नयाँ प्रक्रियामार्फत संसदमा दवाव

काठमाडौँ, मंसिर ३० । संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी संगठनले नयाँ प्रक्रिया अपनाएर व्यवस्थापिका–संसद्का सांसदलाई दवाव दिएका छन् । उनीहरुले मोबाइलमा एसएमएसमार्फत सन्देश प्रवाह गरी संविधान संशोधन प्रस्ताव फिर्ता लिन दवाव दिएका हुन् ।

उनीहरुले माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस् लगायत विभिन शब्दहरुमार्फत मोबाइलमा एसएमएस प्रवाह गरेका छन् ।

संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दल तथा स्वतन्त्र सांसदले सो प्रक्रियालाई फिर्ता लिन तथा असफल बनाउन सक्ने निर्णायक भूमिका हुने हुँदा सन्देश प्रवाह गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिएका छन् ।

युवा तथा विद्यार्थीका सङ्गठनले अघिल्लो दिन संयुक्त बैठक बसी नयाँ चरणको दबाबका कार्यक्रम ल्याएका थिए । नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गर्न गरेका हुन् ।

ट्याक्सी चालक लामाको हत्यामा संग्लग्न रहेको आरोपमा ५ पक्राउ

काठमाडौँ, २९ मङ्सिर । बौद्धस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा काठमाडौँ उपत्यका बाहिर घर भई नयाँ बस्तीमा बस्ने २० वर्षीया माया तामाङ, ३४ वर्षीया सङ्गीता राई, २६ वर्षीय मागधन राई, २० वर्षीय अरुण माझी र २२ वर्षीय दिया माझी छन् । घाइते अवस्थामा भेटिएका दोलखाका ३६ वर्षीय लामाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै नयाँ बस्तीमा रहेको प्रहरी बिटमा मृतकका आफन्त तथा स्थानीयवासीले यही मङ्सिर २६ गते आक्रमण गरेका थिए । महानगरीय अपराध महाशाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले मृतक लामाको माया तामाङसँग सामान्य मित्रता रहेको र यही मङ्सिर २५ गते शारीरिक सम्पर्क राख्न खोजेपछि भएको विवाद बढेर घटना घट्न पुगेको जानकारी दिनुभयो । घाइते अवस्थामा प्रहरीले अस्पतालमा पु¥याएका लामाको उपचारका क्रममा मृत्यु भएको थियो । रासस

