अखिल क्रान्तिकारीले पिएन क्याम्पसमा अघि सार्यो २४ वर्षे प्रविणालाई

पोखरा, फागुन ८ । पश्चिमाञ्चलको चर्चित शैक्षिक केन्द्र पृथ्वीनारायण क्याम्पसमा माओवादी केन्द्र सम्वद्ध अखिल (क्रान्तिकारी)ले प्रविणा अधिकारीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ।

१२ हजार भन्दा वढि विद्यार्थी अध्ययन गर्ने सो क्याम्पसमा लोकप्रिय विद्यार्थी नेतृ प्रविणालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार वनाइएको क्रान्तिकारीका केन्द्रीय सचिव अमरदिप पराजुलीले वताए।

कास्की जिल्ला लाहाचोककी स्थायी वासिन्दा रहेकी अधिकारी सोही क्याम्पसकी स्नातकोत्तर तहकी नियमित विद्यार्थी हुन्।अखिल क्रान्तिकारीको प्रस्तावमा त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेरहद लगाएपछि क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य समेत रहेकी २४ वर्षीय प्रविणा उम्मेदवार वनेकी हुन्।

क्रान्तिकारीको बलियो पकड रहंदै आएको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीले परिवर्तन चाहेकाले यसपटक क्रान्तिकारीले जित्ने प्रविणाले दावी गरिन्। ‘पृथ्वीनारायण क्याम्पसलाई हामी अन्तर्राष्ट्रिय स्तको शैक्षिक हव वनाउन चाहन्छौं।’–अध्यक्षकी उम्मेदवार प्रविणाले भनिन्।

स्ववियु चुनाव १८ गते हुँदैछ ।

प्रधानमन्त्रीले मोर्चाका नेतालाई भने–चुनावको मिति घोषणा गरौ त्यसपछि संविधान संशोधन

काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह चुनावको मिति घोषणा गर्ने उद्देश्यसहित निर्णायक वार्ताका लागि सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेका छन् । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा मोर्चाले पहिला संविधान संशोधन टुङ्ग्याएर मात्रै चुनावको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । मोर्चाका शीर्ष नेता सहभागी बैठकमा प्रधानमन्त्री प्रचण्डले चुनाव गर्नेपर्छ, नत्र सम्बैधानिक समस्या पर्नेतिर सजग गराउँदै संविधान कार्यान्वयनको लागि पनि चुनाव र संशोधन प्रस्ताव सँगैसँगै लैजानुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले एभरेष्टदैनिक डटकमसँग भने । तर, त्यसमा मोर्चाले सहमति दिएन पुरानै अडान तर्स्यायो पहिला संशोधन, अनि मिति घोषणा । त्यतिमात्रै होइन प्रचण्ड नेतृत्वको सरकार गठनका बेला समर्थन गरेका मोर्चाले संशोधन नगरी चुनावमा गए असहयोग गर्ने जनाउ पनि दिए । बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने आफूहरुको सहमति विना चुनावको मिति घोषणा गरिए मोर्चाले आन्दोलन कार्यक्रम ल्याउने चेतावनी दिए । तर, प्रधानमन्त्री प्रचण्डले चुनाव मिति घोषणा गरेर संशोधन अघि बढाउँदा मधेसी मोर्चाले पनि चुनाव चाहेको रहेछ भन्ने सकारात्मक सन्देश जानेमा विचार गर्न मोर्चाको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीले मोर्चालाई संशोधनमा धोका नहुने स्पष्ट पारेका छन् – प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने । सत्तारुढ कांग्रेस-माअोवादी केन्द्रका नेताहरु पहिले चुनावको मिति घोषणा गरेर जान मोर्चाले सहमती दिनुपर्ने र फागुन १० गते व्यवस्थापिक संसदको बैठकमा संशोधन प्रस्ताव सरकारले अघि बढाउने प्रधानमन्त्रीले प्रस्ताव राखेका थिए । बैठकमा प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई पहिला मिति घोषणा गरेर जाऊ र दुईदिन पछि बस्ने संसदको बैठकबाट मोर्चाको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए पनि मोर्चाले निष्कर्ष नदिएको प्रेस संयोजक आचार्यले जानकारी दिए । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला, गृहमन्त्री बिमलेन्द्र निधि, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, अशोक राई लगायतका नेताहरु उपस्थित थिए । प्रधानमन्त्री प्रचण्ड भोलिसम्ममा चुनावको मिति घोषणा गर्ने तयारीमा रहेका छन् । उनले स्थानीय चुनाव हुने र त्यसको तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन दिइसकेका छन् । आयोगले सरकारले फागुनको १० गतेभित्र चुनावको मिति घोषणा गरे स्थानीय तहको चुनाव जेठको १ र २१ गते गर्न सकिने प्रस्ताव गरिसकेको छ । सत्तासाझेदार नेपाली कांग्रेसका नेताहरुसहित बसेको मोर्चासँगको बैठक ठोस निर्णयमा नपुगेपनि फेरि छलफल गर्ने प्रधानमन्त्रीको तयारी रहेको स्रोतले बतायो । सम्भवतः प्रधानमन्त्रीले साझ फेरि छलफल गर्नसक्ने स्रोतले जानकारी दियो । चुनाव घोषणाको वातावरण बनाउन प्रधानमन्त्रीले आज दिनभर दलहरुसँगको छलफललाई तीव्रता दिने तयारी गरेका छन् ।

