संशोधन प्रस्ताव पारित गर्न एमाले जिम्मेवार हुनुपर्ने– नेता महतो

विराटनगर, पुस २० । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने बताउनुभएको छ ।

सद्भावना पार्टी मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत १० वर्षदेखि मधेसको समस्यालाई अल्झाएर राखिएको छ भन्नु भयो ।

उहाँले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने उल्लेख गर्दै सो प्रस्ताव पारित नभएको अवस्थामा निर्वाचन हुन नसक्ने स्पष्ट पार्नुभयो ।

मधेसको जनतालाई शासनको अनुभूति दिनका लागि मधेस र पहाडलाई छु्याएर प्रदेशको निर्माण गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले संविधान संशोधनको प्रस्तावलाई पारित गराउनका लागि नेकपा (एमाले) पनि जिम्मेवार हुनुपर्ने आवश्यकता औँंल्याउनुभयो ।

सिके राउतले अलग मुलुकको माग राखेको सन्दर्भमा पत्रकारको जिज्ञासामा उहाँले प्रदेशको माध्यमबाट नै मधेसी, थारु,आदिवासी जनजातिको अधिकार सुनिश्चित हुने भएकाले त्यस्ता मागको पक्षमा मधेसी मोर्चा नरहेको स्पष्ट पार्नुभयो ।

विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णय सर्वाेच्चद्वारा सदर

काठमाडौं, पुस १९ । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने सरकारी निर्णयलाई सर्वाेच्च अदालतले सदर गरिदिएको छ । लोडसेडिङ हटाउने अभियानमा लागेका प्राधिकरण प्रमुख कुलमान घिसिङलाई असहयोग गरेको भन्दै उर्जा मन्त्रालयले तीन सञ्चालकलाई हटाएको थियो । लक्ष्मण कुमार अग्रवाल, मनाेजकुमार मिश्र र सुरज लामिछानेलाई प्राधिकरणलाई असहयोग गरेको गोप्य बैठक बसेको सूचना लिक गरेको भन्दै उर्जा मन्त्रालयले सञ्चालकबाट हटाउने निर्णय गरेको थियो । ती सञ्चालकलाई हटाउने सरकारी निर्णय विरुद्ध परेको रिटमा पुस १३ गते प्रारम्भिक सुनवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतले अन्तरिम आदेश दिदैँ सरकारका नाममा अन्तरिम अादेश जारी गर्दै कारण देखाउ आदेश दिएको थियो तर,उक्त अादेशलाई सर्वाेच्चले मंगलबार फैसला सुनाउँदै अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला सुनाएको हो । मंगलबार प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले यसको अन्तरिम आदेशलाई खारेज गर्दै निरन्तरता दिनु नपर्ने फैसला सुनाएको हो । तीन सञ्चालक पुन काममा र्फकन नपाउँदै सर्वोच्चले यसअघि दिएको अन्तरिम आदेशलाई खारेज गरेको छ । उर्जा मन्त्रालयको सिफारिसमा नयाँ सञ्चालक नियुक्त भइसकेका छन् । सर्वोच्चको फैसलालाई उर्जामन्त्री जनार्दन शर्माले स्वागत गेका छन् । उनले सामाजिक सञ्जालमा प्रतक्रिया दिदैँ सर्वोच्चको फैसलाले उज्यालो नेपाल अभियानमा सहयोग पुगेको बताएका छन् । ‘सरकारले अघि सारेको उज्यालो नेपाल अभियानलाई सहयोग पुग्ने गरी सर्वोच्च अदालतले गरेको निर्णयलाई हार्दिक स्वागत गर्दछु । नेपाल विद्युत प्राधिकरणका संचालक लक्ष्मण प्रसाद अग्रवाल, सुरज लामिछाने र मनोज मिश्रले आफुहरुलाई हटाउने निर्णय खारेज गरिदिन माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट उपर फैसला गर्दै सर्वोच्चले उर्जा मन्त्रालयको निर्णय सदर गरेको छ ।’ उनले लेखेका छन् ।  

संसद खुलाउन एमाले सहमत, २४ गते संशोधन विधेयक टेबल हुने !

