देशको विकासमा योगदान गर्ने जनशक्ति प्राथमिकताको विषय बन्नुपर्छ– राष्ट्रपति

पोखरा, फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासमा ठोस योगदान दिन सक्ने र हाम्रो आवश्यकताअनुरुपको शैक्षिक जनशक्ति तयार गर्ने विषय विश्वविद्यालय एवम् उच्च शैक्षिक प्रतिष्ठानको प्राथमिकतामा पर्नुपर्ने बताएको छ ।

पोखरा विश्वविद्यालयको चौधौँ दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा सम्बोधन गर्दै उनले भने– ‘उत्पादित जनशक्तिले स्वदेशमै रोजगारी पाउन नसक्दा शिक्षित युवा जोखिमयुक्त र अल्प रोजगारीका लागि विदेशमा पलायन हुन बाध्य बन्नु आजको तीतो, दुखद तर यथार्थ परिदृश्य हो ।’

राष्ट्रपति भण्डारीले हाम्रा विश्वविद्यालयबाट उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय जगतमा नगण्यमात्र योगदान गर्न सक्नु दुखद विषय भएको उल्लेख गर्दै ‘मुलुकमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले हाम्रो वास्तविक आवश्यकतालाई पूरा गर्ने र अन्तर्राष्ट्रिय बजारमा खपत हुने जनशक्ति उत्पादन गर्न सचेत रहनु आजको भूमण्डलीकरणको युगमा समयसापेक्ष हुन आउँछ भने ।’

मुलुकका समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने संवैधानिक मूल्य–मान्यता र आदर्शलाई मूर्तरुप दिन हाम्रो शिक्षा प्रणाली त्यहीअनुरुप तर्जुमा गरी कार्यान्यन गर्नु आजको सर्वोपरी आवश्यकता भएकोमा जोड दिदैं उनले नेपालमा पर्याप्त स्रोत साधन रहेको र तिनीहरूको समुचित परिचालनबाट देशले चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएको छ ।

राष्ट्रपति भण्डारीले ज्ञान तथा सीप हासिल गरेका युवा जनशक्ति र प्राकृतिक स्रोतसाधनको यथोचित र समन्वयात्मक परिचालनले देशको सर्वाङ्गीण विकासको गति बढाउन सकिने बताए । दीक्षित विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै उनले आफ्नो देश, समाज र जनताप्रति समर्पित बन्दै यहाँको मौलिकता, संस्कृति र वैभवप्रति गर्व गरी राष्ट्रको समुन्नतिका लागि प्रतिबद्ध रहन आग्रह गरे ।

विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा मन्त्री धनीराम पौडेलले दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान तथा सीपलाई समाज र राष्ट्रको हितमा उपयोग गर्ने विश्वास व्यक्त गरे ।

संविधानले समुन्नत राष्ट्र निर्माणको परिकल्पना गरिएको र शिक्षा स्वास्थ्यजस्ता विषयलाई मौलिक अधिकारका रुपमा स्थापित गरेको उल्लेख गर्दै उहाँले समयानुकूल शिक्षाको गुणस्तरीयता अभिवृद्धि गर्दै जानुपर्ने धारणा व्यक्त गरे ।

मन्त्री पौडेलले योग्य एवम् सक्षम जनशक्ति समग्र राष्ट्र विकासका लागि आवश्यक रहेकोमा पनि जोड दिए ।

विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले चौधौँ दीक्षान्त समारोहमा २०७३ साल माघ महिनासम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रम तह पार गरेका करिब पाँच हजारजना विद्यार्थी दीक्षित भएको जानकारी दिए ।

‘प्रतिस्पर्धाका आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै देशको शैक्षिक एवम् प्राज्ञिक वातावरणलाई बढी स्वच्छ, मर्यादित र उपलब्धिमूलक तुल्याउनु विश्वविद्यालयको प्रमुख लक्ष्य रहेको छ’– उनले भने ।

विश्वविद्यालयको परीक्षा प्रणालीलाई त्रुटिरहित,चुस्त र मर्यादित तुल्याउन, प्रशासनिक कार्यहरूलाई छिटो छरितो तुल्याउन तथा पठनपाठनलाई व्यवस्थित, परिणाममुखी र अनुसन्धानमूलक तुल्याउन विश्वविद्यालयले विभिन्न योजना अघि सारेको उपकुलपति शर्माले जानकारी दिए ।

