रत्न राज्य क्याम्पसलाई प्रहरी ब्यारेक बनाएको भन्दै क्रान्तिकारी र नेविसंघको आपत्ती

काठमाडौं, फागुन २२ । प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर.)मा सायौँको संख्यामा प्रहरी परिचालन गरेर शिक्षण संस्थालाई व्यारेक बनाइएको भन्दै नेविसंघ र अखिल (क्रान्तिकारी) प्रचण्डले आरोप लगाएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ– शुक्रबार क्याम्पसमा २३ फागुनमा हने भनिएको स्ववियु चुनावको विषयलाई लिएर विद्यार्थी संगठनहरु विरोधमा उत्रेपछि सो क्याम्पसमा व्यापक मात्रामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ । अहिले कर्मचारी बाहेक कसैलाई पनि क्याम्पस हाताभित्र छिर्न दिइएको छैन ।

सुचना संकलनका लागि पुगेका सञ्चारकर्मीलाई समेत केही दिन यता क्याम्पस प्रवेशमा रोक लगाएको छ । ‘क्याम्पस भित्र कर्मचारी र सुरक्षकर्मीबाहेक कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।’ क्रान्तिकारी—प्रचण्डका केन्द्रीय सदस्य इन्द्र लामाले भने,‘ क्याम्पस भित्र छिर्न रोक लगाएका कारण फर्जी कार्य भएको स्पष्ट संकेत देखिन्छ ।’

आर।आर क्याम्पसका निर्वाचन अधिकृत हरिप्रसाद पराजुली शुक्रबार विहान देखि सम्पर्कबिहिन रहेको र उनको अवस्थाबारे क्याम्पस प्रशासनले कुनै चासो नदेखाएको नेविसंघका नेता दिनेश थपलियाले आरोप लगाए । उनको अवस्था छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने उनिहरुको माग छ । निर्वाचन अधिकृत सम्पर्कविहिन भएको बेला क्याम्पस प्रशासनले एकलौटी तवरले निर्वाचन कार्यक्रम अघि बढाएको थपलियाले बताए ।

जनकपुर पुगेर बाबुरामः ओलीलाई दाँजे सिके राउतसँग, चुनावको घोषणाबारे यस्ता गरे टिप्पणी

जनकपुर, फागुन २१ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा‍‍‍. बाबुराम भट्टराईले सरकारले नागरिकलाई ढाँट्नका लागि स्थानीय तहको चुनावको घोषणा गरेको अरोप लगाएका छन् । शनिबार जनकपुरमा विभिन्न पार्टी परित्याग गरेर आएका व्यक्तिहलाई प्रवेश गराउँदै संघीय संरचनामा तहको चुनाव गर्ने कि स्थानीय निकायको भन्ने टुंगो नलगाएको अवस्थामा चुनावको मिति घोषणा गरिनु शंकास्पद रहेको बताए । डा. भट्टराईले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र विपक्षी नेकपा एमालेले एक आपसमा मिलेर संविधान संशोधन नगरी चुनावको मिति घोषणा गरेर नागरिकमा भ्रम छरेको टिप्पणी गरे । आफू चुनावको पक्षमा रहेपनि मधेसी, आदिवासी, जनजाती, थारु लागयतका अधिकार संविधानमा नसमेटिएकाले पहिला संशोधन नभई चुनावमा जान नसकिने स्पष्ट पारे । यदि सरकारले संविधान संशोधन गरेर सबैको अधिकार सुनिश्चित गरे माघ ७ गते भित्रै सबै चुनाव हुने बताए । सरकार टिकाउनलाई चुनावको मिति घोषणा गरेको भट्टराईले आरोप लगाए । फरक प्रसंगमा उनले देशलाई टुक्र्याउन खोज्ने डा. सिके राउत र केपी ओली प्रवृति एक सिक्काका दुई पाटो रहेको आरोप लगाए ।

अपहरणकारी र प्रहरीबीच राजधानीमा गोली हानाहान, घाइते एक जना अपहरणकारी पक्राउ

काठमाडौं, फाल्गुन २१ । साढे ६ लाख रुपैयाँ फिरौती माग गर्दै अपहरणमा परेका तीन जनालाई अपहरण मुक्त गर्ने क्रममा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ । तीन दिनअघिदेखि बौद्धबाट अपहरणमा परेका तीन युवा विशाल तामाङ, नाङडुङ तामाङ र मनदोर्जे तामाङका लागि फिरौती लिएर मुक्त गर्ने क्रममा स्वयम्भूबाट खटिएकाे महानगरीय अपराध महाशाखा र अपहरणकारीबीच गोली हानाहान भएको हो । फिरौती रकम लिएर अपहरितका आफन्तजन भगवानपाउ पुगेपछि अपहरणकारीलाई दिएको र सादा पोशाकमा रहेका प्रहरीहरुले उनीहरुलाई पक्राउ गर्न खोज्दा झण्डै ६ जनाको समूहमा रहेका ती अपहरणकारीले भाग्ने क्रममा प्रहरीमाथि गोली चलाएका थिए । प्रहरीले जवाफी कारबाहीमा चलाएको गोली लागेर दुर्गा तामाङ नाम गरेका एक जना अपहरणकारी पक्राउ परेका छन् । तामाङको साथबाट सिक्सर हतियार र तीन थान गोली बरामद भएको महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले जनाकारी दिएका छन् । पीडितका आफन्तले शुक्रबार बिहानमात्रै महाशाखामा अपहरणबारे जानकारी दिएका थिए । अपहरणकारीले पैसा बोकेर आफन्तलाई कहिले चाबहिल, मनमैजु, त कहिले नयाँ बजार बोलाएका थिए । अपहरितका आफन्तसँगै महाशाखाबाट खटिएको सादा पोशाकका दुई टोली प्रहरीले पछ्याइरहेका थिए । हाल फरार अपहरणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘संविधान संशोधन हुन नदिने र निर्वाचन बिथोल्ने दुवै अतिवादी’-अध्यक्ष गच्छदार

