भ्रष्टाचारविरुद्ध देशव्यापी जनचेतना जगाउन इटहरीमा कार्टुन प्रदर्शन

इटहरी । भ्रष्टाचारविरुद्ध देशव्यापी जनचेतना जगाउने उद्देश्यका साथ दुईदिने कार्टुन प्रदर्शनी गरिएको छ । सोमबार इटहरीस्थित इटहरी म्याट्रिक्स सांस्कृतिक केन्द्र भवनमा आयोजित प्रदर्शनीको उद्घाटन प्रदेश १ का सांसद लोकप्रसाद संग्रौलाले गरे । उनले राजनीतिक रुपमा भ्रष्टाचार समाजका विविध तहमा जरा गाडेको जिकिर गर्दै जागरण ल्याउने लक्ष्य राखेर गरिएको प्रदर्शनीले सचेतना जगाउने विश्वास व्यक्त गरे ।

कार्टुनिस्ट क्लबको आयोजना तथा सिएमआरको सहकार्यमा भएको प्रदर्शनीमा सांसद संग्रौलाले आफूले राजनीतिमा लागेर पुस्तेनी सम्पत्ति सिध्याएको तर हालसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको जिकिर गरे । उनले भ्रष्टाचारविरोधी अभियान लिएर कार्टुनिस्ट क्लब इटहरी आएर प्रदर्शनी गरेकोमा विशेष धन्यवादसमेत दिए । उनले भने, ‘कलामार्फत गरिएको जागरण अभियानलाई सफल बनाउन सबै नागरिकले सहयोग गर्नुपर्दछ ।’ उनले भ्रष्टाचार समाजको दुर्गन्ध भएको बताउँदै यसलाई फ्याक्न राजनीतिक दल, नागरिक समाज तथा सबै नागरिक जागरुक हुनुपर्नेमा जोड दिए । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा ‘निसाना’ भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनीमा तीन दर्जन कार्टुनिस्टका ५० कार्टुन राखिएको छ ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका उपमेयर संगीता चौधरीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उपमहानगरमा भ्रष्टाचार हुन नदिने जिकिर गरिन् । उनले आफूले जिन्दगीभर भ्रष्टाचार नगर्ने जनाउँदै यदि कसैले आफ्नो पालिकाभित्र भ्रष्टाचार गरेका कानुनी कारबाही गर्ने बताइन् ।

कार्यक्रममा वरिष्ठ कार्टुनिस्ट रविन सायमीले क्लबले भ्रष्टाचारविरुद्ध निसाना साँधिरहेको र यसमा अन्य पेशाकर्मीले समेत आ–आफ्नो क्षेत्रबाट धावा बोल्नुपर्ने विचार व्यक्त गरे । उनले समाज रुपान्तरणका लागि कलाकारसँगै सबै नागरिक सचेत हुनुपर्ने बताए । उनले कार्टुनमार्फत कलाकारले हरेक दिन पत्रपत्रिकामार्फत राजनीतिक दल, सत्ता तथा समाजका विभिन्न तह र तप्कामा रहेका विकृति विसंगतिलाई उजागर गर्दै आएको सुनाए । यस्तै, नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले प्रदर्शनीमार्फत समाजमा जागरण ल्याउने लक्ष्य राखेर अभियान थालिएको धारणा व्यक्त गरे । उनले भने, ‘कार्टुन कलाको माध्यमबाट समाजमा व्याप्त रहेको भ्रष्टाचारलाई बाहिर ल्याउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । कार्टुनका माध्यमले राजनीति, समाज लगायतका क्षेत्रमा रहेको विकृत पक्षलाई प्रहार गर्दै सचेत बनाउने कार्यमा कलाकारले सधैं कलामार्फत काम गर्दै आएका छन् । यसैको कडिका रुपमा कार्टुन प्रदर्शनी गरिएको हो ।’ खनालले भ्रष्टाचारलाई निर्मुल पार्न राजनीतिक नेृतत्वले दह्रो गरी खुट्टा टेक्नुपर्ने जनाउँदै देश र जनताप्रति उत्तरदायी हुने हो भने मात्रै यसले सार्थकता पाउन सक्ने विचार व्यक्त गरे ।

