व्यवस्थापिका संसद बैठकको मिति सर्यो, दश दिनपछि बस्ने

काठमाडौं, फागुन १७ । व्यवस्थापिका संसद बैठक सारिएको छ । आगामी फागुन १९ गते बस्ने भनिएको संसद बैठक २७ गतेलाई सारिएको सभामुख ओनसरी घर्ती मगरका प्रेस सल्लाहकार बासुदेव(बबिन) शर्माले जानकारी दिए ।

सभामुख घर्ती श्रीमान तथा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको उपचारका लागि बैंककमा भएकाले संसद बैठक सारिएको उनले बताए । तर, सारिएको उक्त मितिभित्रमा संशोधन प्रस्ताव बारेमा दलहरूबीच सहमतिको पहल हुने बताइएको छ ।

सरकारले मंसिर १४ गते संसदमा पेश गरेको संविधानको संशोधन विधेयक प्रक्रियाका लागि अगाडि बढेपनि पारित गराउने बारेमा प्रमुख प्रतिपक्षी सहित नौ दल र मधेसी मोर्चाबीचमा कुरा मिल्न सकेको छैन । ८ दिनको अवधिमा दलहरुबीच सहमति गराएर संशोधन प्रस्ताव पारित गराउन पहल गरिने बताइउको छ ।

प्रधानमन्त्री र चीनियाँ राजदूत यु होङबीच भेटवार्ता

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चीनियाँ राजदूत यु होङले भेट गरेकि छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र होङबीच स्थानीय निर्वाचन र नेपालको पूर्वाधार विकासका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासको क्षेत्रमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै विकासका क्षेत्रमा चीनको थप सहयोग रहने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले नेपाल र चीनबीच कनेक्टिभिटी, पूर्वाधार विकास र पूर्व सम्झौताहरुको कार्यान्वयन प्रभावकारी रुपमा अगाडि बढिरहेको बताए । प्रधानमन्त्रीले सरकार स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनलाई मूर्त रुप दिने प्रक्रियामा रहेको बताउँदै त्यसका लागि चीनको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरे । भेटमा प्रधानमन्त्रीले वान बेल्ट, वान रोडअन्तर्गतका विकासका कार्यक्रमहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे । चीनियाँ राजदूत होङले नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त हार्दिक रहेको बताउँदै नेपालको पूर्वाधार विकासका कार्यक्रमहरु सकारात्मक रुपमा अगाडि बढिरहेको र आगामी दिनमा थप तिब्रता दिइने बताइन् । नेपालको राजनीतिक र संविधान कार्यान्वयनको प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको बताउँदै होङले त्यसमा चीनको सदैव सद्भाव रहने बताइन् ।

चुनावमा सहमती जुटाउन कांग्रेस र मधेशी मोर्चासंग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह चुनावमा राजनीतिक सहमती जुटाउन त्रिपक्षीय छलफल गर्ने भएका छन् । प्रमुख सत्ता साझेदार कांग्रेस सहित मधेशी मोर्चासंग मंगलबार संयुक्त छलफलको लागि प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले सहमती जुटेका विषयमा तत्काल संशोधन गरेर निर्वाचनमा जाने र विवादित बिषयमा निर्वाचनपछि संशोधन गर्ने प्रस्ताव अघि सारेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान साढे १० बजेपछि बस्ने बैठकमा सोही प्रस्तावमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार मोर्चाका शीर्ष नेतासंग सहमती जुटेका बिषयमा संशोधन गर्दै बैशाख ३१ का लागि घोषणा गरेको स्थानीय निर्वाचनमा सहभागि हुन आग्रह गरेका थिए । मधेशी मोर्चाका नेताले परिमार्जन सहित संशोधन प्रस्ताव पारित गरेर मात्र चुनावमा जान सकिने अडान दोहर्‍याउँदै आएका छन् ।

हार्ने डरले अखिल र विप्लव समुहले सानोठिमी क्याम्पसमा आगजनी गरेको महासचिव बस्नेतको आरोप

