प्रधानमन्त्री प्रचण्डले भने–‘देशलाई एकतावद्ध गर्न पनि निर्वाचन’

काठमाडौं, फागुन २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको एकताको लागि निर्वाचन आवश्यक रहेको भन्दै सरकार निर्वाचनको वातावरण बनाउन लागिपरेको बताएका छन् ।  निर्वाचनको सवाल संविधान कार्यान्वयनसँग मात्र अन्तरसम्बन्धित नभएको भन्दै उनले तल्लो तहमा अधिकारको प्रत्यायोजन गर्ने, सबैलाई पहिचान र अधिकार दिएर सुदृढ राष्ट्रिय एकता हासिल गर्ने र नेपालको स्वाधीनतालाई अझ बलियो पार्नको लागि चुनाव अावश्यक रहेको बताए ।
सोमबार काठमाडौंमा छैठौ विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले केही दलले निर्वाचन गर्न नदिने षडयन्त्रमा लागेको आरोप लगाए ।

‘सरकार भनेकै मितिमा निर्वाचन गराउन प्रयासरत छ, तर केही दल र व्यक्ति चुनाव नहोस भनेर लागिपरेका छन्’ उनले भने–‘सरकारले आउने जेठभित्र स्थानीय तहको चुनाव गर्ने तयारी गरिरहेको छ । नेपाल राष्ट्रको एकतालाई सुढृढ गर्न र समृद्धिको बाटोमा लाग्न पनि चुनाव आवश्यक छ ।’ बैशाख जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारीमा साथ दिन रेडियोहरुसँग उनले अपिल गरे ।

वर्तमान सरकार संविधान संशोधन गरी यसको स्वीकार्यता फराकिलो बनाई आगामी १ वर्षभत्रै तीनै तहको निर्वाचन गर्ने अठोटका साथ अगाडि बढिरहेको छ । सरकारले तय गरेको लक्ष्यलाई प्राप्त गर्न सामुदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका रहन्छ । सामुदायिक रेडियो सरकार र सामान्य नागरिकबीच सम्वाद स्थापित गर्ने माध्यम हुन् । यसमा यहाँहरुको सकारात्मक सहयोग र सहकार्य रहनेमा म विश्वस्त छु ।

प्रधानमन्त्री प्रचण्डले केही व्यक्ति र प्रवृत्ति पुरानै सत्ता सिंहदरबारमै रहोस भन्ने चाहेका कारण गतिरोध लम्बिएको दाबी गरे । जनतालाई अधिकार सम्पन्न बनाउने भन्दा पनि अधिकार केन्द्रीत गरेर सिंहदरबारमै रहोस् भन्ने दल र व्यक्तिको स्वार्थका कारण समस्या भैइरहेको उनको भनाई थियो ।

संघीयताको मर्मलाई बुझ्ने सन्दर्भमा हामीकहाँ निकै ठूलो वैचारिक अन्तर छ । एकथरि सोचले अधिकारलाई सिंहदरबार र यसैकै वरिपरि राख्न चाहन्छ । सीमित वर्ग र व्यक्तिमै पहुँचमा राख्न चाहन्छ । तर, हामी जनताको दैलोमा अधिकार लैजाने, उत्पीडितहरुलाई आत्मसम्मानको अनुभूति गराउने र विविधतामा एकतासहित सुदृढ राष्ट्रिय एकता कायम गर्ने संकल्पमा छौं । सरकार आगामी बैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय तहको निर्वाचन गर्न प्रतिवद्ध छ ।

‘नेपालको इतिहासको विशिष्ठ मुडमा जनतालाई अधिकार दिइनुपर्छ । दलित जनजाती,अादिवासी, मधेसी,मुस्लिम,महिला र उपेक्षित वर्गको रक्षा र विकास, अग्रगमन, प्रगतिलाई सिहदरबारमा केन्द्रीत अधिकार ग्रामिण टोलमा पुर्याउन लाग्नुपर्छ, सबै जनताकाे पक्षमा काम गर्ने रेडियोले यता साेचिदिनुहुनेछ,’प्रधानमन्त्रीले भने ।

