नेपाल एसीसी इमर्जिङ कप क्रिकेट खेल्नबाट बञ्चित

काठमाडौं, फागुन १० । नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) इमर्जिङ कप खेल्न नपाउने भएको छ । आइसीसीको नयाँ सेड्युलका कारण नेपालले उक्त प्रतियोगितमा सहभागी हुन नपाउने भएको हो ।

सुरूमा चार टेष्ट राष्ट्रसहित ८ देश खेल्ने तय भएको थियो। तर हङकङ र युएईले आन्तरिक कारण देखाउँदै नाम फिर्ता लिएपछि आइसीसीले टेष्ट खेल्ने राष्ट्र मात्र सहभागी गराएर प्रतियोगिता खेलाउने भएको छ।

हंङकङ र युएईसहित नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा अब पाँच टोलीको मात्र सहभागिता रहनेछ।

प्रतियोगितामा अब भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा हुनेछ।

महासंघमा लगाएको ताला युनियनले खोल्यो, तीन जिल्लाको अधिवेशन स्थगित

काठमाडौं, फागुन ६ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयको मुल ढोकामा लगाएको ताला शुक्रबारदेखि खुलेको छ । महासङ्घ र प्रेस युनियन नेतृत्वबीच आज दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो । ताला खोलेपछि महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासङ्घ सबैको साझा संस्था भएकोमा बताए । युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाई मात्र महासङ्घको सदस्यता वितरण गर्न माग गरे । महासंघको सदस्यताको विषयमा असहमति जनाउँदै युनियनले फागुन २ गतेदेखि ताला लगाएको थियो । सहमतिको आधारमा ताला खुलेको महासंघका केन्दीय महासचिव उजिर मगरले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । सहमतिअनुसार युनियनले सरोकार देखाएका केही शाखाहरुमा देखिएको विवाद महासंघको सचिवालय बसेर टुङ्ग्याउने सहमति भएको छ । ‘नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिराहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर शाखामा देखिएका सदस्यतासम्बन्धी समस्याहरु महासंघको सचिवालयले सहमतिको आधारमा टुंगो लगाउने छ ।’ मगरले जारी गरेको विज्ञप्तीमा भनिएको छ । सदस्यताको विषयलाई लिएर समस्या देखिएका बाहेक सबै शाखाको अधिवेशन पूर्वघोषित कार्यतालिकाबमोजिम गर्ने पनि सहमति भएको छ । पूर्वाञ्चल क्षेत्रमाको पाँचथर र सप्तरी शाखाको अधिवेशन स्थगित गरिएको महासंघले जनाएको छ । सिराहामा शाखाबाट सदस्यता विवरण प्राप्त भई निर्णय हुनासाथ जानकारी गराइने छ । पूर्वाञ्चलका अन्य जिल्लामा केही समयभित्रै केन्द्रीय प्रतिनिधि, सदस्यताको अन्तिम नामावली र अन्य सम्बद्ध कागजातहरू उपलब्ध गराइने भएकोले उत्साहका साथ अधिवेशन आयोजना गर्न सम्बद्ध शाखा कार्यसमिति र सहभागी हुन सदस्य पत्रकार साथीहरूलाई अनुरोध छ ।

ट्रम्पले भने, ‘संचारमाध्यम बेइमान बनिसकेका छन्’

फागुन ६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रेस जगत नियन्त्रणभन्दा बाहिर गएको भन्दै मीडियाको तीखो आलोचना गरेका छन् । उनले शुरुवाती दिनमा आफूले निकै राम्रो काम गरे पनि सञ्चारमाध्यमले त्यसको आलोचना गरेको भन्दै मीडियाप्रति रोष प्रकट गरेका हुन् । ह्वाइट हाउसमा बोलाइएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेलगत्तैदेखि देशभित्र र बाहिर आफूले अफ्ठ्यारा परिस्थितिमात्र ब्यहोर्नु परेको तर सञ्चारमाध्यमले भने त्यस स्थितिको ख्याल नगरी आलोचनामा समय खर्चेको टिप्पणी गरे । मीडिया अत्यन्तै बेइमान भइसकेको भन्दै ट्रम्पले अब यसबारे चर्चा नगर्ने हो भने अमेरिकी जनतामा ठूलो नोक्सान ब्यहोर्नुपर्ने बताए । शेयर बजारमा भएको सुधार र गैरकानूनी आप्रवासीमाथि गरिएको कारवाही यस अवधिको उपलब्धि भएको जिकीर पनि उनले गरे । यात्रा प्रतिबन्धसम्बन्धमा आउँदो हप्ता संशोधित कार्यकारी आदेश ल्याइने जानकारी पनि उनले दिए, जसमा अदालतको आदेशलाई ख्याल गरेर प्रबन्धहरु गरिने छ । रुससँग राम्रो सम्बन्ध विकास गर्न खोजिएकामा मीडियाले साथ नदिएको उनको आरोप छ । एजेन्सी

