अर्घाखाँचीको पाणिनी वहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी)नेतृत्वको प्यानल विजयी

काठमाडौं, फागुन १६ । त्रिभुवन विश्वविद्यालयको सम्वन्धन प्राप्त अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा गएराती सम्पन्न मतगणना को नतिजा अनुसार अखिल (क्रान्तिकारी)का लक्ष्मण खड्काले नेतृत्व गरेको संयुक्त प्यानल विजयी भएको छ।

खड्का अखिल (क्रान्तिकारी) र नेविसंघ सहितको संयुक्त प्यानलको तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका हुन्। उनले २६६ मत प्राप्त गरेका छन्।खड्काका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका वसन्त श्रेष्ठले १९६ मत प्राप्त गरेका छन्। उनले अखिल (छैठौं) सहितको संयुक्त प्यानलको नेतृत्व गरेका थिए।

खड्का नेतृत्वको प्यानलवाट नेविसंघका वर्जना खनाल र घनश्याम पौडेल क्रमशस्सचिव र कोषाध्यक्षमा निर्वाचित भएका छन्। पाणिनी क्याम्पसमा कुल ६३२ मतदाता रहेकोमा ४६९ मत खसेको थियोे ।

यसअघि अखिल(क्रान्तिकारी)ले विभिन्न १३ वटा क्याम्पसमा स्ववियु अध्यक्ष जितिसकेको अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले जनाएका छन्।

नेपाल चीन भारत जोड़ने प्रस्तावित वन बेल्ट वान रोडका लागि चिनिया प्रतिनिधिमण्डलले भेटे प्रधानमंत्रीलाई

काठमाडौं, फागुन १५ । नेपाल चीन भारत जोड़ने प्रस्तावित वन बेल्ट वान रोडका लागि चिनिया प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालको विकास र सम्वृद्धिका लागि वान बेल्ट वान रोड परियोजना धेरै महत्वपूर्ण रहेको बताउँदै ओबिओआरले गरेको पहलको प्रशंसा गरेका थिए । चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजना अन्तर्गतको ओबिओआर अन्तराष्ट्रिय प्लेट फर्मको ४१ सदस्यीय प्रतिनिधि मण्डल प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । सो अवसरमा प्रतिनिधि मण्डलले दक्षिण एशियाली मुलुकमध्ये नेपाललाई चीनले धेरै महत्व दिएको भन्दै नेपालको पूर्वाधार निर्माण, उर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा सघाउन इच्छुक रहेको बताएको थियो ।

सातै प्रदेशकाे सीमांकन हेरफेरसहित मधेशी मोर्चाकाे संशोधन दर्ता

काठमाडौं, फागुन १५ । संविधान संशोधन विधेयकमाथि मधेसी मोर्चासहित अन्य विभिन्न दलका सांसदले १५ वटा संशोधन दर्ता गरेका छन् । संविधान संशोधन विधेयक परिमार्जन गर्नुपर्ने माग गर्दै आएको मधेसी मोर्चाले दर्ता गराएको संशोधनमा १, २, ४, ५ र ७ नम्बर प्रदेशको सीमाङ्कन हेरफेर गर्नुपर्ने उल्लेख गरिएको छ । मोर्चाले २ नम्बर प्रदेशमामा केही थप्नुपर्ने तथा तराई र पहाड मिलाएर कुनैपनि प्रदेश बनाउन नहुने उल्लेख गरेको छ भने ५ नम्बर प्रदेशमा पनि केही मिलाउनुपर्ने संशोधनमा उल्लेख छ । सत्तारुढ कंग्रेस र माओवादी केन्द्र तथा विपक्षी मजदुर किसान पार्टीका सांसदले समेत संशोधन दर्ता गरेका छन् । माओवादी केन्द्रका टोपवहादुर रायमाझी, कांग्रेसका चन्द्र भण्डारी लगायतले सिमांकन हेरफेर गर्ने प्रस्ताव बिरुद्ध सशोधन दर्ता गरेका छन् । फोरम लोकतान्त्रिक लगायत ५ वटा दलले मिलेर संशोधन प्रस्ताव दर्ता गराएका छन् । फोरम लोकतान्त्रिक, थरुहट तराई पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, दलित जनजाती पार्टी, खम्बुवान राष्ट्रिय मोर्चाले झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर राखेर आठौ प्रदेश बनाउनुपर्ने भन्दै संशोधन दर्ता गरेका छन् । आज साँझ ६ बजेसम्मको समयसीमामा प्रतिपक्षी एमाले र सत्तासाझेदार राप्रपाले भने संशोधन दर्ता गराएनन् ।

स्थानीय चुनावका लागि दल दर्ता आहृवान खुल्यो, फागुन १८ गतेसम्म म्याद

काठमाडौ, फागुन १५। आगामी स्थानीय निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान खुलाएको छ । आइतबार एक विज्ञप्ति निकालेर निर्वाचन आयोगले निर्वाचनमा इच्छुक दलहरुका लागि भाग लिन फागुन १८ गतेभित्र निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उपस्थित भई दल दर्ता गरि सक्नुपर्ने आहृवान गरेको हो । निर्वाचन आयोगले संविधानको धारा २६९ बमोजिम निर्वाचन आयोगमा दर्ता भई आफू क्रियाशील जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दलहरूलाई मात्र आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको हो । यस्तो छ विज्ञप्ति

