विद्युत् चोरी रोक्न सरकार आक्रमक
काठमाडौं, मंसीर २८ । विद्युतमा हुने गरेको चुहावट रोक्न सरकारले गम्भीर कदम चाल्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा सिंहदरबारमा बसेको बैठकले विद्युत् चोरी र चुहावट रोक्न कठोर हुने निर्णय गरेको हो ।
प्रधानमन्त्रीसहित उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मूख्य सचिव डा. सोमलाल सुवेदी, गृह सचिव, अर्थसचिव, उर्जा सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सुरक्षा निकायका प्रमूख एवं प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकमा विद्युत् चुहावट रोक्न कठोर कदम चाल्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्रीले विद्युत चोरी गर्नेहरुमाथि कठोर रुपमा प्रस्तुत हुन र कानुनको दायरामा ल्याउन निर्देशन दिए । प्रधानमन्त्रीले भने – ‘विद्युत् चुहावट र यसको चोरीले राज्यलाई अरबौंको भार पारेको छ । जनता अन्धकारमा बस्न बाध्य छन् । ठूलो मात्रामा विद्युत् चोरी गर्नेहरुमाथि अब कठोर कदम चाल्नुपर्छ, विद्युत् चोरीमा मिलेमतो गर्ने कर्मचारीलाई सामान्य रुपमा लिनु हुँदैन । त्यस्ता कर्मचारी र विद्युतको चारी गर्नेहरुलाई कार्वाही गर्न कानूनको समस्या छ भने भन्नुस्, सरकार कानून संशोधन र नयाँ व्यवस्थाका लागि तयार छ । तर, विद्युत् चोरी र चुहावट गम्भीरतापूर्वक रोकौं ।’
जलविद्युतको विकासले मात्रै आर्थिक समृद्धि सम्भव हुनेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘जलविद्युतको विकास राज्यको समृद्धिको सूचक हो । हामीले यसको महत्वलाई कहिल्यै पनि कम आँक्नु हुँदैन । तत्कालका लागि विद्युत चोरी, कमिसनको अन्त्य गर्न कदम चालौं । भविष्यमा विद्युतको विकासका लागि ठूला जलासययुक्त आयोजना अगाडि बढाउनेतिर सोचौं ।’
बैठकमा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मन्त्रालयले ३७ बूंदे प्रतिवद्धतासहित उर्जा संकट समाधानमा क्रियाशील भएको जानकारी दिए । मन्त्री शर्माले भने– ‘म मन्त्रीमा नियुक्त भएपछि उर्जा मन्त्रालयले ३७ बूंदे कार्ययोजना बनाएर अघि बढाएको छ । तत्कालका लागि विद्युत् चोरी रोक्ने र लोडसेडिङ अन्त्य गर्ने योजना कार्यान्वयन गर्दैछौं । तर, उर्जा संकटका लागि यति मात्रै पर्याप्त छैन, प्रशारण लाइन बिस्तार र ठूला जलासययुक्त आयोजनातिर गम्भीरतापूर्वक लागेर मात्र उर्जा संकट समाधान गर्न सकिन्छ ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा २६ प्रतिशत विद्युत् चोरी हुने समस्या रहेको भन्दै प्राधिकरणले चोरीमाथि कठोर बन्दै लोडसेडिङ घटाउने र ठूला आयोजना समयमै सम्पन्न गर्नेतिर आफ्नो ध्यान केन्द्रित गरेको जानकारी गराए। बैठकमा प्रधानमन्त्रीले विद्युत् चोरी गर्नेहरुलाई निगरानीमा राखेर कार्वाही अगाडि बढाउन सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
विप्लव माओवादीले भन्याे, ‘दिसा खुवाउने शिक्षकलार्इ कारवाही गर’
काठमाडौं, मंसीर २७ । काभ्रेको वाङथली–७ निवासी ३३ वर्षीया एक दलित महिलालाई बोक्सीको आरोपमा दिसासमेत खुवाई निर्मम कुटपीट गरी हत्या गरिएको घटनाप्रति विप्लव माओवादीले घटनाका दोषीलाई कडा कारवाहीको माग गरेको छ । २१ औं शताब्दीमा आएर पनि बोक्सीको आरोप लगाई गत मंसीर २४ गते ती दलित महिलामाथि स्थानीय हिरा तामाङको नेतृत्वमा निकै क्रुर तथा अमानवीय हत्याका कारण तत्काल छानविन गरी दोषीउपर कडा कारवाहीको लागि नेकपा (माओवादी) काभ्रेले एक प्रेस विज्ञप्ति जारी गरी कारवाहीको माग गरेको हो ।
