झापाका बरिष्ठ पत्रकार मदन ढकालको ६५ बर्षको उमेरमा निधन

बिर्तामोड, मंसीर २४। झापाका बरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ बर्षको उमेरमा विहीवारराति निधन भएको छ ।

मधुमेह र मृगौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो । एक बर्षअघिबाट मधुमेह र मृगौला रोगबाट पीडित बनेका ढकाललाई गत बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । २००९ साल जेठ १९ गते आइतवार अनारमनी १मा जन्मिएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमा समेत परिचित छन् । स्व. तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रुपमा जन्मिएका ढकालले २०२४ सालबाट पत्रिकाको सम्पादन गर्ने काम गर्दै आएका थिए । २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले १९ बर्षसम्म अध्यापन गराएका छन् ।

२०२८ सालदेखि विवेचना, अर्धसाप्ताहिक पत्रिकाको दार्जीलिङ प्रतिनिधि भई पत्रकारिता क्षेत्रमा संलग्न उनी प्रेस काउन्सिल नेपालबाट विषयविज्ञको प्रशिक्षक पनि हुन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका ढकाल अहिले पत्रकार महासंघका केन्द्रीय पार्षद रहेका छन् । ढकालले २०२४ सालमा शनिश्चरे माविको बार्षिक मुखपत्र उषा दोस्रो अर्चनाको सम्पादन सहयोगी भई अतिरिक्त कार्यकारी सम्पादक भएर पत्रकारिता शुरु गरेका थिए । ढकालका गरिमा(काठमाडौं), बाडुली(शिलगढी भारत), विवेचना, विश्वदीप, जुही, शिरविन्दु, ध्वनि, साहित्यिक लगायत काडमौंका समीक्षा, स्वतन्त्रता, जनस्वतन्त्रता, नयाँ सडक, नेपाली, राष्ट्र पुकार, सुरुचि, देशान्तर, नयाँ किरण, करेन्ट, हिमालय टाइम्स, नेपाल समाचारपत्र, स्पेशटाइम्स, तरुण आदि र झापका आलोक, युगज्ञान, विवेचना, सूर्योदय, जनध्वनि, पूर्वाञ्चल आदि पत्रपत्रिकामा कथा, कविता, समीक्षा, निबन्ध व्यङ्ग्य, समसामयिक राजनीतिक तथा समाजलेख रचना प्रकाशित छन् ।

त्यस्तै उनको प्रकाशोन्मुख कृतिका रुपमा कविता संग्रह–१, कथा संग्रह– १, सिके प्रसाई (भरतबाबुको) स्मृति यात्रा रहेको छ । नवरंग प्रतिष्ठान धरमपुर झापाबाट अभिनन्दित, देवकोटा स्मृति भवन भद्रपुरबाट अभिनन्दन शनिश्चरे माध्यमक विद्यालयबाट स्वर्ण जयन्ती र हिरक जयन्तीको अवसरमा सम्मान, मोतिराम पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ झापाबाट, खिलेश्वरी पत्रकारिता पुरस्कार विराटनगर, श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार मेची, श्यामकृष्ण पत्रकारिता पुरस्कार नेपाल, पत्रकार संघ झापा, न्यू म्यान प्राइड अफ शिलगढी भारतीय नेपाली पत्रकारितामा विशिष्ठ योगदान पु¥याए वापत शिलगढी–बागडोगररा जुनियर च्याम्बर शिलगढी भारतबाट, देवीप्रसाद उप्रेती निजानन्द पत्रकारिता पुरस्कार, हेमसरिता पत्रकारिता पुरस्कार(अमेरिकाको टेक्ससबाट), डिकमान विरही पत्रकारिता पुरस्कार फोनिजबाट लगायत विभन्न संघ–संस्थाहरुबाट विभिन्न समयमा पुरस्कृत र अभिनन्दन तथा सम्मानित व्यक्तित्व हुन्– ढकाल ।

भारत, बंगलादेश, भुटान, पाकिस्तान, टर्की, पोल्याण्ड, चेकोस्लाभिया, जर्मनी र चिनको स्वशासित क्षेत्र तिब्बत, थाइल्याण्ड, मलेशिया साहित्य, पत्रकारिता एव्म् विभिन्न सामाजिक संघ–संस्थाको माध्यमबाट भ्रमण ढकालले गरेका छन् ।
स्वर्गीय ढकालका बुबा परशुराम ढकाल, श्रीमती सावित्रा ढकाल, छोरा सृजन ढकाल, बुहारी एलिना ढकाल, छोरीज्वाई सीमा–लीलाप्रसाद घिमिरे, उमा चन्द्रप्रकाश भट्टराई, सुस्मिता–भूपेन्द्र मैनाली, मनिषा–रोशन नेपाल, भाइ मोहन ढकाल, लक्ष्मण ढकाल, अरुण ढकाल, सुरेश ढकाल र बहिनी दुर्गा आचार्य रहेका छन् ।

सभामुखद्वारा कांग्रेस र एमालेसँग छलफल गर्दै

काठमाडौं, मंसिर २३ । अवरुद्ध संसद खुलाउने बिषयमा सभामुख ओनसरी घर्तीले मुख्य दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछिन् । सभामुख घर्तीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्दैछिन् । सिंहदरवारस्थित सभामुख कार्यकक्षमा उनले कांग्रेस सभापति देउवासँग छलफल भइरहेको उनको स्वकिय सचिवालयले जनाएको छ । त्यसलगत्तै एमाले अध्यक्ष ओलीसँग छलफल हुने कार्यक्रम रहेको पनि बुझिएको छ । प्रधानमन्त्री दाहाल जिल्ला बाहिर रहेकाले फर्केपछि छलफल हुने बताइएको छ । प्रमुख प्रतिपक्षी एमाले सहितका दलले लगातार चौथो पटक संसद बैठक अवरुद्ध पारेका कारण सभामुखको ध्यानाकर्षण भएको बताइएको छ ।

डा‍. बाबुराम भट्टराईमाथि जुत्ता प्रहार, एकजना नियन्त्रणमा

काठमाडौं, मंसिर २३ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईमाथि एक विद्यार्थीले जुत्ता प्रहार गरेका छन् । पोखरामा एक कार्यक्रममा सञ्जिव भट्टराईले डा‍. भट्टराईमाथि जुत्ता प्रहार गरेका थिए । सञ्जिव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको इप्रका बगरका प्रहरी निरीक्षक किशोर लम्सालले बताए । पक्राउ पर्ने विद्यार्थी पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका छात्र हुन् । नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीका लागि बिहीवार क्याम्पस हातामा आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख अतिथिको रुपमा गएका बाबुराममाथि ताकेर जुत्ता प्रहार गरेपनिकाे भएपनि उनलाई लागेन । त्यसपछि उनले नयाँ शक्ती तथा भट्टराईविरुद्ध नारा लागएका थिए ।

