जुम्ला बहुमखी क्याम्पसमा तालाबन्दी

जुम्ला, फागुन १२। जुुम्ला बहुमुखी क्याम्पसमा बुधबारदेखि अखिल क्रन्तिकारी जुम्लाले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

स्ववियु निर्वाचनको आचारसंहिताबारे सम्पूर्ण सङ्गठन र क्याम्पस प्रशासनबीच बसेको बैठकले कुनै निर्णय लिन नसकेको भन्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

गत माघ १३ गतेभित्र भर्ना भइसकेका विद्यार्थीलाई मतदानबाट वञ्चित गर्न खोजिएको निर्णयका विरुद्ध क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको अखिल क्रन्तिकारीका जिल्ला अध्यक्ष रमेश शाहीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीका अनुसार क्याम्पस प्रशासन एकलौटी ढङ्गले अगाडि बढेको भन्दै आपत्ति जनाउनुभयो । अखिल क्रन्तिकारीले आफैँले तालाबन्दी गरेपनि प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको अधिकारलाई सुनिश्चित गर्न स्ववियु निर्वाचन हुन लागेपनि पटक पटक विद्यार्थी सङ्गठनले क्याम्पसमा तालाबन्दी गर्दा विद्यार्थीको पढाइमा नराम्रो असर पारेको देखिन्छ, त्यसैले अब निकासको बाटोतिर विद्यार्थी नेता लाग्न अति आवश्यक देखिन्छ भनेको छ ।

क्याम्पस प्रमुख वसन्तराज भण्डारीले चुनावी प्रयोजनका लागि मात्र गरिएका संयुक्त भर्ना खारेज गर्ने निर्देशन भएअनुसार निर्णय गरिएको बताउनुभयो । मतदाता नामावली प्रकाशन गर्ने तयारीमा रहँदा यो निर्णय विरुद्धमा भने अखिल क्रान्तिकारीले तालाबन्दी गरेको जनाउनुभयो ।

जुम्लाका सबै विद्यार्थी सङ्गठनबीच माघ २१ गते बैठक बसेर त्रिभुवन विश्वविद्यालयले गरेको परिपत्र सबैले मान्ने सहमति भएको थियो । जुम्ला, दाङ, सिराहामा यो समस्या भएकाले बुधबार त्रिभुवन विश्वविद्यालयमा यसका बारे छलफल भइरहेको उहाँले जनाउनुभयो । रासस

२० डीआईजीको सरुवाः विमानस्थलमा पंकज (यस्तो छ सूचीसहित)

काठमाडौं, फागुन ११ । गृहमन्त्रालयले नेपाल प्रहरीका २० प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले डिआइजीहरुको सरुवा गरेको हो । सोमबार गृहमन्त्रालयले गरेको सरुवाको सूची प्रहरी प्रधान कार्यालयले बुधबार मात्र सार्वजनिक गरेको छ । अख्तियारमा कमल सिंह बमलाई सरुवा गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पंकज श्रेष्ठलाई सरुवा गरिएको छ । त्यस्तै ट्राफिक प्रहरी महाशाखामा रहेका प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अ. नि ब्यूरोमा सरुवा गरिएको छ । बमबहादुर भण्डारीलाई विशेष ब्यूरोबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लगिएको छ । यस्तो छ सूची digp_transfer_2073_11_11  

