नेपालले कृषि, प्रविधि, जलविद्युत् र पर्यटनमा भियतनामसँग सहकार्य गर्ने

काठमाडौँ, फागुन २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, प्रविधि, जलविद्युत् र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । शुक्रबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउलाई शिष्टाचार भेट दिदै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

चाउले कृषि, प्रविधि, जलविद्युत् र पर्यटन र जलविद्युत्को क्षेत्रमा भियतनामले पनि नेपालसँग सहकार्य गर्न चाहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामी जनता र त्यहाँको सरकारको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताए ।

प्रधानमन्त्रीले भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको प्रसङ्ग उल्लेख गर्नुभएको उहाँका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीले नेपालको सेना समायोजन र हतियार व्यवस्थापन विश्वका लागि शिक्षाप्रद भएको भन्दै संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढेको बताएका थिए । सो अवसरमा  प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका थिए ।

भियतनामका विदेशमन्त्री चाउले प्रधानमन्त्रीलाई भियतनाम भ्रमणको निम्तो दिँदै नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको बताएका थिए ।  रासस

निर्वाचनको कार्ययोजना पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ, फागुन २०। सर्वोच्च अदालतले तीनै निकायको निर्वाचनसम्बन्धी भएको प्रगति र कार्ययोजना बारे १० दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई आगामी २०७४ माघ ७ गतेभित्र तीनै निकायको निर्वाचनको प्रगति र कार्ययोजनाबारे १० दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “तीनै निकायको निर्वाचन गर्नका लागि के–के कानुन बन्यो ?, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन प्रक्रिया के भयो ? र तीनै निकायको निर्वाचनको कार्ययोजना संविधानबमोजिम कसरी बनेको छ, त्यो १० दिनभित्र पेस गर्नु ।” अधिवक्ताहरु डा चन्द्रकान्त ज्ञवाली, बिमल ज्ञवाली, लीलाधर उपाध्याय र शशी कार्कीले २०७३ असोज २० गते प्रदेश संसद र सङ्घीय संसद्को निर्वाचन तिथि, मिति तत्काल तोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । सोही रिट निवेदनको सुनुवाइमा सर्वोच्चले सो आदेश जारी गरेको हो । सर्वोच्च अदालतले यसअघि पनि संविधानमा व्यवस्था भएअनुसार तीनै निकायको निर्वाचन गर्नका लागि आदेश जारी गरिसकेको छ । रासस

सहमति र सहकार्य नेपालको राजनीतिक संस्कार : प्रधानमन्त्री

काठमाडौँ, फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति र सहकार्य नै नेपालको राजनीतिक संस्कार भएको बताएका छन् । दोस्रो लगानी सम्मेलनका लागि आज मात्रै नेपाल आईपुगेका भारतका वित्तमन्त्री अरुणकुमार जेट्लीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले दलको सहमतिमा सरकार स्थानीय तहको निर्वाचनमा जुटेको र एकता र सहकार्यका आधारमा नै आफू अगाडि बढिरहेको बताउँदै सहमति र सहकार्य नै नेपालको राजनीतिक संस्कार भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपालको भौतिक पूर्वाधारको निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । प्रधानमन्त्रीले हुलाकी राजमार्ग, प्रसारण लाइन बिस्तार, महाकाली नदीमा पुल, अरुण तेस्रो जलविद्युत् आयोजना लगायतका पूर्वाधार निर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा जलविद्युत्, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्यका लागि अगाडि बढ्न वित्तमन्त्रीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले नेपाल सरकार संविधान कार्यान्वयनका लागि क्रियाशील रहेको जेट्लीलाई जानकारी गराएका छन् । संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने उनले उल्लेख गरे । भेटमा वित्तमन्त्री जेट्लीले नेपालजस्तो देशका लागि प्रत्यक्ष वैदेशिक लगानी निकै महत्वपूर्ण हुने भन्दै नेपालमा आयोजना गरिएको लगानी सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरे । जेट्लीले आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने भन्दै नेपालले अघि बढाएको आर्थिक विकासमा भारत सहकार्य गर्न तयार रहेको बताउनुभयो । रासस

स्थानीय चुनाव विथोल्ने विप्लव माओवादीको घोषणा, पार्टीका नेताहरुले निजी सम्पती राख्न नपाउने

