विप्लव माओवादीले भन्याे, ‘दिसा खुवाउने शिक्षकलार्इ कारवाही गर’

काठमाडौं, मंसीर २७ । काभ्रेको वाङथली–७ निवासी ३३ वर्षीया एक दलित महिलालाई बोक्सीको आरोपमा दिसासमेत खुवाई निर्मम कुटपीट गरी हत्या गरिएको घटनाप्रति विप्लव माओवादीले घटनाका दोषीलाई कडा कारवाहीको माग गरेको छ ।

२१ औं शताब्दीमा आएर पनि बोक्सीको आरोप लगाई गत मंसीर २४ गते ती दलित महिलामाथि स्थानीय हिरा तामाङको नेतृत्वमा निकै क्रुर तथा अमानवीय हत्याका कारण तत्काल छानविन गरी दोषीउपर कडा कारवाहीको लागि नेकपा (माओवादी) काभ्रेले एक प्रेस विज्ञप्ति जारी गरी कारवाहीको माग गरेको हो ।

झलनाथले भने– छिमेकीले गिद्दे नजर लगाएकाले देश विकास हुन सकेन

काठमाडौं, मंसिर २६ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले दक्षिण एसियाली मुलुकहरुको तीव्र विकास हुन नसक्नुमा औपनिवेशिकता पनि एक कारण भएको बताएको छ । पाकिस्तानको इस्लामावादमा जारी शान्तिका लागि विश्व युवा महासम्मेलन २०१६ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एसियाको अविकासको कारणमा यहाँका औपनिवेशिकता पनि रहेको र अहिले उत्तर र दक्षिण तथा पश्चिम र पूर्वका बीचमा बढिरहेको असमानता माझ लाखौँ युवा रोजगारीका लागि विदेश जाने गरेको बताए । उनले चीन, दक्षिण पूर्वी एसियालगायत दक्षिण एसियामा समेत देखा परेको आर्थिक वृद्धिप्रति सन्तोष व्यक्त गर्दै थप सहकार्यबाट एसियामा विकास र समृद्धि हासिल गर्न सकिने र यसले युवामा रहेको बेरोजगारी समस्या हल हुने उल्लेख गरे । ‘यो शताब्दी युवाको भएकाले राजनीतिमा उनीहरु नै समाज रुपान्तरण, आर्थिक विकास र प्रजातान्त्रीकरणका मूलवाहक हुन् । आज युवामा शिक्षा, सीप विकास र तालिमबाट उनीहरुको मानसिकतामा परिवर्तन गरी अघि बढाउनु अत्यावश्यक छ’ खनालले भने । खनालले पाकिस्तानका पूर्वप्रधानमन्त्री राजा गिलानीसहित विभिन्न देशका पूर्व विशिष्ट व्यक्तिसँग पनि पनि भेटघाट गर्नुभएको उहाँका निजी सचिव कृष्ण भट्टराईले जानकारी दिए । नेता खनाल यही मंसिर २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

