सोह्रवर्षदेखि चिकित्सकविहीन स्वास्थ्य केन्द्र

बैतडी, फागुन २५  । बैतडीको मेलौलीमा विसं २०५७ मा दुर्गम तल्लोस्वराड क्षेत्रका १० भन्दा बढी गाविसका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भएपनि अहिलेसम्म चिकित्सकको दरबन्दी पूर्ति नहुँदा सो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्यकेन्द्रबाट प्राप्त गर्ने सेवा पाउन सकेका छैनन् ।

स्थानीयबासी केशवसिंह भाटका अनुसार २०६८ सालमा एकजना करारका चिकित्सकले सात महिना प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुरमा सेवा दिएका थिए । त्योबाहेक प्राथमिक स्वास्थ्यकेन्द्र स्थापना भएको १६ वर्ष बितिसक्दासमेत तल्लो स्वराडवासीले चिकित्सकको सेवा पाउन सकेका छैनन् । प्राथमिक स्वासथ्य केन्द्र स्थापना हुँदा धेरै खुसी भएपनि चिकित्सकको पदपूर्ति अहिलेसम्म नहुँदा ज्यादै दुःख लागेको भाटले बताउनुभयो ।

दक्षिण एसियाकै पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएपनि चिकित्सक नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकिरहेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी, उपक्षेत्रीय अस्पताल, डडेल्धुरा जानुपर्ने बाध्यता रहेको मणिलेक मावि काँडा, मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा दरबन्दीअनुसार चिकित्सक नहुँदा दैनिकरुपमा १० भन्दा बढी बिरामीलाई अन्यत्र रिफर गर्नु परेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य सहायक मुकेश दयालले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्सकको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको भएपनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारसँग धेरै पटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ भएन ।”

सरकारले चालु आर्थिक वर्षको पुसदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा गरेका नागरिकका लागि उपचार गर्न केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सूचीमा राखिएको छ । स्वास्थ्य बीमाको सेवा यही फागुनदेखि जिल्लामा सुरु पनि भइसकेको छ । तर मेलौलीमा चिकित्सक नभएका कारण सेवा सञ्चालन गर्न समस्या भएको छ । रासस

मोर्चाले भन्यो, ‘सप्तरी हत्याकाण्डको मुख्य कारक एमाले’,२ दिने बन्दको घाेषणा

काठमाडौं, फागुन २३ । सप्तरीमा प्रहरीको गोली लागि चार जनाको हत्याबारे मधेसीमोर्चाले घटनाको मुख्य कारक एमाले भएको ठहर गरेको छ । मोर्चाको आज बसेको आकस्मिक वैठकले एमालेका शीर्ष नेताहरुले मधेश र मधेसीविरुद्ध विषवमन गर्ने, मधेसी समुदायलाई अपमानित गर्ने, होच्याउने जस्ता गैर जिम्मेवार, भड्काउपूर्ण र उत्तेजक अभिव्यक्ति नै सप्तरी घटनाको मुख्य कारक भएको उल्लेख गरेको छ । मोर्चाले घटनाको विरोमा दुई दिने मधेस बन्द गरेको छ । वैठकले घाइतेहरुको उपचार र हत्याराहरुमाथि कारवाहीको माग गरेको छ । केही मिडियामा मधेसले सरकारलाई दिइएको समर्थन फिर्ता भन्ने प्रचार गरिएपनि मोर्चाद्वारा जारी विज्ञप्तिमा भने यसबारे कुनै कुरा उल्लेख गरिएको छैन । मधेसवादी दलले हस्ताक्षर गरेको ४ बुँदे विज्ञप्तिमा सप्तरी घटनामा सरकारले गरेको राज्यातंकको भत्सना गरिएको छ । यस्ताे छ विज्ञप्ती