उनले चुनावकाे लागि मिसन बनाएर रेडियोहरुले जनतामा जागरण ल्याउनुपर्ने बताए । सबैको पहलकदमी भएमा निर्वाचनका लागि सबै ग्रामिण भेगका जनतामा एकता ल्याउन सम्भव हुने उनले बताए । प्रधानमन्त्रीले रेडियोहरुले विगतको झै सकारात्मक सूचना सम्प्रेषण गर्नुपर्ने बताए । ‘तपाईँहरुले जागरण ल्याउने उद्देश्य तपाईहरुले निर्वाचनको लागि दुर्गम र ग्रामिण भेगमा जाउ । मिसनको रुपमा काम गर्नुपर्यो । नेपाली जनताको बीचमा एकता गर्न पहल गर्नुछ । संविधान कार्यान्वयन मार्फद आर्थिक समृद्धितिर देशलाई लानुपर्ने छ । सबैको सामुहिक संकल्प र पहलकदमीको खाँचो छ ।’ देशलाई एकतावद्ध र परिवर्तनलाई संस्थागत गर्न अनुरोध गरे ।

विद्युतीय सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था

प्रधानमन्त्रीले छापा माध्यमसरह विद्युतीय सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गरिएको बताए ।

विद्युतीय सञ्चार माध्यमले अतिरिक्त रोयल्टी तथा नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्थामा परिमार्जन, अन्य सञ्चार माध्यमको पहुँच बाहिर रहेका दुर्गम एवं पछाडि परेका क्षेत्रमा सञ्चालित सामुदायिक रेडियोलाई विषेश सहुलियत र सहयोगको प्रबन्ध, सामुदायिक रेडियो प्रशारणलाई गुणस्तरीय, दीगो र विश्वासिलो बनाउन, महिला र दलितद्धारा सञ्चालित रेडियोहरुलाई विशेष सहुलियत दिन, सामुदायिक रेडियोकर्मीका लागि सीपमूलक एवं क्षमता विकास सम्बन्धी तालिम तथा सामुदायिक रेडियोको संस्थागत विकासका निम्ति सरकारका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को आयोजनामा काठमाडौंमा नेपालका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन सुरु भएको छ।

 

जनताको मार्का खुलामञ्चबाट देखे विप्लवले

काठमाडौ, फागुन १ । पार्टीको आठौं महाधिवेशन उद्घाटन एवं २२ जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले खुल्लामञ्चबाट जनताका सबै मर्का र पीरहरु पनि देखे । खुल्लामञ्चबाट सुशीला कार्कीदेखि, प्रचण्ड–बाबुराम, गगन थापा, कसैलाई पनि गाली गर्न छोडेनन् । तर त्यति लामो भाषणमा निकास भने केही निकालेनन् । माओवादी नेता विप्लवले आफ्नो भाषणमा समाजका सबै तप्कालाई सम्वोधन गर्ने प्रयास गरे । देशका ४० लाख सुकुम्बासीहरुको मार्कालाई अघि सार्दै सरकारले सुकुम्बासीको लागि केही नगरेको अब आफ्नो माओवादी पार्टीले उनीहरुलाई सहयोग गर्ने बताए । त्यस्तै उनले मजदुर र किसानका समस्याहरु देखाउँदै माओवादी उनीहरुको साथमा रहेको बताए । वैदेशिक रोजगारीमा गएका युवाका बारेमा कुरा गर्दै विगतमा जीपीएमजी खोस्न सक्ने युवाहरु विदेश जान नहुने बताए । देशभित्रै बसेर क्रान्ति गर्न उनले युवालाई आग्रह गरे । त्यसैगरी महिलाहरुलाई विदेशमा दलालका हातबाट नबेचिन आग्रह गर्दै आवश्यक परे फेरि बन्दुक बोक्न आग्रह गरे । विप्लवले दलित र जनाजातिका समस्याका बारेमा पनि बताए । जनजातिहरु संघीयताको भुलभुलैमा परेर बस्न नहुने भन्दै समाजवादी क्रान्ति नगरेसम्म बुर्जुवा संघीयताबाट समस्या समाधान नहुने उनले बताए । मधेसी समुदायलाई ‘मधिसे’ हेपिरहेको र मधेसका गरिबहरु, मधेसका दलितहरुलाई दलालहरुले थिचोमिचो गरिरहेको बताए । त्यसैले यो जात र उ जात भनेर विभाजित नभई सबै जातजाति मिलेर अहिलेको संसदीय व्यवस्था ढाल्नुपर्ने उनले बताए । साथै विप्लवले क्षेत्री बाहुनहरु पनि उत्पीडनमा परेको पनि बताए । अन्ततः विप्लवले निश्कर्षमा देशमा अहिलेको सबै समस्याको जड संसदीय व्यवस्था भएको दाबी बताए ।