सिएमआरका अध्यक्ष तृष्णा आचार्यले समाजमा व्याप्त खराब पक्षलाई बाहिर ल्याइ जागरण ल्याउने लक्ष्य प्रदर्शनीको रहेको बताइन् । उनले लोकतन्त्रलाई बलियो बनाउन कार्टुनमार्फत कलाकारले गरेको प्रयास निकै सराहनीय बन्न गएको विचार व्यक्त गरिन् । उनले भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनीको अभियानले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । सेन्टर फर मिडिया रिसर्च (सिएमआर) की अध्यक्ष आचार्यले प्रदर्शनीमा राखिएको भ्रष्टाचारविरोधी कार्टुनबाट आफू निकै प्रभावित भएको र कतिपय नौलो विषयसमेत सिक्न पाएको बताइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्टुनिस्ट तथा नेपाल पत्रकार महासंघका एसोसिएट प्रदेश समिति सचिव योगेश खपाङ्गीले अहिले नेपालका कतिपय मिडिया पेड मिडिया बनिसकेको र गोयबल्स शैलीमा झुट फैलाउने काम गरिरहेको बताए । उनले त्यस्ता क्रियाकलापले अन्ततः भ्रष्टाचारीलाई नै लाभ पुग्ने जिकिर गरे । उनले भने, ‘यस्तो अवस्थामा हालसम्म कार्टुन विधाले मात्र निर्धक्क सत्योद्घान गर्दै आएको छ ।’
त्यसैगरी इटहरी मेट्रिक्सका अध्यक्ष बिक्रम श्रीले भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनी प्रदेश १ मा पहिलो पटक भएको बताए । उनले यस्ता कार्यक्रमले समाजमा जनचेतना जगाउन र भ्रष्टाचारीलाई खबरदारी गर्न सफल हुने भनाइ राखे । उनले भने, ‘भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनीले आममानिसलाई सचेत बनाउने मात्र नभइ नागरिकलाई उत्तरदायी बन्न अभिप्रेरितसमेत गरेको छ ।’

क्लबका महासचिव रवि मिश्रले कार्टुनमार्फत खराब आचरणविरुद्ध जागरण ल्याउने लक्ष्यका साथ देशका सातै प्रदेशमा प्रदर्शनी गर्न लागिएको जानकारी दिए । उनले भने, ‘प्रदर्शनी दुई उद्देश्य थियो । जसमा पाठकसँग प्रत्यक्ष संवाद गर्नु र अर्को भ्रष्टाचारविरुद्ध जागरण ल्याउनु रहेको छ ।’
महासचिव मिश्रले प्रदर्शनीमा राजनीतिक, सांस्कृतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पर्यावरण, मानवअधिकार, न्यायक्षेत्र लगायतमा हुने भ्रष्टाचारका विविध पक्षमा केन्द्रित रहेका कार्टुन प्रर्दशनिको लागि राखिएको जानकारी दिए । उनले कार्टुन प्रदर्शनीको औचित्यमाथि प्रकाश पार्दै समाजमा विद्यमान विकृतिप्रति कार्टुनिस्टले व्यंग्यमार्फत सचेतना जगाउदै आएको बताए ।

सो अवसरमा क्लबले नेपालको पूर्वी क्षेत्रमा रहेर कार्टुन विधामा काम गरिरहेका कलाकार पवन राजवंशी, बिक्रमश्री र प्रनोद दत्तलाई सम्मान समेत गरेको थियो ।

क्लबले यसअघि बागमती प्रदेशको काठमाडांै, गण्डकी प्रदेशको पोखरा, मधेश प्रदेशको जनकपुरमा प्रदर्शनी गरिसकेको मिश्रले जानकारी दिए । प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेश खपाङ्गी, केशव राज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापासहितका कार्टुनिस्टका कार्टुन राखिएको छ ।

 

हरेक आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन्। बालेनले नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बताए ।  

एमालेले सातवटै प्रदेशमा अनुशासन प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टीको सबै प्रदेशमा अनुशासनबारे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको अनुशासन आयोगको बैठकले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी भित्र देखापरेका अनुशासनहिनतालाई बैचारिक रुपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको पार्टीका आयोगका अध्यक्ष केशव बडालले जानकारी दिनुभयो । बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता, सिद्धान्त र अनुशासन विपरितका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । प्रशिक्षण कार्यक्रममा केन्द्रिय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रिय अनुशासन आयोगलाई सबै केन्द्रिय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरुले हेर्ने दृष्टिकोण सम्बन्धि विषयबस्तु हुने पनि आयोगले जनाएको छ । त्यसैगरी बैठकले उमानाथ ओली, प्रदिप प्याकुरेल, लालमणि चौंधरी, दिपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।