एमालेद्वारा मेची महाकाली अभियान तीन दिनलाई स्थगित

काठमाडौ, फागुन २३ । एमालेले सुरु गरेको मेची–महाकाली अभियान आगामी तीन दिनका लागि स्थगित गरेको छ । सप्तरीमा भएको प्रहरी र प्रदर्शनकारीबीचको झडपपछि एमाले स्थायी कमिटीको आकस्मिक वैठक बसी आगामी दिन दिनका लागि अभियान स्थगित गरेको हो । शनिबार झापाबाट सुरु भएको अभियान सोमबार सप्तरी आइपुग्दा मधेसी मोर्चाको चर्काे विरोधको सामना गर्नुप¥यो । त्यस्तै प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन प्रदर्शनकारीको मृत्यु भएको छ ।

सप्तरीमा एमालेको आकस्मिक बैठक बस्दै

काठमाडौं, फागुन २३ । राजविराज मधेसीमोर्चा र प्रहरीबीचको झडपमा दुई जनाले ज्यान गुमाएपछि एमाले स्थायी कमिटीका नेताहरु आकस्मिक वैठक बस्दैछन् । सशस्त्र प्रहरी वेश क्याम्प बरमझियामा एमाले अध्यक्ष केपी अाेलीसहितका बरिष्ठ नेताहरु माधकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायतकाे सभागिता रहनेछ । एमालेको मेची–महाकाली अभियान अन्तरर्गत सप्तरीमा आज भएको कार्यक्रम विथोल्न आएका मधेसीमोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा दुई जना मधेसीमोर्चाका कार्यकर्ताहरुको ज्यान गएको छ । बैठकले यसै घटनासम्बन्धमा र भोलिदेखि हुने मेची महाकाली राष्ट्रिय अभियानबारे निर्णय लिने नेताहरुले बताएका छन् ।

मोर्चाले गर्यो एमाले उदयपुर जिल्ला अध्यक्षको गाडीमा तोडफोड

उदयपुर, फागुन २३ । मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत सुनसरीको इनरुवामा भएको कार्यक्रममा भाग लिएर फर्किने क्रममा नेकपा एमाले उदयपुरका अध्यक्ष इश्वरमणी राउत चढेको गाडीमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् । सुनसरीबाट सप्तरीको राजबिराज जाने क्रममा उनको गाडीमाथि तोडफोड गरिएको हो । उदयपुरबाट एमालेको टोली लिएर मेची–महाकाली राष्ट्रिय अभियानमा भाग लिन गएका अध्यक्ष राउतको गाडीमा मोर्चाका कार्यकर्ताले ढुंगा हानेका हुन् । ढुंगा प्रहारबाट गाडीकाे सिसा फुटेकाे र ढुंगाले लागेर राउद घाईते समेत भएको जिल्ला सचिव परमेश्वर घिमिरेले जानकारी दिएका छन् । मेची–महाकाली राष्ट्रिय अभियानको लागि उदयपुरबाट ६ वटा यात्रुवहाक बस, २ सय मोटर साइकल र ३० वटा जीपमा एमाले कार्यकर्ता सहभागी भएका छन् ।

राजविराजमा गोली चल्यो, एमालेको हठका कारण एकको मृत्यु, तीन दर्जन घाइते

काठमाडाै, फागुन २३।  नेकपा एमाले र अध्यक्ष ओलीको हठका कारण सप्तरीमा भएको हिंसात्मक झडपमा एक जनाले ज्यान गुमाउनु परेको छ । राजविराजमा प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएको भने अन्य तीन जनालाइ पनि गाेली लागेकाे छ । एमालेको मेची–महाकाली अभियान  अन्तरर्गत सप्तरीमा भएको कार्यक्रम सकिएलगत्तै त्यहाँ भएकाे झडपमा रञ्जन मेहताको मृत्यु भएकाे छ भने रञ्जन नेपालकाे टाउकाे गाेली लागी गम्भिर घाइते भएका छन् । त्यस्तै अन्य तीन जनालाइ पनि गाेली लागेकाे छ । कार्यक्रम विथोल्न उपस्थित मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा कारण त्यसक्षेत्र विहानैदेखि तनावग्रस्त थियो । एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच भएकाे झडपमा प्रहरीले चलाएकाे थियाे  । एमालेको कार्यक्रम स्थलबाट झण्डै २०० मिटरको दूरीमा प्रहरीले चलाएकाे गाेली लागेर संजन मेहताको मृत्यु भएको हो । झडपमा प्रहरीसहित तीन दर्जनभन्दा बढी घाइते भएका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय सप्तरीलाइ साेध्दा ‘गाेली चलेकाे हाे, के- कति घाइते भए भन्नेबारे विवरण आउन बाँकी छ’  भन्ने जवाफ अाएकाे छ ।