एमाले अखिलमा विवाद, वागी उठाउने अध्यक्ष लामालाई चेतावनी

काठमाडौं, फागुन १५ । एमाले निकट अनेरास्ववियु भित्र विवाद देखिएको छ । असन्तुष्टि रहेका समूहले अनेरास्ववियुकीअध्यक्ष नविना लामालाई ज्ञापनपत्र बुझाउँदै स्ववियु निर्वाचनमा बागी उठाउने तयारी रहेको चेतावनी दिएका छन् । अखिलमा असन्तुष्ट पक्षले चारवटा माग राख्दै दलित, महिला, अपांगता, मधेसी तथा पिछडिएको क्षेत्रलाई समावेश नगरि घोषणा गरिएको भनिएको उम्मेदवार तत्काल खारेज गर्न माग गरेका छन् । पार्टी तथा संगठनमा गरेको योगदानको कदरसहित क्षेत्र, लिङ्ग, जनजाती वर्गको प्रतिनिधित्व गराउने गरी संगठनले स्ववियु उम्मेदवारहरुको घोषणा गर्नुपर्ने माग अघि सारेका छन् । असन्तुष्ट पक्षले अनेरास्ववियुलाई धक्का लाग्ने गरि आएको उम्मेदवारहरुके नामावली सच्याउन माग गरेका हुन् । यस्तो छ विज्ञप्ति

के के निर्णय गर्यो त बिप्लव माओवादीले ?

काठमाडौ, फागुन १५ ।  नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको छ । फागुन १ गते काठमाडौँमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र फागुन ५ गतेदेखि रोल्पाको थबाङमा चलेको थियो । फागुन १० गतेसम्म चलेको महाधिवेशनले पार्टीको अगामी कार्यदिशा र नेतृत्व चयन गरेको छ । महाधिवेशनले महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा ६१ जना पूर्ण र २० जना वैकल्पिक केन्द्रीय सदस्य छन् । महासचिव विप्लवले राखेका राष्ट्रियता, जनजीबिका, विश्वमा चलेको क्रान्तिकारी आन्दोलनप्रतिको धारणासहितको ११ बुँदालाई महाधिवेशनले पारित गरेको छ । महाधिवेशनले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको कुनै अर्थ र औचित्य नभएको भन्दै सशक्त प्रतिरोध गरेर असफल बनाउने प्रस्ताव पारित गरेको छ । महाधिवेशनले स्थानीय जनसत्ताको चुनाव गर्ने प्रस्ताव समेत पारित गरेको छ । ‘प्रचण्ड नेतृत्वको संसद्वादी सरकारले देशका जल्दाबल्दा समस्याहरुलाई पन्छाउँदै नेपाली जनताको परिवर्तनको आकांक्षाहरुलाई कुल्चदै पुरानो संसदीय चुनावको घोषणा गरेको छ । यो कथित चुनावको कुनै औचित्य नरहेको तथ्य हाम्रो पार्टी स्पष्ट गर्दछ । जनताका जनसत्ताहरु देशब्यापी रुपमा स्थापित भइसकेको अवस्थामा त्यसको प्रभावकारी कार्यान्वयनका लागि यो प्रस्ताव पारित गरिन्छ’ प्रस्ताव नम्बर दुईमा उल्लेख गरिएको छ । महाधिवेशनले देशका जटिल मुद्दालाई सम्बोधन गर्न सम्पूर्ण क्रान्तिकारी, देशभक्त, परिवर्तनकारीहरु एक हुनु पर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै देशमा विद्यमान भ्रष्टाचार, तस्करी, कमिशनखोरीलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका बिषयहरुमा संघर्ष गर्ने क्रममा गिरफ्तार नेता, कार्यकर्ताको रिहाईको माग पनि महाधिवेशन गरेको छ । महाधिवेशनले विश्वभर चलेका माओवादी आन्दोलनबारे पनि पार्टीको धारणा स्पष्ट पारेको छ । भारतमा जारी माओवादी जनयुद्धको क्रममा भारतीय कम्युनिस्ट पार्टी माओवादीका नेता, कार्यकर्ता र जनताको भारतीय सरकारले गरेको हत्या, गिरफ्तारीको विरोध पनि गर्दै महाधिवेशनले बन्दी बनाइएका निर्दोष नागरिकको रिहाईको माग समेत गरेको छ । त्यस्तै महाधिवेशनले पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष गोञ्जालोलगायतका नेताहरुलाई रिहाईको माग गरेको छ । महाधिवेशनले लामो समयदेखि विवादमा रहेको सन् १९५० लगायत सम्पूर्ण असमान सन्धि सम्झौताहरु खारेज गर्न पनि प्रस्ताव पारित गरेको छ । त्यसको लागि पार्टी लडिरहेन नेतृत्वले प्रतिबद्धतासमेत जाहेर गरेको छ । नेपालको राजनीतिक, आर्थिक क्षेत्रमा भारतको हस्तक्षेप रहेको भन्दै महाधिवेशनले त्यसविरुद्ध संघर्ष गर्ने प्रस्ताव गरेको छ । ‘नेपालको राजनीतिक, आर्थिक क्षेत्रमा भारतीय हस्तक्षेप रहँदै आएको छ । त्यसप्रकारको हस्तक्षेप बन्द गर्न र त्यसप्रकारका हस्तक्षेपबिरुद्ध संघर्ष गर्न र नेपाली जनताको स्वाधीनता र सार्मभौमिकताको रक्षाका लागि खडा रहन यो प्रस्ताव पारित गरिन्छ’ उक्त प्रस्तावमा भनिएको छ । त्यसैगरी सरकारले नेपाली युवायुुवतीलाई बेचबिखन गर्दै आएको भन्दै त्यसविरुद्ध पार्टीले संघर्ष गर्ने प्रस्तावलाई महाधिवेनले एकमत पारित गरेको छ । अमेरिकी साम्राज्यवादको नेतृत्वमा सिरियालगायतमध्ये पूर्वका देशहरुमा युद्ध थोपर्दै लाखौं जनताको हत्या गरिएको निष्कर्ष निकाल्दै महाधिवेशनले त्यसप्रकारको युद्ध बन्द गर्न र जनताको शान्ति र समुन्नतिको समर्थनमा र साम्राज्यवादी नीतिको विरुद्ध विशेष प्रस्ताव पारित गरेको छ । त्यस्तै विश्वमा चलेका साम्राज्यवादविरोधी आन्दोलनप्रति नेपाल कम्युनिस्ट पार्टीले एक्बयद्धता जाहेर गरेको छ । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएको नेपाल कम्युनिस्ट पार्टीले महाधिवेशनबाट दलालीकरण, भ्रष्टाचार, कमिशनखोर महँगीविरुद्ध पनि विशेष प्रस्ताव पारित गर्दै हदैसम्मको कारवाहीको माग गरेको छ । मालेमावादलाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मानेको नेपाल कम्युनिस्ट पार्टीले देशमा विद्यमान संसदीय व्यवस्थाको अन्त्य गरी जनताको जनवादी तथा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि सम्पूर्ण क्रान्तिकारी देशभक्त शक्ति र जनवादी शक्तिहरु ध्रवीकृत र एकताबद्ध हुन महाधिवेशनबाटै विशेष अपिल गरेको छ । उसले महाधिवेशन सफलताको शुभकामना दिने भाइचारा पार्टी, थबाङबासीका साथै सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई विशेष धन्यवाद दिएको छ । महाधिवेशनले नयाँ विचार र नेतृत्व तयार गरेको छ । आगामी आन्दोलन वा क्रान्तिको लागि नेतृत्वलाई अधिकार महाधिवेशनले दिएको छ ।

