अनेकोट घटना सम्झँदै भावुक भए बादल

काठमडौं, चैत ५ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य रामबहादुर थापा बादलले पार्टी सहिदले देखाएको बाटोमा हिँड्ने बताएका छन् । १८औं सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा जनसांस्कृतिक महासंघले शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको सिर्जना र संवाद कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बादल अनेकोट घटना सम्झँदै निकै भावुक बनेका थिए ।

संवोधनका क्रममा बादलले सहिदलाई स्थापित गर्नका लागि केही गर्न नसकेको भन्दै उनले अब योजना बनाएर अघि बढ्नुपर्ने बताए । बादलले आज सहिदको सपना पूरा गर्ने संकल्पको दिन भएको भन्दै सहिदले देखाएको सपना र प्रतिरोधको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।

समाजमा विद्यमान जातीय, लैङ्गिक र क्षेत्रीय उत्पीडन आफूहरुलाई मान्य नहुने पनि बादलले बताए ।

काभ्रेको अनेकोटमा सहिद स्मारक बनाउने प्रक्रिया अघि बढाउन उनको प्रस्ताव छ । २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा तत्कालीन राज्य पक्षले ७ जना कलाकारको हत्या गरेको थियो । सोही दिन मारिएका कलाकारहरुको सम्झनामा माओवादीले बर्सेनि सांस्कृतिक प्रतिरोध दिवस मनाउने गरेको छ। कार्यक्रममा १५ जना श्रष्टाले सहिदप्रति समर्पित कविता वाचन गरेका थिए।

मधेश छिर्यो वाईसीएल, चुनावकेन्द्रित १ महिने अभियान गर्ने

महोत्तरी, चैत ५ । नेकपा एमालेका हरेक कार्यक्रम मधेसी जनताले विरोध गरिरहेको बेला माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लीग (वाईसीएल) भने मधेश पसेको छ । महोत्तरीको मध्य भाग दोलाठीमा प्रदेश न २ को एकता भेला गरेर एक महीने कार्ययोजना सहित चुनावकेन्द्रित अभियान थालिएको वाइसियलले जनाएको छ । तराइका ८ जिल्लामा अभियान गर्ने योजना सहित शुक्रबारदेखि महात्तरीबाट अभियान सुरु भएको हो । चुनावी कार्ययोजना निर्माणको लागि महोत्तरीबाट केन्द्रीय नेताहरू सहित अभियान सुरु भएको हो । अभियानमा मधेशको अधिकार प्राप्तिको लडाईमा माओवादीले खेलेको भुमिका, चुनाव सम्पन्न गराएर प्राप्त उपलब्धिको रक्षा गर्ने कुराको महत्त्व र सरकारले गरेको कामको प्रचार सँगै मधेसमा चुनावी माहोल सृजना गर्न जनताको घर घर पुग्ने योजनासहित अभियान सुरु भएको वाइसियलले जनाएको छ । २ नं प्रदेश अन्तर्गतका जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यहरूको उपस्थितिमा एक महिने चुनावी अभियानको कार्ययोजना बनाइएको वाइिसयलले जनाएको छ । उक्त अभियानका लागि माअोवादी केन्द्रका कार्यालय सदस्य मणि थापासहित वाइसियल केँद्रीय महासचिव रामप्रसाद सापकोटा (दीपशिखा)लगायतका नेताहरु उपस्थित छन् । YCL-tarai-2 YCL-tarai 1

राप्रपाको घाँटीमा निर्वाचन आयोगको पासो, एजेण्डा नै आयोगले खोसेपछि संकटमा कमल थापा !

काठमाडौं, ५ चैत । ‘राजतन्त्र सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र’ भन्ने नारा दिएर चुनावको तयारीमा जुटेको राप्रपा नेपाल निर्वाचन आयोगको आदेशले रन्थनिएको छ । निर्वाचन आयोगले संविधानविपरीतका शब्द हटाऊन आदेश दिएको थियो । स्थानीय चुनावमा हिन्दु र राजावादीहरूको समर्थन लीन पार्टीले संविधान संशोधन गरी राजा र हिन्दु धर्म राज्यको धर्म हुने एजेंडामा चुनाव लडने बताएको थियो । आयोगको निर्देशनपछि शनिबार राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा विहापदाधिकारी तथा राजधानीमा रहेका केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक बसेको छ । बैठकले निर्णय तत्काल नसच्चिए आन्दोलनमा जानुको बिकल्प नभएको निष्कर्ष निकालेको छ । तर राप्रपाले जे चेतावनी दिएपनि संविधान र निर्वाचन एन अनुसार धर्म जाती सम्प्रदायको मुद्दामा चुनाव प्रचार गर्न र दल खोलन पाईदेन । बैठकमा अधिकांश केन्द्रीय समिति सदस्यले निर्वाचन आयोगको निर्णय मान्य नसकिने भन्दै कानुनी उपचार खोज्नु पर्ने धारणा राखेका थिए । राप्रपा नेपाल र राप्रपाबीच भएको एकीकरण पछि गत फागुन पहिलो साता भएको पार्टीको महाधिवेशनले प्रजातन्त्रसहितको राजतन्त्र र हिन्दुराष्ट्र हुनु पर्ने विधान पारित गरेको थियो । शुक्रबार निर्वाचन आयोगले संविधानको मर्म विपरित भएको भन्दै राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दुराज्यसम्बन्धी शब्दावली हटाउँदै वाँकी विधान अनुमोदन गरेको थियो । आयोगको निर्णयमा असन्तुष्टि जनाएको राप्रपाले आगामी सोमबार राजधानीस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय सहित मुलुकभर रहेका जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । यस्तै सोही दिन राप्रपाले धर्ना दिने कार्यक्रम समेत तय गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । यस्तै राप्रपाले संवैधानिक हिन्दु राष्ट्र कायम गर्ने बिषयमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय समेत गरेको नेता श्रेष्ठले जानकारी दिए ।

