लोकमानलाई कालोमोसो दल्ने सर्वोच्चको फन्दामा, अदालतको अपहेलना गरेकोमा बयान लिइने

काठमाडौं, पौष १३ । सर्वोच्च अदालतमा बयानका लागि उपस्थित हुने क्रममा गत पुस ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने विप्लव कार्यकर्तालाई अदालतले बोलाएको छ ।

विप्लव कार्यकर्ताहरुले इजलासमा बयानका लागि जाने क्रममा पछाडिबाट लोकमानसिंह कार्कीलाई कालो मोसो दलेका थिए । प्रहरीले विप्लव माओवादीका दुई जनालाई तत्काल नियन्त्रणमा लिएको थियो । लोकमान सिंह कार्कीले भने घटनाको भोलीपल्ट कालोमोसो दल्ने दुबै जना कसैबाट परिचालित भएकोले छोडिदिन भनेका थिए ।

सर्वोच्च अदालतले भने अदालत परिसरमा अदालती कारवाहीको क्रममा भएको व्यवहार अदालतको अपहेलना भएको भन्दै दुबैलाई बयानका लागि अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

लोकमानले आफूमाथि कालोमोसोको घटनाबारे कार्वाहीको माग नगरेपनि अदालतको अवहेलनाको मुद्दामा दुबै जनामाथि कानुनी कारवाही हुनसक्ने देखिएको छ ।

मोर्चासहित बसेको सत्ता गठबन्धनको बैठकले के गर्ला निर्णय ?

काठमाडौं, पुस १२ । एमालेले एक महिनादेखि जारी राखेको संसद अवरोध खुलाउने बारेमा साझा धारणा बनाउन सत्तारुढ र मधेसी मोर्चाका नेताबीच बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री पुष्पकमल‘प्रचण्ड’ले सत्ताघटकदल र मधेसी मोर्चाका सबै नेताहरुलाई बैठकमा बोलाएका छन् । सरकारमा सहभागी प्रमुख दल कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठबन्धनमा आबद्ध दलहरु प्रधानमन्त्रीसँग बैठकमा छन् । बैठकमा एमालेले एक महिनादेखि जारी राखेको संसद अवरोध खुलाउने संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा साझा धारणा बनाउने तयारी भएको नेताहरुले बताए । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, नेता ‌कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्‍भावना पार्टीका अध्यक्ष रामनरेश राय यादव, अनिल झा, हृदयश त्रिपाठी लगायत मधेसी मोर्चाका नेताहरु सहभागी छन् । मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरुले सदन चल्न दिएका छैनन् । संसद अवरोधले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण ऐन, कानुन निर्माणको काम समेत प्रभावित भएको छ । संसद खुलाउन सोमबार सभामुख अोनसरी घर्तीको पहलमा ७ दलको सर्वदलीय बैठक भएपनि एमालेको अडानले निर्णयमा पुग्न सकेको छैन । एमालेको संसद अवरोध जारी राख्ने संकेत देखेपछि प्रधानमन्त्रीले मधेसी मोर्चासहित सत्तासाझेदार दलसँग छलफल गरेका हुन् । आजैको बैठकबाट चुनावको मिति घोषणा गर्ने निर्णय हुने सम्भावना रहेको स्रोतले बताएको छ ।

सरकार र एमालेलाई बैद्यको गम्भीर आरोप, एमाले सामन्तवादी भयो

काठमाडौं, पुस१२ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले प्रमुख प्रतिपक्षी एमालेलाई सामन्तवादी भएको आरोप लगाएका छन् । मंगलबार केन्दीय कमिटि बैठकको निर्णय सार्वजनिक गर्दै उनले सरकारले संसदमा पेश गरेको संशोधन विधेयक विस्तारवादी कोणको भएको भन्दै सच्याउन माग गरेका छन् । उनको पार्टीको केन्दीय कमिटिको बैठक पुस ८ गतेदेखि १० गतेसम्म बसेको थियो । बैठकको निर्णय सार्वजनिक गर्दै बैद्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– ‘सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक विस्तारवादी कोण र एमालेद्वारा गरिएको विरोध सामन्तवादी कोणमा आधारित रहेको छ ।’ उनको पार्टीले यो संविधान खोरेजीको माग पनि गरेको छ । ‘वर्तमान पश्चगामी संविधान खारेजगरी संघीय जनगणतान्त्रिक संविधानको निर्माणका लागि संघर्षलाई विकसित तुल्याउने नीति पार्टीले अवलम्बन गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ । उनको पार्टीले जातीय पहिचान सहितको स्वशासनमा आधारित संघीय स्वायत प्रदेशहरुको स्थापनामा जोड दिएको उल्लेख गरिएको छ । बैठकले भष्टाचार तथा कालोवजारीविरुद्ध माघदेखि चैत्रसम्म तीन महिने अभियान संञ्चालन गर्ने , छरिएर रहेका क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध गर्दै लैजाने निर्णय पनि गरेको उल्लेख गरिएको छ । वैद्य माओवादीले तयारी पूरा नभएको भन्दै माघमा गर्ने भनिएको राष्ट्रिय सम्मेलनपनि स्थगित भएको जनाएको छ ।

