राप्रपा महाधिवेशनका लागि ५४ स्थानबाट पदयात्रा सुरु

युवा संघको महाधिवेशनः ओली र नेपाल दुईतिर

काठमाडौं, फागुन ५ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको महाधिबेशन विवादमा परेको छ । संस्थापन पक्ष पार्टी अध्यक्ष केपी ओली निकटले एकलौटी ढंगले महाधिबेशन गर्न लागेको भन्दै माधबकुमार नेपाल पक्षधर सोहि दिन छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ । संस्थापन पक्षले वैशाख ९ देखि १२ गतेसम्म हेटौंडामा र नेपाल पक्षधरले सोहि मितिमा चितवनमा महाधिवेशन गर्ने घोषणा गरेका छन् । यसअघि वैशाख ९ देखि १२ गतेसम्म हेटौंडामा महाधिवेशन गर्ने संघले निर्णय गरेको थियो । नेपाल पक्षधरका उपाध्यक्ष दिलकुमारी पन्त, राजु गुरुङ, सचिव हस्त शाहि, नरेशकुमार शाहि, मञ्जु यादव र क्रान्ति बुर्लाकोटीले नियम र विधान अनुसार संघ चलाउन एकहप्ते अल्टिमेटमसमेत दिएका छन् । नेपाल पक्षधरले आज पत्रकार सम्मेलन गरी संस्थापन पक्षले संघ मनलाग्दो ढंगले चलाएको आरोप लगाएका छन् ।

फागुन १८ गतेलाई तोकियो स्ववियु निर्वाचन

काठमाडौं, फागुन ५ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १८ गते हुने भएको छ । बिहिबार त्रिभुवन विश्वविद्यालका शिक्षाध्यक्षसहित तीन मुख्य दलसँग सम्बद्ध विद्यार्थी संगठन र स्ववियु चुनावको विरोध गरिरहेको विप्लव माओवादी निकट विद्यार्थी प्रतिनिधिबीच भएको छलफलमा नयाँ मिति निर्धारण गरिएको हो । त्रिविसँगको छलफलपछि फागुन १८ गते स्ववियु चुनाव मिति घोषणा गरिएको अखिल क्रान्तकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले पुष्टि गरे । उनले भने-‘नयाँ मितिमा चुनाव हुन्छ अान्दोलनरत पक्षले अाजैदेखि अान्दोलन कार्यक्रम फिर्ता लिने सहमति भयो ।’ नयाँ मिति तय भएपछि विप्लव निकट विद्यार्थी संगठनले देशभरका क्याम्पसमा लगाएको ताला आजैका मितिदेखि खोल्ने सहमति भएको छ । त्यसअघि बिहिबार बिहान विप्लव माअोवादी निकट विद्यार्थी संगठनलाई सहभागी गराउन भन्दै स्ववियु निर्वाचन पाँच दिन सार्न त्रिवि पदाधिकारी र विद्यार्थी संगठन सहमत भएका थिए । प्रमुख तीन विद्यार्थी संगठन र विप्लव माओवादीनिकट विद्यार्थी संगठनले स्ववियु निर्वाचन सार्ने सहमति गरेका हुन् । बुधबार मात्रै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रमुखहरुले निर्धारित मिति फागुन १४ मै स्ववियु चुनाव गर्ने निर्णय गरेको भोलिपल्टै तीन दलका विद्यार्थी संगठनको बिहीबार बिहान काठमाडौंमा बसेको बैठकले पाँच दिन चुनाव सार्ने समझदारी गरेका थिए । अखिल क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले एभरेष्टदैनिक डटकमसँग स्ववियु चुनाव सार्ने सहमति भएको पुष्टि गरे ।  ‘विश्व विद्यालय स्वायत्त निकाय हो, सरकारले गर्ने अन्य चुनाव र यसको चुनावमा भिन्नता छ , हिजै विद्यार्थी संगठनका प्रमुखहरुले चुनावको मिति एक दुईदिन सार्नपर्ने बताए पनि एमाले अध्यष ओलीले चुनौति दिएको कारण प्रधानमन्त्रीले भनेको समयमै चुनाव गर्न निर्देशन दिनुभएको थियो । विप्लव निकट विद्यार्थी साथीहरुले पाँच दिन चुनाव सारे भाग लिने बताएपछि मिति सारिएको हो ।’ उनले भने–‘पाँच दिन चुनाव मिति सार्ने र विप्लव माओवादीले क्याम्पसमा लगाएको ताला आजै खोल्ने र आजै त्रिविले नयाँ कार्यतालिका ल्याउने सहमति भएको छ ।’ तर दिउँसो त्रिवि पदाधिकारी र अान्दोलन गरिरहेको विप्लव माअोवादी  निकट बिद्यार्थी संगठन सहित नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका शीर्ष नेताबीच नयाँ मिति तोक्न सहमति भएकव हो ।