मोरङ, फागुन २१ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले निर्वाचनमा सहभागी गराए मात्रै संविधान कार्यान्वयन गर्न सकिने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संयूक्त मधेसी मोर्चालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउनु पर्ने बताए । उनले भने– ‘सबै असन्तुष्ट दललाई सहभागी गराएर शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भए मात्रै संबिधान कार्यान्वयन हुन्छ,’ ‘संविधान विफल भए अहिले सम्मको प्राप्त सम्पूर्ण उपलब्धी धरापमा पर्छ ।’ अध्यक्ष गच्छदारले असन्तुष्ट र प्रतिपक्ष दलबीचको मुठभेडको स्थितिलाई सरकारले तत्काल समाधान गर्नुपर्ने बताए । अध्यक्ष गच्छदारले वर्तमान स्थिति साम्य पार्न ढिलाई गरे मधेसमा पूनः द्वन्द्व चर्किन सक्ने अवस्थाबारे सरकार सजग रहनुपर्ने बताए । संविधान संशोधन हुन नदिने र निर्वाचन बिथोल्ने दुवै अतिवादी विषय उनको भनाई थियो । संविधान संशोधनको प्रयास भइरहेको र त्यसका लागि आफुले पहल गरिरहेको गच्छदारले दाबी गरे ।

मेची–महाकाली अभियानको उद्घाटन गर्दै ओलीले भने–कसैका नाजायज माग पूरा गर्न संशोधन पारित गरिदैन’

काँकडभिट्टा, फागुन २१ । नेकपा एमालेले शनिबारदेखि मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले सीमान्त सहर काँकडभिट्टाबाट अभियान सुरु गरेका हुन् । शनिबार अभियानको उद्घाटन गर्दै ओलीले संसदमा दर्ता भएको संविधान संशोधन मुलुकको हितविपरीत भएकोले  पारित हुन नदिने ठोकुवा गरे । एमालेले संविधान र कानूनबाहेक अरु कसैका अनुचित आग्रहहरु नमान्ने उनले बताए । मधेसी मोर्चाले अभियानको पूर्वसन्ध्यामा गरेको कार्यक्रममा कालोमोसो दिएपछि अाक्रोशित अोलीले भने मेची महाकाली अभियानमा कसैले अवरोध गर्न खोजे अवरोध पन्छाउँदै अघि बढिन्छ । मधेसी मोर्चाका मागहरुतर्फ लक्षित गर्दै उनले कसैका अनुचित माग र आग्रहलाई स्वीकार नगरिने स्पष्ट पारेका छन् । सयौं कार्यकर्तामाँझ ओलीले राष्ट्रिय एकता, सामाजिक सदभावका लागि अभियान सुरु गरिएको बताए । उनले भूगोल जात र मधेस, पहाडका नाममा जनतामा भ्रम फिजाउने काम भएको भन्दै त्यसलाई चिर्न अभियान आवश्यक भएको बताए । अभियान शुभारम्भ समारोहमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वगृहमन्त्री वामदेव गौतम, नेता भीम रावल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, अमृतकुमार बोहरा, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली लगायतका दर्जनौं नेता तथा कार्यकर्ता सहभागी थिए । १५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । काँकडभिट्टाबाट सुरु अभियान महाकालीको सुर्खेत पुगेर टुंगिने छ ।

पौडेल भन्छन्–‘जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगाउन स्थानीय तहको चुनाव’

मोरङ, फागुन २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनको लागि स्थानीय तहको चुनाव आवश्यक रहेको बताएका छन् । शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जनआन्दोलनबाट प्राप्त उपलब्धिका साथै लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको संरक्षणका लागि निर्वाचन हुनुपर्ने भएकाले चुनाव अपरिहार्य रहेको बताए । आमनेपालीको अहिलेको चाहना निर्वाचन रहेकोले तराई मधेस लगायत सबै ठाउँमा घोषित मितिमै चुनाव हुने नेता पौडेलले बताए । निर्वाचनका लागि सबै प्रक्रिया अघि बढी सकेकाले अब सबैको ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । नेता पौडेलले निर्वाचनलाई सफल बनाउन सकेमात्र लोकतन्त्र बलियो हुने भएकाले सबैलाई निर्वाचनमा सहभागी हुन आग्रह गरे । निर्वाचनमा सहभागी भएर पार्टीलाई थप मजबुत बनाई आफ्ना मुद्दालाई अगाडि बढाउनेतर्फ मधेसी मोर्चा लाग्नुपर्ने उनको सुझाव थियो । नेता पौडेल संविधान संशोधनको मागप्रति मुख्य दल गम्भीर भएर लागिपरेको बताए । उनले प्रजातन्त्रमा कुनै पनि दललाई निर्वाध रुपले आफ्नो कार्यक्रम गर्न पाउने अधिकार भएकोले दलहरुले गरेको कार्यक्रमलाई विथोल्ने अधिकार कसैलाई नभएको बताए । उनले वैशाखमा स्थानीय तहको निर्वाचन भएपछि मंसिरमा प्रदेश र संसदको निर्वाचन एकैचोटि गर्न सकिने बताए । फरक प्रसंगमा नेता पौडेलले पार्टीलाई पद्धति र सहमतिका साथ अगाडि बढाउनुपर्ने तर त्यस्तो हुन नसकेकोले कांग्रेसको कार्यसमितिको वैठक बोलाउन आफूहरुले माग गरेको बताए ।