यी हुन् पाँच उपमहानगर सहित १७८ नगरपालिकाका कार्यकारी अधिकृत (नामावलीसहित)

काठमाडौं, चैत ५ । सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले खटाइएका कार्यकारी अधिकृतको सूचि सार्वजनिक गर्दै उनीहरुलाई समयमै खटाइएको क्षेत्रमा काम गर्न निर्देशन पनि गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपुसचिवहरुलाई उपमहानगरपालिका र नगरपालिकाकाको कार्यकारी अधिकृत बनाइ पठाएको हो । मन्त्रालयले पठाएका कार्यकारी अधिकृतमा भरखरै अधिकृतमा नाम निकालेका शाखा अधिकृत पनि छन् । उनीहरुलाई निमित्त कार्यकारीको जिम्मेवारी दिइएको छ । भने उपसचिवमा नाम निकालेका र नियुक्ति पत्र नबुझेका उपसचिवहरुलाई पनि कामुको जिम्मेवारी दिएर विभिन्न नगरपालिकामा खटाइएको छ । मन्त्रालयले शुक्रबार ४८१ गाउँपालिकाका लागि अधिकृत तोकेको थियो । नयाँ संरचनाअनुसार ४ महानगरपालिका, १३ उपमहानगरपालिका र दुई सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित १७८ नगरपालिकाका कार्यकारी अधिकृत तोकेको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना रलिइ हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ । हेर्नुस् कसले कहाँको जिम्मेवारी पाए

भारत भ्रमण उपलब्धिमूलक रह्योः गृहमन्त्री निधि

काठमाडौँ, चैत  ५। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आतङ्कवाद प्रतिवादसम्बन्धी भारतमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई शुक्रबार नेपाल फर्केका छन् ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री निधिले भ्रमण उपलब्धिमूलक रहेको बताए । उनले सबै किसिमको आतङ्कवादको अन्त्यका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र नेपाल आतङ्कवादको अन्त्यका लागि प्रतिबद्ध रहेको भनी सम्मेलनमा प्रस्तुत गरेको नेपालको प्रस्ताव स्वीकृत भएको उल्लेख गरे।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको चर्चा गर्दै गृहमन्त्री निधिले प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको आश्वासन दिएको जानकारी दिए । नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउन भारत तयार रहेको गृहमन्त्री निधिले बताए ।  उनले दुई देशबीचको सम्बन्धमा देखिएको समस्यालाई कूटनीतिक तवरबाट समाधान गर्न सकिने धारणा दुवै पक्षबाट व्यक्त गरिएको बताए । उनले भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुस्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह तथा भारतीय नेताहरु डा मनमोहन सिंह, डिपी त्रिपाठी, सीताराम येचुरी, त्यहाँका पत्रकार , नागरिक समाजका अगुवासँग भेट भएको र ती भेटघाटमा सबैले नेपालको लोकतन्त्र र आर्थिक समृद्धिमा भारतको अत्यन्त सहयोग र सहानुभूतिको भावना देखाएको बताए ।  इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनमा भाग लिन उनी फागुन ३० गते त्यसतर्फ प्रस्थान गरेका थिए । रासस

राप्रपाको विधानबाट ‘राजसंस्था’ र हिन्दू राष्ट्र’ हट्यो !