अब विदेशमा मृत्यु भए क्षतिपूर्तीको निवेदन अनलाइनबाटै

काठमाडौँ, २९ मङ्सिर । अब वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिन काठमाडौँ धाइरहनपर्ने समस्याको अन्त्य हुने भएको छ । सरकारले चाँडै नै अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाको क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न थालेपछि काठमाडौँ धाइरहने समस्या अन्त्य हुने भएको हो । अन्तर्राष्ट्रिय आप्रवास दिवसका अवसरमा आज यहाँ प्रवासी नेपाली समन्वय समिति र सुरक्षित आप्रवास परियोजनाले संयुक्त रुपमा ‘वैदेशिक कामदारका मृत्युका मुद्दा’ विषयको अन्तरक्रियामा कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले चाँडै नै अनलाइन प्रणालीमार्फत क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले मृतकका परिवारलाई क्षतिपूर्तिका लागि काठमाडौँ आउने झन्झट हटाउन आ–आफ्नो ठाउँबाट निवेदन दिनका लागि अनलाइन प्रणाली सुरु गर्न लागिएको बताउनुभयो । महानिर्देशक राजभण्डारीले विभागबाटै विदेशमा केही समस्या परेर पीडितलाई ‘अन्तर्राष्ट्रिय फोन’को व्यवस्था गर्न लागिएको हो भन्नुभयो । उहाँले तुरुन्तै उद्धार गर्न र क्षतिपूर्तिका लागि सजिलो होस् भनेर पीडितलाई विभागबाट नै विदेशस्थित नेपालका दूतावास र कम्पनीमा फोनको व्यवस्था गर्न लागिएको बताउनुभयो । कार्यक्रममा झापा पाँचगाछीका देवीप्रसाद तिवारीले छोरा रमेश तिवारीको साउदी अरबमा कामकै सिलसिलामा ज्यान गएपनि अझै क्षतिपूर्ति नपाएको गुनासो गर्नुभयो । २०६८ सालमा छोराको ट्रकले किचेर ज्यान गएपनि क्षतिपूर्तिका लागि पटकपटक काठमाडौँ धाएपनि नपाएको बताउनुभयो । कार्यक्रममा धनुषाकी बबिता साहले कुवेतमा श्रीमान् सत्यनारायणको ज्यान गएपनि अहिलेसम्म बिमा कम्पनीले क्षतिपूर्तिबापतको रकम नदिएको बताउनुभयो । उहाँले कम्पनी र प्रर्वद्धन बोर्डबाट क्षतिपूर्ति पाएपनि बिमाबापतको रकम प्राइम लाइफ इन्स्योरेन्सले नदिएको गुनासो गर्नु भयो । “बिमा कम्पनीले पहिले नाता प्रमाणित गरेर ल्याउ भनेको थियो, त्यो पनि बुझाएँ”–उहाँले भन्नुभयो, “तर अहिलेसम्म पनि दिएको छैन ।” कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की र सुरक्षित आप्रवास परियोजनाकी रोनी प्रधानले वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु कसरी कम गराउन सकिन्छ त्यसतर्फ अभिमुखिकरण कार्यक्रम गर्नु आवश्यक रहेको बताउनुभयो । समितिले प्रस्तुत गरेको प्रतिवेदनमा सन् २०१६ मा प्राकृतिक कारणले सबभन्दा बढी मृत्यु हुने गरेको उल्लेख छ । त्यसपछि क्रमशः आत्महत्या, कार्यस्थलमा दुर्घटना, ट्राफिक दुर्घटना हुने गरेको छ । रासस

प्रचण्डको सम्पत्ती ३ तोला सुन र १ कट्ठा जग्गा, अरु मन्त्रीहरूको के छ त ?

  काठमाडौँ, २९ मङ्सिर । सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको पैतृक सम्पत्तिमा तीन तोला सुन र चितवनमा एक कट्ठा जमिन रहेको छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको विभिन्न बैंकमा सेयर, भक्तपुर र धनुषा जिल्लामा जग्गा एवम् सुन रहेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गृहमन्त्री निधिको ६० तोला सुन, १५० तोला चाँदी र रु १० लाख ९६ हजारभन्दा बढी  नगद छ । अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको रोल्पामा आठ रोपनी जग्गा र एभरेष्ट बैंकमा रु ८० हजार रहेको उल्लेख गरिएको छ । त्यस्तै सहरी विकासमन्त्री अर्जुन नरसिंह केसी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसहित २७ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । त्यसैगरी १४ जना राज्यमन्त्रीको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रासस

ढल्केबर सबस्टेसन निर्माण सन्तोषजनक : प्रधानमन्त्री (फोटो फिचरसहित)

सिरहा, मंसिर २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढल्केबर सबस्टेसन निर्माण तथा स्थरउन्नती कार्यको निरिक्षण गरेका छन् ।   सोही क्रममा चुस्त र दुरुस्त हिसावले कार्यको प्रगति भएकोमा खुसी व्यक्त गर्दै देशभर यही गतिमा कामको खाँचो रहेको औल्याए । प्रचण्डले भने, ‘यस्तै द्रुत गतिमा काम भयो भने अवस्य सफल भइन्छ ।’ प्रधानमन्त्री प्रचण्डले छिट्टैनै भारत किन्ने भनिएको २२० मेगावाट विजुलीलाई देशभरि वितरण गरिने बताएका छन् । यसले देश भरि धेरैहदसम्म लोडसेंडिग अन्त्य हुने समेत उनले बताए ।  

