यस्ता पतिलाई कस्तो सजायँ दिने ?
काठमाडौं, पुस २४ । यो कतिसम्मको बिडम्वना हो ? जसमा श्रीमती सधैं श्रीमानको क्रुर यातना भोग्नुपर्ने । एउटा सन्तानको लागि किन श्रीमान् सधैं आफ्नो श्रीमतीमाथि यस्तो अभद्र र क्रुरता बन्ने ? किन श्रीमतीलाई यस्तो व्यवहार गरिन्छ, हाम्रो देश र समाजमा ।
अहिलेको २१ औं शताब्दीमा पनि अन्धविश्वासका कारण सन्तान जन्माउन सकेन भन्दै आफ्नै श्रीमतीलाई क्रुरतापूर्वक पाठेघरमा बेल्ना नै फेला पर्ने गरी कतिसम्म यातना र पिडा दिनसकेको हो यी पुरुषप्रधान भनाउँदाहरुले ।
यस्तैमा, भारतको उत्तराखण्डस्थित एक नेपाली महिला यस्तै यातनाबाट पीडित भएर एक सरकारी अस्पतालमा भर्ना भएकी छिन् । यी नेपाली महिलाको गुप्तांकमा काठको बेल्ना फेला परेको देख्दा डाक्टरसमेत आश्चार्यचकितमा परेको छ ।
उनको शरीरमा बेल्ना घुसार्ने अरु कोही नभएर ती महिलाका आफ्नै पति हुन्, जो अस्पतालमै बिरामी कुरुवाका रुपमा बसेका छन् । महिला हिंसाको चरमरुपमा देखा परेको घटनाबारे यतिबेला बेलायत लगायत विश्वका अधिकांश सञ्चारमाध्यममार्फत प्रचारमा आएको छ ।
तर, नेपालबाट उपचारका लागि भारत पुगेको यो जोडी नेपालको कुन जिल्लाबासी हो भन्नेसम्म समाचारमा खुलाइएको छैन ।
उनीहरु भारतमै रहेका नेपाली मुलका दम्पति हुन् या नेपालको कुनै जिल्लाबाट गएका हुन् भन्ने स्पष्ट हुन सकेको छैन ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमले नेपालबाट उपचारका लागि भारत पुगेको दाबी गरेका छन् ।’
भारु नसाटिए पनि समस्या नहुने
काठमाडौँ , मंसिर २७ । भारतले नेपालमा रहेका पाँच सय र एक हजार दरका भारतीय रुपैयाँ (भारु) सटही सुविधा नदिए पनि ठूलो समस्या नहुने देखिएको छ। जानकारहरूका अनुसार ठूला दरका नोट व्यापारीहरूसँग रहने भएकाले सर्वसाधारणलाई असर नगर्ने अनुमान गरिएको छ। यद्यपि, नेपाल राष्ट्र बैंकले ठूला दरका भारु नोट साट्ने प्रयासलाई अझै जारी राखेको छ। राष्ट्र बैंकका पूर्व कायममुकायम गभर्नर कृष्णबहादुर मानन्धर भारु नोट प्रतिबन्ध लगाउँदा नेपाललगायत बढी भारु प्रचलनमा रहने मुलुकमा सर्वसाधारणलाई त्यति ठूलो असर नगर्ने बताउँछन्। भारतले बढी भारु प्रचलनमा हुने मुलुकसँग छलफल गरेको र सबैको सुझावका आधारमा निर्णय गरेको हुनसक्ने भएकाले ठूलो असर नगर्ने जिकिर गरे। ठूला नोट नसाट्दा नेपालमा भारु ‘होल्ड’ गर्ने प्रवृत्ति रोकिने उनको भनाइ छ। “छोटो समय दिएर नोट साट्दा पाउँदा पनि सहरी इलाका र व्यापारीहरूले समयमै साट्न सक्ने भए पनि ग्रामीण क्षेत्रका जनता अझै अप्ठ्यारोमा पर्ने सम्भावना उत्तिकै छ,” मानन्धरले भने। लामो समय राष्ट्र बैंकको विदेशी विनिमयमा काम गरेका पूर्व निर्देशक कल्याणबन्धु अर्याल पनि ठूला दरका भारु नोट सटही गर्नुपर्छ भन्नुको अर्थ नरहेको बताउँछन्। “ठूला व्यापारीहरूले ट्रक भाडासँग भारु नोट व्यवस्थापन गरिसके,” उनले भने, “भारतमा काम गरेर फर्किएकाहरू पनि प्रायः भारतीय समामै बढी मूल्य तिरेर नोट सटही गरी घर फर्कने गर्छन्।” अहिले भारुको मुख्य समस्या रहेको मानिने सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा पनि भारु सटहीको खासै समस्या नरहेको उनको बुझाइ छ। यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
शान्ति सेनामा पूर्वलडाकु
काठमाडौँ, मङ्सिर २५ । कुनै समय राज्यविरूद्ध सशस्त्र युद्वमा होमिँदै मर्न र मार्न तयार हुने माओवादी लडाकु अहिले विश्वको द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन्। २०६९ कात्तिक १६ मा नेपाली सेनामा समायोजन भएका ८३ जना पूर्वलडाकु शान्ति स्थापनाका लागि यही वर्ष अफ्रिकी मुलुकहरू लेबलान, कंगो र दक्षिण सुडान पुगिसकेका छन्। सेनामा समायोजन भएपछि पहिलोपटक माओवादीका पूर्वलडाकुहरू नेपाली सेनाको पोसाक र युएनको निलो टोपी लगाउँदै शान्ति स्थापनाका लागि खटिएका हुन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ ।