काठमाडौं, चैत ४ । निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको छ । आयोगको शुक्रबार बसेको बैठकले राप्रपा विधानको राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी संविधानसँग बाझिएको ठहर गर्दै हटाइदिएको हो । राप्रपाले निर्वाचन आयोगको निर्णयबारे छलफल गर्न शनिबार आकस्मिक बैठक बोलाएको छ । राप्रपाको विधानको प्रस्तावनामै ‘पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको लोकतन्त्रको मान्यता अभिवृद्धि र कायम गर्न’ भन्ने वाक्यांश थियो । विधानको धारा ५ मा ‘नेपालमा सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांशसमेत उल्लेख थियो । फागुन ६–१० मा भएको राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजसंस्थासम्बन्धी वाक्यांश मुलुकको संविधानसँग मेल नखाएकाले विधानबाट हटाइएको जानकारी आयोगका अधिकारीले दिएका छन् । ‘संविधानको धारा ४ मा उल्लिखित धर्म निरपेक्ष तथा गणतन्त्रात्मकसम्बन्धी प्रावधानसँग मेल नखाएको देखिएको तथा राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा ८ को उपदफा (१) को खण्ड (ग) मा दलको नाम, उद्देश्य, चिह्न वा झण्डा धार्मिक, साम्प्रदायिक वा देशलाई विखण्डित गर्ने प्रकृतिको भएमा आयोगले दल दर्ता गर्न अस्वीकारसमेत गर्न सक्ने उल्लेख भएको देखिँदा उक्त हिन्दु राष्ट्र एवं राजसंस्थासहितको र हिन्दुत्वको भन्ने वाक्यांश हटाई विधानको बाँकी व्यहोरालाई प्रमाणित गर्ने’ आयोगको निर्णयमा उल्लेख छ । आयोगको निर्णयले राजसंस्था र हिन्दू राष्ट्र स्थापनालाई मुख्य एजेण्डा बनाएको पार्टी राप्रपालाई अप्ठेरोमा पारेको छ । निर्वाचन आयोगको यो निर्णयपछि अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत आयोगले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको प्रतिक्रिया दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘संविधानले विचार स्वतन्त्रता ग्यारेण्टी गरेको छ। पार्टीको विचार निषेध गर्ने अधिकार कसैलाई छैन्। विचार निषेध गर्ने भए चुनावमा भाग लिनुको औचित्य रहन्न। संविधानले हिन्दुराष्ट्र र राजसंस्थाको विचार लिएर जनतामा जान निषेध गरेको छैन। विचार स्वतन्त्रतामा बन्देज लगाउनु चुनाव हुन नदिने षडयन्त्र हो।’ उनले लेखेका छन्, ‘राप्रपा संविधान र संबैधानिक व्यवस्थासँग सहकार्य गर्दै आफ्नो मान्यता स्थापित गर्ने बाटोमा हिडेको छ। कृपया संवैधानिक बाटो अवरुद्ध नगरियोस्।’

दाहालको प्रश्न, कानुनी प्रक्रिया पूरा गरेर हतियार राख्न पनि पाईदैन ?

काठमाडौं, चैत ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेर हतियार राखेको विषयलाईलाई अतिरञ्जित गरिएकोमा असन्तुष्टि जनाएका छन् । आफूले हतियार राखेको बारेमा केही मिडियामा आएका समाचारप्रति संकेत गर्दै दाहालले शुक्रबार लेखेका छन् -सरकारले उल्लेख गरेको नियम र कानुनको अधिनमा रही प्रक्रियासंगत रुपमा हतियार राखेको हो । यसमा अनावश्यक भ्रम फैलाउनु आवश्यक नभएको उनले बताएका छन् । ‘निश्चित कानुनी प्रक्रिया पूरा गरेर हतियार राख्न पाउने अधिकार नेपालको कानुनले सबैलाई सुरक्षित गरेको छ । त्यही कानुनी प्रक्रिया पूरा गरेर मैले पनि बाइस बोर लिएको कुरा साँचो हो । तर नेपालको कानुनअनुसार प्रक्रिायासंगत रुपमा हतियार राखेको कुरालाई अतिरञ्नित गर्न आवश्यक छैन,’ स्वकीय सचिव दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेरै २२ बोरको राइफल राखेको बताएका छन्। उनलेव्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनबाट अनुमति लिएर हतियार राखेको स्वीकारेका छन्। उनले नेपाल सरकारले बनाएको नियमलाई मानेर हतियार खरिद गरिएको र उक्त हतियार जम्मा १ लाख पचास हजारको भएको बताएका छन् । आफूले किनेको २२ बोरको बन्दूक एक लाख ५० हजार रुपैयाँ मूल्यको भएको उनले दाबी गरेका छन्। ‘मैले लिएको बाइस बोर १५ लाखको होइन, सरकारलाई तिरेको राजस्वसहित एक लाख पचास हजार रुपैयाँ बराबरको हो ।’ यसबारे गरिएका गलत प्रचारबाट मुक्त हुन म सम्पुर्ण शुभचिन्तकहरुमा आग्रह गर्दछु शुक्रबार फेसबुक पेजमार्फत् उनले भनेका छन्। हो मैले बाइस बोर लिएको कुरा साँचो होु, उनले भनेका छन्। गृह मन्त्रालयको सिफारिशमा आफूले २२ बोरको बन्दूक र २ सय गोली राख्ने अनुमति लिएको उनले बताएका छन् । दाहालले गत वर्षको पुषमा आफूलाई सुरक्षा खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हतियारका लागि निवेदन दिएका थिए। डेढ वर्षअघि दिएको निवेदनमा सुनुवाई गर्दै फागुन २६ गते जिल्ला प्रशासनले उनलाई राइफल राख्ने अनुमति दिएको थियो।