मोर्चाको घेरावन्दीमा बामदेव गौतम

काठमाडौ, फागुन ११ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले घेराबन्दीमा पारेका छन् । धनुषा क्षेत्र नं. ३ मा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पुगेका नेता गौतमलाई बुधबार गाडीबाट एयरपोर्ट जान खोज्दा मधेशी मोर्चाका नेताहरुले घेराउ गरेका हुन् । जनकपुरस्थित ब्रहमपुरीमा पूर्वराष्ट्रपति रामवरण यादवको घर छेउमा रहेको एमाले नेता रघुवीर महासेठको रहेको घरमा आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले ढुगांमुढा गर्नुका साथै नारावाजी समेत गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले भनेका थिए, ‘पूर्वनिर्धारित कार्यक्रमलाई भाँजो हाल्ने, असफल पार्ने व्यवधान खडा गर्ने कुनै प्रकारका कुचेष्टाहरु गरे नेकपा एमालेले त्यसलाई दृढतापूर्वक अस्वीकार गर्न बाध्य हुन्छ । त्यो स्थितितर्फ कसैले जानु हितकर हुँदैन ।’ मधेशी मोर्चाले शुरु गरेको आन्दोलनलाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले यस्तो चेतावनीयुक्त धारणा राखेपछि मोर्चा एमालेप्रति आक्रोशित रहेको बताइएको छ । एमालेले फागुन २१ गतेदेखि मेचि महाकाली अभियान शुरु गर्दैछ । एमालेको यो दोस्रो चरणको तराई मधेश अभियान हो । मधेशमा एमालेले आफ्नो शक्ति सञ्चय गर्नका लागि यो अभियान सञ्चालन गरेको जानकारहरु बताउछन् । मधेशी मोर्चा र एमालेबीचको द्धन्दका कारण मधेशमा सो पार्टीलाई सांगठित रुपमा धेरै क्षति भएको भन्ने समचारहरु आएपनि एमालेले त्यसको खण्डन गर्दै आएको छ । यद्यपी मधेशी मोर्चाले पनि एमालेले मधेशमा प्रवेश नगरोस् भनि उसका कार्यक्रमहरुमा अवरोध गर्दै आएको छ, तर एमाले मोर्चाको अवरोध छेल्दै मधेश पस्ने प्रयासमा लागेको छ ।

राजनीतिक दलसम्बन्धी विधेयक चाहियो: निर्वाचन आयोग

काठमाडौँ,  फागुन ११ । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ पारित गराउन आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ । हाल सो विधेयक व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा छलफलमा रहेको छ । सो विधेयकमा न्यूनतम मत सीमा (थ्रेस होल्ड) कति प्रतिशत राख्ने वा नराख्ने विषयमा दलका बीचमा मतमतान्तर रहिआएको छ । ठूला तीन दल नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० थ्रेस होल्डका पक्षमा रहेका छन् भने साना दल यसका विपक्षमा रहेका छन् । आयोगको मङ्गलबार सम्पन्न बैठकले सो पत्रचार गर्ने निर्णय गरेका आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको सहभागिताको सुनिश्चितताका लागि राजनीतिक दल दर्ता र व्यवस्थापन गर्न राजनीतिक दलसम्बन्धी कानुन आवश्यक भएको आयोगले जनाएको छ । आयोगको सो बैठकले आगामी वैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति तोकेकोमा सरकारलाई धन्यवाद दिनुका साथै सो मितिमा निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको सरकारलाई लेखी पठाउने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को फागुन ९ गते बसेको बैठकले आगामी वैशाख ३१ गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको थियो । करिब १९ वर्षको अन्तरालपछि सरकारले निर्वाचनको मिति घोषणा गरेको हो । विज्ञप्तिमा आयोगले निर्वाचनका लागि स्थानीय तहको पुनःसंरचनासम्बन्धी प्रतिवेदन आवश्यक पर्ने हुँदा सो प्रतिवेदन शीघ्र उपलब्ध गराइदिन समेत आग्रह गरेको छ । मतदाता नाम दर्ता कार्य स्थगित निर्वाचनको मिति घोषणा भएको हुँदा मतदाता नामावली नाम दर्ता कार्य स्थगित गर्ने निर्णय समेत अयोगले गरेको छ । मतदाता नामावलीलाई अद्यावधिक (सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने) गर्न जिल्ला सदरमुकामबाट आगामी फागुन १७ गतेदेखि २१ गतेसम्म गर्ने निर्णय समेत भएको विज्ञप्तिमा उल्लेख छ ।