संसद् अवरुद्ध अन्त्य गरियोस : गृहमन्त्री निधी

काठमाडौँ, मंसिर २९ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको विषयलाई लिएर बारम्बार संसद् अवरुद्ध पार्ने काम उचित नभएको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायतलाई आग्रह गरेका छन् । महिला, कानुन र विकास मञ्चले बुधबार आयोजना गरेको ‘नागरिकतासम्बन्धी नेपाली कानुनको विश्लेषण’ विषयक सार्वजनिक कार्यक्रममा गृहमन्त्री निधीले संविधान संशोधनको प्रस्ताव सही भएको भन्दै संसद्को गतिरोध अन्त्य गर्नुपर्ने बताए । उपप्रधानमन्त्री निधिले भने, “संविधान संशोधनको प्रस्ताव संसद्को प्रक्रियाबाटै पूरा गर्नुपर्छ, एमालेले संसद् अवरुद्ध नगर्दा राम्रो हुन्छ ।” गृहमन्त्री निधीले एमालेतर्फ लक्षित गर्दै भने, ‘सरकारमा रहँदा एमालेले त्यही कुरा उठाउँदा राष्ट्रवादी हुने अहिले अर्को सरकार आउँदा अराष्ट्रवादी कसरी हुन सक्छ’ त्यसैले सहमतिबाटै समस्याको निकास पर्छ भन्दै अनवश्यक संसद् अवरुद्ध पार्नु गलत रहेको औँल्याए । कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुनु हुँदैन, नेपाली नागरिकलाई नागरिकबाट वञ्चित हुनेखालको कानुनको संशोधन गरेर जान सकिन्छ उनले भने ।

तत्काल उपकुलपति नियुक्त गर्न क्रान्तिकारीको दवाव

काठमाडौं, मंसिर २९। अखिल क्रान्तिकारीले काठमाडौं विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्ति गर्न दवाव दिएका छन् । बुधबार शिक्षा मन्त्री धनिराम पौडेललाई एक ज्ञापनपत्र बुझाउँदै उनीहरुले सो दवाव दिएका हुन् । शिक्षा मन्त्रालयमा काठमाडौं विश्वविद्यालय लगायतका विभिन्न विश्वविद्यालयसंग सम्वन्धित ६ सूत्रीय मागसहित अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले सो ज्ञापनपत्र पेश गरेका हुन्। ज्ञापनपत्रमा मेडिकल शिक्षाको शुल्क अविलम्ब निर्धारण गर्नुपर्ने र शुल्क निर्धारण समितिको विभेदकारी शुल्क खारेजीको माग गरिएको छ। मन्त्री पौडेलले उपकुलपति नियुक्तिका लागि वनेको शिफारिस समितिमा सहमति वन्न नसक्दा सो ढिलाई भएको खुलासा गरेका छन् । शिक्षा मन्त्रीको संयोजकत्वमा गठित शिफारिस समितिमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा.सुरेसराज शर्मा र पूर्व सभामुख दमननाथ ढुङ्गाना रहेका छन् । स्रोतका अनुसार शर्माले पुरानै उपकुलपति डा.रामकण्ठ माकाजुमा अडान लिएका छन् भने शिक्षामन्त्री नयाँ उपकुलपतिको पक्षमा देखिएका छन्। शिफारिश समितिले ३ जनासम्मको नाम कुलपति एवं प्रधानमन्त्रीलाई शिफारिश गरेपछि त्यस मध्येका एकजनाई कुलपतिले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ। क्रान्तिकारीले मेडिकल कलेजले एकमुष्ठ र वढि लिएको शुल्क फिर्ता गर्न र त्यसका लागि अनुगमन समिति वनाउन समेत माग गरेको छ। विवाद अविलम्ब टुङ्ग्याएर उपकुलपति तत्काल नियुक्ति नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी अखिल(क्रान्तिकारी)का प्रबक्ता सुरेन्द्र बस्नेतले दिएका छन्।

तराईमा शीतलहर, कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु

वीरगन्ज, मङ्सिर २९  । विगत केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्सा जिल्लामा कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर बारा जिल्लाका मनहरवा–८ बस्ने ४० वर्षीय सुकेश्वर माझी तथा पर्सा जिल्लाको सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको कठ्याङ्ग्रिएर हालै मृत्यु भएको प्रहरीले जनाएको छ । निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने रिक्सावाला, मजदुरहरु प्रभावित भएका छन् भने शीतलहरका कारण अन्नबालीसमेत नष्ट भएको छ । चिसोकै कारण विद्यालयमा पठनपाठनसमेत प्रभावित भएको छ । मानिस घरभित्रै बस्न बाध्य भएका छन् भने सबभन्दा बढी वृद्धवृद्धा र बालबच्चा प्रभावित भएका छन् । रासस