आक्रमण उत्रियो मोर्चा, कतै कालोझण्डा, कतै तालाबन्दी र तोडफोड

लहान, चैत ४। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले सिरहाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन् । स्थानीय तह संरचनाको विरोध गर्दै मोर्चा कार्यकर्ताले तोडफोड साथै तालाबन्दी गरेका हुन् । सिरहामा ११ गाउँपालिका र ६ नगरपालिकामध्ये अधिकांश कार्यालयमा मोर्चा कार्यकर्ताले तोडफोड गरी साइनबोर्ड हटाइदिएका छन् । जिल्ला विकाश समितिबाट रुपान्तरित जिल्ला समन्वय समिति सिरहाको कार्यालयमा पनि मोर्चा कार्यकर्ताले तालाबन्दी गरिदिएका छन् । यसैगरी लहान नगरपालिका र सिरहा नगरपालिका कार्यालय तथा सखुवाननकारकट्टी, लक्ष्मीपुरपतार, बलगावा, नवराजपुर गाउँपालिका तथा धनगडिमाई नगरपालिकामा मोर्चाका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । सरकारले स्थानीय तह कार्यान्वयनमा आएको घोषणा गरी कार्यालय प्रमुखहरुलाई नियुक्त गरे पनि मोर्चा कार्यकर्ताले कामकाज ठप्प पारेका छन् । सरकारको समर्थन फिर्ता लिएको मोर्चाले स्थानीय तह कार्यान्वयनमा अवरोध पुर्याउने निर्णय गरेपछि प्रदेश २ का जिल्लाहरुमा अवरोध भएको छ । यता, सिरहाको सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरेको विरोधमा स्थानीयवासी झाडु बाकेर सडकमा उत्रिएका छन् । साविक सुखीपुर नगरपालिका बचाउ सघर्ष समितिले बिहीबार झाडु सहित प्रदर्शन गरेको छ । २०७२ असार १ गते मन्त्री परिषद्को निर्णय अनुरुप विभिन्न ७ वटा गाविसहरु समायोजन गरी नगरपालिका घोषणा गरेको थियो । हाल मन्त्री परिषद्को निर्णयअनुसार सुखीपुर नगरपालिकालाई गाउँपालिका बनाइएको छ । मोर्चाका कार्यकर्ताले विहीबार सप्तरीको जिल्ला समन्वय परिषद्मा तालाबन्दी गरिदिएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले भने ‘कञ्चनपुर घटनाका दोषीलाई कारवाही गर्छाै

नयाँदिल्ली, चैत ४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कञ्चनपुर घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् । घटनाबारे हाल सुक्ष्म अध्ययन भन्दै दोषी पाइएमा कारवाही गर्ने बताएका हुन् । भारत भ्रमणमा रहेका नेपालका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाको अध्ययन भइरहेको बताउँदै दोषीलाई चाँडै कारवाही गर्ने आश्वासन दिएका छन् । भारतीय प्रधानमन्त्रीको सरकारी निवास लोक कल्याण मार्गमा भएको भेटवार्तामा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय पनि सहभागी रहेका थिए । भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा उपप्रधान तथा गृहमन्त्री निधीले कञ्चनपुर घटनाबारे कुरा उठाएका थिए । प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरिसेको बताउँदै घटनाको विषयमा सुक्ष्म अध्ययन भइरहेको बताए । अध्ययनपश्चात दोषीलाई काराबाही गर्न भारत सरकार तयार रहेको उनले बताए । यसैगरी नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भारतलाई ‘लजिस्टिक सपोर्ट’ गर्न आग्रह गरेका छन् । त्यस्तै निधिले भारतमा हालै भएका प्रान्तिय निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीले सफलता हात पारेको प्रति नेपाल सरकार, नेपाली जनता, पार्टी सभापति शेरबहादुर देउवा र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गरेका थिए । आसन्न स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको पनि मोदीले बताए । प्रति आतंकवादसम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चार दिनअघि उपप्रधानमन्त्री निधि त्यहाँ पुगेका थिए । उनी शुक्रबार नै स्वदेश फर्किनेछन् ।

