एमाले सभास्थल नजिक बम फेला, सप्तरीमा झड़प, दर्जनौ गिरफ़्तार
काठमाडौैं, फागुन २३ । सप्तरीको राजबिराज अौधोगिक क्षाेत्रमा सकेट बम फेला परेको छ । एमालेको सभा गर्ने स्थल भन्दा २ किलोमिटर पर बम फेला परेपछि सुरक्षाा अवस्था व्यापक बनाइएको छ ।
एमालेको सभालाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १६ सय भन्दा बढी प्रहरी परिचालित गरिएका छ। नेपाल प्रहरीका १२ सय र सशस्त्र प्रहरीका ४ सय भन्दा बढी प्रहरी सप्तरीमा परिचालन गरिएको छ । यस्तै सप्तरीमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दर्जनौं बन्दकर्ता पक्राउ परेको स्रोतले जनाएको छ ।
सवारी साधन तोडफोड गर्ने ५ जनालाई पक्राउ गरिएको डिएसपी दानबहादुर कार्कीले बताए।
विमानसम्बन्धि सूचना पाँच दिनभित्र दिन निर्देशन
काठमाडौँ, फागुन २३। सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको ठूलो आकार (वाइड बडी) विमान सम्बन्धि सम्पूर्ण सूचना तथा जानकारी पाँच दिनभित्र समितिसमक्ष पेस गर्न सरकारलाई निर्देशन दिएको छ । उक्त विमान खरिद प्रक्रियामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि समितिको आजको बैठकले त्यस सम्बन्धमा सत्यतथ्य पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । नेपाल वायुसेवा निगमको विस्तृत कार्ययोजना, वित्तीय योजना, निगम सञ्चालन तथा नयाँ विमान खरिद पछिको जनशक्ति व्यवस्थापनलगायत समग्र कार्ययोजना एक महिनाभित्र प्रस्तुत गर्न निर्देशन दिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले राससलाई बताउनुभयो । “चीनबाट खरिद गरिएका विमान, खरिद मूल्य तथा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताबारे पनि समितिलाई लिखित जानकारी दिन निर्देश गरेका छौँ,” उहाँले भन्नुभयो । निगमलाई सबल, सुदृढ एवम् भरपर्दो सेवा प्रदायक तुल्याउन गत वर्षको नीति तथा कार्यक्रममा रणनीतिक साझेदार भित्र्याउनेबारेमा उल्लेख भए पनि हालसम्म त्यसबारे कुनै काम नभएकाले आगामी तीन महिनाभित्र त्यससम्बन्धी ठोस कार्ययोजना पनि समितिसमक्ष पेस गर्न निर्देशन दिइएको जानकारी सभापति उपाध्यायले दिनुभयो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही र निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नयाँ विमान खरिदको विकल्प नभएको बताउँदै कर्मचारी व्यवस्थापन विद्यमान ऐनकानुनबमोजिम भएको बताउनुभएको थियो । रासस
एमालेको अभियानमा अवरोध नगर्न आयोगको आग्रह
काठमाडौँ, फागुन २३ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज एक विज्ञप्ति निकाल्दै आफ्ना फरक मत र विचार राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एमालेको पूर्व निर्धारित कार्यक्रमलाई बाधाअवरोध नपु¥याउन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको हो । विज्ञप्तिमा एमालेको अभियानअन्तर्गत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबाट एमालेका नेतामाथि आक्रमण गर्नु मानवअधिकारको मूल्यमान्यताविपरीत देखिएकाले त्यस्ता कार्य नगर्न मोर्चाका कार्यकर्तालाई आग्रह गरिएको छ । आगोगले विज्ञप्तिमा कुनै पनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा कार्यकर्तामाथि अमर्यादित र मानवअधिकारको मर्म विपरीतको कार्य भएकाले यस्ता व्यवहार तुरुन्त रोक्न र कुनै पनि राजनीतिकदलको पूर्व निर्धारित कार्यक्रमलाई प्रत्यक्ष अवरोध हुनेगरी कुनैपनि राजनीतिक गतिविधि नगर्न नगराउन मधेसी मोर्चालगायत सम्बन्धित सबै राजनीतिक दललाई आग्रह गरिएको छ । “एउटा दलले आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेपछि सो कार्यक्रम बिथोलिने गरी अरुले कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यबाट सकारात्मक परिणाम प्राप्त हुने देखिँदैन” विज्ञप्तिमा भनिएको छ– “हिंसात्मक बाटो अपनाउँदा विसं २०६३ सालको चैतमा रौतहटको गौरमा भएको घटनालाई बिर्सन सकिँदैन ।” यसैबीच, अभियान क्रममा एमाले नेता तथा सांसद रन्जुकुमारी झा चढेको जीपमाथि ढुङ्गामुढा भएको घटनाका साथै फागुन १५ गते रौतहटको गौरमा मधेसीमोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुवै पक्ष केही घाइते भएको र शुक्रबार एमाले सप्तरी जिल्ला समितिका सचिव शम्भु यादव र सहसचिव प्रतापनारायण चौधरीलाई राजविराज–१, अदालत रोडमा मोर्चाका कार्यकर्ताले हातपात गरी कालोमोसो दलेको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको समेत प्रवक्ता अन्सारीले विज्ञप्तिमा जनाउनुभएको छ । कालोमोसो दली दुव्र्यवहार गरिएको तथा गाडी तोडफोड गरिएको उक्त घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न र व्यक्तिको जीवन रक्षा गर्नका साथै आगामी दिनमा हुनसक्ने झडप रोकी सामाजिक सद्भावलाई कायम राख्न आयोगले सरकारलाई आग्रह पनि गरेको छ । रासस
मन्त्रीपरिषद बैठकः स्थानीय तहको सङ्ख्या सातसय चवालीस कायम
काठमाडौँ, फागुन २२। सरकारले स्थानीय तहको सङ्ख्या सातसय ४४ कायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई सामान्य परिमार्जन गरी उक्त सङ्ख्या कायम गरेको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताउनुभयो । आयोगले स्थानीय तहको सङ्ख्या सातसय १९ कायम गरेको थियो । मन्त्रिपरिषद्को आजको उक्त निर्णय राजपत्रमा सूचना प्रकाशन गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन आयोगमा पठाउने जानकारी पनि उहाँले दिनुभयो । सबै पक्षलाई निर्वाचनमा सहभागी गराउन तथा राजनीतिक समझदारीका आधारमा स्थानीय तहको सङ्ख्या र संरचनाबारे सरकारले अझै आवश्यक निर्णय लिने निर्णय गरेको मन्त्री पाण्डेले बताउनुभयो । प्राविधिक सहयोग समितिले गरेको निर्णयका आधारमा खोटाङ र नुवाकोटको समस्या समाधान गर्ने तथा मनाङमा संविधानको भावनाअनुसार तीनको सट्टा चारवटा इकाइ बनाउने र बझाङको काँडा गाविसमा एउटा इकाइ थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उहाँले बताउनुभयो । काठमाडौँका शङ्खरापुर र दक्षिणकाली नगरपालिकालाई यथावत राखिने पनि निर्णय भएको छ । त्यसैगरी, बैठकले निर्वाचनको तयारी गम्भीर ढङ्गले अगाडि बढिरहेका बेला कर्मचारीलाई बन्द, हडतालमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ । रासस
विद्यार्थीलाई राष्ट्रको हित र जनताको सेवामा लाग्न प्रधामन्त्रीकाे अाग्रह
बि।सं। २०५२ सालमा स्थापना भएको मुलुकको दोश्रो ठूलो र पूर्वाञ्चल क्षेत्रको महत्वपूर्ण विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा विश्वविद्यालयद्धारा सञ्चालित विभिन्न कार्यक्रममा तह पार गरी दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिन चाहन्छु । दीक्षित विद्यार्थी भाइबहिनीहरुलाई राष्ट्रको हित र जनताको सेवालाई केन्द्रमा राखेर अघि बढ्न विशेष आग्रह गर्दछु । प्रतिस्पर्धात्मक आधारमा शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै स्वस्थ प्रतिस्पर्धावाट शैक्षिक संरचनाको विकास एवं विभिन्न शैक्षिक विधामा अध्ययन, अध्यापन र अनुसन्धानका लागि जनस्तरबाट उच्च तहका शिक्षण संस्थाहरुको सञ्चालन गर्ने उद्देश्यअनुरुप नेपाल सरकारले यो विश्वविद्यालय स्थापना गरेको कुरा हामी सबैलाई विदितै छ । स्थापना कालदेखि हालसम्म यस विश्वविद्यालयबाट झण्डै ८८ हजार विद्यार्थीहरुले स्नातक एवं स्नातकोत्तर तहको विभिन्न शैक्षिक कार्यक्रमहरुमा अध्ययन सम्पन्न गरिसकेका, यो मुलुकको दोश्रो ठूलो विश्वविद्यालयको रुपमा स्थापित भएको, तुलनात्मक रुपमा न्यून शुल्कमा नयाँ नयाँ विषयमा प्रविधियुक्त शिक्षा प्रदान गर्दै आइरहेको जानकारी पाउँदा मलाई खुशी लागेको छ । यसका साथै विश्वविद्यालयले ७० भन्दा बढी शैक्षिक कार्यक्रम, ५ वटा आङ्गिक क्याम्पस र १०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस सञ्चालन गरिरहेको र पछिल्लो समय कृषि क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनका लागि कृषि विषयमा स्नातक तहका कक्षाहरु सञ्चालन गरेको थप खुशीको महशुस भएको छ । आज नेपालका उच्च शिक्षाको क्षेत्रमा चारैतिर समस्याहरु छन् । बन्द हडतालले विश्वविद्यालयहरु प्रभावित छन् । त्यसो त त्यसै पनि विश्वविद्यालय जस्तो ठूलो संस्था सहज रुपमा सञ्चालन गर्नु कम चुनौतिपूर्ण विषय