पत्रकारिताले सत्यको धरातल छाड्न हुँदैनः सञ्चारमन्त्री

काठमाडौँ, फागुन ७ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन भन्दै रासस र सरकारी स्वामित्वका अन्य माध्यमले सकारात्मक विषय निरन्तर पस्कन सक्ने भएकाले त्यस अर्थमा यी संस्थाको औचित्य र सान्दर्भिकता रहेको बताए । सहर र केन्द्रका मात्र नभई भित्री सहर र गाउँका समाचार ल्याउन पत्रकारलाई सुझाव दिँदै मन्त्री कार्कीले भने– “पार्टीहरुले आफ्नो सान्दर्भिकता जोगाइराख्न सत्यसँग तादात्म्य भइरहनुपर्छ र पत्रकारिताले पनि आफ्नो सत्यको धरातल छाड्नु हुँदैन । कुनै दल र समूहलाई खुसी पार्न सत्यलाई तोडफोड गर्ने पत्रकारको विश्वसनीयता हुँदैन ।” उहाँले आलोचनात्मक समाज निर्माण एवं योग्यता र असल काममा आधारित राजनीति स्थापित गर्न सही पत्रकारिताले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सार्वजनिक संस्थालाई बचाउन चुनौतीपूर्ण भएको जनाउँदै मन्त्री कार्कीले राससले आफ्नो पूँजीको सदुपयोग गर्दै राम्रा काम गर्ने जनशक्तिलाई उचित जिम्मेवारी दिन निर्देशन दिए । सांसद रामचन्द्र पोखरेलले राससका पत्रकारलाई अन्तर्राष्ट्रियस्तरमा तालिम प्रशिक्षणको अवसर दिलाउन तथा संस्थाको बजेट वृद्धिको कार्ययोजना ल्याउन रासस व्यवस्थापनलाई सुझाव दिए । पोखरेल पूर्वराससकर्मी पनि हुनुहुन्छ । राससका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकार, जनता र सेवाग्राहीबीचको सन्तुलन मिलाएर राससले आफ्नो सेवालाई क्रमशः विस्तार र आधुनिकीकरण गर्ने जानकारी दिए । सरकारका विभिन्न निकायमा खर्च नहुने अरबौँ बजेटको केही अंश मात्र राससलाई दिइए आफूहरु आत्मनिर्भर हुने दृढता व्यक्त गरे । उनले राससको समाचार प्रयोग गरेर स्रोत उल्लेख नगर्ने प्रवृत्ति निरुत्साहित हुनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले रासस नेपाली पत्रकारिताको जग र विश्वविद्यालय हो भन्दै यसको विकल्पमा अर्को कुनै संस्था देखा नपर्नुले राससले आफूलाई थप प्रतिस्पर्धी बनाउनुपर्ने जोड दिए। उनले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतालाई दिग्भ्रमित गर्ने विकृति देखिएको समयमा जिम्मेवार मिडिया संस्थाको अगुवाइ राससले गर्न सकोस् भन्ने कामना गरे । रासस सञ्चालक समितिका सदस्य गङ्गाधर पराजुलीले राससलाई आत्मनिर्भर बनाई नयाँ शैलीका समाचार प्रस्तुत गर्न सकेमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी संस्थाको रुपान्तरण गर्न सकिने बताए । राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राससले सूचना र निरन्तर शिक्षाका क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको जनाउँदै प्रतिलिपि अधिकार र बौद्धिक सम्पतिको अधिकारको उपभोग गर्न रासस अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, रासस शाखाका अध्यक्ष विष्णुप्रसाद नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछाने र रासस कर्मचारी कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै संस्थाको गुणस्तर सुधार र कर्मचारीको हक हितका विषयमा ध्यानाककर्षण गराउनुभएको थियो । समारोहको सञ्चालन राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतले गरेको थियो । राज्यको समाचार समितिका रुपमा विसं। २०१८ फागुन ७ मा स्थापित राससमा हाल कुल १९८ सञ्चार माध्यम ग्राहक छन् ।