काठमाडौं, पुस १९ । एक महिनाभन्दा बढी समयदेखि जारी रहेको संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत भएका छन् । मंगलबार सभामुखले बोलाएको शीर्ष नेतासहितको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद सुचारु गर्ने विषयमा सहमति भएको छ । दलहरुबीच सहमति भएपछि मंगलबार एक बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी २४ गतेसम्मका लागि स्थगित गरिएको छ। विपक्षीको विरोधसभापछि २४ गते बस्ने संसद बैठक सुचारु गर्ने विषयमा दलहरुबीच सहमति भएको हो। योसँगै सरकारले गत मंसिर १४ गते राति संसदमा दर्ता गराएको संशोधन प्रस्ताव अघि बढ्ने भएको छ। दलहरुबीच भएको सहमति अनुसार प्रमुख प्रतिपक्षसहित नौ विपक्षी दलले २२ गते राजधानीमा विरोधसभा गर्ने विरोधसभा सम्पन्न गर्न दिनेगरी सहमति भएको हो। तत्काल सहमति गर्दा विरोधसभाको औचित्य नहुने भन्दै विपक्षीको विरोधसभापछि संसद बैठक बोलाइएको हो। सर्वोच्च अदालतले संसदीय प्रक्रियामा रहेको विषयमा सांसदहरुले आफ्नो दृष्टिकोण प्रयोग गर्न नपाउँदै न्यायापालिकाबाट प्रक्रिया नै रोक्ने गरी आदेश गर्न उचित नहुने फैसला गरेपछि प्रमुख प्रतिपक्ष संसदमा दर्ता भएको संशोधन प्रस्ताव प्रक्रियामा लैजान सहमत भएको हो। मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै सदनको अवरोध खुलाउने निर्णय गरेको थियो । कार्यव्यवस्थ परामर्श समितिको बैठकमा सभामुख ओनसरी घर्ती, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका गिरिराजमणि पोखरेल थिए । २२ गते विपक्षी दलको आमसभापछि संसद बैठक बोलाउने र सुचारु गर्ने सहमति गरेको नेताहरुले जानकारी दिएका छन् ।

महतोको कडा अभिव्यक्ति- ‘मधेसबाट ब्याण्ड बाजा बजाएर एमालेको विदाई गरिन्छ’

सप्तरी, पुस १९ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेलाई तराई–मधेसमुक्त बनाउनुपर्ने कडा अभिव्यक्ति दिएका छन् । प्रेस मञ्च सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले एमालेले मधेसीलाई धेरै नै हेपेको भन्दै एमाले पार्टीलाई मधेसका गाउँ–गाउँबाट विदाई गर्न मधेसी जनताहरुसँग अब्हान गरेको बताए । एमालेप्रति आक्रामक देखिएका महतोले भने–‘एमालेलाई मधेस चाहिएन भने मधेसलाई पनि एमाले चाहिएको छैन, ब्याण्ड बाजा बजाएर एमालेको विदाई आयोजना गरिनुपर्छ ।’ कांग्रेस माओवादी केन्द्र र एमालेलाई उनले डाँकाको संज्ञा दिए । ‘ मधेसी, आदिवासी, जनजातीको अधिकार लुट्ने कांग्रेस–माओवादी अधिकार दिन तयार भएपनि एमाले दिन नचाहेर ठूलो डाँका बनेको छ’ उनले भने । एमालेले संशोधन विधेयकमा छलफल रोक्ने गरी आएको संसद अवरोध गैरलोकतान्त्रिक भएको बताउँदै मधेसी मोर्चाका नेता महतोले एमालेले संघीयता धरापमा पार्दै संविधान कार्यान्वयन हुन नदिने योजनामा रहेको बताए । मधेसका गाउँ गाउँबाट व्याण्डबाजा बजाएर विदाई गरेपछि एमाले सही ठाउँमा आउने उनले बताए । आफ्नो विदाई भइरहेको खबर थाहा पाएपछि एमाले ठीक ठाउँमा आउने र संविधान संशोधनमा तत्परता देखाउँछन् महतोले भने । मुलुकमा संविधान कार्यान्वयन अति आवश्यक रहेको बताउँदै उनले संशोधन बिना कार्यान्वयन हुनै नसक्ने दाबी गरे । उनले संविधान कार्यान्वयनका लागि भएपनि संशोधन प्रकृयालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । संविधान संशोधन बिना चुनाव गराइए पूर्वराजा ज्ञानेन्द्रले गराएको चुनाव जस्तै हुने र त्यसमा मधेसीले बहिष्कार गर्न वाध्य हुने महतोले बताए ।