गुल्मीमा खोलामा डुबेर एक पुरुषको मृत्यु

गुल्मी । गुल्मीमा खोलामा माछा मार्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षीय झविलाल कुमालको छल्दीपनाह खोलामा डुबेर शनिबार मृत्यु भएको हो ।   खोलामा माछा मार्न लागेका बेला डुबेर बेपत्ता भएका उनलाई स्थानीयले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवराज खरेलले जनानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको डिएसपी खरेलले बताए ।

दैलेखमा बस दुर्घटना मृत्यु हुने चार जनाको सनाखत , ३९ जना घाइते

सुर्खेत । बुधबार राति दैलेखको आठबीस नगरपालिका–२ को सिस्नेमा भएको यात्रुबाहक बस दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लू नगरपालिका–९ का ३६ वर्षीय काँशिराम पाण्डे र २ वर्षीय प्रेम सुनार रहेका छन् । यस्तै दुई जना कालिकोटका रहेका छन् । कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ४६ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीया धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । सामान्य चोटपटकदेखि लिएर गम्भीर गरि ३९ जना घाइते भएको प्रहरीको भनाई छ । घाइतेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरू सबैलाई गएराति नै उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । बसमा झण्डै ६२ जना जति रहेको प्रहरीको अनुमान छ । मुगु, कालिकोट हुँदै नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको उक्त बस कर्णाली राजमार्गबाट झण्डै ४३ मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो ।साहका अनुसार बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् । यद्यपि बस के कति कारणले दुर्घटना भएको हो । त्यसको एकिन कारण खुल्न सकेको छैन ।

कञ्चनपुर : वडा नं २ शुक्लाफाँटामा ७०० मतगणना हुँदा कस्को कति ?

कञ्चनपुर। वडा नं २ शुक्लाफाँटा (७०० मत गणना) हँसिया हथाैडा १८४ सूर्य ३१९ रूख १५४

नेप्से परिसूचक आज ५६ अंकले बढ्यो

काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले उकालो लागेर २ हजार ३ सय ६९ दशमलव ०६ अंकमा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५२ अंकले बढेको छ । नेप्से परिसूचक उकालो लाग्दा सेयर कारोबार रकममा समेत सुधार भएको छ । केही दिन यता लगातार डेढ अर्ब भन्दा तल कारोबार भएको थियो । बुधबार ३७ हजार ७७० कारोबारबाट ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब २६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँ पुगेको छ । बजार बढ्दा सेयर बजारको पुँजीकरण पनि सुधार भएर ३३ खर्ब ७० अर्ब ७ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा, ओलीले आजै उद्घा‍टन गर्ने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्‍चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे औपचारिक रुपमा उद्घा‍टन गरेपछि एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट सञ्चालन हुनेछ । साथै एमालेले स्थानीय तह निर्वाचनसबन्धी प्रतिवद्धतापत्र पनि त्यहिबाट सार्वजनिक गर्ने भएको छ । गत २०७२ को महाभूकम्प पछि बल्खुबाट धुम्वाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सरेको एमाले केन्द्रीय कार्यालय एक वर्ष अघि थापाथलीमा सरेको थियो । थापाथलीस्थित भवन साँघुरो भएपछि एमाले केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय कार्यालय च्यासलमा सार्ने निर्णय गरेसँगै आजबाट औपचारिक उद्घा‍टन हुने भएको हो ।