काम चाँडाे गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुकम्पबाट सबैभन्दा बढी पीडित भएकाहरुलाई राहत पुग्ने गरी द्रुत गतिमा कार्य अघि बढाउन सरोकारवाला मन्त्रालय तथा पुर्ननिर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् । आइतवार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्राधिकरणसहित सरोकारवाला मन्त्रालयको संयुक्त बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । भुकम्पवाट क्षति भइ जोखिमयुक्त बस्तीमा बसिरहेका परिवारलाई तत्काल अन्यत्र बसोवासको व्यवस्था मिलाउन, घर निर्माण गर्ने पीडितलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन तथा भुकम्प पीडित सुकुम्वासीहरुलाई राहतको व्यवस्था गर्ने गरी कार्यविधि ल्याउन प्रधानमन्त्रीले निर्देशन दिए । बैठकमा शहरी बिकास मन्त्री अर्जुन नरशिंह केसी, स्थानीय विकास मन्त्री हितराज पाण्डे, शिक्षा मन्त्री धनीराम पौडेल, मुख्य सचिव सोमलाल सुवेदी सहित सरोकारवाला मन्त्रालयका सचिव, पुर्ननिर्माण प्राधिकरणका अध्यक्ष, गर्भनरसमेतको सहभागिता थियो ।