मधेसमा छिर्न संकट परेपछि ‘सुखानीका सहीदलाई’ सम्झ्यो एमालेले !

झापा, फागुन २१ । प्रमुख प्रतिपक्षी एमालेको ‘सुखानीका सहिद दिवस’ को दिन पारेर आजदेखि तराईकेन्द्रित १५ दिने मेची महाकाली राष्ट्रिय अभियान सुरु गर्दै छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान स् राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको का“कडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन् । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने अभियानका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत नेता झापा आएका छन् । यस्तै तराईबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, सांसदहरू झापा पुगेका छन् । स्थानीय साल्बारी, सुखानी, गरामनी र ज्यामिरगढीमा अलग अलग कार्यक्रम गर्ने र नेताहरु पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। ‘झापा विद्रोह’ मा संलग्न अध्यक्ष अध्यक्ष ओली र अन्य नेताहरु सुखानी उद्यानमा पुगी सहिदप्रति श्रद्धाञ्जलि दिएर अभियानको औपचारिक शुभारम्भ गर्ने बताएका छन् । तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा गिरफ्तारमा परेका झापा विद्रोहका पाँच नेतालाई सरकारले विसं २०२९ फागुन २१ गते कारागार सरुवाका नाममा झापाको चन्द्रगढीबाट इलामको सुखानीस्थित जङ्गलमा लगी दिउँसै गोली हानी हत्या गरेको थियो । सहादत पाउनेमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ थिए। गत वर्ष सरकारले उनीहरुलाई सहिद घोषणा गरेको थियो । लोकतान्त्रिक २०६२र०६३ को आन्दोलनको सफलतापछि सरकारले एमालेका पूर्वनेता तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको संयोजकत्वमा गठित सहिदको मापदण्ड निर्धारणसम्बन्धी सुझाव समितिले ती पाँच योद्धालाई सहिद घोषणा गर्न सिफारिस गरेको थियो । झापाको काकडभिट्टाबाट सुरु हुने सो अभियान कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ। आजै झापाको बिर्तामोड र दमकमा अभियानअन्तर्गतका कार्यक्रम हुँदैछन्। संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेको सो अभियानका लागि नेपाली, मैथिली, थारु, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री वितरण गरिएको छ। तराईको पूर्व–पश्चिम राजमार्गकेन्द्रित अभियानमा ३३ स्थानमा आमसभा, र्‍याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । र्‍याली र सभामा ५० लाख तराईवासीबीच पुग्ने गरी १५ लाखसम्मको जनपरिचालन गर्ने एमालेले दाबी गर्दै आएको छ ।

सुकेधारा, मण्डिखाटार र चप्पल कारखानामा विद्युत् अवरोध

काठमाडौँ, फागुन २१ । आज बिहान ६ बजे न्यु–चाबहिल सबस्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा मेलम्ची खानेपानी आयोजनाको काम गराइबाट क्षति हुन पुगी सुकेधारा, मण्डिखाटार, चप्पल कारखाना क्षेत्र लगायत ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । प्राविधिक टोली सो स्थलमा खटिइसकेकाले क्षतिग्रस्त केबल मर्मत हुनासाथ आपूर्ति पुनःसञ्चालन हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । रासस

‘खानेपानीको मुहान प्रशस्तै छ तर दूषित पानी पिउनु बाध्य छन् स्थानिय’