उपराष्ट्रपति पुनद्धारा स्तुपको अवलोकन

नवलपरसी, मंसिर २३ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको अस्तुधातु राखी बनाईएको रामाग्रामा स्तुपको अवलोकन भ्रमण गरेका छन् । उनले आज (बिहीबार) विहान रामाग्रामा स्तुप पुगेर अवलोकन गर्नुका साथै शान्तिको कामना गर्दै दिप प्रज्वलन गरे । सो क्रममा दिगो पर्यटन प्रवर्धन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसारको निम्ति स्वतन्त्र निकाय रामग्राम विकास कोष गठनको लागि पहल गरिदिन आग्रह गरे । अवलोकन भ्रमणपछि उपराष्ट्रपतिले बुद्धका आठ अस्तुधातुमध्ये नेपालमा एकमात्रै अस्तुधातु रहेको रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्नुपर्ने बताए । उनले रामग्राम स्तुप विश्वभरका बुद्ध धर्मलावम्बीहरुहरुको आस्थाका केन्द्र भएको बताउँदै वर्षमा हजारौँ पर्यटक रामग्राम भित्र्याउन सकिने बताए । उद्योग वाणिज्य संघ, नवलपरासी, उद्योग वाणिज्य महासंघ, स्थानीय निकाय र संघ संस्थाको संयुक्त आयोजनामा आज (बिहीबार)देखि सुनवलमा सुरु हुन लागेका नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटनका लागि उपराष्ट्रपति बुधबार साँझ नवलपरासी आईपुगेका हुन् । उनले बुधबार साँझ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु र उद्योग व्यवसायीहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।

उपराष्ट्रपति पुनद्वारा उद्योगी–व्यवसायीसँग छलफल

नवलपरासी,  मङ्सिर २३ । उपराष्ट्रपति नन्दबहादुर पुनले नवलपरासीका उद्योगी–व्यवसायीसँग बुधबार छलफल गरेका छन् । उपराष्ट्रपति पुनले बुधबार बेलुुका जिल्लाको सुनवलस्थित लोटस रिसोर्टमा जिल्लाका उद्योगी–व्यवसायीसँग छलफल गरेका हुन् । सो क्रममा उपराष्ट्रपति पुनले नवलपरासी जिल्लाको आर्थिक र औद्योगिक अवस्थाबारे उद्योगी–व्यवसायीसँग छलफल गरेको उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष भीमबहादुर थापा (भरत)ले जानकारी दिए। यसैगरी, उपराष्ट्रपति पुनले बुधबार बेलुुका नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग समेत जिल्लामा पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । आजदेखि नवलपरासीको सुनवलमा सञ्चालन हुुन लागेको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेला उद्घाटन गर्ने सिलसिलामा उपराष्ट्रपति पुनः बुधबार साँझ नै नवलपरासी आएका हुन् । बुधबार राति लोटस रिसोर्टमा बस्नु उपराष्ट्रपति पुन आज बिहान भगवान् गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तुपाको अध्ययन र अवलोकन गर्ने कार्यक्रम छ । यसैगरी दिउँसो १२ः३० बजे औद्योगिक व्यापार मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको मुख्य आयोजनामा जिल्लाको सुनवलमा आज सुरु हुने मेला आगामी पुस ३ गतेसम्म चल्नेछ । मेलामा करिब तीनसय स्टल रहनेछन् । मेलाको कुल तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा करिब रु १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको आयोजक उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक भरतले बताए । तेस्रोपटक उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको यस वर्षको मेलाको मुख्यद्वारमा मायादेवीको मन्दिर मूल आकर्षणका रूपमा रहेको छ । मेलामा नवलपरासी रुपन्देही, चितवनसहित छिमेकी भारतीय बजारबाट समेत विदेशी अवलोकनकर्ता आउने अनुमान छ । मेलाको मुख्य आकर्षणका रूपमा यसपटक हेलिकप्टर र डुङ्गाको यात्रा रहनेछ । रासस  

सुदूरपश्चिमको विकासका लागि प्रधानमन्त्रीको मार्गचित्र

काठमाडौं, मंसीर २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सुदूरपश्चिम अहिलेसम्म राज्यवाट पछाडि पारिँदै आएकाले अब यो क्षेत्रको विकासका लागि तीब्र गतिमा काम गर्नुपर्ने बताएका छन् । उनले आफ्नो ध्यान अहिले देशको विकास र आर्थिक सम्बृद्धिमा गएको बताउँदै दिगो शान्तिका लागि आर्थिक सम्बृद्धि जरुरी रहेकोमा जोड दिए । बुधवार दिउसो कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सबको उदघाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले सुदूरपश्चिममा प्रादेशिक विश्वविद्यालय र मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै सुदुरपश्चिमको औधोगिकरणका लागि विद्युतीकरणको योजना अघि सारे । उनले सुदूरपश्चिमका उद्योगहरुलाई सहुलियतमा विद्युत उपलब्ध गराउने पनि वताए । प्रधानमन्त्रीले सुदूरपश्चिमको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापनाका लागि पहल गर्ने बताउँदै गौरी फण्टा नाकाको स्तरोन्नतीका लागि काम सुरु भइसकेको जानकारी दिए । उनले चीनसँग जोडिएको ताक्लाकोट नाका खोल्ने, चादनी दोधारामा सुख्खा बन्दरगाह निर्माण गर्ने, खप्तड रामारोशन पर्यटन क्षेत्र विकास गर्ने, बन पैदाबारजन्य उद्योग स्थापना गर्ने, जडिबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आफ्नो ध्यान गएको भन्दै चमेलिया जलविद्युत आयोजना निर्धारित समयमै पूरा गर्न जोड दिए। पश्चिम सेती जल विद्युत आयोजनावारे अध्ययन भइरहेको बताउँदै प्रधानमन्त्रीले कैलालीमा गहुँको सुपरजोन स्थापना गरिने जानकारी दिए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षका जायज माग सम्बोधन गर्दै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरिएको बताए । उनले राष्टलाई एकतावद्ध गरेर निर्वाचनमा जाने वातावरणका लागि सरकार लागिपरेको जनाउँदै जनतालाई दुःख दिनेखालका आन्दोलन नगर्न र सहमतिको वाटोमा आउन प्रमुख प्रतिपक्षलाई आग्रह गरे । उनले संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै यसलाई सबैको सहमतिमा परिमार्जन गर्न भने सकिने स्पष्ट पारे ।