संसद अवरोध खुलाउने एमालेको संकेत ! यस्तो छ स्थायी कमिटीको निर्णय

काठमाडौं, पुस १९ । प्रमुख प्रतिपक्षी नेकपा नेकपा एमालेले संसदमा जारी अवरोध खुलाउने संकेत गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा मंगलबार बिहान बसेको पार्टी स्थायी समितिको बैठकले सोमबार सर्वाेच्च अदालतको फैसलाको स्वागत गर्दै संसद खुलाउने जनाउ दिएको हो । सर्वोच्च अदालतले दिएको आदेश मान्न सत्तापक्ष तयार भए संसद अवरोध खुलाउन आफूहरु तयार हुने प्रतिक्रिया दिएको हो। सर्वोच्च अदालतले सोमबार संविधान संशोधनका मुद्दामा आफूले बोल्न नमिल्ने फैसला गरेपछि एमाले नैतिक दबाबमा परेको थियो । तर, बैठकले सर्वाेच्चको निर्णय आफ्नो पक्षमा भएको पनि बताएको छ । बैठकले सीमाकंनको हेरफेर सम्बन्धित प्रदेश सभालाई दिने सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्न सत्ता पक्ष बाध्य हुनैपर्ने अवस्था आएको टिप्पणी गरेको हो। सोमबार सर्वोच्च अदालतले प्रदेश सभाको अनुमति लिएर मात्रै सीमांकन सम्बन्धि हेरफेर गर्न सकिने आदेश आफूहरुले उठाउँदै आएको मुद्दासँग मेल खाएको उल्लेख गर्दै बैठकले सोही अनुसार अन्य दलसँगको छलफललाई अघि बढाउने निर्णय पनि गरेको छ। सर्वोच्च अदालतले दिएको आदेशको सम्मान गर्दै अघि बढने निर्णयमा पुगिएको पार्टी उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए। उनले सीमांकनसम्बन्धि निर्णय लिने अधिकार प्रदेश सभालाई हुने सर्वोच्च अदालतको आदेश मान्न सत्तापक्ष तयार भए संसद अवरोध गरिरहन नपर्ने पनि स्पष्ट पारे। एमालेले संशोधन प्रस्ताव फिर्ता लिन सत्तापक्ष तयार नभएसम्म विरोध प्रर्दशन जारी रहने पनि स्पष्ट पारेको छ। संशोधन प्रस्ताव विरुद्ध २२ गते काठमाडौंमा आह्वान गरिएको जनप्रर्दशनलाई सशक्त बनाउने विषयमा पनि छलफल भएको उपाध्यक्ष गौतमले जानकारी दिए। एमालेसहितको विपक्ष दलहरुको अवरोधका कारण संसद बैठक समेत एक महिनायता अवरुद्ध हुँदै आएको छ । सर्वोच्च अदालतले सोमबार सीमाकंन हेरफेरको विषय प्रदेश सभाको अनुमतिमा मात्रै गर्न सकिने राय दिएपछि एमाले झनै उत्साही भएको हो।