रामेछापमा ट्रिपर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं, मंसिर २९ । रामेछापमा ट्रिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराती रामेछापको खाँदादेवी धेरेणा खोपमा बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट ३ सय मिटर तल खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्युहुनेहरुमा सर्लाहीका २९ वर्षिय विकास पौडेल, सिन्धुलीका २४ वर्षिय रुपेश भण्डारी, सिन्धुपाल्चोकका ३५ वर्षिय कुमार विक र ललितपुरका ३५ वर्षिय किरण डाँगी भएको रापेछाप प्रहरीले जनाएको छ । के कारणले दुर्घटना भएको प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

दलीय सम्वाद जारी राख्ने प्रमूख नेताहरुको समझदारी

काठमाडौं,मंसीर २९ । प्रमूख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का प्रमूख नेताहरुको बैठकमा दलीय सम्वाद जारी राख्दै सहमतिमै राष्ट्रिय समस्याहरुको समाधान खोज्ने समझदारी भएको छ । प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा बसेको बैठकमा संविधान संशोधन, महाअभियोग प्रस्ताव, तिनै तहको निर्वाचन, निर्वाचन सम्बन्धि कानून, निर्वाचन क्षेत्र निर्धारण लगायतका राजनीतिक सवालमा सम्वाद जारी राख्ने र सहमतिबाटै निकास खोज्ने समझदारी भएको छ । नेताहरुबीच छिटै विषयकेन्द्रित बैठकको आयोजना गरी टुंगोमा पुग्ने समझदारी समेत भएको छ । प्रधानमन्त्री प्रचण्डको आब्हानमा मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

रंगेली पुगेर ऊर्जामंत्रीले दिए कडा निर्देशन

उर्लाबारी,  २८ मङ्सिर । ऊर्जामन्त्री जनार्दन शर्माले राजनीतिक पूर्वाग्रहलाई त्यागेर जनचाहना अनुुरुप सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुुभएको छ । मोरङको रङ्गेलीस्थित नेपाल विद्युुत् प्राधिकरण वितरण केन्द्रको आज अनुुगमनपछि मन्त्री शर्माले काममा ढिलासुुस्ती गर्ने तथा अनावश्यक रुपमा सेवाग्राहीसँग रकम असुुल गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनीसमेत दिनुभयो । मन्त्री शर्माले मुुलुुकभरि नै चाँडै विद्युत्भार कटौती अन्त्य हुने दाबी गर्दै सरकारको यो प्रयासलाई कार्यान्वयनका लागि सेवाग्राहीले पनि अनावश्यक रुपमा बिजुलीको प्रयोग गर्न नहुुने बताउनुभयो । मन्त्री शर्माले विद्युुत् चुहावट नियन्त्रण गर्न गाउँगाउँमा समिति गठन गर्ने अभियानमा सरकार लागेको बताउनुुभयो । सरकारको एक्लो प्रयासबाट मात्र विद्युुत् चुुहावट नियन्त्रणमा नआउने भएकाले अब समिति बनाएर नै गाउँगाउँका युुवालाई चुुहावट नियन्त्रण अभियानमा परिचालन गरिने उहाँले बताउनुुभयो । कार्यक्रममा नेपाल विद्युुत् प्राधिकरणका निर्देशक कुुलमान घिसिङले विद्युुत् सेवालाई थप प्रभावकारी बनाउन पुुराना ट्रान्सफर्मर परिवर्तन गर्न मन्त्रालय लागिरहेको बताउनुुभयो । रासस