आजदेखि स्ववियु निर्वाचन प्रक्रिया सुरु

काठमाडाै‌, फागुन ११ । त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु हुँदै छ । निर्वाचन कार्य तालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराए । उनका अनुसार निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्ने छन् । स्ववियु निर्वाचनको मिति फागुन १८ गते सारिएपछि नयाँ कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया सुरु भएको हो । प्रक्रियाअनुसार नै निर्वाचनमा सहभागी विद्यार्थी सङ्गठनले आजसम्म क्याम्पस निर्वाचन समितिमा सङ्घ सङ्गठन दर्ता पनि गराउने अन्तिम समय तोकिएको छ । उहाँले आजदेखि सुरु हुने स्ववियु निर्वाचन प्रक्रियामा सबै विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा सहभागी जनाउने विश्वास व्यक्त गरे । निर्वाचन प्रक्रिया अनुसार फागुन १२ गते प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने, १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १५ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने तथा फागुन १८ गते मतदान तोकिएको छ । यसअधि त्रिविले फागुन १४ गतेदेखि हुने निर्वाचनको लागि फागुन १ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरेको थियो । त्रिविमा यसपटक आठ वर्षपछि स्ववियु निर्वाचन हुन थालेको हो ।

विपक्षीद्वारा संशोधन प्रस्तावको परिणामको सुनिश्चितता गर्न माग

काठमडौँ,  फागुन ११  । प्रमुख प्रतिपक्षसहितका विपक्षी नौ दलले सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान सशोधन प्रस्ताव निर्णयार्थ पेस हुँदा आउने परिणाम स्वीकार गर्ने निश्चिता नभएसम्म संशोधन प्रस्ताव अघि नबढाउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको विपक्षी नौ दलको बैठकले संशोधन प्रस्तावको सम्बन्धमा मोर्चाका नेताबाट सार्वजनिक भनाइबारे सरकारको स्पष्ट धारणा माग गर्ने निर्णय गरेको नेकपा ९एमाले०का उपाध्यक्ष भीम रावलले जानकारी दिए । उनले भने, “सरकारमा रहेका दुई ठूला दलको यस सम्बन्धी धारणा के छ स्पष्ट उत्तर हामीले पाउन सकेका छैनौँ ।” सरकारले निर्वाचन मिति घोषणा गरेको सम्बन्धमा आफूहरुले स्वागत गरिसकेको भन्दै उपाध्यक्ष रावलले प्रदेशको सीमाङ्कन हेरफेर गर्ने विषय सभामुखले प्रदेशसभामा पठाउनुपर्ने संवैधानिक व्यवस्था रहेको बताए । संशोधन प्रस्ताव आज अघि नबढाउन नौ दलले निर्णय गरेको जानकारी गराउँदै उनले भने, “विपक्षी दलको तर्फबाट सो भनाइ राखेपछि सरकारको तर्फबाट के आउँछ सोही अनुसार हामी अघि बढ्छौ ।” उपाध्यक्ष रावलले संशोधन प्रस्ताव निर्णयार्थ पेस भएपछि आउने परिणामका बारेमा सरकार र मोर्चाको स्पष्ट धारणाको माग गरे ।