भक्तपुर, फागुन  १७ । भक्तपुर स्थित सानोठिमी क्याम्पसमा एमाले निकट अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीको संयुक्त गठवन्धनले गएराति क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेका छन्। अखिल(क्रान्तिकारी) र नेविसंघको संयुक्त प्यानलले जित्ने सुनिश्चित देखिएकाले चुनाव रोक्ने मनसायले अनेरास्ववियु र विप्लव समुहले आगजनी गरेको क्रान्तिकारीका महासचिव एवं सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति बीरेन्द्र बस्नेतले आरोप लगाएका छन्। सानोठिमी क्याम्पसमा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)का रमेश खड्काको नेतृत्वमा नेविसंघ सहितको संयुक्त प्यानल दर्ता भएको छ ।त्यसैगरी एमाले निकट अनेरास्ववियुका लालबहादुर रोकायाको नेतृत्वमा विप्लव निकट क्रान्तिकारी सहितको संयुक्त गठवन्धन दर्ता भएको छ। क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी भएतापनि निर्वाचन संग सम्वन्धित सवै कागजात सुरक्षित रहेकाले फागुन १८ गते हुने चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले वताए।

चुनाव तोकिएकै मितिमा हुन्छः मन्त्री गिरी

दाङ, फागुन १७ । सिँचाइमन्त्री दीपक गिरीले सरकारको पहिलो काम संविधान कार्यान्वयन भएको बताउनुभएको छ । नेपाली काँग्रेस धनौरी गाउँ एकाइ समिति, दाङले सोमबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि सरकारले पहिलो खुट्किलो स्थानीय चुनाव घोषणा गरेको पनि बताउनुभयो । उहाँले सरकारले तीनै तहको चुनाव तोकिएकै मितिमा गर्ने बताउँदै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । “सरकार निर्वाचन गर्न कटिबद्ध भएर लागेको छ, स्थानीय स्तरमा पनि चुनावी माहोल बनाउनुहोस्” मन्त्री गिरीले भन्नुभयो । उहाँले विगत दुई दशकदेखि स्थानीय चुनाव नहुँदा विकास निर्माणले गति लिन नसकेको भन्दै अब संविधान कार्यान्वयनसँगै देशमा विकासले गति लिने बताउनुभयो । “अब संविधान कार्यान्वयनसँगै देशलाई सम्वृद्धितर्फ लैजानुपर्छ राजनीतिक उपलब्धिसँगै देशमा अब आर्थिक सम्वृद्धि पनि छाउनेछ,” उहाँले भन्नुभयो । त्यस्तै, सिँचाइ मन्त्री गिरीले देशका विभिन्न स्थानमा सिँचाइ सुविधा पु¥याउन सरकारले विभिन्न योजना अगाडि सारेको बताउनुभयो । उहाँले बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन आफू लागेको समेत बताउनुभयो । रासस

सहमतिमा आउन मोर्चालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, फागुन १६  । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको छलफलमा प्रधानमन्त्रीले हाल सहमति हुन सक्ने विषयमा सहमति गरेर स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढाउन र सहमति हुन नसकेका विषयमा बिस्तारै सहमति जुटाउँदै जाने भएकाले त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । स्थानीय तह पुनःसंरचनाको अन्तिम टुङ्गो, संविधान संशोधन प्रस्ताव र त्यसमा मधेसी मोर्चाको भूमिका तथा स्थानीय तहको निर्वाचनका विषयमा नै केन्द्रित भएर मोर्चाका नेतासँग प्रधानमन्त्रीले आफ्नो धारणा राखेको र मुलुकलाई अगाडि बढाउने विषयमा सहमति गर्न आग्रहसमेत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनमा नजाने हो भने सङ्घीयता नै उल्टिन सक्ने खतराप्रति मोर्चाका नेताको ध्यानाकर्षण गराउनुभएको थियो । संविधान संशोधन प्रस्तावलाई अन्तिम टुङ्गोमा लैजान मोर्चाका नेताको सुझाव माग्दै प्रधानमन्त्रीले सरकार संशोधन प्रस्तावप्रति गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । भेटमा मोर्चाका नेताले संविधान संशोधन प्रक्रिया र स्थानीय तहको प्रतिवेदनबारे आफ्नो चासो राख्नुभएको थियो । मोर्चाका तर्फबाट भने पहिले संशोधनको प्रक्रिया अगाडि बढेका खण्डमा आफूहरु निर्वाचनका लागि तयार रहेको धारणा राखिएको सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा मोर्चाले प्रदेश मातहत स्थानीय निकायलाई राख्नुपर्ने, नयाँ प्रदेश बनाउन परे सहज प्रावधान राख्नुपर्ने तथा स्थानीय निकायमा राख्नुपर्ने विशेष तथा स्वायत्त क्षेत्रको शीघ्र निर्धारण गर्नुपर्ने धारणा राखेको बताइएको छ । छलफलमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र फोरमका सहअध्यक्ष श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । सोही छलफलका आधारमा मङ्गलबार नेकपा(माओवादी केन्द्र), नेपाली काँग्रेस र मधेसी मोर्चाबीच संयुक्त बैठक बस्ने समझदारी भएको छ । रासस