काठमाडौं, फागुन १९ । पार्टीको आठौं महाधिवेशनमा आफ्नो नाम फेरेको विप्लव माओवादीले पार्टीको राजनीतिक कार्यदिशा र कार्यनीति सार्वजनिक गरेको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै विप्लव माओवादीले नेपाली क्रातिको राजनीतिक कार्यदिशा, तत्कालिन राजनीतिक कार्यभार, राजनीतिक मुद्धाहरुमा संगठनका दृष्टिकोबारे जानकारी गराएका हुन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एकीकृत जनक्रान्तिको माध्यमबाट मात्रै आम नेपाली जनताको मुक्ति हुने कुरामा जोड दिए । स्थानीय चुनाव विथोल्ने सरकारले ०७४ बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाव कुनै हालतमा हुन नदिने विप्लवले बताएका छन् । देश विकास गर्न नलागेर सरकारले विभिन्न बहाना बनाउँदै हुन लागेको स्थानीय तहको निर्वाचन विफल बनाउने चेतावनी दिएका हुन् । विप्लवले पत्रकार सम्मेलनमा भने जस्तोसुकै मूल्य चुकाएर भएपनि चुनाव हुन नदिने बताएका छन् । विप्लवले भने, ‘हामी चुनाव हुन दिँदैनौं, जसले दमन गर्छु भनेको छ उविरुद्ध हामी लड्न तयार छौं । पत्रकार सम्मेलनमा विप्लवले भने ‘संसदवादलाई फाल्नु नै अहिलेको प्रमुख काम हो’ । अहिलेको विकल्प भनेको संसदवाद हैन, वैज्ञानिक समाजवाद हो । त्यो ल्याउन अरु कसैले सकेनन् । अब हामी लडेर भएपनि ल्याउने उनको भनाई छ । पार्टी नेताहरुकाे निजी जीवन नहुने विप्लवले महाधिवेशनबाट पारित वैज्ञानिक समाजवादमा नागरिकलाई कामअनुसार दामसहितको निजि जीवन को स्वतन्त्रता हुने तर पार्टीका मुख्य नेताहरुमा निजि जीवनको अन्त्य हुनुपर्ने परिकल्पना गरिएको बताए । विप्लवले त्यस्ता नेताहरुको लागि आवश्यक पर्ने व्यवस्था संस्थाले गर्ने र नेताले जीवनभर देश र जनताको लागि काम समय दिनुपर्ने बताए । पत्रकार सम्मेलनमा बोल्दै विप्लवले पुँजीवादीहरुले समाजवादमा राजनीतिक जीवन र नीजि जीवन हुँदैन भन्ने गरेको कुरा सही नभएको बताउँदै पार्टीको केन्द्रीय समिति र महासचिवमा बाहेक अरुमा नीजि जीवन हुने बताए । आर्दश नेता र समृद्ध जनता भएपमात्र समाजवाद हुँदै सम्यावादमा पुग्न सकिने धारणा राखे । उनले देश र जनताको हितमा हुने बाहेक बाह्य दलाल पुँजीलाई प्रतिवन्द लगाउनु पर्ने बताए ।  

चुनाव चिह्नको विषयलाई लिएर राप्रपाभित्र चुलियो विवाद

काठमाडौं, फागुन १९ । चुनाव चिह्नको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद चुलिएको छ । राप्रपाको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष कमल थापा र नेता प्रकाशचन्द्र लोहनीबीच चुनाव चिह्नको विषयलाई लिएर विवाद भएको हो । अध्यक्ष थापाले पार्टीको चुनाव चिह्न गाई हुनुपर्ने प्रस्ताव गरेका थिए भने नेता लोहनीले हलोलाई चुनाव चिह्न बनाउनुपर्ने माग गरेका थिए । यस विषयमा सदस्यहरुबीच पनि चर्को विवाद भएपछि बैठकले ठोस निर्णय गर्न सकेको छैन । बैठकमा अध्यक्ष थापाले संविधान संशोधनको विषयमा सरकारले आफ्नो पार्टीसँग कुनै छलफलसमेत नगरेकाले समर्थन गर्न नसकिने बताए । उनले मधेसी मोर्चालगायतका दलहरुलाई सहमतिमा ल्याएर स्थानीय तहको निर्वाचन गराउनुपर्ने र त्यसो हुन नसके मुलुक अप्ठ्यारोमा जानेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

लगानीकर्तालाई प्रधानमन्त्रीले भने- ‘ढुक्क भएर लगानी गर्नुहोस, सरकार सुरक्षा दिन तयार छ’