कर्मचारीको पूँजी अब जलविद्युतमा लगानी हुन्छः उर्जामन्त्री शर्मा

काठमाडौँ, चैत ४  । ऊर्जामन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारीलाई समेत जलविद्युत् आयोजनामा लगानीका लागि प्रोत्साहित गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको शुक्रबार ललितपुरमा उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले मुलुकको कर्मचारी प्रशासनमा रहेको सीप, ज्ञान, योग्यता तथा क्षमता र पूँजीलाई जलविद्युत् आयोजना निर्माणमा लगाउने योजनामा सरकार रहेको बताउनुभयो । पश्चिम कर्णाली परियोजना अगाडि बढाउने योजना अगाडि सारिएको उहाँको भनाइ छ । ऊर्जामन्त्री शर्माले राष्ट्रलाई समृद्ध बनाउने उज्यालो नेपाल अभियानलाई सफल पार्नुपर्ने र ‘नेपालको पानी जनताको लगानी’ नारालाई मूर्त रुप दिन लगानी प्रतिबद्धता मागिएको स्पष्ट पार्नुभयो । विद्युत्भार कटौती अन्त्य भयो मन्त्री शर्माले माध्यमिक शिक्षा परीक्षाको समय पारेर अहिले देशभर विद्युत्भार कटौतीमुक्त गरिएको र त्यसलाई निरन्तर रुपमा अगाडि बढाउने योजनामा सरकार लागेको बताउनुभयो । उपलब्ध साधन र स्रोतको समुचित प्रयोग गरेर मुलुकमा नयाँ आशा र चेतना छर्न सरकार सफल भएको भन्दै विद्युत् उत्पादन, वितरण तथा प्रयोगमा समेत सबैको साथ र सहयोग जरुरी रहेको उहाँको भनाइ थियो । जलविद्युत् उपयोग गर्ने नीतिको अभाव देखिएको, पानीको क्षेत्रमा गर्ने कुरा धेरै भए पनि कामकाजी संस्थालाई निष्क्रिय बनाइएकाले पनि प्रभावकारी काम हुन नसकेको भन्दै उहाँले अब त्यसरी नचल्ने स्पष्ट पार्नुभयो । मन्त्री शर्माले पश्चिम कर्णालीमा आम राष्ट्रसेवकको लगानी गरेर अगाडि बढाउने योजना अगाडि सारिएको जानकारी दिँदै उहाँले माथिल्लो अरुणमा नागरिक लगानी कोषको पैसा लगानी गरेर नेपाल विद्युत् प्राधिकरणले योजना अगाडि बढाउने बताउनुभयो । सरकारको दायित्व रहने गरी बूढीगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाइएको र स्वदेश तथा विदेशबाट पनि लगानी जुटाउन मन्त्रालय लागिपरेको उहाँको कथन थियो । विद्युत्भार कटौती अन्त्यको प्रसङ्ग पुनः जोड्दै उहाँले त्यसले देशमा ठूलो आशा पलाएको र आगामी पाँच वर्षमा समृद्धिको एउटा खुट्किलो पार गर्न सक्ने विश्वास पैदा भएको बताउनुभयो । जल तथा ऊर्जा आयोगका सचिव मधुसूदन अधिकारीले पानीको उपयोग धेरै क्षेत्रमा भए पनि एकीकृत नीति र योजनाको अभावका कारण प्रभावकारी काम हुन नसकेको बताउनुभयो । पानी जीवन भएकाले सोही आधारमा व्यवहार गर्न र पानी जोगाउनका लागि सबै क्षेत्रले उत्तिकै सहयोग गर्नुपर्ने उहाँको धाराणा थियो । हरेक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस र मार्च २३ को दिन मनाइने मौसम दिवसको सन्दर्भ पारेर नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समितिले कार्यक्रमको आयोजना गरेको हो । राष्ट्रव्यापी रुपमा मनाउन लागिएको यस कार्यक्रमको मुख्य उद्देश्य स्वच्छ पानीको महत्वबारे जनचेतना फैलाउने र पानीको स्रोत तथा दिगो व्यवस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माणको तहसम्म ध्यानाकर्षण गराउनुका साथै पानीको दिगो व्यवस्थापनका लागि जनचेतना जगाउने प्रमुख उद्देश्य रहेको जल तथा ऊर्जा आयोगका सहसचिव केशवध्वज अधिकारी बताउनुहुन्छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको विश्व पानी दिवसको नारा ‘फोहर पानीको पुनःप्रयोग’ राखेको छ । रासस