विद्यालय मैदानमै ६ वर्षीया बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

बर्दिया, फागुन १६ । विद्यालय शिक्षाको मन्दिर अनि शिक्षकहरु त्यसका पुजारी । तर बर्दियाको राजापुरमा भने त्यस्तै पुजारीले राक्षसी व्यवहार देखाएका छन् । उनले आफैले पढाउने गरेकी ६ वर्षकी नाबालिकालाई विद्यालय मैदानमै बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ । राजापुर नगरपालिकाको एक विद्यालय मैदानमा ललाईफकाई लगी ती ६ वर्षीया बालिकालाई बलात्कार ५४ वर्षीय शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई आरोपित शिक्षकले ललाई फकाई विद्यालयको मैदानमै बलात्कार गरेको बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए । आरोपित शिक्षकमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जाने हाेइन त काेरिया ! यस वर्ष १० हजार २ सय नेपालीकाे माग

काठमाडौं, फागुन १६ । कोरियाले आगामी वर्षका लागि दशहजार दुई सय नेपाली कामदारको माग गरेको छ । यो अन्य वर्षको तुलनामा बढी हो । आगामी वर्षहरुमा कोरियाले नेपालबाट इपीएसमार्फत बढी मात्रामा नेपाली कामदार लैजाने बताइएको छ । कोरियाको मानव संशोधन विभाग (एचआरडी) ले १० हजार २ सय कामदारको कोटा छुट्याइएको इपिएस कोरिया शाखाले जानकारी दिएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कोरियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको छ । त्यस मध्ये ६ हजार २ सय कृषि क्षेत्रमा र ४ हजार औद्योगिक क्षेत्रमा लाने भएको हो । नेपाली कामदार इमान्दार र मेहनती भएका कारण कोरियन साहुको रोजाइमा परेका हुन् । आगामी वर्षका लागि भाषा परिक्षाको फारम आगामी चैत ९ गते देखि १८ गते सम्म खुल्ला हुने छ । फारम अनलाइनबाटै भर्न सकिने छ । परिक्षा जेठ २८ र २९ गते गर्ने तयारी भएको निर्देशक खतिवडाले जानकारी दिए ।

सबै परिवर्तनका पक्षधर एक ठाउँमा उभिए मात्रै देशमा चमत्कार हुन्छ : प्रधानमन्त्री

काठमाडौं, फाल्गुण १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै परिवर्तनका पक्षधरहरु एकै ठाउँमा उभिएर मात्रै चमत्कार गर्न सकिने बताएका छन् । २१४४ औं ल्याल्मो ल्होसारको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्याय र परिवर्तनका पक्षधरहरु मिलेर मात्र चमत्कार हुन सक्ने बताएका हुन् । उनले भने, ‘सबै जातिभित्र फरक फरक वर्गका मान्छेहरु छन् । खस–आर्यभित्र संघीयताका पक्षधर पनि छन्, जनजातिभित्र संघीयताका विरोधी पनि छन् । मूख्य कुरा दृष्टिकोणको हो । न्याय, समानता र परिवर्तनका पक्षधर सबै शक्ति र समुदाय मिले मात्रै चमत्कार गर्न सकिन्छ ।’ उनले कुलमान घिसिङको प्रशंग जोड्दै कुलमानलाई त्यो ठाउँमा लैजान आफूले दुई वर्षसम्म कडा संघर्ष गर्नुपरेको बताएका छन् । त्यस्तै सबै समुदायभित्रका परिवर्तनका पक्षधर एक ठाउँमा उभिनुपर्ने उनले बताए । प्रधानमन्त्रीले सरकार संविधानको स्वीकार्यता बढाएर निर्वाचन गर्न केन्द्रित रहेको बताए । उनले भने, ‘मधेशी मोर्चाका नेताहरुसँग पनि छलफल भएको छ । सरकार संविधानको स्वीकार्यता बढाएर देशलाई निर्वाचनमा लैजाने संकल्पमा छ । हामीले सबै समुदायको पहिचान र अधिकारका लागि हाम्रो मत प्रष्टसँग राखेका छौं ।’ कार्यक्रममा एमाले नेता कृपाशुर शेर्पाले आफ्नो समुदायको अधिकारका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । त्यस्तै शेर्पा समुदायको अधिकार र पहिचानको पक्षमा क्रियाशील विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