राप्रपाको १ सय ६१ सदस्यीय केन्द्रीय समिति हुने, २४ जना पदाधिकारी

काठमाडौं, फागुन ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनबाट एक अध्यक्षसहित एक सय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । पार्टीको आसन्न महाधिवेशनका लागि संशोधन गरिएको विधानमा त्यस्तो व्यवस्था गरिएको हो । नयाँ विधानअनुसार महाधिवेशनमा नयाँ पदाधिकारीका लागि निर्वाचन गरिने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । संशोधन गरिएपछि अध्यक्षको नेतृत्वमा २४ जना पदाधिकारीको कार्यसमिति गठन गरिने छ जसमा तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायकमन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि अन्तरिम विधान निर्माण गरी दुवै पार्टीको विधानलाई निलम्बन गरिएको थियो । सोही अनुसार अहिलेसम्म एकीकृत राप्रपालाई निर्देशन गरिएको थियो जसमा एक केन्द्रीय अध्यक्ष, एक राष्ट्रिय अध्यक्ष, छ उपाध्यक्ष, छ महामन्त्री, दुई प्रवक्ता, दुई कोषाध्यक्ष, चार सहप्रवक्ताको व्यवस्था गरिएको थियो । त्यसैगरी, उक्त विधानमा चार परिच्छेद तथा ५६ धारा छन् । पार्टीले मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताका लागि क्रियाशील रहनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रियता र प्रजातन्त्रलाई पार्टीको आदर्शका रुपमा समावेश गरिएको छ । सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र कायम गर्न विधानले पार्टीलाई निर्देशित गरेको छ । विगत दस वर्षदेखि देशमा भइरहेको गतिविधि, राजनीतिक अन्योल तथा समाजमा रहेका विभिन्न जाति, समुदायबीच एकआपसमा देखिएको मनमुटावलाई न्यूनीकरण गरी राष्ट्रियता बलियो बनाउन संविधान र संसद्को नियन्त्रणमा रहने राजसंस्थाको समर्थनमा पार्टी क्रियाशील हुने नेत्री सरस्वती अधिकारीले बताइन् । तत्कालीन राप्रपा नेपालले स्थापनाकालदेखि नै देशलाई हिन्दू राष्ट्र, राजसंस्थाको पक्षमा पार्टीको आदर्श कायम गरेको थियो भने सङ्घीयता जनमतका आधारमा टुङ्गो लगाउन अडान राख्दै आएको थियो । तत्कालीन राप्रपाले पछिल्लो परिवर्तनलाई स्वीकार गर्दै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएको थियो । विगतमा पञ्चायत पृष्ठभूमि तथा बहुदलीय व्यवस्थामा कार्य सम्पादन गरी अनुभव बटुलेका नेता दुवै पार्टीभित्र सक्रिय रहेको र राष्ट्रवादी शक्तिको एकताको महसुस गरी एकता भएको हो । दुई भिन्न आदर्शमा उभिएका यी दुई पार्टीले हिन्दू राष्ट्रको पक्षमा समझदारी कायम गरी वैचारिक रुपमा राजसंस्थाका बारेमा महाधिवेशनमा टुङ्गो लगाउने सहमतिका साथ एकीकरण गरिएको थियो । एकीकृत राप्रपामा राजतन्त्र तथा गणतन्त्र दुवै पक्षधर रहेकाले राजसंस्थाको पक्षमा निर्णय लिनु ठूलै चुनौती हो । पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले भने–‘पार्टीभित्रको आन्तरिक छलफल र गृहकार्यले राष्ट्रिय एकताको प्रतीकका रुपमा राजसंस्था कायम गराउने निष्कर्षमा पुगेका हौँ ।’