गृह जिल्लामै माधव नेपालमाथि ढुंगामुढा

रौतहट, फागुन १५ । एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालमाथि उनको गृह जिल्लामै ढुंगामुढा भएको छ । रौतहटको एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेको नेता नेपालमाथि मधेशी मोर्चाका कार्यकर्ताले अबरोध गरेका थिए । त्यस पश्चातपनि एमाले रौतहटले आयोजना गरेको कार्यक्रममा भाषण गरिरहेको नेता नेपालमाथि मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गरेका हुन् । एमालेलाई मधेस विरोधी पार्टी भन्दै विरोधमा उत्रिएका मोर्चा कार्यकर्ता र सुरक्षाकर्मीबीच ढुङ्गा हानाहान भएकाे थियाे । झण्डै तीन घण्टासम्म तनावग्रस्त बनेकाे उक्त क्षेत्रमा प्रदर्शनकारीहरुले गौर ८ वासल्मकी नगरमा एमाले कार्यकर्ताले प्रयोग गरेको भारतीय नम्बरको जीपमा आगो लगाएका छन् भने अर्को गाडीको सिसा फुटाएका छन् । त्यस्तै प्रहरीले भने एक सेल अश्रुग्यास प्रहार गरेकाे छ । झडपमा एक जना प्रहरी, हिमालय टेलिभिजनका एक जना पत्रकार र केही प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कांग्रेसको निर्णय: ‘सम्पूर्ण तराई–मधेसका जनताको हितमा भएकाले’ संशोधन प्रस्ताव पारित गर्ने

काठमाडौँ,  फागुन १५ । नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आज बोलाइएको बैठकले जसरी भए पनि संशोधन पारित गर्नुपर्ने सुझाव दिएपछि कांग्रेसले संशोधन प्रस्तावलाई पारित गराउन सबैदलसँग समन्वयकारी भूमिका खेल्ने बताएको हो । बैठकले प्रतिपक्षी नेकपा (एमाले)लगायत सबै दलसँग छलफल गरी संशोधन प्रस्ताव पारित गर्न सुझाव दिएको बैठकपछि सभापति शेरबहादुर देउवाले जानकारी दिए । प्रस्तावमाथि थप पूरक प्रस्ताव आउँछ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा सभापति देउवाले हाल दर्ता भएको प्रस्ताव नै पारित हुने विश्वास व्यक्त गरे । एक फरक प्रसङ्गमा सभापति देउवाले राजदूत नियुक्तिको विषय पार्टी केन्द्रीय समितिमा छलफल गर्न आवश्यक नरहेको बताए । बैठकमा सहभागी काँग्रेस नेता फरमुल्ला मन्सुरले संशोधन प्रस्ताव ‘सम्पूर्ण तराई–मधेसका जनताको हितमा भएकाले’ प्रस्ताव पारित गर्न काँग्रेस एक ढिक्का भएर लाग्ने बताए । ‘मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन र संविधानप्रतिको असन्तुष्टि समाप्त पार्न संशोधन आएकाले’ यसलाई जसरी भए पनि पारित गराउनुपर्ने निष्कर्षमा काँग्रेस पुगेको उनको भनाइ थियो । पूरक प्रस्तावका सम्बन्धमा नेता मन्सुरले सत्ता पक्ष सबै दलको सहमतिमा अघि बढ्ने बताए । रासस

युवासंघ रूपन्देही अध्यक्ष तिवारीको हत्याका ८ आरोपी सार्वजनिक

बुटवल, फागुन १५ । एमाले निकट युवासंघ नेपाल रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न ८ जनालाई रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी तिवारी हत्यामा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो । रुपन्देहीको देवदह ७ खैरेनी निवासी दुर्गा तिवारीको गत पुस ४ गते दिउँसो साढे तीन बजे मोटरसाईकलमा गएको दुई जनाको समूहले गोली हानी हत्या गरेका थिए । पक्राउ परेकाहरुमा देवदह ६ को बसन्त बहादुर चापागाई, तिलोत्तमा १५ को बुद्धिसागर यादव, तिलोत्तमा १५ कै राजेश यादव, तिलोत्तमा ८ को प्रयास भन्ने खेमानन्द भट्टराई, देवदह ८ को सागर थापा, धकधई ८ परासीको अंगद थारु र देवदह ९ को ऋषिश्वर कुमाल रहेका छन् । पक्राउ परेकाहरुले हतियार ल्याउने, तिवारीको बारेमा सूचना दिने, हत्या गर्न मोटरसाईकलमा लैजाने र भगाउने सम्मको काममा संलग्नता रहेको प्रहरीले जनाएको छ । तिवारीको हत्या गर्न निर्देशन दिने मुख्य योजनाकार रुपन्देही देवदह ६ का मनोज बुढामगर र घटनाको योजनाकार अन्य चार जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र धानुकले मनोजको निर्देशन र मुख्य योजनामा हत्या गर्ने घटनाको योजनाकार सिद्धार्थनगर नगरपालिका १३ का विकास भन्ने सोम बहादुर आले, तिवारीमाथी गोली प्रहार गर्ने सुटर राजु, गढिमाई नगरपालिका १ को श्याम गुरुङ र हतियार तथा गोली दिने र राख्ने देवदह ३ सेमरानाको बाबु भन्ने तुल बहादुर सिंजाली अझै फरार रहेको र उनीहरुको खोजी तीव्र पारिएको धानुकले जानकारी दिए । प्रहरीले हातहतियार तथा फिरौतीमा संलग्न अंगद थारु, ऋषिश्वर कुमाललाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । पाँच नं. प्रदेश विभाजनको विरोधमा आन्दोलन गर्दै आएको एमालेले तिवारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला बन्द सहितको आन्दोलन चर्काएपछि सरकारले छानविन समिति गठन गरेको थियो । समितिले दुई साताभित्रमा हत्यामा संलग्नलाई पक्राउ गर्ने जनाए पनि दुई झण्डै साढे दुई महिनापछि मात्र हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो ।