एमाले सभास्थल नजिक मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौँ, फागुन २३ । सप्तरीमा एमालेको सभास्थल नजिक मधेसी मोर्चाको कार्यकर्ता र प्रहरी बीच झडप भइरहेको छ । सभास्थल गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको पूवपट्टीको गहुँ खेतमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । एमालेको मेची–महाकाली अभियानको टोलीबीच झडप भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धब तिमल्सिनाले जानकारी दिए । उनले भने- ‘मोर्चाका कार्यकर्ताले प्रहरीलाई ढुङ्गामुढा गरेपछि झडप भएको हो, दुईचार जना घाइते भएर अस्पताल लगिएको छ ।’ यसैबीच प्रजिअ तिमल्सिनाले एमालेका नेताहरु कार्यक्रम स्थल प्रवेश गरिसकेको जानकारी दिए । एमालेले मेची-महाकाली अभियानको तेस्रो दिन तराईका विभिन्न जिल्लामा सभा सकाएर सप्तरीमा सुरु गर्न लागेको हो । उक्त सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा अोली, बरिष्ठ नेताहरु माधबकुमार नेपाल,झलनाथ खनाल महासचिव इश्वर पोखरेल लगायतले सम्बोधन गर्दैछन् । एमालेको उक्त सभा विथोल्न सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहानैदेखि प्रदर्शन र चक्का जाम गरेको छ । सभा वरपर ठूलो संख्यामा सुरक्षाफौज तैनाथ गरिएको प्रजिअ तिमल्सिनाले बताए ।