चन्द र सिलवालको विवादमा चम्कीएका पोखरेल

काठमाडौं, फागुन ३ । प्राविधीक क्षेत्रको अनुभव बोकेका डा. दिनेशचन्द्र पोखरेलले निमित्त आइजिपी हुने मौका पाएका छन । नेपाल सरकार मन्त्रीपरिषदको सोमबार बेलुका बसेको आकस्मिक बैठकले नेपाल प्रहरीको निमित्त प्रहरी महानिरीक्षकमा डा. दिनेशचन्द्र पोखरेललाई जिम्मेवारी दिएको छ । आइजिपी नियुक्तिमा सरकारले गरेको निर्णय विवादमा नपरेको भए पोखरेलले यो ज़िम्मेवारी पाउने थिएनन । नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर पोखरेललाईं प्रहरी नियमावली, २०७१ को नियम ४६ लाई संशोधन गरी डा। पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सोमवारदेखि अनिवार्य अवकाश पाएपछि पोखरेललाई निमित्त तोकिएको हो । आइतबारको मन्त्रिपरिषद् बैठकले जयबहादुर चन्दलाई आइजीपी नियुक्त गर्ने निर्णय गरे पनि बरियता मिचेर गरिएको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आइतबार अन्तरिम आदेश दिएको थियो । आइतबार नै डीआईजी नवराज सिलवालले बरिष्ठताको आधारमा आफू आईजीपी हुनुपर्ने माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले सोमवार फैसला सुनाउँदै चन्दलाई कुनै पनि हालतमा जिम्मेवारी नदिन आदेश दिएको थियो ।

तीन दिनलाई नेपाल–भारत सीमा नाका बन्द

कञ्चनपुर, फागुन २ । भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी कञ्चनपुरसँग जोडिएका सीमा नाका तीनदिनसम्मका लागि बन्द गरिएका छन् । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा फेबु्रअरी १५ तारिख (फागुन ४ गते) राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका छन् । दोधारा चाँदनी र बेलौरी सीमा नाका आज साँझदेखि बन्द हुने छन् । यसैगरी, बेलडाँडी र त्रिभुवन बस्ती भारतसँग जोडिएका सीमा नाका मङ्गलबार साँझदेखि बन्द हुने छन् । फागुन ४ गते साँझ ५ बजेसम्मका लागि भारतसँग जोडिएका सीमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए । चुनावमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर भारत सरकारको आग्रहमा सिमाना बन्द गरिएको बताइएको छ । सीमा नाका क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्र बनाएका छन् ।

अस्कल क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीबीच झडप, ९ विद्यार्थी घाइते

काठमाडौं, माघ २८ । भर्नाको विषयमा विबाद भएपछि लैनचौरस्थित अमृत साइन्स क्यामपस (अस्कल)मा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ । झडपमा परी ९ विद्यार्थी घाइते भएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति नजिकिँदै जाँदा विद्यार्थी अस्कल क्यामपसमा शुक्रबार विद्यार्थी भर्नाको विषयलाई लिएर सो झडप भएको हो । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले एमाले अखिलले क्याम्पसमा भर्ना मिति हुँदाहुँदै विद्यार्थी भर्नालाई रोकेपछि विवाद उत्पन्न भएको बताएका छन् । यता एमाले समर्थित विद्यार्थीहरुले भने विद्यार्थी भर्ना मिति २७ गते सम्म तोकिएकोमा कलेजले पुर्व सुचना बीना आफुखुसी भर्ना मिति बढाएर बिहीबारसम्म भर्ना लिए पछि झडपको स्थिति श्रृजना भएको बताए । क्याम्पस प्रमुख महाजुमाथि अखिलका विद्यार्थीहरुले हातपातको प्रयास गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । अखिलका विद्यार्थीहरुले भने प्रहरीलाई पनि ढंगामुढा गरेको सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्र सिंह राठौरले बताए ।