पूर्वमन्त्री पण्डित भन्छन्- दुई नम्बर प्रदेशको बारेमा पनि पुनर्विचार गर्नुपर्छ

नेपालगन्ज, मंसिर २६ । एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले दुई प्रदेश बनाउँदा विभेद गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । शनिवार नेपालगन्जमा प्रेस चौतारी बाँकेको पत्रकार भेटघाटमा उनले नेपालको राष्ट्रियता, सद्भाव, विकास र समृद्धिका लागि पहाड र तराई जोडिएका प्रदेश बनाउनुपर्ने बेलामा पहाडबाट तराई छुट्याए ‘राष्ट्रघात’ हुने बताए । ‘किस्ताबन्दी रुपमा एक मधेस एक प्रदेश बनाउन खोजिएको छ, त्यसका लागि छिमेकीका दुतावासभित्र छलफल भएका छन्,’ उनले दाबी गरे । तराई–मधेसलाई पहाडसँग जोड्नै हुन्न भन्नेहरु अतिवादी भएको उनको भनाइ थियो । उनले भने–‘छिमेकी मुलुक भारतमै पनि अधिकांश प्रदेशहरु पहाड र समतल भूभाग जोडिएरै बनेका छन् ।’ २ नम्बर प्रदेशमा पनि पहाडमा नजोडे समस्या आउने उनको भनाई थियो । दुई नम्बर प्रदेशमा उदयपुर, सिन्धुली र मकवानपुरका सके पुरै नभए पनि केही भाग जोड्न उनले माग गरे । संविधान कार्यान्वयन हुन नदिन केही स्वदेशी र केही विदेशी मित्रको दबाब थेग्न नसकेर सरकारले संशोधन प्रस्ताव ल्याएको उनले आरोप लगाए । ‘एमालेले यही रुपमा संशोधन स्वीकार्दैन’ पण्डितले भने, ुगैरसंवैधानिक प्रस्तावलाई संसदमा प्रवेश दिनु संविधानको खुट्टा भाँच्नु हो । त्यो संविधान असफल पार्ने खेल भएकैले एमालेले रोकेको छ ।’ वैवाहिक अंगीकृत नागरिकतामा नेपालजति उदार कुनै देश नभएको उनको भनाइ थियो । पण्डितले हिन्दी भाषालाई घुसाउने षड्यन्त्रलाई भने कुनै हालतमा सफल हुन नदिने बताए । भारतीय दुतावासभित्र मधेसी मोर्चाका नेताहरुको भेलाबारे असन्तुष्ट रहेका उनले भने–,‘हामीले कस्मिर समस्या, गोरखाल्याण्डबारे बोल्या छौं र ? हाम्रो आन्तरिक मामलामा छिमेकीले किन दबाब दिने ?’

जन्म दिनको शुभकामना दिन वालुवाटार पुगे किरण

काठमाडौं, मंसिर २६ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा पुगेर जन्म दिनको शुभकामना दिएका छन् । प्रचण्ड आज देखि ६२ वर्ष पूरा गरेर ६३ वर्षमा लागेका छन् । २०११ साल मंसिर २६ गते उनी पोखराको ढिकुर पोखरीमा जन्मिएका हुन् । अध्यक्ष किरणले आइतबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई ६२ औं वर्ष पुगेको उपलक्ष्यमा जन्मदिनको शुभकामना दिएका हुन् । बालुवाटारमा प्रचण्ड र वैद्यवीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो भेटमा प्रधानमन्त्री प्रचण्डले वैद्यलाई समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे जानकारी गराएका थिए । वैद्य प्रचण्डका राजनीति गुरु हुन् । उनी प्रचण्ड नेतृत्वमा रहेको माओवादी पार्टीबाट अलग भएर नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष भएका छन् । रामबहादुर थापा समूह पुरानो घरमा फर्किए पनि वैद्य भने अहिलेसम्म माओवादी केन्द्रमा फर्किएका छैनन् ।