अल्ट्रा धाविका मीरा राईलाई रु २८ लाखसहित सम्मान गरिने

दमक, पुस १९ । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै बेलायतमा कार्यरत आधा दर्जन सङ्घसंस्थाले उनलाई रु २८ लाखसहितको सम्मान गर्न लागेका हुन् । स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टबाट उक्त सम्मान रकम हस्तान्तरण गरिने जनाइएको छ । सोमबार दमकमा सगरमाथा तेक्वान्दो डोजाङले पत्रकार सम्मेलन गरी अल्ट्रा म्याराथनकी धाविका मिराको सम्मानसहितको कार्यक्रम घोषणा गरेको हो । पूर्व ब्रिटिस आर्मीसमेत रहेका दमक–१९ निवासी राष्ट्रकुमार राईले मिराले अल्ट्राम्याराथनमा अन्तर्राष्ट्रिय स्तरमा नै नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनको खेल क्षेत्रको योगदानलाई सम्मान गर्न लागिएको बताए । उनले कमजोर आर्थिक अवस्था भएकी मीराले राष्ट्रको नाम विश्वसामु चिनाउँदा पनि त्यसको मूल्याङ्कन गर्न नसकेकाले राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने भएर नै सम्मान गर्न लागिएको बताए । बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङको पहलमा अन्य चार सहयोगी संस्थाकोे सहयोगमा उक्त रकम दिन लागेको उनले जानकारी दिए । मीराको सहयोगका लागि बेलायतमा रहेका किराँत राई यायोख्खा, जेन मार्सल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाइजेसनले साथ दिएको जनाइएको छ । त्यसैगरी, मीरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक धु्र्रवविक्रम मल्ललाई समेत रु दुई लाख नगदसहित सम्मान गर्न लागिएको सगरमाथा तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक समेत रहनुभएका राष्ट्रकुमार राईले बताए । रासस

बुर्तिबाङदेखि रुकुमसम्म सिधा बस सेवा सञ्चालन

बिमल खड्का बुर्तिबाङ (बाग्लुङ) पुस १८ । मध्य पहाडी लोकमार्गको प्रस्तावित दशौं व्यवस्थित शहर मध्ये चर्चित बुर्तिबाङबाट रुकुमको खलङ्गासम्म सिधा बस सेवा सञ्चालनमा आएको छ । रुकुम र बागलुङको सीमा जोडिएका गाविसका जनतालाई पोखरा, काठमाडौं, बुटवल आउजाउमा सहज हुने भएको छ । बुर्तिबाङ बस व्यवसायी समिति बुर्तिबाङ र सिस्ने हिमाल यातायात व्यवसायी संघसँगको सहकार्यमा सिधा बस सञ्चालनमा ल्याईएको छ । आइतबार बुर्तिबाङ बसपार्कमा समितिका महासचिव नरहरि भुसालले रिवन काट्दै औपचारिक कार्यक्रमको उद्घाटन गरि रुकुम खलङगासम्म औपचारिक रुपमा बस सेवा सञ्चान गरिएको हो । यस्तै उद्घाटन पछि यातायत ब्यवसायी, समितिका कर्मचारी, पत्रकार सहितको टोलीलाई लिएर एउटा बस रुकुमकोट पुगेको छ । उक्त टोली त्यहाँ पुगे लगत्तै स्थानीयहरुले फुलमाला सहित भब्य स्वागत गरेको थिए । रुकुमको खलङगा देखि बाग्लुङको बुर्तिबाङसम्म बस तथा जिप सञ्चालनमा गरेकोमा स्थानीय बासिन्दा हर्षित बनेका थिए । स्थानीयले सामूहिक रुपमा उद्घाटन पछि त्यहाँ पुगेको टोलीलाई भव्य स्वागत गरेका थिए । यस्तै बुर्तिबाङ बस ब्यवसायी समिति र सिस्ने हिमाल यातायात ब्यवसायी समितिका पदाधिकारी विच रुकुमको मैकोटमा परिचयात्मक कार्यक्रम गरी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए । बुर्तिबाङ–रुकुम खण्डमा पुष्पलाल मध्यपहाडी लोकमार्गको स्तरीरणसँगै यात्रुहरुको माग समेतलाई ध्यानमा राखेर बस सेवा सञ्चालन गरिएको बुर्तिबाङ यातायात व्यवासायी समितिका महासचिव भुषालले बताए । ९५ किमि दुरीमा रहेको सडक एकतर्फी यात्रा गर्न ७ देखि ८ घण्टा लाग्ने समितिले जनाएको छ । यस्तै सोमबार रुकुमको मैकोटमा अर्को उद्घाटन गरि बुर्तिबाङका लागि बस छुटेको भुसालले बताए । दैनिक रुपमा एक–एकवटा बस बुर्तिबाङबाट मध्यपहाडी लोकमार्गमा रुकुमको काँक्रीहुँदै खलङ्गा आवत जावत गराइने छ । सिधा बस सेवा सुरु भएपछि यात्रुलाई आवतजवत गर्ने, सामान ढुवानी गर्न र मध्यपहाडी लोकमार्गको सडक पहुँच क्षेत्रमा उत्पादिन सामग्रीको बजारिकरणमा सजिलो हुने विश्वास गरिएको छ । तस्वीर : एभरेष्टदैनिक फाइल, रुकुमकाेट दह छेउँ बस कुर्दै गरेकी एक महिला साभारः जयलन्यूज डटकम