साझा प्रकाशनलाई रु तीस करोड दिने सरकारको निर्णय
काठमाडौँ, मङ्सिर २७। सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन रु ३० करोड निकासा दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही वर्षयता खोसिनुका साथै अपारदर्शीताका कारण संस्था घाटामा गएको थियो । मन्त्री पौडेलले प्रकाशनले आफूले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई तिर्नुपर्ने रकम पनि सोही रकमबाट व्यवस्थापन गर्नुपर्ने बताए । पाठ्यपुस्तक वितरणको नयाँ जिम्मेवारीबारे भने हाल निर्णय भइनसकेको उनले बताए । सञ्चालक समितिका साथै राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत स्रष्टाले प्रधानमन्त्री, शीर्ष नेता र सम्बन्धित निकायमा लामो समयदेखि संस्था बचाइदिन आग्रह गरेका थिए । करिब एक हजार ५०० स्रष्टा सेयर सदस्य रहेको साझा प्रकाशनका कर्मचारीले विगत छ महिनादेखिको तलब नपाएको गुनासो गर्दै आएका छन् । रासस
प्रधानमन्त्री प्रचण्डले भने–‘संविधान संशोधन र कार्यान्वयनमा राजनीतिक दलबीच राष्ट्रिय एकता आवश्यक छ’
काठमाडौँ, मङ्सिर २७। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन र कार्यान्वयनमा राजतीतिक दलबीच राष्ट्रिय एकताको आवश्यकता औँल्याएका छन् । माउण्टेन टेलिभिजनको सातौँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित एक समारोहमा ‘विजनेश प्लस टेलिभिजन’को नियमित प्रसारण शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमार्फत असन्तुष्ट पक्षका जायज माग सम्बोधन गरी त्यसको स्वीकार्यता बढाउँदै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । “हामीले शान्ति प्रक्रियाको सुरुआत मात्रै होइन सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ र ठूलाठूला राजनीतिक परिवर्तन पनि गरेका छौँ । हामीले संविधान जारी गर्नुभन्दा पहिला नै आवश्यकमात्रामा संविधान संशोधन गर्छौं भनेका छौँ, त्यसैले संविधान संशोधन गरी कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ”– उनले भने । नेपालको राष्ट्रिय स्वाधीनता, जनताको सार्र्वभौमसत्ता र अखण्डताबाहेक अरू सबै चिज परिवर्तनशील छन् भनेर भनेको अवस्थामा संविधान संशोधन गर्नुहुन्न भन्नु गलत तर्क हुने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । “म सरकारको कार्यकारी प्रमुखको हैसियतले राष्ट्रलाई एकताबद्ध गर्दै सबैलाई समेट्नका लागि तयार छु, तर अब आन्दोलन वा चक्काजाम गर्नेभन्दा पनि सहमति र संवादबाट समाधान खोज्नुपर्छ”– उनले भने । दल संविधान कार्यान्वयनको प्रक्रियामा सक्रिय भइरहेको सन्दर्भमा आर्थिक, व्यापार व्यवसाय तथा उद्योगसँग केन्द्रित भएर ‘विजनेश टेलिभिजन’को सुरूआत गर्नु आफैँमा सकारात्मक पहलकदमी भएको प्रधानमन्त्रीले बताए । अहिले आर्थिक विकासका लागि जुनसुकै देशमा पनि निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच सहकार्य भएको हुदा नेपालमा पनि निजीक्षेत्रसँग सार्वजनिक क्षेत्रको एकता र त्यसका आधारमा देशमा समृद्धि कायम गर्नेतर्फ विजनेश टेलिभिजनले महत्वपूर्ण योगदान पुर्याउने प्रधानमन्त्रीले बताए । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले दलबीचको आपसी खिचातानीको अन्त्य गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनुको विकल्प छैन भने । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा राजनीतिक अस्थिरता भएसम्म आर्थिक विकास हुन नसक्ने दाबी गर्नुभयो । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सबैको सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र नेपाल उद्योग परिषद्का अध्यक्ष हरिभक्त शर्माले अबको १० वर्षसम्म बन्द हड्तालभन्दा पनि आर्थिक विकास र समृद्धिमा केन्द्रित हुन दललाई अपिल गरे । कार्यक्रममा माउन्टेन टेलिभिजनका पाँचजना कर्मचारी र र पाँचजना विज्ञापनदातालाई सम्मान गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । रासस