एमालेविरुद्द खनिए देउबा, दिए यस्तो कडा अभिव्यक्ति

काठमाडौँ, २५ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर राष्ट्रिय एकता कायम गर्न संविधान संशोधनको प्रस्ताव ल्याइएको बताउनुभएको छ । नेपाल जेसिसको ४३औँ राष्ट्रिय अधिवेशनको आज टोखास्थित भूतखेलमा उद्घाटन गर्दै उहाँले हिमाल, पहाड र मधेस तथा सबै जातिलाई मिलाएर एकताबद्ध गर्नका लागि संशोधनको प्रस्ताव ल्याइएको स्पष्ट पार्नुभयो । पहाडी र मधेसीका बीचमा वैमनस्यता सिर्जना गरेर पहाड र मधेसलाई अलग गर्न खोजिएको भन्दै पूर्व प्रधानमन्त्री देउवाले नेपालीका बीचमा सङ्कट पैदा गर्ने राष्ट्रवादी हुन्छ कि मिलाउने राष्ट्रवादी हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो–“राष्ट्रियताको नाममा मधेसी र पहाडीबीचमा झगडा गराउन हुँँदैन । मधेसमा बस्ने नेपालीलाई अविश्वास गर्न हुँदैन । मधेसी नेपाली हुन्, उनीहरु सधैँ नेपाली भएर बाँच्न चाहन्छन् । कसैलाई अविश्वास र आक्षेप लगाएर मुलुक चल्दैन ।” नेकपा (एमाले)ले छिनछिनमा कुरा बदल्न नहुने बताउँदै उहाँले काँग्रेसका पूर्व सभापति सुशील कोइराला र नेकपा (एमाले) अध्यक्ष केपी ओलीले हस्ताक्षर गर्नुभएको सम्झौताका आधारमा संविधान संशोधन प्रस्ताव ल्याइएको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन प्रस्तावमा कुनै बाह्य दबाब नरहेको स्पष्ट पार्नुभयो । नेपाली कसैको दबाबमा पनि नपर्ने बताउँदै सभापति देउवाले स्वतन्त्रको आन्दोलनमा सबैभन्दा बढी लडेको पार्टीले कसैको दबाबमा नपर्ने धारणा राख्नुभयो । उहाँले विगतको स्मरण गराउँदै भन्नुभयो – “२००७ सालमा राणाशासन अन्त्य गर्ने पार्टी हो, पञ्चायत फ्याँक्ने पार्टी हो, पूर्वराजा ज्ञानेन्द्रको शासन सत्ता च्यूत गर्ने पार्टी नेपाली काँग्रेस हो, यो कसैको दबाबमा पर्दैन ।” सम्पूर्ण नेपालीलाई मिलाउने दायित्व काँग्रेसको भएको बताउँदै सभापति देउवाले यो मुलुक हिमाल, पहाड र मधेसमा बस्ने सबै नेपालीको देश भएको बताउनुभयो । मधेसमा बस्ने जनताले सिमानामा बसेर राष्ट्रियता जोगाएको बताउँदै उहाँले उनीहरुको भावना सम्बोधन गर्न संविधान संशोधन गर्नुपरेको धारणा राख्नुभयो । “सुस्तामा निरन्तर लड्ने नेपाली हुन्, विदेशी होइनन्, सबै तराईका बासिन्दा नेपाली हुन्, उनीहरुको भावनालाई सम्बोधन गनुपर्छ”– सभापति देउवाले भन्नुभयो – “के सिमानामा भएका अन्याय अत्याचारमा लड्ने मधेसीहरु अराष्ट्रिय तत्व हुन्, के उनीहरु विदेशी हुन् ?, यो हुन सक्दैन ।” उहाँले संविधान संशोधनको पक्षमा नेकपा (एमाले)ले मत हाल्ने विश्वास व्यक्तसमेत गर्नुभयो । सभापति देउवाले नेपाली काँग्रेसको सिद्धान्त र जेसिसको सिद्धान्त मिल्ने भएकाले यस संस्थासँग आफ्नो गहिरो सम्बन्ध रहेको बताउनुभयो । सो अवसरमा नेकापा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधान संशोधनको प्रस्तावसँगै मुलुक गम्भीर सङ्कटमा परेको भन्दै उहाँले सामाजिक सद्भावको रक्षाका लागि सबै युवा सक्रिय भएर अगाडि आउनुपर्ने बताउनुभयो । स्वतन्त्र, सार्वभौम र भूपरिवेष्टित मुलुकका नागरिकका रुपमा स्वाभिमानीपूर्वक बाँच्न पाउनुपर्ने धारणा राख्दै उहाँले ऐतिहासिक सङ्कटबाट मुलुकलाई जोगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “मैले काँचो राष्ट्रवाद बोलेको होइन, मुलुक सङ्कटमा छ, त्यसलाई मुक्त गर्नुपर्छ ।” कार्यक्रममा नेवाः गुठीका अध्यक्ष देवराज डङ्गोल, नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष रवीन्द्र गुरुङ, जेसिस नेपालका संस्थापक डा भेषबहादुर थापाले युवालाई सक्रिय बनाएर मुलुक परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । चार दिनसम्म चल्ने महाधिवेशनमा नेपालभरिका १३८ शाखाबाट तीन हजार युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस

