तत्काल सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन हुँदैनः मुख्यमन्त्री भट्ट
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताए ।
पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको उल्लेख गरे ।
भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाए । कोरोना महामारीमा सङ्घीय सरकारले प्रदेश सरकारलाई सहयोग नगरेका कारण धेरै समस्या भएको उनले गुनासो पोखे ।
भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकालाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधिको व्यवस्थापनमा सङ्घीय सरकारबाट असहयोग भएको उनको आरोप थियो ।
भक्तपुरबाट स्रोत नखुलेको ४२ लाखसहित एक जना पक्राउ
काठमाडौंः भक्तपुर प्रहरीले स्रोत नखुलेको ४२ लाखसहित एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि-३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख र निजको कोठा खानतलासी गर्दा थप १५ लाख बरामद भएको हो । प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।
प्रतिनिधि सभाको बैठक शुरू (भिडियो)
काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरू भएको छ । आज बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नेछन् । त्यस्तै, बैठकमा सरकारले बिभिन्न अध्यादेशहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संवैधानक आयोगसम्बन्धी अध्यादेशविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले बिरोध बिरोध प्रस्ताव दर्ता गरिसकेका छन् । यसअघि आइतबार सरकारले पेश गरेका अध्यादेशविरुद्ध नाराबाजी भएपछि आजका लागि बैठक आव्हान गरिएको थियो । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु अब भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रुपमा सदनमा देखिएका छन् ।
५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेप्सेमा सूचीकृत ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे । यसमध्ये पहिलो ३ कम्पनीहरुले फागुन २८ गते बुकक्लोज गर्दैछन् भने बाँकी २ कम्पनीले चैत १ गते बुकक्लोज गर्दैछन्। फागुन २७ गते महाशिवरात्री, २८ गते शुक्रबार र २९ गते शनिबार बजार बन्द रहने हुनाले यी ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ। कुन कुन कम्पनी ? -सबैको लघुवित्त -नेपाल दूरसञ्चार -स्वाबलम्बन लघुवित्त -सिर्जना फाइनान्स -महिला सहयात्रा लघुवित्त सबैको लघुवित्त (SABSL) ले १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत १४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ। त्यसैगरी, नेपाल दूरसञ्चार (NTC) ले ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १३ गते १३ औँ वार्षिक साधारण सभा डाकेको छ। स्वाबलम्बन लघुवित्त (SWBBL) ले चैत ११ गते १९ औँ वार्षिक साधारण सभामार्फत १९.००५६ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ। त्यस्तै, सिर्जना फाइनान्स (SFFIL) ले १३.३९ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते २० औँ वार्षिक साधारण सभा डाकेको छ। चैत १८ गते आठौँ वार्षिक साधारण सभा डाकेको महिला सहयात्रा लघुवित्त (MSMBS) को १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत लाभांश सुरक्षित गर्न पनि आजसम्म शेयरधनी बन्नु पर्नेछ।
जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि पुनः भेन्टिलेटरमा राखियाे
काठमाडौंः मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था पुनः जटिल बन्दै गएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । गत १४ फागुनमा नर्भिक अस्पताल भर्ना हुनुभएका नेता जोशीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा सम्लग्न डा. राजिव झाले जोशीको श्वासप्रश्वासमा र मुटुमा स्वासप्रश्वासको समस्या भएपछि भेन्टिलेटरमा सारिएको बताए । डा. झाले दिउँसोदेखि नेता जोशीको स्वास्थ्य स्थिर तर जोखिमपूर्ण रहेको जानकारी दिए।
कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु
एजेन्सी । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो । अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार सो कुराको जानकारी दिएको हो । सो डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ । कंगोमा ११ जना इबोलाका विरामी भेटिएका छन् । तीमध्ये चार जनाको निधन भएको छ । त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो । त्यसैगरी गुएनामा सात जनाको निधन भएको थियो । सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो । त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो । अहिले पनि अफ्रिकामा यस भाइरसका संक्रमितहरु भेटिन थालेका छन् ।