तिनदिने पत्रकारिता तालिम सम्पन्न

ललितपुर, माघ २६ । नेपाल पत्रकार महासङ्घ ललितपुरको आयोजनामा ललितपुरको पाटनढोकामा भएको तीनदिने पत्रकारिता तालिम सकिएको छ । माघ २४ गतेदेखि सुरु भएको उक्त तालिममा ५१ जनाले पत्रिकारिता तालिम लिएका थिए । तालिममा प्रशिक्षक उजिर मगरले फिचर लेखन, शिव गाउलेले खोज पत्रकारिताबारेमा तालिम दिएका थिए । तालिममा सचेन रोक्का, प्रभुनरायण बस्नेत, प्रबेश सुवेदी लगायतले पत्रकारिता आचार सहिता, अनलाइन पत्रकारिता र बिकास पत्रकारिता तालिम दिएका थिए । तालिमको तेस्रो दिन पत्रकार महासङ्घ ललितपुरका सस्थापक अध्यक्ष धर्मरत्न शाक्यले सहभागीहरुलाई प्रमाणपत्र बितरण गद गरेका थिए । तालिमले रिपोर्टिङ गर्न सघाउ पुर्याएको तालिममा सहभागी सीतामैया श्रेष्ठले बताइन् । त्यस्तै तालिमबाट खोज पत्रकारिता गर्न र फिचर लेखनमा धेरै कुरा जानकारी पाएको प्रशिक्षार्थी प्रतीक्षा आचार्यले बताइन् । पत्रकारलाई बेला बेला तालिम हुनुपर्ने आवश्यकता लाई महसङ्घ ललितपुरले सुरु गरेकोमा प्रशिक्षक शिरोमणि ढुंगानाले प्रशंसा गरे । बिकास पत्रकारितालाई नेपालका मिडियाले बुझ्न नसकेको उनले बताए । बिकास पत्रकारितालाई हामीले राजनीतिमा प्रयोग गर्ने कोसिस गरेनौ समस्या यहि रह्यो उनले भने । जिबिस ललितपुरको सहयोगमा भएको तालिमबाट सहभागीको क्षमता अभिबृद्दी हुने अध्यक्ष लेखनाथ न्यौपानेले बिश्वास लिए । ‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ । जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नुपर्छ’ प्रशिक्षक उजिर मगरले भने । ललितपुर जिल्ला उपत्यका भए पनि यसका दुर्गम गाउमा हुन नसकेको बिकास बारेमा समाचार बन्न नसकेकोमा उनले गुनासो गरे ।

मन्दिरभित्र पसेको भन्दै दलितलाई ५ हजार जरिवाना

बारा, माघ २४ । जिल्लाको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवालाई जरिवाना गरिएको छ। स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले गाउँलेको सहयोगमा पाँच हजार रुपैयाँ असुल गरेका छन्। शेराकाली मन्दिरमा साताको शनिबार र मंगलबार दुई दिन मात्र पूजाआजा हुने गरेको छ। मन्दिरबाट पुजारी बाहिरिएसँगै नियमित पूजाआजा सबै रोकियो। कृष्णकुमारले पाठी बलि दिन पाएनन्। त्यसपछि पुजारी र कृष्णबहादुरबीच लामो भनाभन भयो। दुवैको भनाभनपछि गाउँले, पूजाका लागि पुगेका भक्तजन र विश्वकर्माका परिवारसहित छलफल भयो। छलफलमा कृष्णबहादुरको गल्ती ठहर्‍याइयो। मन्दिरमा रुद्री लगाएर चोखो नगरी पूजा गर्न नमिल्ने भन्दै पुजारीले कृष्णकुमारसँग पाँच हजार रुपैयाँ माग गरे। उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार दिए। पुजारीले रकम लिएसँगै आफूले लगेको पाठी बलि दिएको कृष्णकुमारले टेलिफोनमार्फत जानकारी दिए। शनिबार बिहानै उठेर नुहाइधुवाई गरी कृष्णबहादुर र उनकी श्रीमती एकजोर पाठी लिएर मन्दिर पुगेका थिए। मन्दिर पुगेपछि उनी आफूले लगाएको छालाको पेटी र चप्पल बाहिर फुकालेर पूजा गर्न मन्दिरभित्र पसे। अकस्मात् मन्दिरभित्र कृष्णबहादुरलाई देखेपछि ‘तँ अछुत जात (दलित) मन्दिरभित्र पस्नै नहुने, पसिस्’ भनेर मन्दिरका पुजारी चिच्याउँदै बाहिर निस्किए। सरकारले छुवाछूतको अन्त्य गरेको धेरै समय भइसकेको छ। तर, आफूजस्ता दलितले अहिले पनि मन्दिरभित्रै पसेर पूजा गर्न नपाउँदा दुःख लागेको कृष्णबहादुरले बताए। मन्दिरमा पूजा गर्न नदिने र क्षतिपूर्ति भराउन लगाउने मन्दिरका पुजारीद्वयविरुद्ध बेताली प्रहरी चौकीमा आइतबार लिखित उजुरी दिएको उनले बताए। मन्दिरका दुवै पुजारी छत्रबहादुर र भीमबहादुर मोबाइल स्विच अफ गरेर बसेका छन्। पटक–पटक प्रयास गर्दा पनि उनीहरूसँग सम्पर्क हुन सकेन। स्थानीय विनोद फुँयालका अनुसार बेतालीमा रहेको शेराकाली मन्दिरमा परम्परादेखि नै महिनावारी भएका महिला र दलित मन्दिरभित्र पस्न पाउँदैनन्। मन्दिरका पुजारीलाई कृष्णकुमारले पाँच हजार बुझाएसँगै रुद्री लगाएर पुनः नियमित रूपमा पूजा सञ्चालन गरेको बेताली गाविसका प्राविधिक सहायक बाबुराम घिमिरेले जानकारी दिए। सो मन्दिरमा पूजा गर्न दोलखा, सिन्धुलीदेखि भक्तजन आउने गरेका छन्। मन्दिरमा दलितलाई पूजा गर्न नदिएको र उल्टै पुजारीले पाँच हजार असुलेको विषयमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिए। उनका अनुसार अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको छ। ‘मन्दिर कसैको पेवा होइन,’ उनले भने। डिएसपी ढुंगेलले प्रहरी चौकीबाट मेलमिलाप नभए छुवाछूत मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही गरिने बताए। मन्दिरभित्र दलित पस्यो भनेर जरिवाना गराउने पुजारीलाई कानुनअनुसार कारबाही गर्न आफूले प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। यो खबर आजको नयाँ पत्रिकामा छ ।