होइन । यस विश्वविद्यालयको शैक्षिक एवम् प्राज्ञिक उन्नयनका सन्दर्भमा पनि यसका आफ्नै किसिमको चुनौतीहरु विद्यमान रहेको विषयप्रति म जानकार छु । खासगरी नेपाल सरकारले प्रदान गरेको गोठगाउँ परिसरको ८०५ बिघाको परिसरलाई प्राज्ञिक थलोको रुपमा गुरुयोजना अनुरुपको पूर्वाधार विकास तथा मेडिकल कलेजको स्थापनामा ठूलो साधन स्रोतको जुटाउनु यस विश्वविद्यालयको प्रमुख चुनौती हो भन्ने मलाइ लाग्दछ । यसका साथै जनस्तरवाट सञ्चालित विश्वविद्यालय भएकोले अन्य विश्वविद्यालयको तुलनामा यस विश्वविद्यालयलाई नेपाल सरकारबाट प्राप्त हुने बजेटमा रहेको सीमितता, आफ्नै अस्पताल, डाक्टर र नर्सहरु रहेको तर शिक्षण अस्पतालको स्थापना एवं दक्ष विशेषज्ञहरुको नियुक्ति गर्न स्रोत साधनको अभावजस्ता समस्याहरु समेत रहेको छ । विश्वविद्यालयका यी चुनौती र समस्याहरुलाई अवसरमा बदल्दै मुलुकको आवश्यकता अनुरुप गुणस्तरीय जनशक्ति उत्पादनमा विश्वविद्यालयको व्यवस्थापन अगाडि बढ्नेछ भन्ने मेरो विश्वास छ । यस कार्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने म विश्वास दिलाउन चाहन्छु । मुलुकको बर्तमान परिस्थितिप्रति यहाँहरु सबै जानकार छौं । नेपाली जनताको लामो समयदेखिको सङ्घर्षको परिणामस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई हाल त्यसको कार्यान्वयनको चरणमा रहेका छौं । संविधान जारी भएपश्चात् यसप्रति असन्तुष्ट मधेशी, थारु, आदिबासी जनजाति लगायत समुदायका जायज माग सम्बोधन गरी संविधानको स्वीकार्यता फराकिलो बनाउनका लागि सरकारले संविधान संशोधनको विधेयक व्यवस्थापिका संसदमा टेबुल गरिसकेको छ भने संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष स्थानीय तहको निर्वाचनको घोषणा गरी निर्वाचनतर्फ मुलुक अगाडि बढिसकेको छ । हालसम्म सिंहदरबारमा रहेको अधिकार जनताको दैलोमा पु¥याई जनताको दैलोमा सेवा र विकासको सन्दर्भमा स्थानीय तहको निर्वाचन कोशेढुङ्गा सावित हुने मेरो विश्वास छ । मुलुक निर्वाचनतर्फ होमिइसकेको वर्तमान अवस्थामा मैले निर्वाचनलाई सम्पन्न गर्ने कार्यमा सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरेको छु । नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गरेअनुरुप बर्तमान सरकारले प्रतिस्पर्धी लाभको महत्वपूर्ण स्रोतको रुपमा रहेको जनशक्ति उत्पादनलाई उच्च प्राथमिकता दिएको छ । गुणस्तरीय जनशक्ति बिना संविधानले परिकल्पना गरेको समृद्ध नेपालको सपना व्यवहारमा उतार्न नसक्ने यथार्थताप्रति ध्यान केन्द्रित गरेर नै यसलाई सरकारले प्राथमिकतामा राखेको हो । यसका अतिरिक्त बर्तमान सरकारले संविधानमा व्यवस्था गरिएका प्रदेशहरुमा उच्च प्राविधिक र रोजगारमुखी शिक्षालाई समेत प्राथमिकतामा राखेको छ कि मुलुकको हालको जनसंख्या हेर्दा हामी पपुलेशन वोनसको यूनिक अवस्था अर्थात् आर्थिक रुपमा क्रियाशील जनसंख्या लगभग ६० प्रतिशतको हाराहारीमा रहेको छ । यस्तो अवसर कुनै पनि मुलुकका लागि बिरलै प्राप्त हुन्छ । यो जनसंख्याको रोजगारमुखी उच्च शिक्षामा पहुँच स्थापित गराई मुलुकको आर्थिक सम्वृद्धिमा लगाउनु अहिलेको प्रमुख आवश्यकता हो । उच्च शिक्षा हासिल गरेर दीक्षित विद्यार्थीहरुले सैद्धान्तिक ज्ञान हासिल गरिसक्नु भयो । हासिल गरेको ज्ञानलाई अब व्यवहारमा उतार्ने बेला आएको छ । ज्ञान एकाङ्की हुदैन, त्यो सार्वभौम हुन्छ । त्यसैले जाति, लिङ्ग, भाषा, धर्म भन्दामाथि उठेर निराकार भई पाएको ज्ञानलाई राष्ट्र सेवामा लगाउनुहोस् । अहिले मुलुक भूकम्प पश्चातको पूननिर्माणको महत्वपूर्ण चरणमा छ । तपाईहरुले हासिल गर्नुभएको गरेको प्रविधियुक्त ज्ञानको प्रयोग पुनर्निर्माण र राष्ट्रको आर्थिक सम्वृद्धिका लागि लगाउनुहोस् । मुलुकभित्र उपलब्ध साधन स्रोत, जलसम्पदा आदिको समुचित प्रयोग गरी राष्ट्र निर्माणमा लगाउनुहोस् । विद्याले विनय, सदाचार, सद्भाव र समन्वय सिकाउँछ । त्यसैले समाजसेवी, राष्ट्रसेवी बन्नुहोस्, जुन संस्थाबाट ज्ञान हासिल गर्नुभयो त्यसको नाम उच्च बनाउनुहोस् । यो तपाईको सत्कर्मबाट मात्र हुन सक्छ । म तपाईहरुको उच्च