तराई । मधेशका विभिन्न जिल्ला बन्द

सप्तरी,  फागुन ११ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज मधेस बन्द गरी प्रदर्शन समेत गरेको छ । मोर्चाका कार्याकर्ताले राजविराज नगरपालिकाको भवनमा तोडफोड गरेका थिए । आज बिहानबाट प्रदर्शनमा उत्रिएका मोर्चाको नेता तथा कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै राजविराज नगरपालिकामा तोडफोड गर्नाका साथै ढुङ्गामुढा गरी कार्यकारी अधिकृत कोठाको झ्यालको सिसा फुटाएका छन् । सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीको सवारी साधन आज बिहानदेखि चल्न दिएको छैन भने शिक्षण संस्था, कलकारखाना, उद्योग, बजार, पसलसमेत बन्द रहेको प्रहरीले जनाएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज एक दिन मधेस बन्द गरेका हुन् । जनकपुर मधेसी मोर्चाको कार्यकर्ताले जनकपुरस्थित एमालेका नेता रघुवीर महासेठको घरमा ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । आन्दोलनरत मोर्चाका कार्यकर्ताले गरेको ढुङ्गामुढाबाट महासेठको घरको दुईवटा झ्यालको सिसा फुटेको छ । नेता महासेठको घरमा तोडफोड भएपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा भएको झडपमा परी मोर्चाका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा सद्भावा पार्टीका राजु साह र कुलदिप साह रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ । महासेठको घरमा तोडफोडलगत्तै व्यापक रुपमा प्रहरी परिचालन स्थितिलाई नियन्त्रणमा लिइएको छ । मधेस बन्दको क्रममा जनकपुरमा बिहानैदेखि मोर्चाका नेता कार्यकर्ताले मोटरसाइकलमा र्याली प्रदर्शन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका थिए । यसैबीच मधेसी दल निकट विद्यार्थी मोर्चाले जनकपुरका क्याम्पसमा तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने घोषणा गरेको छ । सिराहा लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि सिरहाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि सवारी साधन पूर्ण रुपमा ठप्प हुनुका साथै पूर्व– पश्चिम राजमार्ग पनि सुनसान देखिएको छ । बन्दका कारण उद्योग कलकारखाना र पसल समेत बन्द रहेका छन् भने यातायातका साधन सडकमा नचल्दा यात्रु मर्कामा परेका छन् । जिल्लाको लहान, गोलबजार र मिर्चैयालगायतका राजमार्ग क्षेत्रमा मोर्चाका कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका थिए । संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेर सरकारले आफूहलाई धोका दिएको भन्दै मोर्चाले मधेस बन्दको आह्वान गरेको हो । पर्सा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको एक दिने मधेस बन्दको कारण पर्साको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले बिहानैदेखि जिल्लामा रहेका उद्योग, व्यपार, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, यातायातका साधन समेत बन्द गराएपछि जनजीवन प्रभावित भएको हो । बन्द आह्वानकर्ता बिहानैदेखि वीरगन्जको विभिन्न चोकमा टायरबाली लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाएपछि वीरगन्जको बस पार्कमा सयौँ यात्रु अल्पत्र परेका छन् । बन्दका कारण जिल्लामा रहको शैक्षिक संस्था बन्द भएपनि प्रेस, एम्बुलेस, बारुणयन्त्र, पर्यटक सवार सवारी साधन, रिक्सा, टेम्पु, ठेला, मोटरसाइकल भने निर्वाद रुपमा सञ्चालन भएका थिए । बन्दका क्रममा सम्भावित तोडफोड तथा आगजनीजस्ता घटनालाई नियन्त्रण गर्न वीरगन्जमा उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नगरको प्रत्येक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चासो र चर्चाको विषय बन्दै स्थानीय तहको निर्वाचन