संविधान संशोधन नभए देश द्वन्द्वमा फस्छ : डा. भट्टराई

जनकपुरधाम , फागुन १ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नभए देश द्वन्द्वमा फस्ने बताएका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा.भटराईले संविधान संशोधन नगरी निर्वाचनमा जान खोज्नु गलत रहेको बताएका हुन् । उनले अहिले संविधानमा रहेका त्रुटिहरुलाई परिमार्जन गरी मधेसी, थारु, आदिवासी जनजातिको मुद्दा सम्बोधन गर्नु अति आवश्यक रहेको बताएका छन् । उनले भने, ‘संविधान संशोधन नभई चुनावमा गए फेरि द्धन्दको सृजना हुन सक्छ । त्यसैले निर्वाचमा जानुअघि संशोधन प्रक्रियालाई अघि बढाउनु जरुरी छ ।’ डा.भट्टराईले शान्तिपूर्ण चुनावको एक मात्र उत्तम विकल्प संविधान संशोधन रहेको दाबी गरे । आधुनिक जनकपुर निर्मााणका लागि सात सुत्रीय माग राख्दै जनकपुर वृहत्तर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति प्रदेश नम्बर २ का सहसंयोजक कलामुदिन राइन ११ दिनदेखि जनकचोक बसेका आमरण अनशनमा समर्थन जनाउन डा. भट्टराई जनकपुर पुगेका हुन् ।

चन्दको नियुक्त गलत भएको भन्दै सिलवाल पुगे अदालत

काठमाडौं, फागुन १ । सरकारले तेश्रो वरियताक्रममा रहेका जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षकमा नियुक्त गरेको बिरोधमा प्रथम वरियताक्रममा रहेका डिआईभी नवराज सिलवाल अदालत पुगेका छन् । बरियता क्रममा आफु एक नम्बर रहेपनि ३ नम्बरमा रहेका जयबहादुर चन्दलाई सरकारले प्रहरी महानिरिक्षकमा नियुक्ति गरेको भन्दै सिलवालले रिट दायर गरेका हुन । सिलवालले दायर गरेको रिटमा चन्दको नियुक्ति खारेजी र आफुलाई महानिरिक्षक बनाउनुपर्ने माग गरिएको छ । प्रहरी नियमवालीको व्यवस्था विपरित चन्दलाई सरकारले गैरकानुन ढंगले नियुक्त गरेको सिलवालले दायर गरेको रिटमा उल्लेख छ । मन्त्रिपरिषदको आज विहान बसेको बैठकले चन्दलाई आज विहान नियुक्त गरेको हो । रिटको पेशी सोमबारका लागि तोकिएको छ ।

विप्लव माओवादीको महाधिवेशन उद्घाटन सत्र जारी, केहीबेरमा विप्लवले सम्बोधन गर्ने

काठमाडौ १ फागुन । विप्लव नेतृत्वको नेकपा माओवादीले काठमाडौंको खुल्लामञ्चमा पार्टीको ८ औं महाधिवेशन गरिरहको छ । २२ औं माओवादी जनयुद्ध दिवसको अवसर पारेर सुरू गरेको महाधिवेशनको पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले बेलुन उडाएर उद्घाटन गरे । विप्लवले संयुक्त रुपमा जनयुद्ध दिवस र महाधिवेशन लेखिएका ३० वटा बेलुन उडाएर उद्घाटन गरेका हुन् । यसअघि लैनचौर, कालीमाटी, बबरमहल, बालाजु, लगनखेल लगायतका स्थानबाट शीर्ष नेताहरुको नेतृत्वमा निकालिएको र्याली खुल्लामन्चमा पुगेर सभामा परिणत भएको थियो । महाधिवेशनमा सहभागी हुन उपत्यकासहित देशैभरबाट ठूलो संख्यामा कार्यकर्ता तथा प्रतिनिधि पर्यवेक्षक राजधानी आएका छन् । आजको उद्घाटनपछि बन्दशत्र भने आगामी फागुन ५ गते रोल्पाको थवाङमा हुने पार्टीले जनाइएको छ । अहिले बक्ताहरुले बोल्ने क्रम जारी रहेको छ । केहीवेरमा पार्टी महासचिव विप्लवले सम्बोधन गर्दैछन् । विप्लवको आठौं महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र एमालेलाई निमन्त्रणा गरेका छैनन् ।