चित्रबहादुरलाई ओलीको चिन्ता, निकाले विज्ञप्ती

काठमाडौं, फागुन २३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेले सुरु गरेको मेची–महाकाली अभियानमा केपी ओलीको सुरक्षा बारे गम्भीर चिन्ता जनाएका छन् । सोमबार एक विज्ञप्ती प्रकाशित गरी केसीले एमालेले आफू विरुद्ध छरिएको भ्रम चिर्नका लागि सुरु गरेको १५ दिने अभियानमा पूर्ण समर्थन रहेका जनाए । विज्ञप्तीमा केसीले भनेका छन्– ‘लोकतान्त्रिक प्रणालीमा कसैले आफ्ना कुरा शान्तिपूर्ण तरिकाले जनताका सामु राख्न पाउँछन् र राख्न पाउनु पर्दछ । त्यसमा अवरोध गर्नु संविधान, मौलिक अधिकार र मानव अधिकार समेतका विरुद्धको कार्य हो । त्यसका त्यस प्रकारका कार्यपद्धतीलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ ।’ राष्ट्रिय जनमोर्चाले एमालेको १५ दिन अभियानको पूर्ण समर्थन गर्ने जनाएका छन् । केसीले विज्ञप्तीमा एमालेले गरेको अभियानमा मधेसी मोर्चाको अवरोध प्रति असन्तुष्ट जनाएका छन् । उनले मधेशवादीहरूले बन्द, मसाल जुलुस गर्ने, कार्यक्रम जुधाउने वा प्रतिकार गर्ने जस्ता कार्यहरूद्वारा त्यसमा अवरोध पैदा गर्ने प्रयत्न गरिरहेका प्रति सही नमान्ने उल्लेख गरेका छन् । नेपालमा यतिबेला राष्ट्रिय एकता र सामाजिक सद्भाव कमजोर भई विखण्डनकारी गतिविधि समेत बढेर गएका छन् । नयाँ संविधान तराई मधेशका जनताको पक्षमा नभएको भनि त्यहाँ भ्रम छरिएका छन् । नेपाल र नेपाली जनताको हित विपरित संविधानलाई संशोधन गर्न प्रयत्न भएको छ ।’ केसीले तराई मधेशका मधेशी जनता र थारु समुदाय राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधान र निर्वाचनको पक्षमा रहेका दाबी गरेका छन् । पढ्नुस केसीको विज्ञप्तीको पूर्णपाठ प्रेस विज्ञप्ति नेपालमा यतिबेला राष्ट्रिय एकता र सामाजिक सद्भाव कमजोर भएको छ । राष्ट्रिय विखण्डनकारी गतिविधि समेत बढेर गएका छन् । नयाँ संविधान तराई मधेशका जनताको पक्षमा नभएको भनि त्यहाँ भ्रम पारिएको छ । नेपाल र नेपाली जनताको हित विपरित संविधानलाई संशोधन गर्न प्रयत्न भएको छ । त्यसमा मधेशवादी दलहरूले आफूहरूले भने अनुसार नभएपछि संविधान कार्यान्वयन हुन नदिन घोषित स्थानीय निर्वाचन भाड्न प्रयत्न गरिरहेका छन् । तर तराई मधेशका मधेशी जनता र थारु समुदाय राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधान र निर्वाचनको पक्षमा छन् । नेकपा एमालेले तराईमा राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न त्यहाँ पारिएको भ्रमलाई निवारण गर्न भनि यही फागुन २१ गतेदेखि मेची–महाकाली अभियान चलाएको छ । त्यसलाई हाम्रो पार्टीले सकारात्मक रूपमा लिन्छ र समर्थन गर्दछ । मधेशवादी दलले आफ्नो गलत र राष्ट्रघाती संविधान संशोधनका एजेण्डाहरूलाई स्वीकार नगर्ने दलहरूलाई तराईमा कार्यक्रम गर्न नदिने वा कार्यक्रम असफल पार्ने बताउँदै आएका थिए । एमालेले आफ्नो अभियानको कार्यक्रम प्रारम्भ गरेपछि मधेशवादीहरूले बन्द, मसाल जुलुस गर्ने, कार्यक्रम जुधाउने वा प्रतिकार गर्ने जस्ता कार्यहरूद्वारा त्यसमा अवरोध पैदा गर्ने प्रयत्न गरिरहेका छन् । त्यसलाई हामीले सही मान्दैनौँ । लोकतान्त्रिक प्रणालीमा कसैले आफ्ना कुरा शान्तिपूर्ण तरिकाले जनताका सामु राख्न पाउँछन् र राख्न पाउनु पर्दछ । त्यसमा अवरोध गर्नु संविधान, मौलिक अधिकार र मानव अधिकार समेतका विरुद्धको कार्य हो । त्यसका त्यस प्रकारका कार्यपद्धतीलाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ । स्थानीय तहको निर्वाचन अपरिहार्य आवश्यकता हो । सरकारले आगामी २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेको छ । त्यस अनुसार सरकार, राजनीतिक दल, निर्वाचन आयोग र सम्बद्ध निकायहरू त्यसमा जुटेका छन् । यो निर्वाचन सामान्य निर्वाचनसम्म मात्र सीमित छैन । यो निर्वाचन नहुँदा संविधान कार्यान्वयन नहुने स्थानीय तहमा भ्रष्टाचार बढ्ने, विकास निर्माण एवं जनताका सेवाका काम प्रभावित हुने, संवैधानिक सङ्कट पर्ने र अन्ततः संयुक्त जनआन्दोलनका संविधान प्रदत्त अधिकार गुम्ने सम्भावना भएकाले यो निर्वाचनलाई सफल पार्न हामीले विशेष जोड दिन्छौँ । त्यसका लागि हामीले सम्बद्ध सबै पक्ष सहित नेपाली जनतालाई हार्दिक आह्वान गर्दछौँ । मधेशवादीहरूले स्थानीय तहका अधिकारहरूलाई कटौती गर्न लगातार जोड दिइरहेका छन् । हामीले संविधानमा व्यवस्था गरिएको स्थानीय तहको अधिकारको कटौती गर्ने कुनै पनि नीतिको कडा शब्दमा विरोध गर्दछौँ