सत्ता गठबन्धनले प्रदेश १ का तीन जिल्लामा टुंग्याए भागबण्डा

विराटनगर । सत्तारुढ गठबन्धनले प्रदेश १ का तीन जिल्लामा भागबण्डा टुंग्याएको छ । ताप्लेजुङ, खोटाङ र भोजपुरमा गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको हो । यसबाहेक धनकुटा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा केही प्राविधिक विषयमात्रै मिल्न बाँकी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन् । ताप्लेजुङमा ७ वटा पालिकाको प्रमुख÷अध्यक्ष नेपाली काँग्रेसले पाउने भएको छ भने माओवादी केन्द्रले २ वटा पालिकाको अध्यक्ष पाउने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीले भने उपाध्यक्षमा चित्त बुझाउने भएको छ । ताप्लेजुङको भागबण्डा १. मैवाखोला गाउँपालिका– अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष, नेपाली काँग्रेस २. आठराई त्रिवेणी गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ३. मिक्वाखोला गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ४. मेरिङ्देन गाउँपालिका – अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा ९एकीकृत समाजवादी० ५. फक्ताङ्लुङ गाउँपालिका– अध्यक्ष, माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस ६. फुङ्लिङ नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उपप्रमुख माओवादी केन्द्र ७. पाथिभरा याङ्वरक गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ८. सिदिङ्वा गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र ९. सिरिजंघा गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र १०. जिल्ला समन्वय समिति– प्रमुख, माओवादी केन्द्र, उपप्रमुख नेकपा (एकीकृत समाजवादी) यसैगरी भोजपुरमा पनि गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको छ । भोजपुरमा दुईवटा पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि सहमति भएको छ । बाँकीमा काँग्रेसले ५ पालिका, माओवादी केन्द्रले २ र नेकपा एसले २ वटा उपाध्यक्ष तथा जनता समाजवादी पार्टीले जिल्ला समन्वय समितिको प्रमुख पाउने सहमति भएको छ । पालिकाको विवरणः १. रामप्रसाद राई गाउँपालिका– अध्यक्ष, नेकपा माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस २. पौवादुङमा गाउँपालिका– अध्यक्ष, नेकपा माओवादी केन्द्र, उपाध्यक्ष नेपाली काँग्रेस ३. हतुवागढी गाउँपालिका– अध्यक्ष, नेपाली काँग्रेस, उपाध्यक्ष, नेकपा माओवादी केन्द्र ४. भोजपुर नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उप–प्रमुख नेकपा एकीकृत समाजवादी ५. षडानन्द नगरपालिका– प्रमुख, नेपाली काँग्रेस, उपप्रमुख नेकपा माओवादी केन्द्र ६. टेम्केमैयुङ गाउँपालिका – अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा एकीकृत समाजवादी ७. साल्पा सिलिछो गाउँपालिका– अध्यक्ष नेपाली काँग्रेस, उपाध्यक्ष नेकपा माओवादी केन्द्र ८. जिल्ला समन्वय समितिको प्रमुख– जनता समाजवादी पार्टी, नेपाल, उपप्रमुख नेकपा माओवादी केन्द्र ९. आम्चौक र अरुण गाउँपालिकामा गठबन्धन दलहरूकाबीच मात्रै स्वस्थ प्रतिस्पर्धा गर्ने । गठबन्धन दलहरूबाहिर गठबन्धन गरे पार्टीले सख्त कार्बाहीको विषय बनाउने । यसैबीच खोटाङ जिल्लामा पनि गठबन्धन दलहरुबीच सहमति भएको छ । सहमति अनुसार ३ वटामा काँग्रेस, ३ वटामा माओवादी तथा चार दलबीच सहमति हुन नसकेका ४ वटा पालिकामा काँग्रेस बाहेकका तीन दलको गठबन्धन बनेको छ । प्राप्त विवरण अनुसार खोटाङकमो दिग्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा काँग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र, बराहपोखरी गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपप्रमुखमा नेकपा एस, रावाबेंसी गाउँपालिका अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, ऐंसेलुखर्क गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस, खोटेहाङ गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस, जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार हुने सहमति भएको छ । यस्तै काँग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच खोटाङका चार पालिकामा छुट्टै सहमति भएको छ । त्यहाँ काँग्रेस, एमाले र अन्य गठबन्धन दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जसअनुसार हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र, केपिलासगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एस र उपाध्यक्षमा जनता समाजवादी, सकेला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा जसपा, दिप्रुङ चुईचुम्माको दुवै अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले नै पाएको छ ।