दीक्षान्त समारोहमा विभिन्न विषयमा उत्कृष्टता हासिल गरी डिन लिस्टमा समावेश भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई लक्ष्मी विद्या स्वर्ण पदकका साथै कुलपति तथा उपकुलपति पदकबाट सम्मान गरिएको थियो ।

राष्ट्रपति भण्डारीले विश्वविद्यालयको नवनिर्मित प्रशासकीय भवनको आजै एक समारोहबीच उद्घाटन ग’] ।

पुराण सुन्न होइन, यसकारण सिराहा गए प्रचण्ड

काठमाडौं,फागनु ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”आइतबार सिराहा पुगेपछि त्यसले राष्ट्रिय चर्चा पायो । प्रचण्ड पुराणको उद्घाटन गर्न सिराहा पुगेको चर्चा समेत कतिपयले चलाए । सिराहा जिल्ला जातीय छूवाछूत र भेदभावले गाँजेको जिल्ला हो । खासगरी आर्थिक रुपमा परनिर्भर र भूमिहीन दलितहरु माथि पहाडी दलितको तुलनामा चर्को शोषण र यातनाका घटनाहरु दोहोरिने जिल्ला । दलित महिलाहरु माथि सामूहिक बलात्कारदेखि भूमिहीनहरुलाई उठिवास लगाउने जिल्ला । सिंगो बस्तीमा जाडोमा एउटा सिरकसमेत ओढ्न नपाउने विवश दलित समुदाय बस्ने जिल्ला । र, संयोगले प्रधानमन्त्री प्रचण्डलाई यही जिल्लाले संविधानसभाको दोश्रो निर्वाचनमा निर्वाचित समेत गरेको जिल्ला । अनिता परियार, गाउँमा यही छूवाछूतको पीडा सहेर पनि पढ्न सफल दलित महिला, उनलाई पढ्न सहयोग गर्यो एउटा अमेरिकी संस्थाले । अमेरिकी संस्थाका दयालुहरुको सहयोगमा उनले पढीन र केही कुरा थाहा पाइन । भगवान भनेको सबैको हुन्छ , दलित र गैर दलित सबैको भन्ने कुरा थाहा पाइन । मान्छे मान्छेबी उँच नीचको पर्खाल खडा गरेर एकमुट्ठी सामन्तहरुले रजाईं गरेको थाहा पाइन । उनलाई पढ्न सहयोग गर्ने अमेरिकी नागरिकको मृत्यु भएछ । अनिताले सोचिन– मलाई यति सहयोग गर्नेको ‘आत्मा’को शान्तिका लागि मन्दिरमा दियो बत्ती बाल्नु पर्यो । सिरहाको बस्तीपुरमा रहेको स्थानीय मन्दिरमा अनिताले बत्ती बाल्न खोजिन । तर भगवानको ठेक्का लिएका कथित उपल्लो जातिका मानिसहरुले अनितालाई मन्दिर प्रवेश गर्न दिएनन । अनिताले प्रतिवाद गरिन । तर उनी दलित थिइन र उनलाई बत्ती बाल्न दिइएन । यो घटना घटेको धेरै दिनभएको छैन । यस अघि पनि यस्ता घटनाहरु भइरहने अवस्था देखेर स्थानीय