 सल्लेरी (सोलुखुम्बु), फागुन २१ । सदरमुकाम सल्लेरीबासी दूषित पानी पिउन बाध्य छन् । यहाँ पानीको मुहानको सरसफाइ तथा खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन । सदरमुकामबासीले पटक पटक गुनासो पोख्दै आए तापनि सरोकार भएकाहरुले चासो नदिँदा तथा स्थानीय घरबेटीको पहलकदमी कमजोर हुँदा फोहर पानी पिउनुपर्ने बाध्यता छ । सदरमुकाममा प्रशस्तै खानेपानीको मुहान भए तापनि उचित किसिमले सञ्चालनमा नआउँदा समस्या उत्पन्न भएको हो । वाकु सोलुखुम्बु घर भई हाल दूधकुण्ड नगरपालिका–५ सल्लेरीमा बस्दै आउनुभएकी सिर्जना मगर दूषित पानी पिउनु परेको गुनासो गर्नुहुन्छ । मगर भन्नुहुन्छ “के शुद्ध के अशुद्ध, खोलाको पानी पाइपबाट ल्याई प्रयोग गरिरहेकी छु, त्यही भएर होला बेला बेलामा विभिन्न स्वास्थ्य समस्या आउने गरेको छ ।” मगरको मात्र हैन धेरैको यस्तै गुनासो छ । पानीको मुहान प्रशस्तै भए तापनि मुहान पहिचान गर्न र भएका मुहानको संरक्षण गरी व्यवस्थित बनाउन नसक्दा समस्या उत्पन्न भएको छ । दूषित खानेपानी प्रयोगकै कारण विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने गरेको र पटक पटक गुनासो राख्दा समेत आफूहरुको गुनासोलाई नगरपालिकाले सम्बोधन नगरेको दूधकुण्ड नगरपालिका–६ नयाँ बजारका टेकबहादुर राईले बताउनुभयो । नयाँ बजारमा प्रयोग हुने पानीको मुहान केही माथि भए तापनि त्यसको संरक्षण तथा सरसफाइ भने नभएको राईको भनाइ छ । स्थानीयवासीको यस्तो गुनासो आइरहँदा जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन सोलुखुम्बुका सब डिभिजन प्रमुख कुलप्रसाद शर्मा भने आफूहरुकामा स्थानीयवासीको गुनासो नआएको बताउनुहुन्छ । खानेपानीको शुद्धता नाप्ने यन्त्र कार्यालयले ल्याए तापनि जानकारीको अभावले खानेपानी शुद्ध हो या अशुद्ध भनेर कसैले प्रयोग नगरेको उहाँको भनाइ छ । शर्मा भन्नुहुन्छ “सदरमुकामको खानेपानी सुरक्षा योजना लागु भएको र चाँडै सदरमुकाममा उपभोक्ता समिति गठन गरी काम अगाडि बढाउने लक्ष्य छ, त्यसैले अब समस्याको समाधान हुन्छ ।” नगरवासीलाई शुद्ध पानीको पहुँचमा ल्याउन नगरपालिकाको काम भए तापनि यसका बारेमा कुनै योजना बनाइएको पाइँदैन । आगामी दिनमा खानेपानी कार्यालयसँग सहकार्य गरी नगरपालिकाभित्र खानेपानी व्यवस्थित गरिने दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भट्टराईले आश्वासन दिनुभयो । रासस

चलचित्र बनाउन दुई करोड मागे स्वास्थ्य मन्त्रालयसँग झलनाथ खनालले

काठमाडौं, फागुन २० । स्वास्थ्य मन्त्रालयसँग अस्पताल उपकरण, चिकित्सक र उपचारका लागि सबैले माग गर्ने गर्दछन् । तर पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले भने चलचित्र निर्माण गर्नका लागि दुई करोड स्वास्थ्य मन्त्रालयसँग माग गरेका छन् । नेता खनालले आफ्नो नाममा खोलिएको संस्था ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ का लागि स्वास्थ्य मन्त्रालयबाट दुई करोड रुपैयाँ अनुदान माग गरेका हुन् । प्रतिष्ठानले तलब वितरण, शाखा विस्तार, भवन निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर), वृत्तचित्र निर्माण लगायतका शीर्षकमा दुई करोड रुपैयाँ माग गरेको हो। मन्त्रालयले निजी क्षेत्रबाट सञ्चालित यस्ता संस्थालाई अनुदान रकम उपलब्ध गराउने कुनै कानुनी आधार नभएपछि उक्त फाइललाई रोकेर राखेको छ । प्रतिष्ठानले पुस १९ गते दुई करोड रकम उपलब्ध गराइदिनु भन्ने प्रस्तावसहितको फाइल मन्त्रालयमा दर्ता गरेको थियो। भवनको डिपिआरका लागि ५५ लाख, शाखा विस्तारका लागि ३० लाख, रणनीति योजनाका लागि १० लाख, वृत्तचित्र निर्माणका लागि १५ लाख र कर्मचारीलाई तलब भत्ता, प्रशासनिक खर्चका लागि चालु खर्च शीर्षकमा ९० लाख गरी दुई करोड माग गरिएको छ। प्रस्तावमा भवनको डिपिआरका लागि ५५ लाख, शाखा विस्तारका लागि ३० लाख, रणनीति योजनाका लागि १० लाख, वृत्तचित्र निर्माणका लागि १५ लाख र कर्मचारीलाई तलब भत्ता, प्रशासनिक खर्चका लागि चालु खर्च शीर्षकमा ९० लाख गरी दुई करोड माग गरिएको छ। गत आर्थिक वर्ष पनि मन्त्रालयले अनुदान दिन अस्वीकार गरेपछि नेता खनालको चर्को दबाबमा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक करोड रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । प्रतिष्ठानले ‘सर्पदशंकको औषधि उत्पादन शीर्षक’मा एक करोड लैजान सफल भएको थियो । तर, प्रतिष्ठानले सो रकम अन्य शीर्षकमा खर्च गरेको विभाग स्रोतको भनाइ छ। ‘प्रतिष्ठानले गत वर्ष लगेको अनुदानको खर्च विवरण समेत बुझाउन अटेरी गरेको छ,’ विभाग स्रोत भन्छ ।