नयाँ शक्तिदेखि ३० दल निर्वाचन आयोगको कारबाहीमा, आर्थिक पारदर्शिता नभएको आरोप

काठमाडौं, फागुन १५ । अरु संसदवादी दलभन्दा आचरण र पद्दतीका हिसाबले नयाँ भन्ने दाबी गर्दै आएको नयाँ शक्ति नेपाल निर्वाचन आयोगको कारबाहीमा परेको छ । आर्थिक पारदर्शिता नदेखाएको भन्दै निर्वाचन आयोगले नयाँ शक्तिलाई कारबाही गर्नुपर्ने बताएको हो । नयाँ शक्तिसँगै अन्य ३० दल समेत कारबाहीमा परेका छन् । ती ३० दलले स्पष्टिकरण सोध्दा समेत जवाफ नपठाएको तथा पठाएकाले पनि चित्तबुझ्दो जवाफ नदिएपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम कारबाहीस्वरुप रु १०० जरिवाना तिराउने निर्णय गरेको हो । आयोगको गत फागुन ११ गते बसेको बैठकले आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगरेका दलहरुलाई सोही ऐनको दफा १६ बमोजिम एक सय रुपयाँ जरिवाना किन नगर्ने भनि शनिबारसम्मको समय दिएर स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । तर, सो मितिमा ११ दलले स्पष्टिकरण नै पेश नगरेका र बाँकी १९ दलले स्पष्टिकरण पेश गरेपनि चित्तबुझ्दो नपाइएपछि आयोगले शनिबार नै जरिवाना तिराउने निर्णय गरेको हो ।

अध्यक्ष ओलीलाई भेट्न भारतीय राजदूत बालकोटमा

काठमाडौं, १५ फागुन । भारतीय राजदूत रञ्जित राय नेकपा एमालेका अध्यक्षलाई केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । आकस्किमकरुपमा बालकोट पुगेका रायले संविधान संशोधन प्रस्तावमा एमालेसँग छलफल गर्ने श्रोतले जनाएको छ । भारतको कटु आलोचकका रुपमा देखिँदै आएका अध्यक्ष ओली पछिल्लो समयमा भने संशोधन प्रस्तावमा लचिलो देखिन्छन । यसअघि पनि रे र ओलीबीच बेलाबखत गोप्य भेटघाट हुँदै आएको श्रोतले जनायो । आज बिहान बालकोट पुगेका राय र ओलीबीचको कुराकानीबारे एमालेकै शीर्ष नेताहरुलाई समेत जानकारी नभएको श्रोतले जनायो । “वहाँहरुबीच अत्यन्तै गोप्य छलफल भयो । संशोधन प्रस्तावमा एमालेको भूमिकाबारे नै छलफल भएको होला भन्ने अनुमान मात्रै गरेका छौं ।” उनले भने । आज संसदमा संविधान संशोधनमा फरक मत दर्ता गर्ने अन्तिम दिन राजदूत राय र ओलीबीचको भेट आकस्मिक संयोग नभएर रणनीतिक महत्वको हुने समेत श्रोतले जनायो । फाइल तस्वीर 

माओवादी नेता अनन्तलाई थप उपचारका लागी बैंकक लगिँदै, सभामुख पनि जाने

काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तलाई थप उपचारका लागी बैंकक लगिने भएको छ । अघिल्लो सातादेखि भाईरल ज्वरोका कारण राजधानीको ग्राण्डी अस्पतालमा उपचाररत नेता पुनको बमिट नरोकिएपश्चात बैंकक लैजान लागिएको हो । केही महिनाअघि बंशानुगत जण्डिश रोगबाट पिडित पुनको उपचार बैंककमा भएको थियो । उनी बैंकमा नियमित चेकका लागी जानुपर्ने समयमै विरामी परेको पुनकी बहिनि सुशिलाले बताईन् । नियमित चेक पनि हुने र ज्वरो घटेपनि बमिट नरोकिएकाले के कारण भएको हो भन्ने पनि पत्ता लगाउन सजिलो हुने कारण बैंकक लैजान लागिएको हो । ग्राण्डीको चेकजाँचमा भने जण्डिश देखिएको छैन । आइतबार दिउँसो २ बजे उनलाई बैंकक लैजाने कार्यक्रम छ । उनको साथमा जीवनसंगिनि तथा सभामुख ओनसरी घर्ति सँगै जानेछिन् ।