झुठो समाचार प्रकाशित गरेको भन्दै प्रधानमन्त्री कार्यालयले गर्यो खण्डन

काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दबाबमा चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा निकासी खुल्ला गर्न लागेको भन्ने केही सञ्चारमाध्यममा प्रकाशित समाचारको प्रधानमन्त्री कार्यालयले खण्डन गरेको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले एक विज्ञप्ति प्रकाशित उक्त समाचार असत्य रहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । साथै रेग्मीले प्रधानमनत्री प्रचण्ड सुशासनको लागि प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन् । विज्ञप्तिमा भनिएको छ, –‘विगत केही दिनदेखि चुरे क्षेत्रबाट ढुङ्गा, गिटी र बालुवा लगायतका सामग्रीहरुको निकासी खुला गर्न लागेको र उक्त विषयमा सम्बन्धित निकायलाई सम्माननीय प्रधानमन्त्रीज्यूले दवाव दिनुभएको भन्ने आशयका केही सञ्चार माध्यमहरुमा आइरहेका समाचारहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट कहीँ कसैलाई दवाव वा निर्देशन दिनुभएको भन्ने कुरा सत्य नभएकाले त्यसबाट भ्रममा नपर्नु हुन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सम्बन्धित सबैमा अनुरोध गर्दछु ।’ भूकम्पपछि देशभित्र ढुङ्गा, गिटी, बालुवाको निकासी नहुँदा पूननिर्माणको काम रोकिएकाले सरकारले ढुंगा, गिटी, बालुवा खुल्ला गरेर पूनर्निर्माणको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई केही सञ्चार माध्यमले बङ्गाएर देशबाहिर ढुंगा, गिटी, बालुवा निकासी गर्न लागिएको गलत समाचार प्रकाशित गरेको प्रधानमन्त्री कार्यालयले खण्डन गरेको हो । प्रधानमन्त्री कार्यालयले उक्त विषयमा राष्ट्रिय गौरबका परियोजना बिकास निर्माणका लागि मात्र खुला गरिने स्पष्ट पारेको छ ।