प्रधानमन्त्रीको घोषणाः राष्ट्रिय सेवा दललाई देशभर विस्तार गर्ने

ललितपुर, फागुन २३ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सेवा दललाई विस्तार गरेर देशभरका विद्यालय तहसम्म पुर्‍याउने घोषणा गरेका छन् । राष्ट्रिय सेवा दल सिनियर डिभिजन १२ औं ब्याच अन्तिम दीक्षान्त कवाज कार्यक्रमलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै उनले त्यसका लागि आवश्यक प्रवन्ध मिलाउन योजना आयोग र अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बन्धित सरोकारवाला सरकारी कार्यालयहरुलाई समेत सेवा दलको तालिम बिस्तारका लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन् । राष्ट्रिय सेवा दल एक स्वयमसेवक दस्ता हो जसलाई नेपाली सेनाले तालिम दिएर विपतको बेला आवश्यकताअनुसार परिचालन गर्दछ । प्रधानमन्त्री प्रचण्डले भने, ‘शैक्षिक क्यालेण्डरहरुलाई समेत असर नपर्ने गरी विद्यालय तथा उच्च माध्यमिक विद्यालयहरुमा सञ्चालन गर्नुपर्ने यस किसिमको विशिष्ट प्रकृतिको तालिमको कठिनाई र सीमितताका बारेमा म पूर्ण जानकार छु । ती अवरोधहरुलाई चिर्दै यस तालिमको दायरालाई थप फराकिलो पार्ने सुविचारित र स्पष्ट योजनाहरुको कार्यान्वयनका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि यस अवसरमा व्यक्त गर्न चाहन्छु ।’ ७५ जिल्लामा तालिम बिस्तारका लागि सोहीस्तरको भौतिक पूर्वाधार जनशक्ति र बित्तीय स्रोतको आवश्यकता पर्ने भन्दै उनले सरोकारवाला निकायलाई तालिम बिस्तारका लागि प्रस्तावित योजनाहरुमा गम्भीरतापूर्वक कार्य गर्न गराउन निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बन्धित सरोकारवाला सरकारी कार्यालयहरुलाई समेत म यसै अवसरमा सेवा दलको तालिम बिस्तारका लागि प्रस्तावित योजनाहरुमा गम्भीरतापूर्वक कार्य गर्न गराउन निर्देशित गर्दछु, कि मानव साधनमा गरिने खर्च लगानी हो, खर्च होइन ।’ चुस्त नीति र दक्ष जनशक्तिको अभावमा विकास निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब जनशक्ति निर्माणका लागि आवश्यक सबै कदम चाल्ने घोषणा गरे । युवा शक्ति राष्ट्र निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरुकै परिचालनबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए । प्रधानमन्त्री प्रचण्डले देश विकासका लागि युवा शक्ति निर्माणमा नेपाली सेनाको राष्ट्रिय सेवा दलले पुर्‍याएको योगदानको पनि खुलेर प्रशंशा गरे । उनले युवाहरुलाई लगनशील, कर्मठ र देशभक्त बनाउन राष्ट्रिय सेवा दलले पुर्‍याउँदै आएको योगदानलाई सरकारले उच्च सम्मान गरेको बताए । कार्यक्रममा क्याडेट छात्रछात्राहरुले विभिन्न कला र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सुनसरीमा सभा सकाएर एमाले नेता सप्तरी लागे, तर प्रवेश गर्न नदिने मोर्चाको अडान