वासुदेव पौडेल पोखरा, फागुन ११ । सरकारले स्थानीय तहको निर्वाचन कार्यक्रम घोषणा गरेसँगै यतिखेर सामान्य चिया पसलदेखि होटेल, रेष्टुरा र सार्वजनिक स्थलहरूमा निर्वाचनको विषयले चर्चा पाउन थालेका छन् । नयाँ संविधानको कार्यान्वयनको प्रमुख खुड्कीलाका रुपमा लिइएको यो निर्वाचनलाई सरकार, राजनीतिक दल तथा नागरिक समाज सबैको सकारात्मक सहयोगमा सम्पन्न गरी दुई दशकदेखिको जनप्रतिनिधि बिहीनताको अवस्था अन्त्य गर्नुपर्ने आवाज जनस्तरमा उठेको छ । राजनीतिक सङ्क्रमणको अन्त्यका लागि पनि निर्वाचनको विकल्प नभएको अवस्थामा सरकारले स्थानीय तहको निर्वाचन घोषणागर्नु स्वागतयोग्य भएको बताउने यहाँका क्रियाशील राजनीतिक दलका नेता तथा सामाजिक अगुवाले यसलाई सम्पन्न गराउनु राज्यको प्रमुख दायित्य भएको बताउँछन् । लगभग दुई दशकयता स्थानीय तहको निर्वाचन हुन नसकेका कारण देशमा जनताले स्थानीय निकायबाट प्राप्त गर्ने सेवा सुविधा सहज रुपमा प्राप्त गर्न नसकेको जिल्ला विकास समिति कास्कीका पूर्व सभापति एवम् नेकपा एमाले प्रदेश नं ४ कमिटका सदस्य पुण्य पौडेलले बताएका छन् । “जनप्रतिनिधि बिहीनताका कारण स्थानीयस्तरमा विकास निर्माणका काम पनि धेरै प्रभावित बनेका छन्,” उनले भने, “लामो समयदेखिको जनप्रतिनिधि बिहीनताको अन्त्य गर्दै देशलाई अघि बढाउनका लागि घोषित निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्छ ।” लामो समय जनप्रतिनिधि नहुँदा स्थानीय निकायमा सुशासन कायम हुन नसकेको बताउँदै पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछाने निर्वाचनले जनताप्रति उत्तरदायी नेतृत्व छनोट गर्ने र यसले लोकतन्त्रलाई पनि बलियो बनाउने धारणा व्यक्त गरे । “दुई दशकसम्म स्थानीय निकायको निर्वाचन हुन नसकेका अवस्थामा सरकारले घोषणा गरेको निर्वाचन आफैंमा महत्पूर्ण तथा स्वागतयोग्य छ,” उनले भने, “लोकतन्त्रको सुन्दरपक्ष निर्वाचन हो, घोषित निर्वाचनलाई सबै मिलेर सफल बनाउनुको विकल्प छैन,” नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले भने – सबैको सहयोगमा सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफल पार्नुपर्ने अहिलेको अनिवार्य आवश्यकता हो । “आन्दोलनरत मधेसी दलको मागलाई समेत संम्बोधन गर्ने गरी सरकारले संविधान संशोधनको प्रक्रियालाई अघि बढाउँदै देशमा निर्वाचनको वातावरण बनाउनु आवश्यक छ,” – उनले भने । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष जयलाल पुनले संविधान कार्यान्वयनको पहिलो खुड्कीलाका रुपमा निर्वाचन रहेको बताउँदै निर्वाचन गराउन नसके मुलुक नै असफल बन्ने कुरालाई राजनीतिक दल तथा सम्बद्ध सबैले गम्भीरताका साथ आत्मसात गर्नुपर्ने विचार व्यक्त गरे । राष्ट्रिय जनमोर्चा गण्डकी धवलागिरीका अध्यक्ष शङ्कर बरालले लामो समय स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय निकायमा भ्रष्टाचारले प्रश्रय पाएको र विकास निर्माण लगायतका काम प्रभावित बनेको बताए । “वर्तमानमा निर्वाचन देशको प्रमुख आवश्यकता हो, कुनै पनि बाहानामा यसलाई प्रभावित पार्नु हुदैन,”– उनले भने ।