एमालेले हलो अडकाउन खोज्दैछ- नेता पौडेल

  कावासोती, २५ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समग्र हितबाहेक कसैसँग पनि गलत सम्झौता नगर्ने बताउनुभएको छ । नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं २ ले आज डेढगाउँमा गरेको आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो विचार व्यक्त गर्नुभएको हो । उहाँले नेपाली काँग्रेस संविधानको कार्यान्वयनका लागि जस्तोसुकै पहल कदमी चाल्न तयार रहेको बताउँदै काँग्रेस मुलुकमा हाल देखापरेका चुनौतीको समाधान खोज्न तयार रहेकामा जोड दिनुभयो । काँग्रेस वरिष्ठ नेता पौडेलले अहिले संविधान संशोधन आवश्यक रहेकामा जोड दिँदै एमालेले आफ्नो नेतृत्वमा सरकार हुँदा यही प्रस्तावलाई अघि बढाएकाले अहिले हलो तेस्र्याउने काम भएकाले त्यस्ता गलत प्रवृत्ति छाडेर संविधान संशोधनमा सघाउन एमालेलाई आग्रह गर्नुभयो । संविधान संशोधनले मात्र संविधान कार्यान्वयनको बाटो खोल्ने छ ।

मोर्चाले भन्यो- एमालेको आन्दोलन प्रतिक्रियावादीहरूको बित्तन्डा

काठमाडौं, २० मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनको विरुद्धमा चलाएको आन्दोलन अतिवादी, विखण्डानकारी र उग्रवादी भएको मधेसी मोर्चाले ठहर गरेको छ । शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले एमालेले चलाएको आन्दोलनलाई प्रतिक्रियावादीहरुले उत्पीडित जनतालाई अधिकार नदिनका लागि चलाइएको वितण्डाको संज्ञा समेत दिएको छ । बैठकले एमालेको आन्दोलनलाई शोषक वर्गले उत्पीडित जनताको विरुद्धमा चलाएको वितण्डा भएको निष्कर्ष निकाल्दै त्यसको निन्दा गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । एमालेले संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै देशव्यापी रुपमा आन्दोलन चलाउने निर्णय गरेकै बेला मोर्चाले राष्ट्रिय एकताालाई खलल पार्ने खालका कुनै पनि गतिविधि नगर्न समेत एमालेको ध्यानाकर्षण गराएको छ । ‘एमालेले अहिले देशमा संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्दै गरेको आन्दोलन अतिवादी, विखण्डनकारी र उग्रवादी भएको मोर्चाको ठहर छ ।’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । एमालेले संसदको बैठक अवरुद्ध पारेर ठूलो गल्ती गरेको भन्दै त्यो संसदीय अभ्यासको अपमान भएको समेत बैठकले ठहर गरेको छ । ‘कुनै पनि प्रस्तावलाई संसदमा प्रस्तुत हुन नदिनु लोकतन्त्र र संसदीय अभ्यासको अपमान गर्नु हो’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अलोकतान्त्रिक र निन्दनिय कार्यलाई तत्काल रोकिनुपर्छ ।’ file photo

संशोधन प्रस्ताव जनजातीका लागि मौका- राज्यमन्त्री गुरुंग

इटहरी, २५ मङ्सिर । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले नेपाल सरकारले जारी गरेको संविधानको अन्तरवस्तुमा चित्त नबुझाएर असन्तुष्टि राख्दै आएको आदिवासी जनजातिले अहिलेको संविधान संशोधनको प्रस्तावलाई उपयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । स्वास्थ्य मन्त्री गुरुङले आज नेपाल आदिवासी जनजाति सङ्घ, सुनसरीले धरानमा आयोजना गरेको ‘संविधान संशोधनमा आदिवासी जनजातिको सवाल’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटनपछि बोल्नुहुँदा सो कुरा बताउनुभएको हो । स्वास्थ्य मन्त्री गुरुङले वर्तमान सरकारले संविधान संशोधनको प्रस्तावलाई संसद्मा प्रस्तुत गरेको अवस्था रहेकाले आदिवासी जनजातिले संंविधानको अन्तरवस्तुमा चित्त नबुझेका बुँदालाई यहीबेला घनिभूतरुपमा अघि बढाएर संविधानमा संशोधन गराउन अधिकतम प्रयास गर्नु जरुरी रहेको कुरामा जोड दिनुभयो । नेपालको संविधानले सबै तह र क्षेत्रलाई भरसक समेट्ने भरमग्दुर प्रयास गरेको उल्लेख गर्नुहुँदै स्वास्थ्य मन्त्री गुरुङले संविधानले समेटेका विषय प्रायः सबै नेपालीको हितका पक्षमा रहेकाले केही विषयमा चित्त नबुझेको भए त्यसलाई समयसापेक्ष सुधार र परिमार्जन गर्दै अघि बढ्न सकिनेतर्फ पनि सबैले ध्यान दिन जरुरी छ भन्नुभयो । सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री गुरुङले धरानवासीले जोगवनी–धरान चारलेनको व्यापारिक सडक विस्तारका क्रममा अहिलेकै सडक क्षेत्रमा सडक बनाउँदा धेरै नोक्सानी हुने भनेर आवाज उठाइरहेका सन्दर्भमा धरानवासीले कहाँबाट बाइपास सडक लैजानुपर्ने हो भन्ने विकल्प दिन जरुरी हुन्छ भन्नुभयो । उहाँले सोही प्रसङ्गमा धरान पर्यटकीय र जनजातिको सघन बसोबास रहेको सहर रहेकाले प्रदेश नम्बर १ को राजधानी बनाउन धरानवासीले अघि सारेको विषयलाई आफूले पनि महत्वका रुपमा लिई त्यसलाई आवश्यक सहयोग पु¥याउने वचन दिनुहुँदै धरानमा विमानस्थल बन्न जरुरी रहेकोतर्फ पनि आफू सकारात्मक रहेको बताउनुभयो । सङ्घका जिल्ला अध्यक्ष नन्दराज राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले धरानको विकासमा राज्यले विशेष चासो र पहल गर्नुपर्ने कुरामा मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा सन्दिप श्रेष्ठ र प्रेमकुमार राईलगायतले बोल्नुभएको थियो । रासस ––––––––