अगुवाहरुले धर्मको नामदिएर गरिने भेदभाव विरुद्ध धर्मकै नाम दिएर सामाजिक चेतना जगाउने अभियान अन्तर्गत महायज्ञको आयोजना गर्ने निर्णय गरे लाहानमा । महायज्ञबाट उठेको पैसा भने लाहानमा दलित छात्रावास र बृद्धाश्रमको निर्माणमा खर्च गर्ने घोषणा गरे । त्यस पछि उनीहरुले प्रधानमन्त्री प्रचण्ड समक्ष अनुरोध गरे त्यसको उद्घाटनका लागि । दलित अधिकारका लागि महायज्ञको बाटो कति ठीक या कति बेठीक भन्ने सैद्धान्तिक बहस बाँकी छ र प्रचण्डका लागि त्यो बाटो नै दलित मुक्तिको सही बाटो भने होइन । खासगरी १० वर्षे जनयुद्ध र त्यसपछि दलित अधिकारका पक्षमा माओवादीले खेलेको भूमिकाले यो पुष्टिगर्छ पनि । तर सिरहामा तत्कालका लागि त्यहाँ काज मिन्दार देखि आफूलाई जातीय सर्वोच्चताको शिखरमा राख्न चाहनेहरुका लागि स्थानीयस्तर बाट त्यही धर्मभित्रै पनि सुधार खोज्न आयोज नागरिएको महायज्ञमा सहभागी हुने उनले निर्णय गरे । यसले एका तिर दलित माथि विभेद विरुद्ध राज्यको सर्वोच्च नेतृत्वको प्रतिबद्धता झल्किन्थ्यो भने अर्कोतर्फ स्थानीय दलित समुदायमा समेत आफ्नो अधिकारका पक्षमा साहस थप्ने वातावरण निर्माण गथ्र्यो । तर यो कुरालाई कतिपय पक्षबाट बंग्याइयो । हिजो अनिता परियार या त्यहाँका मुसहर, डोम, दुसाध, चमारहरुमाथि चरम जातीय विभेद हुँदा त्यो समाचार बनेन, दलित महिलाहरु सामूहिक बलात्कार हुँदा त्यसले राष्ट्रिय चर्चा पाएन, तर राज्यको नेतृत्व गर्दै प्रधानमन्त्रीले दलितहरुको छात्रावास र बृद्धा श्रमका लागि आयोजना गरिएको एउटा कार्यक्रमको उद्घाटन गर्दा त्यसको बिरोध भयो । यो बिरोध एकातिर प्रचण्डप्रतिको पूर्वाग्रह थियो भने अर्को तर्फ यो जातीय अभिमानबाट निस्किएको मनोविज्ञान थियो । अहिले दलित आन्दोलन कमजोर भएको छ । दलित अधिकारका मुद्दाहरु संगठित ढंगले उठ्न सकेका छैनन् । राज्यको नेतृत्वमा दलितका लागि संवेदनशील दल र व्यक्तिहुँदा समेत दलित आन्दोलनले ऐतिहासिक उपलब्धिहरु हासिल गर्न सकेको छैन । त्यसैले पनि यस्ता गलत र भ्रामक चर्चाहरु चलिरहेका हुन । यसतर्फ दलित अधिकारकर्मी र समग्र दलित अधिकारको पक्षमा रहेकाहरुले बेलैमा सचेत हुनु आवश्यक छ । दलित अनलाईनबाट