स्वर्गद्वारीमा भक्तजनको घुइँचो

प्युठान, माघ २२ । ‘आफूले जे माग्यो, त्यही प्राप्त हुने’ जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ । खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी–नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् । स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख, साउन र माघमा भारतीय भक्तजनको भिड लाग्ने गरेको छ । नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको निकै घुइँचो लाग्छ । यहाँ पाण्डवहरु स्वर्ग जानुअघि आएको विश्वास गरिन्छ । कविशिरोमणि लेखनाथ पौड्यालले पनि यहाँ बसी कविता रचना गरेका थिए । मन्दिरका सहायक कोठारी प्रेम न्यौपानेले भन्नुभयो– “नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको धेरै भिड लाग्छ, नेपालीहरु दैनिक धेरै भए एक हजारदेखि १५ सयसम्म हुन्छ तर भारतीय भक्तजन दैनिक १० हजारदेखि १२ हजारसम्म आउँछन् ।” भारतीय भक्तजन आउने समयमा त्यहाँ अत्यन्तै थाम्नै नसक्ने गरी पूरै मेला लाग्ने गरेको छ । “बालबच्चा नभएकालाई बालबच्चा, उपयुक्त वरबधु, सम्पत्ति र आफूले चाहेको इच्छा पूरा हुने विश्वासका साथ नेपाली र भारतीय भक्तजन आउने गरेका छन्”,उहाँले थप्नुभयो । भारतीय भक्तजन प्रत्येकले एक माना चामल, रु ११ र नरिवल लिएर दर्शन गर्न आउँछन् । स्वर्गद्वारीमा वैशाख शुक्ल पूर्णिमा (स्वर्गद्वारीको स्थापना दिन–बुद्धजयन्ती), दशैंको कोजागत पूर्णिमा, शिवरात्रि, स्वर्गद्वारी प्रभुको जन्मदिन (पुत्रदा एकादशी), मार्गशुक्ल चौथी र लक्ष्मीपूजाको दिन भक्तजनको बढी भिड र विशेष मेला लाग्ने गर्छ । स्वर्गद्वारी, महाप्रभुले वि.सं १९५२ वैशाख शुक्ल पूर्णिमा दिनदेखि ठूलो हवन कुण्ड आश्रय लिएको स्थान हो । स्वर्गद्वारीमा खासगरी यज्ञशाला, पाठशाला र गौशाला छन् । यहाँ यज्ञशालामा २४ पुजारी, गौशालामा चार सय गाई र पाठशालामा सय विद्यार्थी छन् । यी सबैको सम्पूर्ण खर्च मन्दिरले व्यवस्थापन गर्नुपर्ने हुन्छ । स्वर्गद्वारी महाप्रभुको पालादेखि नै गाई पाल्ने गरेको र त्यही गाईका सन्तति नै अहिलेका गाई हुन् । खासगरी यज्ञले पूर्णता पाउनका लागि गाई पालिएको हो । यज्ञमा अघ्र्य र पञ्चामृतका लागि गाईको आवश्यकता पर्छ । दुई हजार १२१ मिटरको उचाइमा रहेको सो मन्दिरको आयस्रोतका रुपमा दाङ देउखुरीमा एक हजार ५० बिघा जग्गा छ तर स्थानीयवासीको अतिक्रमणका कारण प्रभावित भएको छ । “भक्तजनको भेटी र मन्दिरको जग्गा नै मन्दिरको आयस्रोत हो, सरकारले अतिक्रमण भएको जग्गाको संरक्षण गर्ने संयन्त्र बनाइदिए राम्रो हुने थियो”मन्दिरका सहायक कोठारी न्यौपानेले सरकारसँग आग्रह गर्नुभयो । मन्दिरमा मुख्य पुजारी युवराज पोखरेलसहित २४ जना ब्राह्मणले पूजा गर्नुहुन्छ । मन्दिरको व्यवस्थापन गर्नका लागि कर्मचारी एक सय ४१ जना छन् । गाईलाई घाँस काट्ने आदि काम हुन्छ । मन्दिरमा हरेक दिन वैदिक अखण्ड महायज्ञ हुने गर्छ । मन्दिरमा भक्तजनको सहजताका लागि केवलकार लैजाने पनि लक्ष्य छ । तर पक्की सडक पहिला निर्माण गर्नुपर्नेमा मन्दिर व्यवस्थापनको चासो छ । मन्दिरको वार्षिक आम्दानी रु दुई करोड २५ हजार छ भने खर्च वार्षिक रु दुई करोड ९६ लाख छ । मन्दिर मुस्किले चलिरहेको अवस्थामा मन्दिरको जग्गा सदुपयोग भएमा राम्ररी चल्ने विश्वास मन्दिर व्यवस्थापनको छ ।