इनरूवा, फागुन २३ । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवरोधबीच नेकपा एमालेले सुनसरीको इनरुवामा आमसभा सकाएर सप्तरी लागेका छन् । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले भने एमालेकाे सप्तरी अायोजना हुने अामसभा विथोल्ने चेतावनी दिएका छन् । कालो झण्डासहित इनरुवामा उपस्थित भएका मोर्चाका कार्यकर्ताहरुले केपी ओलीविरुद्ध नाराबाजी गरेका थिए । सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरीका अनुसार सप्तरीको कार्यक्रम स्थलसम्म एमाले कार्यकर्ता जान सकेका छैनन् । कार्यक्रम स्थलमा सुरक्षा निकायबाहेक अरू कोही नजान नसकेको मोर्चाले जनाएको छ । हामीले एमालेलाई सप्तरी प्रवेश गर्नै दिएका छैनौं, मोर्चाका एक नेताले भने । मेची–महाकाली अभियानमा रहेको एमालेले अभियानको तेस्रो दिन तराईका विभिन्न स्थानमा सभाको आयोजना गरेको थियो । इनरुवामा भएको कार्यक्रममा लालबाबु पण्डित र भगवती चौधरीले सम्बोधन गरे। पण्डितले भने–‘संविधान च्यात्ने र जलाउनेलाई हामी छोड्दैनौ। यहाँ आतंक चल्दैन। यो बुद्धको देश हो।आतंक चाहनेहरू चम्वल जाउ।’ संविधानले सबैलाई समेटेको भन्दै एमाले नेता चौधरीले संविधानमा सबैका हक कार्यान्वयन भएको दाबी गरिन् । ‘म पनि मधेसकै छोरी–बुहारी हुँ, संविधानले सबैलाई समेटेको छ अब संविधान कार्यान्वयनको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन् । एमालेका कुनै नेता सप्तरी प्रवेश गर्नै नदिने मोर्चाको अडान कायम छ । अहिले सप्तरी जिल्लाभर दुईहजार प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उ४व तिमल्सिनाले जानकारी दिए ।  

लौकहीमा एमालेको आमसभा स्थगित

सुनसरी, लौकही फागुन २३ । सुनसरीको लौकहीमा गर्ने भनिएको नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गतको सभा स्थगित भएको छ । एमाले पार्टीलाई ‘मधेस विरोधी’ भन्दै स्थानीय जनताले कडा प्रतिकार गर्ने संकेत पाएपछि एमालेले सभा स्थगित गरेको हो । मोर्चाको विरोधका बावजूद मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन सोमबार सुनसरीको लौकहीमा राखिएको कोणसभा स्थगित गरिएको हो । मधेसी मोर्चाका कार्यकर्ताले अभियानमा अवरोध गर्ने सम्भावना बढेपछि लौकहीको कोणसभा स्थगित गरिएको हो । लौकहीमा आयोजना गर्ने भनिएको कार्यक्रम एमाले कै कार्यकर्ताहरु आउन डराएको जानकारी प्राप्त भएको छ । जनपरिचालन सोचे अनुसार नभएकाले गर्दा त्यहाँ कोणसभा नगरिकन एमालेका नेताहरु सिधै सप्तरीतर्फ लागेका छन् । मधेसी मोर्चाले सप्तरीमा बिहानैदेखि चक्का जाम र लाठी जुलुश प्रदर्शन गरेका थिए ।