धोका दिएको भन्दै थ्रीस्टार क्लवले एन्फासँग माग्यो ६ करोड क्षतिपुर्ती

काठमाडौं, मंसिर २८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को लापारवाहीले दोस्रो चरणमा जान नपाएको भन्दै थ्री स्टार क्लवले एन्फासँग ६ करोड क्षतपिुर्ती माग गरेको छ । एन्फाको लापरबाहीले गर्दा क्लब दर्ता नहुँदा एएफसी कपको छनोट प्ले अफ खेल्नबाट बञ्चित भएपछि क्लबले एन्फासँग ६ करोड माग गरेको हो । उसले यो मुद्दाको टुंगो नलागेसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ । एएफसीले पटक–पटक ताकेता गर्दा समेत एन्फाले नाम दर्ता नगरिदिएपछि राष्ट्रिय लिग विजेता थ्रीस्टार एएफसी कपको छनोट प्ले अफ खेलबाट बञ्चित भएको छ । नेपाली फुटबलमा सर्वाधिक लोकप्रिय क्लब हाे थ्री स्टार । एसियाको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले–अफ खेल्नबाट वञ्चित भएपछि उसले एन्फासँग क्षतिपुर्ती माग्न पुगेको हो । राष्ट्रिय लिग विजेताका रूपमा थ्री स्टारले एएफसीकपको प्रारम्भिक छनोट खेलेको थियो । मंगोलियामा भएको त्यस छनोटमा पहिलो भएपछि थ्री स्टारले प्ले अफ खेल्न पाएको थियो । त्यसमा विजयी भएको भए, थ्री स्टार सिधै प्रतियोगितामा मुल ‘ड्र’ मा प्रवेश गर्ने थियो । यस्तो स्थितिमा नेपाली क्लब सामु अर्को वर्षदेखि छनोट नखेलेर सिधै प्रतियोगिता खेल्ने अवसर हुन्थ्यो । अझ सके, नेपालका तर्फबाट दुई क्लबसम्म पनि प्रतिनिधित्व गर्न पाउँथ्यो ।

एमाले सहित प्रतिपक्षी मोर्चाको बैठकको निर्णय : संशोधन फिर्ता लिए संसद चल्न दिने !

काठमाडौ, मंसिर २८ । सरकारको प्रतिपक्षी दलहरुको बैठकले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनको कार्यक्रम ल्याएमा संसद चल्न दिने निर्णय गरेको छ । मंगलबार एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको व्यबस्थापिका संसदको प्रमुख प्रतिपक्षी एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतको बैठकले सरकारले चुनाव गराउन कार्यतालिका ल्याए संसद सुचारु गर्न दिने निर्णय गरेका हुन् । सत्ता विपक्षी मोर्चाको बैठकले सरकारले संविधान संसोधनको प्रस्ताव फिर्ता लिनुपर्ने अडान यथावत राखेका छन् । बैठकले सरकार संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको कार्यक्रम ल्याए सहमति हुन सकिने निर्णय गरेको हो । सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गरेपछि सत्ता विपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् ।

कतार जाने कामदारलाई आजदेखि नयाँ नियम, यस्ता छन् नयाँ कानुनका विशेषता !