समयमै चुनाव गराउन माग गर्दै क्रान्तिकारीकाे विरोध प्रदर्शन

काठमाडौं, फागुन १६ । स्ववियु निर्वाचन तोकिएको समयमै हुनुपर्ने माग गर्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् । एमाले अखिल तथा अन्य केही राजनीतिक दलनिकट संगठनहरुले अधिकांश क्याम्पसहरुमा तालाबन्दी गरेर चुनावी प्रक्रिया भाँडेको विरोधमा क्रान्तिकारीले प्रदर्शन गरेका हुन् । अखिल क्रान्तिकारीले स्एववियू निर्वाचन समयमै हुन नदिन षडयन्त्र गरिरहेका केही विद्यार्थी संगठनहरुलाई प्रशासन लगाएरै भएपनि फागुन १८ मै निर्वाचन गराउन माग गरेका छन् । विश्वभाषा क्याम्पसबाट सुरु भएको जुलुस ल, आर.आर, शंकरदेव पुतलीसडक, बागबजार हुँदै त्रिचन्द्र क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियोे । त्रिचन्द्रबाट पुनः पुरानो बसपार्क हुँदै आरआर क्याम्पस पुगेर जुलुस समापन भएको थियोे । कोणसभामा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले फागुन १८ गते जुनसुकै हालतमा स्ववियु चुनाव हुनुपर्ने बताएका छन् । कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन अर्याल, खुसिराम चौधरी, मिलन एमसी लगायतले पनि बोलेका थिए ।

उपेन्द्र यादवको समाजवादी फोरमले चुनावमा भाग लिने, निर्वाचन आयोगमा गरायो दल दर्ता

काठमाडौं, फागुन १६ । संघीय समाजवादी फोरम नेपालले सोमबार निर्वाचन आयोगमा गएर दल दर्ता गराएको छ । संविधान संशोधन नभई स्थानीय तहको चुनाव गर्न नहुँने भन्दै आफ्नो दलको असहमतिबीच घोषणा गरिएको चुनावको विरुद्धमा जाने बताएको पार्टीले दल दर्ता गराएको हो । सोमबार संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक तथा पार्टीका निर्वाचन विभाग प्रमुख डा. शिवजी यादवले आयोगमा गएर दल दर्ता गराएका हुन् । सरकारले बैशाख ३१ गते स्थानीय तहको चुनाव गर्नेगरी मिति घोषणा गरिसकेको छ । निर्वाचन आयोगले सोमबारदेखि बुधबारसम्म चुनावमा सहभागी हुन चाहने दलको दर्ता आब्हान गरेको छ । निर्वाचन हुनै नसक्ने, निर्वाचनको औचित्य नभएको, पहिले संविधान संशोधन हुनुपर्ने भन्दै चुनावको बिरोध गरेका उक्त पार्टी औपचारिक रुपमा चुनावमा होमिने भएको छ । संविधानको धारा २६९ बम्मोजिम आयोगमा दर्ता कायम भई आफू क्रियाशील रहेका जिल्लाका निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दलहरूले चुनावका लागि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा जानकारी गराउनुपर्ने हुन्छ । सोमबार सार्वजनिक बिदामा पनि निर्वाचन आयोगमा काम भइरहेको छ । आउँदो वैशाख ३१ गते हुने स्थानीय चुनावको अरु तयारीसँगै दल दर्ताको काम हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । आयोगका अनुसार दर्ता गर्नका लागि दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ । यस्तै केन्द्रिय कार्यालयको ठेगाना, केन्द्रीय कार्यकारिणी समिति वा त्यस्तै समितिका पदाधिकारीको संख्या, दलको संगठनात्मक स्वरूप, दल दर्ताको लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र, दलको आधिकारिक छापको नमूना पेश गर्नुपर्ने हुन्छ।