फुटाउन हैन, जुटाउन ल्याएको हो संशोधन प्रस्तावः रामचन्द्र पौडेल

धादिङ, पुस १२ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानप्रति असन्तुष्टि प्रकट गरिरहेका मधेसकेन्द्रित दललाई संविधान कार्यान्वयनमा सहभागी बनाउन र अपनत्वका दिलाउनका लागि संविधानको संशोधन प्रस्ताव ल्याइएको बताउनुभएको छ । नेता पौडेलले आज बिहान नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भन्नुभयो–“मधेसमा बस्ने जनता पनि नेपाली नै हुन्, उनीहरुमा राष्ट्रप्रतिको माया कसैभन्दा कम छैन ।” स्थानीय तहको निर्वाचन गराउन आयोगले निर्धारण गर्न खोजेको गाउँपालिका र नगरपालिकाको सङ्ख्यामा सबै सहभागी हुने अवस्था नरहेको र प्रदेश नं २ मा छलफल नै हुन नसकेकाले यस्तो स्थितिमा स्थानीय तहको निर्वाचन गराउन समस्या पर्न जाने देखिएकाले पुरानै संरचनाअनुसार निर्वाचन गराउन काँग्रेसले प्रस्ताव गरेको उहाँले बताउनुभयो । एक प्रसङ्गमा उहाँले लामो समयदेखि जिल्लाले आफ्नो पहिचान बनाइसकेको र भौतिक संरचना निर्माणमा सरकारको धेरै खर्च भई स्थापित भइसकेकाले ७५ जिल्लालाई विस्थापित गर्न नमिल्ने बताउँदै अधिकारको बाँडफाँट गरी स्थानीय तहअन्तर्गत जिल्लाको स्थान सुरक्षित रहनुपर्ने विचार नेता पौडेलले व्यक्त गर्नुभयो । रासस

कांग्रेसका मन्त्रीसहित ४८ जना बसेको मञ्च भत्कियो, एक जना घाइते

धादिङ, पुस ११ । धादिङमा मन्त्रीसहित बसेको मञ्च भाँचिदा कांग्रेसका अठचालिस जना नेता घाइते भएका छन् । धादिङको मिलनटोलमा निर्माण हुन लागेको विपी स्मृती भवनको सिलान्यास कार्यक्रममा मञ्च भाँचिदा एक जनाको खुट्टा भाँचिएको छ । पाहुनाहरुलाई माला लगाएर स्वागत गर्दै गरेकी नेपाल महिला संघकी नेतृ भगवती पौडेलको मञ्च ढलेर खुट्टा भाँच्चिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे लगायतका ४८ जना नेता कार्यकर्ता बसेको मञ्च भत्किएको हो । भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रम मञ्च फलामे डण्डीको थियो । ४८ जना नेता कार्यकर्ताहरुले अतिथी आशन गरिसकेपछि एक्कासी मञ्च भत्किएको थियो ।

महिला साफ फुटबलमा नेपालद्वारा भुटान ८–० ले पराजित

पुस ११ । नेपालका लागि सावित्रा भण्डारीले ५ गोल मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ८–० ले पराजित गरेको छ । भारतको सिलगुढी कञ्चनजंघामा आयोजित खेलमा पहिलो हाफसम्ममा नेपालले ४ गोल हानेको थियो । दोस्रो हाफमा पनि ४ गोल गरेर नेपाल फराकिलो अन्तरले विजयी भयो । , शर्मिला थापाले २ र कृष्णा खत्रीले एक गोल गरिन् । भण्डारी एकै खेलमा पाँच गोल गर्ने नेपालकी पहिलो खेलाडी हुन् । यसअघिका लगातार तीन संस्करणमा उपविजेता बनेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको हो । नेपालले समूह चरणमा मालद्विप्स र श्रीलंकासँग पनि खेल्नेछ । प्रतियोतिगामा सहभागी ७ देशलाई दुई समूहमा बाँडिएको छ । अर्को समूहमा भारत, अफगानिस्तान र बंगलादेश छन् । समूह चरणको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

प्रचण्डसँग मिल्नुको विकल्प नभएको बाबुरामको भनाई, १६ महिनापछि पहिलो पटक एउटै मञ्चमा