संविधान नचाहनेले नै बखेडा झिकिरहेका छन् : प्रधानमन्त्री

बनेपा, फागुन २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नयाँ संविधान नचाहनेले नै बखेडा झिकेर अल्झाउन खोजिरहेको बताएका छन् । संविधान संशोधन प्रक्रिया अघि बढाउँदै चुनाव गराउने पक्षमा सरकार लागिरहेका बेला संविधान नचाहनले नयाँ नयाँ बखेडा झिकिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको च्यासिङ्खर्क–६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको सहिद सप्ताह तथा सभामा बोल्ने प्रधानमन्त्री प्रचण्डले आगामी माघ ७ गतेभित्र नै तीन तहको निर्वाचन हुनुपर्ने संवैधानिक प्रावधान रहेको र वैशाखमा स्थानीय निकायको निर्वाचन सक्नुपर्ने कार्यभार रहेको बताएका छन् । निर्वाचन नै संविधान कार्यान्वयनको माध्यम भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले संविधान निर्माण हुन नदिने शक्ति नै संविधान असफल बनाउन र गणतन्त्र, धर्मनिरपेक्षताविरुद्ध लागेको उल्लेख गरे । माओवादी केन्द्रका अध्यक्ष कामीडाँडा क्षेत्र राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भएको उल्लेख गदैै त्यस क्षेत्रका मागलाई सम्बोधन गरिने आश्वासन दिएका छन् । कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अमिक शेरचन तथा पोलिटब्युरो सदस्य खुमानसिंह लामा, सूर्यमान दोङलगायतले कामीडाँडाले जनतामा उत्साह थपेका थिए । सो अवसरमा उक्त क्षेत्रका बासिन्दाले बाटोको स्तरोन्नति, कृषि पर्यटन क्षेत्र र कामीडाँडालाई चियाको मुख्य क्षेत्र घोषणा, त्यस आसपासका १० गाविसलाई सडक सञ्जालसँग जोडनुपर्नेलगायत माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

देउवाको गुनासो–‘पार्टीभित्रैकै नेताले गरेको गुटबन्दीले दिक्क भए’

काठमाडौं, फागुन २० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका नेताहरुको प्रवृत्तिले दिक्क भएको बताएका छन् । कीर्तिपुरमा काँग्रेस निकट प्राध्यापकहरुको संस्था प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार उद्घाटन गर्दै देउवाले पार्टीभित्रका नेताले नचाहिदो गुटबन्दी र भागवण्डा खोजेर आफूलाई हैरान पारेको बताए । उनले भने– ‘बाहिर भागवण्डाकै विरोध गर्नेहरुले नै भित्र हरेक ठाउँमा भागवण्डा मागेका कारण म वाक्क भएको छु।’ नाम नलिइ उनले रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलादेखि खुमबहादुर खड्कासम्मका नेताले भागवण्डा खोजेर हैरान पारेको बताए । सरकारका मन्त्रीहरुको चयनदेखि भातृसंस्थाहरुको गठन प्रक्रियामा पार्टी नेता माग गरेपछि पार्टी संचालन प्रक्रियामा देउवाले अप्ठ्यारो बेहोरिरहेका छन्। प्राध्यापक संघको नेतृत्व चयनमा विवाद देखिएपछि देउवाले भने, ‘तपार्इंहरु प्रजातान्त्रिक मूल्य, मान्यता र अभ्यासलाई अँगाल्ने साथीहरुले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्न लाग्नु भएको छ। यो प्रजातान्त्रिक पद्दतीबाट जो आएपनि हुन्छ र यसले भागवण्डाको अन्त्य हुन्छ।’ नेपालका सबै राजनीतिक परिवर्तनमा नेतृत्व प्रदान गर्दै गणतन्त्र र संघीयता सहितको संविधान जारी गराउन सफल नेपाली काँग्रेसले परिवर्तनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न संविधानको सफल कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु परेको उनले बताए। संविधानको व्यवस्था अनुसार आगामी माघ ७ गतेभित्र तीन तहकै निर्वाचन गर्नुपर्ने भनिएपनि मंसिर १५ भन्दा पछाडि निर्वाचन गर्न मौसमको प्रतिकूलताका कारण सम्भव नभएको भन्दै मंसिरभित्रै निर्वाचन सम्पन्न गराउनु पार्टीको ठूलो चुनौती रहेको उनले बताए। त्यसका लागि आफूले संविधानमा असहमति राख्दै आएका असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सफल गराउन लागि परेको देउवाले बताए ।

राप्रपाको विवाद मिल्यो, चुनाव चिन्ह ‘गाई’ हुने

काठमाडौं, फागुन २० । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्ह गाई राख्ने निर्णय गरेको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा २ दिनसम्म चलेको केन्द्रिय समितिको बैठकले गाईलाई चुनाव चिन्ह राख्ने निर्णय गरेको सो पार्टीका नेता मोहन श्रेष्ठले ट्वीट गरेर जानकारी दिएका छन् । राप्रपा र राप्रपा नेपाबीच एकता भएपछि हलो र गाई कुन चुनाव चिन्ह राख्ने भन्ने बिषयमा पार्टी भित्र विवाद देखिएको थियो । केन्द्रिय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले चुनाव चिन्ह गााई नै उपयुक्त हुने धारणा राखेपछि सर्बसम्मत पारित गरिएको श्रेष्ठले उल्लेख गरेका छन् । केन्द्रिय समितिले गरेको निर्णय बारे छिट्टै निर्वाचन आयोगलाई जानकारी गराउने सो पार्टीले जनाएको छ । बैठकमा आसन्न स्थानीय निकायको निर्वाचनको तयारी, स्थानीय तहमा निर्माण गरिने सांठगठिक संरचना तथा जिम्मेवारी बाँडफाँडका बिषयमा समेत छलफल भएको सो पार्टीले जनाएको छ ।