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका उप महासचिवबीच भेट

काठमाडौं, चैत ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघका उपमहासचिव सम्साद अख्तरले शिष्टाचार भेट गरेकी छिन् । संयुक्त राष्ट्र संघको इकोनोमिक एण्ड सोसल कमिसन फर एसिया एण्ड प्यासिफिकका कार्यकारी प्रमुखसमेत रहेकी सम्साद अख्तरले आफ्नो ५ बर्षे कार्यकाल पूरा गरेको अवसरमा प्रधानमन्त्रीसँग बिदाई भेट गरेकी हुन् । शुक्रबार बिहान सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले उनको कार्यकालमा नेपालको विभिन्न क्षेत्रमा संयुक्त राष्ट्र संघवाट प्राप्त सहयोगप्रति आभार प्रकट गरे ।  साथै नेपालको शान्ति प्रक्रियालाई मौलिक ढंगले टुंगो लगाउन संयुक्त राष्ट्र संघले पुर्याएको योगदानप्रति आभार प्रकट गरे । उक्त अवसरमा अख्तरले प्रधानमन्त्रीलाई आगामी अप्रिल २१ र २२ गते बैंककमा हुने संयुक्त राष्ट्र संघको सेस्टेनेभल डेभलपमेन्ट सम्बन्धी क्षेत्रीय सम्मेलनमा सहभागिताका लागि निम्तोपत्र हस्तान्तरण गरिन् । उनले नेपालको विकास, शान्ति र आर्थिक सम्वृद्धिका लागि संयुक्त राष्ट्र संघको सहयोग जारी रहने जानकारी दिइन् । साथै विश्वमा शान्ति स्थापनाका लागि नेपालको योगदानको उच्च प्रशंसा गरेकी छिन् ।

एमाले र मधेसवादी दललाई राष्ट्रिय सरकारमा आउन सञ्चारमन्त्रीको आब्ह्वान

भक्तपुर, फागुन ४ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रतिपक्षमा रहेको एमालेलाई सरकारमा आउन आह्वान गरेका छन् । शुक्रबार रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिया कार्याक्रममा उनले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सरकार आवश्यक रहेको भन्दै एमालेसहित मधेसवादी दललाई सरकारमा आउन आग्रह गरेका हुन् । उनले भने- ‘संविधानको सफल कार्यान्वयनका लागि एमालेसहित मधेसवादी दल सरकारमा आउनुपर्दछ ।’ मन्त्री कार्कीले एमाले र मधेशवादी दलसमेत सरकारमा आएर राष्ट्रिय सहमतिको सरकार बन्नसके संविधान कार्यान्वयन हुने बताए । अहिले प्रतिपक्षमा रहेको एमालेले राष्ट्रवादको टिका लगाएर चुनाव जित्ने रणनीतिमा लागेकोमा उनले असन्तुष्टि जनाए । “एमाले परम्परागत राष्ट्रवादको टोपी लगाएर आगामी चुनाव जित्न खोज्दैछ, परम्परागत टोपी खोलेर तराई, पहाड, हिमाल, सबै जातजाती, भाषा, धर्म अटाउने खुला टोपी लगाउन म एमालेलाई आग्रह गर्न चाहन्छु,” उनले भने । मन्त्री कार्कीले मधेसवादी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारसँगको ‘कनेक्सन’ नटुटेको बताए । मन्त्री र्काीले भने– “सरकारसँग मधेसी मोर्चाको संवाद, छलफल टुटेको छैन, संवाद अन्त्य भएको पनि छैन, मधेसवादी दल पनि निर्वाचनमा आउनुको विकल्प छैन, आउनुहुन्छ ।” मधेसवादी दललाई चुनाव जितेर आफूले चाहेजस्तो संविधान बनाउन मन्त्री कार्कीले सुझाव दिए । अनावश्यक माग राखेर संविधानबारे अनवश्यक हल्ला फैलाइएकोमा मन्त्रीले असन्तुष्टि जनाए । “नेताहरुले यति लाख जनताको माग भन्दै ‘इमोस्नल वार्गेनिङ’ गर्दै आएका छन्, त्यसरी होइन, यो जिउँदो संविधान हो, संशोधन गर्न सकिन्छ,’ उनले भने– जनताको अभिमत जितेर संसद्बाटै आफूले भनेजस्तै गरी संविधान संशोधन गर्नुस् ।” मन्त्री कार्कीले गाउँगाउँमा चुनावको माहौल बनेको बताउँदै सिंहदरबार वरिपरि रहेका नेता गाउँ गाउँ पुगेको बताए ।“निर्वाचन हुन्न कि भनेर शङ्का नगर्नुस्, सिंहदरबारमा झुम्मिने नेता र जनता निर्वाचनका लागि गाउँ÷गाउँ पुगिसकेका छन्, अब निर्वाचन हुन्छ,” उनले भने । अर्काे प्रसङ्गमा मन्त्री कार्कीले मन्त्रीपरिषदबाट एनसेललाई कर छुट दिने निर्णय नभएको स्पष्ट पारे । मोफसलमा रहेका साना लगानीका पत्रपत्रिकालाई न्यूनतम पारिश्रमिक दिनसक्ने बनाउन सरकारले आवश्यक सुविधा दिन पहल गरेको र न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएका ठूला मिडियामा भने कडाइका साथ यसलाई लागू गर्ने उनले बताए ।