राष्ट्रवादलाई पार्टीकरण गर्न खोजियो- डा. लोहनी

काठमाडौं, फागुन ५ । राप्रपाका । राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले केही दलले राष्ट्रवादको दुरुप्रयोग गरेको बताएका छन् । बिहिबार काठमाडौंमा आफैँद्वारा लिखित ‘राष्ट्रवादी’ चिन्तनको आयामहरु नामको पूस्तकको बारेमा बोल्दै उनले दलको फाइदाका लागि राष्ट्रवादको तुरुप फ्याक्ने गरेको बताए । उनले भने–‘राष्ट्रवादले भूगोलभित्र बस्ने जनताको भलाई हेर्दछ, यसको अर्जुन दृष्टि भनेको आफ्नो देशको चिन्तन हो । तर नेपालमा दलीय चिन्तन बढी छ राष्ट्रको चिन्तन कमी छ । आफ्नो देशको भन्दा पार्टीको फाइदाका लागि राष्ट्रवादको कार्ड फ्याकिने गरियो जुन घातक छ ।’ लोहनीद्वारा लिखित पुस्तकको पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपाल सरकारका पूर्व मुख्यसचिब डा. विमल कोइराला,पूर्वमन्त्री दीपक ज्ञवाली र लोहनीले सयुक्त बिमोचन गरेका थिए । पुस्तक विमोचनमा बोल्दै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले लोहनीको राष्ट्रवादी चिन्तन देशको लागि भएको बताए । कार्यक्रममा देशलाई हेर्ने राष्ट्रिय चिन्तन प्रस्तुत गर्ने समय आएको बताए । लोहनीद्वारा लिखित पूस्तकको बारेमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपाल सरकारका पूर्व मुख्यसचिब डा. विमल कोइराला लगायतले बोलेका थिए । पुस्तकमाथि पूर्वमुख्यसचिब डा. विमल कोइरालाले टिप्पणी गर्दै नेपाली राष्ट्रवाद खण्डित भएको आपत्ति जनाए । उनले प्रश्न गरे–नेपाली राष्ट्रवाद के हो ? राष्ट्रवादको सूत्र के हुन्छ ? किन राष्ट्रवादलाई कुनै दलविशेषको बनाईँदैछ ? आफैँ गल्ती गर्नृे अनि राष्ट्रवाद हरायो भनेर फेरि जनतालाई भ्रम सिर्जन ागर्ने काम किन भइरहेको छ ?’ कितावले वास्तवमा राष्ट्रवादी परिभाषा दिएको र धेरै को जिज्ञासाको समाधान गरेको बताए । पूर्वमुख्यसचिब कोइरालाले राष्ट्रवादी चिन्तनका आयामहरुले देशको राजनीति मात्रै होइन आर्थिक, सास्कृतिक पुननिर्माण जस्ता संवेदनशील पक्षलाई मसिनो गरी केलाएको बताए । अहिले सस्तो लोकप्रियताका लागि राष्ट्रवादको प्रयोग गर्ने गरेको भन्दै कोइरालाले राष्ट्रियता र राष्ट्रवादको विषयमा स्पष्ट दृष्टिकोण आएको बताए । पुस्तकले सबै जनता एकै हुन् भन्ने मान्यता स्थापित गराउन कितावले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने–‘ पछिल्लो चरणमा नेपालमा देखिएको प्रजातन्त्र र लोकतन्त्रको लाभांश गरिव जनतामा पुर्याउन सकेमा मात्र नेपालीमा एकताकोको माला जोडिन सक्छ भन्ने मान्यतालाई पुस्तकले स्थापित गरेको छ ।’ कार्यक्रममा दीपक ज्ञवालीले डा. लोहनीको पुस्तकले बैचारिक स्खलन बेलगाम पूँजीवादविरुद्ध बैचारिक लडाँइ लड्न जरुरी रहेको तर्फ संकेत गरेको बताए । डा‌.लोहनीद्वारा लिखित पुस्तकलाई एश्वर्य प्रकाशनले प्रकाशन गरेको हो । कार्यक्रममा पुस्तकका प्रकाशक गणेशप्रसाद जोशीले नेपाली राजनीतिमा व्यापक प्रयोग भएको शब्द राष्ट्रवादको बारेमा किताबले प्रकाश पार्न सफल हुने विश्ववास लिए । उनले भने-नेपाली जनतालाई भ्रम हुने कुनै पनि कुराको समाधान दिनसक्ने सामग्री बजारमा ल्याउन लागिपर्ने बताए ।  