सप्तरीमा एमाले नेतालाई कालोमोसो, ओलीलाई मधेस प्रवेश गर्न नदिने चेतावनी

सप्तरी, फागुन २० । मेची–महाकाली अभियानको प्रचारमा रहेको एमालेका नेतामाथि शुक्रबार सयुक्त लोकतन्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कालोमोसो दलेको छन् । राजविराजको हटियामा रहेका एमाले सप्तरीका सदस्य एवं पूर्वजिविस सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका हुन् । एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले मोर्चाका कार्यकर्ताले आफ्ना जिल्ला सदस्यलाई कालोमोसो दलेको पुष्टि गरे । उनले आफ्नो पार्टीलाई कार्यक्रम नै गर्न नदिएकोमा अराजकताको पाराकाष्टा भएको प्रतिक्रिया दिए । उनले आफ्नो पार्टीले जसरी भएपनि अभियान सफल पार्न आवश्यक परे प्रतिरोध गर्ने बताए । न्यौपानेले भने-‘हाम्रा कार्यकर्तालाई कालोमोसो दल्ने, कार्यक्रम गर्न रोक्ने लगायतका अराजक ब्यवहार गरियो भने प्रतिरोध गर्छौं ।’ उनले अहिले मधेसी मोर्चाका कार्यकर्ताहरू राजतन्त्रभन्दा पनि बढी तानाशाही बन्न खोजेको आरोप लगाए । ‘हामी हाम्रा कार्यक्रम लिएर जनतामा जान्छौं, कसैले रोक्न सक्दैनौं,’ उनले भने । मधेसी मोर्चाका सप्तरी संयोजक दिनेशकुमार यादवले मार्चाको निर्णय नभएको बताए । एमाले मधेस र मधेसीविरोधी पार्टी भएकाले जनताले प्रतिकार गरेको हुन सक्ने बताए । ‘कालोमोसो दल्ने हाम्रो निर्णय होइन् तर मधेसी जनताले प्रतिकार गरेको हुन सक्छ, हाम्रा युवा विद्यार्थी पनि सामेल भएको हुन सक्छ ।’ उनले एमाले अध्यक्ष केपी ओलीलाई राजविराजमा वा सप्तरीमा कुनै कार्यक्रम गर्न नदिने चेतावनी दिए । आउँदो फागुन २३ गते ओलीले राजविराजमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘मधेसविरोधी ओलीलाई सप्तरीमा कार्यक्रम गर्न दिँदैनौं, निषेध, प्रतिकार जे जे गर्नुपर्छ गर्छौं’ मोर्चा संयोजक यादवले भने । बिहीबार पनि मधेसी मोर्चाले राजविराजमा एमालेको मेचीमहाकाली अभियानअन्तर्गत घरदैलौ अभियानलाई विथोल्न लाठी जुलुस निकालेको थियो ।

गृहमन्त्रीसँग ओलीले भने-‘कार्यकर्ताको चित्त बुझाउन संशोधन राष्ट्रघाती भनियो’

काठमाडौं, फागुन २० । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिर कार्यकर्तासँग सरकारलाई राष्ट्रघाती भनेपनि एमालेको आधिकारिक डकुमेन्टमा त्यस्तो शब्द उल्लेख नभएको स्पष्ट पारेका छन् । बिहिबार अबेर राती ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँग उनले कार्यकर्तालाई निर्देशन दिएको जस्तो संशोधनलाई राष्ट्रघाती नभनेको स्पष्ट पारेका हुन् । गृहमन्त्रीले एमालेको सभा विथोल्न निर्देशन दिएको आरोपबारे निधि ओलीलाई भेट्न पुगेका थिए । उनले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पारेका छन् । भेटमा गृहमन्त्री निधिल सिरहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूले कसैलाई ‘लखेट्न पर्छ’ भन्ने शब्द प्रयोग नगरेको दाबी गरेका हुन् । “मेची–महाकाली अभियानबारे तपाईले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन्, भेटमा एमाले अध्यक्ष ओलीले सोधेका थिए, तर मलाई तपाईले त्यस्तो शब्द प्रयोग गर्नु भएको भन्ने बिश्वास लाग्दैन । ” एमालेले मंगलबार विज्ञप्ति जारी गर्दैमन्त्री निधिले एमाले कार्यकर्तालाई मेची– महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो । लहानमा नेपाल महिला संघद्धारा आयोजित निर्बाचन तथा महिला अधिकार सम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटनका क्रममा मन्त्री निधिले एमालेले संबिधान संशोधनमा अबरोध गरेको भन्दै एमालेबिरुद्ध भण्डाफोर गर्नुपर्ने बताएका थिए । अध्यक्ष ओलीसँगको भेटमा मन्त्री निधिले संविधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाएका थिए । मन्त्री निधिले हिजोका दिनमा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी तपाईले नै हस्ताक्षर गरेको दस्ताबेजलाई सरकारले अघि सार्दा कसरी राष्ट्रघाती हुन्छ भन्नेप्रश्नमा अध्यक्ष ओलीले संबिधान संशोधन देशको हितमा नभएको बताए पनि राष्ट्रघाती नभनेको बताएका थिए । भेटमा गृहमन्त्री निधिले एमालेको मेची–महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराए ।