गणेश बञ्जाडे/ कतार, मंसिर २८ । रोजगारीका लागि नेपालीको गन्तव्यका रुपमा रहेका कतारमा मंगलबारदेखि नयाँ नियम जारी भएको छ । कतार सरकारले आप्रवासी कामदारका लागि कानुन संशोधन गरेर नयाँ कानुन कायान्वयनमा ल्याएको हो । नयाँ नियममा उसको देशमा काम गर्ने कामदारलाई थप अधिकार प्रदान गर्दै सहज व्यवस्था गरिएको छ । कफाला प्रणाली आधुनिक दास बनाउने प्रणाली भएको भन्दै चर्को आलोचना भएपछि विश्वकपको आयोजना गर्ने तयारी गरिरहेको कतारले कामदारलाई सहज बनाउने नियम लागु गरेको हो । नयाँ स्पोन्सरसिप प्रणालीले रोजगारदाता, कर्मचारी वा प्रवासी कर्मचारीका सम्बन्धलाई नियमन गर्नेछ । गएको वर्ष कतारको मन्त्रिपरिषद्ले नयाँ कानुनको मस्यौदा स्वीकृत गरी अन्तिम स्वीकृतिका लागि अमिरलाई पठाएको थियो । त्यसबेलै कतारको माथिल्लो निकाय अर्थात अमिरले यो नियम स्वीकृत गरेपनि डिसेम्बर १३ देखि लागु गर्ने जनाइएको थियो । कफाला प्रणालीमा रोजगारदाता वा मालिकले अनुमति नदिएसम्म लाश समेत स्वदेश फर्काउन सकिंदैन भने, कामदारले कम्पनी परिवर्तन गर्न पाउँदैन् । पासपोर्ट मालिकको हातमा हुन्छ, कामदारको काम, बसाई र आवतजावत रोजगारदाताले नियन्त्रण गर्छ । कफाला प्रणालीमा कामदारलाई दासको व्यवहार गरिन्छ । तर अव कामदारले चाहेको खण्डमा कम्पनी परिवर्तन गर्न पाउने छन् । नियम अनुसार विदा र स्वदेश फिर्तिका लागि पनि कम्पनीले विदा नदिए छुट्टै समिति बनाइएको छ र त्यहाँबाट विदा लिएर घर फर्किन सक्ने छन् । समितिले तीन दिन भित्रमा निर्णय गर्नेछ । सेवा अवधि रोजगारदाता कहाँ काम गर्न थालेको दिनबाट गन्ति हुनेछ । कामदारले अव रोजगारदाता परिवर्तन गर्न चाहेमा साविकको रोजगार दातालाई जानकारी गराए मात्रै पुग्ने छ । अनुमोदन गराइरहन पर्दैन । तर निश्चित अवधिका लागि सम्झौता गरेका कामदारले भने पहिल्यै जानकारी गराउनु पर्ने छ । कतारको संसोधित नयाँ कानुनका मुख्य बुँदा  र  विशेषता — करारपत्रमा केन्द्रित स्पोन्सरसीप — पाँच बर्षसम्म एउटै कम्पनीमा सेवा दिए एनओसी दिनुपर्ने — करार पत्र सकिएलगत्तै स्वदेश फिर्न पाइने — सक्कली करारपत्र बोकेकालाई मात्रै कतार प्रवेश गर्न दिइने — कम्पनीले कामदारलाई रोक्ने अधिकार कटौती — श्रम विवाद भएमा अस्थायी स्पोन्सर पाउने — दोश्रो देशमा भ्रमण गर्न एक्जिट पत्र नचाहिने, कतारलाई छोड्नु परेमा मात्रै एक्जिट पत्र चाहिने — राहदानी राख्ने रोजगारदाता कम्पनीलाई १० देखि २५ हजार रियाल जरिवाना — अनुमति बेगर अर्को कम्पनीमा कामदार पठाए ५० हजार रियाल जरिवाना र तीन बर्ष जेल — कम्पनीले निष्कासन गरेमा चार बर्ष कतार आउन नपाउने — श्रम मन्त्रालयबाट रोजगारपत्रमा प्रमाणीकरण गरेपछि मात्रै भिसा जारी