चुनाव घोषणाकै दिन आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

काठमाडौं,फागुन ५ । संघीय लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनको मिति घोषणा भएकै दिन आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सरकारले आगामी जेठमा निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने तयारी गरिरहेका बेला संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाले भने मिति घोषणा गरेकै दिन आन्दोलनको पनि घोषणा गर्ने बताएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बिहीबार बसेको मोर्चाको बैठकले संविधान संशोधन नभई निर्वाचनमा जान नसकिने पुरानै अडान दोहोर्‍याएको छ । मधेसी मोर्चासँग सहमति नभई निर्वाचन घोषणा गरी अघि बढ्ने प्रमुख दलका शीर्ष नेताहरुबीच सहमति भएकाले मोर्चाले आन्दोलनको घोषणा गर्ने भएको हो । प्रमुख तीन दलका शीर्ष नेताहरुको समझदारीअनुसार आगामी आइतबार सरकारले निर्वाचन मिति घोषणा गर्ने जनाएको छ । फाइल फाेटाे

राप्रपामा पूर्व केन्द्रीय सदस्य सहित ६ जनाले गरे पार्टी परित्याग (विज्ञप्तिसहित)

बिर्तामोड, फागुन ५ । राप्रपा नेपालका पूर्व केन्द्रीय सदस्यसहित छ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै राप्रपाका पूर्व केन्द्रस्य सदस्य टेकनारायण राजवंशीसहित ६ जनाले पार्टी परित्याग गरेका हुन् । साधारण सदस्यता समेत नरहने गरी राजवंशीसहित निता शर्मा श्रेष्ठ, माधव कल्पित, बृहस्पति पाण्डे, श्रवण साह, रेवती पोखरेलले पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्ने राजवंशी पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री हुन् । त्यस्तै, कल्पित सांस्कृतिक विभागका प्रमुख हुन् भने पाण्डे क्षेत्र नं. १ का क्षेत्रीय सदस्य र पोखरेल राजगढ पूर्व गाउँ समिति अध्यक्ष हुन् । पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री समेत रहेका राजवंशी सहित छ जनाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । विज्ञप्तिमा लामो समयसम्म आफूहरु राष्ट्र, राष्ट्रिय र स्वाधिनताको पक्षमा काम गर्दै आए पनि पार्टीको भावना नीति विपरित काम अघि बढेको भन्दै आफूहरुले राजीनामा दिएको उल्लेख छ । यस्ताे छ  विज्ञप्ति  

स्ववियु चुनावमा विद्यार्थी संगठनका नारा मात्रै गज्जब, कार्यान्वयन शून्य !