एन्फाको लापरबाहीले थ्रीस्टार एएफसी कप खेल्न बञ्चित
काठमाण्डौ, मंसिर २४ । अखिल नेपाल फुटबल संघ एन्फाको चरम लापरबाहीका कारण नेपाली फुटबलको शीर्षस्थ क्लब थ्रीस्टार एएफसी कपको दोस्रो राउण्ड खेल्न बञ्चित हुने भएको छ, आजको कान्तिपुर दैनिकमा खबर छ । थ्रीस्टार गत अगस्टमा छनोट प्लेअफ जितेर एएफसी कपको दोस्रो चरणमा छानिएको थियो । टिम ४ अंक सहित समूह बी को विजेता बनेको थियो । थ्रीस्टारको अंक आयोजक मंगोलियाली इर्चिम एफसीको भन्दा १ ले बढी हो । तर एएफसीले बुधबार सार्वजनिक गरेको दोस्रो चरणमा सहभागी मुलुकको सूचीमा नेपालको थ्रीस्टार परेन । एएफसीले डिसेम्बर १३ मा खेलतालिका तय गर्ने भएको छ । एएफसीको वेबसाईटमा प्रकाशित सूची अनुसार नेपालको ठाउँमा मंगोलियाको इर्चिम एफसी परेको छ । प्रतियोगिताको दोस्रो चरण जनवरी २४ देखि फेब्रुअरी ७ सम्म हुनेछ । अन्तिम चरणचाहि फेब्रुअरी २० देखि नोभेम्बर ४ सम्म हुनेछ । जसको खेलस्थलबारे अझै निर्णय भइसकेको छैन । एएफसीले प्रतियोगिताको लागि टिम दर्ता गर्न एनफालाई बारम्बार स्मरण गराएको थियो ।
नेपालका शिक्षकबारे यसो भन्छन् शिक्षामन्त्री पौडेल
रामेछाप, मंसिर २१ । शिक्षामन्त्री धनिराम पौडेलले सत्र प्रकारका शिक्षकको कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बताएका छन् छ । सोमबार रामेछापको दिमिपोखरीमा रहेको मावि मन्दर मेलचौरको ४३औं बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै उनले विद्यालयको शैक्षिक गुणस्तर खस्किनुमा शिक्षकहरुलदे राजनीति गर्ने कारण रहेका बताए । मन्त्री पौडेलले सरकारले सरकारी विद्यालयमा सत्र प्रकारको नभई एकै प्रकारका शिक्षकको व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए। ‘सत्र प्रकारका शिक्षकका कारण सरकारी विद्यालयको स्तर खस्कियो, अब सत्र प्रकारका शिक्षक रहदैनन्,’ उनले भने । मन्त्री पौडेलले सबै नागरिकलाई समान ढंगले शिक्षामा पहुँच स्थापित गर्न र निःशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेको बताए । सरकारी विद्यालयमा विद्यार्थी जाउँ जाउँ लाग्ने वातावरण नबनाई शिक्षामा लिएको लक्ष्य पूरा नहुने भन्दै मन्त्री पौडेलले भने– ‘विद्यालयलाई भौतिक सुविधा सम्पन्न, बालमैत्री बनाइने छ । शिक्षालाई विज्ञान र श्रमसँग जोड्दै यसलाई गुणस्तरीय, व्यावहारिक र रोजगारमुलक बनाइने छ ।’
नेपालमा विपद्को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया गर्दै माओवादी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज नेपालमा विपद्को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा विपद्को अवस्था र पूर्वतयारी सम्बन्धी धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ। विपद् व्यवस्थापन केन्द्रीय विभाग, नेकपा (माओवादी केन्द्र) को आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रम आज दिउँसो १:०० बजे ताज ब्यांक्वेट, तिनकुनेमा आयोजना गरिएको हो। कार्यक्रममा विपद्को हालको अवस्था, तयारीका उपायहरू, सरकार र राजनीतिक दलहरूको भूमिका लगायतका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रममा विपद् व्यवस्थापनमा संलग्न विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा माओवादी केन्द्रका नेताहरूको सहभागिता रहने जनाइएको छ।
राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हु्न् । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्याल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गरेका छन् ।