प्रधानमन्त्रीले भने-‘केही दलले जनयुद्धबाट स्थापित परिवर्तन स्वीकार गर्न सकिरहेका छैनन’

काठमाडौँ, फागुन १ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा जनयुद्ध दबाउनेहरुले अहिलेको परिवर्तनलाई स्वीकार गर्न नसकेको बताएका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको २१ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादीलाई संसदीय चुनावबाट हराएर सबै उपलब्धि उल्टाउन पाइन्छ कि भनेर केही शक्ति लागिपरेको प्रधानमन्त्रीले दावी गरे । ‘केही पक्षलाई जनयुद्ध मार्फत प्राप्त उपलब्धी स्वीकार गर्न असजिलो भइरहेको छ, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता माओवादी जनयुद्धका उपलब्धीप्रति केही राजनीतिक शक्तिहरुले पचाउन सकेका छैनन् । अहिले तिनै शक्तिहरुले लडाईँ भइरहेको छ ।’ प्रधानमन्त्रीले भने । हिजो सरकारमा रहेर जनयुद्ध दबाउन खोज्नेहरुले परिवर्तन रूचाएका छैनन्, तिनैसँग लड्नुपरेको उनले बताए । प्रधानमन्त्रीले भने- ‘हिजो सरकारमा बसेर जनयुद्ध दबाउन लागेकाहरुले परिवर्तनमा अपनत्व महसुस गर्न सकेका छैनन्, माओवादी कमजोर भएकाले परिवर्तन उल्ट्याउन सकिन्छ कि भनेर लागेका छन् तर सम्भव छैन ।’ प्रधानमन्त्री प्रचण्डले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउनुको सट्टा नेपालबाट अलग गराउन साम्राज्यवादीहरुले उपयोग गरिरहेको बताए । अहिले अन्धराष्ट्रवादको रुपमा एक भाषा एक भेषको राष्ट्रियतालाई अघि बढाइएको भन्दै प्रधानमन्त्री प्रचण्डले यस्तो अतिवादलाई साम्राज्यवादीहरुले उपयोग गर्न सक्ने खतरा रहेको औंल्याए। संघीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता उपलब्धी हासिल हुनुमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसबेला साह्रै थोरैले मात्र परिकल्पना गरेका बेला जनयुद्ध मार्फत नै गणतन्त्र सम्भव भएको दावी गरे। ‘जहाँ जहाँ परिवर्तन देख्छौं गाउँ, शहरमा त्यसका पछाडि जनयुद्धले भूमिका खेलेको पाउँछौ,’ उनले भने । जनयुद्धले आधारभूमि तयार नगरेको भए १९ दिने जनआन्दोलन र त्यसपछिका अधिकारका आन्दोलनहरु सम्भव नभएको दावी गरे । उनले संविधान कार्यान्वयनबाट मात्र जनयुद्धका उपलब्धीको रक्षा हुने भन्दै त्यसका लागि माओवादी घटकहरूलाई पार्टी एकतामा आउन आग्रह गरे । पोहोर साल जनयुद्ध दिवस मनाउँदा पार्टी फुटका कारण केही निराश भएपनि अहिले एकतावद्ध भएकाले उत्साह जागेको प्रधानमन्त्री प्रचण्डले दावी गरे।

बाबुराम भट्टराईले केपी ओली र सिके राउत उस्तै हुन् भनेपछि……..

जनकपुर, फागुन १ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भटटराईले केपी शर्मा ओली र सिके राउत दुवै उस्तै प्रवृत्तिको भएको बताएका छन् । सिके राउत प्रवृत्तिलाई एमाले अध्यक्ष ओलीले मलजल गरिरहेको भट्टराईको आरोप छ । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भटटराईले मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन नगरिएकै कारण मधेसमा सीके राउत प्रवृत्ति जन्मिएको बताए । ‘उता एमाले अध्यक्ष ओली सीके राउतकै बाटोमा छन् । सिके राज्य विखण्डन गर्नुपर्छ भन्छन्, ओली मधेसीलाई अधिकार दिनैहुँदैन भन्छन्’ उनले भने । दुवैको कारणले गर्दा मुलुकमा अतिवादी चिन्तन हावी भएको उनले बताए । संविधान संशोधन र संघीयताको कार्यान्वयन भएको अवस्थामा मात्रै मुलुकले निकास पाउने उनको धारणा छ । नेता भटटराईले संविधान संशोधन गरेर मात्रै स्थानीय चुनावमा जानु उत्तम विकल्प भएको बताए । अहिलेकै अवस्थामा स्थानिय चुनाव गरे मुलुकमा झनै जटिलता थपिने भट्टराईले बताए । भट्टराईले नयाँ शक्तिका नेताहरुले जनकपुर विकासको लागि थालेको आमरणमा समर्थन जनाएका छन् । उनले अनसनकारीको माग तत्काल सम्बोधान गर्न समेत सरकारसँग माग गरेका छन् । ‘जनकपुरमा ११ दिनदेखि आमरण अनसनमा बस्नु भएका नयाँ शक्ति नेपालका नेताद्वय रामकुमार शर्मा र कलामुद्दीन राइन तथा युवा मिथिलेश्वर दासप्रति ऐक्यवद्धता जनाउँदै! सरकारले छिटो माग पूरा गरोस् र समस्या समाधान गरोस्!काठमाण्डौ बाहिर पनि नेपाल छ भन्ने तर्फ मिडिया लगायतको पनि ध्यान जाओस्’, उनले भने ।