प्रधानमन्त्री प्रचण्डले निर्वाचनको मिति आजै घोषणा गर्ने

काठमाडौँ, फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को १३ औँ वार्षिक साधारणसभालाई आजसम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको बताए । प्रधानमन्त्री प्रचण्डले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेको जानकारी दिए । मुलुकको शिर झुक्ने गरी आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी दिनमा मुलुकको समृद्धिका लागि अगाडि बढ्ने वचनबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा(एमाले)का नेता गङ्गालाल तुलाधरले मुलुकमा गुणस्तरीय शिक्षा आवश्यक भएको बताए। रासस

सुझाव समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने–‘अब फास्ट ट्रयाक निर्माणको काम सुरु हुन्छ ’

काठमाडौं, फागुन ९  । प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले काठमाडौं—निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्य सुरु हुन् बताएका छन् ।  सोमबार बिहान निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) सुझाव समितिले नेपाल सरकारलाई  बुझाएको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले अब छिटोभन्दा छिटो फास्ट ट्रयाक निर्माणको काम सुरु हुने बताएका हुन् । प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने–‘समितिले तोकिएको अवधिभित्र तोकेको कार्यदेश अनुसार सुझाव दिएको छ, त्यसका लागि धन्यवाद । केही दिन पहिले म आफैले फास्ट ट्रयाकको स्थलगत निरीक्षण गरेको थिएँ । फास्ट ट्रयाक नेपालले बनाउन सक्छ कि सक्दैन भन्ने बहस थियो, अब त्यो कन्फ्युजन अन्त्य भएको छ । प्रतिवेदन आएको छ, अब छिटोभन्दा छिटो फास्ट ट्रयाक निर्माणको काम सुरु हुन्छ ।’ सुझाव समितिका संयोजक डा. मीनबहादुर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएका हुन् ।  गत पौष ७ गते फास्ट ट्रयाक निर्माणको सम्भाव्यता अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न मन्त्रीपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सुझाव समिति बनाएको थियो । समितिलाई पुरानै कम्पनिले बनाएको डिपीआर लिन सकिने वा नयाँ बनाउनुपर्ने, फास्ट ट्रयाकको बित्तीय व्यवस्थापन कसरी गर्ने, नेपाल आफैले बनाउन सक्ने वा नसक्ने, कुन मोडालिटीमा बनाउनेजस्ता विषयमा सरकारलाई सुझाव पेश गर्न कार्यदेश दिइएको थियो । प्रतिवेदन बुझाउँदै संयोजक डा. श्रेष्ठले सरकारले आफूहरुलाई दिएको कार्यदेशअनुसार प्रतिवेदन बुझाएको बताए। प्रतिवेदनमा समय र खर्चको बचतका लागि पुरानो कम्पनिले बनाएको डिपीआर लिनु उपर्युक्त हुने, फास्ट ट्रयाक नेपालको आफ्नै लगानीमा निर्माण गर्न सकिने, त्यसका लागि वार्षिक १० देखि २० अरब बजेटको व्यवस्था गर्न सकिने र नेपाल सरकार आफैले कार्यालय स्थापना गरेर काम सुरु गर्नु राम्रो हुने विषय समेटिएको संयोजक श्रेष्ठले जानकारी दिए।  

त्रिशूलीमा बोलेरो जीप खस्यो, दुई बेपत्ता, चार घाइते

रत्ननगर (चितवन), फागुन ९। चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप आज बिहान त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएको र अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परी गोर्खा ताकु–६ बस्ने ६५ वर्षीया विष्णुमायाँ गुरुङ र उनका नाति १३ वर्षीय कविन गुरुङ बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । आज बिहान करिब ३ बजेको समयमा चितवनको खैरहनीबाट गोरखा जाँदै गरेको ना३ख ७५४३ नंको बोलेरो कविलास–४ स्थित सत्र किलो भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेहरुमा चितवन कालिका नगरपालिका–५ का ३३ वर्षीय शिव खड्का (चालक), गोर्खा ताकुकै ४० वर्षीय भीमबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षीय टीका गुरुङ र अर्का ५ वर्षीय न्युटल गुरुङ घाइते भएको र अहिले उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । कोठाको सामान लिएर जाँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । बोलेरो पानी भित्रै रहेकाले निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

काठमाडौँ, फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणाका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति घोषणा, आयोगको तयारी र सरकारको तयारीका बारेमा कुराकानी भएको थियो । सो क्रममा प्रधानमन्त्रीले सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिँदै निर्वाचन सम्पन्न गर्ने आवश्यक तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको थियो । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले वैशाख मसान्तभित्रै निर्वाचन गर्नेगरी सम्पूर्ण तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा आयोगका पदाधिकारीले आयोग सरकारले तोकेकै मितिमा निर्वाचन गराउन सक्षम रहेको जानकारी दिँदै निर्वाचनमा सम्पूर्णरुपले सहयोग गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको तयारीका सम्बन्धमा आयोगले हालसम्म गरेको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । आयोगले पदाधिकारीको पूर्णता पाएपछि प्रधानमन्त्रीसँगको छलफल यो नै पहिलो हो । रासस

सहयाेग गर्नुस् चुनाव हुन्छ : प्रधानमन्त्री

काठमाडौं, फाल्गुण ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख मसान्तभित्र चुनाव गरिने बताएका छन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको बेला आज साँझ निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री प्रचण्ड चुनावका लागि सहयाेग गर्न अाग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका प्रमूख आयुक्त र आयुक्तहरुलाई बोलाएर प्रधानमन्त्रीले निर्वाचनबारे परामर्श गरेका छन् भने सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी गराउँदै निर्वाचनका लागि तयारी गर्न आयोगलाई आग्रह गरेका छन् । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले बैशाख मसान्तभित्र नै निर्वाचन गर्ने गरी सम्पूर्ण तयारी गर्न आयोगका पदाधिकारीहरुलाई आग्रह गरे । भेटमा आयोगका पदाधिकारीहरुले आयोग सरकारले तोकेकै मितिमा निर्वाचन गर्न सक्षम रहेको जानकारी दिँदै निर्वाचनमा सम्पूर्ण रुपले सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