काठमाडौं, पुष ११ । माओवादी केन्द्र परित्याग गरि नयाँ शक्ति नेपाल पार्टी गठन गरेका पूर्व कम्युनिष्ट नेता डा. बाबुराम भट्टराईले आन्दोलनका उपलब्धि रक्षा गर्न माओवादी केन्द्रसँग मिल्नुको विकल्प नभएको बताएका छन् । माओवादी आन्दोलनका चिरपरिचत दिवगंत नेता भक्ति पाण्डेको सम्झनामा लेखिएको पुस्तक बिमोचन समारोहमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एउटै मञ्चमा देखिएका भट्टराईले विगतमा परिस्थितिले अलग हुनु परेको भएपनि मिल्नुपर्नेमा जोड दिए । नेता पाण्डेको सम्झनामा प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा भावुक देखिएका बाबुरामले प्रचण्डसँग व्यक्तिगत वैमनश्यता नभएको भन्दै फेरि पनि एकै ठाउँमा उभिने परिस्थिति बनेको बताए । ‘मैले हतार गरेको होइन । परिस्थति नै त्यस्तो थियो । मैले प्रचण्डलाई सजिलो बनाइदिएको हुँ । यो उपलब्धि गुम्न नदिन हामी मिल्छौं । मिल्नुको विकल्प छैन ।’ डा. भट्टराईले पुरानो कार्यशैलीले मिलनविन्दु नभेटिने भन्दै माओवादी केन्द्रले समेत कार्यशैली सच्याउनुपर्नेमा जोड दिए । कार्यक्रमा भावुक देखिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान जारी भएलगत्तै बाबुरामजीले अलग हुने हतार गर्दा अहिलअहिले संविधान कार्यान्वयनमा थप जटिलता देखिएको बताए । “अहिले परिस्थिति यस्तो बन्यो कि फेरि पनि उहाँ र म एकै ठाउँमा उभिने स्थिति आयो । हामी एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा छ । एक हुनुको विकल्प छैन ।” प्रचण्डले अघि भने, ‘प्रचण्ड र बाबुराम मिल्नुपर्छ भन्ने भक्ति पाण्डेको अन्तिम चाहना थियो, संयोग नै हो हामी छुटेपछि आज एकै ठाउँमा छौं, त्यो पनि भक्ति पाण्डेकै सन्दर्भमा ।’ प्रचण्डले थपे- ‘माओवादी कमजोर भयो भनेर धेरै सल्बलाए । संविधान नरहेर के भयो र रु माओवादी त जाने हो नि भनेर विरोधीहरु धराप थापेर बसेका छन्, प्रचण्डले भने, ‘०४७ त फर्किन्न, आउने त ०७४ साल नै हो ।’