पाल्पा बन्द फिर्ता !

पाल्पा, मंसिर २५ । ११ दिनदेखि पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा पाल्पामा भएको बन्द आइतबारबाट फिर्ता हुने भएको छ । प्रमुख प्रतिपक्षी एमालेको अगुवाईमा व्यबसायीहरुले समेतले गराउँदै आएको पाल्पा जिल्ला बन्द फिर्ता लिएका हुन् । ११ दिनदेखिको बन्दले जनजीवन कष्टकर हुँदै आएको थियो । बन्दको एघारौं दिन शनिबार आन्दोलनरत दलका नेताहरुले तानसेनमा मानव साङ्लो प्रदर्शन गरेर आयोजित सभामा आइतबारदेखि बन्द फिर्ता लिएको बताएका हुन् । एमाले अध्यक्ष नारायण आचार्यले आन्दोलनको स्वरुप परिवर्तन हुने र प्रदेशस्तरीय कार्यक्रम आउने भएकाले बन्द हड्तालबाहेक विरोध जुलुस, सभा, बैठक लगायतका कार्यक्रम जारी राख्ने बताए ।

एमालेले भन्यो–‘चुनाव गराउने भए संसद चल्न दिन्छौ’

काठमाडौं, मंसिर २५ । एमालेले संसदमा गरिरहेको अवरोध हटाउने संकेत गरेको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसद्को अवरोध हटाउन सक्ने भएको छ । सरकारले यही मङ्सिर १४ गते आफूहरुसँगको सहमतिबिना प्रदेशको सिमाना हेरफेरसहित व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराएको जनाउँदै एमाले र अन्य विपक्ष दलले सदन र सडकमा प्रतिरोध गर्दै आएका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संविधानको कार्यान्वयन, निर्वाचन र मुलुकलाई समाधान दिने सन्दर्भमा आफ्नो दल बाधक नहुने बताए । ‘एमालेको अवरोधले निर्वाचनका कानुन अघि बढ्न नसकेको भन्ने सरकारको आरोप हो भने गृहमन्त्रीको टेबलमा रहेका ती विधेयक उसले संसद्मा ल्याओस्, त्यसपछि निकास दिन हामी तयार छौ ।’ नेता ढकालले भने- ‘हाम्रो पहिलो अडान संविधान संशोधनको विधेयक फिर्ता गरेर निर्वाचनका तयारी अघि बढून् भन्ने हो, अब सरकारले निर्वाचनका कामलाई सहमतिसाथ ल्याउँछ वा ल्याउँदैन भन्ने हेर्न बाँकी छ ।’ आगामी २०७४ माघ ७ भित्र केन्द्र, प्रदेश र स्थानीय तहका निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता छ । विपक्षीको अवरोधका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्तावमा पनि छलफल अघि बढ्न सकेको छैन । सरकारले भने नेपालको संविधानको धारा २९६ बमोजिम सो संविधान संशोधनको विधेयकको दर्ता गरिएको र त्यसमा आवश्यक परिमार्जन गरेर समाधान निकाल्ने जनाएको छ । सरकारमा रहेका केही दलले संसद् अवरोध गर्नु लोकतान्त्रिक चरित्र नभएको टिप्पणी गर्दै आएका छन् । सदनको गतिरोध फुकाउन सभामुख ओनसरी घर्तीले दलका शीर्ष नेतासँग निरन्तर संवाद गरिरहेकी छन । संसद्को अर्को बैठक यही मङ्सिर ३० गतेका लागि तय गरिएको छ । एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले पनि जनताको आवाज बुलन्द हुने स्थल संसद्लाई लामो समय अवरोधमा राख्न नहुने बताउँदै निर्वाचनका कानुन ल्याइएमा आफूहरुले सदनको गतिरोध अन्त्य गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । यसबारे एमालेको संस्थागत धारणा बाहिर आइसकेको छैन । यही मङ्सिर २० गते बसेको एमाले स्थायी कमिटीको बैठकले संविधान संशोधन विधेयक असंवैधानिक भएको जनाउँदै संसद भित्र र बाहिर जारी विरोध तथा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको थियो । बैठकले विधेयक फिर्ता गरी संवाद र सहमतिको माध्यमबाट समस्याको हल गर्दै अविलम्ब निर्वाचनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको थियो । रासस