सप्तरीमा दुईहजार प्रहरी परिचालित, अवस्था शान्तिपूर्ण रहेको प्रजिअको दाबी

काठमाडौं, फागुन २३ । सप्तरीमा हुने एमालेको सभालाई घ्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दुइहजार प्रहरी परिचालित गरिएको छ । नेकपा एमालेको मेची–महाकाली अभियानको तेस्रो दिन सोमबार अपरान्ह सप्तरीमा जनसभाको कार्यक्रम राखिएको छ । विहानै देखि सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रदर्शन जिल्ला भर व्यापक प्रदर्शन चर्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी दुई हजार प्रहरी परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धब तिमल्सिनाले एभरेष्टदैनिक डटकमलाई जानकारी दिए । सप्तरीमा सुरक्षा बढाउन नजिकका जिल्लाबाट पनि प्रहरी झिकाइएको छ। सप्तरी जिल्ला अन्तर्गत पर्ने राजमार्गका भारदह, कञ्चनपुर र रुपनी लगायतका मुख्य मुख्य स्थानमा गएरातिदेखि नै प्रहरी परिचालन गरिएको थियो । सप्तरी प्रहरी प्रमुख एसपी दिवेश लोहनीले पनि सप्तरीका मुख्य मुख्य स्थानमा ब्यापक मात्रामा प्रहरी परिचालन गरेका जानकारी दिए ।  प्रहरीले सुरक्षाका लागि तीन घेराको रणानीति बनाएर सुरक्षा दिइरहेको छ, पहिलो र दोस्रो घेरामा नेपाल प्रहरी छन् भने तेस्रो घेरामा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । अहिले पनि सडकका भित्रभित्र मोर्चाका कार्यकर्ताले लाठी जुलुस निकालिरहेका छन् । मोर्चाको प्रदर्शनको कारण  पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चल्न सकेका छैनन्। सयुक्त मोर्चाका कार्यकर्ताले बिहानै केही सवारी साधन तोडफोड गरिसकेका छन् । सवारी साधन तोडफोड गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । रूपनी र कञ्चनपुरमा अवान्छित गतिविधि गर्न खोज्ने ५ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । मोर्चाको अवरोधकै कारण एमालेले अामसभा गर्ने स्थान परिवर्तन गरेको छ । एमालेले राजविराज नगर बाहिर पर्ने गजेन्द्र नारायण सिंह औंद्योगिक क्षेत्रमा ४ बजेदेखि ५ बजेभित्र  आमसभा गर्न लागेको हो। उक्त सभामा एमालेका अध्यक्ष केपी अोली, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र महासचिव इश्वर पोखरेल लगायतले सम्बोधन गर्ने तय भएको छ । प्रशासनसँगको परामर्शमा एमालेले आफ्नो कार्यक्रमस्थल पहिले तोकिएको राजविराजस्थित राज रंगशालाबाट सारेर बजारभन्दा करिब तीन किलोमिटर उत्तर गजेन्द्र नारायण सिंह औंद्योगिक क्षेत्रमा लगेको हो। प्रजिअ तिमल्सिनाले अहिले जिल्लामा शान्तिपूर्ण अवस्था रहेको प्रतिक्रिया दिए । उनले एभरेष्टदैनिक डटकमसँग भने–जिल्लामा हामीले दुई हजार फोर्स परिचालन गरेका छौं, शान्तिपूर्ण अवस्था छ केही भएको छैन ।’ प्रजिअ तिमल्सिनाले दुईवटा बम फेला परेको स्वीकार गरे । उनले जनाए अनुसार दुईवटै बम निस्क्रिय पार्न सेनाको डिस्पोजल टोली पुगिसकेको छ ।