नेपाली राजनीतिका भाइरसहरु, सधैंका लागि अन्त्य गर्नुपर्ने आवश्यकता

भाइरसले सधैं तहसनहस गर्ने कुरामात्रै गर्छ । यसलाई रोक्न एन्टीभाइरस चाहिन्छ । बैज्ञानिक प्रविधिको विकाससँगै भाइरसहरुको पनि तीब्र गतिमा विकास भएको पाइन्छ तर हरेक समस्याको पछाडी समाधान पनि छ भन्ने तथ्यलाई आत्मसात गर्दै भाइरसहरुको निर्मूलको लागि एन्टीभाइरसको पनि विकास भएको छ । विज्ञानमा भाइरसको मान्यताजस्तै राजनीतिमा पनि गतिशीलतालाई रोक्ने र भाँजो हाल्ने तत्व हुन्छन्। यदि भाइरस (समस्या) हुदैनथ्यो भने चुनौतीहरुको सामना पनि गर्नु पर्ने थिएन । जति चुनौतीहरु थपिदै जान्छ त्यति नै अवसरको बाटोहरु पनि खुल्दै जान्छन । राजनीतिमा पनि यस्तै हो । सामन्ती शासकहरुको इतिहासलाई गहिरोसँग विश्लेषण गर्ने हो भने तिनीहरुको तमाम भाइरसयुक्त ब्यबहारहरु निर्मूल पार्नको लागि नेपाली जनताहरुले समयानुकुल एन्टिभाइरसहरुको पनि विकास गर्दै आइरहेका छन् अर्थात परिवर्तनका लागि धक्का मुलक एजेन्डाहरुको पनि उत्पत्ति गर्दै आइरहेका छन् । कैलालीमा जमिनदारको घरमा हली बस्ने थारुको छोराले राज्य समाल्ने भइसके, दैलो टेक्न पनि नदिने दलितको छोरा सिधै सिंहदरबारमा पाइला राख्ने अवस्थामा पुगिसक्यो, बच्च जन्माउने मेसिन सम्झने नारीहरु पुरुषबादी समाजलाई उछिन्दै यो देशको राष्ट्र प्रमुख सम्म पुगिसके । माओवादी केन्द्र समग्र राजनीतिलाई आफ्नो कक्षमा सन्तुलित रुपमा घुमाउन सक्ने नेतृत्व भएको पोलिटिकल पावर कन्ट्रोलर हो । मागिखाने भाँडो बनाएको नेपाली राजनीतिलाई राज्यको नीति र आम जनताको हितको लागि हुनुपर्छ भन्ने सिद्धान्तले प्रतिस्थापन गरेकाले नै माओवादी केन्द्र आज राष्ट्रिय राजनीतिको केन्द्रमा छ । राजनैतिक रुपमा हाइ भोल्टेज भएको माओवादी केन्द्र सामन्तीहरुको दिमागमा करेन्ट लगाएर जनताको लागि उज्यालो प्रकाश दिने परिवर्तन र अग्रगामी उदेश्य भएको जनवादी पार्टी हो भन्ने कुरामा कुनै दुइमत छैन । माओवादी केन्द्र गठन पश्चात यो एउटा पावर सेटरको रुपमा रुपमा स्थापित भैसकेको हुदा यसले आफ्नो पावर सेयरिङ ससक्त रुपमा देशब्यापी फैलाएर जनतालाई उर्जाशील बनाउने काम तीव्र गतिमा गरिरहेको छ । नेपालको हरेक परिवर्तनको पछाडी माओवादी र कमरेड प्रचण्डको नाम सवैभन्दा अगाडी आउछ चाहे त्यो जनजाति आन्दोलनको सवालमा होस या सिमान्तकृत समुदायको हक अधिकार र पहिचानको सवालमा । यदि १० वर्षीय जनयुद्ध भन्दा पहिले र जनयुद्ध पछिको आम जनताको चेतनास्तरको मुल्यांकन गर्ने हो भने पनि माओवादी आन्दोलनको उपलब्धी मज्जा देख्न सकिन्छ । यथास्थितिवादी चिन्तन बोकेका तत्वहरुलाइ एउटै जाति र धर्मका ब्यक्तिहरुले निरन्तर यो देशमा राज गरेको देख्न चाहन्छन तर माओवादी आन्दोलनले बृद्धि गरेको चेतनास्तरको कारण अब त्यो रहन सक्दैन । अब कैलालीमा जमिनदारको घरमा हली बस्ने थारुको छोराले राज्य समाल्ने भइसके, दैलो टेक्न पनि नदिने दलितको छोरा सिधै सिंहदरबारमा पाइला राख्ने अवस्थामा पुगिसक्यो, बच्च जन्माउने मेसिन सम्झने नारीहरु पुरुषबादी समाजलाई उछिन्दै यो देशको राष्ट्र प्रमुख सम्म पुगिसके । यावत कुराहरु सुन्दा अनौठो जस्तो लागि पनि सबै परिवर्तन मात्रै माओवादीको कारणले सम्भव भएको हो । यी अथाह परिवर्तनको पछाडि सिंगो माओवादी आन्दोलन र त्यसका कमान्डर प्रचण्डको नाम अग्रपंक्तिमा आउछ । वर्ग विभेदयुक्त समाजको भाइरसहरुलाई स्क्यान गरेर स्वच्छ समाजको निर्माण गर्ने एन्टिभाइरसको भुमिका प्रचण्डले गरेका छन् । तर यी सबै परिवर्तनहरुलाई तहसनहस गर्नको