पाकिस्तानी ब्याटिङका सामु नेपाली बलर निरीह, १० विकेटले पराजित

काठमाडौं, माघ २१ – दृष्टिविहीन टी–२० विश्वकप क्रिकटमा नेपाललाई पाकिस्तानले हराएको छ । नेपालले दिएको १ सय १७ रनको लक्ष्य पाकिस्तानले ७ ओभर ५ बलमै भेट्टाएपछि नेपाल १० विकेटले पराजित भएको हो । भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपालका रमेशबहादुर बाँनियाले ३१ बलमा १५ रन, सुनिल राना मगरले ४० बलमा ४० रन र लोकबहादुर थापाले १५ बलमा १० रन बनाए । जवाफी ब्याटिङमा आएको पाकिस्तानका लागि मति उल्लाहले ३५ बलमा ५० रन साथै रियासद खानले २० बलमा ५६ रन बनाए । १४ दशमलव ९४ को औषतमा रन बनाएको पाकिस्तानी ब्याटिङका सामु नेपाली बलर निरीह बने । नेपालले शनिबार वेष्ट इन्डिजसँग खेल्नेछ ।

माओवादी निकट पर्यटन व्यवसायीहरुको एकता शुक्रबार

काठमाडौँ, माघ २० । विभिन्न कालखण्डमा टुक्रिएका नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनबीच एकता हुने भएको छ । ती सङ्गठनले भोलि शुक्रबार एकता भेला गरी पर्यटन प्रवद्र्धनका लागि नयाँ कार्ययोजना ल्याउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । व्यवसायीको एकतासँगै पर्यटन क्षेत्रको सुदृढीकरण र प्रवद्र्धनका लागि रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी सङ्गठनका महाधिवेशन आयोजक समिति संयोजक नवराज दाहालले बताए । उहाँले माओवादी केन्द्र निकट व्यवसायीहरु विभाजित हुँदा सशक्त ढङ्गले अगाडि बढ्न नसकिएको भन्दै अब सङ्गठन पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताए । आगामी तीन महिनाभित्र महाधिवेशन आयोजना गर्ने गरी अहिले संयोजक मात्र तोकिएको केन्द्र निकट व्यवसायी बोधराज भण्डारीले बताए । विभाजित माओवादी एक भएसँगै विभिन्न भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाहरु पनि एकीकृत भएका हुन् । यसअघिका केन्द्र निकटका व्यवसायी संस्थाहरु एकीकृत पर्यटन व्यवसायी सङ्गठन (युटिन), नेपाल पर्यटन व्यवसायी मञ्च र वैद्य माओवादी निकट व्यवसायीबीच एकता हुन लागेको बताइएको छ ।