ग्याँस कारखानामा बिष्फोट हुँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं । ललितपुर जिल्लाको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा ग्याँस कारखानामा आज ९बिहिबार० बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । एक जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । अन्य घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मृतक र घाइतेलाई कारखानामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई पाटन र बीएण्डबी अस्पताल लगिएको छ । ग्याँस कारखाना भित्र अहिले पनि छिर्ने अवस्था समेत नरहेको ललितपुर प्रहरीले बताएको छ ।

निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि लागू हुँने, के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । वैशाख ३० गत‍े हुने स्थानीय तहको निर्वाचनको लागि शुक्रबार मध्यरातिदेखि आचारसंहिता लागू हुने भएको छ। शुक्रबार अपराह्न ५ बजे आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमार्फत् आचारसंहिता लागू हुने बताएका हुन्। आयोगले यसअघि चैत ३ गते नै आचारसंहिता प्रकाशित गरेको थियो। तर त्यसलाई लागू गरिसकेको थिएन। आचारसंहिताका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केही विषयमा विरोध जनाउँदै आएको थियो। बिहीबार आयोग पुगेर महासचिव शंकर पोखरेलले केही बुँदामा असहमति जनाएका थिए । यस्तै, आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने भन्ने उल्लेख छ। तर त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। त्यसलाई सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न भनेको छ। आयोगले यस निर्वाचनमा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह ज्याकेट, कमिज, भेष्ट लगायतका कुनै किसिमको पहिरन, स्टिकर, लोगो, झोला, व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न प्रयोग गर्न, बिक्री–वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने जनाएको छ। निर्वाचन आचारण संहिता,२०७८ को दफा ३ बमोजिम व्यक्ति, संस्था, निकाय तथा अधिकारीले पालना गर्नुपर्ने आचरणः (क) सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने, (ख) आयोगद्वारा सञ्चालित निर्वाचन व्यवस्थापन र मतदाता शिक्षा लगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, (ग) कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, (घ) राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अडित ज्याकेट, कमिज, भेष्ट टि सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, (ङ) घरजग्गा धनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने, (च) ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाहता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार प्रसार गर्न वा गराउन नहुने, (छ) अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने, (ज) प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक, भेला वा निर्वाचन प्रचार प्रसार गर्न वा गराउन नहुने, (झ) सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, (ञ) सामाजिक सञ्जालमा गलत भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने, (ट) निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा साइट र एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुने, (ठ) सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, टेषपूर्ण भाषण (पत्र) जस्ता भासक द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने, (ड) कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने, (ढ) कसैको चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने, (ण) उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार राजनीतिक दलको वा मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने, (त) कोभिड( १९ वा अन्य महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकार तथा सम्बन्धित निकायबाट जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रतिकूल हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, (थ) निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने,तर आयोगले तयार गरेको निर्वाचन तथा मतदाता शिक्षा सामग्री प्रकाशन वा पोष्ट गर्न यस खण्डले बाधा पुयाएको मानिने छैन। (द) सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी बाहेक कुनै पनि हातहतियार तथा प्रज्वलनशिल पदार्थ बोक्न नहुने, (ध) कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्न नहुने, (न) मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग बादविवाद गर्न तथा उनिहरुलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने।

ब्याटिङ अर्डर नचल्दा फेरी नेपालको हार, युइएसँग दोश्रो खेलमा पनि पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईसँग लगातार दोस्रो हार व्यहोरेको छ । दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो । आसिफ शेखको स्थानमा आएका ओपनर पवन सर्राफ खेलमा जम्न सकेनन् । उनी मात्र २ रन बनाएर पेभिलियन फर्किए । यस्तै अर्का ओपनर कुशल भुर्तेल लगातार तेस्रो खेलमा खराब प्रदर्शनलाई निरन्तरता दिँदै ५ रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट हुँदा नेपालले ३ ओभर नसकिंदै ८ रनमा महत्वपूर्ण ३ विकेट गुमाउन पुगेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक रन बनाए । उनले ६५ बल खेल्दै २ चौकाको मद्दतमा ३० रन बनाए । अघिल्ला दुई खेलमा लयमा देखिएका रोहित पौडेल आज ९ रनमा आउट हुँदा नेपालको ब्याटिङ धरापमा परेको थियो । आरिफ शेखले ४० बलमा १५ र जोड्दा बिनोद भण्डारी दुर्भाग्यवस १२ रनमा आउट भए । सोमपाल कामीसँग दोस्रो रनको लागि तालमेल नमिल्दा बिनोद सहज रनआउट भए । सोमपालले १५ रन बनाएर पेभिलियन फर्किए । यूएईका जुनाइद सिद्दिकीले ४ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय दुई रनको योगफल खडा गरेको थियो । युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए । उनले ७३ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यसबाहेक, मुहम्मद वसिमले ३३, चिराग सुरीले २६, भ्रित्या अरविन्दले २४ र अलिसन सराफुले २१ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिएका थिए । यस्तै, सोमपाल कामी र करण केसीले समान दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए । शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो । त्यसअघि नेपालले पपुवा न्यु गिनीलाई दुई विकेटले हराएको थियो । डिभिजन २ मा १८ खेलबाट २२ अंक जोडेको युएई तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ११ खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