सभामुखले बसौं माननीय सांसद ज्यू भन्दा एमाले सांसदले नमानेपछि….

काठमाडौं, पुस १८ । व्यवस्थापिका संसद बैठक सुरु भएको छ । बैठक सुरु भएको सभामुखले जानकारी दिँदासाथ प्रमुख प्रतिपक्षी एमाले लगायतका प्रतिपक्षीले उठेर विरोध जनाएका छन् । तर, सांसदहरुलाई सभामुखले पटक–पटक बसौ माननीय सभासदहरु भनेर भनिरहेकी छिन । सभासदले बसौ भनेर भन्दा नमानेपछि बैठक चार बजेसम्मका लागि स्थगित भएका छ ।

झलनाथको खुलासा- सरकारको प्रतिकार संसदमा गर्ने

भक्तपुर,पुस १८ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सरकारको प्रतिकार संसदबाट गर्ने चेतावनी दिएका छन् । सोमबार बस्ने व्यवस्थापिका बैठकमा बलजफ्ती संविधान संशोधन विधेयक पेश गर्न खोजिए आफ्नो पार्टीले प्रतिकार गर्ने उनले बताए । प्रेस चौतारी भक्तपुरले सोमवार आयोजना गरेको अन्तक्रियामा बोल्दै उनले सरकारले पेल्न खोजे आफूले पनि प्रतिकार गरेर ठेल्ने प्रतिक्रिया दिए । उनले भने– ‘संसदमा जबर्जस्ती गरिए प्रतिकार हुन्छ ।हामीलाई पेल्न खोजियो भने ठेल्न बाध्य हुन्छौं ।’ खनालले प्रदेश नम्बर ५ को सीमाना हेरफेर विदेशीको निर्देशनमा भएको आरोप लगाए । ‘मधेस–पहाड अलग गर्ने एजेण्डा नेपालभित्र नभई बाहृय निर्देशनमा बनेको हो, हामी नेपालको संसदबाट विदेशीको एजेण्डा जबर्जस्ती पारित गर्न दिदैनौं,’ खनालले भने । खनालले पुस २२ गते एमालेसहित संविधान संसोधनको विपक्षमा रहेका दलहरुको प्रदर्शनले संविधान संशोधन बिरुद्ध जनमत प्रकट गर्ने बताए । उनले सो जनप्रदर्शन एमालेकोमात्र नभई देशभक्तहरुको भएकाले सबै सहभागी हुन आह्वान गरे । एमाले नेता खनालले माओवादी आफ्नै कारण पतनको दिशामा गएको भन्दै यही प्रकारले अघि बढ्ने हो भने अर्को चुनावसम्म बत्ती बालेर खोज्नुपर्ने टिप्पणी गरे । खनालले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने नियत विधेयकमा रहेको भन्दै नेपालका कुनै पनि समुदायको मातृ भाषा नभएको हिन्दी जबर्जस्ति लाद्न लागिएको बताए ।