रोल्पा पार्टीलाई प्रचण्डको निर्देशन : चुनाव हुन्छ, जित्नेगरी तयारीमा लाग्नुहोला

काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सहित तीनैवटै चुनावमा जित्नेगरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार प्रथम रोल्पा महोत्सवको उद्घाटन गर्न पुगेका प्रचण्डले सरकार निर्वाचन घोषणाको तयारीमा रहेको भन्दै पार्टीलाई विजयी बनाउन जनताको घरदैलोमा जान कार्यकर्तालाई निर्देशित दिएका हुन् । उनले जनयुद्धको केन्द्र रहेको रोल्पमा विश्वको ध्यान रहेको भन्दै पार्टीको गतिविधिले भविश्य निर्धारण गर्ने बताए । प्रधानमन्त्रीले भने–‘हिजो जनयुद्धको बेला पनि रोल्पा राजनीतिको केन्द्रमा थियो, अहिले शान्तिपूर्ण राजनीतिमा पनि रोल्पालाई विश्वले ‘वाच’ गरिरहेको छ, तपाईहरुको भूमिकाले माओवादी आन्दोलनकै भविष्य निर्धारण गर्छ ।’ जनयुद्धमा रोल्पाले गरेको त्याग र बलिदान अनुसार माओवादी पार्टीले जिल्लालाई सम्मान गरेको उनले दाबी गरे । प्रचण्डले भने–‘हिजो रोल्पाले निकै ठूलो त्याग, बलिदान गरेर संघीय गणतन्त्रको युगमा आयौं, राज्यका पाँच प्रमूख सम्माननीय पदमध्ये उपराष्ट्रपति र सभामूख र उपप्रधानमन्त्री रोल्पाकै हुनुहुन्छ । रोल्पाको विकासलाई पनि हामीले उच्च प्राथमिकतामा राखेका छौं ।’ प्रधानमन्त्रीले रोल्पाका सरकारी कर्मचारीहरुलाई निष्पक्ष र भयरहित चुनाव गराउन आजैदेखि लाग्न सामुहिक निर्देशन दिए । प्रचण्डले भने–‘निर्वाचनमा जान प्रमूख दल र नेताहरु सम्वेदनशील छन् । सरकारले छिटै निर्वाचनको घोषणा गर्दैछ । तपाईहरुले जिल्लामा निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन आजैदेखि लाग्नुहोस् ।’ प्रधानमन्त्रीले जनताले परिवर्तनको महशुस हुने गरी सेवा प्रवाह गर्न पनि कर्मचारीलाई निर्देशन दिए ।

सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार महोत्सव सुरु

कञ्चनपुर, ७ फागुन । स्थानीय तथा राष्ट्रियस्तरका वस्तु तथा सेवाको विस्तारसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम भीमदत्तनगरको खुला मञ्चमा शुक्रबारदेखि सुदूरपश्चिमाञ्च औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव २०७३ सुुरु भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको महोत्सवको सांसद बहादुरसिंह थापाले उद्घाटन गर्दै पर्यटन व्यवसायलाई अगाडि बढाइएमा यहाँका युवाहरुले रोजगार पाउने भएकाले पर्यटन प्रर्वद्धनका लागि अगाडि सर्नुपर्ने बताउनुभयो । यही फागुन १५ गतेसम्म आयोजना हुने महोत्सवले स्थानीय उद्योग प्रवद्र्धन गर्न सघाउ पु¥याउने, सूचना तथा प्रविधिबारे जानकारी गराउने, कृषि व्यवसायलाई टेवा पु¥याउने, पर्यटन– शिक्षा– स्वास्थ्य क्षेत्रमा खोजीको अवसर सिर्जना गर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले बताउनुभयो । “सुदूरपश्चिम क्षेत्रमा लगानीका सम्भावित क्षेत्रको पहिचान गर्ने र त्यस्ता क्षेत्रमा लगानी गर्न निजी तथा सरकारी निकायको ध्यानाकर्षण गराउने महोत्सवको उद्देश्य छ” उहाँले भन्नुभयो । महोत्सवमा हस्तकला, घरेलु उद्योग, कृषि औजार, मौलिक परिकार, सांस्कृतिक पहिचान झल्कने र व्यापारिक वस्तु, जडिबुटी, पस्मिना, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, ऊर्जा, सूचना प्रविधि लगायत एक सय ७५ कक्ष छन् । महोत्सवमा सुदूरपश्चिमका देउडा, हुड्केली र छलियासँगै राना थारु समुदायको संस्कृति झल्किने गीत र नृत्य समेत प्रस्तुत गरिने छ ।

संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु आजको आवश्यकताः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, फागुन ७  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानप्रति मुलुकका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको बताउनुभएको छ । सतसठ्ठीऔँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जातजाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले राष्ट्रिय एकतालाई मजबुत बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सबै सुरक्षा निकाय तथा नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वानसमेत गर्नुभएको छ । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “नेपाली जनताले २०४६ सालको पहिलो जनआन्दोलन, १० वर्षे महान् जनयुद्ध र २०६२÷६३ को दोस्रो जनआन्दोलन र मधेस, थारु, जनजातिलगायत सबै समुदायका न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलिका साथ जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।” नेपालको संविधान मुलुकको शासन व्यवस्था सञ्चालनको गतिशील दस्तावेज हुने कुरामा आफू पूर्णतः विश्वस्त रहेको प्रधानमन्त्रीको कथन छ । प्रधानमन्त्रीले सहिदका अधुरा सपना पूरा गरी लोकतन्त्रलाई संस्थागत गर्न सबैलाई आआफ्ना ठाउँमा इमान्दार र प्रतिबद्ध रही सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ । प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामनासमेत प्रधानमन्त्रीले गर्नुभएको छ । रासस

मधेस केन्द्रित दलसँग प्रधानमन्त्रीले आज छलफल गर्ने

काठमाडौँ,  फागुन ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रित दलका नेतासँग शनिबार छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेस केन्द्रित दलका नेताकै सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप छलफलका लागि आमन्त्रण गरिएको जानकारी दिनुभयो । राजनीतिक सल्लाहकार खनालले सबै पक्षको सहमतिमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने र मुलुकलाई निर्वाचनमा केन्द्रित गर्ने सरकारको तयारी रहेको बताउनुभयो । शनिबार बिहान १० बजे छलफलका लागि प्रधानमन्त्रीले मधेस केन्द्रित दलका शीर्ष नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गर्नुभएको छ । प्रमुख तीन दलका बीचमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको र उक्त सहमतिमा मधेस केन्द्रित दलका नेतालाई समेत सहमत गराउने सरकारको तयारी छ । सरकारले निर्वाचन आयोगलाई यही फागुन ८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको छ । सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले छलफलका लागि प्रधानमन्त्रीले बोलाउनुभएको बताउनुभयो । अध्यक्ष झाले संविधान संशोधन, स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरिएको र प्रधानमन्त्री निवासमा मोर्चा आबद्ध दल सहभागी हुने जानकारी दिनुभयो । रासस

राप्रपालाई टाढा नजान प्रधानमन्त्रीको आग्रह

काठमाडौं, फागुन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपालाई महाधिवेशनपछि पनि टाढा नजान अपील गरेका छन् । शुक्रबारदेखि सुरु भएको राप्रपाको एकताको महाधिवेशनलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले राप्रपालाई एजेण्डा धेरै नमिले पनि सरकारबाट टाढा नजान राप्रपालाई आग्रह गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले संविधान जारी गर्ने बेलामा नै तीन दलले संशोधनको प्रतिवद्धता जनाएको बताउँदै त्यसै अनुसार नै सरकारले प्रस्ताव अघि सारेको पनि बताएका छन् । मुलुक लामो संक्रमणकालिन अवस्थाबाट अघि बढीरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनका लागि निर्वाचनको अपरिहार्य रहेको बताए । परिपक्व राजनितिक पार्टीको हैसियतले निर्वाचन र संविधान संसोधन प्रक्रियालाई सकारात्मक ढंगले सम्पन्न गर्न राप्रपाले सकारात्मक भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