विपक्षी ९ दलको निर्णयः संशाेधन प्रस्ताव संसदमा पेश भए अबरोध गर्ने

काठमाडौं, फागुन ११ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन प्रस्ताव अगाडि बढाउन नदिने निर्णय गरेको छ । एमाले सहित विपक्षी ९ दलको आज बसेको संयुत्त बैठकपछि  संसोधन बिधेयक संसदमा पेश भए अवरोध गर्ने निर्णय गरेका हुन् । सरकारले भने आजको संसद बैठकमा संसोधन बिषयलाई पेस गर्ने निर्णय गरेको छ । सरकारले २०७४ बैसाख ३१ गते स्थानिय तहको निर्वाचन गर्ने घोषणा गरेलगत्तै मधेसी मोर्चाले बिमति जनाएको छ भने बिपक्षी दल एमाले सहित अन्य दलहरुले घोषणाको स्वागत गर्दै निर्वाचन तोकिएको मितिमै सम्पन्न गर्नुपर्ने बताउँदै आएका छन् । संसोधन बिधेयकमाथि छलफल नभइ निर्वाचन मिति घोषणाले मधेसी मोर्चा रुष्ट बनेको छ। मोर्चाको माग सम्बोधन गर्न र सबै दलहरुलाई सहमतिमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो सर्वदलिय बैठक बोलाएका थिए । नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको संसदीय दल र संसदीय विभागको संयुक्त बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा अलीले संविधान संशोधन प्रस्ताव गैर सवैधानिक भएकाले कुनै पनि हालतमा पारित हुन नसक्ने र हुन नदिइने बताएका थिए । एमाले संशोधन विधेयकलाई प्रक्रियामा जान नदिने र गएमा पारित हुनै नदिने अडानमा रहेको बुझिएको छ ।

जिम्मेवारी र होसियारीपूर्वक संसदमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आवेग र उत्तेजनामा होइन, जिम्मेवारी र होसियारीपूर्वक संसदमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको छ । नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनमा बसेको संसदीय दल र संसदीय विभागको संयुक्त बैठकमा उहाँले आगामी वैशाख ३१ का लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनलाई बाधा नहोस् भन्ने ढङ्गबाट होसियारीपूर्वक प्रस्तुत हुन निर्देशन दिएको हो । अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव गैर सवैधानिक भएकाले कुनै पनि हालतमा पारित हुन नसक्ने र हुन नदिइने बताउँदै एमाले सहितका नौ दलको निर्णयपछि मात्र संसद्मा कसरी प्रस्तुत हुनेभन्ने निक्र्यौल हुनेबारे जानकारी गराउनुभएको सांसद रेवतीरमण भण्डारीले जानकारी दिए । उनले भने– “चुनाव जुनसुकै हालतमा पनि वैशाख ३१ मै हुनुपर्छ, गराउनुपर्छ, सरकारसँग हाम्रो अरु कुनै माग र अडान छैन, एक मात्र माग भनेको निर्वाचनमात्रै हो, यसमा हामी सरकारलाई बिनाशर्त सहयोग गर्छौ, सहयोग भूमिका निर्वाह गर्ने छौँ ।” बैठकले दलले अघि सारेका मेची–महाकाली अभियानलाई अत्यन्तै सफलतापूवर्कक सम्पन्न गर्न सबै पार्टी पङक्तिलाई त्यसै अनुरुपको भूमिका र जिम्मेवारी बहन गर्न निर्देशन दिने निर्णयसमेत भएको बताइएको छ ।

निर्वाचनको वातावरण बनाउन नयाँ शक्तिको माग

काठमाडौँ, फागुन ११ । नयाँ शक्ति पार्टी, नेपालले चुनावको निम्ति आवश्यक वातावरण तयार पारी सबै पक्षबीच विश्वासको वातावरण बनाउन सरकारसँग माग गरेको छ । पार्टीका संयोजक डा.बाबुराम भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गरी जारी संविधानप्रति असन्तुष्ट पक्षको माग सम्बोधन गर्न, संविधान संशोधन तथा प्रदेशको सीमाङ्कनको विषय हल गर्दै स्थानीय तह पुनःसंरचनाको विवाद अन्त्य गर्न सरकारसँग माग गरे । स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर्न आग्रह गर्दै उनले भौगोलिक अखण्डताको संरक्षण गरी राष्ट्रिय एकता सुदृढ गर्न स्थिरता र विकासको सुनिश्चितताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताए । संयोजक डा.भट्टराईले निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिदैं समय र खर्चको मितव्ययिता अपनाउन संघ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटी सम्पन्न गर्न माग गरे ।