प्रमुख तीन दलको बैठक निष्कर्षविहीन, एमालेले छोडेन अडान

काठमाडौं, पुस १८ । संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्रीको अब्हानमा बसेको सोमबारको बैठक विना निष्कर्ष सकिएको छ । सोमबार विहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा एमालेले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नलिने अडान लिएपछि बैठकले कुनै निर्णय गर्न नसकेको हो । सभामुख ओनसरी घर्ती मगरले दलहरुलाई सहमतिका लागि दिएको समयसीमा आइतबार सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले छलफल बोलाएका थिए । प्रमुख तीनदल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा छलफल भएको थियो । छलफलमा काँग्रेसबाट शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमालेबाट केपी ओली र बामदेव गौतम त्यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ थिए । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको अडान यथावत् रहेको जानकारी दिँदै भने – “सरकारले संशोधनको प्रस्ताव फिर्ता लिनेबित्तिकै संसद् खुल्छ, मुलुक निर्वाचनतिर जान्छ र त्यो राम्रो हुन्छ ।” काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिको प्रस्ताव अघि बढाउने सम्बन्धमा टुङ्गो लागिनसकेको बताउँदै सहमतिका लागि वार्ता जारी रहने जानकारी दिए। एमाले उपाध्यक्ष वामदेव गौतमले सत्तापक्षबाट अवरोध भएको बताउँदै प्रस्ताव फिर्ता लिए वा स्थगन गरे एमालेले गरेको संसद अवरोध खुल्ने बताए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गतिरोध अन्त्यका लागि सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको बताए । “हामी प्रतिपक्षीसँग मुठभेडको स्थिति सिर्जना नहोस् भन्ने चाहन्छौँ । अरु प्रक्रियाका बारेमा संसद्को स्थिति हेरेर सभामुखले सोच्नुहोला ।’’ बैठकपछि प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले सहमतिको प्रयास जारी रहेकाले छिट्टै निकास निस्कने बताए ।

रुकुममा जिप दुुर्घटना, चार घाइते, दुईको अवस्था गम्भिर

रुकुम, पुस १८ । रुकुममा जिप दुुर्घटना हुुँदा चार जना घाइते भएका छन् । रुकुमकोटको धाउन्ने बजारबाट सोलाबाङतर्फ आइरहेको लु १ अ १०५६ नम्बरको जिप स्यालापाखाको गिलबाङमा आइतबार राती दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामापरी बाँफीकोट–७ का ३३ वर्षीय तिलवीर केसी, बाँफीकोट–५ का २३ वर्षीय देवराज शाही, स्यालापाखा–३ का २५ वर्षीय अविषेक शाही र मुसिकोट नगरपालिका–५ का २० वर्षीय डायमण्ड शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए। घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान नेपालगन्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा राजेन्द्र जिसीले बताए । घाइतेमध्ये अविषेक र तिलविरको अवस्था गम्भीर रहेको बताइएको छ । जिप सडकबाट करिब ५०० मिटर तल सानोभेरी नदीमा पुगेको भए पनि मानिस बीचमै खसेपछि बाँचेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रजालीले बताए । रासस

एमालेले गैरलोकतान्त्रिक चरित्र प्रस्तुत गर्योः अध्यक्ष महतो

लहान, पुस १८। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन र सङ्घीयता असफल भए विखण्डनकारीलाई बल पुग्ने भएकाले यसप्रति सचेत हुनुपर्ने बताएका छन् । प्रेस मञ्च सिरहाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन र सङ्घीयता असफल भए विखण्डनकारीलाई बल पुग्ने र यसको जिम्मेवारी नेकपा (एमाले)ले लिनुपर्ने बताए । उनले भने–“ एमालेले अहिले लगातार संसद् अवरुद्ध गरेर संविधान संशोधनमा रोकावट उत्पन्न गरेको छ, यो गैरलोकतान्त्रिक चरित्र हो ।” आफूलाई चित्त नबुझेको कुरा छलफलबाट समाधान निकाल्न सकिने, संसदमा उपस्थिति भई विपक्षमा मतदान गर्न सकिने बाटो खुल्ला हुँदाहुँदै जनताको प्रतिनिधि रहेको सर्वोच्च थलो संसद्लाई अवरोध गरेर राख्नु लोकतन्त्र विरोधी चरित्र रहेको महतोको भनाइ थियो । रासस