काठमाडौं, फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान जारी भएपछि नेपाल आर्थिक विकासमा केन्द्रीत भएकाले लगानी बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । सरकारले आयोजना गरेको लगानी सम्मेलनको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्रीले लगानी सुरक्षाका लागि सरकार पूर्णप्रतिबद्ध रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरे । उनले संविधान जारीपछि मुलुक आर्थिक विकासमा केन्द्रित भएको, लगानीको वातावरण तयार हुँदै गएको र राजनीतिक दल पनि आर्थिक मुद्धामा एकजुट भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् । लगानी लिएर आउनेको जिम्मा सरकारले लिने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए । सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगानीको वातावरण बनाउन दलहरु पूर्ण प्रतिबद्ध रहेको बताए । उनीहरुले लगानीको वातावरण तयार पार्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीन लिक्वानले नेपालको विकासका लागि नेपाल सरकार एवं निजी क्षेत्रसँग काम गर्ने इच्छा व्यक्त गरे । उनले पूर्वाधार लगानी बैंकले जनताले चाहेको परियोजनामा मात्रै लगानी गर्ने भन्दै नेपालको जलविद्युत् एवं प्राकृतिक स्रोतमा काम गर्न इच्छुक रहेको बताए । सम्मेलनमा पूर्व अर्थमन्त्री डा। रामशरण महतले लगानी आकर्षित गर्न नेपालले अवलम्बन गर्दै आएको नीतिगत व्यवस्थाबारे जानकारी गरे । अर्थमन्त्री कृष्णबहादुर महरा, उद्योग मन्त्री नविन्द्रराज जोशी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीका लागि सरकारले अलम्बन गरेका नीति स्पष्ट रहेकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । शुक्रबारसम्म चल्ने सम्मेलनमा २५ मुलुकका २ सय ५० विदेशी तथा झन्डै ३ सय स्वदेशी लगानीकर्ता सहभागी छन् । सम्मेलनमा विभिन्न क्षेत्रमा करिव एक खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आउने सरकारले आशा गरेको छ ।