सशस्त्र जनविद्रोहमार्फत सत्ता कब्जा गर्नुपर्ने माओवादी नेता देव गुरुङको धारणा

काठमाडौं, पुष ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार चलिरहेको बेला पार्टीका प्रभावशाली नेता देव गुरुङले भने नेपाली क्रान्ति सम्पन्न गर्न सशस्त्र जनविद्रोह आवश्यक भएको बताएका छन् । स्याङ्जाको वालिङमा आइतबार नेकपा माओवादी केन्द्र स्याङ्जाको आयोजनामा जिल्ला वैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेपाली क्रान्तिको चरित्रबारे बोल्दै नेता गुरुङले अबको समयमा नयाँ जनवादी क्रान्ति असान्दर्भिक भएको टिप्पणी समेत गरे । “१० बर्षे जनयुद्धको ढाँचाबाट अवको क्रान्ति सम्पन्न हुन नसक्ने दावी गर्दै यहिलेको संक्रमणकालिन अवस्थामा ससत्र जन विद्रोहको प्रक्रियावाट शान्ति प्रक्रिया पार गर्दै क्रान्ति सम्पन्न गर्नुपर्ने अवस्था आएको छ ।” उनले भने । गुरुङले साम्राज्यवादीहरुले र विस्तारवादीहरुले जहाँ जहाँ घेरावन्दी गर्दै जान्छन त्यहाँ त्यहाँ माओवादी सक्तिले मोर्चा वन्दी गर्दै संघर्स द्धारा त्यस्ता अप्रगतिशिल तत्वहरुलाइ हराउदै आफ्नो साम्राज्य विस्तार गर्नुपर्ने पनि बताएका छन् । देशमा देखा परेको राजनितिक अस्थिरताका कारण नेपालमा विदेशी सक्तिको हालीमुहाली वढ्दै गएको बताउदै गुङ्ले सवै जात, वर्ग, धर्म र सम्प्रदाय एकताका साथ मिलेर अगाडि वढ्दै समानुपातिक स्वत्तताको आधारमा संघिय व्यवस्था लागु गर्न सके मात्र नेपाललाइ बचाउन सकिने गुरुङको दावी छ । जनवादको जगमा एकता पैदा गर्न, पूर्व मेची देखी पश्चिम महाकाली र हिमाल, पहाड र तराइका सम्पुर्ण नागरिकमा एकता पैदा गर्न तथा अशली राष्ट्रियताको भावना सवैमा विकास गर्न नेपाल संघियता, स्वत्तता र धर्म निरपक्षतामा जानुपरेको उनको जिकिर छ । अहिलेको क्रान्ति प्रतिरक्षात्मक प्रणालीको भएकाले शान्ति प्रक्रियालाइ छिचोल्दै प्रत्यक्रमण गर्नुपर्ने र अन्तराष्ट्रिय परिस्थीतीको पनि मुल्याङ्कन गरेर क्रान्ति सम्पन्न गर्नुपर्ने गुरुङको ठहर छ । गुरुङले देशमा राष्ट्रिय संकट पैदा भएको यो वेलामा सवै कम्युनिष्ट सक्ति एक भएर लाग्नुपर्ने बताउदै माओवादीलाइ एक ठाउँमा कठ्ठा गर्नु बर्तमान आवस्यकता भएको औँल्याएका हुन् । गुरुङ्ले नेपाललाइ विदेशी सक्तिहरुबाट जोगाउन संविधान संसोधन अति आवस्यकता रहेको उल्लेख गर्दै एमालेले देशलाइ विदेशीको हातमा सुम्पन खोजेको आरोप लगाए । संविधा समयमै संसोधन हुन नसकेमा सिके राउत जस्ता विदेशीको इसारामा चल्ने नक्कली राष्ट्रवादीहरु फेरी पनि चलवलाउने गुरुङको दावी छ । कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश नम्मर चारका सह इन्चार्ज हरि अधिकारीले अवको चुनाव माओवादीले जित्ने प्रसस्त सम्भावना भएकाले सवै माओवादी सक्ति संगठन विस्तार लगाएतका पार्टिका काममा एकताका साथ लाग्न निर्देशन दिएका थिए । उनले अवको माओवादीको एजेण्डा चुनावमा जसरी पनि वहुमत द्धारा पहिलो पार्टि हुने रहेको उल्लेख गर्दै जति सक्दो चुनावी गतिविधिलाइ द्रुत्ततर गतिमा लैजानुपर्ने बताए । नेकपा माओवादी केन्द्र स्याङ्जाका इनचार्ज रामराज रेग्मीले पार्टिको संगठनात्मक गतिविधि उल्लेख गर्दै पार्टिले गरेका कामहरुको बारेमा स्पष्ट पारेका थिए । रेग्मीले माओवादीमा जस्तो विज्ञ र वौद्धिक नेता तथा प्रभावशाली नेता स्याङ्जाका कुनै पनि राजनितिक दलमा नरहेको बताउदै भएका नेता तथा कार्यकर्ताहरु मन वचन र कर्मले क्रियशिल भएर लाग्न सकेमा पार्टि सवै भन्दा अगाडि आउने ठोकुवा गरे ।

राष्ट्रिय समस्यामा कहिल्यै एकमत नराख्ने कम्युनिष्टहरु सैद्धान्तिक बहसका लागि जुट्दै

काठमाडौं, पुष ११ । नेपालका कम्युनिष्ट नेताहरु सैद्धान्तिक बहसका लागि एक ठाउँ भेला हुँदै छन् । राष्ट्रिय राजनीति र परिवर्तनका मुद्दामा एकआपासमा विमती राख्दै आएपनि कार्लमाक्र्स र माओत्सेतुङको योगदानबारे छलफल गर्न भने उनीहरु एक ठाउँ देखिने भएका हुन । राजधानीमा आज आयोजना हुने कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसहित वामपन्थी नेताहरु एक ठाउँ जुटिरहेका छन् । कार्लमाक्र्स द्विसशत्बार्षिकी मूल समारोह समितीको आयोजनामा आज माओ दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरेको छ । भेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, बामदेव गौतम, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के सि, नेकपा संयुक्तका पूर्व अध्यक्ष तथा वयोवृद्ध वामपन्थी नेता बिष्णु मानन्धर, नेकपा संयुक्तका अध्यक्ष गणेश शाह, नेकपा मालेका अध्यक्ष सिपी मैनालीलगायत सहभागी हुँदैछन् । राष्ट्रिय नाचघर जमलमा दिउँसो १२ बजे देखि सुरु हुनेछ । यसैगरी पुष १२ गते समेत आयोजकहरुले विभिन्न सैद्धान्तिक विषयमा अन्तरक्रियात्मक कार्यक्रम राखेका छन् । नेपालमा कम्युनिष्ट आन्दोलनका बारेमा गम्भीर बहस गर्न र बिभिन्न धारका कम्युनिष्टहरुलाई नेपाली क्रान्तिको कार्यदिशामा नजिक ल्याउन कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् । यसै उद्देश्यका लागि माक्र्सको द्विशतवार्षिकीको अवसर पारेर मोहन विक्रम सिंह, डा.विजय पौडेल, राम कार्की, आहुति, वेदुराम भुसाललगायतले विशेष प्रवचन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी हुन नसक्नेहरु नेपाल टेलिभिजनमा दिउँसो १ देखि ४ बजेसम्म प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुने आयोजकले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने- लालसलाम कमरेड माओ !