जुटेन सहमति, सभामुखले दिएको ३ दिनको समयसीमा समाप्त

काठमाडौं, पुष १७ । सदनमा जारी गतिरोध अन्त्य गरी संसद सुचारु गर्न सहमति जुटाउन आग्रह गर्दै सभामुख ओनसरी घर्तीमगरले दिएको समयसीमा आज सकिँदैछ । प्रतिपक्षी दलहरुले संशोधन प्रस्ताव दर्ता गर्न नदिने र सरकारले प्याकेजमा सहमति खोज्ने अडान लिएका कारण लामो समयदेखि व्यवस्थापिका संसद अवरुद्ध छ । संसद अवरुद्ध भएका कारण संशोधन, निर्वाचन, महाअभियोगलगायतका विधेयक र प्रस्तावहरुमाथि छलफल हुन सकेको छैन । सभामुख घर्तीले प्रदान गरेको समयसीमाभित्र प्रतिपक्षी दल र सत्तापक्षबीच सहमति जुटेको छैन । एमालेले आफ्नो अडान छोडेको छैन । बरु उसले शक्ति प्रदर्शनको तयारी गरिरहेको छ । यता सरकारले भने सदनलाई लामो समयसम्म अवरुद्ध पार्न नसकिने भन्दै सोमबारको बैठकमा संशोधन प्रस्ताव टेबल गर्ने निर्णय गरेको छ । प्रतिपक्षले अवरुद्ध गर्ने र सरकारले टेबल गराई छाड्ने अवस्थामा संसदको वातावरण कस्तो हुने हो भन्ने आशंका यसले सिर्जना गरेको छ । याे पनि पढ्नुस सभामुखले दिएको समयसीमाको अन्तिम दिनः सहमति नभए के होला संसदमा ? सत्तारुढ नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारले भोलिको संसद बैठकमा संविधान संशोधन विद्येयक टेबुल गर्ने स्पष्ट पारेकी छिन् । प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी ८ दललाई सहमतिमा ल्याएर अघि खोजिरहेको र टेबल गर्नु अघि अधिकतम सहमतिको प्रयास भने जारी रहने उनले बताइन । “प्रधानमन्त्री अहिले पनि मिलेर अगाडि बढ्ने अन्तिम प्रयत्नमा हुनुहुन्छ, त्यसैको लागि अहिले उहाँ आन्तरिक छलफलमा हुनुहुन्छ।” नेतृ भुसालले आफ्नो पार्टी प्रतिपक्षी दल र आन्दोलनकारी पक्ष दुवैलाई चिढ्याउने पक्षमा नभएको जिकिर गर्दै भनिन्, “हिजो हामीले मिलेर संविधान जारी गरेकाले कार्यान्वयन पनि मिलेर गर्नुपर्छ भन्ने हाम्रो चाहना हो, त्यसो नभए प्रक्रियामै सहमति गरेर भएपनि अघि बढ्ने प्रधानमन्त्रीको चाहना छ ।” यद्यपी नेकपा एमालेका अध्यक्ष केपी ओलीको पछिल्लो अभिव्यक्ति र प्रस्तुती हेर्दा सत्ता संरचनामा एमालेले हिस्सेदारी खोजेको देखिन्छ । एमालेले सोझै सरकारमा सहभागी नभएपनि सत्ताका कतिपय संरचनामा आफ्नो अंश खोजेको कारण त्यो विषयमा सहमति हुन सके सदनमा मुठभेडको सम्भावना नहुन पनि सक्छ । तर यो त्यति सजिलो विषय भने देखिँदैन ।