प्रधानमन्त्रीसँग राष्ट्रपति भण्डारीले भनिन– ‘चुनावको तयारी गर्नुस’
काठमाडौं,मंसिर २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत आइतबार राष्ट्रपतिलाई भेटी सबै पक्षलाई समेटेर अघि बढ्न आफू प्रयास रहेको जानकारी दिँदै त्यसकै लागि संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गरिएको बताएका थिए । सो अवसरमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामनासमेत दिएका थिए । रासस
झलनाथले भने– छिमेकीले गिद्दे नजर लगाएकाले देश विकास हुन सकेन
काठमाडौं, मंसिर २६ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले दक्षिण एसियाली मुलुकहरुको तीव्र विकास हुन नसक्नुमा औपनिवेशिकता पनि एक कारण भएको बताएको छ । पाकिस्तानको इस्लामावादमा जारी शान्तिका लागि विश्व युवा महासम्मेलन २०१६ मा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दक्षिण एसियाको अविकासको कारणमा यहाँका औपनिवेशिकता पनि रहेको र अहिले उत्तर र दक्षिण तथा पश्चिम र पूर्वका बीचमा बढिरहेको असमानता माझ लाखौँ युवा रोजगारीका लागि विदेश जाने गरेको बताए । उनले चीन, दक्षिण पूर्वी एसियालगायत दक्षिण एसियामा समेत देखा परेको आर्थिक वृद्धिप्रति सन्तोष व्यक्त गर्दै थप सहकार्यबाट एसियामा विकास र समृद्धि हासिल गर्न सकिने र यसले युवामा रहेको बेरोजगारी समस्या हल हुने उल्लेख गरे । ‘यो शताब्दी युवाको भएकाले राजनीतिमा उनीहरु नै समाज रुपान्तरण, आर्थिक विकास र प्रजातान्त्रीकरणका मूलवाहक हुन् । आज युवामा शिक्षा, सीप विकास र तालिमबाट उनीहरुको मानसिकतामा परिवर्तन गरी अघि बढाउनु अत्यावश्यक छ’ खनालले भने । खनालले पाकिस्तानका पूर्वप्रधानमन्त्री राजा गिलानीसहित विभिन्न देशका पूर्व विशिष्ट व्यक्तिसँग पनि पनि भेटघाट गर्नुभएको उहाँका निजी सचिव कृष्ण भट्टराईले जानकारी दिए । नेता खनाल यही मंसिर २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
पूर्वमन्त्री पण्डित भन्छन्- दुई नम्बर प्रदेशको बारेमा पनि पुनर्विचार गर्नुपर्छ
नेपालगन्ज, मंसिर २६ । एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले दुई प्रदेश बनाउँदा विभेद गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । शनिवार नेपालगन्जमा प्रेस चौतारी बाँकेको पत्रकार भेटघाटमा उनले नेपालको राष्ट्रियता, सद्भाव, विकास र समृद्धिका लागि पहाड र तराई जोडिएका प्रदेश बनाउनुपर्ने बेलामा पहाडबाट तराई छुट्याए ‘राष्ट्रघात’ हुने बताए । ‘किस्ताबन्दी रुपमा एक मधेस एक प्रदेश बनाउन खोजिएको छ, त्यसका लागि छिमेकीका दुतावासभित्र छलफल भएका छन्,’ उनले दाबी गरे । तराई–मधेसलाई पहाडसँग जोड्नै हुन्न भन्नेहरु अतिवादी भएको उनको भनाइ थियो । उनले भने–‘छिमेकी मुलुक भारतमै पनि अधिकांश प्रदेशहरु पहाड र समतल भूभाग जोडिएरै बनेका छन् ।’ २ नम्बर प्रदेशमा पनि पहाडमा नजोडे समस्या आउने उनको भनाई थियो । दुई नम्बर प्रदेशमा उदयपुर, सिन्धुली र मकवानपुरका सके पुरै नभए पनि केही भाग जोड्न उनले माग गरे । संविधान कार्यान्वयन हुन नदिन केही स्वदेशी र केही विदेशी मित्रको दबाब थेग्न नसकेर सरकारले संशोधन प्रस्ताव ल्याएको उनले आरोप लगाए । ‘एमालेले यही रुपमा संशोधन स्वीकार्दैन’ पण्डितले भने, ुगैरसंवैधानिक प्रस्तावलाई संसदमा प्रवेश दिनु संविधानको खुट्टा भाँच्नु हो । त्यो संविधान असफल पार्ने खेल भएकैले एमालेले रोकेको छ ।’ वैवाहिक अंगीकृत नागरिकतामा नेपालजति उदार कुनै देश नभएको उनको भनाइ थियो । पण्डितले हिन्दी भाषालाई घुसाउने षड्यन्त्रलाई भने कुनै हालतमा सफल हुन नदिने बताए । भारतीय दुतावासभित्र मधेसी मोर्चाका नेताहरुको भेलाबारे असन्तुष्ट रहेका उनले भने–,‘हामीले कस्मिर समस्या, गोरखाल्याण्डबारे बोल्या छौं र ? हाम्रो आन्तरिक मामलामा छिमेकीले किन दबाब दिने ?’
जन्म दिनको शुभकामना दिन वालुवाटार पुगे किरण
काठमाडौं, मंसिर २६ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा पुगेर जन्म दिनको शुभकामना दिएका छन् । प्रचण्ड आज देखि ६२ वर्ष पूरा गरेर ६३ वर्षमा लागेका छन् । २०११ साल मंसिर २६ गते उनी पोखराको ढिकुर पोखरीमा जन्मिएका हुन् । अध्यक्ष किरणले आइतबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई ६२ औं वर्ष पुगेको उपलक्ष्यमा जन्मदिनको शुभकामना दिएका हुन् । बालुवाटारमा प्रचण्ड र वैद्यवीच भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो भेटमा प्रधानमन्त्री प्रचण्डले वैद्यलाई समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे जानकारी गराएका थिए । वैद्य प्रचण्डका राजनीति गुरु हुन् । उनी प्रचण्ड नेतृत्वमा रहेको माओवादी पार्टीबाट अलग भएर नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष भएका छन् । रामबहादुर थापा समूह पुरानो घरमा फर्किए पनि वैद्य भने अहिलेसम्म माओवादी केन्द्रमा फर्किएका छैनन् ।
एमालेविरुद्द खनिए देउबा, दिए यस्तो कडा अभिव्यक्ति
काठमाडौँ, २५ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर राष्ट्रिय एकता कायम गर्न संविधान संशोधनको प्रस्ताव ल्याइएको बताउनुभएको छ । नेपाल जेसिसको ४३औँ राष्ट्रिय अधिवेशनको आज टोखास्थित भूतखेलमा उद्घाटन गर्दै उहाँले हिमाल, पहाड र मधेस तथा सबै जातिलाई मिलाएर एकताबद्ध गर्नका लागि संशोधनको प्रस्ताव ल्याइएको स्पष्ट पार्नुभयो । पहाडी र मधेसीका बीचमा वैमनस्यता सिर्जना गरेर पहाड र मधेसलाई अलग गर्न खोजिएको भन्दै पूर्व प्रधानमन्त्री देउवाले नेपालीका बीचमा सङ्कट पैदा गर्ने राष्ट्रवादी हुन्छ कि मिलाउने राष्ट्रवादी हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो–“राष्ट्रियताको नाममा मधेसी र पहाडीबीचमा झगडा गराउन हुँँदैन । मधेसमा बस्ने नेपालीलाई अविश्वास गर्न हुँदैन । मधेसी नेपाली हुन्, उनीहरु सधैँ नेपाली भएर बाँच्न चाहन्छन् । कसैलाई अविश्वास र आक्षेप लगाएर मुलुक चल्दैन ।” नेकपा (एमाले)ले छिनछिनमा कुरा बदल्न नहुने बताउँदै उहाँले काँग्रेसका पूर्व सभापति सुशील कोइराला र नेकपा (एमाले) अध्यक्ष केपी ओलीले हस्ताक्षर गर्नुभएको सम्झौताका आधारमा संविधान संशोधन प्रस्ताव ल्याइएको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन प्रस्तावमा कुनै बाह्य दबाब नरहेको स्पष्ट पार्नुभयो । नेपाली कसैको दबाबमा पनि नपर्ने बताउँदै सभापति देउवाले स्वतन्त्रको आन्दोलनमा सबैभन्दा बढी लडेको पार्टीले कसैको दबाबमा नपर्ने धारणा राख्नुभयो । उहाँले विगतको स्मरण गराउँदै भन्नुभयो – “२००७ सालमा राणाशासन अन्त्य गर्ने पार्टी हो, पञ्चायत फ्याँक्ने पार्टी हो, पूर्वराजा ज्ञानेन्द्रको शासन सत्ता च्यूत गर्ने पार्टी नेपाली