स्थानीय तह चुनावलाई शनिबारदेखि मतपत्र छापिने, कर्णेलको नेतृत्वमा सुरक्षा प्रवन्ध

काठमाडौं, चैत ४ । स्थानीय तहको चुनावको लागि लागि चाहिने १ करोड ६० लाखप्रति मतपत्रको छपाइ शनिबारबाट सुरु हुने भएको छ। छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शनिबारबाट मतपत्र छाप्न सुरु गर्ने जनाएको छ। मतपत्र छपाइका लागि चाहिने कागज, मसी, कर्मचारी र सुरक्षाको प्रबन्ध भइसकेको केन्द्रका निर्देशक कपिलदेव पोख्रेलले जानकारी दिए । मतपत्र छपाइ अवधिभर कर्णेलको नेतृत्वमा रहेको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले स्थानीय तहको चुनावको लागि १ करोड ६० लाख प्रति मतपत्र छाप्ने तयारी भएको बताए ।  एक करोड ४० लाख जति मतदाता हुने र त्यसमा १५ प्रतिशत थप गरेर १ करोड ६० लाख प्रति छाप्नुपर्ने आयोगका प्रवक्ता शर्माले बताए । सरकारले घोषणा गरेर कार्यान्वयनमा ल्याएको ७४४ स्थानीय तहमा बैशाख ३१ गते चुनाव हुने भएको हो । एक करोड ६० लाखप्रति मतपत्र छाप्न करिब ५ सय मेट्रिक टन कागज चाहिने र उक्त संख्याको कागज आफूसँग स्टकमा रहेकाले कागजका लागि चिन्ता नभएको केन्द्रका निर्देशक पोख्रेलले बताए । यसपटक आधा फिटदेखि तीन फिटसम्म लम्बाइ हुने विभिन्न प्रकारका मतपत्र चाहिने छ। दलहरूको संख्याका आधारमा जिल्लाहरूलाई अहिले ६ किसिमका मतपत्र छाप्ने तयरी भइरहेको आयोगका प्रवक्ता शर्माले बताए । सबैभन्दा कम दल दर्ता भएको मनाङका लागि सबैभन्दा छोटो मतपत्र छापिने छ भने सबैभन्दा धेरै दल दर्ता भएको काठमाडौंका लागि सबैभन्दा लामो मतपत्र बन्ने छ । एउटा समूहमा परेका जिल्लामा एकै प्रकारको मतपत्र पठाउने आयोगको तयारी छ। त्यसैले, यसपालिको चुनावमा कतिपय गाउँपालिका वा नगरपालिकामा उम्मेदवार नभए पनि चुनाव चिन्ह हुनसक्ने आयोगका प्रवक्ता शर्मा बताउँछन् । दलको संख्याका आधारमा जिल्लाहरूको समूह बनाएर मतपत्र पठाउने हुँदा केही स्थानमा उम्मेदवार नभए पनि मतपत्रमा चुनाव चिन्ह भने हुनसक्ने उनले बताए । स्केच सौजन्य : अनलाइनखबर

अझै नियन्त्रणमा आएन म्याजिक चप्पल उद्योगको आगलागी

मोरङ, चैत ४ । मोरङको म्याजिक चप्पल उद्योगको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मोरङको टंकिसिनबारीस्थित जयश्री पियुटेक उद्योगमा बिहान ४ बजेदेखि लागेको आगो निभाउने प्रयास जारी भएपनि नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रण गर्नका लागि विराटनगर, दमक, इटहरी, धरान, इनरुवा, राजविराज लगायत नगरपालिकाका दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आउन कठिन भएकाले उद्योग आसपासका क्षेत्राका बासिन्दा र अन्य उद्योगमा सतर्कता अपनाउन थालिएको छ । आगो फैलिएर थप क्षति नहोस् भनेर सतर्क गराइएको प्रहरीको भनाइ छ । उद्योग परिसरमा रहेको बिजुलीको ट्रान्सफर्मर विष्फोट भएकाले त्यही कारण आगलागी सुरु भएको अनुमान गरिएको छ । म्याजिक चप्पल र जुत्ताको उत्पादक सो उद्योग सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा पर्छ । मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीका अनुसार आगो निभाउन प्रहरी, स्थानीय बासिन्दालगायत बिहानैदेखि सक्रिय छन् । झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्लाका १० वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ । आगोले उद्योगका कच्चपदार्थ र तयारी सामान जलेको छ । क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।

प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भेट, निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