राणाकालिन ३१ दरबार पुनर्निर्माणमा किचलो

काठमाडौं – भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन । यो खबर आजको नेपाल समाचारपत्रमा छ । पुरातत्व विभागले अधिकांश दरबारको संरचना जस्ताको तस्तै हुने गरी बनाउने जनाए तापनि शहरी विकास तथा भवन निर्माण विभागले भत्काएर नयाँ बनाउने इस्टिमेट गर्दै आएको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले केहि दरबार पुरानै अवस्थामा पुननिर्माण गर्ने र केहिलाइ भत्काएर स्वरुपमा परिवर्तन नहुने गरी तयार गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भूकम्पको अति जोखिम रहेको उपत्यकाका सबै राणाकालीन दरबार सबै पुरानै सवरुपमा बनाउन सक्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । तर पुरातत्वविद्हरुले नेपालको सम्पदाका रुपमा रहेका राणाकालीन दरबारलाई संरक्षण गर्नुपर्ने बताएका छन् । ”अहिले मैले सुनेको छ । केशर महल, सिंहमहल, ललिता भवन, बहादुर भवन, हरिहर भवन, श्री महललगायत दर्जानौं राणाकालिन दरबार भत्काएर आधुनिक बनाउने रे ?” संस्कृति एवं पुरातत्वविद् मुकुन्दराज अर्यालले भन्नुभयो ”सरकारको कस्तो तरिका नेपालको इतिहास मेटाएर बवन बनाउने ?” राणाकालीन दरबार ५ घण्टामा भत्काउन सकिन्छ तर कहिल्यै बनाउन सकिदैन । यस्तो गलत काम सरकारले कहिल्यै गर्नुहुदैन । इतिहासलाई अनन्तकालसम्म जोगाएर राख्नुपर्छ । अर्यालले बताउनुभयो ।

भारतले दशगजामैं बनायो पक्की सडक र नाला

गौशाला, माघ १६ । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो । सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दसगजा मिचेर पक्की संरचना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए । भारतीय पक्षले दसगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको सम्बन्धी गत पुस २३ गते नै जानकारी पाएपछि सशस्त्र बेस क्याम्प मटिहानीले सो संरचनाको विरोध गरी काममा अवरोध खडा गर्दै रोक लगाएको थियो । तर पुनः भारतले सबै मान्यता र सम्झौतालाई लत्याउँदै तीन साता नबित्दै दसगजामा सडक र नाला निर्माण गरेको सशस्त्र प्रहरी उपरीक्षक, प्रकाश श्रेष्ठले बताए । भारतले यसरी दसगजामा बनाएको पक्की सडक र नालाको महोत्तरीका प्रजिअ यादवसहितको सुरक्षा निकायले स्थलगत निरीक्षण गरेको छ भने यसबारे भारततर्फका मधुवनी जिल्लाका डिएम र सशस्त्रका कमाण्डरसँग समन्वय गरी निर्माण गरिएको संरचना भत्काएर मिचिएको दसगजा क्षेत्रलाई खाली गराउन प्रयास भइरहेको जनाइएको छ ।

प्रचण्डले बाबुरामलाई भने- दोधारमा होईन, खुकुरीको धारमा छु

काठमाडौं, १६ माघ । प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच शनिबार एक सार्वजनिक कार्यक्रममा सवाल–जवाफ भएको छ । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दुई नेताबीच आसन्न स्थानीय तह निर्वाचनको विषयलाई लिएर सवाल–जवाफ भएको हो । आजको नयाँ पत्रिकामा खबर छ– कार्यक्रमलाई पहिले सम्बोधन गरेका नयाँ शक्तिका संयोजक डा. भट्टराईले प्रधानमन्त्री दोधारको अवस्थामा रहेको बताए । ‘मधेसी मोर्चाको माग सम्बोधन गरेर जाने वा त्यसै निर्वाचनमा जाने भन्ने दबाबका कारण प्रधानमन्त्री दबाब र अप्ठ्यारोमा परेको जस्तो देखिँदै छ,’ भट्टराईले भने, ‘प्रधानमन्त्रीले के हो प्रस्ट पार्नुपर्छ । यसरी चल्नेवाला छैन ।’ भट्टराईपछि सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले आफू दोधारमा नभई खुकुरीको धारमा रहेको बताए । ‘दायाँबायाँ दुवैतिर खुकुरकिो धार छ । बीचबाट जोगिएर हिँड्नुपर्ने परिस्थिति हाम्रोसामु छ,’ प्रधानमन्त्रीले भने । अतिवादी सोचका विरुद्ध दृढतापूर्वक उभिएर मात्रै चुनौतीलाई अवसरमा बदल्न सकिने भन्दै प्रधानमन्त्रीले थपे, ‘हामी संघर्ष गरेर नै यो ठाउँमा आइपुगेका छौं । फेरि पनि चुनौतीलाई अवसरमा बदलेर देशलाई राजनीतिक स्थिरता दिन आर्थिक समृद्धिको दिशामा लैजान हामी गम्भीर छौं ।’ file photo