काँग्रेस हो, यो कसैको दबाबमा पर्दैन ।” सम्पूर्ण नेपालीलाई मिलाउने दायित्व काँग्रेसको भएको बताउँदै सभापति देउवाले यो मुलुक हिमाल, पहाड र मधेसमा बस्ने सबै नेपालीको देश भएको बताउनुभयो । मधेसमा बस्ने जनताले सिमानामा बसेर राष्ट्रियता जोगाएको बताउँदै उहाँले उनीहरुको भावना सम्बोधन गर्न संविधान संशोधन गर्नुपरेको धारणा राख्नुभयो । “सुस्तामा निरन्तर लड्ने नेपाली हुन्, विदेशी होइनन्, सबै तराईका बासिन्दा नेपाली हुन्, उनीहरुको भावनालाई सम्बोधन गनुपर्छ”– सभापति देउवाले भन्नुभयो – “के सिमानामा भएका अन्याय अत्याचारमा लड्ने मधेसीहरु अराष्ट्रिय तत्व हुन्, के उनीहरु विदेशी हुन् ?, यो हुन सक्दैन ।” उहाँले संविधान संशोधनको पक्षमा नेकपा (एमाले)ले मत हाल्ने विश्वास व्यक्तसमेत गर्नुभयो । सभापति देउवाले नेपाली काँग्रेसको सिद्धान्त र जेसिसको सिद्धान्त मिल्ने भएकाले यस संस्थासँग आफ्नो गहिरो सम्बन्ध रहेको बताउनुभयो । सो अवसरमा नेकापा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधान संशोधनको प्रस्तावसँगै मुलुक गम्भीर सङ्कटमा परेको भन्दै उहाँले सामाजिक सद्भावको रक्षाका लागि सबै युवा सक्रिय भएर अगाडि आउनुपर्ने बताउनुभयो । स्वतन्त्र, सार्वभौम र भूपरिवेष्टित मुलुकका नागरिकका रुपमा स्वाभिमानीपूर्वक बाँच्न पाउनुपर्ने धारणा राख्दै उहाँले ऐतिहासिक सङ्कटबाट मुलुकलाई जोगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “मैले काँचो राष्ट्रवाद बोलेको होइन, मुलुक सङ्कटमा छ, त्यसलाई मुक्त गर्नुपर्छ ।” कार्यक्रममा नेवाः गुठीका अध्यक्ष देवराज डङ्गोल, नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष रवीन्द्र गुरुङ, जेसिस नेपालका संस्थापक डा भेषबहादुर थापाले युवालाई सक्रिय बनाएर मुलुक परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । चार दिनसम्म चल्ने महाधिवेशनमा नेपालभरिका १३८ शाखाबाट तीन हजार युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस
एमालेले हलो अडकाउन खोज्दैछ- नेता पौडेल
कावासोती, २५ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समग्र हितबाहेक कसैसँग पनि गलत सम्झौता नगर्ने बताउनुभएको छ । नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं २ ले आज डेढगाउँमा गरेको आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो विचार व्यक्त गर्नुभएको हो । उहाँले नेपाली काँग्रेस संविधानको कार्यान्वयनका लागि जस्तोसुकै पहल कदमी चाल्न तयार रहेको बताउँदै काँग्रेस मुलुकमा हाल देखापरेका चुनौतीको समाधान खोज्न तयार रहेकामा जोड दिनुभयो । काँग्रेस वरिष्ठ नेता पौडेलले अहिले संविधान संशोधन आवश्यक रहेकामा जोड दिँदै एमालेले आफ्नो नेतृत्वमा सरकार हुँदा यही प्रस्तावलाई अघि बढाएकाले अहिले हलो तेस्र्याउने काम भएकाले त्यस्ता गलत प्रवृत्ति छाडेर संविधान संशोधनमा सघाउन एमालेलाई आग्रह गर्नुभयो । संविधान संशोधनले मात्र संविधान कार्यान्वयनको बाटो खोल्ने छ ।
मोर्चाले भन्यो- एमालेको आन्दोलन प्रतिक्रियावादीहरूको बित्तन्डा