प्रमुख दलहरु जिम्मेवार बन : कांग्रेस नेता

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख दलहरुलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । नेपाली कांग्रेसले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिहले प्रतिपक्षीहरुले हाल चर्चामा ल्याएको संविधान संशोधनको विषय बाहिरी इसारामा आयो भन्ने हल्ला गलत रहेको भन्दै त्यस्तो हल्लाको पछाडी नलाग्न आग्रह गरे । ‘मधेशी मोर्चा लगायतले उठाएका जायज मागका सबन्धमा हल्का अभिव्यक्ति दिनुभन्दा जिम्मेवार बन्न प्रमुख दलहरुलाई आग्रह गरे । सरकारले अहिले राखेको संशोधन आवश्यक परिमार्जन गरेर अगाडि बढाउन तयार समेत उनले बताए । अहिलेको अवस्थामा छलफल र सहमतिबाटै जारी राजनीतिक गतिरोध अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘प्रमुख दलहरु मिलेर संविधान कायन्यनको प्रमुख आधार निर्वाचनको वातावरण बनाएर चुनावमा जाने अवस्था बन्न नसके मुलुक संकटमा फस्नेछ । त्यसैले परिवर्तनकारी शक्ति मिलेर अघि बढ्नुको बिकल्प छैन ।

स्वास्थ्यमन्त्री थापालाई साक्षी राखेर तिवारीले तोडे अनशन

राजविराज, मंसिर २५ । अठार दिनदेखि अनशनरत विकास तिवारीले अनसन तोडेका छन् । तिवारी गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुविधा सुधारको माग गर्दै विगत मंसिर ८ गतेदेखि अनशनमा थिए ।  सरकारी पक्षबीच चार बुँदे सहमति भएपछि उनी अनसन तोड्न सहमत भएका थिए । तिवारीले कुपोषणले ग्रसित १४ महिने बालिका निलमकुमारी मण्डलको हातबाट जुस पिएर अनसन तोडेका हुन् । शनिबार स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा राजविराजमा दुवैपक्षका प्रतिनिधिबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकारले आफ्ना माग पूरा गर्ने सहमति जनाएपछि तिवारीले अहिले केहीबेरमा अनशन तोड्दै छन् । सहमतिअनुसार एक महिनाभित्र गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबिन समिति बनाउने, उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाएपछि दोषी ठहर भएकालाई कारबाही गर्ने लगायत बुँदा समेटिएका छन् । अनशनरत तिवारी नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष पनि हुन् । तिवारी गत मंसिर ८ गतेदेखि अस्पताल परिसरमै आमरण अनसनरत बसेका थिए । उनले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको बेथिति छानविन गर्न डा. गोविन्द केसीको संयोजकत्वमा उच्चस्तरिय समिति बनाउनुपर्ने, अस्पताल बालमैत्री बनाउनु पर्ने, अस्पतालमा भर्ना हुने रोगीहरुलाई स्वस्थ, पोषिलो खाना भरपेट उपलब्ध गराउनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, अस्पताल मूल गेटको निर्माण हुनुपर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने लगायतका माग राखेका थिए ।