यस्तो छ स्ववियु निर्वाचनको नयाँ तालिका

काठमाडौं, फागुन ६ । आगामी फागुन १८ गते हुने भनिएकाे स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वबिद्यालयको कार्यकारी परिषदको आज बसेको वैठकले एक साता लामो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि फागुन १४ हुने भनिएको निर्वाचनको कार्यतालिका पाँच दिन ढिलो सरेपछि त्रिविले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने । त्यसै दिन २ बजेसम्म मतदाता सूचीउपर दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । यस्तो छ त्रिवि निर्वाचन कार्यतालिका  

ऊर्जामन्त्री भन्छन्-‘प्रतिगमनकारी हर्कत ठेगान लगाउन स्थानीय निर्वाचन’

काठमाडौं, ६ फागुन । ऊर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्माले केही दलका प्रतिगमनकारी हर्कत ठेगान लगाउन स्थानीय तहको चुनाव गर्न लागिएको दाबी गरेका छन् । कुनै दलको नाम नलिइकन उनले पुराना राजनीतिक शक्तिहरुले परिवर्तनका एजेण्डाहरु उल्टाउने षडयन्त्र शुरु गरेकोले सरकारले दुईदिनभित्र स्थानीय तहको चुनावको मिति घोषणा गर्ने बताए । अखिल क्रान्तिकारीले त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने-“पूराना शक्तिहरु विस्तारै संविधानले दिएका अधिकार समेत उल्टाउने कोशिस गर्दैछन ।” मन्त्री शर्माले भन्नुभयो “ स्थानीय तह र प्रदेशको चुनाव मार्फत त्यसलाई परास्त गर्न युवाहरुले दवाव सृष्टि गर्नुपर्छ ।” उनले स्थानीय तहको चुनावले मात्र क्रान्तिका उपलब्धिहरु संस्थागत हुने बताए । अर्को प्रसंगमा उहाँले उर्जामन्त्रालय मार्फत युवाहरुमा देखिएको निराशालाई आशामा बदल्ने प्रयास थालनी गरेको बताए । उज्यालो नेपाल अभियानले देशभरका युवाहरुमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको स्मरण गराउदै मन्त्री शर्माले यो अभियान केवल बत्ती बाल्ने कुरा मात्र नभएर राष्ट्र निर्माणको महाअभियान भएको बताए । ऊर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले निम्न वर्गका जनताको जीवनस्तर समेत समृद्ध बनाउने सपना बोकेको मन्त्री शर्माको भनाइ छ । उहाँले लामो समयपछि हुन लागेको स्ववियु चुनावलाई स्वस्थ र मर्यादित बनाएर उच्च राजनीतिक संस्कार प्रदर्शन गर्न युवा विद्यार्थीहरुलाई आव्हान गरे । त्रिचन्द्र क्याम्पसमा अखिल क्रान्तिकारीले केशव रावललाई स्ववियु सभापतिको उम्मेदवार बनाएको छ ।