र उन्नत भविष्यको कामना गर्दछु । अबको आवश्यकता भनेको राष्ट्रिय हित र उत्पादनलाई केन्द्रमा राखेर शैक्षिक जनशक्ति उत्पादन गर्नु हो । शिक्षालाई गुणस्तरीय र आत्मनिर्भरतामार्फत् जनताको जीवनस्तर बदल्ने उद्देश्यमा केन्द्रित गर्न जरुरी छ । विश्वविद्यालयका आगामी दिनका क्रियाकलाप त्यस दिशामा केन्द्रित हुने र दीक्षित विद्यार्थी भाइबहिनीहरुले पनि आफ्नो ज्ञान, सीप र दक्षतालाई राष्ट्रको सेवाका लागि खर्च गर्नुहुनेछ भन्ने मेरो पूरापूर विश्वास छ । (पूर्वाञ्चल विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा गरिएको सम्बोधन )
स्ववियु चुनाव नगर्न निर्वाचन आयोगको निर्देशन (यस्ताे छ निर्देशनपत्र)
काठमाडौं, फागुन २२ । निर्वाचन आयोगले स्ववियु चुनाव नगराउन निर्वाचन आयोगलाई निर्देशन दिएको छ । निर्वाचन आचार संहिता लागु भैसकेकोले पूर्वनिर्धारित बाहेकका अरु पेशागत संघ संस्थाका चुनाव नगराउन आयोगले निर्देशन दिएको हो । आयोगले आइतबार त्रिभुवन विश्वविद्यालयलाई पत्र लेख्दै अब स्ववियु चुनाव गर्दा निर्वाचन आचारसंहिता उल्लंघन हुने स्पष्ट पारेको छ । पहिला नै घोषित भइसकेका बाहेक विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेका पेशागत संघ संगठनको चुनाव नगर्न आयोगले नेपाल सरकारलाई निर्देशन दिएको हो । आयोगको यो दिर्नेशनसँगै स्ववियु चुनाव हुन बाँकी रहेका क्याम्पसको स्ववियु चुनाव रोकिएको छ । आयोगले पठाएको पत्र अनुसार स्ववियु चुनाव गर्न कार्यतालिका जारी भैसकेका क्याम्पसमा भने चुनाव रोकिने छैन । तर निर्वाचन आयोग र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सोमबार हुने भनिएको काठमाडौंको रत्नराज्य लक्ष्मि क्याम्पसको स्ववियु चुनाव हुने कि नहुने भनेर केहि स्पष्ट जवाफ दिन सकेका छैनन् । विद्यार्थी संगठनहरुको सहमति नजुटेकाले काठमाडौं उपत्यकासहित देशका ठूला क्याम्पसहरुमा भने चुनाव भएको छैन । निर्वाचन आयोगको आइतबारको पत्रले अब ति क्याम्पसहरुमा स्ववियु चुनाव हुनेछैन । आरआर क्याम्पसमा पनि सोमबारका लागि तय गरिएको चुनाव स्थगित गर्ने तयारी भइरहेको छ । यस्तो छ निर्वाचन आयोगले लेखेकाे पत्र
एयरपोर्ट सुन काण्डका १२ जनाविरुद् मुद्दा, नाइकेसहित १८ अझै फरार
काठमाडौँ, फागुन २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको साढे तेत्तीस किलो सुन पक्राउकाण्डमा संलग्न १२ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी मुद्धा दायर गरेको छ । ब्युरोले आज एक पत्रकार सम्मेलनको आयोजना गरी साे खुलासा गरिएकाे हाे । घटनामा संलग्न दुबईमा रहेका मुख्य पाँच अभियुक्तसहित १८ जना अझै फरार रहेको ब्युरोका प्रमुख, नायब महानिरीक्षक नवराज सिलवालले जानकारी दिएका छन् । उनीहरुविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी भइरहेको र दुबई प्रहरीसँग समेत समन्वय भइरहेको जानकारी सिलवालले जानकारी दिए । उनीहरू पनि चाँडै नै पक्राउ पर्ने सिलवालले जानकारी दिए । गत पुस २० गते संयुक्त अरब इमिरेट्सको दुबईबाट गोपालबहादुर शाहीले एअर अरेबियाको उडानबाट ल्याउँदै गरेको सुनसहितको ‘लगेज’ र सो लिन गएका दिलबन्धु थापा र सन्तोष काफ्लेलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरी खानतलासी लिँदा प्रति १० तोला तौल भएका सुनका बिस्कुट १५२ थान, सुन जडित औँठी १९ थान, सिक्री १८ थान, बरामद गरी जम्मा ३३ केजी ५७७.४० ग्राम सुन बरामद भएको थियो । पक्राउ परेका १२ जनालाई सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा अनुसन्धान कार्य सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको महानिरिक्षक सिलवालले जानकारी दिए । सुन तस्करीको मुख्य अभियुक्त काभ्रेका हरिशरण खड्का रहेको र उनी नै यो सुनको मालिक रहेको प्रहरीले जनाएको छ । यसैगरी दुबईमा बस्ने गुप्तालाल भुसाल, धु्रव, अर्र्जुनप्रसाद पोखरेल, राजुप्रसाद पन्त अभियुक्त रहेका छन् । मोरङ भई हाल काठमाडौँ गोठाटार बस्ने दिलबन्धु थापा, धनुषा जनकपुर उपमहानगरपालिका घर भई हाल बारा निजगढ बस्ने सन्तोष काफ्ले सोही दिन सुन लिन आएको अवस्थामा पक्राउ परेका थिए भने सुर्खेत घर भई हाल नेपालगन्ज बस्दै आएका गोपाल शाही भने घटनाको भोलि पल्ट पक्राउ परेका थिए । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, चलाल गणेशस्थानका रामहरि कार्की, सिराहाको सिलोर्वा पछवारी घर भएका विमानस्थल भन्सारका तथ्याङ्क अधिकृत, नारायण यादव, काभ्रेपलाञ्चोकको गैरी बिसौना घर भई हाल विमानस्थलको एक्सरे मेसिन प्राविधिक राजकुमार ढकाल, भक्तपुर अनन्तलिङ्गेश्वर नगरपालिका घर भएका विमानस्थलका रेडियो अपरेट श्यामकृष्ण श्रेष्ठ च्वामु रहेका छन् । यसैगरी गुल्मी तम्घास गाविस घर भई विमानस्थल प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्री समेत सो घटनामा पक्राउ परेका छन् । वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस प्रालि न्युरोडका सञ्चालक सुनसरी धरान नगरपालिका रोजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ र धनकुटा नगरपालिकाका मनोज श्रेष्ठलाई पनि पक्राउ गरी ब्युरोले आज मुद्दा दायर गरेको छ ।
सिके राउतलाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश
सिरहा, फागुन २२ । डाक्टर सिके राउतलाई जिल्ला अदालत सिरहाले थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । राज्य विरुद्धको अपराध आरोपमा पक्राउ परेका उनलाई आइतबार चौथो पटक म्याद थप गर्दै थप २० दिन थुनामा राखेर अनुन्धान गर्न अदालतले आदेश दिएको हो । प्रहरीलाई राउतविरुद्ध थप अनुसनधानका लागि अदालतले दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते फेरि १० दिन म्याद थपेको थियो भने चौथो पटक आज २० दिनको म्याद थपिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले जानकारी दिए । नेपाल राष्ट्र विखण्डन गर्ने गरी स्वतन्त्र मधेशको पक्षमा गतिविधि गर्दै आएको आरोपमा पक्राउ गरी राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा प्रहरीले पक्राउ गरि उनीमाथि अनुसन्धान गरिरहेको छ । धनुषाको जनकपुरमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमार्फत् राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा पहिलो पटक गत माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराइएका राउतलाई अनुसन्धानका लागि दस दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो । सिरहामा भएको कार्यक्रममा देश टुक्र्याउने सार्वजनिक अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई माघ २० गते पक्राउ गरेको थियो । उनले नेपाल राष्ट्रलाई टुक्र्याउने भन्दै स्वतन्त्र मधेस गठबन्धन बनाएर त्यसको संयोजकका रुपमा काम गर्दै आएका छन् ।
मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन स्थानीय तहको संख्या बढाइयो–प्रधानमन्त्री
विराटनगर, फागुन २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि हालतमा स्थानीय निर्वाचन स्थगन नहुने स्पष्ट पारेका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको र स्थानीय तहको सङ्ख्यामा वृद्धि गरिएपछि मोर्चा निर्वाचनमा सहभागी हुने बताए । स्थानीय तह पुनःसंरचना आयोगले आज प्रतिवेदन बुझाउने र तराई–मधेसमा केही तहको सङ्ख्या वृद्धि हुने प्रधानमन्त्रीले बताए । उनले भने– प्रान्तीय र संसदीय निर्वाचनका लागि संविधान संशोधन आवश्यक छ तर अहिले हामी स्थानीय तहको निर्वाचनमा जुटेका छौं यो निर्वाचनका लागि संशोधन गर्नैपर्छ भन्ने छैन ।’ पत्रकारको जिज्ञासमा प्रधानमन्त्री प्रचण्डले आफ्नै नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन गराउने बताए । मधेसको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले भने, “राष्ट्रको भविष्य र राजनीतिक स्थिरताका लागि मधेस–पहाड र हिमाललाई मिलाएर मधेसी र थारुको मागलाई सम्बोधन गर्न सरकार दृढ छ । ” संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गर्ने विषयमा छलफल भइरहेको र संसद्मा मतदान गराएर असफल गराउनुभन्दा दलहरुबीच समझदारी गराएर प्रस्ताव पारित गराउने आफ्नो योजना रहेको उनको भनाई थियो । उनले नेकपा (एमाले)को मेची–महाकाली अभियानलाई सकारात्मक रुपमा लिनुपर्ने प्रचण्डले बताए । उनले भने एमालेको अभियानलाई गलत रुपमा लिनु हुँदैन, बरु मोर्चाले अभियान गर्ने वातावरण बनाउनुपर्छ । कुनैपनि हालतमा द्वन्द्वको अवस्था सिर्जना हुन दिनुहुँदैन। “कुनै पनि राजनीतिक दलको कार्यक्रममा व्यवधान गर्नु हुँदैन, एक अर्काको सम्मान गर्नुपर्ने लोकतन्त्रको नीति हो, कुनै अप्रिय घटना हुन नदिन सरकार गम्भीर छ ”, प्रधानमन्त्री प्रचण्डले भने । रासस