डीआइजी नवराज सिलवालले सर्वाेच्चमा दर्ता गरे रिट

काठमाडौं, फागुन १ । बरिष्ठता मिचेर आफूमाथि अन्याय भएको भन्दै डीआइजी नवराज सिलवालले सर्वाेच्च अदालतमा रिट दर्ता गरेका छन् । आइतबार विहान सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि सिलवालले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । सिलवालको रिटमाथि सोमबार सुनुवाई हुने गरी पेशी तोकिएको छ ।आइतबार दिउँसो सिलवालले सरकारले बरिष्ठता, कार्यसम्पादन र कार्यक्षमताका आधारलाई लत्याउँदै प्रहरी महानिरीक्षक नियुक्त गरेकाले आफूलाई अन्याय परेको भन्दै सर्वोच्चमा रिट दिएका हुन्। महानिरीक्षकका दाबेदार रहेका सिलवालले तेस्रो स्थानमा रहेका चन्दलाई आइजीपी बनाउँदा प्रहरीको चेन अफ कमाण्ड पनि असर पर्ने जिकिर गरेका छन्। सिलवालले यसअघि दिनकर शमशेरको मुद्धामा पनि सर्वोच्चले बरिष्ठतालाई आधार मान्नुपर्ने फैसला दिएको उल्लेख गर्दै अहिलेको नियुक्तिमा पनि बरिष्ठतालाई ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई आइजी बनाउने आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ ।

सर्वोच्चको अन्तरिम आदेश-‘चन्दलाई महानिरीक्षक नबनाउनु’

काठमाडौं, फागुन १ । नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई तत्काल नियुक्त नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । आइतबार विहान बसेको मन्त्रीपरिषद बैठकले तेस्रो वरियताका डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । उनी महानिरिक्षक बनेको केही समयमै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीकोे कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ । कार्कीको एकल इजलासले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा अर्को सातामात्रै टुंगो लाग्नेछ। सर्वोच्चले आइजीपी नियुक्तिबारे छलफलका लागि रिट निवेदक र नेपाल सरकारलाई छलफलका लागि बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा कार्यसम्पादन, मूल्यांकन र बरियताक्रम नहेरेर तेस्रो बरियताका चन्दलाई आइजीपी बनाइएको भन्दै अधिवक्ता कपिल ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

एमालेले नक्कली कूरा गरेर झुक्याएको भन्दै ४ सय ६८ ले दिए राजीनामा

दाङ, फागुन १ । नेकपा एमालेका नेता वामदेव गौतमको क्षेत्रका चार सय ६८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । स्थानीयस्तरमा आयोजित एक कार्यक्रममा डा शेखर कोईरालाले नवप्रवेशीहरुलाई स्वागत गरे । एमालेको गैरजिम्मेवारपन र बेईमानीले मुलुक जटिलतामा प्रवेश गरेको उक्त अवसरमा कोइरालाले बताए । काँग्रेस प्यूठान, बाँग्गेसाल गाउँ ईकाई समितीले आयोजना गरेको आमसभा एवं पार्टी प्रवेश कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले मुलुकप्रति एमाले पटक्कै संबेदनशिल नबनेको बताए । उनले अहिले एमालेले सत्ताको बार्गेनिङ गरिरहेको पनि बताए । कार्यक्रममा पूर्व सचेतक शोभाकर पराजूली, सांसद पूष्कर आचार्य, प्यूठान काँग्रेसका सभापति अमर भण्डारी, पूर्वसभापति दिवाकर गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला,क्षेत्र एवं गाउँ तहका ४६८ जना काँग्रेस प्रवेश गरेका थिए । नवप्रवेशीले एमालेले नक्कली कूरा गरेर सधैं जनतालाई झूक्याउँने काम गरेकाले आफूहरू एमालेमा रहन नसकेको बताएका थिए ।

औपचारिक कार्यक्रममा सीमित जनयुद्द दिवस, कुन माओवादीले के गर्देछन आज ?