काठमाडौं, पुस ११ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संसारभरीका राष्ट्रिय मुक्ति आन्दोलनका विश्वकै महान् पुरुष भन्दै उनको प्रशंसा गरेका छन् । १२३ औं माओ दिवसको अवसरमा आज विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वलाई राष्ट्रिय मुक्ति आन्दोलन गरेर समाज रुपान्तरण गर्ने उनलाई अभिवादन सहित लालसलाम गरेका छन् । ‘आज २६ डिसेम्बर, २०१६ का दिन अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता एवम् विचारक क. माओत्से तुङको १२३औं जन्म दिन हो । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा नेकपा माओवादी केन्द्र न्यानो अभिवादन गर्दछ । साथै कमरेड माओप्रति लाल सलाम व्यक्त गर्दछ ।’ माओले देखाएको बाटो आजसम्म पनि समाज विकासका लागि लागू भएको विज्ञप्तीमा जनाइएको छ । माओले दर्शनको क्षेत्रमा विकास गर्नुभएको एकता, संघर्ष र रुपान्तरणको नियम, दुईको एकमा समायोजन होइन, एकको दुईमा विभाजनको नियमको विस्तार, अर्थशास्त्रको क्षेत्रमा क्रान्तिलाई पक्र, उत्पादन बढाऊ भन्ने मान्यता, वैज्ञानिक समाजवादको क्षेत्रमा दिर्घकालीन जनयुद्धको रणनीति, नयाँजनवादी राज्य व्यवस्थाको मोडेल र सर्वहारा अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्त आदि माक्र्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदान थिए । प्रधानमन्त्रीले संविधान संशोधन मार्फत देशलाई एकतावद्ध गर्न आफू लागि परेको उल्लेख गरेका छन् । ‘वर्तमान अवस्थामा संविधान संशोधनमार्फत् सम्पूर्ण देशलाई एकताबद्ध गर्नु, संविधान कार्यान्वयनको चुनौतिको सामना गर्दै अगाडि बढ्नु र प्राप्त उपलब्धीहरुको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’

भोजपुरमा अनिश्चितकालीन यातायात बन्द

भोजपुर, ११ पुस । यात्रुबाहक बसका सञ्चालकलाई कुटपिट गरेको आरोप लगाउदैँ आजबाट भोजपुरमा अनिश्चितकालीन यातायात बन्द गरिएको छ । संयुक्त बस व्यवसायी सङ्घ भोजपुर, सगरमाथा ट्याक्सी व्यवसायी सङ्घ, ट्र्याक्टर सङ्घ, नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्गठनलगायतले प्रेस विज्ञप्ति जारी गर्दै बन्द गरेका हुन् । शनिबार धरानबाट भोजपुर आउँदै गरेको ना ४ ख ७३१७ नं को यात्रुबाहक बसका सञ्चालक पर्वत तामाङलाई बिना कारण तिवारी भन्जाङ गाविसका गौतम राईसहितको १५ जनाको टोलीले मरनासन्न कुटेपछि कुटपिट गर्नेलाई पक्राउ गरी भोजपुर जिल्ला प्रहरी कार्यलयमा ल्याए पनि उल्टै प्रहरी प्रशासनबाट पीडकलाई प्रश्रय दिने काम भएकाले आफूहरुले विरोध स्वरुप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले बताए । घटनामा संलग्नलाई कानुनी कारबाही नगरिएसम्म बन्द फिर्ता नगर्ने बताइएको छ । यसैबीच आइतबार अपराह्नदेखि भोजपुर सदरमुकाममा बस, ट्याक्सी र ट्र्याक्टरले सडक जाम गरेपछि मोटरसाइकल तथा पैदलयात्रीलाई हिँडडुलमासमेत समस्या परेको छ । रासस

एमाले महासचिवले सरकारलाई दिए सुझावः ‘चुनाव गराउन लाग्नुस्’

बाग्लुङ, पुस १० । नेकपा एमालेका महासचिव इश्वर पोखरलले सरकारलाई चुनाव गराउन सुझाव दिएका छन् । प्रेस चौतारी नेपालले बाग्लुङ सदरमुकाममा आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता वा स्थगन गरेर चुनाव घोषणा गर्न माग गरेका हुन् । महासचिव पोखरेलले संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकाले फिर्ता लिएर निर्वाचनमा जान सुझाव दिए । संविधान गतिशील दस्तावेज भए पनि अहिलेको संशोधन प्रस्ताव कुनै अर्थमा पनि उपयुक्त नभएको उनले बताए । संशोधन प्रस्ताव राष्ट्रिय हित, सामाजिक सद्भाव, जनभावना विपरित र संविधानको ठाडो उल्लंघन गरी प्रस्ताव ल्याइएकाले यस बिषयमा संसदमा छलफल नहुने उनले स्पष्ट पारे । संविधान कार्यन्वयन गर्न सरकारले चुनावी वातावरण बनाउनुपर्ने उनले बताए । सरकारले चुनाव घोषणा नगरेसम्म कुनै हालतमा संसद चल्न नदिने पोखरेलले बताए ।