स्थानीय चुनावका लागि ७५ हजार म्यादी प्रहरी परिचालन गरिने
काठमाडौं । गृह मन्त्रालयले आगामी स्थानीय निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ । केन्द्रीय सुरक्षा समितिले चुनावमा करिब २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । ७५ हजार म्यादी प्रहरी भर्नाका लागि आइतबार मन्त्रिपरिषदमा प्रस्ताव लाने गहमन्त्री विमलेन्द्र निधिको तयारी छ । २२ हजार मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्र सुरक्षा दिन नसक्ने भएपछि गृह मन्त्रालयले म्यादी प्रहरीको प्रस्ताव गरेको हो । २०७० को स्थानीय चुनावमा ४५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । गृहमन्त्री निधिले म्यादी प्रहरीमा पूर्व प्रहरी, पूर्व सैनिक र पूर्व म्यादी प्रहरीलाई छनौट गर्ने तयारी गरेका छन् । सरकारले आउँदो माघ ७ गतेभित्र तीनै तहको चुनाव गर्नैपर्ने बाध्यता रहेकाले ७५ हजारभन्दा बढी संख्यामा म्यादी प्रहरी चाहिने गृहमन्त्रालयको अनुमान छ । तर, उक्त संख्याका लागि मन्त्रीपरिषदबाट पारित गर्नुपर्ने भएकोले आइतबार साँझ बस्ने मन्त्रीपरिषदको बैठकबाट पारित गराउने मन्त्री निधिको तयारी छ ।
बाग्लुङमा दरमखोला थुनियो, मध्यपहाडी राजमार्ग अवरुद्ध
बाग्लुङ, फागुन २२ । सुख्खा पहिरो गएपछि बाग्लुङको रिघा,७ मनेवामा दरमखोला थुनिएर ताल बनेको छ । आइतबार बिहान ५ बजेको समयमा करिब २ सय मिटर माथिबाट एक्कासि पहिरो खसेपछि मध्यपहाडी राजमार्ग अबरुद्ध भएको छ। जलविद्युत आयोजनाका लागि बाटो खन्ने क्रममा डिस्को नै खसेर नदी थुनिएको त्यहाँबाट हाम्रा सहकर्मीले जनाएका छन् । झण्डै चार घण्टासम्म खोला थुपिएपछि ठूलो ताल बनेको छ । अहिले भने त्यसमाथिबाट विस्तारै पानी फ्लो भएर बग्न थालेको बताएपनि स्थानीय भने त्रसित बनेका छन् । यता अवरुद्ध राजमार्ग खुलाउँदा फेरी माटो खोलामै जाने भएकोले समस्या भएको स्थानीय को भनाइ उधृत गर्दै हाम्रा सहकर्मीले बताए । पहिरो झरैसंगै विद्युत सर्ट हुँदा रिघा गाविसकै अन्दाजी ५६ वर्षीय पूर्णकली नेपालीको मृत्यु भएको छ । विद्युत सर्ट हुँदा आगलागी भएपछि निभाउन जाँदा करेन्ट लागेर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालीलाई हटिया उपस्वास्थ्य चौकीमा उपचारका लागि लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले जानकारी दिए । तस्वीर : हरिनारायण गौतम
ओलीलाई सिरहा र सप्तरी छिर्न प्रतिबन्ध, मोर्चाले निकाल्यो लाठी जुलुस
सिराहा, २२ फागुन । नेकपा एमालेले सुरु गरेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा मंगलबारका लागि तय भएको एमालेको आमसभालाई विफल पार्नका लागि मधेसी मोर्चा सिराहाले लाठी जुलुस निकाल्ने निर्णय गरेको छ । मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत अध्यक्ष केपी ओलीसहित एमाले शीर्ष नेताले राजविराजमा सम्बोधन गर्ने कार्यक्रम छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली जनविरोधी भएका कारण सिरहा र सप्तरी जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरिएको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवको भनाइ छ । चुनावको मुखमा आएर मधेसको कुरा गर्ने र मधेस छिर्ने एमालेलाई मधेसबाट लखेट्न मधेसी जनता स्वतःस्फूर्तरुपमा सडकमा आउने मधेसी नेताहरु बताउँछन् । यसअघि मधेसी जनताले एमालेका नेताहरुलाई कालो मोसो दल्नुका साथै रौतहटमा नेता माधव नेपाल उपस्थित कार्यक्रम र जनकपुरमा नेता वामदेव गौतमको कार्यक्रममा अवरोध गरेका थिए । भोलि लहान, सिरहा, गोलबजार, मिर्चैया लगायतका मुख्य ठाउँहरुमा कालो झण्डासहित मोटरसाइकल ¥याली निकालिने निकाल्ने मोर्चाले जनाएको छ । सप्तरी मोर्चाले आज मुख्य बजार क्षेत्रहरुमा मसाल जुलुस र पर्सि जिल्लाभर चक्काजामका साथै लाठी जुलुस समेत निकाल्ने तयारी गरेको छ। एमालेले भने मेची महाकाली जागरण अभियानले नेपाली जनतालाई जोड्ने काम गर्ने दावी गरेको छ । व्यवस्थापिका संसदमा दर्ता भएको मधेसका समेत माग समेटिएको संशोधन विधेयकको भने एमालेले बिरोध गरेको छ । एमालेकै बिरोधका कारण संविधान संशोधन हुन सकेको छैन । स्थानीय प्रशासनले कुनै दुर्घटना हुन नदिन उच्च सतर्कता अपनाएको छ ।