काठमाडौं, २० मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनको विरुद्धमा चलाएको आन्दोलन अतिवादी, विखण्डानकारी र उग्रवादी भएको मधेसी मोर्चाले ठहर गरेको छ । शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले एमालेले चलाएको आन्दोलनलाई प्रतिक्रियावादीहरुले उत्पीडित जनतालाई अधिकार नदिनका लागि चलाइएको वितण्डाको संज्ञा समेत दिएको छ । बैठकले एमालेको आन्दोलनलाई शोषक वर्गले उत्पीडित जनताको विरुद्धमा चलाएको वितण्डा भएको निष्कर्ष निकाल्दै त्यसको निन्दा गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । एमालेले संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै देशव्यापी रुपमा आन्दोलन चलाउने निर्णय गरेकै बेला मोर्चाले राष्ट्रिय एकताालाई खलल पार्ने खालका कुनै पनि गतिविधि नगर्न समेत एमालेको ध्यानाकर्षण गराएको छ । ‘एमालेले अहिले देशमा संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्दै गरेको आन्दोलन अतिवादी, विखण्डनकारी र उग्रवादी भएको मोर्चाको ठहर छ ।’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । एमालेले संसदको बैठक अवरुद्ध पारेर ठूलो गल्ती गरेको भन्दै त्यो संसदीय अभ्यासको अपमान भएको समेत बैठकले ठहर गरेको छ । ‘कुनै पनि प्रस्तावलाई संसदमा प्रस्तुत हुन नदिनु लोकतन्त्र र संसदीय अभ्यासको अपमान गर्नु हो’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अलोकतान्त्रिक र निन्दनिय कार्यलाई तत्काल रोकिनुपर्छ ।’ file photo
संशोधन प्रस्ताव जनजातीका लागि मौका- राज्यमन्त्री गुरुंग
इटहरी, २५ मङ्सिर । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले नेपाल सरकारले जारी गरेको संविधानको अन्तरवस्तुमा चित्त नबुझाएर असन्तुष्टि राख्दै आएको आदिवासी जनजातिले अहिलेको संविधान संशोधनको प्रस्तावलाई उपयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । स्वास्थ्य मन्त्री गुरुङले आज नेपाल आदिवासी जनजाति सङ्घ, सुनसरीले धरानमा आयोजना गरेको ‘संविधान संशोधनमा आदिवासी जनजातिको सवाल’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटनपछि बोल्नुहुँदा सो कुरा बताउनुभएको हो । स्वास्थ्य मन्त्री गुरुङले वर्तमान सरकारले संविधान संशोधनको प्रस्तावलाई संसद्मा प्रस्तुत गरेको अवस्था रहेकाले आदिवासी जनजातिले संंविधानको अन्तरवस्तुमा चित्त नबुझेका बुँदालाई यहीबेला घनिभूतरुपमा अघि बढाएर संविधानमा संशोधन गराउन अधिकतम प्रयास गर्नु जरुरी रहेको कुरामा जोड दिनुभयो । नेपालको संविधानले सबै तह र क्षेत्रलाई भरसक समेट्ने भरमग्दुर प्रयास गरेको उल्लेख गर्नुहुँदै स्वास्थ्य मन्त्री गुरुङले संविधानले समेटेका विषय प्रायः सबै नेपालीको हितका पक्षमा रहेकाले केही विषयमा चित्त नबुझेको भए त्यसलाई समयसापेक्ष सुधार र परिमार्जन गर्दै अघि बढ्न सकिनेतर्फ पनि सबैले ध्यान दिन जरुरी छ भन्नुभयो । सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री गुरुङले धरानवासीले जोगवनी–धरान चारलेनको व्यापारिक सडक विस्तारका क्रममा अहिलेकै सडक क्षेत्रमा सडक बनाउँदा धेरै नोक्सानी हुने भनेर आवाज उठाइरहेका सन्दर्भमा धरानवासीले कहाँबाट बाइपास सडक लैजानुपर्ने हो भन्ने विकल्प दिन जरुरी हुन्छ भन्नुभयो । उहाँले सोही प्रसङ्गमा धरान पर्यटकीय र जनजातिको सघन बसोबास रहेको सहर रहेकाले प्रदेश नम्बर १ को राजधानी बनाउन धरानवासीले अघि सारेको विषयलाई आफूले पनि महत्वका रुपमा लिई त्यसलाई आवश्यक सहयोग पु¥याउने वचन दिनुहुँदै धरानमा विमानस्थल बन्न जरुरी रहेकोतर्फ पनि आफू सकारात्मक रहेको बताउनुभयो । सङ्घका जिल्ला अध्यक्ष नन्दराज राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले धरानको विकासमा राज्यले विशेष चासो र पहल गर्नुपर्ने कुरामा मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा सन्दिप श्रेष्ठ र प्रेमकुमार राईलगायतले बोल्नुभएको थियो । रासस ––––––––
पाल्पा बन्द फिर्ता !