संविधान कार्यान्वयका लागि स्ववियू निर्वाचन मार्फत जनमत प्रकट गरौँ ! गुणस्तरिय शिक्षा प्राप्ति र शैक्षिक विकृतिको अन्त्यको लागि नेविसंघलाई मतदान गरौँ !! त्रिभूवन विश्वविद्यालयले पछिल्लो पटक तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकँदैगर्दा विद्यार्थीका भातृसंगठनहरू चलायमान हुन थालेका छन् । ०६५ साल पछि रोकिएको निर्वाचन फागुन २१ गते गर्ने सहमति बनेको छ । फागुन १४ गते भनिएको मितिलाई पाँच दिन सार्ने विद्यार्थी संगठनबीचमा बिहिबार सहमति बनेको हो । चुनावको निश्चिततासँगै विद्यार्थीसंगठनले अाक्रामक प्रचार गरने रणनीति लिएका छन् । त्रिविले उमेर हद् २८ वर्षे र मिश्रित निर्वाचन प्रणालीसहित स्ववियु चुनाव गराउँदैछ । धेरै क्याम्पसमा चुनावको लागि विद्यार्थीहरू उत्साहित पनि देखिएका छन् । सबै संगठनहरू ह्वात्तै मैदानमा फरक फरक नाराका साथ होमिएका छन् । सबैले शैक्षिक क्षेत्रको विविधता, समानता, पहुँचता र प्रभावकारीतासँगै बढ्दो शैक्षिक भ्रष्टाचारलाई मूल नाराका रुपमा लिएका छन् । यसै सन्दर्भमा हामीले मुख्य विद्यार्थीसंगठन नेविसंघ, अनेरास्ववियू, क्रान्तिकारीका शिर्ष विद्यार्थी नेतृत्वसंग बहसपनि चलाएका थियौँ, जारी छ । सबैले आफ्नो पकड र लोकप्रियताको गुणगान गाउन पछि परेनन् । जित हार आफ्नो ठाउँमा भएपनि कुन संगठन आफ्नो नारालाई साकार पार्न सक्छ ? देशभरका क्याम्पसहरूमा कस्ले बहुमत ल्याउला ? २८ वर्षे विद्यार्थीलाई केन्द्रित गर्दै संगठनहरूले ल्याएको नाराले विद्यार्थी आवाज समेट्न सक्ला ? समग्र विद्यार्थीहरूको चासो बढ्दो छ । निर्वाचन आउन केहि दिन बाँकी रहँदा क्रान्तिकारीले प्राय क्याम्पसहरूमा सभापतिहरूको लगभग् टुँगो लगाइसकेको छ । अनेरास्ववियू र नेविसंघले अहिलेसम्म कुनै स्थानमा कसैको निश्चितता गरिसकेको छैन । अन्तिममा पर्ने त नेविसंघको पुरानै रोग हो । यसलाई आधार मान्दा यसपटक नेविसंघ उम्मेद्वार चयनमा क्रान्तिकारी भएर ननिस्केला । तर, नारा यति झकिझकाउ छ की उसले स्ववियू घोषणापत्रमा थप भनेको छ: हाम्रो बलिदान हाम्रो गौरव, हाम्रो पद्धति हाम्रै नेतृत्वलाई मूलमन्त्र मान्दै नेविसंघ मैदानमा उत्रिएको छ । ००४ सालको जयतु संस्कृतम् आन्दोलन, नेपाल छात्र संघ, ०२० बाट शुरुभएको छात्र कार्य समिति, ०२७ मा नेविसंघको विधिवत स्थापना भएको संगठनलाई अधिक विद्यार्थीहरूको साथ रहेको संगठनको दाबीपनि छ । मद्येश, पहाड र हिमाल नेपाली राष्ट्रियताको ओदानलाई समेटेको नेविसंघको घोषणापत्रले शिक्षा सुधारकका ३२ बढी बुँदाहरूलाई जोडदार रुपमा उठाएको छ । घोषणापत्र भन्दापनि धरातलमा सो मन्त्रको अभ्यास गरिनु सम्पूर्ण संगठनहरूको चुनौति हो । स्ववियु चुनाव विद्यार्थीहरूको नैसर्र्गिक एवम् राजनीतिक अधिकार हो । यसमा उनीहरूले हरतरहबाट स्वतन्त्र निर्णय गर्न पाउनै पर्दछ । कसैको धम्की र आशामा भन्दापनि स्वतन्त्रताको आधारमा उम्मेद्वारको चयन गर्नु अपरिहार्य छ । फेरी अर्कोतर्फ स्ववियू नेतृत्व र समग्र संगठन विद्यार्थी कल्याण, हकहितमा केन्द्रित हुनुको साटो जनभावनाको सहि प्रतिनिधित्व गर्न नसकेको, बिग्रेको शैक्षिक गुणस्तरीयता सुधार्न दिर्घकालीन प्रयत्न नगरेको, परीक्षा प्रणाली र प्रशासकिय सुधार गर्न विश्वविद्यालयलाई दवाब दिने कार्य नगरेको, राजनैतिक विकृति विस्तारमा सहयोग गरेको जस्ता अनेकन् आरोपहरूलाई चिर्नु स्ववियूका थप चुनौतिहरू हुन् । यसकार्यमा नेविसंघ नारामा मात्र सीमित हुन्छ की काममा त्यो भने हेर्न बाँकी नै छ ।