मेची-महाकाली अभियानका स्वयंसेवकलाई यस्तो दिए एमाले अध्यक्ष ओलीले निर्देशन

काठमाडौँ, फागुन १६ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य, स्थिरता, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि पार्टीको मेची–महाकाली अभियान सार्थक हुने बताए । यही फागुन २१ देखि चैत ५ गतेसम्म आयोजना हुने उक्त अभियानका लागि खटिने स्वयम्सेवकलाई सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा निर्देशन दिँदै उनले तराई मधेसमा एमालेबारे छरिएको भ्रम चिर्न आवश्यक रहेको बताए । पार्टीले राष्ट्रिय स्वाधीनता र सामाजिक सद्भावका लागि भन्दै मेची–महाकाली राष्ट्रिय अभियान गर्न लागेको उनले बताए । ‘हाम्रो अभियानबाट कसैले डराउनुपर्दैन यो खाली मधेसमा एमालेलाई मधेसी विरोधी भनिएको भ्रम चिर्न गर्न लागेका हौं, अर्काे त चुनावमा केन्द्रीत हुनुनै छ,’ ओलीले भने । अध्यक्ष ओलीले स्थानीय तहको चुनावले सङ्क्रमणकालको अन्त्य स्थिरता, राष्ट्रिय एकता एवम् सामाजिक सद्भाव कायम राख्न मद्यत गर्ने बताए । उनले स्वयसेवकहरुलाई भने–‘स्थानीय तहको चुनावलाई सहयोग पुग्नेगरी अभियानमा सहभागी बन्नु ।’ उनले भने–‘मधेसमा एमालेका नीति र सोचबारे गलत प्रचार गरिएको छ, मधेसका जनतालाई हामी राष्ट्रवादी पार्टी हौ भनेर देखाउन जरुरी छ, यो राष्ट्रका लागि गरिएको हो हामी सफल हुन्छौं ।’ पार्टीबारे उत्पन्न गरिएका भ्रम अभियानले चिर्ने उनको विश्वास थियो । अभियानको अवधिभर अध्यक्ष ओली र वरिष्ठ नेतासहितको टोली मेची महाकाली पुग्नेछ । अभियानका करिब १० हजार स्वयम्सेवक परिचालन गरेको छ । पार्टीका सचिव प्रदीप ज्ञवालीले पार्टीको अभियानमा सामेल भएर राष्ट्रका लागि जिम्मेवार भूमिका निर्वाह गर्न र अभियान व्यवस्थित, प्रभावकारी र सुरक्षित गराउन आग्रह गरे । अर्का सचिव योगेश भट्टराईले अभियानले संविधान संशोधन प्रस्ताव अनुचित भएको बताए । उनले एमालेको अभियानले भावनात्मक राष्ट्रिय एकता कायम राख्ने दाबी गरे । अभियानका क्रममा ३० स्थानमा आमसभा, झाँकी, प्रदर्शन, पार्टी प्रवेशजस्ता कार्यक्रम हुने एमालेले जनाएको छ ।

रूकुम पुगेर डा.भट्टराईले भने–संविधान संशोधन नभएसम्म निर्वाचन हुनै सक्तैन’

रुकुम, फागुन १६ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । पार्टी प्रशिक्षणका लागि रुकुम पुग्नुभएका भट्टराईले सोमबार सल्ले विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अहिलेको सरकारले आफ्नो आयु लम्ब्याउनलाई निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए । संविधान संशोधन गरेर मधेसी दलले उठाएका मागलाई सम्बोधन गरेमात्र तीनवटै तहको चुनाव गर्न सकिने उनले बताए । अहिलेको संविधानमा सबैको हित हुने व्यवस्था नभएकाले नै तत्काल संविधान संशोधन गरेरमात्र देशलाई निकास दिनुपर्ने भट्टराईको भनाइ थियो । डा.भट्टराईले भने– ‘अहिलेको शासकीय स्वरुपसमेत ठीक छैन, संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने व्यवस्था गर्नुपर्छ ।’ शासकीय स्वरुप ठीक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीव्र गतिमा हुन नसक्ने उनको भनाइ थियो । संयोजक भट्टराईले नयाँ शक्ति नेपालले अघि सारेको आर्थिक क्रान्तिको एजेण्डामार्फत देशको आर्थिक समृद्धिलाई पूरा गर्न सकिने बताए । ‘अब राज्यका सबै शक्ति मिलेर देशमा औद्योगिक क्रान्ति सञ्चालन गर्नुपर्छ त्यसको अगुवाई नयाँ शक्तिले गर्छ,’ भट्टराईले भने । नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमबीचको एकताको सन्दर्भमा भने गम्भीर छलफल भइरहेको र अब छिट्टै टुङ्गोमा पुग्ने उनले बताए । रासस