आरआर जित्ने भन्दै क्रान्तिकारीले अघि सार्यो वाग्ले र खतिवडाको प्यानल

काठमाडौँ, फागुन ६ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले राजधानीको प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा स्ववियु सभापतिमा ध्रुवराज वाग्ले, सचिवमा मनोज खतिवडा र कोषाध्यक्षमा सागर लिम्बूलाई अघि सारेको छ। आर।आर।क्याम्पस समितिको वैठकवाट सर्वसम्मत रुपमा प्रत्यक्ष तर्फका तीन कार्यकारी पदका उम्मेदवार टुङ्गो लगाइएको अखिल क्रान्तिकारीका उपाध्यक्ष मिलन एमसीले वताए। क्रान्तिकारीका केन्द्रीय सदस्य समेत रहेका उनी स्याङ्जा किचनास १ निवासी हुन् । यसअघि उनले सोही क्याम्पसको क्याम्पस समितिको सचिव, अध्यक्ष हुँदै इन्चार्जको समेत भुमिका निभाइसकेका छन्। उनी समाजशास्त्र विषयमा स्नातकोत्तर तह प्रथम वर्षका नियमित विद्यार्थी हुन् । त्यसैगरी सचिवका उम्मेदवार २२ वर्षीय खतिवडा ओखलढुंगा हर्कपुर–५ का हुन् । उनी विए तेस्रो वर्ष पत्रकारिताका नियमित विद्यार्थी खतिवडा साहित्य सृजनामा पनि पारङगत छन् । त्यस्तै कोषाध्यक्षका उम्मेदवार सागर लिम्बू ताप्लेजुङका हुन्। विए तेस्रो वर्षका नियमित विद्यार्थी रहेका लिम्बू आरआर क्याम्पसमा सागर श्री का नामले चर्चित छन्। उम्मेदवार घोषणा पछि स्ववियु सभापतिका उम्मेदवार वाग्लेले यसपटक आरआरमा क्रान्तिकारीको जित सुनिश्चित रहेको दावी गरे।

प्रधानमन्त्रीको रोल्पामा सम्बोधन-‘सिंहदरबारको अधिकार खोस्न स्थानीय निर्वाचन’

रोल्पा, फागुन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबाको अधिकार गाउँ लैजान पनि स्थानीय तहको निर्वाचनलाई सफल बनाउन पर्ने बताएका छन् । रोल्पामा आजदेखि सुरु प्रथम रोल्पा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय चुनावमा सहयोग गर्न आग्रह गरे । ‘आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गरिसक्नुपर्ने संविधानमै स्पष्ट किटान गरिएको छ, सरकार सबै तहको चुनावको गर्न लागिपरेको छ । जेठमै स्थानीय तहको चुनाव हुन्छ तपाईँहरुले सहयोग गर्नुपर्यो’–प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले राजनीतिक परिवर्तनमा रोल्पाली जनताले गरेको योगदानको प्रशंसा गरे । उनले भने–‘हिजो रुाजनीतिक परिवर्तनमा साथ दिने रोल्पाली जनताको सुविधाका लागि रोल्पा जिल्लाको विकास गर्नुपर्छ । सरकारले सबै निकाय परिचालन गरेर विकास गर्ने वातावरण बनाउँछ ।’

सबै शक्ति परिचालन गरेर चुनावमा होमिने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, फागुन ६ । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको चुनावमा केन्द्रीत भएर लाग्ने निर्णय गरेको छ । बिहिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बालुवाटारमा बसेको हेडक्वाटर बैठकले चुनावको विकल्प नभएको भन्दै सबै शक्ति लगाएर तयारी गर्ने निष्कर्ष निकालेको हो । बैठकले जनसंख्याको घनत्वलाई विचार गरी दुई नम्वर प्रदेशमा स्थानीय तहको संख्या केही बढाएर भए पनि मधेशी मोर्चालाई निर्वाचन ल्याउने र निर्वाचनको मिति घोषणा गर्नेबारे निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन । हेडक्वाटर बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको थियो । बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको गृहकार्य र तयारीलाई सकारात्मक भएको निष्कर्ष निकाल्दै निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सरकारले दलहरुसँग गरेको छलफल, राष्ट्रिय राजनीति र निर्वाचनको तयारीबारे बैठकलाई जानकारी गराएका थिए । बैठकले प्रमुख प्रतिपक्षी दल र मधेशी मोर्चासँग समेत थप छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको प्रवक्ता भूसालले जानकारी दिइन । प्रवक्ता पम्फा भुसालले भनिन- ‘अब स्थानीय तहको निर्वाचनको बिकल्प छैन । स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनलाई गति दिनुपर्छ भन्ने निर्णय भएको छ ।’