मधेसी मोर्चाकाे अडान ‘पहिला संशोधन अनि मात्रै चुनावको मिति’

काठमाडौं, फागुन ८ । मधेसी मोर्चाको आज बसेको वैठकमा पनि आफ्नो अडानलाई छोडेन । प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा बोलाएको बैठकमा जानु अघि के बोल्ने भन्ने तयारीका लागि आइतबार साँझ बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा मधेशी मोर्चाको बैठक बसेको थियो । बैठकबाट ‘पहिला संविधान संशोधन अनि मात्रै चुनावको मिति’ भन्ने अडान कायमै राखिएको छ । सरकारले सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।

त्रिवि सेवा आयोग परीक्षामा भएको अनियमितताबारे अख्तियारले थाल्यो छानवीन

काठमाडौंँ, फागुन ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगबाट नियन्त्रणमा लिएको २२ वटा विषयको उत्तरपूस्तिकाको अनुसन्धान सुरु भएको बताएको छ । अघिल्लो बुधबार छानविनका लागि नियन्त्रणमा लिएको त्रिवि सेवा आयोगको परीक्षाका विभिन्न सामग्रीसहित अनुसन्धान सुरु भएको बताएको हो । उजुरीलाई ध्यानमा राख्दै चाँडो भन्दा चाँडो परिणाम निकाल्न आयोगले अनुसन्धानको काम अगाडि बढाएको जनाएको छ । एभरेष्टदैनिक डटकमलाई अनियमितताको अधिक उजुरीका कारण नियन्त्रणमा लिएका सम्पूर्ण विषयहरुको छानविन सुरु भएको र त्यसले पूर्णता नपाई परिणाम बाहिर निकाल्न नमिल्ने आयोगका सहसचिव एवम् प्रवक्ता जीवराज कोइराला स्रोतले जानकारी दिएको छ । उनले भने ‘विषय अत्यन्त्यै सम्वेदनशिल भएकोले सम्पूर्ण अध्ययन पश्चातमात्रै जानकारी गराइनेछ’ । अख्तियारले ग्रामीण विकास, गणित लगायत २२ विषयको परीक्षा सामाग्री नियन्त्रणमा लिएको थियो । परीक्षा सामग्री नियन्त्रणमा लिएसँगै सम्पूर्ण शैक्षिक क्षेत्र र सरोकारवालाहरु क्रियाशिल भएका छन् । उनीहरुले निश्पक्ष छानविन र दोसीउपर कडा कारवाहीको समेत माग गरेका छन् ।

सिके राउतका कार्यकर्ताले गरे प्रहरी चौकीमा ढुंगामुढा, तीन प्रहरीसहित दर्जनाै घाइते

रुपन्देही, ८ फागुन । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै रुपन्देही प्रहरी कार्यालयमा ढुंगमुढा गरेका छन् । तराई विखण्डनको नारा लगाउँदै मर्चवारमा प्रदर्शन गरिरहेका सीके राउतका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग दोहोरो झडप भएको थियो । कार्यकर्ताहरुले बडवलियामा रहेको प्रहरी चौकीमाथि ढुंगामुढा बर्साएका थिए । प्रदर्शनकारीको ढुंगा प्रहारबाट तीन प्रहरी घाइते भएका लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिएका छन् । झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार लुटिएको उनले बताए । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर र पाँच राउन्ड अश्रु ग्याँस प्रहार गरेको छ । शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । झडपपछि केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको रिहाईको माग गर्दै आज पनि सीकेका कार्यकर्ताहरुले प्रहरीमाथि आक्रमण गरेका हुन् ।