प्रधानमन्त्री र युनेस्कोका उम्मेदवार डा.कवारीबीच भेटवार्ता

काठमाडौं, फाल्गुण ११ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा। हदम अल कवारीले भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा युनेस्कोको डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले आफ्नो पक्षमा मतदान गर्न डा.कवारीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । कतारका नागरिक कवारीले कतारको विकासमा नेपालीहरुले गरेको योगदानको प्रशंसा गर्दै कतारमा कार्यरत नेपालीहरुको हितमा आफूले काम गर्ने बताए । भेटमा प्रधानमन्त्रीले डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले सहयोग गर्ने बताए । नेपाल र कतारबीच मैत्रीपूर्ण र हार्दिक सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा नेपालको विकासमा कतारले थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।

आजदेखि संसोधन विधेयक संसदमा, के गर्ला एमालेले ?

काठमाडौं, फागनु ११ । आजदेखि व्यवस्थापिका संसदमा संविधान विधेयक सम्बन्धी प्रक्रिया अगाडी बढ्ने भएको छ । सरकारले स्थानिय तहको निर्वाचनको मिति २०७४ बैसाख ३१ गर्ने निर्णय गरेसंगै मधेसी मोर्चाले संविधान संसोधन नगरि निर्वाचनमा नजाने बताएको छ । मधेसी मोर्चाको मागलाई सम्बोधन गरेर जाने मनसाय बनाएको सरकारले आज संसदमा संसोधन विधेयक अगाडी बढाउने निर्णय गरेको छ । संसोधन प्रक्रिया अगाडी बढाउने की नबढाउने भन्ने विषयमा प्रतिपक्ष दल नेकपा एमालेको मुख्य भुमिका हुनेमा एमालेले अझैसम्म सकरात्मक संकेत दिएको छैन । मंगलबार बसेको संसद बैठकमा दलहरुबीच विधेयकलाई कार्यसूचीमा राख्ने नराख्ने बिषयमा समहमति हुन नसकेपछि आज दिउँसोसम्मको लागि बैठक स्थगित गरिएको थियो । सरकारले गरेको स्थानिय चुनाव मिति घोषणाको स्वागत गरेको प्रतिपक्ष दल नेकपा एमालेले संसोधनमा साथ दिने की नदिने भन्ने निर्णय गर्न आज ९ दलीय बैठक बोलाएको छ । आज साढे १२ बजे संसद भवन परिषरमा बस्ने भनिएको बैठकमा एमालेले संसोधन विधेयकमा भएको अबरोध फुकाउने की नफुकाउने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

राप्रपा केन्द्रीय सदस्यको मतगणना सम्पन्न, नायिका रेखा थापादेखी कोमल वली विजयी

काठमाडौँ, फागुन ११। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । राति अबेरसम्म भएको मतदान पछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वाचित हुनुभएको छ । त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ र राजाराम गर्तौलालगायत निर्वाचित हुनुभएको जनाइएको छ । राष्ट्रिय सभागृह तथा भृकुटीमण्डप उद्यान क्षेत्र आसपासमा भएको फोहोरलाई आज दिउँसो सफा गरिने पार्टी नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । यही फागुन ६ गतेदेखि सुरु भएको अधिवेशनलाई आज औपचारिक कार्यक्रम गरी समापन गरिने बताइएको छ । रासस