निर्णायक मोडमा रुस–युक्रेन विवाद, आज बाइडेन र पुटिनबीच फोनवार्ता हुने

काठमाडौं । युक्रेनमा जबर्जस्ती युद्धको माहौल बनाइरहेको अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच आज टेलिफोन संवाद हुने भएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रुसी मिडियाले जनाए अनुसार, अमेरिकी पक्षको लिखित अनुरोधमा टेलिफोन वार्ता हुने भएको हो । यसैबीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको विषयमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम भएको जनाइएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै यूक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दोहोर्याएको छ । बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका रूसका सेनाले उत्पन्न गरेको खतराका कारण अमेरिकी नागरिकहरूलाई यूक्रेन छोड्न बिहिबार बाइडेनले निर्देशन दिएका थिए । कीभ (युक्रेन)ले तनावलाई शान्त पार्ने कोसिस गरेको छ । साथै कुनै पनि बेला सम्पूर्ण युद्ध सुरु हुन सक्छ भन्ने अमेरिकी गुप्तचरको मूल्याङ्कनसँग यूक्रेन सहमत छैन । युक्रेनी विदेश मन्त्री डिमित्रो कुलेबाले बाइडेनले अमेरिकी विदेश मन्त्रालयबाट राज्य विभागबाट पहिलेको मार्गदर्शनलाई मात्र पुनः स्थापित गरेको भन्दै यो भनाइमा कुनै नयाँ कुरा नभएको बताएका छन् ।

भूमि भएर पनि भूमि विहिन जस्तो बनेकाहरुलाई लालपूर्जा वितरण पहिलो प्राथमिकता हो : मन्त्री श्रेष्ठ

काठमाण्डाै‌ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताएकि छन् । सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर विर्ता र मल्हनियाँ खोरी)मा विशेष नापी मार्फत नापी गरिएको गाउँब्लक जग्गाको पुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपूर्जा वितरण कार्यलाई आफूले मन्त्रालय संहालेपछि पहिलो प्राथमिकता बनाएर काम गरिरहेको बताएकि हुन् ।   जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले २०२१ साल यता नापीहुदा गाउँ ब्लकका रुपमा लामो समयदेखि थन्किएर बसेको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको र यस वर्षभित्र लालपूर्जा वितरण गरिसक्ने लक्ष्यसहित अभियान नै सञ्चालन गरिरहेको पनि बताइन् । जमिन भएर पनि लालपूर्जा नहुदा भूमि विहिन बनिरहेकाहरुको समस्या देशैभर बाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोही पनि भूमिहिन भएर बस्नु नपन मन्त्री श्रेष्ठको विश्वास व्यक्त गरिन् । संविधानमा भएका नागरिकको हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफुु प्रतिबद्ध भएर लागेको भन्दै मन्त्री श्रेष्ठले लामो र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडी बढिरहेको बताईन् ।कार्यक्रममा मन्त्री श्रेष्ठले सेवा ग्राहीलाई सहयोग पुग्ने र छिटो काम हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकि थिइन् । सिरहामा एक हजार घर परिवारलाई लालपूर्जा वितरण सिरहामा आज, भोली र पर्सिमा गाउँब्लकमा रहेका एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिसक्ने कार्यक्रम रहेको छ । त्यसैगरी, यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेका भूमिहिनहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकि थिइन् । वि.स. २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठको जोड छ ।   यसैबीच, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले हरुवा चरुवाको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी आफूले काम शुरु गरिसकेको बताएकि छन् । सिरहाको बरियारपट्टीमा हरुवा चरुवा, कमैया कमलरीहरुको अध्ययन गर्न गठित समितिले आयोजना गरेकोे छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले हरुवा चरुवाका बास्तविक समस्या पहिचान गरी अध्ययन समितिले दिने प्रतिवेदन अनुसार दिगो रुपमा नै समस्या समाधान गर्ने गरी सरकार अघि बढ्ने बताइन्।   उनले संविधानमा नै व्यवस्था गरिएको हरुवा चरुवाको रोजगारीको हकको कार्यान्वयनका लागि युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडी बढाइसकेको जानकारी दिदै यसका लागि वजेटको व्यवस्थापन समेत गरिसकेको बताइन् । सिरहामा रहेका हरुवा चरुवाहरुको बस्तीको निरिक्षण समेत गरी मन्त्री श्रेष्ठले विषयबस्तुबारे जानकारी लिएकि थिइन्। मन्त्री श्रेष्ठले हरुवा, चरुवा कमैया कमलारीको समस्या समाधान गर्न उनीहरुसँग छलफल गरी ५ सदस्यीय अध्ययन समिति गठन गरेकि छन् । उक्त अध्ययन समितिले हरुवा, चरुवा, हलिया र कमैया कमलरीहरुको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन सरकरलाई बुझाउने छ ।  