जनप्रदर्शनको लागि एमालेको थरिथरिको प्रचारशैली, तपाइँलाई पनि आउनसक्छ ‘म्यासेज’

काठमाडौं, पुस १० । एमालेले मोटरसाइकलदेखि सामाजिक सञ्जालमा  थरी थरीको प्रचार शैली अपनाएर पुस २२ गतेको जनप्रदर्शन व्यापक बनाउने भएको छ । सामाजिक सञ्जालमा फेसबक, ट्वीटर र भाइभरलाई बढी प्रयोग गर्ने उसले तयारी गरेको छ । फेसबुक ग्रुप बनाउने भाइबर ग्रुप बनाउने पनि तयारी गरेको छ । प्रत्येक पार्टी सदस्य एक जनाले कम्तीमा २० जनालाई एसएमएस पठाउने उनीहरुले निर्णय गरेका छन् । सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको बिरोधमा रहेका एमालेसहित विपक्षी ९ दलले पुस २२ गते गर्न लागेको जनप्रदर्शनमा मोवाइलबाट बढी प्रचार गर्ने तयारी गरेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार आज आइतबारदेखि नै पार्टीको ३ नम्बर प्रदेश कमिटी, केन्द्रीय मोर्चा संगठन र सम्पर्क समन्वय कमिटीले प्रचार थालेका छन् । पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोल स्तरका कमिटी, जनसंगठनका कमिटीले प्रचारमा मोटरसाइकलदेखि मोवाइलबाट म्यासेज पठाउने सम्मको तयारी गरेका छन् । मोवाइलबाट सन्देश पठाउँदा वर्तमान सरकारले गरेको संसोधन प्रस्ताव राष्ट्रहित नभएको भन्दै सबैलाई जनप्रदर्शनमा आउन आग्रह गरिने तयारी गरेको छ । पढ्नुस् एमालेको प्रचार स्टाइल

दाईजोमा सम्पत्ती पाएको विवरण बुझाऊने मन्त्रीहरूमाथी कारवाही ?