सङ्घीयता कार्यान्यवनमा प्रधानमन्त्रीले चिन्ता र चासोका साथ काम गरिरहनुभएको छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता कार्यान्यवनमा प्रधानमन्त्रीले चिन्ता र चासोका साथ काम गरिरहनुभएको उल्लेख गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो कुरा बताएका हुन् । “सङ्घीयता कार्यान्वयनका लागि प्रधानमन्त्रीले सबै मन्त्रीलाई छिटो काम गर्न निरन्तर प्रेरित गरिरहनुभएको छ,” उनले भने, “प्रहरी समायोजनको प्रक्रिया अगाडि बढेको छ । केही दिनमा समायोजनको प्रक्रिया टुङ्गाउँछौँ ।” कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्रीको सक्रियताले आफूहरूलाई उत्साह पैदा गरेको बताए । सङ्घीय कानुन निर्माणका निम्ति मन्त्रालयले काम गरिरहेको जानकारी दिँदै उनले चालु संसद् अधिवेशनमा अधिकांश सङ्घीय ऐनहरू पारित हुने विश्वास दिलाए ।
संसद्को हिउँदे अधिवेशन आजबाट शुरु : प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत
काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो । बैठकमा प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सभाबाट आएका विद्युतीय व्यापार सम्बन्धी विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी २०८० पेश भए । संघीय संसद्का कार्यबाहक महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ती विधेयक प्रतिनिधि सभामा पेस गरे ।यस्तै बैठकमा आर्थिक कार्यविधि वित्तिय उत्तर दायित्व पहिलो संशोधन अध्यादेश २०८० पेश भएको छ । तेस्तै,आजको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ ।बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरे । उक्त अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्ने लगायत व्यवस्था समावेश छन् । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले वेपत्ता र सत्य निरुपण आयोगको कार्य अवधि २०८१ असार म्याद थप गर्ने आदेश पेश प्रतिनिधिसभा पेश गरे । यस अघि बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १४ गतेसम्मका लागि ‘क्यालेन्डर’ स्वीकृत गरेको थियो ।
आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय वृद्धि गर्न पहल गछौं : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताएका छन् । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आदिवासी जनजातिको साँस्कृतिक सम्पदालाई ‘युनेस्को’मा अभिलेखन एवं आदिवासी जनजातिको अन्तर्राष्ट्रिय श्रमसम्बन्धी महासन्धि कार्यान्वयन गर्नका लागि सरकारले यथासम्भव पहल लिने स्पष्ट पारे। आदिवासी जनजाति आयोगमा साधनस्रोतको कमी रहेको, ऐनमा व्यवस्था भएबमोजिम प्रादेशिक कार्यालय स्थापनामा ढिलाइ भएको भन्ने विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनसङ्ख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व हुन नसकेका विषयमा नेपाल सरकारको तर्फबाट आवश्यक हुने विश्वास बताए । प्रधानमन्त्रीले आदिवासी जनजाति समुदायमाथि तत्कालिन राज्यसत्ताले गरेको विभेद र उत्पीडनको विरूद्ध आदिवासी जनजाति समुदायले आफ्नो पहिचान र प्रतिनिधित्वको लागि गरेको लामो सङ्घर्ष र बलिदानको परिणाम आदिवासी जनजाति आयोगको व्यवस्था भएको उल्लेख गरे । प्राप्त उपलब्धी सामान्य मेहेनत र सङ्घर्षबाट प्राप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सामन्ती तथा एकात्मक सत्ताले विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायमाथि गरेको दमन र उत्पीडनका विरूद्ध हजारौँ योद्धाको रगत पसिना र लाखौँ जनसमुदायको सङ्घर्षबाट आजका उपलब्धीहरू प्राप्त भएको स्मरण गरे। आदिवासी जनजाति आयोग भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजाति समुदायको सङ्घर्ष र विद्रोह, पहिचान र प्रतिनिधित्वका साथै उनीहरूको ज्ञान र सीपको संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक राष्ट्रियतालाई सुदृढ गरी स्वतन्त्र, स्वाधीन र समुन्नत राष्ट्र निर्माणको सङ्कल्पसहित आयोग स्थापना भएको बताए।
एमालेको दल बैठक जारी
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक संसद भवनको लोत्से हलमा जारी छ । एमालेले आज र भोलि आफ्ना सांसदहरुलाई आगामि अधिवेसमा कसरी प्रस्तुत हुने भन्नेबारे प्रशिक्षण दिंदै छ ।