स्ववियु चुनाव : उपत्यकाका बढी क्याम्पसमा अखिल क्रान्तिकारीको विजयी अग्रता

काठमाडौं, फागुन १९ । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावकको ननिजा आउने क्रम जारी छ । उपत्यकामा रहेका तीन जिल्लामा रहेका क्याम्पसमा भएको स्ववियु चनावमा मचाओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले बढी स्थान जितेको छ । क्रान्तिकारीले अहिलेसम्म उपत्यकाका चार ठूला क्याम्पसमा अध्यक्ष सहित प्यानलै जितेको छ । यस्तै नेविसंघले एक वटा र अनेरास्ववियुले दुई वटा क्याम्पस जितेका छन् । नेपाल मजदुर किसान पार्टी निकट नेक्राविसंघले एक क्याम्पस जितेका छन् । विवाद, आगजनी र तालाबन्दीका कारण कतिपय क्याम्पसमा चुनाव स्थगित भएको छ । सानोठिमी शिक्षा क्याम्पस भक्तपुर स्थित सानोठिमी शिक्षा क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल विजयी भएको छ । जसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रमेश खड्का अध्यक्षमा बिजयी भएका छन् । खड्काले कुल खसेको मत मध्ये चार सय ६६ मत प्राप्त गरेका थिए । खड्काका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका लालबहादुर रोकायाले तीन सय ११ मत प्राप्त गरेका छन् । त्यस्तै, सचिवमा नेविसंघका रामबहादुर केसी बिजयी भएका छन् । केसीले चार सय ३३ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी अनेरास्ववियुका गोरख केसीले तीन सय ५३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी पार्वती शर्मा बिजयी भएकी छिन् । शर्माले कुल खसेको मत मध्ये चार सय २५ मत प्राप्त गरेकी थिइन् । उनको प्रतिद्धन्दी अखिल क्रान्तिकारी विप्लवका मान बहादुर डाँगीले दुइ सय ५५ मत प्राप्त गरेका थिए । सो क्याम्पसमा सात सदस्य संयुक्त प्यानलबाट नै बिजयी भएका छन्। भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ र नेक्राविसंघको संयुक्त प्यानल बिजयी भएको छ । संयुक्त प्यानलबाट बिजयी अध्यक्ष दिनेश खड्गीले पाँच सय २३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका दिपकबहादुर विष्टले तीन सय ७ मत ल्याएका छन् । त्यस्तै, सचिवमा संयुक्त प्यानलको तर्फबाट बिजयी विवेक लामिछानेले पाँच सय १२ मत प्राप्त गरेका छन् । लामिछानेका प्रतिद्धन्दी अनेरास्ववियुका सन्तोष कार्कीले दुई सय ४५ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा संयुक्त प्यानलका मिलन गणेजुले चार सय ९९ मत प्राप्त गरि बिजय भएका छन् । उनका प्रतिद्धन्दी अनेरास्ववियुकी सुनिता रोकाले दुइसय ४१ मत प्राप्त गरेकी थिइन् । सो क्याम्पसमा ७ सदस्य निर्वाचित भएका छन् । जसमा सातै सदस्य संयुक्त प्यानलबाटै बिजयी भएको निर्वाचन अधिकृत शेरसिङ रैखोलाले बताए । उक्त क्याम्पसमा कुल नौ सय ८० मत खसेको थियो । महाराजगञ्ज मेडिकल क्याम्पस महाराजगञ्ज मेडिकल क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार मिलन गैरे अध्यक्षमा बिजयी भएका छन् । गैरेले कुल खसेको मत मध्ये पाँचसय १३ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेविसंघका सन्तोष उपाध्यायले चार सय २२ मत प्राप्त गरेका छन् । प्रत्यक्ष तर्फको सचिव पदमा युथ ईक्वालिटिकी स्वेता महतो बिजयी भएकी छिन् । उनले चार सय ८३ मत प्राप्त गरेकी छन् । महतोका प्रतिद्धन्दी नेविसंघका नरेश प्रसाद जोशीले चार सय २३ मत ल्याएका थिए । त्यस्तै कोषाध्यक्षमा नेविसंघका केशव आचार्य बिजयी भएका छन् । उनले चार सय ७३ मत प्राप्त गरी विजय भएका हुन् । आचार्यका प्रतिद्धन्दी युथ फर इक्वालिटिका सञ्जिव शाहले चार सय ५८ मत प्राप्त गरेका छन् । त्यस्तै सो क्याम्पसमा आठ सदस्य निर्वाचित भएका छन् । सो क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र युथ फर इक्वालिटीले संयुक्त उम्मेदवारी दर्ता गरेका थिए । सो क्याम्पसमा कुल नौ सय ६६ मत खसेको थियो । महाराजगञ्ज नर्सिङ क्याम्पस महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी भएको छ । जसमा बिमला धमलाले कुल खुसेको मत मध्ये दुई सय २० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकी हुन् । साथै उनको प्रतिद्धन्दी नेविसंघकी उम्मेदवार समिक्षा सुवेदीले एक सय १४ मत ल्याएकी छिन् । सचिवमा पनि अनेरास्ववियुकि उम्मेदवार आचल रेग्मी बिजयी भएकी छिन् । उनले दुई सय पाँच मत ल्याएकी थिईन् भने प्रतिद्धन्दी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी शुशिला पोखरेलले एक सय २७ मत ल्याएकी थिइन् । कोषाध्यक्षमा अनेरास्ववियुकी ऋचा घिमिरे विजयी भएकी छिन् । उनले कुल खसेको मतमध्ये दुईसय ११ मत ल्याएकी छिन् भने उनको प्रतिद्धन्दी नेविसंघकी पुजा पाण्डेले एकसय २० मत प्राप्त गरेकी छिन् । यसैगरी ६ सदस्य पनि अनेरास्ववियुकै उम्मेदवार बिजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानलमा उम्मेदवारी दर्ता गरेका थिए । पुल्चोक इन्जिनियरिङ क्याम्पस त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जिनिययिरङ क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)का उम्मेदवार रोशन थापामगर विजयी भएका छन् । थापामगरले चार सय ९७ मत प्राप्त गरी बिजयी भएका हुन् । थापामगरका प्रतिद्धन्द्धि अनेरास्ववियुका सुदीप चालीसेले चार सय ३५ मत प्राप्त गरेका छन् । प्रत्यक्ष तर्फको सचिव पदमा अनेरास्ववियुका ओमप्रकास अधिकारी बिजयी भएका छन् । सचिवमा अनेरास्ववियुका ओम अधिकारी र कोषाध्यक्षमा प्रतिक न्यौपाने निवाचित भए । सो क्याम्पसमा ७ सदस्य निर्वाचित भएका छन् । जसमा अदिती गजुरेल, नविन न्यौपाने, अस्मिता महरा (अखिल क्रान्तिकारी), सिर्जना भुसाल, अर्जुन खतिवडा, रमेश जोशी (अनेरास्ववियु), दिपक सापकोटा (नेविसंघ) निर्वाचित भएका छन् । जनप्रशासन क्याम्पस जनप्रशासन क्याम्पसमा नेविसंघका उम्मेदवार पंकज सुबेदी क्षेत्रि अध्यक्षमा बिजयी भएका छन् । श्रेत्रीले कुल खसेको मत मध्ये एकसय ८७ मत प्राप्त गरेका थिए । क्षेत्रीका प्रतिद्धन्दी अनेरास्ववियुका टिकाराम बस्नेतले एक सय ७७ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिवमा नेविसंघकै सन्देश आचार्य बिजयी भएका छन् । उनले दुई सय ५८ पत प्राप्त गरेका छन् । आचार्यका प्रतिद्धन्दी अनेरास्ववियुका सन्तबहादुर तामाङले एकसय १३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारी (प्रचण्ड)का जगदीस जोशी बिजयी भएका छन् । उनले एक सय ९७ मत प्राप्त गरेका छन् । जोशीका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुकी शारदा जोशीले एकसय ६० मत प्राप्त गरेकी छिन् । जसमा पाँच जना सदस्य पनि संयुक्त प्यानलबाट नै बिजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको संयुक्त उम्मेदवारी दर्ता गरेका थिए । उपत्यकाभित्र त्रिविका सातओटा आंगिक क्याम्पसमा स्ववियु चुनाव भएका थिए । जसमध्ये थापाथली इन्जिनियरिङ क्याम्पसमा मतगणना जारी छ ।

देउवाले भने-‘नेपालमा लगानी गरेर आर्थिक समृद्धिमा सहयोगी बन्नुस’