दश गजावारी भारतीय सीमा सुरक्षा बलको हस्तक्षेप, कञ्चनपुरको पुनर्वासमा तनाव

पुनर्वास, फागन ८ । भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमा आएर काम गर्न नदिएपछि कन्चनपुर जिल्लाकाे पुनर्वासमा तनाव सिर्जना भएको छ । पुनर्वास नगरपालिकाले वडा नं. ८ आनन्दबजार नजिक नेपालको भूमिमा पर्ने खाल्डोमा ह्युमपाइप राख्न खोज्दा भारतीय सीमा सुरक्षा बलले अवरोध गरेका हुन । नेपाल र भारत सीमा क्षेत्र दशगजाभन्दा डेढसय मिटर वर रहेको उक्त खाल्डोमा नगरपालिकाले ह्यूम पाइप हालेको थाहा पाएपछि सीमा सुरक्षा बलले हस्तक्षेप गरेको नेकपा माओवादी केन्द्रका कञ्चनपुर जिल्ला इन्चार्ज बीर बहादुर थापाले बताए । “हाम्रो सीमामा आएर उनीहरुले खाल्डोमा पाइप हाल्न पाईदैन भनेका छन् ।” उनले भने, “प्रशासनलाई जानकारी गराएका छौं तर अहिले नेपालकै भूमिमा उनीहरु आएर बसेको भन्ने खबर आएको छ ।” भारतीय पक्षबाट बारम्बार सताईंदै आएका उक्त क्षेत्रका वासिन्दा भारतीय प्रहरी नै नेपाल भूमिमा आएर बसेपछि झन त्रसित भएका छन् । सीमा सुरक्षा बलले नेपाली भूमिमा डेरा जमाएपछि जिल्लास्थित राजनीतिक दलहरुले जिल्ला प्रशासन कार्यालयसँग तत्काल भारतीय पक्षसँग समन्वय गरी सीमा क्षेत्रबाट सुरक्षा बल हटाउन माग गरेका छन् । आवरण तस्वीरः यसअघि दशगजा क्षेत्रमा भारतीहरुले बनाएको बाँध

निर्वाचन आयोगका मुख्य पदाधिकारी बालुवाटार बोलाइए, चुनावबारे निर्णायक छलफल हुने

काठमाडौं, फागनु ८ । स्थानीय निकायको निर्वाचनको मिति घोषणाको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले निर्वाचन आयोगका मुख्य पदाधिकारीलाई बालुवाटारमा छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार, स्थानीय निकायको निर्वाचनको तयारीसँग जोडिएका विषयमा छलफल गर्न र चुनावको मिति घोषणाका लागि आधार तयार पार्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन । आज साँझ ६ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगका प्रमुख आयुक्त, अन्य आयुक्त र पदाधिकारी उपस्थिति हुने छन् । बैठकमा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको समेत उपस्थिति हुने छ । बैठकले निर्वाचनको मिति घोषणासँगै आयोग र सरकारले गर्नुपर्ने तयारीलगायतका विषयमा बिस्तृत छलफल गर्ने र सोमबारको मन्त्रीपरिषदको बैठकबाट मिति घोषणालाई अन्तिम टुंगो लगाउने विषयमा छलफल गर्ने छ । सरकारले संविधान संशोधन प्रस्तावसँगै निर्वाचनलाई समेत सँगै लैजाने बताए अनुसार, प्रधानमन्त्री प्रचण्डले सबै पक्षसँग चुनावको वातावरण बनाउन छलफल जारी राखेका छन् ।

कमल थापा विरुद्ध राणाले दिए अध्यक्षमा उम्मेदवारी !