प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन
सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गरेका छन् । दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन् । करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । समारोहमा दुधौलीको स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।
कारोबारको तेस्रो दिन पनि बढ्यो नेप्से, ५ अर्ब ५४ करोडको कारोबार
काठमाडौँ । लगातार नेप्सेको उकालो यात्रा तेस्रो दिन पनि कायमै रहेको छ । मंगलबार नेप्से सूचक १४.८८ अंकले बढ्दै २१ सय १९.६१ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक १०.२६ अंकले बढ्दै २१ सय ४.७२ अंकमा अडिएको थियो । उसो त आज कारोबारमा समेत बढोन्नती आउँदै ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ५१ लिखा ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन १० अंकले नेप्से बढेको बजारमा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक ३.५६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक १.७६ प्रतिशतले, होटल तथा पर्यटन समूह १.५९ प्रतिशतले र हाइड्रोपावर समूह १.४७ प्रतिशतले बढेको छ । बाँकी समूह १ प्रतिशत कमले बढ्दा बैंकिङ समूह ०.१७ प्रतिशत, फाइनान्स झिनो प्रतिशतले, माइक्रोफाइनान्स ०.३० प्रतिशतले र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज चन्द्रागिरि हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभाको चुनावबारे समीक्षा हुने
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले गठबन्धनको बैठक बोलाएका छन् । राष्ट्रियसभा चुनावको समिक्षा लगायतका विषयमा छलफलका लागि प्रधानमन्त्री प्रचण्डले आज ४ बजेका लागि गठबन्धनको बोलाएका हुन् । सो बैठकमा डा.सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चालाई पनि बोलाइएको स्रोतले जनाएको छ । सत्ता गठबन्धनबाट राष्ट्रियसभा चुनावमा भाग लिएका कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी सहभागी हुने बताइएको छ । कोशी प्रदेशमा माओवादी केन्द्रका उम्मेदवार हारेबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनकै उम्मेदवारले चुनाव जितेका छन् । कोशी प्रदेशको बारेमा बैठकमा विशेष समिक्षा समेत हुने बताइएको छ ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । मधेस प्रदेशका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । काठमाडौंमा आज बिहान ५ः ४५ बजेको न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नेको संख्या बढ्यो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ यात्रु आवागमन बढेको छ । अघिल्लो वर्षको तुलनामा अन्तर्राष्ट्रियतर्फ यात्रु आवागमन ३०.१८ प्रतिशतले बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १३७ यात्रुले सेवा लिएका छन् । यो अहिलेसम्मकै धेरै भएको कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ उडान संख्या पनि बढेको छ । गतवर्षको तुलनामा २९.४० प्रतिशतले उडानमा वृद्धि हुँदा ३१ हजार ४६० वटा उडान भएको तथ्यांक छ । आन्तरिकतर्फ भने यात्रुको संख्या घटेको छ । गत वर्षको तुलनामा ७.०७ प्रतिशतले यात्रु आवागमन घट्दा त्रिभुवन विमानस्थलबाट ४१ लाख ५० हजार ३२६ यात्रु आएका छन् । उडान संख्या १०.३६ प्रतिशतले घट्दा ९६ हजार ९८९ उडान भएका छन् । कार्गो आवागमनमा भने वृद्धि भएको छ । गत वर्षको तुलनामा १०.८७ प्रतिशत वृद्धि हुँदा तीन हजार ४२६.८६१ टन कार्गो आएको छ । अघिल्लो वर्षको तुलनामा कुल यात्रुको संख्यामा भने ९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ७९ लाख ५४ हजार ४९५ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका थिए । यस वर्ष यो संख्या बढेर ८६ लाख ९१ हजार ४६३ पुगको छ ।