महासंघमा लगाएको ताला युनियनले खोल्यो, तीन जिल्लाको अधिवेशन स्थगित

काठमाडौं, फागुन ६ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयको मुल ढोकामा लगाएको ताला शुक्रबारदेखि खुलेको छ । महासङ्घ र प्रेस युनियन नेतृत्वबीच आज दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो । ताला खोलेपछि महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासङ्घ सबैको साझा संस्था भएकोमा बताए । युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाई मात्र महासङ्घको सदस्यता वितरण गर्न माग गरे । महासंघको सदस्यताको विषयमा असहमति जनाउँदै युनियनले फागुन २ गतेदेखि ताला लगाएको थियो । सहमतिको आधारमा ताला खुलेको महासंघका केन्दीय महासचिव उजिर मगरले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । सहमतिअनुसार युनियनले सरोकार देखाएका केही शाखाहरुमा देखिएको विवाद महासंघको सचिवालय बसेर टुङ्ग्याउने सहमति भएको छ । ‘नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिराहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर शाखामा देखिएका सदस्यतासम्बन्धी समस्याहरु महासंघको सचिवालयले सहमतिको आधारमा टुंगो लगाउने छ ।’ मगरले जारी गरेको विज्ञप्तीमा भनिएको छ । सदस्यताको विषयलाई लिएर समस्या देखिएका बाहेक सबै शाखाको अधिवेशन पूर्वघोषित कार्यतालिकाबमोजिम गर्ने पनि सहमति भएको छ । पूर्वाञ्चल क्षेत्रमाको पाँचथर र सप्तरी शाखाको अधिवेशन स्थगित गरिएको महासंघले जनाएको छ । सिराहामा शाखाबाट सदस्यता विवरण प्राप्त भई निर्णय हुनासाथ जानकारी गराइने छ । पूर्वाञ्चलका अन्य जिल्लामा केही समयभित्रै केन्द्रीय प्रतिनिधि, सदस्यताको अन्तिम नामावली र अन्य सम्बद्ध कागजातहरू उपलब्ध गराइने भएकोले उत्साहका साथ अधिवेशन आयोजना गर्न सम्बद्ध शाखा कार्यसमिति र सहभागी हुन सदस्य पत्रकार साथीहरूलाई अनुरोध छ ।

राप्रपा अध्यक्ष पदमा डा. लोहनीको उम्मेदवारी घोषणा

काठमाडौँ, फागुन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “एकतन्त्रिय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।” राप्रपा र राप्रपा नेपालबीच एकता हुँदा चुनाव चिन्ह र पदाधिकारी चयनमा शक्ति सन्तुलन मिलाउने सहमति उलङ्घन हुँदा लाखौं कार्यकर्ताको उत्साह मर्ने भएकाले आफूले कार्यकर्ताको उत्साहलाई भर्न तथा पार्टीलाई प्रजातान्त्रिक हिसाबले अघि बढाउन उम्मेदवारी दिने निधो गरेको डा लोहनीले बताउनुभयो । महाधिवेशनमा आफनो विजय सुनिश्चित रहेको र पार्टीभित्र शक्ति सन्तुलन र नियन्त्रणमा आफूले खलल हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्टी एकता हुँदा चुनाव चिन्ह हलो राख्ने सहमति भएको उहाँको भनाइ छ । पार्टी एकतापछि पछिल्लो समय राष्ट्रिय अध्यक्षको भूमिकामा रहनुभएका डा लोहनीले धर्म जीवनको अङ्श भएकाले धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू धर्म र राजसंस्थाको पक्षमा आफनो पार्टी रहेको उल्लेख गर्नुभयो । दुबै पार्टीको एकतापछि राप्रपाको पहिलो पटक एकता महाधिवेशन हुन लागेको हो । यस अघि बिहीबार मात्रै कमल थापाले आफूलाई पार्टीले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको दाबी गर्नुभएको थियो । रासस