काठमाडौं, १ फागुन । २२ औं जनयुद्ध दिवसका अवसरमा विभिन्न माओवादी घटकहरुले आज विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछन् । २०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको स्मरण गर्दै माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् । ०५२ मा सुरु भएको जनयुद्ध १० वर्ष चलेको थियो । २०६३ मंसिर ६ गते विस्तृत शान्तिसम्झौतापछि तत्कालिन नेकपा (माओवादी) शान्तिप्रक्रियामा आयो । जनयुद्ध दिवसका अवसरमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्दको नेतृत्वको नेकपा (माओवादी)ले छुट्टाछुट्टै कार्यक्रम गरी दिवस मनाउँदैछन् । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे कार्यक्रम गरि जनयुद्ध दिवस मनाउँदैछ । त्यसअघि माओवादी केन्द्रको भातृ संगठन वाईसिएलले विहान ८ बजे पार्टी कार्यालयमा भेला भएर सरसफाइ तथा शहिद स्मारकमा माल्यार्पण गरेर जनयुद्ध दिवस मनाउँदैछ । शहिदहरुको वाइसिएलले साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दैछ । वैद्य माओवादीले कुपण्डोलस्थित नेवाः राज्य कार्यालयमा जनयुद्ध दिवसको स्मरण गर्दैछ । त्यस्तै विप्लव माओवादीले जनयुद्ध दिवशको अवसर पारेर पार्टी महाधिवेशन गर्दैछ । आज खुल्लामञ्चमा उद्घाटन हुने ८ औं महाधिवेशनमा देशभरिका नेता तथा कार्यकर्ता राजधानीमा भेला हुँदैछन् ।

नेपाल प्रहरीको महानिरीक्षकमा जय बहादुर चन्द नियुक्त

काठमाँडौ, फागुन १ । विवादका बीच नेपाल प्रहरीको महानिरीक्षकमा जय बहादुर चन्द नियुक्त भएका छन । आज बसेको मन्त्रिपरिषदले चन्दलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । नवनियुक्त चन्द वरिष्ठताक्रममा नवराज सिलवाल तथा प्रकाश अर्याल पछि तेस्रो नम्बरमा थिए। चन्दले हाल लागू औषध ब्यूरो प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्। उनी १४ महिना नेपाल प्रहरी प्रमुखका रूपमा रहनेछन्। चन्द वि सं २०४४ सालमा प्रहरी निरिक्षक (इन्सेपेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनी अनुसन्धानमा दख्खल राख्छन्। गृहमन्त्री बिमलेन्द्र निधिले काग्रेस सभापति शेरबहादुर देउवाको दवाबमा चन्दलाई आइजिपीका लागि सिफारिस गरेका हुन्। निधि भने सिलवालको पक्षमा थिए। सशस्त्र प्रहरीको नयाँ आइजीपीमा पहिलो बरियतामा रहेका एआएजी सिंहबहादुर श्रेष्ठ नियुक्त गर्ने समेत निर्णय गरेको छ ।