पत्रपत्रिकाबाट: सरकारका एक दर्जन मन्त्रीहरूले कानुनविपरीत दाइजो लिएको सम्पत्तिसहितको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएका छन्। श्रीमती पक्षबाट दाइजो लिएको सम्पत्ति देखाउनेमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि स्वयं छन्। अन्य मन्त्रीहरूले पनि ठूलो मात्रामा रहेको सुन, चाँदी, हीराका गहनालाई दाइजोबाट प्राप्त भनी उल्लेख गरेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। सामाजिक व्यवहार सुधार ऐन २०३३ ले दाइजो, तिलक लेनदेन गरेमा बिगो जफत गरी १२ देखि २५ हजार रुपैयाँसम्म जरिवाना वा ३० दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ। उक्त ऐनको दफा ३, ४ र ५ मा दाइजो र तिलक नियन्त्रणसम्बन्धी व्यवस्था छ। दफा ५ को उपदफा २ ले ‘विवाह हुँदा जीउमा लगाएको एकसरो गहनाबाहेक आफ्नो कुल परम्पराअनुसार राजीखुसीले दिनेले पनि बढीमा १० हजार रुपैयाँसम्मको मात्र दाइजो दिन सकिने’ नियन्त्रणमुखी व्यवस्था गरेको छ। यो व्यवस्थालाई मन्त्रिपरिषदका सदस्यहरू स्वयंले उल्लंघन गरेका हुन्। मन्त्रिपरिषदका ४१ जना सदस्यमध्ये ९ जना मन्त्री र ३ जना राज्यमन्त्रीले आफैंले भरेर बुझाएको सम्पत्ति विवरणमा दाइजो लिएको स्वीकारेका छन्। ससुराली पक्षबाट लिएको सम्पत्तिलाई मन्त्रीहरूले दाइजो, पेवा, उपहार, श्रीमतीको माइतीबाट प्राप्त जस्ता भाषा प्रयोग गरेका छन्। निधिले आफूसँग ६० तोला सुन र १ सय ५० तोला चाँदी रहेको विवरण भरेका छन्। त्यसको स्रोतमा उनले ‘दाइजो, पेवा र उपहारबाट’ भनी देखाएका छन्। परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले ३० तोला सुन, १२ सय तोला चाँदीलाई ‘विवाहबाट प्राप्त भएको’ भनी लेखेका छन्। महतले झापा तोपगाछी–५ मा रहेको ५ बिघा ४ कट्ठा जमिनसमेत श्रीमतीको ‘माइतीबाट प्राप्त भएको’ उल्लेख गरेका छन्। बढी सम्पत्ति बुझाउने मन्त्रीद्वय विक्रम पाण्डे र दीपक बोहोराले भने सुन, चाँदीसहित गरगहनालाई पैत्रिक र जग्गा बिक्रीबाट भनी उल्लेख गरेका छन्। सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले ५० तोला सुन रहेको विवरण बुझाए पनि स्रोतबारे केही उल्लेख गरेका छैनन्। उद्योगमन्त्री नवीन्द्रराज जोशीले बुझाएको करिब डेढ सय तोला सुनलाई भने ‘पैत्रिक सम्पत्ति’ भनी बताएका छन्। निधि र महतबाहेक दाइजो देखाउने अन्य मन्त्रीहरूमा शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादव, सिँचाइ मन्त्री दीपक गिरी, स्वास्थ्य मन्त्री गगन थापा, सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी छन्। माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने शिक्षा मन्त्री धनीराम पौडेल र युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपालीले पनि सम्पत्ति स्रोतमा दाइजो लेखेका छन्। जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले पनि २ सय ग्राम सुन र ५ सय ग्राम चाँदीको स्रोतमा स्वआर्जन र केही दाइजो भनी उल्लेख गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषदका १४ जना राज्यमन्त्रीमध्ये ३ जनाले माइतीपक्षबाट आएको सम्पत्ति भनी उल्लेख गरेका छन्। शिक्षा मन्त्री धनीराम पौडेलले १० तोला सुनको स्रोत ‘पैत्रिक, पेवा, दाइजो आदि’ भनी उल्लेख गरेका छन्। स्वास्थ्य मन्त्री गगन थापाले पनि १६ तोला सुन र २ सय तोला चाँदी ‘श्रीमतीको पेवा, दाइजो र पैत्रिक तथा स्वआर्जन’ भनी खुलाएका छन्। शान्ति मन्त्री सीतादेवी यादवले आफूसँग ५३ तोला सुन र एक सय ९२ तोला चाँदी र हीराको औंठी ७ थान रहेको उल्लेख गरेकी छन्। त्यसको स्रोत ‘पैत्रिक तथा माइतीतर्फबाट’ भनी उल्लेख गरिएको छ। खेलकुद मन्त्री दलजित विके श्रीपालीले आफूसँग भएको २ तोला सुन ‘माइतीबाट विवाहमा चेलीलाई दिएको’ भनी उल्लेख गरेका छन्। अन्य मन्त्रीहरूले बुझाएको विवरणमा सुन, चाँदी, गरगहना उल्लेख भए पनि अन्य स्रोत देखाइएको छ। प्रधानमन्त्री दाहालले भने चितवनमा एक कट्ठा जमिन र ३ तोला सुन दुवै पैत्रिक सम्पत्ति मात्र रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए, जुन अत्यधिक चर्चा र बहसको विषय बनेको थियो। २०३३ सालमा बनेको उक्त कानुन अपर्याप्त र अव्यावहारिक रहेको भनी संशोधनको गृहकार्यसमेत भइरहेको छ। तराई–मधेसमा दाइजो, तिलककै कारण विभिन्न हिंसात्मक घटनासमेत हुँदै आएको छ। यस सन्दर्भमा कानुन कार्यान्वयन गर्ने जिम्मेवार मन्त्रीहरूले दाइजोप्रथालाई प्रोत्साहित हुने गरी सम्पत्ति विवरण सार्वजनिक हुनुले नयाँ बहस ल्याएको बताउँछन् कानुनविद् कृष्णमान प्रधान। ‘भइरहेको कानुनको कमजोर पक्ष र कार्यान्वयन गर्ने निकायको अवस्था प्रस्ट भएको छ,’ नेपाल कानुन समाजका कार्यकारी निर्देशकसमेत रहेका प्रधान भन्छन्, ‘मन्त्रीहरूले जति पनि सम्पत्ति दाइजो, पेवा लिनु र त्यसलाई निर्धक्क सम्पत्ति विवरणबाटै सार्वजनिक हुँदा कानुनी र नैतिक दुवै प्रश्न उठेको छ।’