सोलिडारिटी कप विजेताले जनही तीन लाख पाउने

काठमाडौँ मङ्सिर, २५ । अखिल नेपाल फुटबल सङ्घ(एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति बैठकले विजेता टोलीका सदस्यलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । मलेसियामा सम्पन्न सोलिडारिटी कप फाइनलमा मकाउलाई हराउँदै नेपालले पहिलो पल्ट एएफसीले आयोजना गरेको प्रतियोगिताको उपाधि जितेको थियो । त्यस्तै कार्यसमिति बैठकले एन्फाको वरिष्ठ उपाध्यक्षमा मणि कुँवरलाई मनोनीत गरेको छ । बैठकले उपाध्यक्ष कुँवरलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको हो । उहाँ गत ८ कात्तिकमा निर्वाचनबाट उपाध्यक्षमा विजयी भएका थिए । त्यसपछि रिक्त रहेको उपाध्यक्षमा सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घका अध्यक्ष वीरबहादुर खड्का मनोनीत भएका छन् । एन्फाले २०१७ मा हुने चुनावका लागि विधान संशोधन प्रस्ताव तयार पार्न कुँवरको नेतृत्वमा समिति बनाएको छ । बैठकले थ्रीस्टार क्लब एएफसी क्लब च्याम्पियनसिपको प्लेअफ खेल्नबाट वञ्चित भएको बारे छानबिन गर्न वीरबहादुर खड्का, रमेश रायमाझी र सञ्जीव मिश्र सम्मिलित समिति गठन गरेको छ । उनीहरूलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । एन्फाले समयमै खेलाडीको नाम दर्ता नगरी दिँदा थ्रीस्टार प्रतियोगिताबाट बाहिरिएको छ । महिला साफका लागि २० खेलाडी छनोट यसैगरी अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले भारतको सिलगुढीमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । पुस ११ गतेदेखि सुरु हुने च्याम्पियनसिपका लागि २० सदस्यीय टोली छनोट गरिएको छ । जसमा ३ गोलकिपर, ६ डिफेन्डर, ४ स्ट्राइकर र ७ मिडफिल्डर छन् । प्रशिक्षकमा कुमार थापा र अस्मिता खवास सहायक प्रशिक्षक छन् । नेपाली टोलीको कप्तानमा रेनुका नगरकोटी र उपकप्तानमा आँचल वाइवा छन् । अन्य खेलाडीमा नमिताकुमारी दली, गीता राना, पुनम जर्घा मगर, हीराकुमारी भुजेल, सपना लामा, दीपा अधिकारी, सावित्रा राजभण्डारी, कृष्णा खत्री, अनिता बस्नेत, मनमाया लिम्बू, अञ्जिला तुम्बाफो सुब्बा, दीपा राई, शर्मिला थापा, अञ्जना र रानामागर, मञ्जलीकुमारी योञ्जन, कविता धिमाल, सरु लिम्बू र निर्मला विक छन् । तीस खेलाडीबाट छनोट गरेर अन्तिम २० को सार्वजनिक गरिएको थियो । समूहमा ‘ए’मा रहेको नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान छन् । नेपालले पहिलो खेल पुस ११ गते भुटानसँग खेल्नेछ । भारत, अफगानिस्तान र बङ्गलादेश समूह ‘बी’मा छन् । रासस  

अर्थमन्त्री महराले भने- संबिधान कार्यान्वयन नगरि हुन्न,संशोधन प्रस्ताव फिर्ता लिईन्न