ऊर्जामन्त्रीको निर्देशनपछि चमेलियामा तीब्र गतिमा काम हुँदै
बैतडी, फागुन २२ गते । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ । ऊर्जामन्त्री जर्नादन शर्माले गत माघ २९ गते स्थलगत निरीक्षण गर्नुहुँदै चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन दिनुभएको थियो । चमेलिया जलविद्युत् आयोजनाको कुल ४।६ किलोमिटर सुरुङमध्ये आठ सय ४३ मिटर साँघुरिएको थियो । जसमध्ये ६ सय ११ मिटर काम सम्पन्न भइसकेको थियो । साँघुरिएको दुई सय ३२ मिटर सुरुङ खोल्न सन् २०१६ सेप्टेम्बर २८ देखि सुरु भएको र शनिबार सम्पन्न भएको आयोजनाका प्रमुख अजय दाहालले जानकारी दिनुभयो । “साँघुरिएको सुरुङ खोल्ने काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “अब रकट्र्याक खोल्ने काम सुरु भएको छ ।” सन् २०१७ को सेप्टेम्बरमा परीक्षण उत्पादन गर्ने र सन् २०१७ को डिसेम्बरसम्म परीक्षण गरी विद्युत् सञ्चालन गरिने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुत गतिमा भइरहेको पनि उहाँले जानकारी दिनुभयो । आयोजनाको एक सय ३२ किलोभोल्टको प्रसारण लाइन दार्चुलादेखि अत्तरियासम्मको सबै बनिसकेको बताइएको छ । साँघुरिएको सुरुङ खोल्ने काम सम्पन्न भइसकेको अब रकट्र्याक खोल्ने काम भइरहेको छ । कुल ६५ मिटर रकट्र्याकमध्ये १३ मिटर सम्पन्न भइसकेको र अब ५२ मिटर मात्रै बाँकी रहेको बताइएको छ । चमेलियाको जलविद्युत् आयोजना सम्पन्न भए सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त हुने छ । सन् २०१७ को डिसेम्बरमा चमेलिया जलविद्युत् आयोजनाको काम सम्पन्न हुने भएपछि सुदूरपश्चिम विद्युत्भार कटौतीमुक्त हुने भएकाले हर्षित भएका छन् । रासस
सिफारिस गरिएका राजदूतबारे कुनै गुनासो छ ? संसदीय समितिमा पठाउनुस् उजुरी
काठमाडौं, फागुन २२ । सरकारले विभिन्न मुलुकमा सिफारिस गरेका राजदूतबारे कुनै गुनासो भए प्रमाणसहित उजुरी दिन सकिने भएको छ । संसदको विशेष सुनुवाई समितिले आइतबार एक सूचना प्रकाशित गरी सरकारले सिफारिस गरेका राजदूत बनाउन उपयुक्त छैन भन्ने स्पष्ट प्रमाण भए उजुरी दिन सकिने उल्लेख गरेको छ । सिफारिस गरिएका व्यक्तिमध्ये राजदूत हुन अयोग्य भएको प्रमाण सहित उजुरी दिने व्यक्तिको नाम गोप्य राख्ने समितिले जनाएको छ । फागुन १८ गते बसेको मन्त्रीपरिषदको बैठकले विभिन्न देशमा रिक्त रहेका नेपाली राजदूत पदमा १२ जनालाई सिफारिस गर्ने निर्णय गरेको थियो । लक्की शेर्पा अष्ट्रेलिया, शर्मीला पराजुली (ढकाल) ओमान, निरञ्जन कुमार थापा इजरायल, रमेशप्रसाद कोइराला कतार, अर्जुनजंग बहादुर सिंह गणतन्त्र कोरिया, युवनाथ लम्साल डेनमार्क, प्रतिभा राणा जापान, चोपलाल भूसाल बंगलादेश, पदम सुन्दास बहराइन, भीकृष्ण उदास म्यानमार डा विश्वम्भर प्याकुरेल श्रीलङ्का र महेन्द्रप्रसाद सिंह राजपुत साउदी अरवका लागि राजदूत सिफारिस गरेको थियो । तर सरकारले सिफारिस गरेका राजदूत हुन अयोग्य भएको प्रमाण भए फागुन तीस गतेभित्र संसदीय सुनवाइ विशेष समिति, व्यवस्थापिका संसद सचिवालयमा उजुरी दिन सकिने समितिले जनाएको छ । हेर्नुस् सूचना
दुबई एयरपोर्टले ल्यायो नयाँ नियम, अब सामान डोरीले बाँध्न नपाइने, गोलो झोला पनि राख्न नमिल्ने