नेपाल र मलेसियाबीच श्रम सम्झौताबारे छलफल

काठमाडौँ, फागुन ११। नेपाल र मलेसियाबीच श्रम सम्झौताका विषयमा बुँदागत रुपमा छलफल भए पनि ठोस सहमति जुट्न सकेन । नेपाल भ्रमणमा रहेको मलेसिया सरकारको मानव संशाधन मन्त्रालयका सहसचिव केसावन करुप्पिह नेतृत्वको टोली र नेपालका तर्फबाट श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल नेतृत्वको टोलीबीच श्रम सम्झौताका बुँदामा सोमबार र मङ्गलबार चरणबद्ध वार्ता भएको थियो । वार्ता सकारात्मक भए पनि मलेसियाले केही बुँदामा थप छलफल गर्नुपर्ने आवश्यकता औँल्याएपछि ठोस सहमति हुन नसकेको वार्तामा सहभागी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो । असहमतिका बुँदाबारे भने उहाँले खुलाउन चाहनुभएन । काफ्लेले भन्नुभयो, “श्रम सम्झौताको अधिकांश बुँदामा सहमतिमा पुगिएको छ । हामीले प्रस्ताव गरेकामध्ये दुई÷चार बुँदामा उनीहरुले आफ्नो धारणा पठाउने र त्यसमा हाम्रो प्रतिक्रियापछि त्यसलाई अन्तिम रुप दिने सहमति भएको छ ।” मलेसियाका तर्फबाट सहसचिवको नेतृत्वमा सात सदस्यीय टोली वार्तामा सहभागी थियो । नेपालको तर्फबाट सहसचिव भुर्तेलसहित बोर्डका कार्यकारी निर्देशक काफ्ले, वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे, परराष्ट्र मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको थियो । मलेसियाली पक्षले निःशुल्क प्रवेशाज्ञा र टिकट, २४ घण्टे बिमालगायतका विषयमा थप छलफल गर्नुपर्ने बताएको थियो । दुवै पक्षले वार्तामा प्रस्ताव भएका विषयमा थप अध्ययन गरेर छिट्टै सम्झौतालाई अन्तिम रुप दिने सहमति गरेका छन् । छलफलमा मलेसिया जाने कामदारबाट विभिन्न नाममा रकम असुल्ने कार्य भएको भन्दै सो रोक्न मलेसियाली टोलीको ध्यानाकर्षण गराइएको थियो । मलेसियाली टोलीको नेतृत्व गर्दै सो देशका मानव संशाधनमन्त्री नै नेपाल आउने तयारी रहेकामा श्रम सम्झौतामा तत्काल सहमति हुने सम्भावना नदेखएपछि सहसचिवको नेतृत्वको टोली आएको हो । यसअघिका वर्षहरुमा मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक रहेकामा गत वर्ष भने तेस्रो प्रमुख गन्तव्य मुलुकमा झरेको थियो । हाल छ लाखभन्दा बढी नेपाली मलेसियामा कार्यरत छन् । रासस

संविधान संशोधन प्रस्ताव भोलीदेखि संसदमा, एमाले सकारात्मक

काठमाडौं, फागुन १० – संविधान संशोधन प्रस्ताव भोली बुधबारदेखि संसदमा अघि बढ्ने भएको छ । विभिन्न राजनीतिक दलका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबारदेखि संसदमा संविधान संशोधन प्रस्ताव अघि बढ्ने बताए । आज बसेको सर्वदलीय बैठकमा एमालेले संशोधन प्रस्तावमा आफ्नो अडान कायमै रहेको बताएपनि निर्वाचनको विषयमा भने सरकारलाई पुरै सहयोग गर्ने बताएको थियो । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने चुनाव गर्नका लागि सरकारलाई पूर्णरुपमा सहयोग गर्न एमाले तयार रहेको र मोर्चाले पनि चुनावमा भाग लिने बताउनुभयो । संविधान संशोधन प्रस्तावबारे एमालेको अडान यथावत रहेको उहाँको भनाई थियो । सरकारले आफूहरुका माग अटेर गरि स्थानीय चुनावको मिति घोषणा गरेको भन्दै मधेसी मोर्चाका नेता भने बैठकमा गएनन् ।