सभामुख घर्तीले आजदेखि दलका शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौँ,  मङ्सिर २३ । सभामुख ओनसरी घर्तीमगरले राजनीतिक गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बिहीबारदेखि छलफल प्रारम्भ गर्ने  भएकी छिन् । सो क्रममा उनले बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्ने उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए । सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भने शुक्रबार छलफल गर्ने कार्यक्रम तय गरिएको छ । छलफलमा सरकारले ल्याएको संविधान संशोधनपछिको उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल गर्ने बुझिएको छ । रासस

शुक्रबारसम्मका लागि व्यवस्थापिका संसद वैठक स्थगित

काठमाडौं, २२ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा केही साना दलहरुको अवरोधका कारण बुधबारको व्यवस्थापिका संसद बैठक पनि स्थगित भएको छ । यो लगातार चौथौ पटकको संसद बैठक स्थगित भएको हो । सरकारले ल्याएको संविधान संसोधनको विरोधमा प्रमुख प्रतिपक्षी एमाले तथा केही साना दलहरुले बैठक अवरुद्ध गरेका हुन् । बैठकको शुरुमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको इशारामा सरकारले संशोधन विधेयक ल्याएको आरोप लगाए भने उनले विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने बताए । केसीले बोलिसक्ने वित्तिकै प्रतिपक्षी दलका सांसदहरुले आ–आफ्नो ठाउँबाट उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्तीले मागप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद अवरोध नगर्न आग्रह गरेकी थिइन् । पटक–पटकको आग्रहलाई वेवास्ता गर्दै प्रतिपक्षी दलका सांसद उभिएपछि सभामुख घर्तीले बैठक शुक्रबारसम्मका लागि स्थगितको घोषणा गरेकी हुन् ।

सहमतिमै संशोधनको प्रस्ताव गरियाे, एमालेकाे टाउकाे दुखाई किन ?

दाङ, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । संविधान संशोधनको प्रस्ताव दलहरुको समहतिमै गरिएको र हाल आएर एमालेले त्यसरी टाउको दुखाउन नहुने उनले बताए । सडकमा उफ्रिएर आन्दोलन गरेर संशोधन प्रस्ताव फिर्ता नहुने उनको भनाई छ । राप्ती नदीमा निर्माण गर्न लागिएको सिसाहनिया महादेव पुलको शिलान्यास कार्यक्रममा त्यहाँ पुगेका प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल रहुन्जेलसम्म संविधान संशोधन प्रस्ताव फिर्ता नहुने स्पष्ट पारेका छन् । अहिलेको नेपालको समस्याको निकास संविधान संशोधनबाट मात्रै संभाव रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले दलहरुको सहमतिमै संशोधनको प्रस्ताव गरिएकाले कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता नहुने जिकिर गरे । प्रचण्डले भने, ‘म प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दा फिर्ता गर्न दवाव दिदै आएका बेला प्रधानमन्त्रीले फिर्ता गर्न नसकिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्ने बताए । ‘सरकारले हिमाल पहाड तराई जोडेर एकताबद्ध गर्न खोजेको तर आफूहरुले बिखण्डन गर्न खोजेका रहेछौं’ भनेर उनीहरुलाई आफ्नो गल्ती महशुस हुने प्रधानमन्त्री प्रचण्डले बताए । उनले अहिलेको सडक आन्दोलनको कुनै औचित्य नरहेको बताउँदै उनले छलफल र सहमति बाटै समास्याको निकास खोज्न एमाले लगायतका दलहरुलाई आग्रह गरे । रु ९२ करोडको लागतमा बन्न लागेको उक्त पुलको निर्माण कार्य चार वर्षमा सकिने लक्ष्य रहेको छ । पुलको लम्बाइ ८६० मिटर रहने छ । पुल निर्माण भएपछि दाङ्का गडहवा, सिसाहनिया, राजपुरलगायतका जनतालाई आवतजावत गर्न सजिलो हुनेछ ।

राजालाई दाम राख्ने धनुष्टंकारेहरु अझैपनि प्रतिगमनको बाटोमा : अध्यक्ष न्यौपाने

रुकुम, मंसिर २२ । अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानले हिजो राजालाई दाम राख्ने धनुष्टंकारेहरुलाई अझै पनि लोकतन्त्र र संघीयता मन नपरेकाले उनीहरु प्रतिगमनतर्फ लागेको बताए । अखिल(क्रान्तिकारी) रुकुमको २५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै न्यौपानेले त्यस्ता धनुष्टंकारेहरुले अझै पनि गणतन्त्र र संघीयता स्विकार नगरिसकाले तिनीहरु अझैपनि मौका पर्नसाथ प्रतिगमन तर्फ फर्कन उद्धत रहेको आरोप लगाएका छन्। एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै न्यौपानेले प्रश्न गरे, ‘राजाविरुद्ध आन्दोलन गर्नु भनेको गोरुगाडा चढेर अमेरिका जानू जस्तै हो भन्नेहरुलाई गणतन्त्र र संघीयता कसरी मनपर्छ र ।’ फरक प्रसङ्गमा न्यौपानेले सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरु विचको खाडल अन्त्य हुनुपर्ने वताए। स्थानीय तहको निर्वाचन गराएर मात्र संविधान कार्यान्वयन नहुने भन्दै न्यौपानेले थपे ‘संविधानले व्यवस्था गरेको माध्यामिक तहसम्मको निशुल्क शिक्षा लगायतका व्यवस्था व्यवहारमा लागु नभएसम्म संविधान कार्यान्वयन हुंदैन ।’ रुकुमको मुसिकोट स्थित खलंगा वहुमुखी क्याम्पसमा आयोजित सम्मेलनमा माओवादी केन्द्रका नेता गोपाल शर्मा, क्रान्तिकारी उपाध्यक्ष पञ्चा सिंह, ६ नं. प्रदेश इन्चार्ज खेम सिंह, ५ नं. प्रदेश इन्चार्ज ध्रुवविक्रम वली, ५ नं. प्रदेश संयोजक सुन्दर वली, दुर्गा बुढाथोकी,केशव रावल लगायतका विद्यार्थी नेताहरुहरुले संविधान कार्यान्वयनमा जुट्न अपिल गरेका थिए।