फोरमको अध्यक्ष पदमा फेरि यादव निर्वाचित

राजविराज, फागुन ५ । संघीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्ष पदमा पुनः दिनेशकुमार यादव निर्वाचित भएको छ । गएराति अबेर सम्पन्न मतगणना परिणामअनुसार उनी अध्यक्ष पदमा निर्वाचित भएको हो । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी सुरेन्द्रप्रसाद यादवलाई १५७ मत अन्तरले पराजित गर्दै विजयी भएको हो । सुरेन्द्रप्रसाद यादवले २८२ मत प्राप्त गरेका थिए । यसअघि पनि पार्टीका जिल्ला अध्यक्ष पदमा दिनेशकुमार यादव नै रहेको थियो । यसैगरी आदिवासी जनजातितर्फ बृजमान तामाङले ४८४ मत, चुलहाई मण्डलले ५५०, गन्सु चौधरीले ४६४, खड्कनाथ चौधरीले ४७२, रामप्रसाद चौधरीले ४७१ र विनोद चौधरीले ४७३ मत प्राप्त गरी विजयी भएका छन् । महिलातर्फ आठ सिटका लागि भएको निर्वाचनमा दिलकुमारी चौधरीले ४३९, उपमा देवले ३९३, किरणकुमारी यादवले ४६१, रीता शर्मा यादवले ४१८, रञ्जनादेवी दासले ४०४, संसारीदेवी चौधरीले ३९८, अम्बिकादेवी चौधरीले ३७२ र चन्द्रिका यादवले ३९० मत ल्याएर विजयी भएका छन् । यस्तै मुस्लिमतर्फ दुई सिटका लागि भएको निर्वाचनमा मो सुलेमान मियाँ ३३१ र मो आकुफ ३४५ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै दलिततर्फ राजेन्द्र राम ४१३, सकलदेव राम ३८७, रामस्वागत विश्वकर्मा ३००, हरि राम ३२१, सिकिन्द्र पासवान ३६५ र बेचनीदेवी सरदार ३५७ मत प्राप्त गरी विजयी भएको सो पार्टीले जनाएको छ । एकाउन्न सदस्यीय नयाँ जिल्ला कार्यसमितिका लागि १५ जना सदस्य यसअघि निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधिबीच भेटवार्ता

काठमाडौंँ, फागुन ५। प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि भ्यालेरी जुलियानबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक र सफलताउन्मूख रहेको भन्दै संक्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय कानून र मान्यताहरुको अवलम्बन गर्न सरकार तयार रहेको प्रष्ट पारेका थिए । प्रधानमन्त्रीले शान्ति सम्झौतादेखि शान्ति प्रक्रियाको पूर्णतामा संयुक्त राष्ट्र संघले खेलेको भूमिकाका लागि धन्यवाद दिए भने नेपालको पूनर्निर्माण प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगका लागि धन्यवादसहित निरन्तर सहयोगका लागि आग्रह गरेका थिए । भेटमा युएन आवासीय प्रतिनिधि जुलियानले नेपालको विकासमा सहयोग गर्ने दातृ संस्थाहरुको मिनी(कन्फ्रेन्सका लागि प्रस्ताव गरेकी थिइन् ।

जुम्लामा गाडी दुर्घटना, चालकसहित तीनको मृत्यु

जुम्ला, फागुन ५ । जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। नेपालगन्जदेखि मुगुतर्फ गइरहेको ना ६ ख ९३७२ नं को स्वराज नामक सो गाडी सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको थियो । सामान बोकेको उक्त गाडीमा तीन पुरुष र एक महिला गरी चार जना सवार रहेको प्रहरीले जनाएको छ। मृत्युहुनेमा बर्दिया मैनापोखरीका गाडी चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका तर नाम नखुलेका सहचालकलाई उपचारका लागि एम्बुलेन्समा जुम्लाको खलङ्गा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले जानकारी दिए। मृतकको शव स्वास्थ्य परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइने तयारी भइरहेको जिप्रका जुम्लाले जनाएको छ ।

फागुन २१ मा हुने भयो स्ववियु निर्वाचन !

