युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजन सुरु हुँदै, आज आठ खेल हुने

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज राति समूह चरणका आठ खेल हुनेछन् ।

आज इंग्लण्डको लिभरपुलले इटालीको नापोलीसँग उसैको मैदानमा खेल्दा अर्को इङ्गलिस क्लब चेल्सीले आफ्नै मैदानमा स्पेनको भ्यालेन्सियासँग खेल्नेछ ।

कम अनुभवी युवा खेलाडीहरुको जमात चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डको लागि आजको खेल परिक्षाको रुपमा रहेको छ ।

आजै जर्मनीमा हुने खेलमा बोरुसिया डर्टमण्ड र बार्सिलोना भिड्नेछन। । यो खेलका लागि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी ‘फिट’ रहेको बताईएको छ ।

आज राती इटालीको ईन्टर मिलानले चेक गणतन्त्रको स्लाभिया प्रागसँग खेल्दा फ्रान्सको लियों र रुसको जेनिथ, अष्ट्रियाको साल्जबर्ग र बेल्जियको गेन्क, पोर्चुगलको बेनिफीका र जर्मनीको आरबी लेप्जीग तथा नेदरल्याण्ड्सको आयाक्स र फ्रान्सको लिल् भिड्नेछन् ।

हेटौंडा केन्द्र अन्तर्गत खरिदारको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  लोकसेवा आयोगले असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा सार्वजनिक सुरु गरेको छ । आयोगले मंगलबारदेखि नतिजा सार्वजनिक सुरु गरेको हो । यसैबीच शनिबार आयोगले हेटौडा केन्द्रको नतिजा प्रकाशित गरेको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गत असारमा भएको खरिदार तहको परीक्षा हेटौडा केन्द्रबाट प्रथम चरण उत्तीर्ण गरेका ३८१ जनाले द्वितीय चरणको लिखित परीक्षा दिएका थिए । जसमध्ये १९ जना उत्तीर्ण भएका छन् । आयोगले १४ जनाको संख्या माग गरेको थियो । लिखित परीक्षामा उत्तीर्ण हुनेहरुलाई कम्प्युटर सीप परीक्षण तथा अन्तवार्ताका लागि सूचना जारी गरेको छ । आयोगले आउदो असोज ६ र ७ गते कम्प्युटर सीप परिक्षण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ । अन्तर्वार्ता र कम्प्युटर सीप परिक्षण हेटौडा कार्यालयमै हुने पनि आयोगले जनाएको छ ।

भालेले ‘डिस्टर्ब’ गरेको भन्दै मुद्दा, अदालतले गर्यो कारबाही

काठमाडौं । एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छन् । फ्रान्सको वाज क्षेत्रको मारिनीले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचालिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुुद्दा दायर गरेकी थिइन् । त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् । मुद्दाको सुनुवाई गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसबोर्ड कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर गरेकी थिइन् । दुवैतर्फको बयान, प्रहरीको अनुसन्धान, मारिनीले कपियनका मेयरले भालेका पक्षमा दिएको समर्थन र जीवजन्तुको अधिकारका पक्षमा आएका दस्तावेजहरुको अध्ययनपछि अदालतले बिहीबार उजरीकर्तालाई नै एक हजार युरो जरिवाना गरेको हो । त्यसका साथै अदालतले भाले बिहानै बास्न पाउने फैसलासमेत गरेको छ । अदालतले अनाहकमा बुसेलाई अदालत जानु परेकोले क्षतिपूर्तिबापत् उजुरीकर्तालाई नै एक हजार युरो तिर्न आदेश दिएको हो । अदालतको फैसलापछि बुसेले प्रतिक्रिया दिइन्, ‘अब मेरो भाले बास्न पाउने भयो । फैसलाले हाँस कुखुरा, चरा, भ्यागुतालगायत प्राकेतिक जीवजन्तुको अधिकारको सुरक्षा भएको छ र प्रकृतिविरुद्ध लाग्नेलाई पाठ सिकाएको छ ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने

काठमाडौं, चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तय भएकाे छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारि गर्दै विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटघाट गर्ने जनाएकाे हाे । नेपाल भ्रमणमा आइतबार आउन लागेका विदेशमन्त्री वाङले चिनियाँ राष्ट्रपतिकाे नाै घण्टे नेपाल भ्रमणकाे तयारि तथा नेपाल र चीनबीचकाे द्विपक्षिय सम्बन्धका विभिन्न आयामका बारेमा छलफल गर्ने छन् । यसैगरि उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालिसँग समेत छलफल गर्ने छन् ।

टेस्ट क्रिकेटः ३ म्याच खेल्ने वित्तिकै नाबीले लिए सन्यास

काठमाडौंः अफगानिस्तान क्रिकेट टिमका अनुभवी अलराउन्डर मोहम्मद नाबीले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । बंगलादेश र अफगानिस्तानबीच भइरहेको एक मात्र टेस्ट खेलेसँगै नाबीले टेस्ट क्रिकेटमा सन्यास लिएको घोषणा गरेका हुन् । ३४ वर्षीय नाबीले तीन वटा मात्र टेस्ट खेलेका छन् ।

अमेरिकी दूतावास नजिक बम विष्फोट, १० जनाको मृत्यु

काबुल, पछिल्ला दिनमा श्रृंखलाबद्ध आक्रमण गरिरहेको तालिबानले आज बिहानै अमरिकी दूतावास लक्षित गरि आक्रमण गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार बिहान विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कार बम बिस्फोट भएको हो । स्थानीय समयअनुसार बिहान सवा दश बजेतिर शासदरक क्षेत्रमा अमेरिकी राजदूतावास नजिकै भएको बिस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। आतंकवादी समूह तालिबानले बिस्फोटको जिम्मा लिएको छ। यसअघि सोमबार राति पनि तालिबानले काबुलमा बिस्फोट गरेको थियो। उक्त बिस्फोटमा परी १६ जनाको ज्यान गएको थियो। तीमध्ये दुई जना नेपाली सुरक्षा गार्ड भएको बताइएको छ तर परराष्ट्र मन्त्रालयले त्यसको पुष्टि गरेको छैन। अमेरिका र तालिबानबीच भएका विभिन्न चरणका वार्तापछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सहमति भएको छ। १८ वर्षअघि आएका अमेरिकी सेना फिर्ता हुन लाग्दा तालिबानले आक्रमणलाई तीव्रता दिएको छ।   File Photo

त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाइल नचलाउन मन्त्री भट्टराईको निर्देशन

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाइल फोनमा समेत संवाद नगर्न सचेत गराएका छन् । मन्त्री भट्टराईले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी पनि दिए । ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पारे । मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्बिर आफूले संकलन गरेको जानकारी गराउँदै उनीहरुमाथि कारबाही गर्न पनि विमानस्थलका नेतृत्वलाई कडा निर्देशन दिए । विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसीटीभी क्यामेराको थप व्यवस्था गर्ने पनि मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले विमानस्थल देशको इज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु अनुशासित हुनुपर्ने बताए । मन्त्री भट्टराईले सेवाग्राहीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन यो प्रशिक्षण कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे । उनले ६ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास व्यक्त गरे । प्रशिक्षण कार्यक्रममा विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी छन् ।

टेस्ट वरियताः स्मिथ उक्लिए दोस्रो स्थानमा, अरुको अवस्था कस्तो?

काठमाडौंः  अष्ट्रेलिया क्रिकेट टिमका पूर्वकप्तान एवं महत्वपूर्ण ब्याट्सम्यान स्टिभ स्मिथ आइसीसी टेस्ट वरियताको दोस्रो स्थानमा उक्लिएका छन् । इंंग्ल्याण्ड विरुद्धको एशेज सिरिजमा शानदार प्रदर्शन गरेपछि स्मिथ दोस्रोे स्थानमा उक्लिएका हुन् । उनले ९१३ अंक बटुल्दै सो स्थानमा पुग्न सफल भएका हुन् । १६ महिनापछि टिममा फर्किएका स्मिथले तीन पारीमा ५६ रेटिङ प्वाइन्ट जोडेका छन् । स्मिथ एशेज सिरिजअघि चौंथो स्थानमा थिए । तर तीन पारीले उनी दोस्रो स्थानमा पुग्न सफल भए । श्रीलंका विरुद्धको टेस्ट सिरिजमा न्यूजिल्याण्डका कप्तान केन विलयिम्सनले खराब प्रदर्शन गरेपछि उनी दोेस्रो स्थानबाट झरेका छन् । आईसीसीले पछिल्लोपटक १८ अगस्टमा सार्वजनिक गरेको वरियतामा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली ९२२ अंककासाथ शीर्ष स्थानमा छन् ।