उपराष्ट्रपति पुन अस्पताल भर्ना, प्रधानमन्त्रीले नर्भिक पुगेर भेटे

काठमाडौं, फागुन १६ । लगातार बान्ता भएपछि उपराष्ट्रपति नन्दबहादुर पुन अस्पताल भर्ना भएका छन् । स्वास्थमा एक्कासी समस्या आएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको हो । लगातार बान्ता भएपछि आइतबार राती उनलाई अस्पताल भर्ना गरिएको थियो। उपराष्ट्रपति पुनका नीजि चिकित्सक डा. शिवजी सिलवालका अनुसार रिंगटा लाग्ने, बान्ता हुने, ज्वरो आउने समस्या देखिएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको हो। पुनको तीन दिन देखि बान्ता रोकिएको थिएन। डा. सिलवाका अनुसार पुनको शरिरमा सोडियमको मात्र कम देखिएको छ। लिभर इन्जाइम र पानीको मात्र समेत कम भएको उनले बताए। स्वास्थमा क्रमिक सुधार भएको बताउँदै डा. सिलवालले अबको १२ घण्टाको अवस्था हेरेर अरु निर्णय गरिने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनलाई भेटेर स्वास्थअवस्थाबारे जानकारी लिएका छन्। सोमबार प्रधानमन्त्री प्रचण्ड उपराष्ट्रपति पुनलाई भेट्न नर्भिक अस्पताल पुगेका हुन् ।

एमाले अखिल र नेविसंघको विरोधले नवलपरासीमा दुईवटा क्याम्पसमा मात्रै स्ववियु चुनाव हुने

नवलपरासी, फागुन १६ । एमाले निकट अखिल र कांग्रेस निकट नेविसंघको विरोधका कारण नवलपरासीका दुईवटा क्याम्पसमा मात्र स्ववियु चुनाव हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव बुधबारका लागि तोकेको छ । ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्ने भएपनि विद्यार्थी संगठनबीचको विवादका कारण चारवटा क्याम्पसको चुनाव स्थगित भएको हो । दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट र महाकवि देवकोटा बहुमुखी क्याम्पस सुनवलमा निर्धारित समयमै चुनाव हुने भएको छ । कालिका संस्कृत क्याम्पस गैंडाकोटमा नेपाल बिद्यार्थी संघले, कुमारवर्ती क्याम्पसका अनेरास्ववियुसहितका बिद्यार्थी संगठनले तथा त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारी र पाल्ही बहुमुखी क्याम्पस परासीमा मधेसी मोर्चा निकटका विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

मधेशी मोर्चाभित्र भारतीय जासुसी संस्था ‘र’को चलखेल, यादवलाई फुटाएर बाबुरामसँग जोड्ने कसरत