दाङतिर लागे प्रचण्ड, कार्यक्रम विथाल्न एमालेद्धारा बन्द अाह्यवान

काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङतिर लागेका छन् । दाङको सिसनिया र गोवरडिहा जोड्ने राप्ती नदीको पुल शिलन्यासका लागि आज उनी त्यसतर्फ लागेका हुन् । दाङमा पुल शिलान्यासपश्चात उनी त्यहीबाट कैलालीको धनगढीमा आयोजित सुदुरपश्चिम महोत्वस उदघाट्न गर्न जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महोत्सव उदघाट्नपछि प्रधानमन्त्री दाहाल अपरान्ह साढे ३ बजे कञ्चनपुरको दोधारा चाँदनी सुख्खा बन्दरगाह अवलोकनका लागि पुग्ने कार्यक्रम छ । सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेसंगै विभिन्न जिल्लामा विरोध प्रर्दशन चर्किएका छन् भने लागातारको बन्दले जनजीवन प्रभावित भएको छ । प्रधानमन्त्रीको कार्यक्रमलाई बिथोल्न एमाले जिल्ला कार्यसमिति दाङले आज जिल्ला बन्दको आह्वान गरेको छ ।

बाख्रोलाई भैंसी देख्ने अोलीको ‘नौलो राष्ट्रवाद’