काठमाडौं, फागुन १९ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उदार अर्थतन्त्रमा विश्वास राख्नेलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। उनले अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्य गरेर मुलुकका सम्भावित क्षेत्रलाई अगाडि बढाउन सकिने बताए। बिहीबारबाट सुरु भएको ‘नेपाल लगानी सम्मेलन’को उद्धघाट्नमा बोल्दै सभापति देउवाले नेपालका दुई ठूला छिमेकी मुलुकसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउने र त्यसमा सरकारले पहल गर्ने विश्वास व्यक्त गरे। उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा लगानी सम्मेलन २०१७ आजदेखि यहाँ सुरु भएको हो । नेपाल अन्तर्रा्ष्ट्रिय लगानीका लागि उपयुक्त अवसर भएको बताउँदै उनले सम्मेलनले नेपालमा लगानीका लागि उभार ल्याउने विश्वास व्यक्त गरे। दोस्रो चरणको आर्थिक रुपान्तरणलाई अगाडि बढाएर आर्थिक लगानी र पुँजीलाई सुरक्षित गर्न सकिने बताउँदै सभापति देउवाले निजी क्षेत्रलाई प्रथमिकताका साथ अगाडि बढाउने नीति रहेको जानकारी गराए।

यथास्थितिमा संशोधन प्रस्ताव पारित हुन कठिनः प्रधानमन्त्री

काठमाडौं, फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताएका छन् । नेपाल आदिबासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले हिजो सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गर्दा राप्रपाले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न नसक्ने बताएको जनाउँदै प्रस्ताव मतदानमा गए राप्रपाले विपक्षमा मतदान गर्ने प्रष्ट भएको बताए । उनले यति कुरा जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित नभइ फेल हुने भएकाले अलिकति समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुने बताए । अहिलेको संविधान मान्दैनौं भन्दा मुलूक उल्टो दिशातिर जानसक्ने खतरा औल्याउँदै प्रधानमन्त्रीले अहिलेको संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहने बताए । उनले अहिले प्राप्त गरेका अधिकारलाई जोगाउँदै अगाडि बढ्नु राम्रो हुने बताए । उनले अहिले सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै भने– ‘आदिबासी जनजाति प्रतिष्ठान खारेज हुँदैन, त्यसमा तपाईहरु ढुक्क हुनुस् । स्थानीय तहको पूनर्संरचनामा पनि धेरै अधिकार समावेश गरिएको छ । अरु कुरा अब टुङ्गिन्छ । तर, नाम र स्थानीय तहको केन्द्र त्यहीँको संसदले तोक्छ, जनतालाई नै अधिकार दिएपछि तपाईहरुको भावना पनि समेटिन्छ ।’ भेटमा आदिबासी जनजातिका प्रतिनिधिहरुले आदिबासी जनजाति उत्थान प्रतिष्ठान यथावत राख्न, जनजाति मन्त्रालय गठन गर्न, स्थानीय तहमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था गर्न, आदिबासी अधिकारसहित संविधान संशोधन गर्न, स्थानीय तहको सीमा निर्धारण गर्दा पहिचान जडित क्षेत्रलाई खण्डित नगर्न र स्थानीय तहको निर्वाचनअघि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पोखराको जनप्रिय क्याम्पसमा नेविसंघ र नयाँशक्तीको सयुक्त प्यानल विजयी

पोखरा, फागुन १९ । त्रिवि अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको मतमपरणाम आउने क्रम जारी छ । यसैअन्तर्गत पोखराको जनप्रिय क्याम्पसमा नेविसंघ र नयाँशक्ती पार्टी निकट नयाँशक्तीको सयुक्त प्यानल विजयी भएका छन् । बुधबार भएको स्ववियु चुनावमा नयाँ शक्ति र नेविसंघले सयुक्त प्यानल बनाएका थिए । संयुक्त प्यानलका उम्मेदवार नेविसंघका आशिक गुरुङ सभापतिमा निर्वाचित भए । बिजेता गुरूङले ६ सय ५० मत प्राप्त गरेर विजयी बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका बिनोद भण्डारीले ४ सय ९३ मत प्राप्त गरे । २ हजार २ सय ८९ मतदाता रहेकोमा १ हजार २ सय ७५ मत मात्र खसेको थियो । त्यस्तै सचिवमा संयुक्त प्यानलकै नेविसंघकै ध्रुवराज अधिकारी ६ सय ४७ मत ल्याउदै विजयी भए । उनका निकटम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सुनिल पोखरेलले ४ सय ७५ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका करूणा गुरुङले ५ सय ७५ मत प्राप्त गर्दै बिजय हासिल गरिन् ।