काठमाडौं, फागुन ८ । राप्रपाको अध्यक्ष पदका लागि प्रदिप विक्रम राणाले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको एकता महाधिवेशनमा आज निर्वाचन प्रक्रिया सुरु भएको छ । काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय अध्यक्ष राणाले आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेका हुन् । उनले हालका अध्यक्ष कमल थापाले पार्टीलाई मण्डलेतन्त्रले चलाउन खोजेको आरोप लगाए । राणाले भने,‘आज बिहानदेखि मैले उम्मेद्वारीको फर्म माँगे तर निरञ्जन थापाले उपलब्ध गराउनु भएन्, किन भनेर सोधेको त हाम्रो सहमति भैसकयो, तपाईले पाउनुहुन्न भनेर थर्काउन थाले, के मैले निर्वाचनमा आफ्नो अधिकार प्रयोग गर्न नपाउने हुँरु, अब म न्यायको ढोकामा जान्छु, मैले कसैको दवाब र कसैको भनसुनमा उम्मेद्वारी दिईरहेको छैन्, आफ्नो अधिकारलाई प्रयोग गर्न खोज्दैछु।’ ‘मलाई हिजोको बन्दसत्रमा बोल्ने समय दिईएन, म बोल्छु भनेर प्रतिप्रश्न गर्दा कमल थापाले यसलाई घाक्रेठ्याक लगाएर बाहिर निकाल भनेर आदेश दिनुभयो, त्यसपछि उहाँका गुण्डाहरूले मलाई लतार्दै बाहिर निकाले, के यहि हो उदारवाद ? कि ४ जना नेताको मात्र पार्टी हो राप्रपा ? यसरी आत्मसम्मान माथि आँच र चोट पुग्ने खालको आदेश दिने कमल थापाको के म गुलाम होरु यसरी मण्डले प्रवृत्तले पार्टी चल्दैन र लाखौ कार्यकर्ताको भविष्य अन्धकार बन्छ।’उनले आक्रोश पोख्दै प्रश्न गरे । आफुलाई धम्की आईरहेको भन्दै राणाले प्रहरी प्रशासनसँग आफ्नो जीवन सुरक्षा गरिदिन आग्रह गरे । भने– ‘मलाई धम्क्याउने र थर्काउने काम भैरहेको छ, मेरो जीवनको सुरुक्षा प्रशासनले गर्नुपर्छ, म अध्यक्षको लागि मैदानमा छु, चार हजार प्रतिनिधिको आवाजको आधारमा मैले अध्यक्षको पदको लागि उम्मेद्वार घोषणा गरेको हुँ, हामी यूवाले नेपालको राजनीतिको नेतृत्वमा भाग लिन नपाउने हो, यदि हो भने कमल थापाले यसको जवाफ दिनुपर्छ।’

चन्दलाई आइजिपी बनाएको विरुद्धमा परेको मुद्दाको फैसला दुईदिन सर्यो

काठमाडौं, फागुन ८ । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण सम्बन्धि सर्वोच्च अदालतमा परेको मुद्दाको आज हुने भनिएको सुनुवाई मंगलबारसम्मका लागि सरेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेश तोकिएको थियो । तर, प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ हुन नसकेको हो । अधिवक्ता कपिलदेव ढकालले दर्ता गरेको पुरक निवेदन महान्यायाधिवक्ता कार्यालय र सरकारले नियुक्त गरेका महानिरिक्षक जयबहादुर चन्दलाई जानकारी नभएको खुलेपछि सुनुवाई दुई दिनका लागि सरेको हो । न्यायाधीश हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडाको संयुक्त इजलासले दुवै पक्षलाई छलफल लागि पर्सि मंगलबार उपस्थित हुन समेत भनेको छ । यसअघि, सर्वोच्च अदाललते आज तोकिएको सुनुवाईमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तर दिने कि नदिने भन्नेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । गत साता प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । प्रहरी महानिरीक्षक प्रकरणमा अधिवक्ता कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चले पुरक निवेदन सहित दुई रिटलाई एक ठाउँमा राखेर सुनुवाई गर्ने आदेश दिएको थियो ।

सरकारले यसरी घोषणा गर्दैछ स्थानीय तह निर्वाचन मिति घोषणा !