पुडासैनीको भिडियोबारे रविले दिए प्रतिक्रिया– शालिकरामलाई ठूलो भ्रम परेछ

काठमाडौं । केही दिन अघि चितवनको पोखरा बसपार्कस्थित एउटा होटलमा झुण्डिएको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु झन रहस्यमय बन्दै छ । घटनासँगै प्रहरीले प्राप्त गरेको पुडासैनीको आत्महत्या नोटको भिडियो सार्वजनिक भएपछि यसले ठूलै तरंग सिर्जना गरेको छ । भिडियोमा पत्रकार पुडासैनीले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेमाथि संगीन आरोप लगाएका छन् । भिडियोमा रवि लामिछाने लगायतले आफूलाई फसाउन खोजेको बताउँदै मर्न बाहेक अरु विकल्प नभएको आशय व्यक्त गरिएको छ । यो पनि पढ्नुहोस् पुडासैनीले आँसुले भिजेर रेकर्ड गरेको भिडियो सार्वजनिक, प्रहरीले अनुसन्धान गर्दै रवि लामिछानेमाथि गम्भीर आरोप लागेपछि रवि लामिछाने फेसबुकमार्फत यसबारेमा संक्षिप्तमा प्रतिक्रिया दिएका छन् । यसअघि भिडियो सार्वजनिक नहुँदै उनले रवि र आफ्नो सम्बन्ध राम्रो रहेको तर न्यूज २४ छोडेर गएपछि कुनै सम्पर्क नभएको बताएका थिए । अहिले भिडियो नै सार्वजनिक भएपछि रवि लामिछानेले लेखेका छन्- आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ। रवि लामिछानेले थप के के जानकारी गराउने हुन भन्ने भने स्पष्ट छैन । तर सामाजिक सञ्जालमा भने उनका विरुद्ध ठूलो जनमत निर्माण भएको देखिन्छ । उनका समर्थकहरुले भने भिडियो कसैको दबाबमा खिचिएको हो या होइन भन्ने कुराको प्राविधिक जाँच गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । प्रहरीले भने यसबारेमा आधिकारिकरुपमा केही उल्लेख गरेको छैन ।

किशोरीलाई बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको अवस्थामा दुई जना पक्राउ

काठमाडौं । विभिन्न प्रलोभन देखाई २० वर्षीया किशोरीलाई वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अभियोगमा चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका–१ घर भएका २९ वर्षीय आईतेबहादुर लोप्चनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट माईती नेपालका प्रतिनिधि सहित खटिएको प्रहरीले ना.७.ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा ती किशोरीलाई शंकास्पद रुपमा लिई जाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले ती किशोरीलाई झापाको बिर्तामोडमा रङ लगाउने काम लगाईदिन्छौं, कोही कसैले चेकजाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउनु र भाउजु सुत्केरी भएकीले बिर्तामोड जान लागेको बताउनु भन्दै विभिन्न प्रलोभन देखाई बेचविखन गर्ने उद्देश्यले लैजान लागेको अनुसन्धानको क्रममा खुल्न आएको उक्त वृत्तले जनाएको छ ।

आज – १६ साउन २०७६ बिहिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । अरुको मन जित्न सकिनेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बाहन सुख मिल्नेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज समाज सेवा गरे लोकमा प्रसिद्ध भईनेछ । स्वास्थ्यमा सुधार आउला । तिर्थाटनको योगछ । आफन्त संगको सम्बन्धपनि गाढा र सुमधुर रहनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोचेको आटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज एक अर्कासंग केहि न केहि आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक यात्राको योग छ । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । -ज्यो.प. नारायणप्रसाद दुलाल