पाल्पा, मंसिर २५ । ११ दिनदेखि पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा पाल्पामा भएको बन्द आइतबारबाट फिर्ता हुने भएको छ । प्रमुख प्रतिपक्षी एमालेको अगुवाईमा व्यबसायीहरुले समेतले गराउँदै आएको पाल्पा जिल्ला बन्द फिर्ता लिएका हुन् । ११ दिनदेखिको बन्दले जनजीवन कष्टकर हुँदै आएको थियो । बन्दको एघारौं दिन शनिबार आन्दोलनरत दलका नेताहरुले तानसेनमा मानव साङ्लो प्रदर्शन गरेर आयोजित सभामा आइतबारदेखि बन्द फिर्ता लिएको बताएका हुन् । एमाले अध्यक्ष नारायण आचार्यले आन्दोलनको स्वरुप परिवर्तन हुने र प्रदेशस्तरीय कार्यक्रम आउने भएकाले बन्द हड्तालबाहेक विरोध जुलुस, सभा, बैठक लगायतका कार्यक्रम जारी राख्ने बताए ।
एमालेले भन्यो–‘चुनाव गराउने भए संसद चल्न दिन्छौ’
काठमाडौं, मंसिर २५ । एमालेले संसदमा गरिरहेको अवरोध हटाउने संकेत गरेको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसद्को अवरोध हटाउन सक्ने भएको छ । सरकारले यही मङ्सिर १४ गते आफूहरुसँगको सहमतिबिना प्रदेशको सिमाना हेरफेरसहित व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराएको जनाउँदै एमाले र अन्य विपक्ष दलले सदन र सडकमा प्रतिरोध गर्दै आएका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संविधानको कार्यान्वयन, निर्वाचन र मुलुकलाई समाधान दिने सन्दर्भमा आफ्नो दल बाधक नहुने बताए । ‘एमालेको अवरोधले निर्वाचनका कानुन अघि बढ्न नसकेको भन्ने सरकारको आरोप हो भने गृहमन्त्रीको टेबलमा रहेका ती विधेयक उसले संसद्मा ल्याओस्, त्यसपछि निकास दिन हामी तयार छौ ।’ नेता ढकालले भने- ‘हाम्रो पहिलो अडान संविधान संशोधनको विधेयक फिर्ता गरेर निर्वाचनका तयारी अघि बढून् भन्ने हो, अब सरकारले निर्वाचनका कामलाई सहमतिसाथ ल्याउँछ वा ल्याउँदैन भन्ने हेर्न बाँकी छ ।’ आगामी २०७४ माघ ७ भित्र केन्द्र, प्रदेश र स्थानीय तहका निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता छ । विपक्षीको अवरोधका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्तावमा पनि छलफल अघि बढ्न सकेको छैन । सरकारले भने नेपालको संविधानको धारा २९६ बमोजिम सो संविधान संशोधनको विधेयकको दर्ता गरिएको र त्यसमा आवश्यक परिमार्जन गरेर समाधान निकाल्ने जनाएको छ । सरकारमा रहेका केही दलले संसद् अवरोध गर्नु लोकतान्त्रिक चरित्र नभएको टिप्पणी गर्दै आएका छन् । सदनको गतिरोध फुकाउन सभामुख ओनसरी घर्तीले दलका शीर्ष नेतासँग निरन्तर संवाद गरिरहेकी छन । संसद्को अर्को बैठक यही मङ्सिर ३० गतेका लागि तय गरिएको छ । एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङले पनि जनताको आवाज बुलन्द हुने स्थल संसद्लाई लामो समय अवरोधमा राख्न नहुने बताउँदै निर्वाचनका कानुन ल्याइएमा आफूहरुले सदनको गतिरोध अन्त्य गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । यसबारे एमालेको संस्थागत धारणा बाहिर आइसकेको छैन । यही मङ्सिर २० गते बसेको एमाले स्थायी कमिटीको बैठकले संविधान संशोधन विधेयक असंवैधानिक भएको जनाउँदै संसद भित्र र बाहिर जारी विरोध तथा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको थियो । बैठकले विधेयक फिर्ता गरी संवाद र सहमतिको माध्यमबाट समस्याको हल गर्दै अविलम्ब निर्वाचनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको थियो । रासस