काठमाडौं, फागुन ८ । सरकारले सोमबार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने भएको छ । दलहरुबीचमा सहमति जुटाएर चुनाव घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले तयारी गरेका कारण ८ गते घोषणा गरिने भनेको मिति एक दिन पर सरेको सरकारका एक मन्त्रीले एभरेष्टदैनिक डटकमसँग भने । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच अाइतबार नै बालुवाटारमा भएको छलफलमा पनि सोमबार स्थानीय तहको मिति घोषणा गर्ने सहमति भएको थियो । तर प्रधानमन्त्रीले सबै दलको सहमतिमा मिति घोषणा गर्दा सहज हुने बताएपछि आइतबार बेलुकी प्रमुख विपक्षी एमाले, मधेसी मोर्चा र स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीसँग पनि मितिबारे छलफल गर्दैछ । सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्र चुनावको मिति घोषणा गरेर संविधान संशोधनको प्रक्रिया अघि बढाउन पनि सहमत भएका छन् । चुनाव मिति घोषणा गर्न छलफल गर्नैका लागि प्रधानमन्त्री प्रचण्डले आज बोलाइएको मन्त्रीपरिषदको बैठक पनि स्थगित गरेका छन् । स्थानीय तहको चुनाव मिति घोषणा गर्न प्रधानमन्त्रीले दलहरुसँगको छलफललाई तीव्रता दिएका छन् । शनिबारमात्रै पनि प्रधानमन्त्रीले सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए । छलफलमा मोर्चाले संविधान संशोधनको टुङ्गो नलगाईँ मिति घोषणा नगर्न सुझाएको थियो । त्यसपछि आइतबार विहान सत्ता घटक नेपाली कांग्रेसका शीर्ष नेतृत्वसँग प्रधानमन्त्रीले बालुवाटारमा छलफल गरे । विहान भएको छलफलमा सकभर सबै दलको सहमतिमा चुनावको मिति घोषणा गर्ने सहमति भएको ती मन्त्रीले जानकारी दिए । केहीदिन अघिमात्रै एमालेका अध्यक्ष केपी अोलीसँग माअाेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ निवास ललितपुर हरिसिद्धिमा गोप्य भेट गरेका थिए । भेटमा सरकारले चुनावको मिति घोषणा गरे मधेसी मोर्चासँग एमालेले कुराकानी गरेर सहमतिमा ल्याउने अोलीले प्रतिवद्धता जनाएका थिए । निर्वाचने मिति घोषणाकै लागि प्रधानमन्त्रीले आज दिनभर दलहरुसँग भेट गर्ने भएका छन् । साँझ भने मधेसी मोर्चाका केही शीर्ष नेताहरुसँग निर्णायक वार्ता गर्ने प्रधानमन्त्रीको तयारी छ । सात बजेतिर प्रधानमन्त्रीले मोर्चाका केही प्रमुख नेता र सत्ता घटक कांग्रेसका शीर्ष नेतृत्वलाई बालुवाटार बोलाएका छन्, मोर्चासँग सहमति गराएर प्रधानमन्त्रीले आजै निर्वाचन आयोगसँग परामर्श लिने पनि तयारी गरेको स्रोतले जनाएको छ । ‘मोर्चासँग उनीहरुको माग सम्बोधनका लागि नयाँ शिराबाट छलफल हुनेछ, मोर्चाकै प्रस्ताव लिएर प्रधानमन्त्रीले चुनावको मिति घोषणा गर्नुहुनेछ’ स्रोतले भन्यो । निर्वाचन आओगले सरकारले फागुन १० गतेभित्र चुनावको मिति घोषणा गरे जेठको १ र २१ गते स्थानीय तहको मतदान गर्नसक्ने गरी मिति प्रस्ताव गरिसकेको छ ।

जापानमा प्रजातन्त्र दिवस: सहिदको भावनाको कदर गर्न माग

प्रकाश पन्थी काठमाडौं, फागुन ८ । राणाशासन विरुद्धको आन्दोलनमा भएका सहिदको भावनाको कदर गर्न जापानवासी नेपालीले राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् । जापानस्थित नेपाली राजदूतावासले शनिबार टोकियोमा आयोजित ६७ औं प्रजातन्त्र दिवसका अवसरमा जापानवासी नेपालीले स्वतन्त्रता प्राप्तिका लागि लड्ने क्रममा बलिदानीस्वरुप सहिद भएकाहरूको स्मरण गर्दै पञ्चायती राणाशासन विरुद्धको आन्दोलनले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न आग्रह गरेका हुन् । कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले स्वतन्त्रताको अधिकार माग्ने क्रममा भएका सहिदको सम्मानका लागि एकापसमा मिल्नाको विकल्प नरहेको बताए । नेकपा (एमाले) केन्द्रीय सदस्य ठाकुर गैरेले लामो संघर्ष र धेरै दुःखले बनाएको संविधान कार्यावन्यनमा सरकार गम्भीर हुनुपर्ने बताए । गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले सहिदको भावना पूरा गर्न विदेशमा रहेका हरेक एक नेपालीले तीन विदेशी साथीलाई नेपाल पठाउन सके पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । कावा राजदूत कृष्णचन्द्र अर्यालले राजनीतिक पार्टीका भ्रातृ संगठन र जापानस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिबीचको भाइचारा तथा ऐक्यबद्धताको प्रशंसा गरे । कार्यक्रममा गैरआवासीय अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य, गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापा, नेपालस्थित विभिन्न राजनीतिक पार्टीका सङ्गठन प्रतिनिधि र विभिन्न सङ्घसंस्थाका अधिकारीले प्रजातन्त्र प्राप्तिका लागि भएका सहिदको भावनाको कदर गर्न माग गरेका थिए ।