नेम्वाङसहित ७ जनालाई निलम्बन गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले ७ जनालाई निलम्बन गर्नेको निर्णय गरेको छ । आज बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । निलम्बन हुनेमा शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापा रहेका छन् । बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय पनि गरेको छ । यसअघि प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिसकेको छ ।
पशुपतिनाथमा फागुन २५ देखि विशेष पूजा
काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । हाललाई एक हजार १ सयदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । कोषले महाशिवरात्रीको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते महाशिवरात्रीका दिन पाँच हजार १ सय र ११ हजार रुपैयाँका गरी दुई किसिमका विशेष पूजा मात्र गर्ने गरी तयारी गरिएको उनले बताए । महाशिवरात्रीका दिन पाँच हजार १ सयको रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११ हजार रुपैयाँको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजनालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५–७६ मा विशेष पूजाबाट नौ करोड ४० लाख ९३ हजार रुपैयाँ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोना महामारीका कारण विशेष पूजा रोकिएको थियो ।
कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त
कर्णाली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमित छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय सङ्क्रमित रहेको जनाएको छ । हालसम्म सुर्खेतमा तीन हजार २६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । दैलेखमा एक हजार ६८५, सल्यानमा ६९३, जुम्लामा ४२३, कालीकोटमा ३३३, रुकुम पश्चिममा २५७, जाजरकोटमा १५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा सङ्क्रमण देखिएको थियो । अन्य प्रदेशका ५९८ तथा भारतका पाँच जनामा पनि कर्णालीमै कोरोना पुष्टि भएको थियो । प्रदेशमा हालसम्म सात हजार ५५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये सात हजार ३८१ सङ्क्रमणमुक्त भएका हुन् । कर्णालीमा सङ्क्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्णालीमा कोरोना भाइरसविरुद्धको २६ हजार ९९० जनाले खोप लगाइसकेका छन् ।
कलाकार राष्ट्रका अमूल्य निधि : राष्ट्रपति भण्डारी
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तइमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताइन् । राष्ट्रपति भण्डारीले स्रष्टाहरुलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नुहुँदै नेपाली सङ्गीतमा मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु स्रष्टा सर्जकहरुको कर्तव्य भएको समेत चर्चा गरिन्। उनले स्रष्टाहरुलाई सम्मानित र पुरस्कृत गर्ने कार्य प्रसंसनीय र प्रेरणादायी समेत रहेको बताइन्। कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली शैलीको सङ्गीत सिर्जनामा सिद्धहस्त नातिकाजीले नेपाली आधुनिक सङ्गीतको जग निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चर्चा गरिन् । उनले नातिकाजीको योगदानलाई स्मरणीय बनाउन सडकको नामाकरणको माग राख्नुहुँदै काठमाडौं महानगरपालिकाले नातिकाजीको नाममा कोष स्थापना गर्ने वचन दिएको बताइन्।
बाबुराम भट्टराईमा देखिएको ट्यूमर क्यान्सरजन्य नभएको पुष्टि, भोली नेपाल फर्किने
नयाँ दिल्ली । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमा देखिएको न्यूरो–इण्डोक्राइनिक ट्युमर खतराजन्य नभएको पुष्टि भएको छ । हर्मोन उत्पादन गर्ने कोषमा विकास भएको ट्युमर क्यान्सरजन्य नभएको पुष्टि भएको उनका सहयोगी विश्वदीप पाण्डेले जनाएका छन् । “पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ ।” सामाजिक सञ्जालमार्फत पाण्डेले जानकारी दिएका छन् । उनले अगाडि लेखेका छनः वायोप्सी, DOTA NOC परीक्षण, Endoscopic ultrasound (EUS) , PET CT Scan सहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका छन् । देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ । यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराउनुभएको छ । अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उहाँले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिनुभएको थियो । अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कनुहुनेछ ।
योगेश भट्टराई सवार गाडीको ठक्करबाट साइकल यात्री घाइते
काठमाडौंः नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा साकइल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् । ‘उनी चढ्नु भएको गाडीले साइकल यात्रीलाई ठक्क दिएछ । इन्द्रप्रसाद घिमिरे जो साइकल यात्री हुनुहुन्थ्यो उनको अहिले चपुरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहले इकागजसँग भने, ‘थप उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।’