चितवनमा सबै माओवादी पत्रकारहरु एकजुट

शिव आचार्य चितवन, फागुन १९। देशैभरमा माओवादीहरु वीचमा नै एकले अर्कोलाई हेप्ने र गिराउने खेल भईरहदाँ चितवनमा सबै माओवादीहरु एक जुट भएका छन् । जुन देशैभरका माओवादीहरुका लागि नमुना समेत बनेको छ । चितवनमा माओवादीहरु सम्बद्ध सबै पत्रकारहरु अबका दिन देखि एकजुट भएर अगाडी बढ्ने निर्णय गरेका हुन् । जसको उदाहरणकाहरुमा यतिवेला माओवादी निकट पत्रकाहरुले चितवनबाट सबै माओवादी एकजुट हुने अभियान सुरु गरेका हुन् । नेपाल पत्रकार महासंघ चितवनको यहि फागुन १७ गते हुने अधिवेशन एकाएक शुद्धिकरण र पत्रकार महासंघ सबै साझा हुनुपर्ने अडानका कारण स्थगित भएपछि यतिवेला प्रचण्ड माओवादी निकट नेपाल प्रेस सेन्टर, वैद्य माओवादी निकट क्रान्तिकारी महासंघ र विप्लव माओवादी निकट क्रान्तिकारी पत्रकार संगठनहरु अधिवेशन कार्यगत एकता गर्दै एकजुट भएर अगाडी बढ्ने संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । नेपाल प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, वैद्य माओवादी निकट क्रान्तिकारी महासंघका केन्द्रिय सदस्य शंकर सुवेदी र विप्लव माओवादी निकट क्रान्तिकारी पत्रकार संगठनका चितवन जिल्ला अध्यक्ष एवं केन्द्रिय कोषाध्यक्ष नवराज ढकालद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा यस्तो सहमति भएको हो । देशैभरमा एक माओवादीले अर्कोलाई हराउने खेल लागेका वेला चितवनका माओवादी पत्रकारहरु एकजुट हुनुलाई चितवनका पत्रकारहरुले अर्थपूर्ण रुपमा हेरेका छन्  भने प्रेस युनियन समेत भई सदस्यता शुद्धिकरण र आर्थिक पारदर्शी लगायतका कुरालाई ध्यानार्कषण तत्काल कार्यान्वयन गराउने, सदस्यता शुद्धिकरणका विषयमा भएको ९ बुदें सहमति कार्यान्वयन गर्न दवाव दिने, पत्रकार महासंघ सबैको साझा संस्था भन्ने मान्यतालाई आत्मसाथ गर्दै सबैको प्रतिनिधित्व हुने गरि सर्वसहमत नेतृत्व चयन गराउन पहल गर्ने र तीनवटै संगठन मिलेर साझा उम्मेदवार सहमति सहकार्यका आारमा तय गर्ने विज्ञप्तीमा उल्लेख छ ।  

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गणेशमान सिंह गिरफ्तार

काठमाडौं, फागुन १९ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गणेशमान सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेता सिंहलाई बुधबार सल्यान बहुमुखी क्याम्पसबाट सल्यान प्रहरीले गिरफ्तार गरेको हो । अखिल क्रान्तिकारीका सल्यान संयोजक भुमप्रकाश भण्डारीले एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासन र केही विद्यार्थी नेताहरुले चुनावी प्रक्रियामै नगई एकलौटी रुपमा स्ववियु जितेको प्रमाणपत्रलाई चोरी गरी भाग्ने लागेको बेला अबरोध गर्ने क्रममा सिंहलाई प्रहरीले गिरफ्तार गरेको बताएका छन् । एकलौटी रुपमा गरिएको चुनावी घोषणलाई आफ्नो संगठनले नमान्ने भन्दै सिंहको रिहाईका माग गरेका छन् ।