भारतीय ट्रकले नेपालीलाई किचेपछि सीमा क्षेत्रमा तोडफोड र आगजनी

विराटनगर, साउन १० । भारतबाट कच्चा पदार्थ बोकेर आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएपछि विराटनगर महानगरपालिका-१५ रानी क्षेत्रमा बिहीबार तनाव भएको छ। दुर्घटनामा मोटरसाइकल चालक विराटनगर-१५ का २२ वर्षीय अमर सिंहको घटनास्थलमै मृत्यु भएपछि रानी बसपार्क क्षेत्र तनावग्रस्त बनेको हो। एन एल ०१ डी ३६९० नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकलका चालक सिंहको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिउजुले जानकारी दिए। स्थानीयले मोटरसाइकललाई ठक्कर दिने ट्रकसहित २२ वटा मालबहाक सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ। भारतबाट औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थ (इन्धन) लोड गरेर आएका गाडी र ट्यांकरहरु तोडफोड गरिएका हुन्। तोडफोड गरिएका मध्ये आठवटा नेपाली र १४ वटा भारतीय नम्बर प्लेटका सवारी साधन छन्। बिहीबार रातिसम्म आन्दोलनका कारण रानी-विराटनगर सडकखण्ड ठप्प बन्यो। अन्नपूर्ण पोष्ट दैनिकबाट

क्रिकेटको नियममा हुँदैछ यस्तो परिवर्तन, अब नहोला कि विवाद?