पवनराज फुयाल नेपाली कम्यूनिष्ट आन्दोलनका प्रखर बक्ता भनेर चिनिने ब्यक्ति मदन भण्डारीले पञ्चायतपछिको प्रजातान्त्रिक अभ्यास सुरू हुदा संबैधानिक राजतन्त्रको परिधिभित्र परम्परागत प्रजातान्त्रिक प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसको बीचमा पार्टीको अस्तित्व कसरी जोगाईराख्ने भनेर केही नौलो बिचारको आविष्कार गरे । जसलाई अहिलेको नेकपा एमालेले “मदन भण्डारीको बहुदलीय जनवादको नाममा पार्टीको मार्गनिर्देशक सिद्धान्त मानिआएको छ । २०६३/६४ यता जब माओवादी शान्ति प्रक्रियामा आएपछि एमाले र माओवादी पार्टीबीचको बैचारिक राजनीतिक टकरावले हाल देश नै गम्भीर चुनौतिमा फसेको छ । संबिधान निर्माण प्रकृयादेखि अहिले संबिधान कार्यान्वयनको चरणमा आउदासम्म दुई पार्टीको अन्तरबिरोधी र मतभिन्नता चरम उत्कर्षमा पुगेको छ । लगभग अबको चुनावसम्म दुईमध्य एक पार्टीको अस्थित्व नै संकटमा पर्ने अवस्थासम्म आईपुग्दा बर्तमान राजनीतिक बृतका एकदमै चतुर खेलाडी सावित नेकपा एमालेका अध्यक्ष केपी ओलिले दोस्रो संबिधानसभा अगाडिनै छिन्नभिन्न र कमजोर बनेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड बिरुद्ध प्रचण्डकै जनयुद्धकालिन राष्ट्रवादी अश्त्र प्रहार गरेका छन् । भारतिय बिस्तारवाद जस बिरुद्ध हिजो प्रचण्डले हतियार उठाएको भनेका थिए आज परिस्थिति यस्तो बनिदियो कि त्यहि राष्ट्रवादको उल्टो प्रहारले प्रचण्डलाई सिध्याउन केपी ओली लागिपरेका देखिन्छन् । हिजो शान्ति प्रक्रिया, संबिधान निर्माण र केही महिना अघिसम्मका सत्ता साझेदार प्रचण्ड बिरुद्ध केपी ओलीले आविष्कार गरेको यो “नौलो राष्ट्रवाद”! साच्चिकै “नौलो राष्ट्रवाद”!! ‘हिजो भारतीय दुतावासबाट करोडौं पैसा लिएर पार्टी चलाउने उनकै भारूमा चिल्ला गाडीमा सयर गर्ने आज एक्कासि गरेको बिरोध कसको बिरुद्ध? साच्चिकै भारतीय बिस्तारवाद बिरुद्ध या प्रचण्ड र शेरबहादुरको सत्ता बिरुद्ध सिमित ?’ प्रचण्डबाट जबर्जस्ती खोसेर प्रचण्डकै बिरुद्ध प्रयोग गरिएको अश्त्र नक्कली बनावटी र भ्रामक छ जुन हिजो उनीलाई चाहिएको थिएन तर आज शख्त जरुरत पर्नाको कारण संकास्पद र विस्वासयोग्य देखिएन । यो एमालेको पुरानै चरित्र हो आफ्नो खास एजेन्डामाभन्दा नि जतिबेला जे भनिदिँदा जनतालाई भ्रममा पार्न सकिन्छ त्यहि अश्त्र प्रयोग गर्ने ! हिजो देशमा गणतन्त्रको बहस हुँदा बयलगाढा चढेर अमेरिका पुग्ने सपनाको संज्ञा दिने तर देश गणतन्त्रमय भए पछि गणतन्त्रै आफुले ल्याएको भन्दिने ! हिजो ०४७ सालको संबिधान नै विश्वको उत्कृष्ट भन्ने एमाले आज नयाँ संबिधान आफ्ना कारणले आएको भनिदिन पछि नपर्ने ! हिजो पटकपटक प्रतिगमन सच्चिएको भनेर दाम चाढाउने एमाले राजसंस्थै आफुले फालेको भनिदिने ! हिजो महाकाली लगायत नदिनाला भारतलाई बेचेर देशलाई धनी बनाउने सपना देखाउने एमाले आज जनतालाई देखाउन उग्रराष्ट्रवादको चरित्र प्रदर्शन गर्ने ? हिजो भारतीय दुतावासबाट करोडौं पैसा लिएर पार्टी चलाउने उनकै भारूमा चिल्ला गाडीमा सयर गर्ने आज एक्कासि गरेको बिरोध कसको बिरुद्ध? साच्चिकै भारतीय बिस्तारवाद बिरुद्ध या प्रचण्ड र शेरबहादुरको सत्ता बिरुद्ध सिमित ? सत्ताबाट बाहिरिनासाथ एमालेका कथित राष्ट्रियतावादी हर्कतहरू छरपस्ट भएका छन् । हिजो जसले उनलाई काँध हालेर प्रधानमन्त्रीको कुर्सीमा बसाए उनलाई बधाई दिनु त परै जावस उनिसँग हात मिलाउन र भेट्नु पनि राष्ट्रघाती भनेर आउदा दिनका आवस्यक सहकार्य र सहमति गर्ने नैतिक ढोका नै बन्द गरिदिए । भलै भारतले उनलाई नरुचाएकोले हटाउन र हटेको हेर्न चाहेको बेला प्रचण्डलाई मौन समर्थन भारतले पक्कै गरेको बुझिएकै हो तर उनै प्रचण्ड संसदको प्रमुख ठुलो दलको समर्थनमा प्रधानमन्त्री बन्दा कसरी रातारात राष्ट्रघाती भए? यसैबाट प्रष्ट हुन्छ केपी ओलीको राष्ट्रियताको नारा खोक्रो आडम्बर र सत्ताबाट ओर्लिनु पर्दाको चरम प्रतिशोध मात्रै हो भन्ने कुरा । संबिधान जारी गर्दा र केपी ओली आफैँ प्रधानमन्त्री हुदादेखि नै असन्तुष्ट मधेसीको माग संबोधन गरेर संबिधानको स्विकार्यतालाई बढाउदै संबिधान कार्यान्वयन र विभिन्न तहका चुनावहरु गर्ने बटमलाईन अहिलेका प्रमुख दलहरूको हैन र? त्यसैको लागि ओलीले पटकपटक वार्ता र संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेकै हुन लगत्तै प्रधानमन्त्रीको कुर्सीबाट हट्नु परेपछि त्यहि प्रस्ताव राष्ट्रघाती र भारतको माग कसरी भयो ? एमालेले केहि समय अघि प्रचण्डले संसदमा प्रस्ताव गरेको संशोधनका हरेक बिषयलाई कथित राष्ट्रियतासँग जोडेर झनै गैरजिम्मेवार प्रबृत्तिलाई निरन्तरता दिईरहेको छ: नागरिकता सम्बन्धि ब्यवस्था पुरानै अन्तरिम संविधानमा भएको ब्यवस्था गर्न लागिएकोलाई बङ्ग्याएर भारतीयलाई देशका प्रमुख पदहरू दिन लागेको राष्ट्रघाती कुप्रचार गरिरहेको छ । ५ नम्बर प्रदेशको सिमांकनका सम्बन्धमा त आज प्रचण्डले प्रस्तावित गरेको सिमाना हिजो एमाले आफैँले प्रस्ताव गरेको थियो । आज त्यहि कुरा गरेर मधेसको असन्तुष्टि साम्य पार्न प्रयास गरिँदा कुन नैतिकताले दियो एमालेलाई तराईका जिल्ला भारतलाई बुझाउन लागेको भनेर होहल्ला गर्न ? यद्यपि प्रदेशको सिमांकन र बिभाजन न हिजोको एमाले सहितका सबै दलले ल्याएको सात प्रदेश या अहिले प्रचण्डले प्रस्ताव गरेको परिमार्जन नै जनताको भावना अनुसार छ! वास्तवमा संघीयताको मोडल नै जनताको सम्बृध्दिको चाहना अनुसार छैन । मात्रै अहिलेको केन्द्र सत्तामा हालिमुहालि गर्न नपाएकाहरूलाई भोलि शक्तिशाली छोटेडन भएर राज गर्ने अनि सत्ताको केन्द्रमा रहनेलाई डनहरूको राजा बन्ने महत्वकांक्षा अनुसार संघीयता जबर्जस्ती लादिएको हो । ‘त्यसैका लागि त्यहीँका धेरै जनता र स्वयम् सत्तारूढ काङ्ग्रेस र माओवादीकै नेताहरू पनि सडकमा छन् । तर एमालेको जोड यो वास्तविकतामा भन्दा पनि राष्ट्रियतामा भएको छ । तर एमालेको भनाई पहाडबाट अलग गरिएका जिल्लाहरू भारतलाई बुझाउन लागिएको भनेर जनताको सेन्टिमेन्ट र स्वयं राष्ट्रियतामाथि नै गम्भीर चुनौति दिने खालको छ ।’ ५ नं पदेशको सन्दर्भमा प्रचण्डले हिजोकै एउटा सहमति बमोजिमको हेरफेर गर्दा जनचाहनाको नेतृत्व एमालेले गर्नु ठिक तर देश नै बेच्न लागेको भन्दा देश बेचेको भागिदारी आफुपनि हुन तयार हुनुनपर्ने गरि कोकोहोलो मच्चाउनु नक्कली उद्देश्यका लागि हो भन्ने बुझिन्छ । खास कुरा के हो भने बुटवल दाङ लगायतका तराई बेल्टमा पर्ने ठाँउहरूबाट त्यहाँका रुकुम रोल्पा र अर्घाखाँची जस्ता पहाडी जिल्लाहरुलाई अलग गर्दा जनतालाई मर्का पर्ने र असुबिधा हुनसक्ने कुराको चासो हो जुन एकदमै स्वभाविक छ । त्यसैका लागि त्यहीँका धेरै जनता र स्वयम् सत्तारूढ काङ्ग्रेस र माओवादीकै नेताहरू पनि सडकमा छन् । तर एमालेको जोड यो वास्तविकतामा भन्दा पनि राष्ट्रियतामा भएको छ । तर एमालेको भनाई पहाडबाट अलग गरिएका जिल्लाहरू भारतलाई बुझाउन लागिएको भनेर जनताको सेन्टिमेन्ट र स्वयं राष्ट्रियतामाथि नै गम्भीर चुनौति दिने खालको छ । यसले के निहुँ पाऊँ भनेर बसेका राष्ट्रघातीहरूलाई नै मलजल पुगेको छ । यस्तै हो भने सप्तरीदेखि सिराहसम्मको पहाडरहित भुभागलाई पनि केपी ओलीले भारतकै इसारामा हस्ताक्षर धस्काउनु भएको रहेछ भन्नुपर्यो । भाषाका सम्बन्धमा भाषा आयोगको सिफारिसमा मातृभाषाहरुलाई संविधानको अनुसूचीमा सामेल गर्ने भनिएको छ । र, सरकारी कामकाजको भाषा कुन प्रान्तमा के हुने मिलाउन सक्ने भनिएको छ । तर एमालेले यसै बिषयलाई हिन्दीलाई राष्ट्रिय भाषा बनाएर राष्ट्रघात गर्न खोजिएको बताउने गरेको छ । अब उहाँहरूले नै बताइदिनुपर्यो कहाँबाट आउछ नेपालमा हिन्दी भाषाको कुरा? यस्ता भ्रामक हावादारी कुराको खेती गरेर बनेको राष्ट्रवादी चरित्र कतिन्जेल टिक्ला बिचार गरौँ? सरकार वा कुनै पक्षबाट कमिकमजोरि हुनसक्छन भनेर सचेत गराउने दायित्व प्रतिपक्षी धर्म हो तर के यस्ता दुस्प्रचार गरेर भोलिका दिनमा यी सबै राष्ट्रघाती आरोप गलत साबित हुँदै गएपछि के तर्क गरेर आफ्नो राजनीतिक मुखुण्डो जनतासामु देखाउने ? जहाँजहाँ एमालेले चुनौतिपुर्ण र गम्भीर आरोप लगाएको छ त्यहिँ आरोपहरू खण्डित हुँदै गइरहेका छन् । यस्तो राष्ट्रवाद पक्का पनि सक्कली हुनै सक्दैन । र यो राष्ट्रियता वनावटी हो सत्ताबाट बहिर्गमन हुनुपर्दाको छट्पटी मात्रै हो भन्ने कुरा स्वयम् एमालेका अतिरञ्जित कपोलकल्पित र बिबादास्पद आरोपहरुबाटै प्रष्ट भईरहेका छन् । यस्तो लाग्छ राष्ट्रियता केपी ओलीको ठेक्का हो अरु कसैलाई नेपाल र नेपाली हुँ भन्ने छैन जुन हिजो उनलाई कहिले पनि चाहिएको थिएन । ‘यस्तो जटिल बिषयमा जथाभावी बोल्ने ओली र एमालेले आफ्नो हिजोको कालो पोतिएको अनुहार पनि हेर्ने कि ।’ तर आज राष्ट्रियताको नारा यसरी उठाइरहेका छन् कि सरकार र प्रचण्डले लोडसेडिङको अन्त्य गर्छु भनेपनि राष्ट्रघात देख्न लागे, फास्ट ट्रयाक आफैँले बनाउछु भने नि राष्ट्रघात या भारत लगायत छिमेकीसँगको बिग्रेको सम्बन्ध सुधार गर्छु भनेनि राष्ट्रघात, हुदाहुदा मधेस र मधेसीका मागहरू सम्बोधन गर्ने बिषयलाई नि राष्ट्रियतासँग जोड्ने केपी ओलीको नौलो राष्ट्रवाद! राष्ट्रियताको कुरा उठाउदा हामी आफैँ झुक्नुपर्ने अवस्था नआओस् । यस्तो जटिल बिषयमा जथाभावी बोल्ने ओली र एमालेले आफ्नो हिजोको कालो पोतिएको अनुहार पनि हेर्ने कि । आफ्नो घर मजबुत बनाउने प्रचण्डले गलत गरे सच्याउने उपायहरू धेरै छन् तर एकजना प्रचण्डको बिरोध गर्दा तीन करोड नेपाली जनताको स्वाभिमान माथि चोट पुर्याउनु गलत भयो । एकातिर एमालेको अन्ध राष्ट्रवादको बौलठ्टी हुटहुट र अर्कातिर पुरै तराईलाई छुट्टै प्रदेश दिनुपर्ने अमुक र वास्तवमै राष्ट्र बिरोधि नारा मधेसवादी भनेर चिनिएका केही कथित मधेसी जनताका प्रतिनिधी हुँ भन्ने मुठ्ठीभर नेताहरूका कारण राष्ट्रियता गम्भीर खतरामा परेको अवस्था छ । व्यक्तित्व र परिस्थिति जेजस्तो भएपनि जोखिमपूर्ण र पछिल्ला उपलब्धिहरूलाई हेर्ने हो भने केपी ओलीभन्दा प्रचण्डको योगदान र त्याग महत्त्वपूर्ण रहेको छ । राजतन्त्रको अन्त्य, गणतन्त्र र संबिधानमा केपी ओलीभन्दा प्रचण्डको योगदान अहम छ । यसैपनि देश गणतन्त्रमय हुँदाहुँदै नै केपी ओलीले बयलगाढाका तुक्का जोडेर गणतन्त्रको उपहास गरेका थिए र केही महिनाअघि मात्रै पनि संघीयता बाख्रोलाई भैँसीको टाउकोको संज्ञा दिएका थिए । वास्तवमा भन्ने होभने गणतन्त्र प्रचण्डले सबैलाई लटरपटर बनाएर आएको हो । केपी ओलिहरूले आजका धेरैजसो उपलब्धिहरू तत्कालीन अबस्थामा बाध्यताले स्विकार गरेका थिए । ‘चीनसँग पारबहन लगाएतका सम्झौता गरिनेछ भन्ने कुरा मात्रै भएका हुन तर काम शुन्य रहेको हो । संबिधान जारी गरेदेखि नै असन्तुष्ट मधेसी दलहरुलाई सहमतिमा ल्याउनको सट्टामा बिहार भारत र मोदीसँग माग राख भन्ने आशयको ओलीको बारम्बारको प्रतिक्रियाले समग्र मधेसी जनताले नै मन खिन्न भई तराई र पहाडबीच मै दुरी बढेको छ ।’ उखान र तुक्का जोडेर जस्तोसुकै गम्भीर बिषयलाई पनि हावामा उडाउने चतुरकलामा माहिर केपी ओलीले यहि कलाका कारण पछिल्लोपटक प्रधानमन्त्रीको कुर्सी छाडेपछि पनि यस्तै हावादारी भ्रामक होहल्ला गरेर आफ्ना कार्यकर्ताहरूमाझ लोकप्रियता कमाउनेमा निरन्तरता पाएका छन् । संबिधान जारी गरेपछि भद्र सहमति बमोजिम प्रधानमन्त्री पाउने आशामा शासकिय स्वरूप लगाएतका जटिल र महत्वपूर्ण बिषयमा धेरै आफ्नै पार्टीको मान्यता र घोषणा बिपरित प्रचण्डलाई बाईपास गरेर नेपाली काङ्ग्रेसको एजेन्डामा हस्ताक्षर धस्काउनमा हतारहतार गरेर आफूले संबिधान जारी गरेकोसम्म भन्न भ्याउने खेलाडीलाई शुसिल कोईरालाले नछाडेपछि उनै प्रचण्डले एमालेलाई तेस्रोपटक नयाँ प्रधानमन्त्रीको रूपमा केपी ओलीलाई काँध हाले । जतिबेला नेपाली जनतालाई भारतले लगाएको नाकाबन्दीले जरजर बनाएको थियो । त्यसबेला पनि प्रचण्डले हामी कसैका एसम्यान हैनौ भनि केपी ओलीको दायिना भएर काम गरेका कारण रातारात केपी ओली राष्ट्रबादी बन्न पुगे । यसबिचमा उनले घरघरमा ग्याँस पाइपलाई जोडिदिने, पहाडी रेल बनाउने, पानी जहाज किन्ने आदि जस्ता दिर्घकालीन योजना र सुझबुझपुर्ण बिषयलाई क्षणिक हावादारी तरीकाबाट उखान तुक्का मिलाउने नियतले हल्ला फैलाए । चीनसँग पारबहन लगाएतका सम्झौता गरिनेछ भन्ने कुरा मात्रै भएका हुन तर काम शुन्य रहेको हो । संबिधान जारी गरेदेखि नै असन्तुष्ट मधेसी दलहरुलाई सहमतिमा ल्याउनको सट्टामा बिहार भारत र मोदीसँग माग राख भन्ने आशयको ओलीको बारम्बारको प्रतिक्रियाले समग्र मधेसी जनताले नै मन खिन्न भई तराई र पहाडबीच मै दुरी बढेको छ । अन्तत: सत्ता साझेदार प्रचण्डसँग गरेको भद्र सहमति नै गरेको हैन भनेर चिड्याए पछि प्रचण्डले समर्थन फिर्ता लिइका थिए जसका कारण पदबाट हट्ने अबस्था आएको थियो । अनि केपी ओलीले प्रचण्ड र माओवादी नामको बर्ग दुश्मनसँग लड्ने नयाँ औजार र सिद्धान्तको प्रतिपादन गरे त्यहि हो केपी ओलीको “नौलो राष्ट्रवाद” ! ‘प्रचण्डले हिन्दीलाई राष्ट्रभाषा बनाउदैछन्, अंगीकृतलाई देशका प्रमुख अंगमा अधिकार दिदैछन्, फास्ट ट्रयाक लगाएतका राष्ट्रिय महत्त्व र गौरवका आयोजना भारतलाई सुम्पिदैछन् भन्ने कपोलकल्पित भ्रमहरू फैलाएर आफुलाई नक्कली राष्ट्रवादी भएको प्रमाण आफै दिदैछन् ।’ हिजो सत्ता साझेदार रहँदा प्रचण्ड खुब राष्ट्रबादी थिए उनकै दायाँबायाँ बसेर चर्काचर्का भाषण गरेर भारतलाई गाली गर्ने केपी ओली प्रचण्डले साथ छाड्नासाथ भारतलाई गर्ने गाली र आरोपहरू प्रचण्डमाथि बर्साउन पुगे । हिजोसम्म कट्टर राष्ट्रवादी प्रचण्ड केपी ओलीलाई समर्थन फिर्ता दिनासाथ दलाल र राष्ट्रघाती बने । र प्रचण्डले प्रधानमन्त्रीको पद पाउनासाथ देश भारतलाई जिम्मा लगाइदैछ भन्ने आरोप प्रचण्ड माथि तेर्स्याएका छन । यसैबीच केही बिषयहरू अहिले राजनीतिक बृतमा बिवादास्पद बनेका छन् जुन बिषयहरूलाई लिएर प्रचण्डको व्यापक आलोचना हुने अवस्था समेत पैदा भएको छ । प्रचण्डले हिन्दीलाई राष्ट्रभाषा बनाउदैछन्, अंगीकृतलाई देशका प्रमुख अंगमा अधिकार दिदैछन्, फास्ट ट्रयाक लगाएतका राष्ट्रिय महत्त्व र गौरवका आयोजना भारतलाई सुम्पिदैछन् भन्ने कपोलकल्पित भ्रमहरू फैलाएर आफुलाई नक्कली राष्ट्रवादी भएको प्रमाण आफै दिदैछन् । जबकि यी बिषयहरू प्रचण्डले आफ्नो र सरकारको एजेन्डा हैन भनि प्रष्ट पारिसकेको अवस्था छ र यससम्बन्धी केही सकारात्मक र जनपक्षीय कार्यहरूको थालनीको सुरुवात प्रचण्डले गरिसकेका छन्  । हुनत सरकारमा हुनेलाई कठपुतली दलाल भन्ने चलन नयाँ हैन तर यसपटक एमालेले प्रदर्शन गरेको राष्ट्रवाद नौलो र अन्तिम अश्त्रको रूपमा लिएको छ । यसको मुख्य कारण माओवादी र प्रचण्डको कमजोर बन्दै राजनीतिक साख: समाप्त गरेर प्रचण्डका कारण गुमेको आफ्नो पुरानो बर्चस्व फिर्ता गर्नु हो । शान्ति प्रकृयालाई टुंगो लगाउने क्रममा प्रचण्डले धेरै सम्झौताहरू गर्नुपरेको थियो जसको मूल्य ठुलै चुकाउनुपर्यो । यसको फाईदा प्रत्यक्ष रूपमा एमालेले उठाईरहेकै छ । जतिसुकै राष्ट्रवादी चरित्र देखाएर आरोप प्रत्यारोप गरेपनि संबिधानको कार्यान्वयन र संशोधन र आगामि चुनाव लगायतका कार्यहरू सम्पन्न गर्न कम्तिमा सबै प्रमुख राजनितिक दलहरुले सहमति गर्नुको बिकल्प नभएको अवस्था र हाम्रो भुराजनितिक जटिलका कारण प्रतिपक्षमा रहँदा सत्तापक्षलाई दलाल, कठपुतली र राष्ट्रघातिको आरोप लगाउने सन्दर्भलाई ख्याल गरि एमाले र केपी ओलीले राष्ट्रियताको नाममा आफ्नै स्वाभिमानमै ठेस पुग्नेखालका अभिव्यक्ति बन्द गर्दै भोलिका दिनमा पुनः यिनै राष्ट्रघाति भनिएका प्रचण्ड र शेरबहादुरहरुसँग सहमति र सहकार्य गर्ने नैतिक धरातल नगुमाई संसद र सडकमा रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न आवस्यक छ । यसबाट एकातिर अस्थिरता र आन्तिरिक द्वन्द्वका कारण आफ्नो स्वार्थमा खेल्न चाहने वाह्य शक्तिहरु निरुत्साहित हुनेछन् भने अर्कातिर आन्तरिक एकता मजबुत भई सबैले चाहेको संबिधानको कार्यान्वयन हुनेछ । जसले लामो झन्झटिलो खर्चिलो सङ्क्रमणकालको अन्त्य भई आर्थिक सम्बृध्दितर्फ जान सकिन्छ । लेखक कतारमा आईटी इन्जिनियरको रूपमा कार्यरत छन्   