स्ववियु निर्वाचन परिणाम आउनेक्रम जारी

काठमाडौं, फागुन १९ । आज देशैभर भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ। बाजुरा– स्वतन्त्र विद्यार्थी युनियनको बडिमालिका क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका दीलबहादुर थापा विजयी भएका छन्। नेपाल विद्यार्थी सङ्घले प्रत्यक्षतर्फका सबै स्थानमा जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ। बनेपा : काभ्रेपलाञ्चोकका नौवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मिश्रित परिणाम आएको छ। जिल्लाका दुई क्याम्पसमा विवादका कारण स्ववियु निर्वाचन स्थगन भएको छ भने दुई क्याम्पस प्रकाश क्याम्पस भुम्लुटार र कानपुर क्याम्पस कानपुरमा सर्वसम्मत स्ववियु चयन भएको छ। त्यस्तै डेडीथुम्का क्याम्पसमा अनेरास्ववियुका शालिकराम पराजुलीको प्यानल, प्रभा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका विनोद चौलागाइको संयुक्त प्यानल, दाप्चाकृष्ण बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका अमृत अधिकारीको संयुक्त प्यालन, चैतन्य बहुमुखी क्याम्पस बनेपामा नेपाल विद्यार्थी सङ्घका माधव शर्माको संयुक्त प्यानल विजयी भएको छ। त्यस्तै पार्वती बहुमुखी क्याम्पस, ढुङखर्कमा नेविसङ्घका पुरुषोत्तम तिमल्सीनाको प्यानल, मङ्गलजन विजय क्याम्पस, मङ्गलटारमा नेविसङ्घका भीमकुमार श्रेष्ठको प्यानल, सञ्जीवनी कलेज धुलिखेलमा अनेरास्ववियुका रमेश सिंह ठकुरी, जनक क्याम्पस भकुण्डेमा अनेरास्ववियुकी सरला दाहालको प्यालन, कुशादेवी क्याम्पस, कुशादेवीमा अनेरास्वियुकी मन्दिरा घिमिरेको प्यानल विजयी भएका छन्। सिन्धुली : सिन्धुलीका पाँचवटा क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ। निर्वाचनबाट भिमेश्वर बहुमुखी क्याम्पस खुर्कोटमा अनेरास्ववियु, सरस्वती बहुमुखी क्याम्पस डकाहामा अनेरास्ववियु, गौमती बहुमुखी क्याम्पस माडीबजारमा अनेरास्ववियु, सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारमा अनेरास्ववियु र राप्रपा विद्यार्थी सघङ्, लाम्पान्टार बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसङ्घको संयुक्त प्यानले जित हाँसिल गरेको छ। सिन्धुलीमा १६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्नेमा विद्यार्थी सङ्गठनका विवादका कारण ११ वटा क्याम्पसमा निर्वाचन हुन सकेन। डडेल्धुरा – डडेल्धुराको जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी सङका कृष्ण धामीको प्यानल विजयी भएको छ। तेह्रथुम : तेह्रथुमको जिरिखिम्ती र छथर बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्ले जितेको छ। एक त्रिवि आङ्गिक क्याम्पससहित छवटा क्याम्पस रहेको जिल्लाका तेह्रथुम बहुमुखी, म्याङलुङ बहुमुखी, बसन्त बहुमुखी र ह्यात्रुङ झरना क्याम्पसमा भने विद्यार्थी सङ्गठनको विवादका कारण निर्वाचन हुन सकेन। मुगु : मुगु जिल्लास्थित रारा बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्याथी युनियनको निर्वाचनमा एमाले सर्मथक विद्यार्थी सङ्गठन अनेरास्ववियुका चन्दप्रकाश मल्लको प्यानल विजयी भएको छ । बिर्तामोड : झापाका नौवटा क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदात सम्पन्न भएको छ । हालसम्मको प्राप्त मत परिणामअनुसार गौरीगञ्ज उमाविमा नेविसङ्घका देवकुमार ताजपुरिया, गरामनी क्याम्पसका नेविसङ्घका विनोद उप्रेती, गौरादह क्याम्पसमा अनेरास्ववियुका कमल पौडेल, त्रिदेव क्याम्पस चारआलीमा अनेरास्ववियुकै लक्ष्मी न्यौपाने र काँकरभिट्टा क्याम्पसमा नेविसङ्घका सुरज सुवेदी अध्यक्षमा विजयी भएका छन् । त्यस्तै मेची बहुमुखी क्याम्पस भद्रपुर, देवी उमावि र कनकाई क्याम्पस बिर्तामोड, कनकाई क्याम्पस सुरुङ र दमक बहुमुखी क्याम्पसमा मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ । पोखरा : पृथ्वीनारायण क्याम्पसबाहेक पोखराका अन्य पाँचवटा क्याम्पसमा भएको आजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। पोखराका पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, जनप्रिय क्याम्पस र विन्दुवासिनी संस्कृत विद्यापीठमा आज स्ववियु निर्वाचन भएको थियो । विन्दुवासिनी संस्कृत विद्यापीठमा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ भने अन्यमा मतपरिणाम आएको छैन । सोलुखुम्बु : आज सोलुखुम्बुका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल बिद्यार्थी सङ्घले बर्चस्व कायम गरेको छ । जिल्लामा रहेका पाँच क्याम्पसमध्ये तीनवटामा नेविसङ्घ, एउटामा अनेरास्ववियुको प्यानल विजयी भएको छ भने एउटामा निर्वाचन स्थगित भएको छ । निर्वाचन परिणामअनुसार सोलुुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीमा नेपाल विद्यार्थी सङ्घ, हिमालदर्शन क्याम्पस नेचाबतासेमा उद्योग राईको सभापतित्वमा नेविसङ्घकै प्यानल दुधकोसी बहुमुखी क्याम्पस सल्यानमा मिलन केसीको सभापतित्वमा नेविसङ्घको प्यानल निर्विरोध चयन भएको छ । रासस

