi-7 holi-6 holi-3 holi-8 holi-5 holi-4 holi-5

प्रकाशचन्द्र लोहनीले छोडे राप्रपा

काठमाडौं, फागुन २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै उनले आइतबार पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै पार्टी छोडेको घोषणा गरेका हुन् । ‘म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउदछु,’ डा. लोहनीले बिहीबार पार्टी अध्यक्ष थापालाई पठाएको पत्रमा भनेका छन्। उनले थापामाथि पार्टी एकता महाधिवेशन पश्चात पार्टी विधानमाथि उपहास गर्दै महाधिवेशनको क्रममा भएका समकालीन समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र स्वार्थपूर्तिको औजार मात्र बनाएको आरोप लगाएका छन् । साथै मन्त्रिपरिषदमा सामेल हुँदा र पार्टीका तर्फबाट राजदूत नियुक्तिमा नाम सिफारिस गर्दा एकतर्फी निर्णय लिएको र सरकारद्वारा भएको ‘नांगो भ्रष्टाचार’लाई अनुमोदन गरेको सन्देश थापाको गतिविधिले दिएको उनले आरोप लगाएका छन्। लोहनीले केहीबेरमा पत्रकार सम्मेलन मार्फद पार्टी छोड्नुको कारण खुलाउने बताएका छन् ।

‘एनसेललाई कर उन्मुक्ति दिएर सरकारले राष्ट्रघात गर्यो’: डा. बाबुराम

काठमाडौँ, फागुन २९ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले एनसेललाई कर उन्मुक्ति दिएर राष्ट्रघात गरेको आरोप लगाएका छन् । सरकारले एउटा निश्चित विधि र मापदण्डलाई उल्लंघन गर्दै मन्त्रिपरिषदबाट विदेशी लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलको बिक्रीमा लाग्ने पूँजीगत लाभकर नउठाउने प्रपञ्च गरेको भट्टराईद्वारा आइतबार जारी विज्ञप्तीमा जनाइएको छ । ‘एउटा गरीब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेत समेत बिक्री गर्दा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ,’ विज्ञप्तीमा भनिएको छ, ‘हरेक मालपोत कार्यालयले सुरुमा किन्दा र बिक्री हुँदाबीच फरक भएको रकममा निश्चित प्रतिशतले लाभकर (राजश्व) उठाउने गरेका छन् । तर, सोही प्रकृतिको सम्पत्ति, एनसेल, बेचबिखन हुँदा सिंगो राज्य संयन्त्र कर छलीमै सघाउ पुर्‍याउने गरी लाग्नु भ्रष्टाचार मात्रै हैन, यो राष्ट्रघात हो । अर्बौं नाफा गर्ने कम्पनीलाई कर उन्मुक्ति दिने प्रपञ्च नीतिगत अपराध हो ।’ एनसेलको ८० प्रतिशत सेयरको बिक्रेता युरोपेली कम्पनी टेलियासोनेरा र खरिदकर्ता मलेसियन कम्पनी आजियाटाले ‘अफसोर’ कारोबार गरी लाभकर छल्न खोजेको समाचार सार्वजनिक भएको थियो । एनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिए ३३ अर्ब रुपैयाँ राजश्व राज्यले गुमाउने छ । पढ्नुस् विज्ञप्ती