काठमाडौँ,  चैत ४। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई पुनःसंरचित ७४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराउनुभएको हो । स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते हुन गइरहेको छ । प्रधानमन्त्री प्रचण्डसँग भएको भेटका विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा जानकारी गराउनुका साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल भएको बताउनुभयो । आफूले राजनीतिक सद्भाव र विश्वासको वातावरण पनि सिर्जना हुनुपर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको जानकारी दिँदै उहाँले भन्नुभयो – “वैशाख ३१ मा हुने महाअभियानमा सबैको सहभागिता होस् भन्ने निर्वाचन आयोगको चाहना हो ।” प्रमुख आयुक्त यादवले तोकिएको समयमा निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दैे विद्यमान अवस्थामा देखिएको असमझदारी सुल्झाउने समय अझै बाँकी छ, मिलेर अगाडि बढ्नुपर्दछ भन्नुभयो । “संसद्मा भएका राजनीतिक दल तथा नभएका दल सबै निर्वाचनमा भाग लिन चाहेका छन्, त्यसका लागि सहकार्य गरेर अगाडि जानुपर्छ,” उहाँले भन्नुभयो – निर्वाचनको अपनत्व सबै नेपाली जनता र राजनीतिक दलले लिनुपर्छ भन्ने आयोगको धारणा छ । आयोगको धारणा सुनिसकेपछि प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई विश्वस्त पार्नुभएको बताउँदै प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीले सद्भावको विश्वसनीय वातावरण बनाउनेतर्फ आफ्नो प्रयास केन्द्रीत हुने बताउनुभएको जानकारी दिनुभयो । निर्वाचन आयोगले निर्वाचनका लागि कर्मचारी खटाउने र जिल्लामा निर्वाचन सामग्री पठाउने कार्य भइराखेको तथा मतपत्र छापिरहेको जानकारी दिँदै उहाँले तराई तथा अन्य जिल्लामा हुन सक्ने कठिनाइलाई कमी गर्दै लगिने बताउनुभयो । रासस

स्थानीय चुनावको लागि कतारबाट माओवादी समर्थक युवा नेपाल फर्कन सुरु

होम बस्नेत, दोहा/कतार, चैत ४ । सरकारले  १९ बर्ष पछि ३१ बैशाखमा स्थानीय तहको चुनाव गर्ने भएपछि कतारमा रहेका नेपालीहरु उत्साहित हुँदै नेपाल फर्किन सुरु गरेका छ्न ।  बिदेशमा विभिन्न क्षेत्र रोड, निर्माण ,घर, हस्पिटल, स्टुडियम, मेट्रोरेल, होटल, सुपरमार्केट ,फ्याक्ट्रीमा काम गर्ने युवाहरु अहिले फुर्सदको  समयमा चुनाव लक्षित गर्दै आफु समर्थित  पार्टीलाई  सहयोग गर्न सक्रिय हुन थालेका छन् । माओवादी सरकारले देशमा परिवर्तनकारी काम गरिरहेको तर त्यसको प्रचार हुन नसकेको महसुस गर्दै देशमै केही गर्न नेपाली युवा विदेशबाट नेपाल फर्कने सोच बनाउन थालेको नेपाली जनप्रगतिशिल मन्चका सल्लाहकार मोहन कार्कीले बताए । माओवादी समर्थक कार्यकर्ता बढी  बैदेशिक रोजगारमा गएका र स्थानीय तहको चुनावले  देशमा केही परिवर्तन हुने विश्वास लिएर नेपाल फर्कन युवाहरु उत्साहित भएको पनि उनले बताए । उनी हालै नेपाल फर्किसकेका छ्न । उनी जस्तै कतार बाट धेरै फर्की सकेका र अन्य फर्किने प्रक्रिया रहेको माओवादी पार्टीका गल्फ उप समयोजक शनि कुमार ओलिले बताए । स्थानीय तहको चुनावको लागि भनेर  बिदेशबाट फर्किएका युवाहरुलाइ जिल्ला कमिटी देखि गाउँकमिटी सम्म महत्वपुर्ण जिम्मेवारी दिनुपर्ने माग  युवाहरुले राखेका छन् । युवाहरुले विदेशमा सिकेको सिप र क्षमता  गाउँपालिका र नगरपालिकामा देखाउने बताएका छन् । स्थानीय हतमा आफ्नो पार्टीलाई जिताउन बिदेशबाट आर्थिक चलखेल बढेको छ ।  कतारमा रहेका व्यावसायिकले आफ्नो पार्टीलाई जिताउन स्थानीय तहका मतदातालाइ आर्थिक सहयोग गरि आफ्नो पार्टीमा भोट हाल्न पैसा पठाउन थालिएको नाम नबताउने सर्तमा एमालेका एक समर्थकले बताए ।  आफुले  इच्छाएको ब्याक्तीले जित्नु पर्ने भन्दै पैसा उठाउदै नेपाल पठाउन लागिएको उनले बताए ।