एमाले सभास्थल नजिक बम फेला, सप्तरीमा झड़प, दर्जनौ गिरफ़्तार

काठमाडौैं, फागुन २३ । सप्तरीको राजबिराज अौधोगिक क्षाेत्रमा सकेट बम फेला परेको छ ।  एमालेको सभा गर्ने स्थल भन्दा २ किलोमिटर पर बम फेला परेपछि सुरक्षाा अवस्था व्यापक बनाइएको छ । एमालेको सभालाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १६ सय भन्दा बढी प्रहरी परिचालित गरिएका छ।  नेपाल प्रहरीका १२ सय र सशस्त्र प्रहरीका ४ सय भन्दा बढी प्रहरी सप्तरीमा परिचालन गरिएको छ । यस्तै सप्तरीमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दर्जनौं बन्दकर्ता पक्राउ परेको स्रोतले जनाएको छ । सवारी साधन तोडफोड गर्ने ५ जनालाई पक्राउ गरिएको डिएसपी दानबहादुर कार्कीले बताए।

कडा सुरक्षा घेराभित्र मञ्च बनाउँदै एमाले, सभास्थल पुग्ने रुट नै परिवर्तन

काठमाडौं, फागुन २३ । नेकपा(एमाले)को मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेपछि एमालेले कडा सुरक्षा घेराभित्र मञ्च बनाउने तयारी गरेको छ । एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरेपछि ३ किलोमिटर उत्तर राजविराज रुपनी सडक खण्डमा पर्ने गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गर्ने तयारी गरेको छ । प्रहरीको कडा सुरक्षाा घेराबिच एमाले कार्यकर्ताहरु मञ्च निर्माण कार्यमा जुटेका छन् । यस्तै उक्त स्थानमा पुग्ने रुट पनि एमालेले परिवर्तन गर्दै  पहिला भारदह–हनुमाननगर–तोपा–राजविराज हुँदै औद्योगिक क्षेत्र पुग्ने भनिएपनि अहिले पूर्व-पश्चिम राजमार्ग हुँदै रुपनीबाट सातकिलोमिटर दक्षिण औद्योगिक क्षेत्र पुग्ने रुट तय गरिएको बताइएको छ ।  

दुग्ध किसान समाजद्वारा प्रधानमन्त्रीलाई सम्मान

काठमाडौं, फगुन २३ । राष्ट्रिय पशुपालक दुग्ध कृषक समाजले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । सरकारले कृषि र पशुपालनको क्षेत्रलाई उच्च प्राथमिकता दिएको र राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्रीलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा दुग्ध कृषक समाजका अध्यक्ष आनन्दप्रसाद न्यूरे प्रधानमन्त्रीको कार्याकालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा राम्रो प्रोत्साहन भएको र सरकारले पहिलोपटक राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्रीलाई सम्मान गरिएको बताए । प्रधानमन्त्रीलाई समाजको केन्द्रीय समिति र कास्की, चितवन, स्याङ्जा र गोरखा जिल्ला समितिको तर्फबाट पनि सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै प्रधानमन्त्रीले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताउनु भयो । कृषि क्षेत्र देशको मेरुदण्ड भएपनि राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै प्रधानमन्त्रीले त्यसका लागि सरकारको तर्फबाट सम्भव निर्णय गरिने जानकारी गराउनु भयो । सम्मान कार्यक्रममा समाजले सहुलियत कृषक कर्जाको व्यवस्था गर्न, पशु बीमा कार्यक्रमलाई किसानहरुको सहभागितासहित व्यवस्थित गर्न, राष्ट्रिय किसान आयोगमा वास्तविक किसानहरुको प्रतिनिधित्व गराउन, चितवनमा धुलो दुध कारखाना स्थापना गर्न, सबै जिल्लामा पशु प्रयोगशाला स्थापना गर्न, कृषिसँग सम्बन्धित ढुवानीका साधनहरुमा भन्सार छुटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

मेची–महाकाली अभियानमा मोर्चाको अबरोध, यातायात ठप्प

सप्तरी,  फागुन २३। नेकपा(एमाले)को मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ । मोर्चाको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन । एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ । साथै मोर्चाले आज बिहान लाँठी जुलुस समेत प्रदर्शन गरेको छ । उता स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ । रासस फाइल तस्वीर