काठमाडौँ, फागुन ५ । विप्लव माओवादी निकट विद्यार्थी संगठनलाई सहभागी गराउन भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन पाँच दिन सारिने सहमति भएको छ । प्रमुख तीन विद्यार्थी संगठन र विप्लव माओवादीनिकट विद्यार्थी संगठनले स्ववियु निर्वाचन सार्ने सहमति गरेका हुन् । बुधबार मात्रै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रमुखहरुले निर्धारित मिति फागुन १४ मै स्ववियु चुनाव गर्ने निर्णय गरेको भोलिपल्टै तीन दलका विद्यार्थी संगठनको बिहीबार बिहान काठमाडौंमा बसेको बैठकले पाँच दिन चुनाव सार्ने समझदारी गरेको हो । अखिल क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले एभरेष्टदैनिक डटकमसँग स्ववियु चुनाव सार्ने सहमति भएको पुष्टि गरे ।  ‘विश्व विद्यालय स्वायत्त निकाय हो, सरकारले गर्ने अन्य चुनाव र यसको चुनावमा भिन्नता छ , हिजै विद्यार्थी संगठनका प्रमुखहरुले चुनावको मिति एक दुईदिन सार्नपर्ने बताए पनि एमाले अध्यष ओलीले चुनौति दिएको कारण प्रधानमन्त्रीले भनेको समयमै चुनाव गर्न निर्देशन दिनुभएको थियो । विप्लव निकट विद्यार्थी साथीहरुले पाँच दिन चुनाव सारे भाग लिने बताएपछि मिति सारिएको हो ।’ उनले भने–‘पाँच दिन चुनाव मिति सार्ने र विप्लव माओवादीले क्याम्पसमा लगाएको ताला आजै खोल्ने र आजै त्रिविले नयाँ कार्यतालिका ल्याउने सहमति भएको छ ।’ अब स्ववियु चुनाव फागुन २१ गतेलाई तोक्न सक्ने प्रवक्ता बस्नेतको भनाइ छ । त्रिविले बिहीबार दिउँसो प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा डाकेको छ । क्रान्तिकारीका प्रवक्ता बस्नेतले आज निर्वाचनको नयाँ तालिका समेत सार्वजनिक हुनसक्ने बताए । सहमतिपछि अब असन्तुष्ट पक्षले क्याम्पसहरुमा लगाएको ताला खोल्नेछ । विद्यार्थी संगठनहरुबीचको विवादले पहिलेको निर्वाचन तालिका प्रभावित बनेको छ । पहिलेको निर्वाचन तालिकाअनुसार आज बिहीबार देशैभर उम्मेदवार दर्ता हुनुपर्थ्यो । केही विद्यार्थी संगठनको विरोध र क्याम्पसहरुमा लगाइएको तालाबन्दीका कारणा यथास्थितिमा चुनाव गर्न नसक्ने क्याम्पस प्रमुखहरुको भनाइका कारण चुनाव सार्न बाध्य भएको विद्यार्थी नेताहरुको भनाइ छ । बिहानको बैठकमा नेविस‌ंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।

नेता रायमाझीले भने–निर्वाचन सफल बनाउन सबै लाग्नुपर्छ

पाल्पा, फागुन ५। नेकपा (माओबादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले स्थानीय निकायको निर्वाचन सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन्  । उनले स्थानीय निकायमा माओवादीले अग्रणी स्थान लिने बताएका छन् । नेता रायमाझीले नेपालको बहुसङ्ख्यक विकास निर्माणका काम माओवादीले गरेको औँल्याए। उनले माओवादी पार्टीको अगुवाइमा गरिएका कामका प्रचारप्रसार हुन नसकेको पनि बताए । जिल्ला तहका नेता तथा कार्यकर्तालाई माओवादी पार्टीले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको उनले बताए। नेकपा (माओवादी केन्द्र) तानसेन नगरपालिकाको प्रथम सम्मेलनको उद्घाटन गर्दै माओवादीले गरेको सकारात्मक कामको व्यापक प्रचारप्रसार गर्न नसक्नु कमजोरी भएको बताए। उनले सीमाङ्कन र नामाङ्कन छिटो टुङ्ग्याएर देशलाई निकास दिनुपर्ने बताए । सम्मेलनमा नेकपा (माओबादी केन्द्र)का पोलिटब्यूरो सदस्य वसन्त घर्तिमगर, वसन्त शर्मा (कुशल)ले स्थानीय निकायको निर्वाचन सफल बनाई जित सुनिश्चित गर्न सबै कार्यकर्ता लाग्नुपर्ने बताए । रासस