सैनिक पोशाकमा विप्लवको उद्घोष: अब रोल्पामा होइन काठमाडौंमै हतियार उठाइन्छ

रोल्पा, फागुन १५ । विप्लव माओवादीले राजधानीबाटै एकीकृत क्रान्ति शुरु गर्ने घोषणा गरेका छन् । पार्टीको महाधिवेशनपछि आयोजित आमसभामा बोल्दै नेता विप्लवले अबको लडाई रोल्पामा मात्र नभएर राजधानीमा नै हुने बताएका हुन । पार्टी महाधिवेशनपछि आयोजित कार्यक्रममा नेता विप्लवले माओवादी केन्द्रले क्रान्तिसँग गद्दारी गरेको आरोप समेत लगाए । ‘माओवादी’ पदावली थबाङमै छोडेर हिडेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले फेरि हतियार उठ्ने बताएका छन् । हिजोको जनयुद्ध सामान्य उक्साहटमा नभएको दावी गर्दै विप्लवले प्रचण्डको भासन र महराको अनुहार हेरेर जनयुद्ध नगरिएको बताए । कि बलिदान, कि मुक्ति गर्ने भनेर हिडेको जनयुद्धको माओवादीले अपमान गरे पनि नेपाल कम्युनिष्ट पार्टीले अधिकारको लडाई कहिल्यै नरोक्ने बताए । ‘अधिकारको लडाई गर्दा कसैले दमन गर्छ भने हतियार उठ्नसक्छ’ विप्लवले भने ‘अबको लडाई रोल्पामा मात्र होइन काठमाडौंमै हुन्छ ।’ दलालहरुविरुद्ध अब काठमाडौंका मजदुर तथा विद्यार्थीहरुले लड्ने दावी गरे । माओवादी नेता कार्यकर्तालाई मुद्धा लगाउने षड्यन्त्र भइरहेको भन्दै उनले यदि त्यसो गरिए जनता आफैले बन्दुक उठाउने दावी गरे । थबाङबाट फेरि क्रान्तिको झन्डा उठाएको भन्दै विप्लवले जनताले भनेमा चुप लागेर बस्ने तर दलालहरुले दबाउन खोजेमा तरबारजस्तो भएर उभिने बताए । नेपाली जनता सन्तुष्ट नहुँदासम्म क्रान्ति नरोकिने उनले दावी समेत गरेका छन् । महरालाई प्रश्नः गुरु सपना भनेको के हो ? अधिकांश समय माओबादी केन्द्रलाई गालि गर्नमै खर्चेका विप्लबले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आफ्नो गुरु भएको बताउँदै महराले एकसाता अघि बोलेका कुराको प्रतिवाद गरे । गत ६ फागुनमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले विप्लवको सपना ‘दिवासपना’ भएको बताएका थिए । महराको टिप्पणीको प्रतिवाद गर्दै विप्लवले भने ‘महरा सर, हाम्रो सपना दिवासपना भए, रात्री सपना कस्तो हुन्छ ?’ रात्री सपना पैसा कमाउने, मुर्ती चोर्ने, रक्तचन्दन ओसार्ने भएको आरोप लगाए । क्रान्ति गर्ने कुरा कसरी दिवासपना भयो भन्दै उनले प्रश्न गरे । उनले एकातिर दिएजस्तो गर्ने अर्कोतिर पुरै ह्याम्मर हान्ने कार्य गरिरहेको भन्दै प्रचण्ड र महराको कडा आलोचना गरे । उनले क्रान्ति सम्भव नभए राजिनामा दिएर बालकल्याणमा साइन्स पढाउन महरालाई आग्रह गरे । साथै प्रचण्डलाई समेत चितवनमा गएर कृषि गर्न चुनौती दिए । प्रचण्डको बोली लिबाङ नजिकैको धाङ्सी खोलाकैजस्तो भएको भन्दै उनले भने ‘साउन भदौको धाङ्सीखोला साँझ सुत्दा एकातिर बग्छ, बिहान उठेर हेर्दा अर्कैतिर बग्छ, त्यस्तै हो प्रचण्डको भासण ।’ प्रचण्ड, बाबुरामले माओवादीलाई विक्रि गरेको आरोप लगाए । विप्लवले नेपालका कुनै पनि दलहरु नेपाल कम्युनिष्ट पार्टीको दुस्मन नरहेको बताएका बिप्लबले ‘कुनै पनि दल हाम्रो दुस्मन होइनन्े ‘हरेक दलमा दलालहरु छन् ती हाम्रा दुस्मन हुन् उनले भने ।’ कुनै दलप्रति द्वैत भाव नभएको भन्दै उनले मुख्य दुस्मन दलाल पुजिपति भएको बताए । थबाङलाई सुन्दर बनाउने परिकल्पना प्रचण्ड बाबुरामले डाँडो काटेर गएपछि सबै हराएको आरोपनि लगाएका छन् । विपीलाई पढ्न सुझाव विप्लवले नेपालमा रहेका सबै दलले विपीलाई पढ्न सुझाव दिए । देशै बेचेर आफ्नो स्वार्थका लागि लम्पसार पर्ने नेताहरुका लागि विपी एउटा उदाहरण भएको पनि बताए । स्वार्थका लागि सिक्किम बेचेका लेन्दोप दोर्जे नेपालमा थुप्रै रहेको भन्दै तिनीहरुनै मुख्य दुस्मन रहेको बताए । अबको लडाई दलालसंगका पर्ने बताउदै उनले रोल्पाबाट होईन काठमाण्डौबाट लडिने बताए । कम्युनिष्ट ध्रुवीकरण आवश्यक विप्लवले नेपालमा विशाल धु्रविकरण आवश्यक रहेको बताए । कम्युनिष्टहरुको एकीकरण जरुरी रहेको भन्दै विप्लवले त्यसैका लागि नाम परिवर्तन गरिएको बताए । सबै दलमा देशभक्त रहेको भन्दै उनले कम्युनिष्ट र देशभक्तहरु नेपाल कम्युनिष्ट पार्टीमा समाहित हुने विश्वास व्यक्त गरे । पुच्छर झुन्ड्याएर नेपालका कम्युनिष्टहरु विशाक्त भएको भन्दै उनले अब हरेक पार्टीबाट सच्चा कम्युनिष्टहरु गोलबन्द हुनुपर्ने बताए । उनले हिजो माओवादीलाई एक बनाएर लुटेको अहिले फुटाएर लुटेको आरोप लगाए । विप्लवले विस्तृत शान्ति सम्झौताको पुनरावलोकन गर्नेपर्ने तर्क गरे । माओवादीसँग गरिएको विस्तृत शान्ति सम्झौता माओवादी बेगर लागुनहुने दावी गरे । ‘शान्ति सम्झौता जोसँग भएको हो उसलाई बाहिर राखेर कसरी प्रक्रिया चल्न सक्छ ?’ विप्लवले भने ‘विस्तृत शान्ति सम्झौता लागु भएकै छैन ।’ तपाई चुनाव गर्नुस्, हामी अर्को सत्ता चलाउँछौं । थबाङमा शहीद स्मृति भवन निर्माण गरिएको भन्दै उनले अब शहीद स्मृति संग्रहालय बनाउने जानकारी दिए । उनले नेपालमा आर्थिक सम्मेलन गर्ने तयारी भइरहेको समेत बताएका छन् । थबाङमा सम्पन्न भएको महाधिवेशनको घोषणा सभामा बोल्दै बिप्लबले माओबादी केन्द्रलाई खुब गालि गरेका थिए । यसकारण फेरियो नाम विप्लवले चार कारणले पार्टीको नाम फेरिएको बताए । आठौं महाधिवेशनले नेकपा माओवादीबाट ‘माओवादी’ हटाई नेपाल कम्युनिष्ट पार्टीमात्र बनाएको छ । १. विश्व कम्युनिष्ट शक्तिहरुलाई नयाँ भाव दिन, २. नेपालका सबै कम्युनिष्ट पार्टीलाई तीब्र धु्रविकरण गर्दै एकतावद्ध गर्न, ३. माओवादी बाहेकका सबै देशभक्त शक्तिहरुलाई विभिन्न समूहभन्दा माथि उठाएर गोलबन्द गर्न , ४. माओवादी भनेको फाइदाका लागि जे पनि गर्छ भन्ने भ्रम तोड्न । राजधानीको खुल्ला मञ्चमा फागुन १ गते उद्घाटन भइ रोल्पाको थबाङमा १० फागुनसम्म आयोजित बन्दसत्रले विभिन्न ११ बुँदे घोषणापत्र सार्वजनिक गर्दै महाधिवेशन समापन गरेको छ । महाधिवेशनले संसदीय व्यवस्था नभई बैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने भन्दै त्यसका लागि दवाव दिने समेत बताएको छ । महाधिवेशनले दुइपटकभन्दा बढि पदमा रहन नपाउने नीति समेत पास गरेको छ । त्यस्तै नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा ६१ जना पूर्ण र २० जना बैकल्पिक सदस्य रहेको बताइएको छ । शनिबार लिबाङमा आयोजित सभामा पार्टी प्रवक्ता खड्गप्रसाद विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उमा भूजेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । शहीद सप्ताहको अवसर पारी आयोजना गरिएको कार्यक्रममा शहीद परिवारलाई सम्मान समेत गरिएको थियो ।