हारबाट अत्तालियो एमाले अखिल, चुनाव नभएका क्याम्पसमा पनि जितेको प्रचार

काठमाँड़ौ, फागुन १८ । बिगतको निर्वाचनको तुलनामा नराम्रोसँग पराजय भोग्नु परेपछि एमाले निकट अखिलले चुनाव नै नभएका क्याम्पसमा समेत जितेको प्रचार गरेको छ । “एमाले अखिलले दावी गरेको तुलनामा आज सम्पन्न चुनावमा बिजय हासिल गर्न सकेन “क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र केसीले भने “अहिले धेरै क्यापसमा जितेको भनेर झूटो आत्मरतीमा रमाउन खोजेका छन ।” एमाले अखिलले ६० भन्दा बढि  क्याम्पसमा जितेको सूची सार्वजनिक गरेको छ । बस्नेतका अनुसार यी मध्ये कतिपय क्याम्पस एमाले समर्थकहरूले सन्चालन गरेका सामुदायिक क्याम्पस छन भने अन्य विश्वविद्यालय अन्तर्गतका क्याम्पसको समेत नाम राखीएको छ। दोलख़ाको प्रताप बहुमुखी क्याम्पसदेखी कैयन अन्य क्याम्पसको हास्यास्पद सूची एमाले अखिलले चुनाव जितेको भनेर प्रचार गरिएको बस्नेतले जनाए । आधिकारिक र वास्तविकरूपमा अखिल क्रान्तिकारीले ४१ क्याम्पसमा जितेको र सबै नतीजा आउदा ८० क्याम्पसमा जित्ने अपेक्षा गरिएको उनले बताए । एमाले अखिलको धरातल खुस्केकोले आत्तालिएको बस्नेतको जिकिर छ । पुल्चोक ज़स्तो उनिहरूको गढ़मा क्रान्तिकारीले जीतेबाट यसको पुष्टी भएको बस्नेत बताउँछन । “हारको डरले ठुला क्याम्पसमा चुनाव बीथोलेको अहिले स्पष्ट भएकों छ” बस्नेतले भने ।

स्थानीय निर्वाचनका लागि २ लाख २६ हजार सुरक्षाकर्मी

काठमाडौ, फाल्गुन १८ । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । गृहमन्त्रालयमा आज बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले स्थानीय तहको निर्वाचनको सुरक्षा योजना २०७३र७४ पारित गरेको हो । वैठकले २०७४ बैशाख ३१ मा हुने निर्वाचनका लागि सुरक्षाका लागि २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय निर्णय गरेको हो । बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले निर्बाचनको आवश्यक तयारी पूरा गरेर योजना अनुसार अघि बढ्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिब श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाली सेनाका उपरथी बलदेव महत लगायतको उपस्थिती रहेको थियो ।

सकियो बैठक, जुटेन सहमति !

काठमाडौं, फागुन १८ । संविधान संशोधन र स्थानीय चुनावबारे सहमति जुटाउन आज बसेको सत्तारुढ दल र मधेसीमोर्चाबीचको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस, माओवादी, मधेसी मोर्चासहित राप्रपा र फोरम लोकतान्त्रिकलगायतलाई आज बालुवाटारमा बोलाएको वैठक विना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन पारित गर्न दुई तिहाईको कसरत सफल नहुने संकेत देखेकाले अब चुनावमार्फत् राजनीतिक एजेन्डा स्थापित गर्नुपर्ने प्रस्ताव असन्तुष्ट मधेसी दलसँग राखेका थिए । दलहरुभने आ–आफ्नै अडानतर्फ लागेका थिए । प्रधानमन्त्री प्रचण्डले भने संविधान संशोधन गर्न आफूहरु प्रतिवद्ध रहेको भन्दै स्थानीय तहको चुनावपछि अहिले होल्ड गरिएको संशोधन अघि बढाउने पुरानै अघि सारेका थिए । सत्ता घटक माओवादी केन्द्र, कांग्रेस, राप्रपा सहित मधेसी मोर्चा र फोरम लोकतान्त्रिकको संयुक्त बैठकमा गच्छदारले सत्तारोहणको सात महिनापछि बल्ले सम्झने फुर्सद पाएको भन्ने अनौठो प्रश्न गरेका थिए । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘वैगुनी रैछन’ भन्दै थिए । गच्छदारकै शैलीमा राप्रपा अध्यक्ष कमल थापाले पनि सरकार बनाउने बेला र संविधान संशोधन हाल्ने बेला आफूहरुलाई मतलब नगरेको भन्दै आलोचना गर्दै थिए । सत्तारुढ दलहरुको बैठकमा मधेसी मोर्चाले भने संविधान संशोधन नभए चुनावमा नजाने बताएको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले संविधान र संविधानलाई आफूहरुलाई स्वीकार नगरेको भन्दै भने, संशोधन नभएसम्म भाग लिन सक्ने स्थित छैन, हामीलाई बाहिर राखेर जानुस् ।’ मधेसी मोर्चाका नेता एवं रामसपाका महासचिव केशव झाले भने, ‘हामीले संविधान संशोधन नभएसम्म चुनावमा भाग लिन्नौं भनेर हामीले प्रष्ट भनेका छौं ।’