गल्ती स्वीकारे टोपबहादुरले, प्रचण्डको आदेश मान्ने

कठमाडौं पौष ९,। सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरोधमा सडकमा देखिएका माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूले पार्टी अध्यक्ष प्रचण्डको आदेश पालना गर्ने बताएका छन् । शनिबार दाङको घोराहीमा माओवादी केन्द्रले गरेको प्रशिक्षणमा प्रचण्डपछि बोल्दै नेता रायमाझीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा नेता रायमाझीले भने, ‘अध्यक्षले धेरै कुरा भनी सक्नुभएको छ । यसमा मेरो बिमति छैन । तपाईहरुलाई थाहा छ, पाँच नम्वर प्रदेशमा आन्दोलन छ, म पनि आन्दोलनमा छु । पार्टीभित्र वादविवाद, बिमति हुन सक्छन् । तर, त्यसलाई हामीले रुपान्तरणको विधिबाट हल गर्छाैं । म पार्टी र अध्यक्षको निर्देशन बाहिर जान्न । अध्यक्षको आदेश पालना गर्न म तयार छु, यसमा तपाईहरु ढुक्क हुँदा हुन्छ ।’ प्रशिक्षणमा प्रचण्डले टोपबहादुरजीले सडकको मोर्चा सम्हाल्नु भएको छ भन्ने कुरातर्फ संकेत गर्दै नेता रायमाझीले भने, ‘अध्यक्षले टोपबहादुरजीले सडकको मोर्चा सम्हालिरहेको छ भन्नुभयो । हो, मैले सडकको मोर्चा सम्हालेको छु । जनता सडकमा छन्, यसलाई कसैले दुरुपयोग गरेर साम्प्रदायिकतामा नलैजाओस् भन्ने मेरो चाहना छ । संघीयता पनि कार्यान्वयन हुने जनमत पनि जोगाउने मेरो प्रयास हो । अरु मेरो केही छैन, विवादले रुपान्तरणमा लैजान्छ, म रुपान्तरणकै पक्षमा छु र हुनेछु ।’ प्रशिक्षणमा रायमाझीले संसद अवरुद्ध गर्नु अराजनीतिक कदम भएको टिप्पणी गरे । रायमाझीले भने, ‘अध्यक्षले भनिसक्नु भयो, कि प्याकेजमै सहमति कि विधि, योभन्दा अर्को बिकल्प छैन । सदन अवरुद्ध गरेर संविधान संशोधन र निर्वाचन रोक्नु हुँदैन । संसद विधिमा चल्न दिनुपर्छ, अलोकतान्त्रिक तरिकाद्धारा समस्याको हल हुँदैन ।’

ऊर्जामन्त्रीको घोषणा–‘केही दिनमै देशभर लोडसेडिङ अन्त्य हुने’

सिन्धुली, पुस ९ । ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाएर अब नेपाललाई उज्यालो नेपाल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन्। प्रेस सेन्टर नेपाल सिन्धुलीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले अब लोडसेडिङको तालिका नबनाउने र ‘बत्ती कतिबेला आउँछ’ भनेर तालिका हेर्ने दिनको अन्त्य हुन लागेको बताए। मन्त्री शर्माले नेपालको पानीमा जनताको लगानी भए नेपाल चाँडै समृद्ध हुने बताउँदै नेपालको व्यापार घाटा, बेरोजगारी र गरिबीलगायतका समस्या नेपालको पानीको सदुपयोग गरे मात्रै समाधान हुने धारणा व्यक्त गरे। नेपालका धेरै जलाशय त्यतिकै बगेर गइरहेको भन्दै उनले लगानीको सुरक्षा गर्ने हो भने खेर गएको पानीको सदुपयोग भई नेपाल समृद्ध राष्ट्र बन्ने भएकाले यस कार्यमा लाग्न सम्बन्धित सबै पक्षसंग आग्रह गरे। मन्त्री शर्माले जनताले परिर्वतनको महसुस गर्ने गरी सरकारले काम गरिरहेको चर्चा गर्दै उज्यालो नेपाल बनाउनका लागि पूर्वधार निमार्ण र ऊर्जा क्षेत्रका सङ्कट समाधानतर्फ आफू लागेकाले यसमा जनताको सहयोग पाउने बताए । सरकारले सबैको सहमतिमा संविधान संशोधनको प्रस्ताव पेस गरेको भए पनि प्रतिपक्षले सहयोग नगर्दा संविधान कार्यान्यवनमा समस्या आएको बताउँदै उहाँले देशको विकासका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताए। मन्त्री शर्माले राजनीतिक स्थिरता बिना मुलुकको विकास र परिवर्तन सम्भव नहुने भएकाले यस विषयमा दलहरु गम्भीर बन्नुपर्ने बताउँदै मुलुकमा बसोवास गर्ने सबै समुदाय र क्षेत्रको एकताले मात्र स्थिरता आउने धारणा व्यक्त गरे। खिम्ती ढल्केवर २२० केभि प्रशारण लाइनको निरीक्षण तथा ‘कोखाजोर हाइड्रो पावर’को सम्भाव्यता अध्ययनका लागि आफूले स्थलगत अवलोकन गर्ने पनि उनले बताए । रासस