शनिबार उम्मेदवारी दर्ता हुन नसकेका क्याम्पसमा आज मनोनयन हुने

काठमाडौं फागुन १५ । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को उम्मेदवारी मनोनयन दर्ता आज पनि हुँदैछ । विभिन्न विद्यार्थी संगठनको बिरोध र तालाबन्दीका कारण शनिबार प्रभावित क्याम्पसहरुमा आइतबार मनोनयन दर्ता हुने भएको हो । विद्यार्थी संगठनको तालाबन्दीले मुलुकभरका ३८ क्याम्पसमा हिजो हुने भनिएको उम्मेदवार मनोनयन दर्ता हुन सकेको थिएन । त्रिविका रेक्टर सुधा त्रिपाठीले भनिन हिजो मनोनयन दर्ता नभएका क्याम्पसमा आज साँझ ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने र भोली बिहान १० बजेसम्म आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी अन्तिम नामावली प्रकाशन गरिनेछ । जस्तोसुकै अवस्थामा पनि निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न त्रिवि तयार रहेको त्रिपाठीले बताइन । प्रमुख विद्यार्थी संगठन र त्रिविका बीचमा समन्वयात्मक छलफल गर्ने र प्रभावित बनेको कार्यतालिका संशोधन गरी मनोनयन दर्ता नभएका क्याम्पसमा आज प्रक्रिया अघि बढाउने सहमती भएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए । त्रिविसँग निर्वाचन सहमती भइसकेकाले क्याम्पसमा लगाइएको ताला खोलेर निर्वाचन प्रक्रियामा सहभागी हुने र निर्धारित समयमा नै निर्वाचन गर्न प्रमुख विद्यार्थी संगठन एकमत भएको बस्नेतको भनाई छ । शनिबार मनोनयन दर्ता भएका २२ वटा क्याम्पसमा भने आज निर्धारित कार्यतालिका अनुसार नै प्रक्रिया अघि बढ्ने त्रिविले जनाएको छ । उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्न १० बजेसम्मको समय निर्धारण गरेको त्रिबिले छानविनपछि मध्यान्न १२ बजे नामावली प्रकाशन गर्ने जनाएको छ । अपरान्ह ३ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकेको त्रिबिले साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

संशोधन प्रस्तावमा फरक मत दर्ता गर्ने अन्तिम दिन, अप्ठयारोमा मधेसी मोर्चा

काठमाडौं, फागुन १५ । व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथि बिभिन्न राजनीतिक दलहरुले संशोधन प्रस्ताव दर्ता गर्ने भएका छन् । गत बिहीवारको स संसद बैठकले विधेयकमाथि सैद्धान्तिक छलफल सकेपछि संशोधन प्रस्ताव दर्ता गर्ने समय आज आइतबारसम्मका लागि निर्धारण गरेको थियो । सरकारले दर्ता गराएको संशोधन प्रस्तावलाई परिमार्जनसहित पास गर्नुपर्छ भन्ने मत राख्दै आएका दलहरुले आफ्नो माग र एजेण्डा अनुसार संशोधन प्रस्तावमाथि संशोधनका बुँदा दर्ता गर्ने भएका छन् । संशोधन प्रस्ताव नै गलत भएको भन्दै सदन समेत अवरुद्ध गरेका एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायतका दलहरुले भने संशोधन प्रस्ताव दर्ता नगर्ने बरु विपक्षमा मतदान गर्ने रणनीति बनाएका छन् । नेपाली कांग्रेसले संसदमा दर्ता भएको प्रस्तावमा परिमार्जनका लागि संशोधन दर्ता गर्ने या नगर्ने विषयमा टुंगो लगाइसकेको छैन । कांग्रेसबाट संशोधन प्रस्तावलाई परिमार्जन गर्नुपर्ने माग केही सांसदले गरेका छन् । सम्भवतः आज बस्ने संसदीय दलको बैठकले संशोधन प्रस्ताव तयार गरी दर्ता गर्ने छ । माओवादी केन्द्रले भने संशोधन प्रस्तावमा फरक मत दर्ता गर्ने कुरा औपचारिकरुपमा सार्वजनिक गरेको छैन । अप्ठ्यारोमा मधेसी मोर्चा व्यवस्थापिका संसदमा संशोधन प्रस्तावले औपचारिक प्रक्रियाको स्वरुप ग्रहण गरेपछि मधेसी मोर्चा भने अप्ठ्यारोमा परेको छ । संसदीय व्यवस्थाका आधारभूत मान्यताबाट भागेको भन्दै एमालेको चर्को बिरोध गर्दै आएको मधेसी मोर्चा संशोधन प्रस्ताव पारित नभए के गर्ने भन्ने विषयमा अप्ठ्यारोमा परेको हो । त्यसैले मोर्चाले संशोधन प्रस्तावमा समर्थन खोज्ने रणनीति अनुरुप बिभिन्न पक्षसँग र खासगरी एमालेलगायतका विपक्षी दलका मधेसी सांसदहरुसँग अनौपचारिक छलफल तीब्र पारेको छ । गोप्य मतदान भएको खण्डमा आफूहरुले दर्ता गराउने संशोधन प्रस्ताव पारित हुने मोर्चाको विश्वास रहेको छ । यही रणनीति अनुरुप मोर्चाले संशोधन प्रस्ताव दर्ता गर्नुपूर्व आइतबार नै बिभिन्न दलसँग छलफल गर्ने भएको छ । छलफलका क्रममा प्राप्त सुझावलाई समेत समेटेर दिउँसो बस्ने मोर्चाको बैठकले संशोधन प्रस्तावलाई अन्तिम रुप दिएर दर्ता गर्ने योजना बनाएको छ । व्यवस्थपिका संसदमा राप्रपालगायतका दलले सरकारले दर्ता गरेको प्रस्तावमा समर्थन जनाए संशोधन प्रस्तावमा तीन चार मत मात्रै कम पर्दछ पारित हुनका लागि । राप्रपा ले विपक्षमा मतदान गरेको खण्डमा भने संशोधन प्रस्तवामा बहुमत हुने सम्भावना कम रहेको छ ।