यस्ता छन प्रचण्डका ३ अप्ठ्यारा

१. चुनावमा जाँदा पनि अप्ठ्यारो प्रधानमन्त्रीका अगाडि चुनावमा जाँदा र नजाँदा पनि अप्ठ्यारा देखिएका छन् । चुनाव नहुँदा राजनीतिक हिसाबले संविधान कार्यान्वयन नहुने अवस्था छ । त्यसो हुँदा संवैधानिक रूपमा पश्चगमनतर्फ पार्टी रहने र संवैधानिक संकट आउने अप्ठ्यारो प्रधानमन्त्रीसँग छ । चुनावमा जाँदा पार्टीको आन्तरिक संगठन कमजोर बन्न सक्ने सम्भावित भय पनि छ । माओवादीका एक उच्च नेताको भनाइमा, चुनाव नगराउँदा राजनीतिक र गराउँदा पार्टीको आन्तरिक सांगठनिक अप्ठ्यारोको जन्जालमा पर्ने भय यतिवेला प्रधानमन्त्रीमा छ । २. एमाले र मोर्चाको सकस ‘संविधान संशोधनपछि मात्र चुनाव र चुनावपछि मात्र संशोधन’ भन्ने दुई विपरीत राजनीतिक धार अहिले देखिएका छन् । संशोधनको धार मधेसी मोर्चा र निर्वाचनको धारको नेतृत्व एमालेले गरिरहेको छ । सतहमा जे देखिए पनि यी दुवै धार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा चुनाव हुन नदिने रणनीतिमा रहेको बुझाइ माओवादी केन्द्रका नेताहरूको छ । यी दुवै राजनीतिक धारको चक्रव्यूहमा अहिले प्रधानमन्त्री छन् । जुन प्रधानमन्त्रीका लागि सकस बनिरहेको छ । ३. आफैँले निम्ताएका अप्ठ्यारा सरकार गठनका वेला प्रधानमन्त्री प्रचण्डले औपचारिक–अनौपचारिक रूपमा सत्ता गठबन्धन दलसँग केही सहमति, सम्झौता गरेका छन् । स्थानीय चुनाव आफ्नो नेतृत्वमा र प्रदेश र संघको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने गरी उनले सरकारको नेतृत्व सम्हालेका थिए । तर, ६ महिनाको उनको सत्तारोहणसम्म पनि निर्वाचनको मिति नै घोषणा हुन नसकेपछि उनी अहिले आफैँले निम्त्याएको पेचिलो अप्ठ्यारामा छन् ।

लोकसेवाको प्रश्नपत्रले रुवायो धेरैलाई

काठमाडौं, माघ २९ । लोकसेवा आयोगले आज संचालन गरेको राज पत्रांकित शाखा अधिकृतको परीक्षा सम्पन्न भएको छ । आज सोधिएका प्रश्नपत्रका प्रश्नहरु अधिकांश प्रशिक्षार्थीहरुको अनुमानभन्दा फरक भएपछि परीक्षा हलमै केहीबेर रुवाबासी चलेको थियो । आज सोधिएको प्रश्नपत्रमा अंग्रेजी र आईक्यू (I.Q.) का प्रश्नहरु तुलनात्मक रुपमा केही सजिलो भएपनि सामान्य ज्ञानका प्रश्नहरु भने अत्यन्तै कठिन सोधिएका थिए । आजको प्रश्नपत्रका लागि प्रशिक्षार्थीहरुले समसामयिक सामान्यज्ञान अन्तर्गत नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, संविधान, सन्धी सम्झौता, खेलकुदमा अध्ययन गरिएको भएतापनि प्रश्नपत्रमा भने ती आएनन् । परिक्षाका लागि लामो समय कठिन तयारी गरेकाहरुका लागि आजको प्रश्नपत्रबाट उनीहरु निराश देखिन्थे । ‘तेत्रो संविधान पढियो, आर्थिक सर्वेण, योजना, जातजाती, भाषा, भुगोल सबै पढियो तर परीक्षामा एउटा पनि आएन’ मदन भण्डारी मेडिकल कलेजमा केन्द्र परेका एक परीक्षार्थीले भने । उनले थपे, ‘दर्जानौ पुस्तक घोकियो ट्युसन क्लासमा सयौं हल गरियो वर्षाैको मेहनत खेर गयो ।’ मेहनत र अपेक्षा गरिएअनुसारको प्रश्न नआएपछि धेरै परीक्षाकेन्द्रमा परीक्षार्थीहरु अंगालो मारेर रुँदै गरेका देखिन्थे । कतिपय परीक्षार्थी भने परीक्षा समयको बीचमै छोडेर गएका पनि भेटिए ।