संविधान संसोधन विधेयकबारे यसो भन्छन डा. शंशाङ्क

चितवन, मङ्सिर २१ । नेपाली कांँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनमा आफ्नो पार्टीले ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पाँच नम्बर प्रदेशबाट जिल्ला टुक्राउने विषयमा पार्टीमा छलफल र निर्णय नभएको बताए । सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयकका बारेमा अनावश्यक भ्रम पैदा भएको विषयलाई प्रष्ट पार्ने जिम्म्ेवारी पार्टीको भएको उनको भनाइ थियो । जनस्तरमा भ्रम दिने विषयमा कांग्रसले पार्टीभित्र बृहत् छलफल गरी बैठकबाट आधिकारिक धारणा निकाल्नुपर्ने उनको भनाइ थियो । “अहिलेको मुख्य चुनौती संविधान कार्यान्वयन नै हो ” उहाँले भने । ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन विषयमा भ्रम परेको उनले बताए । “जनभावना विपरीत सीमाङ्कन परिवर्तन हुन सक्दैन” उनले भने– “पहाड र तराई छुट्याउन हुन्छ वा हुँदैन भन्ने विषयमा आवश्यक गृहकार्य नगरी सरकारले प्रस्ताव दर्ता गरेकाले अहिले समस्या उत्पन्न भएको हो, प्रस्ताव दर्ता गर्नुअघि बृहत् छलफल गर्नुपथ्र्यो, त्यो हुन सकेन ।” महामन्त्री कोइरालाले ठूला तीन दल, राप्रपासहित मधेसकेन्द्रित दलबीचमा सहमति हुन नसके संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने सुझाव दिए । भारतका मणिपुर, नागाल्यान्डलगायत प्रदेशमा रहेका आदिवासीलाई सरकारले छुट्टै रुपमा बजेट दिएर जीवनस्तर उकासिरहेको जानकारी दिँदै उनले नेपालमा पनि पिछडिएका जातिलाई प्रदेशभित्रै छुट्टै बजेटको व्यवस्था गर्न सकिने बताए । ठूलो दलको हिसाबले अहिलेको जिम्मेवारी काँग्रेसको भएकाले सबै दललाई मिलाएर लैजानुपर्ने उनको भनाइ थियो । “सबै पार्टी मिलेर निकास खोज्नुपर्छ, त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ,” कोइरालाले भने । रासस

चीनियाँ चित्रकारहरु पनि मनपराउँछन प्रचण्डलाई, यस्तो बनाएका छन प्रचण्ड–सीको तस्वीर

 काठमाडौं, मंसीर २१ । चीनियाँ चित्रकारको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी चीनियाँ राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री प्रचण्डको फोटो हस्तान्तरण गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी टोलीले प्रधानमन्त्री प्रचण्ड र चीनियाँ राष्ट्रपतिबीच ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा भएको भेटको हस्तनिर्मित तस्वीर हस्तान्तरण गरेका हुन् । तस्वीर ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले चीनियाँ कलाबाट आफू निकै प्रभावित भएको र यसले नेपाल–चीन सम्बन्धमा हार्दिकता थपेको बताए । प्रधानमन्त्रीले भने– ‘नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचकै सम्बन्धमा प्रगाढता ल्याउँछ । जनता जनताबीचको सम्बन्ध विकसित गर्न तपाईहरुको कदम स्वागतयोग्य छ ।’ भेटका अवसरमा चीनियाँ टोलीले प्रधानमन्त्रीलाई बुद्धको जन्मस्थान लुम्बिनी लगायतको नेपालको ऐतिहासिकता समेटेर चलचित्र निर्माणको तयारी भइरहेको जानकारी गराएको थियो ।

चितवनमा ट्रक र माइक्रोबस जुध्दा चालकको मृत्यु

चितवन,  मङ्सिर २१ । भरतपु उपमहानगरपालिका–३ रेडक्रस चोकमा गएराति ट्रक र माइक्रोबस एकापसमा जुध्दा माइक्रोबस चालकको घटनास्थलमानै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ८६३१ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ७०१२ नम्बरको ट्रक एकापसमा जुध्दा माइक्रोबसका चालक पाल्पा जिल्लाको हुगीका २५ वर्षीय प्रदीप परियारको घटनास्थलमानै मृत्यु भएको हो । राति १२ः४५ बजे भएको सो दुर्घटनामा माइक्रोबस र ट्रकमा रहेका अन्य यात्रु भने सकुशल रहेका छन् । रासस  

संविधान संशोधनका लागि अब चाँडै सहमति हुन्छः डा कोइराला

नवलपरासी, मङ्सिर २१ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान संशोधनका लागि अब चाँडै सहमति हुने बताएका छन् । सोमबारदेखि नवलपरासीको देवचुलीस्थित कालिका माध्यमिक विद्यालयमा सुरु भएको धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै कोइरालाले यस्तो विचार बताएका हुन् । कोइरालाले संविधान संशोधन कार्यमा सबै दलको सहमति आवश्यक भएको विचार राख्दै कोइरालाले सबै दलको सहमतिमा मात्रै संशोधन प्रस्ताव पारित भएमा कार्यान्वयनमा सजिलो हुने बताए । सरकारले ल्याएको संविधान संशोधनमा सबैको समस्या समाधान हुने बाटो खोज्नु पर्नेमा जोड दिँदै कोइरालाले सबै दलले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नु आवश्यक रहेको बताए । सोमबारनै नवलपरासीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सरिक भएका कोइरालाले वर्तमान समस्या समाधान गर्न सबै दल एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गरे ।