काठमाडौं, फागुन १६ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि भारतीय जासुसी संस्था ‘र’ले आफ्नो सक्रियता बढाएको छ । संविधान संशोधन नगरी निर्वाचन गर्न नहुने माग राख्दै आएको मधेसी मोर्चाभित्र ‘र’को चलखेल तीब्र बनेको श्रोतले बतायो । भारतको राजनीतिक नेतृत्वले नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप नगरेपनि ‘र’ ले भने राज्य पुनःसंरचनाको प्रतिवेदनलाई मुख्य आधार बनाएर मोर्चाभित्र चलखेल गरेको श्रोतले बतायो । “यही चलखेलका कारण मधेसी मोर्चाभित्र उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोभन्दा चर्को कुरा गरेका छन् ।’ श्रोतले भन्यो, “‘र’ अहिले चुनाव नहोस भन्ने चाहन्छ ।” श्रोतका अनुसार, ‘र’का लागि नेपालको राजनीतिमा उपेन्द्र यादव र बाबुराम भट्टराई भरपर्दो शक्ति देखिएका छन् । त्यसैले उपेन्द्र यादवलाई मोर्चाबाट अलग पार्ने र भट्टराईसँग गठबन्धन गराउन ‘र’ले कसरत गरिरहेको छ । “होइन भने मोर्चाको मुख्य घटक हुँदाहुँदै कतिपय मुद्दामा यादवजीले बाबुरामसँग संयुक्त विज्ञप्ती निकाल्ने के अर्थ हुन्छ र ?” श्रोतल भन्यो, “मधेसी मोर्चाले संशोधन पहिला अनि मात्र चुनाव भनिरहेको बेला यस्तो विज्ञप्ती आउनु सोझै रको निर्देशन हो भन्ने पुष्टि हुन्छ ।” उनले भने । नेपाललाई हेर्ने दृष्टिकोणमा भारतीय जासुसी संस्था ‘र’ र त्यहाँको राजनीतिक नेतृत्वबीच फरक धारणा देखिएको हो । राजनीतिक पक्ष नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव पारेर विगतमा नाकाबन्दीको अवस्था दोहोर्याउन नचाहने तर ‘र’ले भने तराईको प्रभाव नेपालको राजनीतिमा उल्लेख ढंगले पार्न कसरत गर्न खोजेको श्रोतले बतायो । प्रधानमन्त्री प्रचण्डसँग भएका कतिपय छलफलमा महन्थ ठाकुर र उपेन्द्र महतोले संविधान संशोधनको कुरामा प्रक्रियामा जाने या सीमांकनका विषयलाई शक्तिशाली आयोगमार्फत हल गर्नेसम्मको सहमति नगरेका होइनन् । श्रोतले भन्यो, “सरकारले निर्वाचनको घोषणा गर्नुपर्ने बाध्यता समेत महतोहरुले राम्रैसँग बुझेका छन् । त्यसैले उनीहरु संशोधन प्रस्तावदेखि अन्य मुद्दामा सरकारसँग सहमत छन् । तर उपेन्द्रजीले आजसम्मका हरेक बैठकमा बिरोध गर्दै आएका छन् । यो उनको मात्रै बिरोध होइन, यो आयातीत बिरोध हो । यसको ब्याकमा बाबुरामजी र ‘र’ छ भन्दा फरक पर्दैन ।” सम्भवतः यही कारणले होला, पछिल्लो दिनमा उपेन्द्र यादव र बाबुराम भट्टराईबीच राजनीतिक मुद्दाहरुमा कार्यगत एकता भएको छ । स्वतन्त्र विद्यार्थी यूनियनमा समेत दुबै दलका विद्यार्थी संगठनले साझा उम्मेदवार घोषणा गरेका छन् । जबकि मुद्दाका हिसाबले उपेन्द्र यादव लामो समयदेखि मधेसी मोर्चासँग जोडिएका छन् । नयाँ शक्तिका एक नेता भन्छन्, “तर ‘र’ले भने मधेसी मोर्चाबाट आफ्नो स्वार्थ पुरा हुने नदेखेर बाबुरामजीसँग यादवालाई जोड्न खोजेको हो । भविष्यमा यिनीहरुको एकता भयो भन्दा पनि अचम्म मान्नुपर्दैन ।” यो पनि पढ्नुस् । उपेन्द्र यादवमार्फत ‘र’ले राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा तराई मधेसमा निर्वाचित प्रतिनिधिको संख्या थप्नुपर्ने नत्र समर्थन फिर्ता लिने अडान राख्न लगाएको छ । जबकि महतो र ठाकुरले सरकारबाट समर्थन फिर्ता लिने कुरा गरेका छैनन् । समावेशी समानुपातिक प्रतिनिधित्वको मुद्दा उचालेर राष्ट्रिय र स्थानीय तहमा मधेसको संख्या बढाने र सोमार्फत मधेसको मुख्य आधार रहने राजनीतिक शक्ति स्थापना गर्ने र यसलाई नेपालको राजनीतिमा प्रभावशाली बनाएर भारतीय प्रभुत्वको स्वार्थ रक्षा गर्ने रणनीति ‘र’को रहेको श्रोतले बतायो । यो राजनीतिक शक्ति नयाँ शक्ति र उपेन्द्र यादवको फोरम मिलेर बन्न सक्ने आँकलन गरेको ‘र’ले अहिले संविधान संशोधन र निर्वाचनको मुद्दामा सरकारलाई चेपुवामा पार्न दुबैलाई उपयोग गरेको समेत श्रोतले बतायो । मधेसी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिन हतार नभएको टिप्पणी गर्ने तर यादव र उनका नेताहरुले २४ घण्टाभित्र समर्थन फिर्ता लिन्छौं भनेर अभिव्यक्ति दिनुले यसको पुष्टि गर्छ ।