काठमाडौं, साउन १ । आइसीसीले आउँदो अगस्तमा इङ्ल्याण्ड र अस्ट्रेलियाबीच हुने एसेज शृंखलाबाट क्रिकेटसम्बन्धी केही परिमार्जित नियमहरू लागू गर्ने भएको छ । भर्खरै सम्पन्न विश्वकपको फाइनल खेलमा बढी बाउन्ड्रीका आधारमा इङ्ल्याण्डलाई विश्वविजेता घोषित गरिएपछि यस किसिमको नियमको व्यापक आलोचना भइरहेको पृष्ठभूमिमा आइसीसीले केही नियम परिमार्जित गर्न लागेको हो । तर आइसीसीले लागू गर्न थालेको नयाँ नियम भने उक्त नियमसँग सम्बन्धित छैन । आइसीसीले खेलका क्रममा घाइते भएका खेलाडीको सट्टामा फिल्डिङ् गर्न आउने खेलाडीका निम्ति प्रचलनमा रहेको नियममा फेरबदल गर्न लागेको हो । क्रिकेटको २४ औं नियममा सट्टा खेलाडी या ‘सब्स्टिट्यूट’ खेलाडीबारे नियमहरू राखिएका छन् । जस अनुसार क्कुनै खेलाडी खेलका क्रममा घाइते भएर या अन्य कुनै कारणले खेल्न असमर्थ हुन्छ भने उसको सट्टामा आउने खेलाडीले ब्याटिङ् र बलिङ् गर्न पाउँदैन थिए । उनीहरूको काम मात्र फिल्डिङ गर्ने हुने गर्थ्यो । तर नयाँ नियम लागू भएमा कुनै खेलाडी खेलको क्रममा घाइते भएमा ती खेलाडीको सट्टामा आउने खेलाडीले पूरै खेल खेल्न पाउने छन् । अर्थात सट्टामा खेल्न आउने खेलाडीलाई ब्याटिङ्, बलिङ्, या विकेट किपिङ् गर्न पाउने अधिकार हुनेछ । यस्तो भएको खण्डमा क्रिकेट टीमहरूले ब्याट्सम्यान घाइते भए ब्याट्सम्यान र बलर घाइते भए बलरलाई नै सट्टा खेलाडीको रूपमा खेलाउन सक्ने छन् । यसरी घाइते खेलाडीको सट्टामा खेल्न आउने खेलाडीलाई ‘कन्कसन सब्स्टिट्यूट’ भनिनेछ । यस नियमको बारेमा लन्डनमा जारी आइसीसीको वार्षिक बैठकमा चर्चा हुने बताइएको छ । यस नियमलाई चाँडो प्रभावमा ल्याइन सक्ने क्रिकेटमा समाचार प्रकाशित गर्ने समाचार संस्थाहरूले लेखेका छन् । केही समयपछि हुनगइरहेको विश्व टेस्ट च्याम्पियनसिपमा यो नियम पूर्णतया लागू गर्ने आइसीसीको योजना रहेकाले निकट भविष्यमै सुरु हुने कुनै दुई दिवसीय सिरिजमा यस नियमको परिक्षण हुनसक्ने बताइएको छ । विश्वकपमा एलेक्स क्यारी र शिखर धवनले घाइते अवस्थामा नै खेले आइतबार मात्रै सम्पन्न भएको विश्वकप क्रिकेटमा इङ्ल्याण्डका जोफ्रा आर्चरको बलमा पहिले दक्षिण अफ्रिकाका हासिम आमला र पछि अस्ट्रेलियाका एलेक्स क्यारी घाइते भएका थिए । अमलाले चोट लागेपछि खेल्न सकेनन् र उनी मैदानबाट बाहिरिए । अमला फेरि ब्याटिङ् गर्न फर्किन सकेनन् ।  तर क्यारीले भने घाउमा पट्टी बाँधेर खेल्न जारी राखे । यस दौरान उनको घाउबाट लगातार रक्तस्राव भइरह्यो । त्यस्तै अस्ट्रेलियाविरुद्ध खेल्ने क्रममा भारतीय ओपनर शिखर धवनलाई नाथन कोल्टरको बलमा चोट लागेको थियो । तर उनले रिटायर्ड हर्ट हुने डरले खेल्न जारी राखे । उनको चोट कति गम्भीर थियो भने उनले त्यसपछि विश्वकपका खेलहरू नै खेल्न सकेनन् । हालसम्म प्रचलनमा रहेको नियम अनुसार कुनै खेलाडी रिटायर्ड हर्ट भएमा उसको ब्याटिङ गर्ने पालो त्यत्तिकै गुम्ने हुन्छ । अस्ट्रेलियाका कप्तान आरोन फिन्चले गरे समर्थन केही महिना अघि मात्रै अस्टेलियासँगको एउटा खेलमा घरेलु टीमविरुद्ध खेल्ने क्रममा श्रीलंकाका दुई खेलाडी कुसल मेन्डिस र दिमुथ करुणारत्ने एक अर्कासँग ठोक्किएका थिए । यसबाट घाइते भएका दिमुथलाई तुरुन्तै अस्पताल लागिएको थियो । त्यस बेला पनि ‘कन्कशन सब्स्टिट्यूट’ बारे चर्चा भएको थियो र अस्ट्रेलियाका कप्तान एरों फिंचले उक्त नियमको समर्थन गरेका थिए । यस नियमको चर्चा पहिलो पटक अस्ट्रेलियाका पूर्व ओपनर फिलिप ह्युजको निधनपछि चलन थालेको हो । ह्युजलाई २०१४ को सेफिल्ड सिल्ड टुर्नामेन्टको एउटा खेलमा टाउकोमा बाउन्सर लागेको थियो । उनलाई तत्काल नै अस्पताल लागिएको भएपनि उनलाई बचाउन सकिएन । कस्तो कस्तो फेरबदल हुँदैछ नियममा ? हालको नियम अनुसार कुनै ब्याट्सम्यान घाइते भएको खण्डमा उसले मैदानबाहिर जानु पर्ने हुन्छ तर उसको सट्टामा अर्को खेलाडीले ब्याटिङ अथवा बलिङ गर्न पाउन्नथ्यो । तर यसरी आएको खेलाडीले फिल्डिङ भने गर्न पाउँथ्यो । ‘कन्कशन सब्स्टिट्यूट’ नियम लागू भएपछि सट्टामा आएको खेलाडी नियमित खेलाडी सरह ब्याटिङ या बलिङ गर्न पाउनेछ । तर यसरी सट्टामा आउने खेलाडीको विशिष्टीकरण भने घाइते खेलाडीकै सरह हुनु पर्नेछ । अर्थात एउटा ब्याट्सम्यान घाइते भयो भने उसको सट्टामा फास्ट बलर आउँ पाउँदैन । बरु ब्याट्सम्यान नै आउनु पर्ने हुन्छ । त्यस्तै फास्ट बलर घाइते भएको अवस्थामा उसको सट्टामा फास्ट बलरलाई नै पठाउनु पर्ने हुन्छ । त्यस्तोमा स्पिनर या ब्याट्सम्यान पठाउन पाइने छैन । परीक्षणमा आइसकेको छ यो नियम यस नियमलाई क्रिकेट अस्ट्रेलियाले २०१६-१७ मा घरेलु एकदिवसीय शृंखला, बिग ब्यास लीग र महिला बिग ब्यास लिगमा गरिसकेको छ । त्यर आइसीसीले स्वीकृति नदिएका कारण सेफिल्ड शृंखला र प्रथम श्रेणीका क्रिकेट प्रतियोगिताहरूमा भने यस नियमको प्रयोग गरिएको थिएन । इङ्ल्याण्ड क्रिकेट बोर्डले गत सिजनको काउन्टी क्रिकेटमा यो नियम लागू गरेको थियो ।