प्रदेश १ मा आज मन्त्रीमण्डल बिस्तार, ७ मन्त्रालय फुटाएर १३ बनाइयो

बिराटनगर, प्रदेश १ मा सबै दललाई भागबण्डा पुर्याउन मन्त्रालयको संख्या १३ पुर्याइएको छ । मन्त्रालयको संख्या बढाएसँगै आज नयाँ मन्त्रीहरु नियुक्त हुनेछन् । नियुक्त हुने मन्त्रीहरूले आज ११ बजे सपथ लिने कार्यक्रम छ । यस अनुसार मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना रहनेछन्। आज भने मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट थप तीन जना, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट दुई/दुई जना मन्त्री बन्न लागेको बताईएको छ । संघीय लोकतान्त्रिक मञ्चलाई यसअघि नै राज्यमन्त्री दिइएको थियो। साथै यसअघि कांग्रेसले २ मन्त्री पाएकोमा आज ३ जना थप हुन लागेका छन्। झापाका ओमप्रकाश सरावागी, ताप्लेजुङका प्रतापप्रकाश हाङगाम र मोरङका शेखरचन्द्र थापा मन्त्री हुने सम्भावना छ। यस्तै नेकपा (एकीकृत समाजवादी) बाट खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बु र मोरङका उपेन्द्रप्रसाद घिमिरे मन्त्री हुने तयारीमा छन्। नेकपा माओवादी केन्द्रबाट यसअघ १ मन्त्री रहेकोमा आज २ जना थप गर्न लागिएको छ। खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्री हुन लागेका छन्। जसपा र संघीय लोकतान्त्रिक मन्चबाट एकेक जना मन्त्री हुने गरी सत्तारूढ गठबन्धनले मन्त्रालय भागबन्डा गरेका थिए। सात मन्त्रालय फुटाएर १३ बनाउने यसअघि नै मन्त्रिपरिषदबाट निर्णय भएको थियो। गत कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए।

डम्बर अवस्थी हत्या प्रकरण : थप २ पक्राउ

  बैतडी । केही समयअघि सुर्नया गाउँपालिका–६ का डम्मर अवस्थीको हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताएका छन्। गाउँको एक विद्यालयका शिक्षक समेत रहेका रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । अदालतबाट म्याद थपेर उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । यसअघि डम्मरको हत्यामा संलग्न हरिश अवस्थी र नवराज अवस्थी प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरू दुवैजनाले हत्यामा संलग्न रहेको स्वीकार गरिसकेकाले अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गएको मंसिर १५ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो । हरिशले देखाएको स्थानका आधारमा डम्बरको शव, गाडेको अवस्थामा फेला गरेको हो । त्यसअघि हरिशले विप्लव कार्यकर्ताले अपहरण गरेको नाटकसमेत गरेका थिए । मृतक डम्बर विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन् ।