इस्काभेटर चलाएर सडक बचाउ अभियानमा प्रधानमन्त्री

रौतहट, माघ २९,  । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफै इस्काभेटर चलाएर सडक बचाउ अभियानमा सहभागी भए । माओवादी नेता तथा रौतहट क्षेत्र नं.–३ का निर्वाचन सांसद प्रभू शाहले २ वर्षयता चलाउँदै आएको सडक बचाउ अभियानमा प्रधानमन्त्री प्रचण्डले आफै इस्काभेटर चलाएर सडक बिस्तार र संरक्षणमा सहभागी भएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले सडक बचाउ अभियानले राष्ट्रिय विकासमा महत्वपूर्ण अर्थ राख्ने बताए । इस्काभेटर चलाएर सडक बचाउ अभियानमा सहभागी भएका प्रचण्डले भने, ‘रौतहटमा बाटो बचाउने र बाटो बनाउने अभियान २ वर्षदेखि चलिरहेको छ ।यसका लागि सांसद प्रभू शाह र तपाई जनसमुदायलाई धन्यवाद दिन चाहन्छु । बाटो बचाउने अभियानमा आफू पनि सरिक हुन पाएकोमा गौरवान्वित छु ।’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रौतहटका २ गाविसका १५०० छात्राहरुलाई साइकल बितरण गरेका थिए । मधेशी समुदायका जेहेन्दार छात्रा विद्यार्थीलाई पढाईमा प्रोत्साहन गर्ने उद्देश्यले साइकल बितरण गरिएको सो अवसरमा सांसद प्रभू शाहले बताए ।

प्रधानमन्त्रीले गरे मुस्लिम कवि सम्मेलनलाई सम्बोधन

रौतहट, माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका मुस्लिम कविहरुको संयुक्त सम्मेलनलाई सम्बोधन गरेका छन् । शनिबार रौतहटको जिंगहवामा आयोजित नेपाल—भारत मुशायरा (कवि सम्मेलन) लाई प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘तपाईहरुको यो सम्मेलन निकै दुरगामी महत्वको छ । यसलाई मैले दुरगामी महत्व र रणनीतिक कार्यक्रमका रुपमा लिएको छु । यो सम्मेलनले नेपाल र भारतबीचको सम्बन्ध सुदृढीकरणमा विशेष महत्व राख्नेछ । कविता र सिर्जनाका माध्यमद्धारा मुस्लिम समुदायको पहिचान र अधिकार स्थापित गर्ने तपाईहरुको अभियानमा सफलता मिलोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ आफू पहिचान र अधिकारका निम्ति अनवरत संघर्षमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘म सबै जाति, भाषा, कला, संस्कृति र समुदायको पहिचान र अधिकारको पक्षमा छु । हिमाल, पहाड र मधेशबीच राष्ट्रिय एकताको पक्षमा छु । मेरै नेतृत्वमा जनयुद्ध भयो, उत्पीडितहरुको अधिकारको संघर्ष भयो । अहिले नयाँ संविधानले उत्पीडितहरुको पहिचान र अधिकारलाई संस्थागत गरेको छ । बाँकी अधिकार संविधान संशोधनको माध्यमद्धारा प्राप्त गर्दै जाने बाटो खुलेको छ ।’ नयाँ संविधानमा मुस्लिम अधिकार संस्थागत भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानमा मुस्लिम आयोगको व्यवस्था छ, यो संवैधानिक आयोग हो । अब मुस्लिमहरुका अधिकार पनि संस्थागत हुँदै जानेछन् । सिर्जनाका माध्यमबाट आफ्नो समुदायको अधिकार र जागरणका निम्ति तपाईहरुले थाल्नुभएको अभियान प्रशंसनीय छ ।’ कार्यक्रममा नेपाल र भारतका ३६ जना मुस्लिम कविहरुले भाग लिनेछन् । एक दिने कवि सम्मेलनमा मुस्लिम समुदायको भाषा, कला, संस्कृति, ऐतिहासिकता, पहिचान र अधिकारसँग सम्बन्धित कविताहरु प्रस्तुत हुनेछ । परिवर्तनको अनुभूति गर्ने काम गर्न निर्देशन जिंगहवा । मुस्लिम सम्मेलनपछि रौतहट जिल्लाका कार्र्यालय प्रमूखहरुलाई प्रधानमन्त्री प्रचण्डले जनताले परिवर्तनको अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । निर्देशनमा प्रधानमन्त्रीले केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिँदै जिल्लामा निर्वाचनको वातावरणका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ । सरकार स्थानीय तहको निर्वाचनमा जुटिसकेको छ । तपाईहरु पनि जिल्लामा निर्वाचनको वातावरण बनाउन आवश्यक प्रबन्ध गर्नुहोस् । निर्वाचनको वातावरण बनाउने र जनतालाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्नु तपाईहरुको दायित्व हो ।’ निर्देशनमा प्रधानमन्त्रीले पूँजीगत खर्च बढ्ने गरी विकास निर्माणका कामलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।