संसदबाट एमसीसी पास हुन्छ भनेको छैन, भ्रममा नपर्नुस्ः झलनाथ खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज करर्पोरेशन (एमसीसी) संसदबाट पास हुन्छ भनेर कहीँकतै नभनेको स्पष्ट पारेका छन् । खनालको सचिवालयले शनिबार एक विज्ञप्ति जारी गरेर नेता खनालले एमसीसी संसदबाट पास हुने नभनेको स्पष्ट पारेको हो । खनाल एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनअनुरूप परिमार्जन, संशोधनसहित पारित हुनुपर्छ भन्ने अडानमा रहेको विज्ञप्तिमा उल्लेख छ । ‘केही अनलाइन तथा छापाहरूमा संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याम्ट अर्थात् एमसीसी पास हुन्छ भन्ने शीर्षक राखी समाचार समप्रेषण गरिएप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको अडानलाई विचलित तुल्याउने गरी गरिएको यसप्रकारको हल्ला भ्रामक, कपोकल्पित दुरासयपूर्ण, निराधार पूर्णतः अफवाहमा आधारित छ ।’ अहिलेको संसद् पुनर्स्थापनासँग साइनो पनि नगाँसिएको एमसीसी पास हुन्छ भनेर भ्रम नफिँजाउन सचिवालले आग्रह गरेको छ । यसबारे आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय सबैमा भ्रममा नपर्न पनि अनुरोध गरिएको छ ।
कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख तर खतरामुक्त छैन
काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको अवस्था गम्भीर तर थोरै भए पनि सुधारोन्मुख देखिएको छ । अवस्था सुधारोन्मुख भए पनि उनलाई खतरामुक्त भन्न नसकिने नर्भिक अस्पतालले जनाएको छ । उपचारका संलग्न नर्भिक अस्पतालका डा. राजीव झाका अनुसार जोशीले दाहिने हात र खुट्टा चलाएका छन् । जोशीलाई शनिबार बिहानसम्म लगातार बेहोस् पार्ने औषधी राखेर उपचार जारी राखिएको थियो । बिहान डेढ घन्टाजति बेहोस् पार्ने औषधी नलगाई हेर्दा उनले हात र खुट्टा चलाएको झाले बताए । डा. झाले भने, ‘शनिबार बिहानदेखि दायाँपट्टिको शरीरको भाग हातखुट्टाहरु चल्न थालेका छन् । देब्रेपट्टि प्यारालाइसिस भएकै देखिन्छ । बाँकी प्यारामिटरहरु ठीकै ठीकै छ । उहाँ कोमामै हुनुहुन्छ । अवस्था अलि गम्भीर नै छ । हिजोभन्दा केही सुधार भएको देखिन्छ तर खतरामुक्त भने हुनुहुन्न ।’ जोशीको उपचार सघन उपचार केन्द्रमा भइरहेको छ । ५८ वर्षीय जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको थियो ।
रवीन्द्र मिश्रको नयाँ पुस्तक बजारमा आउँदै
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ यही फागुनको अन्तिम सातादेखि बजारमा आउने भएको छ । ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ ओटा स्तम्भ–निबन्धहरूको सङ्ग्रह ‘राजनीतिसँगै राजकाज’ फागुनको अन्तिम सातादेखि बजारमा आउने भएको हो । ‘हामीले राजनीति धेरै ग¥यौं । तर राजकाजमा सधैं चुक्यौं । नेतृत्वका पञ्च गुण— इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टिमा सन्तुलन नभएसम्म संसारका कुनै पनि नेतृत्व रूपान्तरणकारी हुन नसक्ने रहेछन्,’ लेखक मिश्र भन्छन्, ‘पुस्तकले ती गुणहरूको महत्त्वमाथि विशेष जोड दिएको छ।’ पुस्तकबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् यूएनडीपी मुख्यालय, न्युयोर्कमा वरिष्ठ सल्लाहकार रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले भन्छन्, ‘नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने पुस्तक हो, ‘राजनीतिसँगैराजकाज ।’ पुस्तकमाथि टिप्पणी गर्दै उनले लेखेका छन्, ‘पुस्तकको मूल निबन्ध ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’ नवीन विचारमात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ–राजनीतिक दस्तावेज पनि हो ।’ फाइनप्रिन्टले प्रकाशन गर्न लागेको पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने बताएका छन् । यसअघि उनले चितवनमा विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेसनको सहयोगार्थ प्रदान गर्दै आएका छन् ।
महन्थ ठाकुर भन्छन् : अब जुन दिन सरकार बन्छ, दिनगन्ती सुरु हुन्छ
काठमाडौंः जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट असफल भएको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादतर्फ संकेत गर्दै ठाकुरले भने- ‘कम्युनिष्टले आफ्नो पार्टी र सरकारको पनि रक्षा गर्न सकेन ।’ बुधवार जसपाको भातृसंगठन राष्ट्रिय विद्यार्थी संघले काठमाडौंको कालिकास्थानमा आयोजना गरेको कार्यक्रममा बोल्दै ठाकुरले प्रतिनिधिसभाको पुनर्बहालीसँगै अस्थायी सरकार मात्र बन्ने बताए । ‘अब, जुन दिन सरकार बन्छ उसको दिनगन्ती सुरु हुन्छ’ ठाकुरले भने-‘एउटा शक्ति असफल भयो तर उसले सरकार छाड्न चाहेको छैन ।’ सशस्त्र द्वन्द गर्नेहरु देशको मन्त्री भएको बताउँदै रेशम चौधरी र मधेश आन्दोलनका आफ्ना नेता कार्यकर्तालाई जेलबाट नछाडेकोमा उनले आक्रोश व्यक्त गरेका छन् । ‘अत्याचार भएको छ’ ठाकुर भन्छन्-‘गोली चलाउनेहरूको प्रमोशन भएको छ, गोली खानेहरू जेलमा छन्, यो कहाँको न्याय हो ?’ आफ्ना साथीहरु जेलमा रहेसम्म संघर्ष जारी राख्ने जिकिर गर्दै महन्तले भने-‘विभेद रहेसम्म संघर्ष भइरहन्छ, अधिकार प्राप्तिको लागी संघर्ष जारी रहन्छ ।’