ठेकेदारमाथि छुरा प्रहार गर्ने गुण्डा लाजिम्पाटबाट पक्राउ

काठमाडौं, जेठ ३१ । ठमेल, लाजिम्पाट र दरबारमार्गलाई आधारक्षेत्र बनाएर गुण्डागर्दी आएका टोलेगुण्डा सुदीप गुरुङ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसरको विशेष टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो । गत जेठ ११ गते दोलखाका ३२ वर्षीय ठेकेदार टासी शेर्पामाथि ठमेल ग्वार्कोपाखामा छुरा प्रहार गरेको आरोपमा गुरुङलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ३ वर्षीय गुरुङ काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सकुनामार्ग बस्दै आएका थिए । गुरुङ पक्राउ परेको पुष्टि गर्दै परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले गुरुङमाथि ज्यान मार्ने उद्योग र चोरीसहित १३ पटक मुद्दा चलेको र पटक–पटक पक्राउ परेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले फोन गरेरै मोदीलाई दिए बधाई

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेरै बधाई एवं शुभकामना दिएका छन् । बिहीबार सार्वजनिक लोकसभा चुनावको मत परिणामले भारतीय जनता पार्टीको एकल बहुमत आउने निश्चित भएपछि प्रधानमन्त्री ओलीले फोन गरेरै मोदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । यसअघि उनले ट्वीटरमार्फत बधाई दिइसकेका थिए। बिजेपीले पार्टीका तर्फबाट दोस्रो कार्यकालका लागि पनि मोदीलाई नै अघि सार्ने भएको छ। जारी मतगणनामा अहिलेसम्म बिजेपीले ३४८ स्थानमा विजय हासिल गर्ने देखिएको छ। प्रतिस्पर्धी कांग्रेसले पाँच स्थानमा जितेर ८७ क्षेत्रमा अग्रता कायम गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

‘बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ’

जनकपुर, जेठ ८ । हिमालयन बैंक लिमिटेडले शाखा सञ्चालन विस्तारका क्रममा आफ्नो ५८ औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शाखाको उद्घाटन गर्दै बैंकले उत्पादनमूलक क्षेत्र र उद्योगमा लगानी गर्ने वातावरण निर्माण गर्नेतर्फ ध्यान दिनु जरूरी रहेको बताए । उनले प्रदेशमा युवाहरूले अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको समस्यालाई दृष्टिगत गरी युवाहरूले विदेश कमाएको रकम उत्पादक क्षेत्रमा लगानी गर्न सक्ने समयसापेक्ष सेवा उपलब्ध गराउनुपर्ने खाँचो औंल्याए । प्रदेशमा ऋण तिर्न नसक्ने स्थितिमै विदेशबाट लास आउने समस्या जटिल रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले युवाले स्वदेशमै रोजगार पाउने कार्यक्रमको थालनी गर्नुपर्ने आवश्यकतामा जोड दिए । बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यावसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना भएको चर्चा गर्दै बैंकको साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशीलता र सहयोगका लागि आग्रह गरे । सो बैकले हालसम्म रु एक खर्ब १२ अर्ब २६ करोड ६२ लाख लाख निक्षेप सङ्कलन गरी कर्जा सापटका रूपमा उत्पादनशील तथा आधारभूत क्षेत्रमा रु ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको जनाइएको छ । बैंकले चालू आवको नौ महीनामा रु दुई अर्ब ८६ करोड ५४ लाख सञ्चालन मुनाफा आर्जन गरेको बताइएको छ । हाल सो बैंकको एटिएम सङ्ख्या ११५ र विप्रेषण भुक्तानी काउन्टर १३ हजार पाँच सय रहेको छ । रासस