काठमाडौं, फागुन २२ । त्यसैपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान चोरी हुने घटनाहरु हुँदै आएकोमा डोरीले पनि बाँध्न नपाइने भएपछि झन असुरक्षा बढ्ने भन्दै प्रवासी नेपालीहरु आत्तिएका छन् । एभरेष्टदैनिकडटकमलाई कतार, दुबई, युइएलगायतका स्थानबाट प्रवासी नेपाली श्रमिकहरुले फोन गरेर यो नियमले आफूहरुको सामान असुरक्षित हुने बताए । “यता साउदी सरकारले दुख दिने, कम्पनीमा पसीना चुहाएर दुई पैसा कमाएपछि सामान किनिन्छ, आफ्नो देशमा जाँदा पनि त्यसको सुरक्षा छैन” युएईबाट फोन गर्दै रसीद जमाल खानले भने, “बालबच्चा छोडेर विदेश आएका छौं, देश फर्किँदा पनि दुख पाउने निर्णय किन गर्यो होला ?” तर याे नियम भने नेपाल सरकारले लगाएकाे नभइ दुबइृ विमानस्थलले लागु गर्न लागेकाे हाे । के हो डोरी बाँध्न नपाउने नियम ? विदेशमा रहेका नेपालीहरुमा नेपाल सरकारले यो नियम बनाएको भन्ने लागेपनि सामान प्याकेजका बारेमा यो निर्णय दुबई एयरपोर्टले लागु गर्न खोजेको हो । यही मार्च ८ गतेबाट लागु हुने उक्त निर्णयमा सुटकेश या अन्य सामान प्याक गर्दा एयरपोर्टको नियम अनुसार प्याक नगरिए त्यो लैजान निषेध हुने छ । एयरपोर्टले ४ किसिमका नियम बनाएको छ । (क) असामान्य आकारको ब्याग हुन नहुने (यो भनेको पोका पन्तुरो बाँध्न नपाइने हो) (No irregular shaped bags) (ख) निकै ठूलो ब्याग हुन नहुने (No oversized bags) (ग) गोलाकार ब्याग हुन नहुने (No round bags) (घ) सबै ब्यागको सतह सीधा हुनुपर्ने । (All bags should have a flat surface) तर प्रायजसो नेपालीहरुले बिभिन्न सामानहरुको पोका बनाउने गर्दछन् । यूरोप अमेरिका जाँदा सुटकेशको प्रयोग गरिने भएपनि खाडी र मलेशियाबाट फर्किँदा कतिपय नेपालीहरुले बजारमा पाइने प्लाष्टिकको ठूलो झोलामा सामान राखेर त्यसलाई डोरीले बाँध्ने गरेको पाइन्छ । यसरी पोको पार्दा अहिलेको नियम अनुसार नहुने भएकोले नेपालीहरु समस्यामा परेका हुन । एयरपोर्टले भने संसारकै सबैभन्दा राम्रो ब्यागेज सिष्टम लागु गरेको दावी गरेको छ । झोलाहरु या सुटकेशको असामान्य आकारले जहाजका यात्रुहरुलाई नै अप्ठ्यारो पर्ने एयरपोर्टको भनाई छ । ब्यागेज क्लेम गर्ने ठाउँमा सीधा सतह नभएको, बांगोटिंगो, निकै ठूलो ब्याग भएमा यसले ब्यागेज आउने ठाउँमा जाम भएर आउन ढिला हुने, टुटने, फुटने खतरा बढी हुने भएको उनीहरुले बताए । दुबई एयरपोर्टमा गत जनवरीमा मात्रै ९३ लाख ब्यागहरु भित्रिएका थिए । जहाजदेखि एयरपोर्टसम्म १ सय ४० किलोमिटर लामो ब्यागेज प्रणालीमा १५ हजार ट्रेहरु रहेको दुबई एयरपोर्टको यो सिष्टम संसारकै सबैभन्दा ठूलो ब्यागेज सिष्टम हो । यति लामो बाटोबाट सामान एयरपोर्टमा खसाल्दा असामान्य आकारको ब्याग भए जाम भएर समस्या हुने भएकोले नयाँ नियम बनाएको एयरपोर्टको जिकिर छ । दुबई विमानस्थलको सेवा प्रयोग गर्ने सबै विमान सेवा कम्पनीहरुलाई यो नियमका बारेमा अवगत गराइसकेको एयरपोर्ट प्रशासनले जनाएको छ ।
प्रजातान्त्रिक प्राध्यापक संघमा तिमल्सिनाको प्यानल विजयी
काठमाडौं, फागुन २२ । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ,नेपालको अध्यक्षमा जगत तिमल्सिना विजयी भएका छन् । काठमाडौंको किर्तीपुरमा भएको चौथो राष्ट्रिय महाधिवेशनको आइतबार विहान सकिएको मतपरिणाम अनुसार तिमल्सिनाको प्यानलले एक सचिव बाहेको सबै कार्यसमितिको पद जितेको निर्वाचन समितिले जनाएको छ । नयाँ कार्य समिति चयनका लागि शनिबार निर्वाचन भएको थियो । १२७५ मत रहेकोमा जम्मा नौ सय ७५ मत खसेको निर्वाचन समितिले जनाएको छ । जसमा अध्यक्षमा विजेता जगत तिमल्सिना ६८९ मत ल्याए उनका प्रतिद्धन्दी प्रकाशसिंह प्रधान जम्मा २६७ मत पाए । प्रथम उपाध्यक्षमा प्रा. डा. पृथ्वीविक्रम राई ३९० मत ल्याएर विजयी भए । उनका दुई प्रतिस्पर्धी अकल देव मिश्र ३६२ ल्याए र अमुदा श्रेष्ठले १९० मत ल्याएर पराजित भए । सचिव पदमा भने प्रकाशसिंह प्रधान प्यानलका डा. विष्णुप्रसाद पोखरेल निर्वाचित भएका छन् । महासचिवमा सहप्राध्यापक राजेन्द्र गौतम ५६७ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी विष्णु केसीले ३८६ मत ल्याए । कोषाध्यक्ष डा. सविना सिंह श्रेष्ठ ५५२ मत पाएर विजयी बनिन । सत्य नारायण चौधरी ३६१ मत पाएर पराजित बने । सहसचिव विजेता विष्णु प्रसाद पोखरेलले ५४० मत ल्याएर विजेता बने भने अर्का सहसचिव जनकरत्न मल्ल ४५७ पाएर विजयी बने ।