विद्युत् चोरी रोक्न सरकार आक्रमक

काठमाडौं, मंसीर २८ । विद्युतमा हुने गरेको चुहावट रोक्न सरकारले गम्भीर कदम चाल्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा सिंहदरबारमा बसेको बैठकले विद्युत् चोरी र चुहावट रोक्न कठोर हुने निर्णय गरेको हो । प्रधानमन्त्रीसहित उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मूख्य सचिव डा. सोमलाल सुवेदी, गृह सचिव, अर्थसचिव, उर्जा सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सुरक्षा निकायका प्रमूख एवं प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकमा विद्युत् चुहावट रोक्न कठोर कदम चाल्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्रीले विद्युत चोरी गर्नेहरुमाथि कठोर रुपमा प्रस्तुत हुन र कानुनको दायरामा ल्याउन निर्देशन दिए । प्रधानमन्त्रीले भने – ‘विद्युत् चुहावट र यसको चोरीले राज्यलाई अरबौंको भार पारेको छ । जनता अन्धकारमा बस्न बाध्य छन् । ठूलो मात्रामा विद्युत् चोरी गर्नेहरुमाथि अब कठोर कदम चाल्नुपर्छ, विद्युत् चोरीमा मिलेमतो गर्ने कर्मचारीलाई सामान्य रुपमा लिनु हुँदैन । त्यस्ता कर्मचारी र विद्युतको चारी गर्नेहरुलाई कार्वाही गर्न कानूनको समस्या छ भने भन्नुस्, सरकार कानून संशोधन र नयाँ व्यवस्थाका लागि तयार छ । तर, विद्युत् चोरी र चुहावट गम्भीरतापूर्वक रोकौं ।’ जलविद्युतको विकासले मात्रै आर्थिक समृद्धि सम्भव हुनेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘जलविद्युतको विकास राज्यको समृद्धिको सूचक हो । हामीले यसको महत्वलाई कहिल्यै पनि कम आँक्नु हुँदैन । तत्कालका लागि विद्युत चोरी, कमिसनको अन्त्य गर्न कदम चालौं । भविष्यमा विद्युतको विकासका लागि ठूला जलासययुक्त आयोजना अगाडि बढाउनेतिर सोचौं ।’ बैठकमा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मन्त्रालयले ३७ बूंदे प्रतिवद्धतासहित उर्जा संकट समाधानमा क्रियाशील भएको जानकारी दिए । मन्त्री शर्माले भने– ‘म मन्त्रीमा नियुक्त भएपछि उर्जा मन्त्रालयले ३७ बूंदे कार्ययोजना बनाएर अघि बढाएको छ । तत्कालका लागि विद्युत् चोरी रोक्ने र लोडसेडिङ अन्त्य गर्ने योजना कार्यान्वयन गर्दैछौं । तर, उर्जा संकटका लागि यति मात्रै पर्याप्त छैन, प्रशारण लाइन बिस्तार र ठूला जलासययुक्त आयोजनातिर गम्भीरतापूर्वक लागेर मात्र उर्जा संकट समाधान गर्न सकिन्छ । बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा २६ प्रतिशत विद्युत् चोरी हुने समस्या रहेको भन्दै प्राधिकरणले चोरीमाथि कठोर बन्दै लोडसेडिङ घटाउने र ठूला आयोजना समयमै सम्पन्न गर्नेतिर आफ्नो ध्यान केन्द्रित गरेको जानकारी गराए। बैठकमा प्रधानमन्त्रीले विद्युत् चोरी गर्नेहरुलाई निगरानीमा राखेर कार्वाही अगाडि बढाउन सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

लागुऔषधसहित पाँच पक्राउ

काठमाडौँ, मङ्सिर २८ । प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले सोमबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा काठमाडौँका ४१ वर्षीया सुनिता परियार, झापा तोपगाछी घर भई हाल काठमाडौँ चाबहिल बस्ने २३ वर्षीय अनुप बराइली, काठमाडौँ महाङ्कालका २६ वर्षीय आर्दश तामाङ, काठमाडौँ घर भई ललितपुर गाबहाल बस्ने ३२ वर्षीय विष्णु रणपहेली र सिन्धुली घर भई हाल काठमाडौँ नारायणटार बस्ने ३० वर्षीय विजय तामाङ रहेका छन् । उनीहरुमध्ये सुनिता परियारको साथबाट प्रहरीले नाइट्रोभेट डाइजेपाम १०७ एम्पुल, ब्रप्रेनर्फिन १०७ एम्पुल र फेनागेन १०७ एम्पुलसमेत गरी जम्मा ३२१ एम्पुल लागुऔषधसहित नगद रु ४५ हजार बरामद गरिएको छ । त्यस्तै अनुप बराइलीको साथबाट डाइजेपाम ८६० एम्पुल, ब्रप्रेनर्फिन ८६० एम्पुल र फेनार्गन ८६० एम्पुलसमेत गरी जम्मा दुई हजार ५८० एम्पुल र खैरो हेरोइन एक ग्राम तथा विष्णु रणपहेली र आदर्श तामाङको साथबाट डाइजेपाम ८८ एम्पुल, ब्रप्रेनर्फिन ८८ एम्पुल र फेनार्गन ८८ एम्पुलसमेत गरी कुल १६४ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । विजय तामाङको साथबाट डाइजेपाम पाँच एम्पुल, बुप्रेनिर्फन पाँच एम्पुल र फेनार्गन पाँच एम्पुलसमेत जम्मा १५ एम्पुल बरामद गरिएको छ । अनुप बराइलीले उक्त लागु पदार्थ भारतबाट विराटनगर, वीरगन्ज तथा भैरहवा नाका हुँदै ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनलाई लागुऔषध (नियन्त्रण) ऐनबमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न मितिमा पक्राउ गरिएका उनीहरुलाई आज ब्युरोले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रासस