बेंसीसहर (लमजुङ), २४ मङ्सिर । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनको विकल्प नभएकाले संशोधन प्रस्ताव फिर्ता नहुने बताउनुभएको छ । आज सदरमुकाम बेंसीसहरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री महराले परिमार्जन गरेर भएपनि संविधान संशोधन गरिने दाबी गर्नुभयो । संविधान संशोधनको विषयमा चर्किएको विवाद सान्दर्भिक भएको बताउँदै उहाँले संविधान संशोधन गम्भीर विषय भएकाले यसलाई व्यापक बहसमा ल्याउन जरुरी भएको उल्लेख गर्नु भयो । “सविधान संशोधनको प्रस्तावमा विरोध आउनु असान्दर्भिक छैन्” उपप्रधानमन्त्री महराले भन्नुभयो, “यस विषयमा व्यापक छलफल हुन जरुरी छ ।” व्यापक छलफलपछि प्रस्तावित बुँदाहरूलाई परिमार्जन गरेर भएपनि संविधान संशोधन गर्नुपर्छ ।” मन्त्री महराले भन्नुभयो “संविधानका विषयमा कोही सन्तुष्ट छन् कोही असन्तुष्ट छन् तर सवैलाई सन्तुष्ट गराउन समय लाग्छ ।” वर्तमान सरकार संविधान संशोधनसहित भूकम्पपछिको पुनःनिर्माण, शान्ति प्रक्रियाको बाँकी काम, मूलुकको आर्थिक समृद्धि र संविधान कार्यन्वयनको विषयमा गम्भीर भएको बताउनु भयो । रासस

छिट्टै चुनावको मिति घोषणा हुन्छ, ‘प्रधानमन्त्री’

सुर्खेत, मंसीर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको बताएका छन् । शुक्रबार बिहान सुर्खेतको बिरेन्द्रनगरमा पार्टीनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो कुरा बताएका हुन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले जनयुद्ध, जनआन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षका उपलब्धी संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य भएको भन्दै निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताए । संविधान संशोधन प्रस्तावबारे प्रचण्डले भने, ‘संशोधन प्रस्तावको सीमाङ्कन हेरफेरको विषयलाई लिएर जुन आन्दोलन भइरहेको छ, यसका पछाडि ठूलो षड्यन्त्र छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत जे–जति उपलब्धीहरु माओवादीको पहलमा भयो, ति सबैलाई उल्ट्याउने षडयन्त्रबाट आन्दोलन प्रेरित त छैन भन्ने प्रश्न उठेको छ ।’ उनले थपे, ‘जसलाई संघीयता मन परेको छैन, गणतन्त्र मन परेको छैन, समावेशी समानुपातिकता पनि मन परेको छैन तिनिहरुले नै यी सब बखेडा झिकिरहेका छन् ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धका गतिविधि निस्तेज पार्न पहलकदमी लिन कार्यकर्तालाई अपिल गरे । हालसम्मका सबै उपलब्धी माओवादी जनयुद्धको जगबाट प्राप्त भएकाले माओवादी पार्टी सबैभन्दा लोकप्रिय बन्ने सम्भावना रहेको भन्दै कार्यकर्ताहरुलाई निरास नहुन र नयाँ जोश, जाँगर र उत्साहका साथ चुनावको तयारीमा जुट्न आग्रह गरे । उनले भने, ‘हामी बलियो भएनौं भने सबै उपलब्धी उल्टिने खतरा छ । हामी बलियो भयौं, सक्रियतापूर्वक लाग्यौं, जनतालाई एकतावद्ध बनायौं भने मात्रै हामीले राष्ट्रलाई एकताबद्ध पार्न सक्छौं ।’ प्रचण्डले माओवादी पार्टीलाई एकताबद्ध पार्न आफू क्रियाशील रहेको बताउँदै मोहन वैद्य, बाबुराम, विप्लवहरुसँग पनि पार्टी एकता हुने विश्वास व्यक्त गरेका छन् ।

दर्शनार्थी बोकेको बस उदयपुरमा दुर्घटना, पाँच जनाको मृत्यु

उदयपुर, मंसिर २४ । उदयपुरमा शुक्रबार विहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी घुर्मी खण्डमा पर्ने लेखानी ५ भदौरेमा बा ४ ख ३६२० नम्बरको बस बिहान साँढे ९ बजे दुर्घटना भएको हो । ४१ भन्दा बढी यात्रु चढेको सो बस खोटाङको हलेसी दर्शन गरेर फर्कदै गर्दा दुर्घटना भएको प्रहरी नायव उपरिक्षक कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनामा ५ जान भन्दा बढि दर्शनार्थीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । प्रहरी दुर्घटनास्थलतर्फ जाँदै गरेकाले थप विवरण आउन बाँकी छ ।