विद्युत् प्राधिकरणको शाखा स्थापना गर्न माग

जाजरकोट,  फागुन ५ । जाजरकोट सदरमुकाममा नेपाल विद्युत् प्राधिकरणको शाखा स्थापना गर्न माग गरिएको छ । यहाँको जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले यस्तो माग गरेको हो । सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन विस्तार अन्तिम चरणमा पुगेको बेला यहाँ बुधबार बसेको सर्वदलीय बैठकले यस्तो माग गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । यहाँको सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन पुगेपछि विद्युत् महसुल बुझाउन बाहिर जानुपर्ने समस्यालाई मध्यनजर गर्दै बैठकले जाजरकोटमा शाखा विस्तार गर्न विद्युत् प्राधिकरणलाई अनुरोध गरेको छ । वैठकले सदरमुकाममा अहिले सञ्चालनमा रहेको साङट रिसाङ लघुजलविद्युत् आयोजनालाई केन्द्रीय लाइनमा जोड्नका लागि आवश्यक प्रक्रिया पु¥याउनसमेत अनुरोध गरेको छ । जम्मा ९९ किलोवाट क्षमताको यो लघु जलविद्युत्ले यहाँको सदरमुकामलगायत आसपासका ठाउँमा समेत सेवा प्रवाह गर्दै आएको छ । केन्द्रीय लाइन विस्तारसँगै यो लघुविद्युत्लाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । अहिले यहाँ उत्पादित विद्युत्लाई यहाँका ग्रामीण क्षेत्रमा विस्तार गर्ने अथवा केन्द्रीय लाइनमा जोड्ने भन्नेमा अन्यौल चलिरहेको बेला दलीय बैठकले केन्द्रीय लाइनमा जोड्नका लागि आवश्यक प्रक्रिया बढाउन नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखी अनुरोध गरेको हो । सबै कर्मचारीलाई स्थायी गराइएको छ । कर्मचारीसमेत व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । रुकुमको चौरजहारीमा समेत विद्युत्को महसुल तिर्न सदरमुकाम मुसीकोटमा जाने अवस्थालाई अन्त्य गरी जाजरकोट सदरमुकाममा भएमा नजिकैबाट सेवा प्रवाह गर्न सजिलो हुने देखिन्छ । जाजरकोटको कुदु र रुकुमको चौरजहारीमा अहिले केन्द्रीय विद्युत् पुगिसकेको छ । जाजरकोट सदरमुकाममा केन्द्रीय लाइन विद्युत् विस्तारका लागि लाइन तान्ने काम भइरहेको छ । ३३ केभी प्रसारण लाइनमार्फत जाजरकोट सदरमुकाममा विद्युत् आउने यस प्रसारण आयोजनाका प्रमुख दीपकजङ्ग चौधरीले बताउनुभयो । भेरीमालिका नगरपालिकाको कुदुमा केन्द्रीय विद्युत्का लागि सबस्टेसन निर्माण कार्य जारी रहेको छ । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित अहिले कामलाई तीव्रता दिइएको छ । यहाँको सदरमुकामलगायत आसपासका क्षेत्रमा समेत छिटो ग्रामीण विद्युतीकरणमार्फत लाइन विस्तार गरी सेवा दिन स्थानीयवासीले मागसमेत गरेका छन् । प्रशासनले ताला फोडेर कार्य सञ्चालन यसैबीच, यहाँको स्थानीय प्रशासनले सेवाग्राहीको काममा बाधा पुगेको भन्दै जिल्ला विकास र भेरीमालिका नगरपालिकामा लगाएको ताला फोडेपछि बुधबारदेखि स्थानीयवासीको काम हुन थालेको छ । बुधबार दिनभरि स्थानीय निकायका कर्मचारीले प्रशासनले ताला फोडेको भन्दै चर्को विरोधसमेत गरेका छन् । पत्रकारसम्मेलन गर्दै आफ्नो मागप्रति स्थानीय प्रशासन उदासीन भएको आन्दोलनमा उत्रिएका कर्मचारीले आरोप लगाएका छन् । आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारीले आफ्नो ऊर्जाशील समयभरि राज्यले लुटेको भन्दै आक्रोश व्यक्त गरे । २०औँ वर्षसम्म काम गर्दा पनि कामको मूल्याङ्कन नभएको भन्दै राज्य बर्बर भएको आरोपसमेत लगाए । रासस