प्रमुख दलहरु जिम्मेवार बन : कांग्रेस नेता
काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख दलहरुलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । नेपाली कांग्रेसले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिहले प्रतिपक्षीहरुले हाल चर्चामा ल्याएको संविधान संशोधनको विषय बाहिरी इसारामा आयो भन्ने हल्ला गलत रहेको भन्दै त्यस्तो हल्लाको पछाडी नलाग्न आग्रह गरे । ‘मधेशी मोर्चा लगायतले उठाएका जायज मागका सबन्धमा हल्का अभिव्यक्ति दिनुभन्दा जिम्मेवार बन्न प्रमुख दलहरुलाई आग्रह गरे । सरकारले अहिले राखेको संशोधन आवश्यक परिमार्जन गरेर अगाडि बढाउन तयार समेत उनले बताए । अहिलेको अवस्थामा छलफल र सहमतिबाटै जारी राजनीतिक गतिरोध अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘प्रमुख दलहरु मिलेर संविधान कायन्यनको प्रमुख आधार निर्वाचनको वातावरण बनाएर चुनावमा जाने अवस्था बन्न नसके मुलुक संकटमा फस्नेछ । त्यसैले परिवर्तनकारी शक्ति मिलेर अघि बढ्नुको बिकल्प छैन ।
स्वास्थ्यमन्त्री थापालाई साक्षी राखेर तिवारीले तोडे अनशन
राजविराज, मंसिर २५ । अठार दिनदेखि अनशनरत विकास तिवारीले अनसन तोडेका छन् । तिवारी गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुविधा सुधारको माग गर्दै विगत मंसिर ८ गतेदेखि अनशनमा थिए । सरकारी पक्षबीच चार बुँदे सहमति भएपछि उनी अनसन तोड्न सहमत भएका थिए । तिवारीले कुपोषणले ग्रसित १४ महिने बालिका निलमकुमारी मण्डलको हातबाट जुस पिएर अनसन तोडेका हुन् । शनिबार स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा राजविराजमा दुवैपक्षका प्रतिनिधिबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकारले आफ्ना माग पूरा गर्ने सहमति जनाएपछि तिवारीले अहिले केहीबेरमा अनशन तोड्दै छन् । सहमतिअनुसार एक महिनाभित्र गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबिन समिति बनाउने, उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाएपछि दोषी ठहर भएकालाई कारबाही गर्ने लगायत बुँदा समेटिएका छन् । अनशनरत तिवारी नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष पनि हुन् । तिवारी गत मंसिर ८ गतेदेखि अस्पताल परिसरमै आमरण अनसनरत बसेका थिए । उनले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको बेथिति छानविन गर्न डा. गोविन्द केसीको संयोजकत्वमा उच्चस्तरिय समिति बनाउनुपर्ने, अस्पताल बालमैत्री बनाउनु पर्ने, अस्पतालमा भर्ना हुने रोगीहरुलाई स्वस्थ, पोषिलो खाना भरपेट उपलब्ध गराउनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, अस्पताल मूल गेटको निर्माण हुनुपर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिष्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने लगायतका माग राखेका थिए ।