बैद्य र न्यौपानेबीच पार्टी एकता

काठमाडौँ, पुस १७ । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माअोवादी र भूपेन्द्र न्यौपानेको  कम्युनिस्ट न्युक्लियस नेपाल पार्टीबीच एकता भएको छ । आइतबार एक कार्यक्रमबीच बैद्य र न्युक्लियस नेपालका संयोजक भूपेन्द्र न्यौपानेले संयुक्त रुपमा पार्टी एकता भएको घोषणा गरेका हुन् । सो अवसरमा माओवादी क्रान्तिकारीका अध्यक्ष वैद्यले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन र राष्ट्रियता बचाउन कम्युनिष्ट शक्तिको एकताको खाँचो औँल्याउँदै मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिए । सोही पार्टीका प्रवक्ता हरिभक्त कँडेल र वामपन्थी नेता परि थापाले विभिन्न वामपन्थी पार्टीका शीर्ष नेतृत्वमा कम्युनिस्ट सिद्धान्तप्रति विचलन आएकाले पनि जनतामा कम्युनिस्ट आदर्श र विचारप्रति भ्रम सिर्जना हुँदै गएको भनी चिन्ता व्यक्त गरे । कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक न्यौपानेले मुलुकलाई विखण्डनबाट जोगाउनुपर्ने र जनताले परिवर्तनपछि राखेका आशालाई पूरा गर्नुपर्नेमा जोड दिए ।

संविधान संशोधन विधेयकविरुद्धको रिटमा सर्वोच्चमा बहस सुरु

काठमाडौं, पुष १७ । सर्वोच्च अदालतमा संविधान संशोधन विधयेकविरुद्ध परेको रीट निवेदनमाथि सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधिकश सुशिला कार्की र न्यायाधिक इश्वरप्रसाद खतिवडाको इजलासमा आइतबारबाट बहस सुरु भएको हो । बहसको अन्तिम फैसला कहिले हुने हो भन्ने टुंगो लागेको छैन । सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । सर्वोच्चले भने अन्तरिम आदेश जारी गर्ने या नगर्ने विषयमा रिट निवेदक र सरकार दुबैको राय सुनेपछि फैसला गर्ने छ ।

‘मेरी छोरी बचाइदिनुस्’

पुष्पा महरा काठमाडौं, पुस १७ । छोरीको उपचारमा सहयोगका लागि रोल्पाका दुर्गा बहादुर पुनमगरले अपिल गरेका छन् । रोल्पा खुमेल गाविस– ५ निवासी ४० वर्षीया लक्ष्मी पुन मगरकको दुवै मृगौलाले काम गर्न छोडेपछि उनका बाबुले सहयोगका लागि अपिल गरेका हुन् । लामो समयदेखि लक्ष्मी काठमाडौको त्रिवि शिक्षण अस्पतालपछि हाल ललितपुरको सुमेरु अस्पतालमा डाइलोसिस (Dialysis) गराउँदै आइरहेकी छिन् । ‘डाक्टरले दुवै मृगौला फेर्नुपर्छ भनेका छन्, भएको सम्पत्ति पनि उपचारमै सकियो, अब कसैले सहयोग गरिदिए बाँच्थी कि छोरी’– लक्ष्मीका बुबा दुर्गा बहादुर पुनमगरले भने । श्रीमानले अर्कै श्रीमती लिएर हिँडेपछि माइतीमा बस्दै आएकी लक्ष्मीका दुई छोरा एक छोरी छन् । लक्ष्मीको उपचार खर्च हालसम्म बाबु दुर्गाले नै गर्दै आएका छन् । लक्ष्मीको मृगौला फेर्न आफूले नसक्ने भएपछि सहयोगी हातहरु खोज्दै भौतारिइरहेका छन् दुर्गा बहादुर पुन । उनलाई कोही दातृ संघ संस्था तथा स्वदेशी विदेशी मित्रहरुले सहयोग गर्न चाहेमा आफ्नो सम्पर्क ठेगाना तथा बैंक खाना नंम्बर पनि दिएका छन् । दुर्गा बहादुर पुनमगर ९७४८५०२८८१ नेपाल राष्ट्र बैंक लिमिटेड कान्तिपथ, काठमाडौं स्थित खाता नं। २१७०१०००१९४८११०००००१ मार्फत उनलाई सहयोग गर्न सकिनेछ ।