राधाकृष्ण मैनालीलाई एमालेले कारवाही गर्ने

काठमाडौं, फागुन ५ । कम्युनिस्ट नेता राधाकृष्ण मैनालीले हालै प्रकाशित पुस्तकमा आफ्नो बारेमा लेखेका कुरा झुटो भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएपछि एमालेले मैनालीलाई कारवाही गर्ने भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार सुरु पोलिटब्यूरो बैठकमा नेपालले पार्टीको केन्द्रीय सदस्यसमेत रहेका मैनालीले लेखेको पुस्तकमा उल्लिखित अंश झुटो, पूर्वाग्रह, बदनाम र तेजोबध गर्ने हिसाबले आएको भन्दै आपत्ति जनाएका थिए । मैनालीले हालै सार्वजनिक ‘नलेखिएको इतिहास’ पुस्तकमा ०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला तत्कालिन मालेको केन्द्रीय समिति बैठकमा नेपालले भारतका सेनाको सहयोगमा गणतन्त्र स्थापन गर्ने प्रस्ताव गरेको उल्लेख छ । ‘त्यसबेलाका केन्द्रीय समितिका कामरेडहरु यहाँ हुनुहुन्छ, अध्यक्ष कामरेड पनि यहाँ हुनुहुन्छ, ल तपाईहरु नै भन्नुस्, त्यसबेला मैले यस्तो प्रस्ताव कहिले ल्याएको थिएँ ?’ नेपालको भनाई उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले भने । त्यसपछि अध्यक्ष ओलीले जवाफमा मैनालीले पुस्तकमा उल्लेख गरेको माधव नेपालबारेको उक्त अंश झुट भएको र त्यस्तो कुनै प्रस्ताव नआएको भन्दै पार्टीले त्यसको औपचारिक खण्डन गर्ने र मैनालीलाई सचेत गराउने आश्वासन दिएका थिए । अन्नपूर्ण पोस्ट दैनिकबाट

विप्लव माओवादीले गरे क्याम्पसका प्रमुखसहित दुई जनाको अपहरण

धनगढी, फागुन ४ । नजिकिँदै गरेको स्ववियु निर्वाचनलाई विथोल्ने नियतिले विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले क्याम्पस प्रमुखसहित अर्का एक जनालाई पनि अपहरण गरेका छन् । आगामी १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको विरोध गर्दै आएका उनीहरुले कैलालीको लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको अपहरण गरेका हुन् । बुधबार दिउँसो क्याम्पस परिसरबाटै प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्टलाई अपहरण गरी अज्ञातस्थलतिर लगेका प्रत्यक्षदर्शीले बताएका छन् । आफ्नो पार्टीको मागलाई लम्की बहुमुखी क्याम्पसमा लागु नभएका कारण यो कदम चाल्नु परेको भन्दै विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका एकजना केन्द्रिय नेताले अपहरण गरेको स्वीकार गरेका छन् । उनले, दुबैजना सुरक्षित स्थानमा सम्मानका साथ राखिएको पनि बताए । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले भने अपहरण बारे आधिकारिक जानकारी नआएपनि अपहरणको हल्ला चलेकाले खोजीका लागि प्रहरी परिचालन गरीएको बताएका छन् । अखिल क्रान्तिकारीले सामानुपातिक निर्वाचन प्रणाली, फर्जी भर्ना रद्ध लगायतका माग राख्दै विभिन्न क्यमम्पसहरुमा तालाबन्दीसमेत गर्दै आएको छ ।

कर्मचारीलाई प्रधानमन्त्रीको यस्तो निर्देशन

पाँचथर, फाल्गुण ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आगामी बैशाखको अन्त्य र जेठको पहिलो हप्तामा भित्रमा स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको भन्दै त्यसको तयारीमा लाग्न नेपाल सरकारका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटनका लागि पाँचथर पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँका सरकारी कार्यालयका कर्मचारीहरुलाई सामूहिक निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेसँग राजनीतिक रुपमा सकारात्मक छलफल भएको भन्दै आगामी निर्वाचन तोकिएकै समयमा हुने उनले बताए । निर्वाचनका लागि प्रमूख दल र नेताहरु सम्वेदनशील रहेको बताउँदै कर्मचारीहरुलाई पनि निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले छिटै निर्वाचनको घोषणा गर्दैछ । तपाईहरुले जिल्लामा निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन आजैदेखि लाग्नुहोस् ।’ प्रधानमन्त्री प्रचण्डले थपे, ‘हामीकहाँ एकातिर विकास आयोजनामा छुट्टाएको रकम खर्च गर्न नसक्ने र अर्कोतिर पैसा पुगेन भन्दै बजेट माग्ने समस्या छ । पूँजीगत खर्च बढाउने सरकारको संकल्प छ, तपाईहरु पनि पूँजीगत खर्च बढ्ने गरी काम गर्नुहोस् । आ—आफ्नो कार्यक्षेत्र भित्रका विकास आयोजनाको निरीक्षण र अनुगमन गर्नुहोस्, समयमै गुणस्तरीय काम गर्न प्रेरित गर्नुहोस् ।’ निर्देशनका क्रममा प्रधानमन्त्रीले जनताले परिवर्तनको महशुस हुने गरी सेवा प्रवाह गर्न पनि कर्मचारीलाई निर्देशित गरेका छन् । कार्यक्रममा पाँचथरका प्रमूख जिल्ला अधिकारी किरण थापाले जिल्लाको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।