डडेलधूरामा पानीको संकट, एउटै धारामा ४१ परिवार निर्भर

डडेल्धुरा, १५ माघ । लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मूल सुक्न गई यहाँका ग्रामीण जनता खोलाको फोहर पानी पिउन बाध्य बनेका छन् । डडेल्धुराका विभिन्न गाउँठाउँमा असोज महिनायता पुस महिनामा हल्का वर्षा भएको भएपनि उक्त पानीले मूल नफुटेपछि समस्या उत्पन्न भएको गाउँलेको भनाइ छ । मष्टामडौँ–९ गौली गाउँमा एउटै धाराबाट ४१ परिवारले पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको भएपनि पानी मूलबाट नै कम आउन थालेपछि झनै समस्या भएको छ । ती परिवारले बस्ती नजिक रहेको खोलमा गएर पिउने पानी ल्याउने गरेका छन् । “पानीका लागि घन्टाँै लाममा बस्नुपर्छ घरको काम अधुरै छोडी पानीका लागि रातिदेखि नै लाममा लाग्न बाध्य छौं,” गौली गाउँकी हरिना विष्टले भन्नुभयो । “पहिले पानी दिनभर उपभोग गरेर पनि करेसा बारीमा सिँचाइ गर्न पुग्थ्यो हिउँदमै पानीका मूल सुकेर खानेपानी आपूर्ति गर्न धौधौ भइरहेको छ,” लामिकाडे खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनबहादुर मल्ल बताउनुभयो । पहाडी जिल्लामा धेरै वर्षा नभएको तीन महिनाभन्द बढी भइसकेको छ । लामो खडेरीले गर्दा महाभारत पर्वत शृङ्खलामा रहेका पानीका अधिकांश मूल सुकिसकेका छन् भने मध्य पहाडी क्षेत्रमा खानेपानीको स्रोतका रुपमा बग्ने खोला समेत सुक्न थालेको अध्यक्ष मल्लको भनाइ रहेको छ । डडेल्धुराका विभिन्न चिपुर, भद्रपुर, देवल, कोटेली, भागेश्वर मणिलेक र नगरपालिकाको विभिन्न ग्रामीण बस्तीमा पानीको सङ्कट देखिएको छ । “गाउँ गाउँमा खानेपानीका योजना धेरै छन् र सरकारी तथा गैरसरकारी क्षेत्रवाट बर्सेनि ठूलो रकम खानेपानी क्षेत्रमा खर्च हुन्छ तर निर्माण सम्पन्न भएका योजनामा पनि अर्को वर्ष पानी आउँदैन,” कोटेली–३ का स्थानीयबासी रुद्रप्रसाद भट्टले जानकारी गराउनुभयो । खानेपानी क्षेत्रमा काम गर्ने निकायले योजनासँगै खानेपानीका स्रोत संरक्षणका लागि समेत काम गर्नुपर्ने भट्टको सुझाव छ । खडेरीले गर्दा जमिनमुनि पानी ‘रिचार्ज’ हुन नसक्दा हिउँद नसकिँदै यस्तो समस्या उत्पन्न भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका कार्यक्रम संयोजक रामदत्त जोशीले बताउनुभयो । जमिनमुनि पानीको मात्रा पनि घट्दै जानु र ‘रिचार्ज’ हुने क्षमता पनि सकिँदै जानु जस्ता कारण मध्य पहाडी क्षेत्र गम्भीर समस्या उत्पन्न हुन सक्ने उहाँले आँैल्याउनुभयो । हिउँद नसकिँदै यस्तो सङ्कट देखिनुले खडेरी अझै बढ्ने र गर्मीयाममा खानेपानीको झन् बढी सङ्कट हुनसक्ने खानेपानी डिभिजन कार्यालय डडेल्धुराका प्रमुख सुरजकुमार कैजुले बताउनुभयो । लामो खडेरीले गर्दा मुहान र स्रोत सुकेर समस्या उत्पन्न भएको कैजु बताउनुहुन्छ । पानीको चक्रीय प्रणालीअनुसार हरेक पाँच वर्षमा खडेरीको मात्रा बढ्ने र पानीको समस्या उत्पन्न हुने भएकाले मूलको सरंक्षण र सम्बद्र्धन गर्न खानेपानी कार्यालय डडेल्धुराले आग्रह गरेको छ । file photo