लागि जातिवादी मिडियाको दुरुपयोग गर्दै जनतालाई भ्रमित बनाउन एमाले कांग्रेस लगायतका भाइरसहरु लागि परिरहेका छन तर जबसम्म एन्टिभाइरसको भुमिकामा प्रचण्ड रहन्छन् प्रतिक्रियावादी शक्तिहरुले संसारको जस्तो सुकै भाइरसहरुको प्रयोग गरे नि केही हुनेवाला छैन । माओवादी इतिहास रगतले कोरिएको इतिहास हुन । हजारौ जनताका छोराछोरीहरुको त्याग तपस्या र बलिदानको इतिहाससँग जोडिएको छ माओवादी केन्द्र । समय र परिस्थितिको अभाव/आवश्यकतामा पिल्सिएर जन्मेको यो पार्टी अरुभन्दा धेरै भिन्न छ । राज्यबाट पिछडिएका समुदायहरु आदिवासी जनजाति,मदेसी लगायत उत्पिडनमा परेका जातिहरुको मुद्दाहरु प्रतिनिधित्व गर्ने पार्टी भनेको माओवादी केन्द्र नै हो । उत्पीडनमा परेका विभिन्न धर्म, सम्प्रदाय, संस्कृति, भाषा, पहिचानहरुको अधिकार सुनिश्चितताका लागि लडेको माओवादी केन्द्रलाई आउदो निर्वाचनमा भोट दिनुको कुनै विकल्प छैन । यदि समुदायको मुक्ति चाहने हो भने माओवादी केन्द्र बाहेक अन्य विकल्प नै छैन । विगत ६० बर्षदेखि प्रतिक्रियावाद शक्तिहरुले लुटेर कँगाल बनाएको देशलाई दुईचार बर्षमा नै माओवादीले कायापलट गरेन भनेर फेरी प्रतिक्रियावादीहरुलाई नै भोट दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो । लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरिसकेपछि लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार्नै पर्ने हुन्छ । हारजीत सामान्य प्रक्रिया भएपनि परिवर्तनलाई आत्मसात गर्ने शक्ति नै पहिलो रोजाइमा पर्नु अनिवार्य सर्त हो । कतिपय जनजाति समुदायहरु चुनाबलाई कमाइको भाँडो ठान्ने गर्छन । अहिलेसम्म पनि एकहातमा नोट र अर्को हातले भोट साटिरहेका छन् । यसै गरि आफ्नो अमुल्य भोट दुई चार पैसाको लोभमा भ्रष्ट, दलाल र राष्ट्रघातीहरुलाई सुम्पिरहेका हुन्छन् । अनि पछि गएर राजनैतिक हक अधिकारहरु प्राप्त गर्नुपर्ने बेलामा माओवादी लगायत परिवर्तनकामी दलहरुलाई धारेहात लगाउदै बस्ने गर्छन् । तर परिवर्तनकारी शक्तिलाई वेवास्ता गरेर दुईचार पैसाको लोभलालचमा आफ्नो भोट बेच्दाको परिणाम हो भन्ने कुरामा पश्चाताप गरेको कदापी देखिदैन । अब यो पटक पनि हामीले त्यही गल्ती दोहोरायौ भने इतिहासले कदापी माफ गर्नेवाला छैन । यदि समुदायको मुक्ति चाहने हो भने माओवादी केन्द्र बाहेक अन्य विकल्प नै छैन । विगत ६० बर्षदेखि प्रतिक्रियावाद शक्तिहरुले लुटेर कँगाल बनाएको देशलाई दुईचार बर्षमा नै माओवादीले कायापलट गरेन भनेर फेरी प्रतिक्रियावादीहरुलाई नै भोट दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो । देशमा निरंकुश राजतन्त्रको अन्त्यसँगै संघीय गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व लगायत उत्पीडित वर्गमा स्थापित गराएका अधिकारका मुद्धाहरुलाई फेरी पनि अँध्यारो कोठामा बसेर उल्टाउने कसरत भइरहेको छ । यदि ती उपलब्धीहरुलाई बेलैमा संस्थागत गर्न नसक्ने हो भने हामी हाम्रा हक अधिकारका बारेमा एकादेशको कथा सुन्दै पुर्पुरोमा हात लगाएर बस्नु बाहेक कुनै उपाय रहने छैन । त्यसैले देशको त्यो अवस्था आउने पहिले नै हामीले सचेतता पुर्वक समाजका यस्ता भाइरसहरुलाई निर्मुल पार्न, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थपा उपलब्धिका लागि पनि नेकपा ९माओवादी केन्द्र० लाई भोट हाल्नुको विकल्प छैन । आवादी रोज्ने कि बर्वादी रोज्ने बेलैमा सोचेनौ भने हामीलाई हाम्रा सन्ततिले अनन्तकाल सम्म धिक्कारी रहनेछन् । लेखक प्रेस सेन्टर नेपाल, युएईका अध्यक्ष हुन्